“पुस्तौँको झोला” — काला पहाडको छाया —
कथाः “पुस्तौँको झोला” — काला पहाडको छाया —
पहाडमाथिको बिहान सधैँ सुन्दर हुँदैन ।
कहिलेकाहीँ त्यो बिहान चिसो हुन्छ, धुम्म हुन्छ, र यति मौन हुन्छ कि मानौँ प्रकृतिले
आफैँ कुनै गहिरो थकान बोकेको छ । कर्णालीका उकालीहरू, मधेशका फाटेका खेतहरू, पहाडी बस्तीका सुख्खा डाँडाहरू र
हिमाली टारीहरूमा उज्यालो बिस्तारै फैलँदा, घामभन्दा पहिला अभाव ब्युँझिन्छ ।
कतै गोठको छानोबाट धुवाँ निस्किरहेको हुन्छ ।
कतै वृद्ध आमाले खाली भकारी खोलेर फेरि बन्द गरिरहेकी हुन्छिन् । कतै खेतको डिलमा
एक किसान आकाश हेरिरहेको हुन्छ— बादल लाग्ला कि भनेर । तर आकाशले पनि धेरै वर्षदेखि यिनका गाउँमाथि
कृपाभन्दा बढी उपेक्षा ओतारिरहेको हुन्छ ।
यी गाउँहरूमा माटो अझै जीवित छ, तर माटोसँग बाँधिएका मानिसहरूको आशा
बिस्तारै सुक्दै गएको छ ।
वर्षौँदेखि यही भूमिमा हलो जोतिन्छ । यही
माटोमा पसिना बग्छ । यही खेतमा बिउ रोपिन्छ । तर जब बाली पाक्छ, त्यो अन्नले वर्षभरि जीवन धान्न सक्दैन
। खेतमा हरियो धान झुल्दा पनि घरभित्र भोक लुकिरहेको हुन्छ । सिमसार सुक्दै
गएजस्तै, मानिसहरूको
भरोसा पनि बिस्तारै चिरा परिरहेको हुन्छ ।
पहाडका खोला अब पहिलेझैँ गर्जिँदैनन् । धेरै
ठाउँमा तिनका धार साना भएका छन् । मानौँ पानी पनि यी गाउँ छोडेर जान चाहिरहेको हो ।
जंगलका बाटाहरू सुनसान हुँदै गएका छन् । मेलापातका गीत कम सुनिन थालेका छन् ।
किनकि गाउँका जवान स्वरहरू अब खेतमा होइन, सीमापारका रेल स्टेशन, कारखाना, गोदाम र काला पहाडका ढुंगाबीच हराउन
थालेका छन् ।
शरद ऋतु लागेपछि रूखका पात झर्छन् । प्रकृतिको
त्यो नियम हो । तर यहाँ त हरेक वर्ष गाउँका युवाहरू झरिरहेका छन् । कोही रक्सौलतिर, कोही दिल्लीतिर, कोही मुम्बईतिर, कोही काला पहाडतिर । गाउँका बाटाहरू अब
यात्राको भन्दा बढी पलायनको प्रतीक बनेका छन् ।
बिहान सबेरै कुनै घरको आँगनमा एउटा पुरानो झोला
निकालिन्छ । आमाले त्यसमा चिउरा हाल्छिन् । श्रीमतीले पुरानो कम्बल मिलाउँछिन् ।
बच्चाले केही नबुझी बाबुको हात समाउँछ । अनि एउटा मानिस घरबाट निस्कन्छ— केवल काम खोज्न होइन, आफ्नै अभावसँग हार मानेर ।
त्यो झोला नयाँ हुँदैन । त्यसमा पुस्तौँको थकान
टाँसिएको हुन्छ ।
कहिलेकाहीँ त्यो झोला बाबुले बोकेको हुन्छ ।
केही वर्षपछि त्यही झोला छोराको काँधमा सर्छ । अनि फेरि अर्को दिन नातिको पालो
आउँछ । झोला फेरिन्छ जस्तो देखिए पनि त्यसभित्रको नियति उही रहन्छ— भोक, ऋण, श्रम, अपमान र “घरमा मेरा मान्छे भोकै नपरून्” भन्ने मौन प्रार्थना ।
देशका शहरहरूमा विकासका भाषण गुञ्जिरहेका
हुन्छन् । संसदमा अर्थतन्त्रका तथ्याङ्क पढिन्छन् । रेमिट्यान्स बढेको खबरमा ताली
बज्छ । तर ती सङ्ख्याभित्र कतिवटा ढाड भाँचिएका छन्, कतिवटा सपना हराएका छन्, कतिवटा बच्चाले बाबुको अनुहार
बिर्सिएका छन्— त्यसको
हिसाब कुनै कागजले राख्दैन ।
नेपालका गाउँहरूमा साँझ पर्दा आज पनि धेरै
वृद्ध आँखाहरू बाटो हेरिरहेका हुन्छन् ।
कतै एउटी आमा छोरो फर्किने प्रतीक्षामा छिन् ।
कतै एउटी श्रीमती फोनको घण्टी कुरिरहेकी छिन् ।
कतै एउटा बच्चा “बाबु कहिले आउनुहुन्छ ?” भनेर सोधिरहेको छ ।
र उता, सीमापार—
कुनै नेपाली कुल्ली रेलको भीडमा भारी बोकेर
दौडिरहेको छ ।
कुनै दरेबान रातभर गेटमा जाग्राम बसिरहेको छ ।
कुनै किशोर काला पहाडको चिसोमा हथौडा चलाइरहेको
छ ।
उनीहरू सबै एउटै देशका नागरिक हुन् । तर देशले
उनीहरूलाई धेरैजसो केवल पैसा पठाउने शरीरजस्तो मात्रै सम्झिएको छ ।
यो कथा त्यही मौन भीडको कथा हो ।
ती मानिसहरूको कथा,
जो इतिहासका किताबमा लेखिँदैनन्,
समाचारका शीर्षक बन्दैनन्,
तर जसको पसिनाले गाउँका चुल्हा बलिरहेका छन् ।
यो कथा कुनै एक रामबहादुर, हरि वा सानुको मात्र होइन ।
यो कथा हरेक त्यो नेपालीको हो,
जसले आफ्नै देशमा बाँच्न नसकेर
झोला बोकी सीमा पार गर्नुपरेको छ ।
र त्यो झोला—
अब केवल कपडाको पोको होइन,
यो त पुस्तौँदेखि काँधमा सारिँदै आएको
एउटा देशको अधुरो वाचा हो ।
१ : खेतको अन्तिम अन्न
मधेशको दक्षिणी किनारमा पर्ने सानो गाउँ थियो — बेलहवा । गाउँको एक छेउमा सिमानातिर जाने
कच्ची बाटो, अर्को छेउमा वर्षैपिच्छे बाढीले धार
बदल्ने सानो खोला । त्यही गाउँको पुछारमा, बाँसको
झ्याङ पछाडि, माटो र टिनले बनाइएको एउटा घरमा बस्थे
रामबहादुर यादव ।
उमेर पैंतीस पुगे पनि अनुहारमा पचास कटेको थकान
देखिन्थ्यो । हातका नसाहरू उभिएका, घामले
डढेको कालो छाला, आँखा भित्र पसेजस्तो । बिहान घाम उक्लिनुअघि नै ऊ खेततिर
निस्कन्थ्यो । फर्किँदा अँध्यारो भइसकेको हुन्थ्यो । तर मेहनतले अब खेत हरियो बनाउँदैनथ्यो ।
त्यो वर्ष असारमै पानी रोकियो । धानका बिरुवा पहेँलिँदै गए । गाउँलेहरूले आकाश हेरे, पूजा गरे, भाकल गरे, तर बादल आएर पनि पानी झारेन । बल्ल साउनको अन्तिमतिर पानी पर्यो, तर त्यति बेला सम्म माटो फुटिसकेको
थियो ।
रामबहादुर खेतको बीचमा उभिएर सुकेको धान हेर्थ्यो । माटो चिराचिरा परेको थियो । उसले खुट्टाले फुटेको जमिन कोट्यायो । तल धुलो मात्रै थियो ।
“यो
साल पनि गएजस्तो छ,” उसले बिस्तारै भन्यो ।
छेउमै उभिएको उसका छिमेकी नथुनीले हाँस्ने
प्रयास गर्यो ।
“सरकारले
त किसानलाई अनुदान दिन्छ रे नि ।”
रामबहादुरले टाउको उठाएर उसलाई हेर्यो । दुवै केही क्षण चुप रहे । अनि नथुनी आफैँ हाँसिन् ।
त्यो हाँसो रमाइलो थिएन । त्यो गरिबीले सिकाएको
कटु व्यंग्य थियो ।
---
घरमा तीन जना उसको प्रतीक्षामा बस्थे — श्रीमती गीता, दस वर्षको छोरा सोनु र सात वर्षकी छोरी
पूजा ।
गीताको खोकी बढ्दै गएको थियो । गाउँको
स्वास्थ्य चौकीले “शहर लगेर जाँच गराउनु” भनेको थियो । तर शहर जान पैसा
चाहिन्थ्यो । पैसा त घरमा नुन सकिँदा पनि सोचेर खर्च गर्नुपर्ने अवस्था थियो ।
त्यो साँझ गीता चुल्हो छेउमा बसेर बाँकी रहेको
चामल नापिरहेकी थिई । भाँडोमा हात हालेर फेरि निकालिन् । फेरि गनिन् ।
“अब
कति दिन पुग्ला ?” रामबहादुरले सोध्यो ।
गीता केही बेर चुप भई ।
“धेरै
भए दस दिन ।”
रामबहादुरले उत्तर दिएन ।
घरभित्र केही समय सन्नाटा रह्यो । बाहिर गाईको
घण्टी बजिरहेको थियो । पर कतै कुकुर भुकेको आवाज आयो ।
सोनु स्कुलको झोला बोकेर आयो ।
“बाबु, मास्टरले फी ल्याउन भन्या छ ।”
रामबहादुरले छोरोतिर हेर्न सकेन । उसले आँखा
झ्यालतिर मोड्यो ।
“कति
?”
“तीन
महिनाको ।”
गीता बिस्तारै बोलिन्, “आज फेरि साहूजी आएका थिए । ब्याज
तिर्नुपर्छ रे ।”
रामबहादुरको मुटुभित्र कसैले भारी ढुंगा
राखेजस्तो भयो ।
त्यस रात उसले खाना राम्ररी खान सकेन । भातसँग
नुन र हरियो खुर्सानी मात्रै थियो । पूजा खुसी हुँदै खाइरहेकी थिई, मानौँ संसारकै मिठो खाना हो ।
बच्चाहरू सुतिसकेपछि गीता बिस्तारै बोलिन्—
“अब
के गर्ने ?”
रामबहादुर धेरै बेर चुप रह्यो । उसको आँखामा
छानोमाथिको कालो धुवाँ घुमिरहेको थियो ।
“भारत
जानुपर्ला ।”
गीताले आँखा तल झारिन् । यो शब्द उनीहरूको घरमा
नयाँ थिएन । गाउँका धेरै पुरुषहरू भारत गएका थिए । कोही पञ्जाब, कोही दिल्ली, कोही गुजरात । केही फर्किए, केही हराए ।
“कहिले
?” गीताले सोधिन् ।
“छिट्टै
।”
गीताको खोकी फेरि सुरु भयो । उसले मुख छोपेर
धेरै बेर खोकी ।
रामबहादुरले पहिलो पटक डर महसुस गर्यो — खेतभन्दा ठूलो, ऋणभन्दा ठूलो डर । यदि ऊ नगए घर भोकै
बस्छ । यदि ऊ गयो भने घर उसको बिना बस्छ ।
---
भदौ लागेपछि अर्को विपत्ति आयो ।
राति जंगली नीलगाईको बथान खेतमा पस्यो । बाँकी
रहेको मकै पनि सखाप भयो ।
गाउँभरि हल्ला मच्चियो । मानिसहरू लाठी बोकेर
खेततिर दौडे । महिलाहरू कराइरहेका थिए ।
रामबहादुर खेत पुग्दा ढिलो भइसकेको थियो ।
मकैका डाँठ ढलेका थिए । कतै आधा खाइएका घोगा, कतै
च्यातिएको बोट ।
ऊ माटोमै बस्यो ।
नथुनीले रिसले कराउँदै भन्यो—
“हामीलाई
जोगाउने सरकार कहाँ छ ?”
अर्कोले हाँस्दै भन्यो—
“सरकार
अहिले हेलिकप्टरमा व्यस्त होला ।”
सबै हाँसे ।
त्यो हाँसोमा रोदन मिसिएको थियो ।
---
केही दिनपछि गाउँमा खबर आयो — सांसद आउने रे ।
गाउँको स्कूलअगाडि टेन्ट टाँगियो । बाटो छेउमा
झण्डा राखियो । वडा अध्यक्ष बिहानदेखि दौडधूपमा थिए ।
“सबै
जना आउनुपर्छ,” माइकबाट घोषणा भयो, “यो विकासको नयाँ युग हो ।”
रामबहादुर पनि गयो । ऊ वास्तवमा समस्या सुनाउन
चाहन्थ्यो । खेतको कुरा, बाढीको कुरा, जंगली जनावरको कुरा, ऋणको कुरा ।
दिउँसो ठूलो गाडी आयो । अगाडि प्रहरी, पछाडि नेताहरू ।
सांसद स्टेजमा उक्लिए । उनको पेट अगाडि
निस्किएको थियो, अनुहार चम्किलो । घाममा पसिना
बगाइरहेका गाउँलेहरूलाई हेर्दै उनले भाषण सुरु गरे—
“अब
गाउँमा समृद्धि आउँछ ।”
ताली बजायो पार्टीका कार्यकर्ताले ।
“किसानका
लागि विशेष योजना ल्याएका छौँ ।”
फेरि ताली ।
रामबहादुरले नथुनीतिर हेर्यो । नथुनी बिस्तारै
मुस्कुराइरहेको थियो ।
“हामी
कृषिमा क्रान्ति गर्दैछौँ,”
सांसदले गर्वले भने ।
त्यही बेला पछाडिबाट कसैले करायो—
“पहिले
मल त पठाउनुस् !”
भीडमा केही हाँसो फैलियो । वडा अध्यक्ष रिसाए ।
सांसदले नसुनेझैँ गरे ।
भाषण सकियो । केही मानिसलाई कम्बल बाँडियो ।
फोटो खिचियो । “गरिब किसानसँग भेटघाट” भनेर भिडियो बनाइयो ।
रामबहादुर अघि बढेर केही भन्न खोज्दै थियो, तर प्रहरीजस्तो देखिने एक जनाले उसलाई
रोक्यो ।
“पछि
भन्नुस् ।”
गाडी धुलो उडाउँदै गयो ।
पछाडि गाउँ उहीँ रह्यो — सुख्खा, थाकेको, भोकाएको ।
---
त्यो रात घरमा धेरै बेरसम्म बत्ती बालिएन ।
गीता चुपचाप बसिरही । रामबहादुर बाहिर आँगनमा
बसेर आकाश हेरिरह्यो । बादल थिएन ।
टाढाबाट रेलको आवाज आयो । भारत जाने रेल ।
उसले बिस्तारै भन्यो—
“म
परसि जान्छु ।”
गीताको आँखाभरि आँसु भरियो । तर उसले रोइन ।
“कहाँ
?”
“पहिला
रक्सौल । त्यहाँबाट दिल्ली । नथुनीको दाइले काम मिलाइदिन्छ रे ।”
“कस्तो
काम ?”
“जे
पाइन्छ ।”
गीता केही बोलिन ।
रामबहादुरले फेरि भन्यो—
“केही
महिना दुःख गर्छु । ऋण तिरौँला । तिमीलाई अस्पताल पनि लैजानुपर्छ ।”
गीताले टाउको हल्लाइन्, तर उनको अनुहारमा विश्वासभन्दा बढी डर
थियो ।
---
जाने दिन नजिकिँदै गयो ।
घरमा तयारी भन्नु केही थिएन । एउटा पुरानो झोला, दुई जोर कपडा, एउटा गम्छा र गीताले पोको पारिदिएको
चिउरा ।
पूजाले सोधी—
“बाबु, कहाँ जान लागेको ?”
रामबहादुर मुस्कुराउन खोज्यो ।
“काम
गर्न ।”
“मलाई
के ल्याइदिनुहुन्छ ?”
उसले छोरीको कपाल सहलायो ।
“ठूलो
गुडिया ।”
सोनु चुपचाप थियो । उसले बाबुको अनुहार हेरेर
केही बुझिसकेको थियो ।
रात गहिरियो ।
गाउँ सुतेपछि रामबहादुर उठ्यो । गीताले
ढोकाछेउमा उभिएर झोला मिलाइदिइन् ।
“चाँडै
फर्किनु,” उनले बिस्तारै भनिन् ।
रामबहादुरले उत्तर दिन सकेन ।
उसले घरभित्र एकपटक हेर्यो — धुवाँले कालो भएको छानो, कुनामा सुतिरहेका बच्चाहरू, चुल्होको निभ्दै गरेको आगो ।
त्यो घर उसले बनाएको थियो । तर अब त्यही घर
जोगाउन उसले घर छोड्दै थियो ।
उसले झोला काँधमा राख्यो ।
बाहिर अँध्यारो थियो । टाढा सिमानातिर जाने
बाटो सुनसान फैलिएको थियो ।
रामबहादुर बिस्तारै हिँड्न थाल्यो ।
उसका पाइला भारी थिए, तर पेटको आगो त्योभन्दा भारी थियो ।
२ : आमाको आँसु, छोराको झोला
कर्णालीको माथिल्लो भेगमा, डाँडामाथि टाँसिएको जस्तो एउटा सानो
बस्ती थियो — रिठेपानी । गाउँ भन्नु नाम मात्रै ।
केही ढुंगामाटोका घर, वरिपरि उकाली–ओराली, तल खोँचमा कराउँदै बग्ने खोलो, माथि
नांगो पहाड । हिउँदमा चिसोले हाड जमाउँथ्यो, वर्षामा
पहिरोले बाटो बगाउँथ्यो ।
त्यही गाउँको एउटा भिरालो कुनामा बस्थ्यो सत्र
वर्षको सानु ।
उसको वास्तविक नाम सन्तबहादुर थियो, तर गाउँमा सबैले “सानु” नै भन्थे । शरीर दुब्लो, अनुहारमा
बालकपन बाँकी, तर आँखामा उमेरभन्दा धेरै थकान थियो ।
सानुको बाबु पाँच वर्षअघि भारत गएका थिए । “दुई महिनामा फर्किन्छु” भनेर हिँडेका मानिस फेरि कहिल्यै
फर्किएनन् ।
पहिला दुई–तीन
पटक फोन आएको थियो । त्यसपछि फोन बन्द भयो । सँगै गएका गाउँका एक जनाले भनेका थिए— “लखनउतिर बिरामी परेका थिए रे ।”
त्यसपछि कुनै खबर आएन ।
न जिउँदो खबर, न मृत खबर ।
सानुकी आमा मैतीदेवीले धेरै वर्षसम्म बाटो
हेरेर बिताइन् । हरेक चाडपर्वमा घरबाहिर उभिएर टाढाको बाटोतिर हेर्थिन् । कुनै दिन
ऊ फर्किन्छ भन्ने विश्वास र डरको बीचमा उनको जीवन अड्किएको थियो ।
तर समयले प्रतीक्षा पनि थकाउँदो रहेछ ।
अब उनी बाबुको प्रतीक्षा छोडेर छोराको चिन्तामा
बाँच्न थालेकी थिइन् ।
---
त्यो वर्ष गाउँमा मकै राम्ररी फलेन । आलुमा रोग
लाग्यो । भेडाबाख्रा बेचेर किनिएको नुन, तेल
र चामल सकिन थालेको थियो ।
सानु बिहानै जंगल जान्थ्यो । दाउरा काट्थ्यो ।
कहिलेकाहीँ गाउँभन्दा तलको बजारसम्म भारी बोक्थ्यो । दिनभरि दुःख गरेर बेलुका
फर्किँदा आमाले सोध्थिन्—
“कति
कमायौ ?”
“दुई
सय ।”
त्यो पैसाले तीन जनाको घर कति दिन चल्थ्यो र ?
सानुकी सानी बहिनी माया अझै स्कूल जान्थी ।
उसलाई किताब चाहिन्थ्यो । कपडा चाहिन्थ्यो ।
एक साँझ गाउँका केही केटाहरू चौतारोमा भेला
भएका थिए । कसैले चुरोट तानिरहेको थियो, कसैले
ढुंगा फाल्दै खोँचतिर हेर्दै थियो ।
“तल
नेपालगञ्जबाट मान्छे लैजान आएको छ रे,” एक
जनाले भन्यो ।
“कहाँ
?”
“भारत
। काम राम्रो छ रे । महिनाको पन्ध्र–बीस
हजार कमाइन्छ ।”
सानु चुपचाप सुनिरह्यो ।
“के
काम ?”
“होटलतिर
होला । कसैले गोदाम भनेको थियो ।”
अर्कोले हाँस्यो—
“काम
जे भए पनि गाउँमा भोकै बस्नुभन्दा राम्रो ।”
सबै केही बेर चुप भए ।
त्यो मौनतामा कर्णालीको पुरानो पीडा थियो — गाउँमा जन्मिनु नै संघर्ष हुनु ।
---
राति घरमा आगो ताप्दै सानुले आमासँग कुरा
निकाल्यो ।
“आमा…”
मैतीदेवीले उसको स्वर सुनेरै केही अनुमान गरिन्
।
“के
भयो ?”
“म
पनि भारत जान्छु ।”
आगोको झिल्को एकछिन उनको अनुहारमा चम्कियो ।
उनी चुप भइन् ।
“तँ
पनि ?” उनले बिस्तारै सोधिन् ।
सानुले टाउको झुकायो ।
“घर
कसरी चलाउने ? मायाले पनि पढ्नुपर्यो ।”
मैतीदेवीले केही बोलिनन् । उनको आँखामा पुरानो
डर फेरि फर्कियो । त्यही डर, जुन
दिन उनका श्रीमान् झोला बोकेर हिँडेका थिए ।
“तँलाई
पनि हरायो भने ?” उनको स्वर काँप्यो ।
सानुले जवाफ दिन सकेन ।
बाहिर हावाले टिनको पाता हल्लाइरहेको थियो ।
धेरै बेरपछि आमाले सोधिन्—
“कहाँ
बस्छस् ? कसलाई चिन्छस् ?”
“गाउँकै
वीरुहरू जाँदैछन् । सँगै जान्छु ।”
मैतीदेवीले आँखा पुछिन् ।
उनी बुझ्थिन् — गरिबको घरमा “नजाऊ” भन्नु पनि कहिलेकाहीँ क्रूरता हुन्छ ।
---
अर्को बिहानदेखि तयारी सुरु भयो ।
तयारी भन्नु ठूलो कुरा केही थिएन । छिमेकीबाट
उधारो झोला ल्याइयो । पुरानो ज्याकेट सिलाइयो । गाउँकी एक महिलाले “भारतमा चिसो हुन्छ” भनेर ऊनको टोपी दिइन् ।
मैतीदेवीले भान्साको कुनाबाट गुन्द्रुक
निकालिन् । त्यो चाडका लागि राखिएको थियो ।
सानुले देख्यो ।
“आमा, त्यो नराख न ।”
“बाटोमा
चाहिन्छ ।”
उनले चिउरा सुकाइन् । नुन र खुर्सानी सानो
पोकोमा बाँधिन् ।
ती सामानसँगै उनले आफ्नो डर पनि झोलाभित्र
राखिरहेकी थिइन् ।
---
जाने दिन बिहान गाउँमा कुहिरो लागेको थियो ।
सानु नुहाएर आयो । पुरानो सर्ट लगायो । झोला
काँधमा राख्यो ।
माया उसलाई हेरेर रोइरहेकी थिई ।
“दाइ, कहिले फर्किन्छौ ?”
सानुले हाँस्ने प्रयास गर्यो ।
“पैसा
कमाएर चाँडै ।”
“मलाई
के ल्याइदिन्छौ ?”
“ठूलो
झोला ।”
माया पहिलो पटक मुस्कुराई ।
तर आमाको अनुहारमा मुस्कान थिएन ।
उनी बारम्बार सानुको अनुहार हेरिरहेकी थिइन्, मानौँ स्मृतिमा सुरक्षित राख्न खोजेझैँ
।
---
गाउँबाट बस लाग्ने बजारसम्म तीन घण्टा पैदल
हिँड्नुपर्थ्यो ।
सानुसँगै गाउँका पाँच जना केटा थिए । कसैको
उमेर अठार, कसैको बीस । सबैको काँधमा झोला थियो ।
सबैको आँखामा डर लुकाइएको थियो ।
बाटोभरि उनीहरू ठूलो कुरा गर्थे ।
“यो
पटक राम्रो कमाइ हुन्छ ।”
“म
दुई वर्षमै घर बनाउँछु ।”
“म त
मोटरसाइकल किन्छु ।”
तर ती सपनाहरूको आवाजभित्र अनिश्चितता स्पष्ट
सुनिन्थ्यो ।
ओरालो झर्दै गर्दा उनीहरूले एउटा घरबाट
टेलिभिजनको आवाज सुने ।
नेपाल टेलिभिजनमा समाचार चलिरहेको थियो ।
“सरकारले
युवा स्वरोजगार कार्यक्रमलाई अझ प्रभावकारी बनाउने…”
सानुहरू रोकिएनन् ।
अर्को आवाज आयो—
“सीप
विकास तालिममार्फत युवालाई देशमै रोजगारी…”
वीरुले हाँस्दै भन्यो—
“हाम्रो
सीप त झोला बोक्ने हो ।”
सबै हाँसे ।
त्यो हाँसो तीतो थियो ।
उनीहरू समाचारमा भनिएको “उज्ज्वल भविष्य” सुन्दै भारत जाने बाटोतिर हिँडिरहेका
थिए ।
---
बजारमा पुग्दा बस भरिन थालेको थियो ।
धुलाम्मे बस । छतमा झोला, भित्र कोचाकोच मान्छे ।
कतिपय महिला रोइरहेका थिए । कतिपय बुढाबुढी
छोरालाई सम्झाइरहेका थिए । बसपार्क मानौँ विदाइको मैदान बनेको थियो ।
मैतीदेवीले अन्तिमपटक सानुको झोला मिलाइन् ।
“चिउरा
तल छ । गुन्द्रुक माथि ।”
सानुले टाउको हल्लायो ।
“बिरामी
नपर्नू ।”
“हुँदैन
।”
“अपरिचित
मान्छेसँग नलाग्नू ।”
“हुन्छ
।”
उनका शब्द सकिँदै गए । आँसु रोकिँदै गएन ।
बसको सहचालक करायो—
“छिटो
चढ्नुस् !”
सानुले आमातिर हेर्यो । अचानक ऊ फेरि
बच्चाजस्तो भयो ।
मैतीदेवीले उसलाई अँगालो हालिन् ।
त्यो अँगालोमा पाँच वर्षअघि हराएको श्रीमान्को
डर, अहिले छुट्टिँदै गरेको छोराको पीडा र
गरिबीको असहायता सबै मिसिएको थियो ।
“चाँडै
फर्क है…” उनले निन्याउरो हुँदै रोएको स्वरमा
भनिन् ।
सानुले केही बोल्न सकेन ।
ऊ बस चढ्यो ।
झ्यालबाट बाहिर हेर्दा आमाले आँचलले आँसु
पुछिरहेकी थिइन् । माया उनको हात समातेर उभिएकी थिई ।
बस बिस्तारै अगाडि बढ्यो ।
सानुले झ्यालबाट हात हल्लायो ।
मैतीदेवी सानो हुँदै गइन् । गाउँ सानो हुँदै
गयो । पहाड पछाडि छुट्दै गयो ।
बस धुलो उडाउँदै भारत जाने सडकतिर कुदिरह्यो ।
सानुले झोलामाथि हात राख्यो ।
त्यो झोलाभित्र चिउरा, गुन्द्रुक र केही कपडा मात्रै थिएनन् — एउटा आमाको आँसु, एउटा
हराएको बाबुको अधुरो कथा र एउटा गरिब किशोरको बाँकी रहेको बाल्यकाल पनि थियो ।
३ : सीमा पार — अदृश्य यात्रा
बस रातभरि हल्लिँदै तलतिर झरिरह्यो । पहाड सकिए
। खोँच सकिए । बिहानपख तराईको तातो हावा बसको झ्यालबाट भित्र पस्न थाल्यो ।
सानुले आँखा मिच्दै बाहिर हेर्यो । लामो सडक, धुलो, ट्रकको लाइन,
बजारको भीड । उसले यस्तो भीड पहिले
कहिल्यै देखेको थिएन ।
उसको छेउमा बसेको वीरुले भन्यो—
“अब
वीरगञ्ज आइपुग्यो ।”
सानुको पेटभित्र एक प्रकारको डर चल्यो । घर अब
धेरै पछाडि छुटिसकेको थियो ।
बसपार्कमा झर्दा मान्छेको समुद्रजस्तै भीड थियो
। झोला बोकेका युवक, रोइरहेका बालबालिका, कराउने सहचालक, चिया पसलको धुवाँ, रिक्साको घण्टी, ट्रकको हर्न ।
त्यो भीडमा सबैको अनुहार उस्तै देखिन्थ्यो — थाकेको, हतारिएको, केही खोजिरहेको ।
---
“रक्सौल
जाने ? उता आऊ !”
बसबाट झर्नासाथ केही मान्छे उनीहरूतिर झम्टिए ।
कसैले गाडी मिलाइदिने भन्यो, कसैले
सस्तो होटल, कसैले रेल टिकट ।
वीरुले बिस्तारै भन्यो—
“दलाल
हुन् । धेरै नबोल ।”
तर दलालहरू गरिबको अनुहार चिन्न माहिर हुन्थे ।
एक जना पातलो मानिस सानुको नजिक आयो ।
“पहिलो
पटक हो ?”
सानुले केही बोलेन ।
“डराउन
पर्दैन । म सबै मिलाइदिन्छु । दिल्लीसम्म ।”
उसको मुस्कानमा विश्वासभन्दा बढी चलाकी थियो ।
वीरुले बीचमै काट्यो—
“हामी
आफैँ जान्छौँ ।”
त्यो मानिसको अनुहार तुरुन्त बदलियो ।
“पछि
रोइहाल्नु नि ।”
ऊ अर्को समूहतिर लाग्यो ।
---
सीमातिर जाने सडकमा झन् ठूलो भीड थियो । साइकल, टेम्पो, ठेला, मान्छे, सामान — सबै एकअर्कामाथि खस्लाजस्तो ।
नेपालतर्फका प्रहरी छेउमा उभिएर हेर्दै थिए ।
भारतीयतर्फ केही सुरक्षाकर्मी मानिसहरूलाई हतार गराउँदै थिए ।
सानुले पहिलो पटक सीमा देख्यो ।
न ठूलो पर्खाल, न विशाल गेट । तर त्यो रेखाले मान्छेको जीवन बदल्थ्यो ।
एक जना प्रहरीले उनीहरूलाई रोक्यो ।
“कहाँ
जाने ?”
“दिल्ली,” वीरुले भन्यो ।
प्रहरीले माथिदेखि तलसम्म हे¥यो ।
“काम
गर्न ?”
कसैले उत्तर दिएन ।
उसले मुस्कुराउँदै भन्यो—
“देशमै
काम छैन ?”
त्यो प्रश्न व्यंग्य थियो कि अपमान, छुट्याउन गाह्रो थियो ।
पछि बिस्तारै हात अगाडि बढायो ।
वीरुले बुझ्यो । उसले खल्तीबाट केही पैसा निकालेर
दियो ।
प्रहरी चुपचाप पन्छियो ।
सानुले अचम्म मान्दै सोध्यो—
“किन
पैसा दिएको ?”
वीरुले तीतो हाँसो हाँस्यो ।
“सीमा
खुला छ नि ।”
सबै हाँसे ।
त्यो हाँसोमा रिस मिसिएको थियो ।
---
रक्सौल पुगेपछि उनीहरू रेल स्टेशनतिर लागे ।
स्टेशन मानौँ अर्को संसार थियो । मानिसमाथि
मानिस । प्लेटफर्ममा सुतेका परिवार । कराउँदै हिँड्ने कुल्लीहरू । चियाको गन्ध ।
पसिनाको गन्ध । रेलको धुवाँ ।
सानुले आफ्नो झोला कसिलो समात्यो ।
“सामान
चोर्छन्,” कसैले चेतावनी दियो ।
एक कुनामा नेपालीहरूको ठूलो समूह बसिरहेको थियो
। कसैको गन्तव्य दिल्ली, कसैको लुधियाना, कसैको जयपुर ।
उनीहरूको बोली फरक थियो, तर कथा उस्तै ।
“गाउँमा
केही छैन ।”
“ऋण
लाग्यो ।”
“घर
बनाउनु छ ।”
“छोरी
बिहे गर्नुपर्छ ।”
त्यो स्टेशन गरीब नेपालीहरूको अस्थायी
प्रतीक्षालयजस्तै थियो ।
---
रेल बेलुका आउने भनिएको थियो । तर रात परिसक्दा
पनि आएन ।
भोक लाग्न थाल्यो ।
सानुले आमाले दिएको चिउरा निकाल्यो । सबैले
अलिअलि बाँडे ।
छेउमै बसेको एक जना वृद्ध नेपाली उनीहरूलाई
हेर्दै थिए । उनको दाह्री फुलेको थियो । आँखा गहिरो ।
“पहिलो
पटक ?” उनले सोधे ।
“हो,” वीरुले भन्यो ।
बुढाले केही बेर चुप रहेर चुरोट सल्काए ।
“कहाँ
जाने ?”
“दिल्ली
होला ।”
“दिल्ली
पुगेपछि ?”
चुरोटको धुवाँ बीचै उसले भन्यो “काम
खोज्ने ।”
बुढालेफेरि धुवाँ फाल्दै टाउको हल्लाए ।
“काम
त पाइन्छ । तर मान्छे हराउन पनि त्यत्तिकै सजिलो छ ।”
सानुले ध्यान दिएर सुनिरहेको थियो ।
“म
बीस वर्ष भयो यता हिँडेको,”
बुढाले भने, “पहिला होटलमा भाँडा माझेँ। पछि गोदाममा
। अहिले काला पहाडतिर जान्छु ।”
सानुले पहिलो पटक त्यो शब्द नजिकबाट सुन्यो ।
“काला
पहाड ?”
बुढाको अनुहार गम्भीर भयो ।
“त्यो
ठाउँ कामभन्दा बढी सजाय हो ।”
अरू केटाहरू पनि नजिक सरे ।
“जाडोमा
हात चल्दैन । पहाड काट्नुपर्छ । राति टिनको छानामुनि सुत्नुपर्छ । कोही बिरामी पर्यो
भने तल अस्पताल पुर्याउन नपाउँदै सकिन्छ ।”
“किन
जानुहुन्छ त ?” सानुले सोध्यो ।
बुढा चुरोटको धुवाँ बीच केही क्षण चुप रहे ।
“किनकि
त्यहाँ अरूभन्दा दुई सय बढी ज्याला दिन्छन् ।”
कसैले केही बोलेन ।
गरिबको जीवनमा दुई सय रुपैयाँले कहिलेकाहीँ
मृत्युको जोखिम पनि सानो लाग्ने रहेछ ।
---
राति अबेर रेल आयो । उनीहरूलाई त्यो साइरनजस्तो
लाग्यो ।
मानिसहरू एकैचोटि जुरुक्क उठे । धक्का, कराइ, भागदौड ।
“छिटो
! छिटो !”
सानुले यस्तो भीड कहिल्यै भोगेको थिएन । कसैले
उसको काँधमा हानेर अगाडि बढ्यो । कसैले झोला तान्यो ।
उनीहरूसँग आरक्षण थिएन ।
जनरल डब्बा भरिइसकेको थियो । ढोकामै मान्छे
झुन्डिएका ।
वीरु चिच्यायो—
“सानु
! यता !”
धक्कामुक्की गर्दै उनीहरू भित्र छिरे ।
भित्र सास फेर्न गाह्रो थियो । मान्छे भुइँमा, सिटमुनि, ढोकाछेउ सबै ठाउँमा कोचिएका थिए ।
सानुले झ्यालछेउ अलिकति ठाउँ पायो । पसिनाको
गन्ध, बच्चाको रुवाइ, चियावालाको कर्कश आवाज मिसिएको थियो ।
रेल बिस्तारै चल्न थाल्यो ।
बाहिर स्टेशन पछाडि छुट्दै गयो ।
---
केही बेरपछि डब्बाभित्र मोबाइलमा भिडियो बज्न
थाल्यो ।
कुनै नेताको भाषण थियो ।
“नेपाल–भारत सम्बन्ध रोटी–बेटीको सम्बन्ध हो… खुला सीमाले हाम्रो मित्रतालाई अझ
बलियो बनाएको छ…”
डब्बाभित्र केही नेपाली श्रमिकहरू एकअर्काको
अनुहार हेरेर मुस्कुराए ।
त्यही बेला ढोकाछेउ उभिएको प्रहरीले एक जना
नेपालीलाई करायो—
“उता
सर ! बाटो छेकिस् !”
मानिस लगभग लड्दै पन्छियो ।
बुढा श्रमिकले बिस्तारै भने—
“मित्रता
माथिमाथि हुन्छ बाबु… तल त हामी मालबाहक जनावरजस्तै हौँ ।”
सानुले झ्यालबाट बाहिर अन्धकार हेर्यो ।
छुकुछुकुले पनि उनीहरूलाई पीडा दिने रेल
भारततिर कुदिरहेको थियो ।
उसले महसुस गर्यो — ऊ अब केवल गाउँको किशोर थिएन । ऊ
हजारौँ अदृश्य नेपाली श्रमिकमध्ये एक भइसकेको थियो, जसको यात्रा न कुनै सरकारी तथ्यांकमा पूरा लेखिन्छ, न कुनै नेताको भाषणमा पूरा सुनिन्छ ।
४ : दिल्लीको फुटपाथ र कुल्लीको जन्म
दिल्ली पुगेको पहिलो बिहान रामबहादुरलाई लाग्यो, ऊ कुनै शहरमा होइन, फलाम, धुवाँ र कराउने आवाजले बनेको विशाल मेसिनभित्र आइपुगेको छ ।
रेल स्टेशन बाहिर निस्कँदा मानिसको बाढी
बगिरहेको थियो । हजारौँ अनुहार । हजारौँ हतार । कसैले कसैलाई हेर्दैनथ्यो । सबै
दौडिरहेका थिए ।
ऊ नथुनीको दाइ शिवलालसँग आएको थियो । शिवलाल
पन्ध्र वर्षदेखि दिल्लीमै थिए । अनुहार चाउरिएको, आँखा रातो, काँध झुकेको ।
“यहाँ
बाँच्न सिक्नुपर्छ,” उनले पहिलो दिनमै भने, “नत्र शहरले निल्छ ।”
रामबहादुरले केही बुझेन । तर केही दिनमै बुझ्न
थाल्यो ।
---
पहिलो दुई दिन उसले स्टेशन वरिपरि काम खोज्यो ।
होटलमा गयो, गोदाममा गयो, निर्माणस्थलमा गयो ।
सबै ठाउँ एउटै प्रश्न—
“पहिले
काम गरेको छ ?”
उसले “छैन” भन्यो कि मानिसको रुचि सकिन्थ्यो ।
तेस्रो दिन शिवलालले भने—
“पहिला
कुल्ली बन । पेट पाल्न सजिलो हुन्छ ।”
रामबहादुर चुप रह्यो ।
उसले गाउँमा कहिल्यै यस्तो काम सोचेको थिएन ।
तर दिल्लीमा सोच्नेभन्दा बढी बाँच्नुपर्थ्यो ।
---
स्टेशनको प्लेटफर्म नम्बर पाँचबाट उसको नयाँ
जीवन सुरु भयो ।
पहिलो दिन बिहानै एउटा मानिसले चिच्यायो—
“ए
नेपाली ! यो उठाऊ ।”
उसले फर्केर हेर्दा दुईवटा ठूलो बोरासहितको
परिवार उभिएको थियो ।
बोरा काँधमा राख्नेबित्तिकै उसको शरीर तल दबियो
। मानौँ कसैले ढुंगाको पहाड राखिदिएको हो ।
“छिटो
!” ग्राहक करायो ।
रामबहादुर लरबराउँदै अगाडि बढ्यो । पसिना
तुरुन्त बग्न थाल्यो । भीड चिर्दै, सिढी
उक्लिँदै, रेलको बीचबाट बाटो खोज्दै ऊ अघि
बढिरह्यो ।
बोरा राखेपछि मानिसले हातमा केही पैसा थमाइदियो
।
रामबहादुरले त्यो पैसा लामो समयसम्म हेरिरह्यो ।
त्यो उसको शरीरको पहिलो किस्ता थियो ।
---
दिनहरू उस्तै बित्न थाले ।
बिहानदेखि रातिसम्म भारी बोक्ने । कसैको ट्रंक, कसैको चामलको बोरा, कसैको फलामको बाकस ।
कतिपय सामान यति भारी हुन्थे कि काँध
सुन्निन्थ्यो । घाँटी बांगिन्थ्यो । राति सुत्दा ढाड सीधा पार्न सकिँदैनथ्यो ।
तर स्टेशनमा कसैले “थाक्यौ?” भनेर सोध्दैनथ्यो ।
एक दिन एउटा व्यापारीले पाँचवटा ठूलो कार्टुन
तान्न लगायो । रामबहादुरले बिस्तारै भन्यो—
“अलि
धेरै भारी भयो ।”
त्यो मानिस रिसायो ।
“काम
गर्न आएको कि रोइकराइ गर्न ?”
छेउमा उभिएको अर्को कुल्ली बिस्तारै फुसफुसायो—
“यहाँ
मान्छे होइन, शरीर भाडामा दिनुपर्छ ।”
---
स्टेशनको जीवन कठोर मात्र थिएन, अपमानले भरिएको पनि थियो ।
“ए
नेपाली !”
“ओ
चौकीदार !”
“छिटो
गर !”
यस्ता शब्द दिनभरि उसको कानमा बजिरहन्थे ।
कतिपयले नाम सोध्न पनि आवश्यक ठान्दैनथे ।
उनीहरूका लागि ऊ केवल एउटा श्रमिक थियो — भारी
बोक्ने शरीर ।
तर रामबहादुर प्रत्येक रात आफूलाई सम्झाउँथ्यो—
“यो
सबै सहनुपर्छ । घरमा बच्चा छन् ।”
---
बस्ने ठाउँ झन् पीडादायी थियो ।
स्टेशनबाट टाढा, फोहोर गल्लीभित्र, टिनको
छानो भएको एउटा साँघुरो कोठा । त्यही कोठामा बाह्र जना नेपाली बस्थे ।
कसैको काम कुल्ली, कसैको होटल, कसैको निर्माणस्थल ।
भुइँमा सिरक ओछ्याएर लाइनमा सुत्नुपर्थ्यो । एक
जना फर्किँदा सबैलाई असर पर्थ्यो ।
गर्मीमा कोठा भट्टीजस्तो हुन्थ्यो । पसिनाको
गन्ध, भिजेको कपडा, धुवाँ, पुरानो तेलको गन्ध मिसिएर सास फेर्न गाह्रो हुन्थ्यो ।
पानी बिहान दुई घण्टा मात्रै आउँथ्यो ।
ढिलो उठ्यो भने नुहाउने त परै जाओस्, मुख धुने पानी पनि पाइँदैनथ्यो ।
एक दिन कोठामा बस्दै गर्दा शिवलालले हाँस्दै
भने—
“दिल्लीले
सबै सिकाउँछ — कम पानीमा कसरी बाँच्ने, कम खानामा कसरी काम गर्ने ।”
सबै हाँसे ।
गरिबको हाँसो प्रायः रोदन लुकाउने तरिका
हुन्थ्यो ।
---
खाना बचाउन धेरैजसो उनीहरू दिनमा एक छाक मात्रै
राम्रोसँग खान्थे ।
बिहान चिया र बिस्कुट । दिउँसो पानी । राति भात
र आलु ।
कहिलेकाहीँ रामबहादुरले गाउँ सम्झिन्थ्यो ।
गीताले बनाएको ढिँडो, हरियो साग, चुल्होको धुवाँ ।
त्यो गरिबी पनि अहिलेको भन्दा कम कठोर लाग्थ्यो
।
कम्तीमा त्यहाँ अपमान थिएन ।
---
एक साँझ स्टेशनबाहिर चिया खाँदै गर्दा उसको नजर
एउटा पोस्टरतिर गयो ।
पोस्टरमा नेपाल सरकारको लोगो थियो ।
ठूलो अक्षरमा लेखिएको थियो—
“सुरक्षित
वैदेशिक रोजगार — सीप, सम्झौता र सुरक्षा सहित विदेश जाऔँ ।”
पोस्टरमा मुस्कुराएको हेल्मेट लगाएको युवक थियो
।
रामबहादुर लामो समयसम्म त्यो पोस्टर हेरिरह्यो ।
शिवलालले चिया सर्काउँदै भने—
“हामीलाई
त्यो पोस्टरले चिन्दैन ।”
“किन
?”
“किनकि
हामीसँग पासपोर्ट छैन । एजेन्ट छैन । सम्झौता छैन । हामी त खुला सीमाको अदृश्य
मान्छे हौँ ।”
रामबहादुर चुप रह्यो ।
पोस्टरमुनि दुई जना नेपाली श्रमिक भुइँमा बसेर
सुख्खा रोटी खाइरहेका थिए ।
त्यो दृश्य आफैँमा व्यंग्य थियो ।
राज्यले कागजमा “सुरक्षित प्रवास” बेचिरहेको
थियो, तर हजारौँ नेपालीहरू कागजबिनै, अधिकारबिनै, सुरक्षा बिनै भारतका स्टेशनहरूमा शरीर
गलाइरहेका थिए ।
---
दिन बित्दै जाँदा रामबहादुरको शरीर बदलिन
थाल्यो ।
काँधमा काला डामहरू देखिए । ढाड सधैँ दुख्न
थाल्यो । हातका औँला सुन्निन्थे ।
एक रात ऊ उठ्न खोज्दा अचानक ढाडमा चर्को पीडा
भयो ।
“आह…”
ऊ भुइँमै बस्यो ।
शिवलालले हेरे ।
“बानी
पर्छ,” उनले सामान्य स्वरमा भने, “पहिला सबैलाई यस्तै हुन्छ ।”
“डाक्टर
?”
शिवलाल हाँस्यो ।
“डाक्टर
धनी मान्छेका लागि हो ।”
कोठाभित्र केही क्षण मौनता छायो ।
बाहिर कतै रेलको सिटी बज्यो ।
रामबहादुरले आँखा बन्द गर्यो ।
उसलाई अचानक गाउँ सम्झियो — गीता, सोनु, पूजा ।
उसले मनमनै हिसाब गर्यो । यो महिना अलिकति
पैसा पठाउन सकियो भने घरमा चामल पुग्ला । शायद छोराको फी पनि तिर्न सकिएला ।
त्यही सोचेर उसले भोलिपल्ट फेरि भारी बोक्ने
निर्णय गर्यो ।
किनकि दिल्लीमा गरीब मानिसलाई आराम गर्ने
अधिकार हुँदैन । यहाँ शरीर दुख्नु सामान्य कुरा थियो । यहाँ मान्छे बिस्तारै
कुल्ली बन्दैन — बिस्तारै आफ्नो शरीर बेच्न सिक्छ ।
५ : रातको चौकीदार
हरि मगरलाई गाउँमा सबैले हँसिलो मान्छे भन्थे ।
ऊ जहाँ बस्यो, त्यहाँ ठट्टा हुन्थ्यो । मेलापातमा
मादल बजाउँथ्यो, गाउँको नाचमा अगाडि हुन्थ्यो । तर
मुम्बई पुगेको तीन महिनामै उसको हाँसो हराउन थालेको थियो ।
ऊ रोल्पाको पहाडी गाउँबाट आएको थियो । घरमा
बूढी आमा, श्रीमती र दुई वर्षको छोरा थिए ।
गाउँमा भएको आधा रोपनी खेतले तीन महिना पनि खान पुग्दैनथ्यो । बाँकी समय ऊ कहिले
भारत, कहिले नेपालगञ्ज, कहिले पोखरामा मजदुरी गर्दै बस्थ्यो ।
त्यो वर्ष गाउँ फर्किँदा आमा बिरामी परेकी
थिइन् । श्रीमतीले ऋणको कुरा गरिन् । पसलवाला उधारो दिन मानिरहेका थिएनन् ।
हरिले धेरै सोचेन ।
“मुम्बई
जाँदैछु,” उसले एक साँझ भन्यो ।
गाउँका एक जना मान्छेले “सुरक्षा गार्ड” को काम मिलाइदिने बताएका थिए ।
“सुरक्षा
गार्ड” भन्ने शब्द सुन्दा गाउँलेहरूलाई ठूलो
जागिरजस्तो लाग्थ्यो । तर वास्तविकता “रातको
चौकीदार” मात्र थियो ।
---
मुम्बईले हरिलाई पहिलो दिनमै थकाइदियो ।
अग्ला भवन । नसुतेजस्तो सडक । अनन्त मान्छे ।
समुद्रको गन्धमा मिसिएको धुवाँ ।
ऊ जुन अपार्टमेन्टमा राखिएको थियो, त्यहाँ उसको काम स्पष्ट थियो—
गेटमा बस्ने । आउने–जाने मान्छे हेर्ने । रातभर नसुत्ने ।
घोडाजस्तो उभिरहने ।
बिहान सातदेखि बेलुका सातसम्म अर्को गार्ड ।
बेलुका सातदेखि बिहान सातसम्म हरि ।
पहिलो रात उसले सोच्यो— “सजिलो काम रहेछ ।”
तेस्रो रातसम्म उसको शरीरले विरोध गर्न थाल्यो ।
रात दुई बजे आँखा आफैँ बन्द हुन खोज्थे । बिहान
चार बजे हड्डी चिसिन्थ्यो । वर्षामा गेटबाहिर पानी पस्दासमेत उभिनुपर्थ्यो ।
तर ऊ बस्न पाउँदैनथ्यो ।
एक रात मालिक तल झरे ।
हरि कुर्सीमा अलिकति झुकेको थियो ।
“ए !” मानिस करायो ।
हरि झसङ्ग ब्युँझियो ।
“सुत्न
पैसा दिन्छु ?”
“होइन
साहेब…”
“नेपालीहरू
सबै उस्तै । कामचोर ।”
हरिले टाउको झुकायो ।
त्यो क्षण उसलाई लाग्यो, ऊ मानिस होइन, गेटमा बाँधिएको जनावर हो ।
---
दिनहरू क्रमशः अपमानका नयाँ रूपहरू बन्न थाले ।
“ए
गार्ड, पानी ल्याऊ ।”
“ए
नेपाली, गेट खोल ।”
“तिमीहरूलाई
त यही काम सुहाउँछ ।”
कतिपय बच्चाहरूले समेत उसलाई “नेपाली चौकीदार” भनेर जिस्क्याउँथे ।
एक दिन एउटा मदिरा पिएको युवक राति अबेर आयो ।
गाडी रोक्दै उसले हरितिर हेरेर हाँस्यो—
“तिमीहरू
नेपालीहरू धेरै इमानदार हुन्छौ रे ?”
हरि चुप रह्यो ।
“त्यसैले
चौकीदार बनाइन्छ नि ।”
त्यसपछि साथीहरूसँग हाँस्दै भित्र गयो ।
हरि धेरै बेर गेटबाहिर उभिरह्यो ।
उसलाई एक पोकै रिस आएको थियो । तर गरिब
मान्छेलाई रिस पनि निल्न सिकाइएको हुन्छ ।
---
बस्ने ठाउँ त्यहाँ पनि दयनीय थियो ।
भवनको पछाडिपट्टि सानो कोठा । त्यही कोठामा तीन
जना नेपाली गार्ड बस्थे ।
भित्र एउटा पंखा । त्यो पनि आधा समय बन्द ।
भित्तामा चाउचाउका खोल । कुनामा भिजेको कपडा ।
राति सुत्दा अबिरल कराइरहने लामखुट्टे ।
हरिको साथी दिलबहादुरले एक दिन हाँस्दै भन्यो—
“हामी
गेटको सुरक्षा गर्छौँ, हाम्रो सुरक्षा कसले गर्छ ?”
कसैले उत्तर दिएन ।
---
सबैभन्दा कठिन समय रातको अन्तिम घडी हुन्थ्यो ।
बिहान हुनुभन्दा ठीक अगाडिको समय ।
शहर केही बेर शान्त हुन्थ्यो । सडकमा कम गाडी ।
हावामा समुद्रको चिसोपना ।
त्यही बेला हरिलाई गाउँ धेरै सम्झिन्थ्यो ।
आमाको खोकी । श्रीमतीको अनुहार । छोरोको हाँसो ।
उसले मोबाइल निकाल्थ्यो । फोटो हेर्थ्यो ।
कहिलेकाहीँ आँखा रसाउँथे ।
तर बिहान फोन गर्दा उसको स्वर सधैँ उस्तै
हुन्थ्यो ।
“सब
ठीक छ ।”
श्रीमती सोध्थिन्—
“काम
कस्तो छ ?”
“राम्रो
।”
“तिमी
ठीक छौ ?”
“एकदम
।”
उसले कहिल्यै भनिन—
कि रातभरि उभिँदा खुट्टा सुन्निन्छन् , बरु
घोडाको सुनिन्न ।
कि मालिकले अपमान गर्छ ।
कि कहिलेकाहीँ एक्लै बस्दा रुन मन लाग्छ ।
गरिब पुरुषहरूलाई समाजले एउटा कुरा सिकाएको
हुन्छ — दुःख लुकाउनू ।
---
एक दिन भवनमा ठूलो कार्यक्रम भयो ।
भारत र नेपालको झण्डा सँगै राखिएको थियो । केही
नेताहरू आएका थिए । माइकमा भाषण चलिरहेको थियो ।
“नेपाल–भारत सम्बन्ध ऐतिहासिक छ…”
“हामी
दुई देश होइनौँ, एउटै परिवार हौँ…”
“रोटी–बेटीको सम्बन्ध…”
हरि गेटबाहिर उभिएर सुनिरहेको थियो ।
त्यही बेला एक जना पाहुनाको गाडी आयो । हरिले
गेट खोल्न अलिकति ढिलो गर्यो ।
भित्रबाट आवाज आयो—
“ए
गार्ड ! कहाँ मरिस् ?”
सबैको अगाडि उसलाई गाली गरियो ।
मञ्चभित्र ताली बजिरहेको थियो । “मैत्री सम्बन्ध” को भाषण चलिरहेको थियो ।
बाहिर एक नेपाली श्रमिकको आत्मसम्मान कुचिँदै
थियो ।
हरिले केही बोलेन ।
उसले केवल गेट खोलेर फेरि उभिने ठाउँ समात्यो ।
---
त्यो रात पानी परिरहेको थियो ।
हरि गेटको छानोमुनि उभिएको थियो । पानी सडकमा
बगिरहेको थियो । शहर अझै जागै थियो ।
उसले आकाशतिर हेर्यो ।
त्यस क्षण उसलाई एउटा कुरा स्पष्ट भयो—
गरिब नेपाली श्रमिकहरू दुई देशको मित्रताको
भाषणमा धेरै सुनिन्छन्, तर उनीहरूको वास्तविक पीडा कसैले
सुन्दैन ।
नेताहरूको भाषणमा “रोटी–बेटी” हुन्छ, तर श्रमिकको थालमा कहिलेकाहीँ रोटी पनि पूरा हुँदैन ।
उसले गेट बन्द गर्यो ।
रात अझै बाँकी थियो । जाग्राम अझै बाँकी थियो ।
जीवनको अपमान पनि अझै बाँकी थियो ।
६ : काला पहाड — ढुंगा फुटाउने जीवन
सानुले “काला
पहाड” भन्ने शब्द पहिलो पटक रक्सौलको
स्टेशनमा सुनेको थियो । त्यतिबेला त्यो कुनै डरावना कथाजस्तो लागेको थियो । तर तीन
महिनापछि ऊ आफैँ त्यही ठाउँतिर जाँदै थियो ।
दिल्लीमा काम टिकेन । होटलमा भाँडा माझ्ने काम
दुई हप्तामै छुट्यो । गोदाममा सामान बोक्दा उसको हात सुन्नियो । मजदुरी खोज्ने
मानिस हजारौँ थिए, काम थोरै ।
एक दिन स्टेशननजिकै एक जना ठेकेदार आयो ।
“पहाडमा
काम छ,” उसले भन्यो, “ज्याला धेरै । बस्न–खान पाइन्छ ।”
“कस्तो
काम ?” वीरुले सोध्यो ।
“सडक
बनाउने ।”
“कति
पैसा ?”
उसले भनेको रकम दिल्लीको कामभन्दा धेरै थियो ।
सानुले धेरै सोचेन । घरमा पैसा पठाउन सकेको
थिएन । आमाको अनुहार बारम्बार आँखाअघि आउँथ्यो ।
त्यसरी उनीहरू ट्रक चढेर उत्तरतिर लागे ।
---
काला पहाड वास्तवमै कालो थियो ।
अग्ला भीर । चिसो हावा । साँघुरा सडक । तल
हेर्दा गहिरो खोँच, सबे कुरा निलिदेला जस्तो । माथि कुहिरो ।
त्यहाँ सेना सम्बन्धी सडक विस्तारको काम
भइरहेको थियो । डाँडा काट्ने, ढुंगा
फुटाउने, माटो फाल्ने ।
सानुले पहिलो दिनमै बुझ्यो — यहाँ मानिसको शरीरभन्दा ढुंगाको मूल्य
बढी छ ।
काम बिहान अँध्यारोमै सुरु हुन्थ्यो । हातमा
हथौडा, बेल्चा, कहिलेकाहीँ विस्फोटकको तयारी ।
चिसो यति धेरै हुन्थ्यो कि बिहान औँला चलाउन
गाह्रो पर्थ्यो । सास फेर्दा छाती पोल्थ्यो ।
तर काम रोकिन्नथ्यो ।
“छिटो
!” ठेकेदार कराउँथ्यो ।
“मेसिन
रोकिन्न !”
---
बस्ने ठाउँ टिनको अस्थायी टहरा थियो । भित्र
पुरानो कम्बल । तल सिमेन्टको भुइँ ।
राति हावा छिर्थ्यो । धेरैजना एकै ठाउँमा
खुम्चिएर सुत्थे ।
खाना प्रायः दालपानी र सुख्खा रोटी ।
सानु राति ओछ्यानमा पल्टिँदा गाउँ सम्झिन्थ्यो ।
आमाले आगो तापेको दृश्य । बहिनी माया । पहाडको त्यो गरिबी अहिले स्वर्गजस्तो
लाग्थ्यो ।
कम्तीमा त्यहाँ घर थियो ।
यहाँ केवल काम थियो ।
---
एक दिन पहिरो खस्यो ।
माथिबाट अचानक ठूलो ढुंगा झर्यो । सबै कराउँदै
भागे ।
“हट !
हट !”
धुलोले आकाश भरियो ।
सानुले पछाडि फर्केर हेर्दा उसको साथी वीरु
भुइँमा लडेको थियो । उसको खुट्टामाथि ठूलो ढुंगा अड्किएको थियो ।
“वीरु
!”
सबैजना दौडिए ।
ढुंगा हटाउँदासम्म वीरु कराइरहेको थियो ।
खुट्टा च्यापिएको थियो । रगत बगिरहेको थियो ।
“अस्पताल
लैजानुपर्छ !” कसैले चिच्यायो ।
तर अस्पताल धेरै तल थियो । सडक अधुरो । गाडी
तुरुन्त उपलब्ध थिएन ।
ठेकेदार रिसाएको स्वरमा आयो ।
“काम
रोक्न मिल्दैन ।”
सानुले पहिलो पटक उसको अनुहार घृणाले हेर्यो ।
त्यो रात वीरुलाई तल पुर्याइयो । तीन दिनपछि ऊ
फर्कियो — बैसाखी टेक्दै ।
अब ऊ काम गर्न सक्दैनथ्यो ।
ठेकेदारले छोटो वाक्य मात्रै भन्यो—
“अब
तिमी उपयोगी छैनौ ।”
वीरु चुपचाप टहरा बाहिर बसिरह्यो ।
सानुले त्यतिबेला बुझ्यो — यहाँ मान्छेको मूल्य उसको शरीर
चलुञ्जेल मात्रै रहेछ ।
---
जाडो बढ्दै गयो ।
एक बिहान सानु उठ्दा छेउमा सुतेको वृद्ध नेपाली
श्रमिक रामलाल नउठेको देख्यो ।
उसले काँध हल्लायो ।
“दाइ…”
कुनै प्रतिक्रिया आएन ।
अर्कोले हात छोयो ।
शरीर चिसो भइसकेको थियो ।
सायद राति सास रोकेको थियो । सायद ज्वरो थियो ।
सायद थकान ।
तर कारण खोज्न कसैसँग समय थिएन ।
केहीबेर मौनता छायो ।
त्यसपछि सबैभन्दा कठिन प्रश्न आयो—
“अब
लास के गर्ने ?”
रामलालको घर पश्चिम नेपालमा थियो । श्रीमती, दुई छोरी ।
तर लास घर पुर्याउन पैसा चाहिन्थ्यो ।
धेरै पैसा ।
सबैले आ–आफ्नो
खल्ती छामे । कसैले सय, कसैले दुई सय निकाल्यो ।
सानुले आफ्नो बचत पनि दियो ।
तर रकम पुग्दैनथ्यो ।
ठेकेदारले चुरोट तान्दै भन्यो—
“यत्तिका
लागि काम रोक्न सकिँदैन ।”
“घर
खबर त गरिदिनुस्,” कसैले भन्यो ।
“फोन
गर न ।”
उसको स्वरमा कुनै संवेदना थिएन ।
अन्ततः श्रमिकहरूले चन्दा उठाएर लास तल पठाउने
व्यवस्था गरे ।
सानु लामो समयसम्म रामलालको खाली ओछ्यान हेरिरह्यो
।
हिजोसम्म हाँसेको मानिस आज एउटा समस्या बनेको
थियो — “लास कसरी पठाउने ?”
---
त्यही साँझ कसैले मोबाइलमा समाचार चलायो ।
नेपालका प्रधानमन्त्रीको भाषण थियो ।
“नेपाल
सरकार श्रमिकहरूको हित र सुरक्षाप्रति पूर्ण प्रतिबद्ध छ…”
पछाडि ताली बजिरहेको थियो ।
“विदेशमा
रहेका नेपाली दाजुभाइको सम्मान र सुरक्षाका लागि…”
सानुले मोबाइलतिर हेर्यो । वरिपरि चिसो टहरा, थाकेका अनुहार, घाइते शरीर ।
रामलालको ओछ्यान अझै खाली थियो ।
कसैले तीतो हाँसो हाँस्यो ।
“हाम्रो
ठाउँको नाम पनि थाहा होला त उनीहरूलाई ?”
अर्कोले भन्यो—
“मरेपछि
श्रद्धाञ्जली आउला । फोटोमा माला चढाउलान् ।”
सबै चुप भए ।
त्यो चकमन्नताको मौनता धेरै गहिरो थियो ।
किनकि उनीहरूलाई थाहा थियो — जीवित हुँदा कसैले खोज्दैन । मृत्यु
भएपछि भाषण आउँछ ।
---
राति बाहिर हिउँजस्तो चिसो हावा चलिरहेको थियो ।
सानु टहराबाहिर निस्कियो । माथि कालो पहाड
उभिएको थियो । तल अन्धकार ।
उसले हात हे¥यो । हथौडा चलाउँदा छाला फुटेको थियो । नङभित्र धुलो जमेको थियो ।
उसले मनमनै सोच्यो—
“बाबु
पनि यस्तै ठाउँमा हराएका होलान् ?”
त्यो सोचले उसको छाती भारी भयो ।
टाढा कतै मेसिनको आवाज अझै आइरहेको थियो । पहाड
काट्ने काम रातिसम्म चलिरहन्थ्यो ।
काला पहाडलाई सडक चाहिएको थियो ।
तर त्यो सडक बनाउन कति नेपाली शरीर गलिरहेका
छन्, त्यसको हिसाब कसैले राखिरहेका थिएनन् ।
७ : शरीरको घाउ, मनको खाडल
दिल्लीको स्टेशनमा भारी बोक्दै गर्दा
रामबहादुरको शरीर बिस्तारै भित्रैदेखि टुट्न थालेको थियो ।
पहिले केवल ढाड दुख्थ्यो । पछि घुँडा कराउन
थाले । बिहान उठ्दा हात सीधा पार्न समय लाग्थ्यो । जाडोमा त औँलाहरू नै आफ्ना
जस्ता लाग्दैनथे ।
तर रोगभन्दा ठूलो समस्या थियो — काम नरोक्नु।
एक दिन नबोक्दा अर्को दिन भोक लाग्थ्यो ।
त्यसैले ऊ बिहान फेरि बोरा काँधमा राख्थ्यो ।
पीडा पनि अब उसको शरीरको सामान्य हिस्सा बनिसकेको थियो ।
---
स्टेशनको धुवाँ, धुलो र रातदिनको थकानले उसको खोकी बढ्दै गयो ।
पहिला सामान्य खोकी थियो । पछि रातभरि सुत्न
नदिने भयो ।
एक बिहान उसले खोक्दा थुकसँग रगतको सानो धर्सा
देख्यो ।
ऊ केही क्षण चुप भयो ।
शिवलालले हेरेर भने—
“डराऊ
मत । यहाँ धेरैलाई हुन्छ ।”
“डाक्टर
कहाँ देखाउने ?”
शिवलाल हाँस्यो ।
“सरकारी
अस्पताल जाऊ भने दिनभर लाइन बस्नुपर्छ । निजीमा जाऊ भने महिनाको कमाइ सकिन्छ ।”
रामबहादुर चुप रह्यो ।
त्यो दिन पनि उसले भारी बोक्यो ।
किनकि गरीब मानिस बिरामी हुन पाउँदैन ।
---
मुम्बईमा हरिको अवस्था पनि फरक थिएन ।
रातभर जाग्राम बस्दा उसको आँखामुनि कालो घेरा
पर्न थालेको थियो । निद्रा टुक्राटुक्रा हुन्थ्यो । दिनमा सुत्न खोज्दा कोठाको
गर्मी, आवाज र लामखुट्टेले टुइँटुइँ गर्दै
सुत्न दिँदैनथे ।
कहिलेकाहीँ उसलाई बिनाकारण रिस उठ्थ्यो ।
कहिलेकाहीँ अचानक मन भारी हुन्थ्यो ।
एक रात गेटबाहिर उभिँदा उसको मनमा अचानक गाउँको
दृश्य आयो — छोरो दौडिँदै आएको, आमाले आगो तापेको ।
उसको आँखा भरियो ।
त्यो क्षण ऊ धेरै एक्लो महसुस गरिरहेको थियो ।
सहरको बीचमा हजारौँ मानिस थिए, तर उसको पीडा सुन्ने कोही थिएन ।
---
कोठाभित्र बिस्तारै अर्को समस्या बढ्न थाल्यो — रक्सी ।
८ रक्सीको रात, थाकेको शरीर
दिल्ली, मुम्बई
वा काला पहाड — ठाउँ फरक भए पनि रातको एउटा दृश्य लगभग
उस्तै हुन्थ्यो ।
दिनभरि शरीर तोडिने गरी काम गरेपछि नेपाली
श्रमिकहरू साँझ सानो कोठा,
गल्लीको भट्टी वा स्टेशनछेउको अँध्यारो
कुनामा जम्मा हुन्थे । कसैको काँध सुन्निएको हुन्थ्यो, कसैको ढाड सीधा हुन सक्दैनथ्यो, कसैको हातमा फोका फुटेका हुन्थे ।
दिनभरि गाली सुनेको, अपमान निलेको र भोक दबाएको शरीरलाई
केही समय बिर्साउने एउटै चीज थियो— रक्सी
।
ती अथक, एकोहोरो
एकतर्फी घोडाजस्तो भई गधाको श्रम गर्दा शरीरलाई आराम दिने रक्सी मात्रै हुन्थ्यो ।
पहिलो गिलास घाँटीबाट तल झर्दा उनीहरू केही
बेरका लागि मानिसजस्तो महसुस गर्थे। शरीरको दुखाइ अलिक कम भएको भ्रम हुन्थ्यो । मनको
भारीपन थोरै हलुका भएको लाग्थ्यो । त्यसपछि कोठाभित्र गाउँका कुरा सुरु हुन्थे ।
“मेरो
छोरो यसपालि स्कूल गयो रे…”
“आमाको
घुँडा झन् बिग्रेछ…”
“घरको
छानो हाल्न अझै पैसा पुगेन…”
त्यहीबेलामा मात्र उनीहरूका अन्तरकुन्तरका भित्रि
कुरा प्रकट हुन्थ्यो । कसैले हाँस्दै कुरा गर्थ्यो । कसैले रक्सीले आँखा रसाएपछि
टाउको झुकाउँथ्यो । धेरैका मनमा एउटै पीडा हुन्थ्यो— आफू बाँचिरहेको जीवन कसैलाई खुलेर भन्न नसक्नु ।
हरि कहिलेकाहीँ चुपचाप बसिरहन्थ्यो । अरूले
रक्सीको गिलास ठोक्काउँदा ऊ मोबाइलमा छोराको फोटो हेरिरहन्थ्यो । अनि अचानक एकै
सासमा रक्सी सक्थ्यो ।
“किन
यति धेरै खान्छस् ?” दिलबहादुरले एक रात सोध्यो ।
हरि तीतो हाँस्यो ।
“नखाए
