खान मिल्ने खाना मात्रै खाना हो

 खान मिल्ने खाना मात्रै खाना हो


बुद्धको पहिलो खानामा फल प्राप्तीको सन्दर्भ छ कि वास्तबमा हामीलाई आश्चर्य लाग्न सक्छ तर वास्तविकता यही हो कि सिद्धार्थ जन्मने वित्तिकै बुद्ध भइसकेका थिए जब उनले आफ्नी माताको पहिलोपटक स्तनपानले सिद्धार्थको पाचनग्रन्थी स्नान गराएकी थिइन् । यति अपार खुसी सायदै कोही पनि अनि कुनै बेला पनि यिनी भएकी थिइनन् । बुद्ध जब भए उनले मातालाई भनिसकेका थिए कि ... यो शब्द नै काफी छ “माते !” साष्ताङ्ग दण्डवत छ । पाउमा परेको छु पुरै हजूरमा, नतमस्तक भएको छु मनमस्तिष्कले ! को छ र ! मेरो हजूरसिवाय, मलाई नयाँ स्वर्गधर्तीमा पदार्पण गराउनुभयो । ढुकढुकी नै हजूर हुनुहुन्छ माते ! हजूरबाटै मलाई ऊर्जा आउँछ , मेरो कणकणमा हजूरको ममत्त्वस्नेह छ , हजूरको जति न्यानो माया अरू कसको नै छ र ! मलाई अमृतै पिलाउनुभयो । मलाई तृप्त गराउनुभयो । के छ र मेरो यहाँ, सर्वस्व नै हजूरको हो, लडिबुडी चिहाँचिहाँ गर्दै भन्दैछु कि हजूरको नै हजूरलाई अर्पण छ माते ! हजूर जीवनको सार हुनुहुन्छ , हजूर नै मेरो परिभाषा हुनुहुन्छ , हजूर नै आशा हुनुहुन्छ , हजूर नै भरोसा । हजूर नै विश्वास हुनुहुन्छ । हजूरको मात्रै हुन्छ सुभेच्छा, मात्र यसैको बलमा संसारमा उज्यालो छर्न समर्थ हुनेमा दृढ अनि यथेष्ट विश्वास अनि अठोट छ । मेरो नशामा बहेको रगत हजूरकै त हो, हजूरकै पवित्रता त ममा बहेको हो । आकाश धर्ती एक गरे पनि म तुच्छले के नै दिन सक्छु र ! हर कहर लुकाइदिनुहुन्छ । धर्ती भई सहिरहनुहुन्छ । म जस्तै ठूलो भए पनि हरेक समय सधैँ हजूरकै काखैमा हुन्छु माते ! हजूरको आँचलमा सर्वस्व छ । दुःखको आँच पनि आउन दिनुहुन्न । मलाई चोट लाग्दा हजूरको मुटु अचाक्ली दुख्छ । आँखामा करुणाको टिलपिल ज्योति ल्याउनुहुन्छ । म पुलकीतरूपको सफल हुँदा हजूरकोे आँखामा अपार खुसीको मोती छाउँछ । हजूरको जति सुरिलो अनि आनन्ददायक स्वर अरू कस्को छ र ! हजूर हुँदा मलाई क्लेशमात्र पनि कुनै पनि डर हुन्न । प्रतिविम्ब अनि छायाँभन्दा हजूर र हजूरको ममत्त्व अनि स्नेह गाढा अनि हजूर अति नजिक हुनुहुन्छ । हजूर सुवासिलो फूल हुनुहुन्छ , म त सधैँ कोपिला । हजूर नै मेरो पहिलो गुरु, हजूरबाटै पहिलो शिक्षा सुरु । हजूरकै शरणमा आएको छु , हजूरकै चरणमा ज्यान अर्पेको छु । हजूरलाई जानेर व्रह्म जानेको छु । हजूरलाई जानेर छैटौँ इन्द्रिय खुलेको छ । दिल पनि हजूर नै । ज्यान पनि हजूर नै । धर्ति माता हजूर ! जननी हजूर ! हजूरको काख नै मेरो स्वर्ग, यो शब्दले व्यक्त गर्न नसकिने रहेछ । तैपनि धृष्टता गरेँ माते ! धेरै माफी चाहन्छु । हजूरविना अरू जम्मै अधुरोअपुरो लाग्छ । आकाशभन्दा अपार, अनन्तभन्दा धेरै, जुनसुकै समस्याको पनि समाधान हजुर !  हजूर एकदमै अनमोल ! आत्मीय ईश्वर नै हजूर माते ! मेरो परमात्मा नै हजूर माते ! ... ती राता सिद्धार्थको यस्तो पहिलो स्नेही ममत्त्वको दूग्धप्राशनले नै उनलाई यस्ता मायादेवीका वात्सल्यले सर्वगुण सम्पन्न, लक्षणै लक्षणले युक्त शुद्धोदनका मोती शुद्धबुद्ध बनाइसकेको थियो ।



