सुत अब...
सुत अब... आज पनि भोलिमा फेरियो , दिनभरि किरण फैलियो । समय आफ्नै गतिमा बगिरह्यो , रङ्गीन साँझ पनि थाकेर क्षितिजको काखमा निदाई । अब तिमी पनि आँखा चिम्लेर मिठो निद्राको न्यानो अँगालोमा हराऊ । फूलका कोपिलाहरू निदाए , वसन्त बहारले पनि आँखाहरू बन्द गर्यो, बगैँचाले मौनताको सिरानी हाल्यो । शहरका सडक र गल्लीहरूले दिनभरिका पाइला बिसाए । हावाले पनि आफ्नो गीत रोकेको छ । चारैतिर यति शान्ति छ कि , निद्राले मन्द स्वरमा फुसफुसाउँछ— " आऊ... अब आफैँसँग युद्ध नगर । मेरो काखमा केहीबेर विश्राम गर ।" कचपचिएको निँद्रासरि यो संसार यस्तै रहेछ— जहाँ मनले खोजेको चैन सधैँ एक कदम पर सर्छ । हरेक मुस्कानभित्र कुनै नदेखिएको पीडा हुन्छ । हरेक साससँग कुनै नबोलेको बोझ गाँसिएको हुन्छ । कति कुरा थिए जो भन्न सकिएनन् । कति आँसु थिए जो आँखासम्म आउन पनि सकेनन् । कति घाउ थिए जसलाई समयले छोपिदियो , तर मनले कहिल्यै बिर्सेन । जूनेली उज्यालो तिम्रै नाम फुसफुसाउँछ । चाँदनी मुस्कुराउँदै भन्छे— " चिन्ता छोड । सबै प्रश्नको उत्तर आजै खोज्नुपर्दैन । केही उत्तरहर...