कारिन्दा

टाढैबाट साहू चिच्याउँदै आयो, “हे कुलङ्गारहरू ! के गरी बस्या ? त्यतिकै तिमीहरूलाई गफ गर्न हायर गरेर लिएको हो र ? केही न केही त गराउनलाई नै हो स्वाँठहरू ।”

कारिन्दाले मनमनै मात्र भन्नसक्यो, “कहाँ हामीलाई हायर हो र ? हे दैव ? त्यत्रो काम गरिसक्दा पनि ज्यालादारीजस्तो मान पनि पाउन सकेनौँ । अनि त्यसै विदेश जान्छन् मान्छेहरू , देशमै गर्न मन त सबैलाई हुन्छ नि जसलाई पनि ?”
सुपरभाइजरले पनि भन्यो उसलाई, “हेर ! मैले मिजासले भनेर मानिनौ । मैले त नरम व्यवहारबाटै तिमीहरूसँग काम लिन खोजेको थिएँ । तर तिमीले कहिल्यै मानेनौ । यस्तो गाली गर्ने मौकै नदेऊ न ? मैले यो अफिसलाई राम्रो गर्न कुनै पनि कसर छोडेको छैन । तिमीहरू पनि यस्तो गर्न नछोड । बोलीले मात्र नराम्रो हो ऊ । उसको मन सफा छ । मनमा जे आयो त्यही भनी हाल्छ , विचरा !को मनमा पाप छैन ।”
अलिअलि कुरा सुनेजस्तो गरी फेरि साहू उनीहरूकै अगाडि आइपर्यो “हे सुपरभाइजर ! तिमी पनि गफ गरेर मजाक नउडाऊ । नियमावलीको काम पनि गर्नु छ उता अफिसमा एकपटक आऊ त ? यी स्वाँठहरूलाई भन । समय कम छ । काम धेरै छ । त्यै प्रतिफल आएमा त हामी सबैले खान पाउने हो नि ?” अनि झोक्क्ँिदै गइ पनि हाल्यो ।
सुपरभाइजरको फेरि लेक्चर सुरु भइहाल्यो, “हेर ! मैले के भनेँ तिमीहरूलाई ? उसलाई भन्ने मौकै नदिने नि । उसको भन्ने तरिका रुड छ । मैले ४० वर्ष भयो यो क्षेत्रमा लागेको । मलाई पनि कसरी तिमी भनेर गयो ? तिमीहरूले देखिरहेका छौ नि हैन ? अलि झोँक्की खालको मान्छे छ ऊ । उसको ब्लड प्रेसर पनि छ । त्यसैले उसलाई कराउने मौकै नदेऊ । यै कामका लागि उसले आफ्नो सर्वस्व रकम लगाएको छ । त्यसैको टेन्सन हो त्यो । तिमीहरूलाई थाहै छ नि । अब के भन्ने अब ?”
कारिन्दा गनगन गर्न थाल्यो, “ओल्टाईपल्टाई यी दुईले कहिले गाली गर्ने । कहिले फकाउने । एउटाले गाली गर्ने अर्कोले फकाउने । दुईटै एउटै हो । ब्लडप्रेसर बहाना मात्र हो, उसको साहुलाई बचाउने काइदा । धेरै मन सफा छ तिम्रो साहुको ।” अनि फिस्स हाँस्यो ।
फेरि सुपरभाइजरले सम्झाउन थाल्यो, “काममा ध्यानदेऊ, काममा । ल भन त मैले कहिल्यै फोर्स गरेको छु । कहिल्यै धम्क्याएको छु ? म मिजासैले काम लिनेमा विश्वास गर्छु , विश्वस्त छु कि तनावले तिमीहरूजस्ताले काम गर्न नपरोस् । थाहा छ नि म कहिल्यै रुड हुन चाहन्न । त्यो तनावले काम नविग्रोस् । त्यसैले कुल बन ल ? ऊ कराइरहन्छ । उसको कुरा मनमै नलिने नि । काममा लगनशील भएर लाग । अनि त ऊ खुसी भइ पनि हाल्छ नि । अनि ज्याला पनि लिन तिमीहरूलाई सजिलो पो हुन्छ त ।”
“के को कुल नि ? पैसाले समस्या परेपछि थाहा पाउँछ नि ? हामीले जति दिनमा कम्तीमा पनि १३ घण्टा अटूटरूपमा काम गर्न परेपछि थाहा पाउनुहुन्छ ? विहान ६ बजे आएर बेलुकी ७ नबजी कहिल्यै गएका छौँ हामी ? ढल्ने गरी काम गर्दा पनि जस दिन जानेनौ नि हगी ? स्यावासी त तिमीहरू दुईले नै कहिले दियौ र ?”