बुद्धको दोस्रो खानामा पनि फल प्राप्तीकै सन्दर्भ छ कि गृह त्याग गरिसकेपछि बुद्धले थुप्रै ठाउँमा ६ वर्षसम्म घोर तपस्या गरे । सुजाताले एउटा वृक्षलाई खुसी तुल्याउन अनि उक्त वृक्षबाट सन्तानको वरदान पाउन धेरै तपस्या गरेकी थिइन् कि मेरो सन्तान भएमा म हजूरलाई भोग चढाउने छु । उनी सधैँ यसरी नै वृक्षलाई खुसी तुल्याइरहन्थिन् । जब फल प्राप्तीस्वरूप उनीबाट सन्तान जन्मियो, बुद्ध सोही वृक्ष वरिपरिमा घोर तपस्या गरिरहेको ६ वर्ष भइसकेको थियो भने सो वृक्षमा तपस्या गरेको पनि ४९औँ दिन भइरहेको थियो । तत्कालै सुजाताले आफ्नी दासी पूर्णालाई सो वृक्ष चोखो पार्न पठाइन् । आश्चर्य ! पूर्णाले त वृक्षदेव नै साक्षात् भएर उत्रेको अपार खुसी हुँदै कुद्दै आउँदै बताइन् । यसमा खुसी भएकी सुजाताले पूर्णालाई दासताबाट मुक्त गरिदिइन् र तबदेखि जेष्ठ पुत्रीकी रूपमा सधैँका लागि सहर्ष स्वीकारिन् । सुजाताले आफूसँग भएको भाँडोमध्ये दामी अनि राम्रो भाँडोमा खीर लगेर सिद्धार्थलाई दिइन् । सिद्धार्थको ४९औँ दिनमा व्रत तोडियो, तपस्या भङ्ग भएन बरु तपस्याको सही नतिजा आविष्कार भयो । यसरी हड्डी नै हड्डी भइसकेको शरीरमा विस्तारैविस्तारै छाला देखा पर्न थाल्यो, नसामा सञ्चार हुन थाल्यो । वास्तबमा उनी सोही वृक्षमा तपस्या गर्दा गर्दै घोर थकित भइसकेका थिए । यही कमजोरीका कारण उनमा तर्क गर्ने सामथ्र्य पनि मरिसकेको थियो । अब भने उनमा र उनको तर्कमा वोधमयका साथ प्राण सिर्जना हुनगयो । सुजाता यति खुसी भएकी थिइन् कि उनले बुद्धलाई वृक्षदेव मानेर सो कचौरा ने छोडेर हिँडिन् । बुद्धले त्यहीँ नदीको टटमा पायसले आमासयलाई पाचनको संचार दिएका थिए जसरी मायादेवी माताले पहिलो स्तनको स्नेह उल्र्याएकी थिइन् । पायस यानेकि खीर खाएपछि उनले कचौरालाई फल ग्रहण गरेर गुदी प्राप्त गरेर बोक्रा फ्याँकेसरि कचौरा नदिमै बहाइदिएका थिए । त्यसपछि बल्ल बुद्धमा आत्मबल आयो र दोस्रोपारिमा बुद्धत्त्वरूपी गुदीसमेत प्राप्त भयो ।



बुद्धको तेस्रो तथा अन्तिम खाना अर्को लोकतर्फको निर्वाणको सन्दर्भको फल प्राप्तीसँग सन्दर्भ छ कि बुद्ध एउटा गाउँमा वास बस्न आइरहेका थिए । उक्त गाउँमा एउटा गरीब शूद्रले बुद्ध आएका थाहा पाएर बिहान झिसमिसेमै बुद्धलाई खोज्न आए र बुद्धलाई देख्नेबित्तिक्कै आफ्नो छाप्रोमा खाना खान बोलाए । शूद्रले बुद्धलाई उक्त गाउँमा आएको देख्नेबित्तिकै निमन्त्रणा गरेका थिए ता कि अरू सम्पत्रहरूले बोलाउँदा अलि ढिलो भएपछि पनि बुद्ध उतै जालान् भनेर बुद्धलाई पछ्याइरहे । बुद्धले उक्त गरीब शूद्रलाई “तपाईंकहाँ जसरी पनि भोलि आउनेछु ।” भनेर वचन दिए । बुद्धलाई त्यहाँका बासिन्दाहरूले देख्नेबित्तिकै धेरैले भोलिको खानाका लागि निमन्त्रणा दिए । बुद्धले त्यो दिन उपवास छ भनेर सबैलाई टारिदिए ।



भोलिपल्ट बुद्ध उक्त शूद्रको छाप्रोमा गए । शूद्रलाई विश्वासै लागेको थिएन कि बुद्ध आउलान् भनेर किनकि धेरै–धेरै धनीहरूले उनकै अगाडि निमन्त्रणा दिएर गएका थिए तर बुद्धले उक्त शूद्रकहाँ नै जाने प्रण गरिसकेका थिए । शूद्रलाई आफ्नो गरिबी देखेर लाज लाग्यो तर बुद्धले उक्त ठाउँ महलभन्दा राम्रो भएको बताए । अनि शूद्रले आफूकहाँ भएको रुखो रोटी पातमा राखे तर तिउनका लागि उनले केही दिन सक्ला जस्तो लागेन । वर्षादको समय थियो । फोहोर ठाउँमा च्याउ फलिरहेको थियो । जुन उनले सधैँ तरकारीको रूपमा खान्थे । बुद्धलाई पनि त्यही खुवाउने विचारले झाडीमा खोज्न थाले । खोज्दा–खोज्दा उनलाई जहाँको च्याउ पनि विषालुजस्तो लाग्यो किनकि उनले त्यस्ता विषालु च्याउको सामना कैयौँ पटक गरिसकेका थिए । खोज्दा–खोज्दा राम्रा–राम्रा च्याउको तिउन तरकारी तयार गरी बुद्धलाई त्यही रुखो रोटीसँगै खानलाई दिए । शूद्र यति अपार खुसी थिए कि पहिलोपटक उनकी आमाले दूध खुवाउँदा खुसीभएसरि थिए । त्यसैले त बुद्धले त्यो तरकारी खानलाग्दा एकदम कठोर थियो र पनि एकदम विषालुजस्तो मुखमै हाल्न नहुने थियो तर बुद्धले उक्त खाना नखाएमा उक्त शूद्रलाई झन् फेरि दुःख दिनुपर्ने हुन्छ भनी मीठो–मीठो मानीकन खाए अनि “म एकदम आनन्दित भएको छु ।” भनी त्यो आमाकोसरि बुद्ध ममत्त्वको लाज राखी यही अपार मीठासमा हर्षका आँसु खसाले ।


बुद्धले त्यसलाई अमृतसमान मानेर बडो आनन्दित भएर खाए र आशीर्वाद दिएर त्यहाँबाट फर्के त्यसपछि त बुद्धलाई निर्वाण प्राप्त भएको थियो । जब उक्त शूद्रले त्यो च्याउ अलिकति चाखेर हेरे तब त उनी ढल्नै लागेका थिए । सो च्याउ साह्रै विषालु थियो । शूद्र दौडेर छाती पिटेर रुन थाले । बुद्धसँग माफी माग्न गए । “मैले के पाप गरेँ बुद्धलाई त मैले विष दिएँ नि लौ !” भने तर बुद्धले “खाना एकदम स्वादिलो भएको र यसलाई मैले सकारात्मक रूपमा नै लिएकाले यदि म मरी नै हाले पनि तिमी ठूलो बुद्धको अनुयायी हुनेछौ किनकि सबैभन्दा पहिले आमाले मलाई दूध खुवाएर गुण लाउनुभयो, सुजाताले पनि दोस्रो खानाले मलाई बोधी प्राप्त गराइन् त्यस्तै तपाईंले अन्तिम पटक यति मीठो खाना खुवाएर गुण लगाउनुभयो, म निर्वाणतर्फ जान पाएँ । धेरै धेरै धन्यवाद !” भने । बुद्धका शिष्यहरूले उक्त शूद्रलाई कठोर सजाय दिनमा जोड दिए तर बुद्धले “आखिर यो शरीर नश्वर छ त्यसैले यिनले अपराध गरेर मलाई मारेकै भए पनि यिनलाई पाप लाग्दैन किनकि यिनले जति दुःखले खाना अरू कसैले पनि मलाई आजसम्म खुवाएकै छैन । यिनको श्रद्धा नै ठूलो छ । हजारौँ वर्षमा म जस्तो मानिस जन्मन्छ त्यस्तै पहिलो, दोस्रो र आखिरी खाना खुवाउने सौभाग्य जोकोहीलाई प्राप्त हुँदैन, त्यसैले उहाँहरू ३ जनै सौभाग्यशाली हुन् ।” भने । यसरी बुद्धले सबैलाई सम्झाउन सफल भए । बुद्धले जीवनकालभरि ती ३  खानालाई मात्र खाना माने अरूलाई त उनले विष नै महसुस गरेर एकदमै टर्रो अनुभव गरेका थिए ।  किनकि ती ३ तिथि पनि बैशाख पूर्णिमा नै थियो, तिनै खानाले बुद्धलाई असीम आनन्दित अनि सबैका लागि फलदायी बनाइसकेको थियो ।


बुद्धले प्राण त्याग्दा धेरैले बुद्धले पीडामा प्राण त्याग्नुप¥यो भनेर आलोचना गरे तर त्यो उनीहरूको तर्फबाट मात्र थियो बुद्धको तर्फबाट थिएन । तृष्णा मीठोमा पनि छैन, नमीठोमा पनि छैन । सुख र दुःखको पारि, रागमा पनि छैन बैरागमा पनि छैन, दुबैको पारि वितरागी, हो त्यसैमा छ सुख, हो वितरागीमै छ परम् सुख । यदि तपाईंले जस्तोसुकै परिस्थितिलाई पनि सकारात्मक रूपमा लिएमा कुनै दुःखले पनि दुःख दिनै सक्दैन, कुनै सुखले पनि अन्धो बनाउनै सक्दैन । जस्तोसुकै परिस्थितिमा पनि सुखै हुन्छ । बुद्धले सबै प्रकारका नकारात्मकतालाई मिथ्या बनाइदिए । बुद्ध त्यो विन्दूमा गए कि त्यहाँबाट सुख र दुःख, सकारात्मक र नकारात्मक एउटै सिक्काका दुई पाटासरि नियाल्न सक्दथे । यसरी बुद्धले तेस्रो चरणमा आएर निर्वाण प्राप्त गरे ।


त्यसैले बुद्धले आफ्नो जीवनकालभरि नै आफ्नो जिन्दगीका सम्पूर्ण कालमा आफ्नो आध्यात्मिक चिन्तनभन्दा गरीब जनताको भलाइलाई पहिलो प्राथमिकता दिएका थिए । त्यसलाई धेरैपछि मात्र साधारण भक्तहरूले त के ठूला ठूला भक्तहरूलेसमेत धेरै पछि मात्र बुझेका थिए । यस्ता कैयौँ प्रसङ्गहरू छन् जुन अति नै मननीय छ कि हाम्रा नेताहरूले ।ाजनेता बन्न यस्तो ठूलो त्याग, तपस्या अनि जनताप्रति असीम श्रद्धाको पनि श्रद्धा उल्र्याउनु अति आवश्यक छ । बुद्धले त्यो समय प्रवचन दिइरहेका थिए त्यहाँ एक जनजना झुत्रो लुगा लगाएका व्यक्ति आएर ती सुकिलामुकिला भक्तहरूलाई तथानाम गाली गरिरहेका थिए जब बुद्धलाई समेत त्योभन्दा अति गाली दिए भक्तहरूले कडाभन्दा कडा सजाय दिन लागिसकेका थिए तर बुद्धले उनले भनेबमोजिम उनलाई पेटभरी खाना खुवाएर ससम्मान विदा गरिदिए । यसमा भक्तहरूले समेत बुद्धको यो कार्य बुद्धधर्म अनुकूल भएन भनी आक्रोसित भई विरोध गर्दा बुद्धले हाम्रो धर्मले उनलाई पेट भर्न सक्दैन भने हाम्रो धर्ममा पनि धेरै ठूलो कमजोरी छ भन्ने वोध भयो त्यसैले हामीले उनीजस्ता पीडितलाई पहिले भलो गर्नु नै हाम्रो पहिलो प्राथमिाकता हुन्छ भनी वोध गर्न अनुरोध गरे किनकि जहाँ भोको पेटले सीमा नाघेको हुन्छ , त्यहीँ अन्याय अत्याचार पराकाष्ठासम्म हुन्छ त्यसैले यस्तो विभेद हटाउन समयमै पेट भरी खुवाउनुजस्तो सबैभन्दा ठूलो धर्म अरू हुनै सक्दैन, यो नै पुन्य हो ।


वास्तबमा बुद्धले उपदेश दिँदा यही जोड दिएर भन्थे कि जसरी मैले खानालाई खाना मानेँ त्यसरी नै खाना मान्ने किसिमको सद्भाव दिलाएर सबैलाई अतिथि सत्कार गर्नू ।


२०८१ बैशाख ३१

बिजु सुवेदी विजय

Reply to me for this Article at bijusubedi@gmail.com


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा