कथाः मजदुरको आवाज
कथाः
मजदुरको आवाज
१ : “जा
गिर” को अर्थ
काठमाडौंको बिहान अरू दिनझैँ धुवाँ र
हतारले भरिएको थियो । सडकमा गाडीका हर्न, चिया पसलको वाफ र मान्छेका अनुहारमा
उस्तै थकान मिसिएको थियो ।
रामबहादुरले घडी हे¥यो—साढे
आठ बज्न लागेको थियो । ऊ छिटो–छिटो पाइला चाल्दै अफिसतिर बढिरहेको
थियो । आज मे १, मजदूर दिवस । तर उसको जीवनमा त्यो दिन अरू कुनै
दिनभन्दा फरक थिएन ।
उसले जागिर खाएको तीन महिना मात्रै
भएको थियो । काठमाडौं आएको पनि त्यति नै समय । गाउँमा थोरै खेत थियो, तर
त्यसले दुई छोराछोरी, बूढी आमा र श्रीमतीको खर्च धान्न सकेन । गाउँमा
बस्दा ऊ “देशमै केही गर्छु” भन्ने सपना बोकेर हिँड्थ्यो । तर सपना
पेटभन्दा ठूलो हुन सकेन । त्यसैले अन्ततः ऊ राजधानीको एउटा निजी इन्जिनियरिङ्
कम्पनीमा काम गर्न आइपुग्यो ।
अफिसको बोर्डमा ठूलो अक्षरमा लेखिएको
थियो—
“समर्पण नै सफलता हो ।”
रामबहादुरलाई त्यो वाक्य हरेक दिन
व्यंग्यजस्तो लाग्थ्यो ।
आज सरकारी विदा थियो । बिहान उठ्दा
उसले एकछिन सोचेको थियो—सायद आज पनि बिदा होला । तर हिजोसम्म कसैले
विदाको कुरा निकालेन । अफिसको ग्रुपमा पनि कुनै सूचना आएन । नयाँ कर्मचारी भएकाले
उसले आफैँ सोध्ने आँट गरेन ।
“काममा नआउने बहाना खोज्यो भने के
सोच्लान् ?” ऊ मनमनै डरायो ।
अफिस पुग्दा अरू स्टाफहरू पनि आइपुगेका
थिए । कसैले औपचारिक मुस्कान दिए, कसैले चुपचाप कम्प्युटर खोले । कोही
कसैसँग मजदूर दिवसको कुरा गरिरहेका थिएनन् । मानौँ आजको दिनको अस्तित्व नै थिएन ।
केही बेरमै साहू आफ्नो गाडीबाट झरे ।
चिल्लो जुत्ता, महँगो सुट र अनुहारमा कृत्रिम आत्मविश्वास ।
“आज खास काम छैन,” उनले
ठूलो स्वरमा भने, “त्यसैले अफिसको सेटिङ् परिवर्तन गर्ने । त्यो
टेबल उता सार, फाइलहरू यता मिलाऊ, सोफा माथिल्लो
फ्लोरमा लग । अफिस नयाँ देखिनुपर्छ ।”
स्टाफहरू तुरुन्त चलमलाए ।
कसैले भारी आल्मारी उठायो । कसैले तार
खोलेर कम्प्युटर सार्न थाल्यो । कसैले पसिना पुछ्दै सोफा बोकेर सिँढी उक्लियो ।
रामबहादुर पनि एउटा फलामे दराज समातेर
दुई जनासँगै तानिरहेको थियो । हात चिप्लियो । कुर्कुच्चा भित्तामा ठोक्कियो ।
दुखाइले आँखा चिम्लियो । तर ऊ चुप लाग्यो ।
साहू भने दङ्ग पर्दै थिए ।
“यस्तै हो टिमवर्क ! कम्पनी परिवार हो
परिवार !” रामबहादुरलाई
त्यो “परिवार” शब्द सुन्दा अनौठो लाग्यो ।
परिवारमा पनि यस्तो हुन्छ ? विदाको
दिन बोलाएर सामान बोकाउने ? ओभरटाइम नदिने ? नाम मात्रको सम्मान दिने ?
उसले झ्यालतिर हे¥यो
। बाहिर कतै मजदूर दिवसको र्यालीको आवाज हल्का सुनिन्थ्यो । कसैले माइकमा श्रमिक
अधिकारको भाषण गरिरहेको थियो । तर त्यो आवाज यो अफिसको बाक्लो सिसाभित्र आइपुग्दा
निकै कमजोर भइसकेको थियो ।
दिउँसो सबैलाई एक प्लेट चाउमिन बाँडियो
। साहूले
हाँस्दै भने, “आज तिमीहरूका लागि स्पेसल व्यवस्था ! मजदूर
दिवस हो नि !” सबै हाँसे ।
कसैले वास्तविक हाँसो हाँसेन ।
साँझ पर्दै गयो । घडीले छ बजायो ।
थाकेका स्टाफहरू अब घर जाने आशामा थिए । तर साहू फेरि आफ्नो कुर्सीमा बसेर फाइलको
थुप्रो निकाल्न थाले ।
“अब मुख्य काम बाँकी छ,” उनले
भने, “यी खर्चका भौचर मिलाउनुपर्छ ।”
टेबलमा होटलको बिल, पेट्रोलको
रसिद, घरको फर्निचरको खर्च, श्रीमतीको शपिङसम्मका कागज थिए । ती
सबै कम्पनी खर्च बनाइँदै थिए ।
“यो ३० अप्रिलको बनाऊ ।” “यो
चाहिँ मे २ राख ।” “यो क्लाइन्ट मिटिङ भनेर लेख ।”
स्टाफहरू चुपचाप टाइप गरिरहेका थिए ।
कसैले प्रश्न गरेन ।
रामबहादुरले पहिलोपटक बुझ्दै गयो—यहाँ
काम मात्र होइन, झूट पनि जागिरको जिम्मेवारी रहेछ ।
उसको छेउमा बसेको पुरानो स्टाफ विनोदले
बिस्तारै फुसफुसायो— “बानी पार्नू भाइ । यहाँ सत्य बोल्ने मान्छे
टिक्दैन ।”
रामबहादुर मुस्कुराएजस्तो मात्रै गर्यो
।
सात बज्न लाग्दा सबै भौचर तयार भए ।
साहूले एक–एक कागज हेरे । केहीमा हस्ताक्षर गरे । अनि कुर्सीमा ढल्केर गर्वसाथ
भने—
“अब भने तिमीहरू पर्फेक्ट भयौ ।”
त्यो वाक्य सुन्दा रामबहादुरको
छातीभित्र केही भारी भएर बस्यो । पर्फेक्ट ? केका लागि ? झूट बोल्न ? विदाको दिन निःशुल्क श्रम गर्न ? मान्छे
भएर पनि सामानझैँ प्रयोग हुन ?
अफिसबाट निस्कँदा रात परिसकेको थियो ।
सडकका बत्तीहरू बलिसकेका थिए । मोबाइलमा सामाजिक सञ्जाल खुल्यो ।
नेताहरूका भाषणले भरिएको थियो—
“मजदूरको अधिकार सुनिश्चित गरिन्छ ।”
“श्रमिक राष्ट्रका मेरुदण्ड हुन् ।”
“सरकार श्रमिकको पक्षमा प्रतिबद्ध छ ।”
उसले मोबाइल बन्द गरिदियो । कोठामा
पुग्दा श्रीमती माया ढोकामै कुरिरहेकी थिइन् । छोराछोरी सुतिसकेका थिए ।
“आज त विदा थियो नि ? यति
ढिला किन ?” मायाले सोधी ।
रामबहादुर केहीबेर चुप रह्यो । अनि
थाकेको शरीर खाटमा फाल्दै बिस्तारै भन्यो— “माया… जागिर भनेको
जागिर होइन रहेछ ।”
“अनि ?” उसले छततिर हेर्दै कटु मुस्कान दियो— “जा…
गिर
। गिर्न
जाऊ भनेको रहेछ ।”
२ : घरको गणित
काठमाडौंको कोठा साँघुरो थियो । टिनको
छाना, चर्किएको भित्ता र भुइँमा पुरानो कार्पेट । झ्यालबाट बाहिर हेर्दा
अर्को घरको भित्ताबाहेक केही देखिँदैनथ्यो । तर यही सानो कोठाभित्र रामबहादुरको
पूरा संसार अटाएको थियो । रातको खाना सकिएपछि माया पुरानो कापी
लिएर बसिन् । त्यो कापी उनीहरूको “घरको गणित” थियो ।
हरेक महिनाको आम्दानी र खर्चको हिसाब । रामबहादुर
चुपचाप उनको छेउमा बस्यो ।
“यो महिना तलब कति आयो ?” मायाले
सोधी ।
“अठार हजार ।”
मायाले हिसाब गर्न थालिन्—
“छ हजार घरभाडा ।
दुई हजार पाँच सय छोराको स्कूल ।
डेढ हजार छोरीको किताब र ड्रेस ।
चामल, दाल, तरकारी
कम्तीमा सात हजार ।
ग्यास, बिजुली, पानी
छुट्टै ।
आमाको औषधि पनि सकिन लाग्यो...”