फेरि साहु देखापर्यो, “तिमीहरूले खाली हात मात्र चलाएर टुयाकट्याक र टुकटुक, टुयाकट्याक र टुकटुक मात्र गरेर काम हुँदैन । त्यसको आउटपुट पनि आउनुपर्यो । जहिले हेरे पनि त्यतिकै छ टुयाकट्याक र टुकटुक, टुयाकट्याक र टुकटुक । काम कहिल्यै सकेको होइन । कहिले काम सकिने हो ।” फेरि सुपरभाइजरसँग खासखुसखासखुस गरेर गइ पनि हाल्यो ।
सुपरभाइजरले फेरि सम्झाउन खोज्यो, “हुन पनि हो नि हेर न । हामीले काम थाल्दादेखि यहाँ तिमीहरू ४ जना कारिन्दा राखेर काम थालेका थियौँ । ४ महिना भइसक्यो , यो प्रोजेक्ट सकिएपछि अर्को पनि प्रोजेक्ट थाल्ने कुरो छ । यो प्रोजेक्टचाहिँ जहिले पनि त्यतिकै छ । काम पनि सकिएको होइन । यथार्थ त यही हो कि हाम्रो काममा यो प्रगती भयो भनेर देखाउन सक्ने ठाउँ पनि त छैन नि ? अहिलेसम्म हामीले यो काम पुरा गर्यौँ भनेर भन्ने कुनै काम सकिएको पनि छैन नि । जतिबेला पनि नेपाल विकास नभए जसरी यथास्थितिमै त छ ।”
“हामीले त्यत्रो काम सकाइसक्यौँ त्यै पनि आउटपुट निस्केन भन्छ । न हामीले भरिया लगायौँ । जुन सामान ल्याउन पनि, ओसार्न पनि कसैको मद्दत मागेनौँ । हामीले नै गर्यौँ , यो हाम्रो फिल्डको काम होइन भनेर पनि त भनेका छैनौँ नि । अन्त प्रोजेक्टमा हेर्नुस् त । भरिया ल्याउन परेमा चारजना भरिया लाग्थ्यो अनि प्रति घण्टा २००भन्दा घटीमा त गर्दै गर्दैन, हामीले ठोकेरै भन्न सक्छौँ । यस्तो काम त कति गर्यौँ कति । तै पनि मूल्याङ्कन नै गर्दैन ।”
“मैले गरेन भनेको छु कहिल्यै ? उसको कामै कराउने हो । बेस्कन बमजस्तो कराएर गए पनि सुनेर बस, टेन्सन नलेऊ तिमीहरू, म उसको पनि तिमीहरूको पनि जिम्मा लिएर बीचमा बसी निरीक्षण, सुपरिभिजन गरी आउटपुट निकाल्ने कसरी ? भन्ने सोचमग्न भइरहन्छु । देखिराछौ नि ! अनि काममा के पुगेन के गर्नुपर्छ ? कसरी काम फत्ते गर्ने दुबैतर्फ कसरी कुनै बाधा अड्चन नआओस् भनी लागिरहेको छु । तिमीहरूलाई थाहै छ सबै । अब के भन्नू अब ?”
सुपरभाइजर साहुको रुममा गयो त्यहाँ साहू पर्खिरहेको थियो ।
“ओ सुपरभाइजरजी ! हेर अब हामीले यसपटक यस्तो नियमावली बनाउनुपर्यो कि अर्को प्रोजेक्ट सुरु गर्ने बेला अर्कै नयाँ कारिन्दाहरू ल्याउन सकियोस् त्यसले गर्दा हामीले कम फ्यासिलिटीमा धेरै काम गराउन सक्नेछौँ । बरु कामदार माग गर्ने बेला प्रतिस्पर्धा गरेर लिने त्यसबाट हाम्रो अर्को प्रोजेक्टको काम कमभन्दा कम खर्चमा गर्न सकियोस् । त्यसैले म फेरि पनि भन्दैछु खालि हात मात्र चलाएर टुयाकट्याक र टुकटुक, टुयाकट्याक र टुकटुक मात्र गरेर काम हुँदैन । आउटपुट पनि आउनुपर्यो । तपाईं आजै कम्पनी रजिष्ट्रारको कार्यालयमा गएर यो व्यवस्थाको कार्यसूची बनाएर लैजानू । कुनै पनि कारणवस कसैलाई पनि थायि गर्न नपरोस् ।”
“हजुर हजुर !”
