बुँद चाहियो
जुन भेटिँदैन त्यही खोजिरहेछु
जुन देखिँदैन त्यही हेरिरहेछु
अरूको नजरमा भट्किरहेछु
खुट्टा बाउँडिसक्यो
पैतालामा ठेला उठिसक्यो
त्यही ठेलाले नेल तोडिरहेछु
तिमी जूनै हौ
आकारमा फूलै हौ
यो धर्तीबाट कसरी भेट्टाउने ?
न बाँच्न सकेँ
न नै मर्न सकेँ
अतृप्त प्यास छ
जहाँ छ्यौ त्यहीँबाटै तत्कालै फर्किदेऊ
तिमीले परेला उठाउँदा संसारै अति राम्रो हुन्थ्यो
परेला बन्द गर्दा संसारमा अँधेरो छाउँथ्यो
परेला तिम्रो अन्जुली हो
ओइलाउन लागेको आत्मालाई अमृतको प्याला देऊ
अझै त्यही हालत छ
भीड शून्य लाग्छ
आकाश पुन्य लाग्छ
अबौँ नयनको चमकमा तिम्रो नयनको ताराको चमक देखिरहेछु
सबै शहर, गाउँ, वस्ती सुतिसकेछ
सबै बहार उजडिसकेछ
निस्पट्ट चकमन्न भइसकेछ
धेरै बदनाम भएँ समाजमा
आफ्ना सबै पराइ लागे
दिन सबै रात भइसकेछ
मैले अनिँदो भएको धेरै भइसक्यो
आज र भोलि एउटै भइसक्यो
नजरबन्द के हो र !
तिम्रा लागि समय छोडिसकेको छु
दियो बल्दा दिल जल्छ
धुमिल याद सम्झनामा
समस्या पीडा हुस्सुमा उडेर पनि पिरोलिरहेछ
संसारको नियत माया हो
फुस्रो छ , नौटङ्की छ , निस्पट्ट छ
सुख र दुःख, नायक/खलनायकझैँ लाग्छ
यो संसार देश/परदेश जस्तो लाग्छ
विरानो बनाइदियो यो समाजले
तिम्रो मुहार देखेर चाँदनीले भन्छे
"यिनी मभन्दा सुन्दरी छे
ममा पनि दाग छ"
मन मुटु जगाइदियौ
जहाँ पनि गजल फुराइदियौ
सुवाससँग सोधेँ तिम्रो सुगन्ध
फूलसँग उत्तर मागेँ
"तिमी नहुँदा अत्तर हुँदैन" रे
छियाछिया भएँ तिम्रो प्रेमको घातले
पत्थर थिएँ म कुँदिँदै गएँ तर मानवै छु
न देवता माने समाजले
दानवको लान्छनाको घातले झनै कुँदिँएँ
तिम्रो आहतको सपना त्यो मीठो छ
विपना सपना भइदिए हुन्थ्यो
ए सपना किन विपना हुँदिनौ ?
मुटुले जे खोज्यो आँखाले हेर्न पाइन
हे प्रिय !
तिम्रो वस्ती कहाँ छ ?
अझै धुइँपत्ताल गोगल गरिरहेको छु
यी सर्चमा आएका गीत सबै तिम्रै उपमा हुन्
यी वसन्त सबै मेरा शिशिर हुन्
तिमी भएको शिशिर कहल्यिै उजाड भएन
गाडी गुडाउने गुरुजी !
"मलाई बाटो देखाइदेऊ
छमछम चल्ने उनको पाउ कता छ ?
छङ्छङ् गाउने सङ्लो पाउजुको झङ्कार कहीँ सुन्यौ कि ?
त्योभन्दा बढी उन्मुक्त पार्ने ध्येय थियो"
मझधार तार्ने माझी दाइ !
"आशासँग नाता जोडी
निराशाको बर्मुदा तोडिदिनुुस्"
महाभारत, गाजा, प्यालेस्टाइन, युक्रेन विश्वयुद्धको ध्वंस फगत के हो र ?
युगौँको कहर बोकिरहेको छु
शहरको चमकमा बारुदको गन्धले अत्तालिरहेछु
उनीलाई पुकार्दा पुकार्दै आफैलाई मेटिसकेको छु
डुबेको सासले धड्कन चलाइरहेको छु
आफ्नो बाटा सबै खरानी पारिसकेको छु
मात्र तिम्रो एक झलकको बुँदको अपेक्षा गरेको छु
त्यसैले मीलनको प्यास मेट्ने छु
हो !!! त्यसैले मीलनको प्यास मेटाउने छु
२०८१ जेठ १२
बिजु सुवेदी विजय
Comments
Post a Comment