कलम रोकियो ।
कापीमा अंकहरू बढ्दै गए, तर
पैसाको हरफ सकिँदै गयो ।
केही बेर दुवै चुप बसे ।
त्यो मौनताभित्र असफलताको गन्ध थियो ।
मायाले बिस्तारै भनिन्—
“सरकारी अफिसको सबभन्दा तलको कर्मचारीले
पनि तिमीभन्दा बढी पाउँछ रे ।”
रामबहादुरले हल्का हाँसो निकाल्ने
प्रयास गर्यो— “हामी त प्राइभेटका मान्छे ।”
“प्राइभेटका मान्छे कि बन्धक ?” उनको
स्वरमा गुनासोभन्दा बढी पीडा थियो ।
“दिनभरि काम, विदा छैन,
ओभरटाइम
छैन । बिरामी भए तलब काटिन्छ । अनि महिनाभरि खटेर पनि घर चलाउन नपुग्ने । यो काम
हो कि सजाय ?”
रामबहादुरसँग उत्तर थिएन । ऊ
भित्तातिर हेर्दै बसिरह्यो । उसलाई आफ्नै जीवन कुनै अदृश्य
मेसिनभित्र फसेको पुर्जाजस्तो लाग्थ्यो—घुमिरहनुपर्ने, घोटिइरहनुपर्ने,
तर
कहिल्यै अघि नबढ्ने । अर्को बिहान अफिसमा पुगेपछि पनि उसको मन भारी
नै थियो । दिउँसो
चिया खाने बेला अफिसकी कर्मचारी सविता कुनामा बसेर मोबाइलमा कसैसँग रिसाउँदै कुरा
गरिरहेकी थिइन् ।
“मभन्दा पछि आएको केटाले मभन्दा तीन
हजार बढी तलब खान्छ,” उनी भन्दै थिइन्, “काम चाहिँ मबाट
बढी गराउँछन् ।”
फोन राखेपछि उनी झोक्किँदै टेबलमा
बसिन् ।
रामबहादुरले बिस्तारै सोध्यो— “के
भयो दिदी ?”
सविताले तीतो हाँसो हाँसिन् ।
“के हुनु ? यही अफिसको
न्याय । म बिहानदेखि बेलुकासम्म रिपोर्ट बनाउँछु । क्लाइन्टसँग कुरा गर्छु । तर
केटा स्टाफलाई ‘घर चलाउनुपर्छ’ भनेर बढी तलब ।
महिलालाई चाहिँ ‘पूरक आम्दानी’ ठान्छन् ।”
उनले थपिन्— “अझ बिहे भयो भने अर्को कुरा । बच्चा
जन्मियो भने ‘अब काममा ध्यान दिन्न’ भनेर बढुवा
रोक्छन् ।”
त्यो सुन्दा रामबहादुर चुप भयो । उसलाई
आफ्नी श्रीमती सम्झना आयो । माया पनि कहिल्यै सिलाइ पसलमा काम गर्थिन्
। तर छोरी जन्मिएपछि मालिकले समय मिलेन भनेर निकालिदिएको थियो ।
अफिसको झ्यालबाट बाहिर हेर्दा ठूलो
होर्डिङ देखिन्थ्यो—
“विदेश जाऔँ, भविष्य बनाऔँ ।”
तल कतार, दुबई, मलेसिया
जाने आकर्षक विज्ञापनहरू थिए । हातमा पैसा बोकेर हाँसिरहेका नेपाली
युवाहरूका फोटो । रामबहादुर केहीबेर त्यही बोर्ड हेरेर बसिरह्यो
।
उसको साथी पृथ्वी तीन वर्षअघि कतार
गएको थियो । अहिले गाउँमा पक्की घर बनाउँदैछ । फेसबुकमा कहिलेकाहीँ फोटो हाल्छ—चस्मा,
बाइक,
नयाँ
मोबाइल ।
“विदेश गए दुःख त हुन्छ,” पृथ्वीले
एकपटक भनेको थियो, “तर यहाँजस्तो बाँचेरै मर्नुपर्दैन ।”
त्यो वाक्य रामबहादुरको दिमागमा
घुमिरह्यो ।
साँझ घर फर्किँदा उसले बाटोमा एउटा
मेनपावर कम्पनीको बोर्ड अगाडि पाइला रोक्यो ।
“साउदी – ७० हजार तलब”
“दुबई – फ्री भिसा”
“कतार – तुरुन्त उडान”
भित्र धेरै युवाहरू लाइनमा बसेका थिए ।
कसैको हातमा फाइल, कसैको हातमा पासपोर्टको फोटोकोपी ।
ऊ पनि केहीबेर ढोकामा उभियो ।
मनले भन्यो—
“जाऊ । यही देशमा बस्दा के पाइस् ?”
तर त्यही क्षण उसलाई छोरो सम्झना आयो—
हिजो राति गृहकार्य देखाउँदै सोधेको
थियो, “बाबा,
तपाईं
सधैं किन थाक्नुभएको हुन्छ ?”
छोरी सम्झिई— उसले काखमा च्यापेर भनेकी थिई, “बाबा,
तपाईं
अफिस नजानू न भोलि ।”
रामबहादुरको खुट्टा अगाडि बढेन ।
उसले फेरि बोर्डतिर हे¥यो
। त्यो
बोर्डमा “भविष्य” लेखिएको थियो, तर उसलाई त्यो
शब्दभित्र घर छोड्नुपर्ने पीडा, परदेशको अपमान र एक्लोपन मात्रै देखियो
।
ऊ बिस्तारै फर्कियो । घर
पुग्दा माया चुलोअगाडि थिइन् । “किन ढिला ?” उनले सोधी ।
रामबहादुर केहीबेर चुप रह्यो । अनि
बिस्तारै भन्यो— “आज मेनपावरको अगाडि धेरै बेर उभिएँ ।”
मायाको हात रोकियो । “जाने
सोच्नुभएको ?”
उसले सुतिरहेका छोराछोरीतिर हे¥यो
।
“सोचेँ... तर उनीहरूको अनुहारले जान दिएन ।”
कोठाभित्र फेरि मौनता फैलियो । त्यो
मौनता गरिबीभन्दा ठूलो थियो ।
३ : विदेशको
सपना र पीडा
शनिबारको साँझ थियो । काठमाडौंको
आकाश धुलो र धुवाँले धमिलो देखिन्थ्यो । कोठाबाहिरको गल्लीमा बच्चाहरू खेलिरहेका
थिए, तर रामबहादुरको मन भने असामान्य रूपमा भारी थियो ।
उनीहरूको छिमेकी दिलबहादुर केही दिनअघि
मात्रै दुबईबाट फर्किएको थियो । गाउँतिर उसका बारेमा धेरै चर्चा हुन्थ्यो—“विदेश
गएर पैसा कमाएको मान्छे”, “घर बनाएको”, “भाग्यमानी”
तर
आज साँझ उसलाई नजिकबाट देख्दा रामबहादुरलाई त्यो मानिस कुनै विजेता जस्तो लागेन ।
गल्लीको चिया पसलमा उनीहरू सँगै बसेका
थिए । दिलबहादुरको अनुहार घामले डढेको थियो । हातका नसाहरू निस्किएका थिए । ऊ
लगातार चुरोट तानिरहेको थियो ।
“कस्तो छ त विदेश ?” रामबहादुरले
धेरैबेरपछि सोध्यो ।
दिलबहादुर केहीबेर चुप रह्यो । अनि
तीतो हाँसो हाँस्यो— “फोटोमा देखेजस्तो हुँदैन ।”
उसले चियाको गिलास टेबलमा राख्यो ।
“हामीलाई मान्छेभन्दा काम गर्ने मेसिन
जस्तो व्यवहार गर्छन् । पासपोर्ट कम्पनीले राख्छ । फ्यासिलिटी दिनु पर्ला भनेर
टेम्पोरोरी रेसिडेन्स सर्टिफिकेट TRC
नदिई अल्झाइ राख्छन् । बिरामी भए पनि काममा जानुपर्छ । बोल्यो भने
अर्को दिन टिकट काटेर पठाइदिन्छन् ।”
रामबहादुर ध्यान दिएर सुनिरहेको थियो ।
“एकदिन ५० डिग्री गर्मीमा साथी बेहोस
भयो,” दिलबहादुरले भन्यो, “मालिकले के भन्यो थाहा छ ?
‘अर्को मान्छे ल्याइहाल्छु।’”
उसको स्वर बिस्तारै भारी हुँदै गयो ।
“त्यहाँ नेपाली, बङ्गाली,
भारतीय
सबै एउटै लाइनमा उभिन्छन् । तर व्यवहार भने तेस्रो दर्जाको । कहिलेकाहीँ कुकुरलाई
भन्दा कम सम्मान पाएको महसुस हुन्थ्यो ।”
चिया पसल केहीबेर मौन भयो ।
छेउको टेलिभिजनमा समाचार चलिरहेको थियो
। स्क्रिनमा
ध्वस्त भवनहरू देखाइँदै थिए ।
एङ्कर चिच्याइरहेको थियो—
“युक्रेन–रुस युद्ध झन्
चर्किँदै...”
“इरान र अमेरिकाबीच तनाव...”
“मध्यपूर्वमा श्रमिकको सुरक्षा
चुनौती...”
रामबहादुरको आँखा टेलिभिजनमै अड्कियो ।
उसले सम्झियो—उसको गाउँकै दुई
जना केटा अहिले कतारमा थिए । अर्को एक जना युक्रेन हुँदै युरोप जाने प्रयासमा
हराएको खबर आएको थियो ।
“युद्ध भए त ?” उसले अचानक
सोध्यो ।
दिलबहादुर हाँस्यो, तर
त्यो हाँसोमा डर मिसिएको थियो ।
“युद्धमा सबैभन्दा सस्तो जिन्दगी विदेशी
मजदुरको हुन्छ भाइ । ठूलो देशहरू मिसाइल हान्छन्, मर्ने हामीजस्ता
गरिबहरू हो ।”
टेलिभिजनमा फेरि अर्को समाचार आयो—
“यस वर्ष पनि रेमिट्यान्स वृद्धि...
अर्थतन्त्र सकारात्मक...”
समाचारवाचक मुस्कुराइरहेको थियो ।
दिलबहादुर रिसाएजस्तो देखियो ।
“देशलाई हाम्रो पसिना चाहिएको छ,”
उसले
भन्यो, “तर हाम्रो जिन्दगीको मतलब छैन ।”
रामबहादुर चुपचाप सुनिरह्यो ।
त्यो रात ऊ घर फर्किएपछि पनि समाचार
हेरिरह्यो ।
सरकारले नयाँ सेवा सुरु गरेको खबर
आइरहेको थियो—
“अब पासपोर्ट प्रक्रिया अझ सरल।”
“छिटो श्रम स्वीकृति।”
“वैदेशिक रोजगारमै आर्थिक समृद्धि।”
उसलाई लाग्यो—देशले युवालाई
रोक्ने योजना होइन, छिटो पठाउने योजना बनाइरहेको छ ।
माया भाँडा माझ्दै थिइन् ।
“के हेर्नुभएको यति ध्यान दिएर ?”
उनले
सोधी ।
रामबहादुरले टेलिभिजनतिर हेर्दै भन्यो— “पासपोर्ट
बनाउन सजिलो बनाइरहेछन्, तत्कालै दिजिटल फर्म भरेपछि दैलैमा पुर्याउँछ अहिले ।”
“त्यो त राम्रो होला नि ?”
ऊ केहीबेर मौन रह्यो । अनि
बिस्तारै बोल्यो— “राम्रो कसका लागि ? हामीलाई देशमै काम गरेर बाँच्न दिने
व्यवस्था छैन । अनि विदेश पठाउन सबै सजिलो ।”
माया चुप भइन् ।
रामबहादुरको स्वर अब गहिरिँदै गयो—
“देशका कारखाना बन्द । खेती मरिरहेको ।
युवाहरू सबै विमानस्थलको लाइनमा । सरकारलाई लाग्छ, पैसा आइरहेसम्म
देश चलिहाल्छ ।”
उसले टेलिभिजन बन्द गरिदियो ।
कोठामा अँध्यारो गाढा भयो ।
“तर...” उसले फेरि भन्यो,
“यदि
एकदिन युद्धले सबै बाटो बन्द गरिदियो भने ? यदि विदेशबाट पैसा आउनै छोड्यो भने ?”
मायाले उसलाई हेरिन् ।
रामबहादुरको आँखामा डर स्पष्ट थियो ।
“रेमिट्यान्स नआए के गर्ने ?”
उसको स्वर अब लगभग आफैँसँगको
प्रश्नजस्तो थियो— “सरकारसँग कुनै योजना छैन ।”
झ्यालबाहिर कतै विमानको आवाज सुनियो ।
सायद अर्को जहाज उडिरहेको थियो—अर्का
नेपाली युवाहरूलाई बोकेर, अर्को परदेशतिर ।
४ : मजदुर
दिवसको ठट्टा
मे महिनाको गर्मी विस्तारै बढ्दै थियो
।
अफिसको सानो कोठाभित्र पुरानो पंखा
कराउँदै घुमिरहेको थियो । कम्प्युटरको स्क्रिन अगाडि झुकेका कर्मचारीहरूको
अनुहारमा थकान उस्तै थियो ।
दिउँसोको समय थियो । काम खासै थिएन ।
साहू भने माथिल्लो फ्लोरमा कुनै “विशेष मिटिङ” मा व्यस्त थिए ।
त्यसैले स्टाफहरू केहीबेर चिया लिएर
टेलिभिजन अगाडि जम्मा भए ।
स्क्रिनमा एउटा भव्य तारे होटल देखियो
।
रातो कार्पेट । चम्किला झूमर । सुट–टाइ
लगाएका नेता, मन्त्री, उद्योगी । पछाडि
ठूलो ब्यानर टाँगिएको थियो—
“अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष
समारोह”
एउटा मन्त्री मञ्चमा उभिएर भाषण
गरिरहेका थिए—
“सरकार श्रमिकको हकहितप्रति पूर्ण
प्रतिबद्ध छ । मजदुर राष्ट्रको मेरुदण्ड हुन् । श्रमिकको सम्मानबिना विकास सम्भव
छैन ।”
हल तालीले गुञ्जियो ।
रामबहादुर केहीबेर टेलिभिजन हेरेर
बसिरह्यो । अचानक
उसको मुखबाट हल्का हाँसो निस्कियो ।
छेउमा बसेको विनोदले सोध्यो— “के
भयो ?”
रामबहादुरले चियाको गिलास टेबलमा
राख्यो । “केही
होइन,” उसले भन्यो, “हामीले हिजो मजदुर दिवसमा भौचर
बनायौँ... उनीहरूले भाषण गरे ।”
केही स्टाफहरू मुस्कुराए तर त्यो
मुस्कानभित्र कटुता थियो ।
टेलिभिजनमा अर्को नेता बोल्दै थियो— “निजी
क्षेत्रमा श्रमिक शोषण हुन दिइँदैन ।”
यो सुन्दा सविता हाँसिन्, तर
उनको हाँसो व्यंग्यले भरिएको थियो ।
“हाम्रो अफिसमै एकदिन आएर हेरून्,”
उनले
भनिन्, “त्यो दिन सबैभन्दा पहिले क्यामेरा बन्द हुन्छ ।”
सबै फेरि चुप भए । रामबहादुरको
नजर टेलिभिजनमा थियो, तर उसको मन धेरै टाढा पुगेको थियो—आफ्नो
गाउँतिर । उसलाई
आफ्नो बाबु सम्झना आयो ।
सानो हुँदा बेलुका बत्ती निभेपछि बुबाले
कहिलेकाहीँ पुराना आन्दोलनका कथा सुनाउँथे । त्यतिबेला गाउँमा मजदुर सङ्घको ठूलो
प्रभाव थियो । खेताला, भरिया, कारखानाका कामदारहरू एकजुट भएर
मालिकसँग अधिकार माग्न जान्थे ।
“पहिला मजदुरहरू डराउँदैनथे,” उसका
बुबाले एकपटक भनेका थिए, “पेट खाली भए पनि आवाज बुलन्द थियो ।”
आँगनको डिलमा बसिरहेकी आमाले थपेकी
थिइन्— “तिम्रो
बाजेले एकपटक गाउँको साहूसँग झगडा गरेका थिए । मजदुरलाई आधा ज्याला दिएको भनेर ।”
त्यो बेला रामबहादुर सानो थियो । उसलाई
लाग्थ्यो—मजदुर आन्दोलन भनेको ठूलो कुरा हो । नारा, जुलुस, साहस
।
तर अहिले ?
अहिले मजदुरहरू आन्दोलनभन्दा बढी डरमा
बाँचेका थिए ।
अफिसमा कसैले तलबको कुरा उठायो भने “अर्को
मान्छे ल्याइहाल्छु” भन्ने जवाफ आउँथ्यो । विदाको कुरा गरे “काम
गर्न मन छैन भने नआए हुन्छ” सुनिन्थ्यो । महिलाले बराबरी मागे “यति
सुविधा पाएकै छौ” भनिन्थ्यो ।
संघर्षको ठाउँमा असुरक्षा आएको थियो ।
टेलिभिजनमा फेरि दृश्य फेरियो । तारे
होटलभित्र प्लेटमा विदेशी खाना सजाइएको थियो । मन्त्रीहरू फोटो खिचाउँदै थिए । पछाडि
मजदुर दिवसको गीत बजिरहेको थियो ।
रामबहादुरलाई अचानक रिस उठ्यो ।
उसले बिस्तारै भन्यो— “मजदुर
दिवस उनीहरूका लागि कार्यक्रम रहेछ... हाम्रो लागि काम गर्ने अतिरिक्त दिन ।”
त्यो वाक्यपछि कोठा फेरि मौन भयो । साँझ
घर फर्किँदा उसको मन भारी थियो । गल्लीमा एउटा सानो बालक बोरा बोकेर
हिँडिरहेको थियो । अर्कोतिर निर्माणस्थलमा मजदुरहरू अझै काम
गरिरहेका थिए । कतै पनि उत्सव देखिँदैनथ्यो । मजदुर
दिवस केवल भाषणमा थियो ।
घर पुगेपछि बूढी आमाले रेडियो सुन्दै
थिइन् । त्यहाँ
पनि मजदुर दिवसकै विशेष कार्यक्रम चलिरहेको थियो ।
आमाले रामबहादुरलाई हेरेर भनिन्— “आजकलका
मजदुरहरू किन चुप बस्छन् बाबु ? हाम्रो पालामा त अन्याय भयो भने गाउँ
नै उठ्थ्यो ।”
रामबहादुर केहीबेर मौन रह्यो । उसले
आमाको अनुहार हे¥यो—झुर्रिएको छाला, कठोर जीवनले
बनेका रेखाहरू ।
अनि बिस्तारै उत्तर दियो— “त्यतिबेला
मानिससँग गरिबी थियो आमा... अहिले गरिबीसँगै डर पनि छ ।”
५ : बाध्यता
अफिसको वातावरण केही दिनयता झन् बेचैन
थियो । काम
उस्तै थियो, तर कर्मचारीहरूको अनुहारमा कुनै अदृश्य डर
थपिएको देखिन्थ्यो । कसैले खुला रूपमा केही भन्दैनथ्यो, तर सबैभित्र
एउटै चिन्ता थियो—“यहाँ कतिन्जेल ?”
त्यही बिहान विनोदले अचानक घोषणा गर्यो—“म
अर्को महिना कतार जाँदैछु ।”
कम्प्युटरमा टाइप गरिरहेका हातहरू केही
क्षण रोकिए । सविताले अचम्म मान्दै सोधिन्— “तिमी
पनि ?”
विनोदले हल्का हाँसो हाँस्यो । “‘पनि’
होइन
दिदी, अब पालो मेरो । यहाँ बसेर जिन्दगी सकियो ।”
रामबहादुर चुपचाप उसको अनुहार हेर्दै
बसिरह्यो । विनोद
यो अफिसमा सात वर्षदेखि थियो । सबै काम जान्थ्यो । साहूले गाली गर्दा पनि प्रतिवाद
गर्दैनथ्यो । नयाँ कर्मचारीलाई सिकाउँथ्यो तर उसको हालत कहिल्यै फेरिएको थिएन ।
“कतारमा के काम ?” रामबहादुरले
सोध्यो ।
“वेयरहाउस । बाह्र घण्टा ड्युटी रे ।”
“तलब ?”
“सत्तरी हजार जति ।”
त्यो रकम सुन्नासाथ अफिस केहीबेर मौन
भयो । त्यो
उनीहरूको महिनौँको तलबभन्दा बढी थियो ।
रामबहादुरले बिस्तारै भन्यो— “सबै
कुरा पैसाले मात्रै त हुँदैन नि विनोद दाइ । त्यहाँको दुःख पनि सुनेकै छौ ।”
विनोद केहीबेर चुप रह्यो । अनि
कुर्सीमा ढल्किँदै भन्यो— “दुःख त यहाँ पनि छ भाइ । फरक
यत्ति हो—त्यहाँ दुःखको मूल्य अलि बढी पाइन्छ ।”
त्यो वाक्य रामबहादुरको छातीमा गड्यो । साँझ
घर फर्किँदा ऊ असाध्यै थाकेको थियो तर घरभित्र पस्नेबित्तिकै अर्को चिन्ताले उसलाई
घे¥यो । माया पुरानो कापी र केही बिलहरू अगाडि राखेर
बसेकी थिइन् ।
“स्कूलबाट खबर आएको छ,” उनले
भनिन्, “परीक्षा शुल्क तीन दिनभित्र तिर्नुपर्छ रे ।”
रामबहादुर चुप रह्यो ।
“कति ?”
“दुवैको गरेर चार हजार ।”
उसले गहिरो सास फेर्यो । त्यही
बेला भित्रबाट आमाको खोकीको आवाज आयो । लगातार, सुख्खा, थकित
खोकी ।
मायाले बिस्तारै भनिन्— “आमाको
औषधि पनि सकियो । आज फेरि ज्वरो आएको थियो ।”
रामबहादुर भित्र कोठामा गयो । आमा
सिरानीमा अडेस लागेर बसिरहेकी थिइन् । अनुहार पहेँलो देखिन्थ्यो ।
“डाक्टरकहाँ जानुपर्ला बाबु,” आमाले
कमजोर स्वरमा भनिन्, “तर धेरै खर्च लाग्छ भने नलानू । बुढेसकाल त
यस्तै हो ।”
त्यो सुन्दा रामबहादुरको घाँटी अड्कियो
।
उसलाई अचानक आफू असफल भएको महसुस भयो । ऊ
दिनरात काम गरिरहेको थियो तर आफ्ना छोराछोरीको परीक्षा शुल्क र आमाको औषधिसमेत
सहजै जुटाउन सकिरहेको थिएन ।
राति धेरै बेरसम्म ऊ निदाउन सकेन ।
छेउमा सुतेका छोराछोरीको सासको आवाज
सुनिन्थ्यो । छततिर हेर्दै ऊ हिसाब गरिरह्यो—
तलब — अठार हजार ।
घरभाडा ।
खाना ।
स्कूल ।
औषधि ।
जति हिसाब गरे पनि अन्तिममा ऋण नै
बाँकी रहन्थ्यो ।
अचानक उसको दिमागमा विनोदको कुरा आयो— “त्यहाँ
दुःखको मूल्य अलि बढी पाइन्छ ।”
उसले आँखा बन्द गर्यो ।
तर अब गाउँ, परिवार, सन्तानको
अनुहारभन्दा बढी उसको अगाडि विमानस्थलको दृश्य आउन थाल्यो ।
भोलिपल्ट अफिस जाँदा बाटोमा जिल्ला
प्रशासन कार्यालयअगाडि लामो लाइन देखियो । धेरै युवाहरू फाइल बोकेर उभिएका थिए । कसैको
अनुहारमा उत्साह थियो, कसैमा डर, कसैमा निराशा ।
माथि बोर्ड टाँगिएको थियो— “राहदानी
सेवा”
रामबहादुर केहीबेर त्यहीँ उभिरह्यो । लाइनमा
उभिएका धेरै अनुहारहरू ऊजस्तै देखिन्थे— थाकेका, बाध्य, भविष्य
खोजिरहेका ।
उसले मोबाइल निकाल्यो । आफ्नो
बैंक खातामा बाँकी रकम हे¥यो । त्यसपछि आमाको औषधिको पर्चा सम्झियो । छोराको
परीक्षा शुल्क सम्झियो । उसको भित्र कतै केही बिस्तारै भाँचियो । सायद
यही क्षण थियो—जब मानिसले आफ्नो इच्छा होइन, बाध्यता
रोज्छ ।
ऊ बिस्तारै लाइनतिर बढ्यो । फाराम
बाँड्ने कर्मचारीले सोध्यो— “नयाँ पासपोर्ट ?”
रामबहादुरले केही क्षण रोकिएर उत्तर
दियो— “हो
।”
६ : विदाइको
पीडा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको
बाहिर असामान्य भीड थियो । ठूला झोला बोकेका युवाहरू, रोइरहेका
परिवार, हतारिएका दलालजस्ता एजेन्ट, कराइरहेका बच्चाहरू—सबै
दृश्य एउटै पीडाको फरक रूपजस्तो देखिन्थे ।
रामबहादुर हातमा सानो ब्याग समातेर
उभिएको थियो । उसको पासपोर्ट, टिकट र श्रम
स्वीकृतिको फाइल बारम्बार जाँचिरहेको थियो । मानौँ कागजहरू हराए भने ऊ फेरि घर
फर्किन पाउँथ्यो ।
माया छेउमै थिइन् । उनको
आँखामा रातभरि नसुतेको थकान थियो । छोरो बाबुको हात समातेर उभिएको थियो
भने छोरी आमाको काखमा टाँसिएकी थिई ।
केहीबेर कसैले केही बोलेन ।
लाउडस्पिकरमा उडानको सूचना बजिरहेको
थियो ।
कतार, दुबई, कुवेत,
साउदी...
रामबहादुरलाई लाग्यो—यो
विमानस्थल होइन, देशबाट मान्छे बिदा गर्ने कारखाना हो ।
छोराले अचानक सोध्यो— “बाबा,
तपाईं
कहिले फर्किनुहुन्छ ?”
उसको घाँटी एक्कासि सुख्खा भयो । “चाँडै,”
उसले
मुस्कुराउने प्रयास गर्दै भन्यो, “धेरै चाँडै ।”
तर उसलाई आफैँ आफ्नो उत्तरमा विश्वास
थिएन ।
मायाले बिस्तारै भनिन्— “अझै
पनि नजाने भए हुन्छ...”
त्यो वाक्यमा रोक्न खोज्ने चाहना थियो,
तर
साथसाथै असहाय स्वीकार पनि ।
रामबहादुरले श्रीमतीतिर हे¥यो
।
उसलाई थाहा थियो—मायाले “नजानू”
भन्न
खोजेकी हुन् ।
तर उनलाई यो पनि थाहा थियो—घरको
गणित अब नेपालमै बसेर मिल्नेवाला छैन ।
“सकेसम्म त म पनि नजाने सोच्थेँ,”
रामबहादुरले
धीमा स्वरमा भन्यो, “तर...”
त्यो “तर” पछि
शब्द आएनन् ।
किनकि बाँकी कुरा सबैलाई थाहा थियो—
आमाको उपचार ।
छोराछोरीको भविष्य ।
ऋण ।
भाडा ।
भोक ।
घोषणा फेरि बज्यो—
“दोहा जाने यात्रुहरू बोर्डिङका लागि...”
अब समय सकिँदै थियो ।
छोरीले बाबुको घाँटी समातिन् ।
“बाबा, धेरै टाढा नजानू
है...”
त्यो सुन्दा रामबहादुरको आँखाभित्र
दबिएको आँसु हल्लियो ।
उसले छोरीलाई कस्सिएर अँगालो हाल्यो ।
उसलाई अचानक लाग्यो—मान्छे
विदेश पैसा कमाउन होइन, आफ्नो अनुपस्थिति बेच्न जान्छ ।
ऊ अन्तिमपटक परिवारतिर फर्केर हेर्दै
भित्र पस्यो ।
सिसाको पर्खालपारि माया अझै उभिएकी
थिइन् ।
छोराले हात हल्लाइरहेको थियो ।
रामबहादुरले पनि हात उठायो ।
तर उसको मन भने त्यहीँ रोकिएको थियो ।
---
दोहा एयरपोर्टमा उत्रँदा रात थियो ।
तातो हावा सिधै अनुहारमा ठोक्कियो ।
एजेन्सीको मान्छेले सबै नेपालीलाई लाइन
लगायो ।
“पासपोर्ट देऊ,” उसले कठोर
स्वरमा भन्यो ।
रामबहादुरले पासपोर्ट बुझायो ।
“फिर्ता कहिले पाउँछौँ ?” कसैले
सोध्यो ।
त्यो मान्छे रिसायो—
“कम्पनीले दिन्छ जब दिन्छ । धेरै प्रश्न
नगर ।”
रामबहादुर चुप भयो ।
बसले उनीहरूलाई श्रमिक क्याम्पतिर
लग्यो ।
झ्यालबाहिर अग्ला भवनहरू चम्किरहेका
थिए ।
तर त्यो चमक उनीहरूको जीवनसम्म
आइपुगेको थिएन ।
क्याम्प सानो र साँघुरो थियो ।
आठ जना एउटै कोठामा ।
दुईतले बेड ।
तातो हावा ।
थकित अनुहारहरू ।
भोलिपल्ट बिहानै काम सुरु भयो ।
वेयरहाउस विशाल थियो ।
घण्टौँसम्म भारी सामान सार्नुपर्थ्यो ।
भाषा बुझिँदैनथ्यो ।
गल्ती भयो भने सुपरभाइजर कराउँथ्यो ।
“फास्ट ! फास्ट !”
दिउँसोको गर्मीमा पसिनाले कपडा
भिज्थ्यो ।
तर आराम गर्ने समय न्यून थियो ।
महिनाको अन्त्यमा तलब आयो ।
एजेन्सीले नेपालमा भनेकोभन्दा निकै कम
।
रामबहादुरले हिम्मत गरेर सुपरभाइजरसँग
कुरा गर्यो—
“सर, कन्ट्र्याक्टमा
त...”
उसको कुरा पूरा हुन नपाउँदै सुपरभाइजर
चिच्यायो—
“If you don’t like, go back.”
त्यसपछि वरिपरिका केही मानिस हाँसे ।
त्यो क्षण रामबहादुरलाई आफू मान्छे
होइन, सजिलै फेर्न सकिने सामानजस्तो लाग्यो ।
राति क्याम्पमा ऊ थाकेर पल्टियो ।
मोबाइलमा छोराछोरीको फोटो हे¥यो
।
नेपालमा हुँदा उसले सोचेको थियो—विदेश
दुःखको अन्त्य होला ।
तर अहिले उसलाई लागिरहेको थियो—
दुःख देश बदल्दा बदलिँदैन रहेछ,
केवल
भाषा फेरिँदो रहेछ ।
७ : युद्धको
छाया
दोहाको गर्मी पहिलेभन्दा झन् असह्य
लाग्न थालेको थियो तर अहिले केवल मौसम मात्रै तातिएको थिएन ।
पूरै क्षेत्र तनावले उम्लिरहेको थियो ।
क्याम्पको क्यान्टिनमा हरेक दिन
टेलिभिजन चलिरहन्थ्यो । समाचारमा मिसाइल,
धम्की,
सैनिक
अभ्यास, बन्दरगाहमा आक्रमणका दृश्य दोहोरिइरहन्थे ।
“स्थिति जटिल बन्दै...”
“क्षेत्रीय युद्धको खतरा...”
“विदेशी श्रमिकहरू त्रासमा...”
रामबहादुरले स्क्रिनतिर हेर्दा
कहिलेकाहीँ आफू कुन देशमा छ भन्ने पनि बिर्सिन्थ्यो । मरुभूमिको
त्यो चम्किलो शहर अचानक असुरक्षित लाग्न थालेको थियो ।
वेयरहाउसमा पनि कामदारहरूबीच तनाव
बढेको थियो ।
कोही अमेरिकाको पक्षमा कुरा गर्थे ।
कोही इरानको ।
कोही धर्मको आधारमा विभाजित हुन्थे ।
कोही केवल आफ्नो देशको समाचार हेरेर
डराइरहेका हुन्थे ।
अचम्मको कुरा—नेपालीहरू पनि
विभाजित हुन थालेका थिए ।
“इरानले ठीक गर्यो,” एक
जना नेपालीले भन्यो ।
अर्को झर्कियो— “तिमीलाई युद्ध
खेल लाग्छ ? मिसाइल खस्यो भने सबैभन्दा पहिले मरिने
हामीजस्ता मजदुर हो ।”
क्यान्टिनमा झगडा बढ्न लागेपछि
सुपरभाइजर आएर करायो— “No politics here !”
सबै फेरि चुप लागे । विदेशमा उनीहरूको विचारको पनि खास मूल्य थिएन ।
त्यसपछि केही दिनमै कम्पनीले सूचना
निकाल्यो— “जो फर्किन चाहन्छ, आफ्नो खर्चमा
जिम्मेवारीमा फर्किन सक्छ ।”
क्याम्पमा हलचल मच्चियो । कतिपय
नेपाली आफन्त साथीभाइलाई हारगुहार गरी डराएर नेपाल फर्किन थाले । एयरपोर्टको
टिकट महँगो हुँदै गयो तर अर्कोतर्फ नयाँ नेपालीहरू आउने क्रम पनि रोकिएन ।
नेपाल सरकारले चेतावनी जारी गरेको
समाचार आयो— “हाललाई उक्त क्षेत्रमा नजान अनुरोध...”
तर त्यसको भोलिपल्टै क्याम्पमा नयाँ
कामदार आइपुगे । रामबहादुर अचम्मित भयो ।
“बन्देज हुँदा पनि किन आएका ?” उसले
सोध्यो ।
नयाँ आएको युवक हाँस्यो— “नेपालमा
बस्नुभन्दा जोखिममा बाँच्नु सजिलो लाग्यो दाइ । भारतबाट आएको ।”
त्यो उत्तर सुन्दा रामबहादुरसँग थप
प्रश्न रहेन । राति ऊ धेरैबेर सोचिरह्यो । देशले
आफ्ना युवालाई युद्धको डरभन्दा ठूलो गरिबी दिएको रहेछ । त्यसैले मानिसहरू मृत्युको सम्भावना
थाहा पाएर पनि विमान चढिरहेका थिए ।
त्यसैबीच घरबाट फोन आयो । मायाको
स्वरमा केही राहत थियो— “तपाईंले पठाएको पैसाले आमाको उपचार गरियो । छोराको
स्कूलको शुल्क पनि तिरियो ।”
रामबहादुर चुपचाप सुनिरह्यो ।
त्यो पैसा पठाउन उसले लगातार उन्नाइस
दिन ओभरटाइम गरेको थियो ।
खुट्टा सुन्निएको थियो ।
ढाड दुखाइले राति निद्रा लाग्दैनथ्यो ।
तर घरमा पैसा पुगेको खबर सुन्दा उसले
आफ्ना पीडा केहीबेर बिर्सने प्रयास गर्यो ।
“तपाईं ठीक हुनुहुन्छ नि ?” मायाले
सोधी ।
ऊ केही क्षण मौन रह्यो । सत्य
के थियो भने—ऊ ठीक थिएन ।
लगातार खोकी बढिरहेको थियो ।
कहिलेकाहीँ भारी सामान उठाउँदा छाती
पोल्थ्यो ।
खाना अनियमित थियो ।
निद्रा अधुरो ।
तर उसले झूट बोल्यो— “म ठीक
छु ।”
किनकि विदेशिएका धेरै नेपालीहरूले
सिक्ने पहिलो कुरा यही थियो— घरलाई चिन्ता नदिन आफ्नो पीडा लुकाउने
।
फोन काटिएपछि ऊ बिस्तारै बाहिर
निस्कियो । क्याम्पको
छतबाट टाढा शहरका बत्तीहरू देखिन्थे । त्यसैबीच आकाशमा लडाकु विमानको आवाज
गुञ्जियो । ऊ
माथि हेर्दै लामो समय उभिरह्यो ।
उसलाई अचानक लाग्यो— ऊ
पैसा कमाउन आएको होइन, युद्ध र श्रमबीच अड्किएको एउटा अदृश्य कैदी
बनेको छ ।
मोबाइलमा फेरि समाचारको सूचना आयो— “क्षेत्रीय
तनाव अझै बढ्ने संकेत...”
रामबहादुरले मोबाइल बन्द गर्यो । उसको
हात काँपिरहेको थियो ।
८ :
रेमिट्यान्सको निर्भरता
नेपालमा आर्थिक संकटको चर्चा बढ्दै
गइरहेको थियो ।
बजार महँगिएको थियो ।
साना उद्योग बन्द हुँदै थिए ।
गाउँका खेत बाँझै थिए ।
तर हरेक समाचारको अन्त्य एउटै वाक्यले
हुन्थ्यो—
“रेमिट्यान्स आप्रवाह बढेकाले
अर्थतन्त्रमा सकारात्मक संकेत...”
दोहाको क्याम्पमा राति खाना खाँदै
गर्दा रामबहादुरले मोबाइलमा त्यो समाचार पढिरहेको थियो ।
स्क्रिनमा मन्त्री मुस्कुराइरहेका थिए
।
“विदेशमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीको
योगदानले देशको अर्थतन्त्र मजबुत...”
उसले समाचार बन्द गरिदियो ।
उसलाई त्यो “योगदान” शब्द
सुन्दा कहिलेकाहीँ रिस उठ्थ्यो ।
किनकि त्यो योगदानको पछाडि कति थकान,
अपमान,
दुर्घटना
र अधुरो परिवार छन् भन्ने कुरा कुनै तथ्यांकमा लेखिँदैनथ्यो ।
नेपालमा माया भने पैसा बचाउने संघर्षमै
थिइन् ।
रामबहादुरले पठाएको रकमले घरभाडा
तिरिन्थ्यो ।
आमाको औषधि चल्थ्यो ।
छोराछोरी स्कूल जान्थे ।
तर घरमा खुसी थिएन ।
छोराले एकदिन भिडियो कलमा सोध्यो—
“बाबा, तपाईं पैसा
मात्रै पठाउनुहुन्छ कि घर पनि आउनुहुन्छ ?”
त्यो प्रश्नले रामबहादुर केही क्षण
बोल्नै सकेन ।
छोरीले मोबाइलको स्क्रिन छोएर भनिन्—
“यहाँ आउनुस् न बाबा... फोनभित्र होइन ।”
कल काटिएपछि ऊ लामो समय नबोली बसिरह्यो
।
पैसा घर पुगिरहेको थियो,
तर ऊ आफैँ घरबाट हराउँदै गइरहेको थियो
।
---
त्यसको केही सातापछि क्याम्पमा अर्को
खबर फैलियो ।
विनोद फर्किएको थियो ।
तर त्यो कतार जानुअघि भएको विनोद थिएन
।
उसको एउटा खुट्टामा गहिरो चोट लागेको
थियो ।
वेयरहाउस नजिक भएको विस्फोटमा ऊ घाइते
भएको रहेछ । कम्पनीले केही दिन अस्पताल राख्यो, त्यसपछि “काम
गर्न नसक्ने” भन्दै नेपाल फर्काइदियो ।
रामबहादुरले भिडियो कलमा उसको अवस्था
देख्यो ।
विनोदको अनुहार सुकेको थियो ।
“क्षतिपूर्ति पाएनौ ?” रामबहादुरले
सोध्यो ।
विनोद तीतो हाँस्यो—
“हामी त प्रयोग गर्ने सामान रहेछौँ भाइ
। बिग्रियो भने फाल्ने ।”
“सरकारले केही गरेन ?”
“एयरपोर्टमा एउटा फोटो खिचे । त्यसपछि
सबै सकियो ।”
त्यो रात रामबहादुर सुत्न सकेन ।
उसलाई पहिलोपटक स्पष्ट महसुस भयो—
यो केवल व्यक्तिगत दुःख होइन ।
पूरै व्यवस्था नै श्रमिकको पसिनामा
उभिएको छ, तर श्रमिकको जीवनको कुनै मूल्य छैन ।
भोलिपल्ट कामपछि उसले फेसबुक खोल्यो ।
धेरै बेरसम्म खाली स्क्रिन हेर्दै
बस्यो ।
अन्ततः उसले एउटा लामो स्टाटस लेख्यो—
“हामीले पठाएको रेमिट्यान्सले देश
चलिरहेको छ भनिन्छ ।
तर हामी बाँचिरहेका छौँ कि केवल काम
गरिरहेका छौँ ?
विदेशमा नेपाली मजदुर मरे समाचार
बन्दैन ।
घाइते भए आँकडा बन्दैन ।
बाँचेर फर्किए पनि सम्मान पाउँदैनन् ।
देशलाई हाम्रो पैसा चाहिएको छ, हाम्रो
पीडा होइन ।”
उसले पोस्ट गरिदियो ।
केही घण्टामै सयौँ प्रतिक्रिया आए ।
कसैले लेखे—
“दाइ, तपाईंले हाम्रो
मनको कुरा भन्नुभयो ।”
कसैले आफ्नो कथा सुनायो—
कम्पनीले पासपोर्ट खोसेको ।
तलब नदिएको ।
युद्धको डरमा बंकरमा लुकेर बसेको ।
कतिपयले भने डराए पनि—
“यस्तो धेरै नलेख्नुस् दाइ, कम्पनीले
देख्यो भने समस्या हुन्छ ।”
तर रामबहादुर अब रोकिएन ।
उसले नियमित लेख्न थाल्यो ।
राति कामपछि ऊ थाकेको शरीर लिएर
मोबाइलमा मजदुरहरूको कथा लेख्थ्यो ।
कसैको मृत्यु ।
कसैको चोट ।
कसैको हराएको सपना ।
बिस्तारै उसका पोस्टहरू धेरै नेपाली
श्रमिकहरूबीच फैलिन थाले ।
क्याम्पका केही साथीहरूले उसलाई
चेतावनी दिए—
“समस्या पर्न सक्छ ।”
रामबहादुरले शान्त स्वरमा उत्तर दियो—
“चुप बसेर पनि त समस्या नै परेको छ ।”
त्यो रात उसले फेरि अर्को पोस्ट लेख्यो—
“रेमिट्यान्स केवल पैसा होइन ।
यो हजारौँ नेपालीको छुटेको बाल्यकाल,
बुढेसकाल,
विवाह,
परिवार
र स्वास्थ्यको मूल्य हो ।”
पोस्ट गरेपछि ऊ धेरैबेर अँध्यारोमा
बसिरह्यो ।
टाढा फेरि लडाकु विमानको आवाज सुनियो ।
तर यसपटक उसको मनमा केवल डर थिएन ।
कतै गहिरो ठाउँमा प्रतिरोधको सानो आगो
बल्न थालेको थियो ।
९ : विद्रोहको
बीज
त्यो दिन वेयरहाउसमा असामान्य हतार
थियो ।
क्षेत्रीय तनावका कारण सामानको आपूर्ति
रोकिँदै थियो । कम्पनीले छोटो समयमा धेरै काम सक्न दबाब दिइरहेको थियो ।
सुपरभाइजर कराइरहेको थियो—
“फास्ट ! कुनै बहाना चाहिँदैन !”
रामबहादुर लगातार भारी बाकस सारिरहेको
थियो ।
कयौँ दिनदेखि उसको शरीरले विश्राम
पाएको थिएन ।
छातीको पोलाइ बढ्दै थियो ।
तर छुट्टी लिए त तलब काटिन्थ्यो ।
एउटा फलामे कन्टेनरबाट सामान झार्ने
क्रममा अचानक माथिबाट बाकस खस्यो ।
धडाम् ।
उसले आफूलाई बचाउने प्रयास गर्यो,
तर
ढाड र काँधमा ठूलो चोट लाग्यो ।
शरीर भुइँमा बजारियो ।
वरिपरिका कामदारहरू दौडिए ।
कसैले पानी छर्कियो ।
सुपरभाइजर रिसाएको स्वरमै चिच्यायो—
“एम्बुलेन्स बोलाऊ ! काम रोकिनु हुँदैन
!”
रामबहादुरको आँखा धमिलो हुँदै गयो ।
---
अस्पतालको सेतो छततिर हेर्दै ऊ लामो
समय निस्प्राणजस्तै पल्टिरह्यो ।
डाक्टरले केही हप्ता आराम गर्नुपर्ने
बताएका थिए ।
कम्पनीले उपचार त गरिरहेको थियो,
तर
तलब रोकिएको थियो ।
उसले मोबाइल खोलेर बैंक खाताको रकम हे¥यो
।
लगभग खाली ।
नेपालमा घरभाडा तिर्नुपर्ने समय
नजिकिँदै थियो ।
आमाको औषधि सकिँदै थियो ।
छोराछोरीको नयाँ शैक्षिक सत्र सुरु
हुँदै थियो ।
उसको हात काँप्यो ।
मायाको मिस कल धेरै थिए ।
उसले अन्ततः फोन गर्यो ।
“तपाईं ठीक हुनुहुन्छ ?” मायाको
स्वर डरले भरिएको थियो ।
रामबहादुर केही क्षण चुप रह्यो ।
अनि पहिलोपटक झूट बोल्न सकेन ।
“घाइते भएँ ।”
उता केहीबेर मौनता छायो ।
“धेरै गाह्रो छ ?”
“काम गर्न सक्दिनँ केही समय ।”
त्यसपछि फोनको अर्को छेउमा दबिएको
सासको आवाज सुनियो ।
मायाले आफूलाई सम्हाल्ने प्रयास
गरिरहेकी थिइन् ।
“पैसाको चिन्ता नगर्नुस्,” उनले
भनिन्, तर स्वरले नै त्यो असम्भव कुरा भएको प्रमाण दिइरहेको थियो ।
फोन काटिएपछि रामबहादुरले आँखा बन्द
गर्यो ।
उसलाई पहिलोपटक तीव्र रूपमा महसुस भयो—
विदेशमा मजदुर बिरामी हुन पाउँदैन ।
घाइते हुन पाउँदैन ।
किनकि उसको शरीर नै उसको बैंक हो ।
---
त्यही समय नेपालमा अर्को खबर फैलिन
थालेको थियो ।
रेमिट्यान्स वृद्धिदर घट्दै थियो ।
युद्ध र अस्थिरताले धेरै श्रमिक
प्रभावित भएका थिए ।
समाचारमा अर्थशास्त्रीहरू चिन्तित
देखिन्थे ।
“विदेशी आम्दानीमा दबाब...”
“अर्थतन्त्र जोखिममा...”
“रेमिट्यान्स घट्दा बजार प्रभावित...”
सरकार फेरि बैठकमा व्यस्त थियो ।
फेरि भाषणहरू भइरहेका थिए ।
तर नयाँ योजना थिएन ।
न उद्योग ।
न रोजगारी ।
न फर्किएका श्रमिकका लागि व्यवस्था ।
रामबहादुर अस्पतालको बेडमै मोबाइलबाट
समाचार पढ्थ्यो र तीतो हाँसो हाँस्थ्यो ।
देशले श्रमिकलाई नागरिकभन्दा बढी
आम्दानीको स्रोत मानेको रहेछ ।
---
तर यो चोटले उसको मन भने झन् कठोर बनाइरहेको
थियो ।
उसले फेरि फेसबुक खोल्यो ।
यसपटक उसले आफ्नो फोटो नै पोस्ट गर्यो—हातमा
पट्टी बाँधिएको, अस्पतालको बेडमा पल्टिएको ।
क्याप्सन छोटो थियो—
“हामी अलग–अलग देशमा छौँ ।
तर हाम्रो पीडा एउटै छ ।
अब डराएर होइन, एकजुट भएर
बोल्नुपर्छ ।”
त्यो पोस्ट असाध्यै फैलियो ।
कतार, दुबई, मलेसिया,
कोरिया,
साउदी,
कुवेतबाट
नेपालीहरूले सन्देश पठाउन थाले ।
“हामी पनि यही भोगिरहेका छौँ ।”
“हाम्रो आवाज पनि उठाइदिनुस् ।”
“हामी एक हुनुपर्छ ।”
रामबहादुरले बिस्तारै अनलाइन समूह
बनायो ।
विदेशमा रहेका नेपाली मजदुरहरू आफ्ना अनुभव
लेख्न थाले ।
कसैले कम्पनीको शोषण सुनायो ।
कसैले पासपोर्ट खोसिएको कथा ।
कसैले युद्धको रात बंकरमा बिताएको
अनुभव ।
पहिलोपटक धेरैलाई लाग्न थाल्यो—
उनीहरू एक्ला छैनन् ।
---
नेपालमा माया पनि परिवर्तन हुँदै थिइन्
।
पहिले उनी केवल घर सम्हाल्ने, खर्च
गन्ने र पर्खने महिलाजस्ती थिइन् ।
तर अब परिस्थितिले उनलाई बलियो
बनाइरहेको थियो ।
टोलको एउटा गार्मेन्टमा काम गर्ने
महिलालाई अन्यायपूर्वक निकालिएको खबर सुनेपछि माया त्यहाँ पुगिन् ।
त्यहाँ धेरै महिला मजदुरहरू चुपचाप
बसेका थिए ।
मायाले पहिलोपटक खुला स्वरमा भनिन्—
“हामी चुप बसिरह्यौँ भने हाम्रो
छोराछोरीले पनि यही दुःख पाउनेछन् ।”
त्यो दिन उनीहरूले सानो भेला गरे ।
पछि अर्को ।
पछि फेरि अर्को ।
बिस्तारै स्थानीय मजदुरहरू जम्मा हुन
थाले ।
कसैले तलब नपाएको कुरा सुनायो ।
कसैले विदा नदिएको ।
कसैले महिलामाथिको विभेद ।
मायाले रामबहादुरलाई भिडियो कलमा भनिन्—
“तपाईं त्यहाँबाट बोल्नुस् ।
हामी यहाँबाट बोल्छौँ ।”
अस्पतालको बेडमा पल्टिएको रामबहादुर
केहीबेर चुप रह्यो ।
उसको शरीर कमजोर थियो ।
तर उसलाई महसुस भयो—
विद्रोह कहिलेकाहीँ सडकबाट होइन,
पीडाबाट
जन्मिन्छ ।
१० : उत्कर्ष र
न्यायको आवाज (क्लाइमेक्स)
रामबहादुरलाई स्वदेश फर्काइएको थियो ।
कम्पनीले औपचारिक कागजमा लेखिदिएको
थियो—
“काम गर्न असमर्थ, उपचार
स्वदेशमै गर्न सुझाव।”
त्यो वाक्य सरल थियो । तर त्यसले उसको
पूरा विदेश जीवनलाई एउटा लाइनमा सिमित गरिदिएको थियो ।
विमानस्थलबाट सिधै उसलाई अस्पताल लगियो
।
शरीर अझै पूर्ण रूपमा ठिक भएको थिएन ।
ढाडको चोट, छातीको दुखाइ,
कमजोरी—सबै
बाँकी थियो ।
तर अस्पतालको वार्डमा उसले देखेको
दृश्य अझ गहिरो थियो ।
त्यहाँ केवल ऊ मात्र थिएन ।
विनोद थियो—एक खुट्टा कमजोर
भएर ।
अरू दुई जना थिए—हातमा स्थायी
चोट लिएर ।
एक जना युक्रेनबाट फर्किएको थियो—मानसिक
रूपमा भत्किएको ।
एक जना साउदीबाट—नजर कमजोर भएर ।
सबै एउटै कोठामा ।
सबै एउटै मौनतामा ।
त्यो वार्ड कुनै अस्पतालजस्तो थिएन ।
त्यो त विदेशको पीडाले भरिएको एउटा
सानो संग्रहालयजस्तो थियो ।
रामबहादुरले बिस्तारै भन्यो—
“हामी छुट्टाछुट्टै देशमा थियौँ... तर
दुःख एउटै रहेछ ।”
विनोदले टाउको हल्लायो ।
“अब त बुझियो भाइ... हामी समस्या होइनौँ,
हामीलाई
चलाउने प्रणाली समस्या हो ।”
---
मे १ फेरि आयो ।
तर यसपटक फरक थियो ।
काठमाडौंको ठूलो पाँचतारे होटलमा फेरि
मजदुर दिवसको कार्यक्रम थियो ।
भित्र मन्त्रीहरू भाषण गरिरहेका थिए ।
“सरकार श्रमिक अधिकारप्रति प्रतिबद्ध
छ...”
“नयाँ नीति ल्याइँदैछ...”
“मजदुर राष्ट्रका मेरुदण्ड हुन्...”
क्यामेरा चम्किरहेका थिए ।
तालिका अनुसार ताली बजिरहेको थियो ।
तर बाहिरको दृश्य फरक थियो ।
हजारौँ मजदुरहरू जम्मा भएका थिए ।
कोही स्वदेशका कारखानाबाट ।
कोही निर्माण स्थलबाट ।
कोही विदेशबाट फर्किएका ।
माया पनि त्यहाँ थिइन्—अगाडि
पंक्तिमा ।
उनले टोल–टोलबाट ल्याएका
मजदुर महिलाहरूलाई साथ दिएकी थिइन् ।
भीड शान्त थियो ।
आक्रोशित थिएन ।
तर अत्यन्त दृढ थियो ।
भित्र भाषण चलिरहँदा बाहिरको भीड
विस्तारै बढ्दै गयो ।
अन्ततः रामबहादुर ह्वीलचेयरमा ल्याइयो
।
उसको शरीर कमजोर थियो ।
तर आँखामा लामो पीडाले जन्माएको स्थिर
आगो थियो ।
उसे माइक माग्यो ।
पहिले कसैले विश्वास गरेन ।
तर भीड चुप भयो ।
उसले माइक समात्यो ।
क्षणभर मौनता फैलियो ।
अनि ऊ बोल्यो—
“हामी जा गिर होइनौं ।
हामी यो देशका रगत हौं ।”
भीड हल्लियो ।
“रेमिट्यान्स बन्द भए तिमीहरूको सिंहासन
कसरी टिक्छ ?
तिमीहरूले हाम्रो पसिनालाई तथ्यांक
बनायौ ।
हाम्रो पीडालाई अर्थतन्त्रको ग्राफ
बनायौ ।”
उसको स्वर बिस्तारै कडा हुँदै गयो ।
“हामीलाई दया चाहिँदैन ।
हामीलाई भाषण चाहिँदैन ।
हामीलाई मर्यादा चाहिन्छ ।
न्याय चाहिन्छ ।
परिवार पाल्ने तलब चाहिन्छ ।”
भीडले “हो !” भनेर
आवाज उठायो ।
भित्र होटलमा मन्त्रीको भाषण बीचमै
रोकियो ।
बाहिरको भीड शान्त थियो, तर
त्यो शान्ति डरको थिएन—त्यो चेतनाको थियो ।
कसैले ढुंगा हानेन ।
कसैले तोडफोड गरेन ।
तर सडक भरिएको थियो—मानिसको
उपस्थितिले ।
सरकार दबाबमा आयो ।
त्यही दिन आपतकालीन बैठक बस्यो ।
र केही घण्टामै घोषणा भयो—
“न्यूनतम तलब वृद्धि गरिनेछ ।
विदेश जाने श्रमिकको बीमा अनिवार्य
गरिनेछ ।
प्राइभेट क्षेत्रमा श्रम कानुन कडाइका
साथ लागू गरिनेछ ।
रेमिट्यान्समा निर्भरता घटाउन आन्तरिक
रोजगारी योजना ल्याइनेछ ।”
घोषणा कागजमा थियो ।
तर त्यो कागजमा पहिलोपटक श्रमिकको आवाज
लेखिएको थियो ।
---
केही दिनपछि रामबहादुर घर फर्कियो ।
घर सानो थियो, तर अब त्यही घर
पहिलेभन्दा फरक लाग्थ्यो ।
छोराछोरी दौडिएर आए ।
“बाबा !”
ऊ मुस्कुरायो ।
माया पछाडि उभिएकी थिइन्—आँखामा
गर्व र पीडा मिसिएको भाव थियो ।
राति खाना खाइसकेपछि रामबहादुरले
छोराछोरीलाई छेउमा बसाल्यो ।
उसले लामो सास फेर्यो ।
अनि बिस्तारै भन्यो—
“बाबु... अब तिमीहरूले ‘जा
गिर’ होइन बुझ्नुपर्छ ।”
छोरोले सोध्यो—
“के बुझ्ने बाबा ?”
रामबहादुरले छोराको टाउकोमा हात राख्यो
।
“‘उठ र लड’ को अर्थ ।”
त्यो रात घरमा पहिलोपटक मौनता डरको
थिएन ।
त्यो आशाको मौनता थियो ।
११ : मजदुरको
आवाज खेर नजाओस्
काठमाडौंको जाडो अलि घटिसकेको थियो ।
बिहानको घाम झ्यालबाट कोठाभित्र पस्दा पनि त्यो पहिले जस्तो चिसो थिएन । तर
रामबहादुरभित्र अझै केही पुरानो थकानको छायाँ बाँकी नै थियो—शरीरको होइन, सम्झनाको ।
घाइते भएर फर्किएको केही समयपछि उसले
बिस्तारै हिँड्न थालेको थियो । ह्वीलचेयर अब कोठाको कुनामा थन्किएको थियो । तर
त्यसले उसको जीवनको अर्को अध्याय बदलिसकेको थियो—अब ऊ काम खोज्ने मान्छे मात्र थिएन, कुरा गर्ने मान्छे पनि थियो ।
एक बिहान ऊ छतमा उक्लियो । काठमाडौं तल
फैलिएको थियो—धुलो, धुवाँ, निर्माण, र
दौडधुपले बनेको एउटा ठूलो अधुरो कथा जस्तै । टाढा पहाडहरू स्थिर थिए, तर तलको शहर निरन्तर हल्लिरहेको थियो ।
ऊ केहीबेर त्यहीँ उभिरह्यो । उसलाई
अचानक लाग्यो—यो
शहर मान्छेहरूले बनाएको होइन, मान्छेहरूले
बोकेको हो ।
उसले आँखा बन्द गर्यो । मरुभूमिको
गर्मी सम्झियो । वेयरहाउसको कराउने आवाज सम्झियो । विमानस्थलको बिदाइ सम्झियो । अस्पतालको
सेतो छत सम्झियो र ती सबैभन्दा बढी—विदेशमा
रहेका हजारौँ मौन अनुहारहरू सम्झियो ।
त्यही बेला माया माथि आइन् । उनको
हातमा एउटा फाइल थियो । “टोलका
मजदुर समितिको बैठक छ आज,” उनले
भनिन्, “तपाईंलाई
बोलाएका छन् ।”
रामबहादुरले हल्का मुस्कुरायो । अब ऊ
घरभित्रको मात्र होइन, बाहिरको
आवाज पनि बनेको थियो ।
---
टोलको सामुदायिक भवन सानो थियो । तर
त्यस दिन त्यहाँ असाधारण भीड थियो । निर्माण मजदुर, घरेलु कामदार, विदेशबाट
फर्किएका श्रमिक, महिलाहरू, युवाहरू—सबै जम्मा भएका थिए ।
भित्तामा एउटा ब्यानर टाँगिएको थियो— “मजदुरको आवाज खेर नजाओस्”
त्यो वाक्य साधारण थियो । तर त्यसले
धेरै जीवनको अर्थ बोकेको थियो । रामबहादुर अगाडि बसे । उसको छेउमा माया थिइन् । उसले
एकछिन सबैलाई हे¥यो
।
अनि बोल्न सुरु गर्यो— “हामीले धेरै कुरा सह्यौं । घर छोड्यौं, परिवार छोड्यौं, शरीर
छोड्यौं...”
उसले गहिरो सास लियो । “तर हामीले एउटा कुरा कहिल्यै छोडेनौँ—हाम्रो श्रम ।”
भीड चुप थियो । “त्यो श्रमले देश चल्यो । तर हाम्रो
जीवन चलाउन सकिएन ।”
उसले छेउमा बसेका महिलातिर हे¥यो ।
“यहाँ धेरै महिलाहरू छन् जसले आधा ज्यालामा पनि काम गरे । यहाँ धेरै
बाबुहरू छन् जसले आफ्ना बच्चाको अनुहार मोबाइलको स्क्रिनमा मात्रै देखे । यहाँ
धेरै शरीरहरू छन् जसले विदेशको धेरै धुलो खाए...”
उसको आवाज केही क्षण रोकियो ।
“तर अब प्रश्न बदलिनुपर्छ । हामी कहिलेसम्म ‘पठाइने’ मात्र बनिरहने ?”
कोठा भरियो मौनताले । माया उठिन् ।
उनको स्वर स्पष्ट थियो— “अब हामी चुप बस्दैनौँ । अब हाम्रो आवाज कागजमा मात्र होइन, सडकमा, नीतिमा, व्यवहारमा
पनि सुनिनुपर्छ ।”
भीडले सहमति जनायो । त्यो दिन कुनै नाराबाजी
थिएन । कुनै तोडफोड थिएन तर त्यो दिनको उपस्थिति नै एउटा ठूलो परिवर्तन थियो ।
---
समय बिस्तारै अघि बढ्यो ।
सरकारले केही घोषणा कार्यान्वयन गर्न
थाल्यो । न्यूनतम तलब सुधारियो । विदेश जाने श्रमिकको बीमा सुरु भयो । प्राइभेट
क्षेत्रमा अनुगमन बढाइयो । सबै समस्या समाधान भएनन् तर पहिलोपटक श्रमिक केवल “आवाज” मात्र नभएर “संवादको
हिस्सा” बने ।
रामबहादुर फेरि काममा फर्कियो तर यसपटक
उसको दृष्टि फरक थियो । ऊ पहिलेझैँ डराएर बस्दैनथ्यो । ऊ पहिलेझैँ चुप लाग्दैनथ्यो
।
एकदिन अफिसमा नयाँ कर्मचारीलाई उसले
भन्यो— “काम गर्नुपर्छ, तर आफूलाई हराएर होइन ।”
---
साँझ घर फर्किँदा छोराछोरी आँगनमा
खेलिरहेका थिए ।
छोरो दौडेर आयो— “बाबा, तपाईं
विदेश जाँदा जस्तो थाक्नुभएको छैन अब है ?”
रामबहादुर मुस्कुरायो । “अब थकाइ फरक छ बाबु ।”
“कस्तो ?”
उसले छोराको टाउकोमा हात राख्यो ।
“अबको थकाइ बाँच्नको लागि होइन... बदल्नको लागि हो ।”
माया ढोकाबाट हेरिरहेकी थिइन् । उनको
आँखामा पहिलेको डर थिएन । त्यहाँ अब एउटा स्थिर विश्वास थियो ।
रात पर्दै जाँदा रामबहादुर छतमा फेरि एकपटक
एक्लै उक्लियो । शहर उस्तै थियो—धुलो, हल्ला, र अधुरो सपना तर उसको मन अब खाली थिएन ।
उसले बिस्तारै आकाशतिर हे¥यो । टाढा कतै विमानको बत्ती
चम्किरहेको थियो ।
उसले बिस्तारै भन्यो— “हामीले गुमायौं धेरै कुरा... तर अब हाम्रो आवाज हराउन दिँदैनौँ ।”
हावा बिस्तारै बगिरहेको थियो । त्यो
हावामा अब केवल पीडा थिएन । त्यसमा आवाज मिसिएको थियो ।
मजदुरको आवाज ।
२०८३ बैशाख २२
बिजु सुवेदी
जिजय
Comments
Post a Comment