“के हजुर हजुर मात्रै । मैले भन्न खोजेको कुरा त थाहा भयो होला नि ? यदि अहिलेभन्दा पछिको प्रोजेक्टमा बढी ज्याला दिनुपर्यो भने तपाईंको पनि जागिर जान्छ नि थाहा छ कि छैन ? बरु अलिअलि खामबन्दी कुरा टेबुलमुनि अप्रत्यक्षरूपमा दिएर आऊ , तपाईंले फाइदा गरेअनुसार बरु तपाईंलाई पनि स्यालरीबाहेक पनि एक्स्ट्रा दिन्छु । थाहा छ नि अब तपाईंले यो प्रोजेक्टको भन्दा अर्को प्रोजेक्ट सकेसम्म छिटो, मीठो अनि सस्तो अनि गुणस्तरिय होस् । कम्पनी रजिष्ट्रारकोहरू यहाँ आउने बाटै नहोस् ।”
“बुझेँ बुझेँ हजुर ! म सक्दो कोसिस गर्नेछु । म आफ्नो फुल पोटेन्सियल दिनेछु । म अहिले नै आफ्नो रुममा गएर, कार्यसूची बनाएर, नियमावली बनाएर सबैलाई साइन गर्न लगाएर पास गर्नेछु ।”
“त्यै नियमावली कार्यसूची बनाउन जान्ने भएर त तपाईंलाई सुपरभाइजरका रूपमा हायर गरेको नि ? फेरि तपाईंले अरुलाई इमेल अनि टाइप गराउन लानुहुन्न । त्यो अरुकोभन्दा तपाईंको एक स्टेप बढी क्वालीटी छ । सबै आफैले नेपालीमा टाइप गरेर, नियमबमोजिम नेपाली कागजमा टाइप गरेर राम्ररी गर्नु हुन्छ । त्यसैले त तपाईंसँग म ढुक्क छु नि ।”
कारिन्दा त्यहीँ आइपुग्यो । “ए ! तपाईंलाई यहाँ मिटिङ भएको ठाउँमा नआऊ भनेको होइन ?”
“सर ! म खाजा खान जान आँटेको ? बाहिर किनमेलको केही काम छ भने सोधेर जानुस् भनेकोले सोध्न आएको नि ? फेरि आज खाना पनि नखाइकन आएको थिएँ ।”
“जाऊ जाऊ , यहाँ नआऊ । यो तिमीहरूले सुनेको थाहा पाए , मेरो पनि तिम्रो पनि जागिर जान सक्छ । अब जे हुनु भइहाल्यो । चूप लागेर बस्नू । यथार्थबाट कहिलेकाहीँ हानी पनि हुन सक्छ ।”
कारिन्दा उसका ३ जना अन्य कारिन्दा काम गरिरहेको ठाउँमा आत्तिँदै कतिबेला आफ्ना साथीहरूलाई कुरा सुनाउने उखरमाउलोसाथ उबडखाबडमा भन्छ , “हामी यसरी एकपछि अर्को ठाउँमा एउटा एउटा प्रोजेक्टमा काम गर्नुपर्ने कारण मैले पत्ता लगाएँ नि, हामीले काम जानेर मात्रै भएन बुद्धि पनि पुग्नु पर्यो । त्यही कम्पनीमा फेरि अर्को प्रोजेक्टको काम गर्दा त धेरै सुविधा पो पाउने रहेछ नि ? थाहा पाउनुभयो नि तपाईंहरूले ? ल म गएँ है ? हामी आज बाहिर एकदम सम्वेदनशील भएर छलफल गर्नु एकदमै टड्कारो आवश्यक भयो । ल ! म एक कप भए पनि बाहिर चिया खाएर आउँछु नि त है ?”
भोको पेटमा चिया राखेर सञ्चो हुनेभन्दा पनि त्यो रहस्यमय कुरा आफ्ना साथीहरूलाई फुकाउन पाउँदा बल्ल उसलाई कुनै रोगबाट सञ्चो भएजस्तो हुन्छ ।
२०८१ जेठ ७
बिजु सुवेदी विजय

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा