संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईलेसंविधानसभाको बैठकमा (२०७१ मंसिर २४) समितिको प्रतिवेदन पेश गर्ने क्रममा दिनुभएको मन्तव्यको पूर्ण पाठः सम्माननीय अध्यक्षज्यू, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको तर्फबाट मलाई यो चौथो प्रतिवेदन यस गरिमामय सभासमक्ष प्रस्तुत गरिरह“दा मलाई केही मिश्रित अनुभुति भइराखेको छ । एकापट्टि अथक परिश्रमका बावजुद यस सभाले दिएको निर्देशनलाई पूरा गर्न हामी सफल भइराखेका छैनौं, परिणाम निस्किराखेको छैन, त्यसले केही ग्लानी बोध गराइराखेको छ भने अर्कोतिर यो प्रतिकूलताका बीचमा पनि हामीले प्रयत्न गरिराखेका छौं, सहमति निर्माण गर्ने कोशिस गरिराखेका छौं । हामी रातदिन खटिइराखेका छौं, हामीले हिम्मत र आश मारेका छैनौं । यस अर्थमा केही सन्तोषको अनुभुति पनि हुन्छ । फेरि पनि मुख्य कुरा भनेको परिणाम नै हो । त्यो अहिलेसम्म हामीले प्राप्त गर्न सकेका छैनौं । यो संवाद समितिको जुन अवधारणा, कार्यक्षेत्र, विधि छ त्यसका पनि केही जटीलताहरु छन् । यो संवैधानिक समिति मात्रै नभएर राजनीतिक समितिको रुप पनि यसलाई दिइएको छ । पहिलो संविधानसभाभन्दा यस...