निद्रा आउँदैन । बोल्न पनि सकिन्न ।”
त्यो उत्तर केवल उसको थिएन । त्यहाँ बसेका धेरै
नेपाली श्रमिकहरूको थियो ।
काला पहाडमा त रक्सी अझ खतरनाक साथी बनेको थियो
। कठ्याङ्ग्रिने चिसोमा शरीर तताउन सस्तो मदिरा पिइन्थ्यो । काममा घाइते भएका हात, दुखेको छाती, फुटेको ढाड— सबैलाई केही घण्टा बिर्साउने औषधि
त्यही थियो ।
तर रक्सीले पीडा निको पार्दैनथ्यो । केवल केही
समय ढाक्थ्यो ।
भोलिपल्ट बिहान फेरि उही हथौडा उठाउनुपर्थ्यो ।
फेरि उही गेटमा उभिनुपर्थ्यो । फेरि उही भारी काँधमा राख्नुपर्थ्यो ।
कतिपय श्रमिकहरू बिस्तारै त्यसैमा डुब्न थाले ।
महिनाको कमाइ भट्टीमा सकिन्थ्यो । घर पैसा कम पुग्न थाल्यो । फोनमा झगडा बढ्न
थाल्यो ।
“तिमी
पैसा किन पठाउँदैनौ ?” श्रीमतीहरू सोध्थे ।
उनीहरू चुप लाग्थे ।
कसरी भनून्— उनीहरू
रक्सीको सौखका लागि होइन,
केही घण्टा आफ्नो दुःखलाई सुन्न
नसक्नका लागि पिइरहेका थिए ।
एक रात दिल्लीको कोठामा एक जना वृद्ध श्रमिक
धेरै पिएर रोइरहेका थिए ।
“हामी
मान्छे होइनौँ रे…” उनी बर्बराए, “काम गर्ने जनावर मात्रै…”
कोठाभित्र कोही बोलेन ।
किनकि त्यहाँ बसेका सबैलाई त्यो वाक्य साँचो
लागिरहेको थियो ।
बाहिर रेलको सिटी बजिरहेको थियो । शहर
जागिरहेको थियो । देशको अर्थतन्त्र चलिरहेको थियो ।
र भित्र, केही
नेपाली श्रमिकहरू सस्तो रक्सीमा आफ्नो थकान, अपमान
र अधुरो जीवन डुबाउने प्रयास गरिरहेका थिए ।
कामपछि शरीर दुख्थ्यो । मन झन् दुख्थ्यो ।
९ “रक्सी,
रेलको
सिटी र मौन मानिसहरू”
दिल्ली स्टेशनको पछाडिपट्टि एउटा साँघुरो गल्ली
थियो । दिनभरि हजारौँ यात्रु हिँड्ने, कराउने, दौडिने त्यो विशाल शहरको त्यो कुनो भने
फरक संसारजस्तो लाग्थ्यो। फोहोर पानी
बगिरहेको नाली, माथि झुन्डिएका तार, सस्तो होटल, चिया पसल र भित्तामा टाँसिएका
च्यातिएका पोस्टरहरू ।
त्यही गल्लीको अन्त्यमा एउटा सानो भट्टी थियो ।
साँझ परेपछि त्यहाँ नेपाली श्रमिकहरू जम्मा
हुन्थे ।
दिनभरि भारी बोकेका काँध, ढुंगा फुटाएका हात, रातभर जाग्राम बसेका आँखा र थकानले
बांगिएका शरीरहरू त्यहाँ केही बेर बस्न आउँथे । उनीहरू हाँस्न होइन, आफूभित्रको पीडा केही समय सुन्न नपरोस्
भनेर आउँथे ।
रामबहादुर पनि त्यहीँ बसिरहेको थियो ।
उसको अगाडि सस्तो रक्सीको गिलास थियो । हातका
नसाहरू सुन्निएका थिए । काँध अझै दुखिरहेको थियो । बिहानदेखि साँझसम्म स्टेशनमा
बोकिएका सयौँ किलो सामानले उसको शरीरलाई मान्छेको भन्दा बढी मेसिन बनाइदिएको थियो ।
उसले गिलास उठायो ।
पहिलो घुट्कोसँगै घाँटी पोल्यो । त्यसपछि शरीर
केही हलुका भएको भ्रम पैदा भयो ।
त्यो भ्रम नै उनीहरूको रातको एकमात्र आराम थियो
।
ती अथक, एकोहोरो
एकतर्फी घोडाजस्तो भई गधाको श्रम गर्दा शरीरलाई आराम दिने रक्सी मात्रै हुन्थ्यो ।
---
हरि मुम्बईबाट केही दिनका लागि दिल्ली आएको
थियो । उसले गिलास टेबलमा राख्दै बिस्तारै भन्यो—
“हामी
जिउँदा पनि थाकेका मान्छे,
मर्दा पनि सस्तो खबर ।”
कसैले केही बोलेन ।
भट्टीभित्र पुरानो रेडियो बजिरहेको थियो ।
समाचारमा फेरि नेताको भाषण आइरहेको थियो ।
“देश
विकासको नयाँ युगमा प्रवेश गर्दैछ…”
“युवालाई
स्वदेशमै रोजगारी…”
“श्रमिकको
सम्मान…”
रामबहादुरले तीतो हाँसो हाँस्यो ।
“हाम्रो
गाउँमा त रोजगारी आएछ कि क्या हो ?”
सबै हाँसे ।
त्यो हाँसो खुसीको थिएन । त्यो लामो थकानबाट
जन्मिएको व्यंग्य थियो ।
सानुले गिलास समाउँदै भन्यो—
“नेताहरूलाई
हाम्रो दुःख देखिँदैन । बैंकमा आउने रेमिट्यान्सको नम्बर मात्रै देखिन्छ ।”
भट्टी फेरि चुप भयो ।
किनकि त्यो वाक्य त्यहाँ बसेका सबैको जीवनको
सार थियो ।
---
त्यहाँ एउटा वृद्ध नेपाली पनि बस्थे — नाम थियो नन्दे दाइ ।
बीस वर्ष भारतमा बिताएका । आधा दाँत झरेका ।
खोकी कहिल्यै नरोकिने ।
उनी कहिलेकाहीँ धेरै पिएपछि पुराना कुरा गर्थे ।
“पहिला
पनि नेता उस्तै थिए,” उनले भनिरहे, “त्यतिबेला राजाले देश बनाउने कुरा
गर्थे । पछि प्रजातन्त्र आयो । पछि जनयुद्ध । पछि गणतन्त्र । झण्डा फेरिए… भाषण फेरिए… तर हाम्रो झोला र भारी फेरिएन ।”
सबै चुपचाप सुनिरहेका थिए ।
“हामीलाई
कहिल्यै नागरिक मानेनन्,”
उनले रक्सीको गिलास हेर्दै भने, “हामी त देशको पेट भर्ने पसिना मात्रै
हौँ ।”
त्यो वाक्यपछि केही बेर कसैले गिलास पनि चलाएन ।
बाहिर रेलको सिटी बज्यो ।
पुइँपुइँ गर्दै फेरि अर्को रेल आयो । फेरि
हजारौँ मानिस झरे। फेरि कुल्लीहरू दौडिए ।
जीवन त्यहाँ कसैको दुःखले रोकिँदैनथ्यो ।
---
त्यसै रात एउटा युवक भट्टीमा आयो । अनुहारमा डर
थियो । काँधमा पुरानो झोला ।
“नेपालबाट
आएको ?” रामबहादुरले सोध्यो ।
उसले टाउको हल्लायो ।
“काम
पाइन्छ दाइ ?”
रामबहादुर केही क्षण उसलाई हेर्दै बसिरह्यो ।
त्यो अनुहारमा उसले वर्षौँअघिको आफ्नै छाया देख्यो ।
भोकले धकेलेको आशा ।
उसले सोध्यो—
“घरमा
को–को छन् ?”
“आमा
र दुई बहिनी ।”
“बाबु
?”
युवक चुप भयो ।
“भारतमा
हराउनुभयो ।”
भट्टी फेरि मौन भयो ।
यो कथा त्यहाँ नयाँ थिएन ।
त्यहाँ बसेका धेरै मानिसहरू कसैको हराएको बाबु, कसैको हराएको छोरो, कसैको हराएको जीवन थिए ।
---
रक्सी बिस्तारै सकिँदै गयो ।
रात गहिरिँदै गयो ।
हरिले मोबाइलमा छोराको फोटो हेर्यो । सानुले
टेबलमा टाउको झुकायो । रामबहादुर खोकी दबाइरहेको थियो ।
उनीहरू बिग्रिएका मानिस थिएनन् ।
उनीहरू केवल धेरै थाकेका मानिस थिए ।
यति धेरै थाकेका कि केही घण्टा निदाउन, केही बेर शरीरको पीडा बिर्सिन, केही समय मनको खालीपन सुन्न नपरोस्
भनेर सस्तो रक्सीको सहारा लिन बाध्य भएका मानिस ।
तर समाजले उनीहरूलाई “रक्स्याहा” भन्थ्यो ।
कसैले सोध्दैनथ्यो— किन ?
कसैले हेर्दैनथ्यो— कुन अवस्थाले उनीहरूलाई त्यहाँ पुर्यायो
?
सत्तामा बस्नेहरूका लागि उनीहरू “विदेशमा रहेका नेपाली श्रमिक” थिए । भाषणमा प्रयोग हुने शब्द ।
तर वास्तविकतामा उनीहरू रेल स्टेशनको धुलो, भट्टीको धुवाँ र अँध्यारो कोठामा
हराइरहेका जीवित मानिस थिए ।
---
रातको अन्तिम गाडीको सिटी बज्यो ।
भट्टी बन्द हुन थाल्यो ।
सबैजना बिस्तारै उठे । कसैले काँध तन्कायो ।
कसैले खोकी रोक्यो । कसैले आँखाबाट आँसु पुछ्यो ।
किनकि बिहान फेरि काममा जानुपर्थ्यो ।
फेरि भारी बोक्नुपर्थ्यो ।
फेरि गाली खानुपर्थ्यो ।
फेरि “सब
ठीक छ” भनेर घरमा फोन गर्नुपर्थ्यो ।
रामबहादुर बाहिर निस्कियो । स्टेशनको
उज्यालोतिर हेर्दै उसले मनमनै सोच्यो—
“हामीलाई
देशले सम्झिने भनेको बैंकमा पैसा पठाउँदा मात्रै रहेछ ।”
रेल फेरि गुड्न थाल्यो ।
र त्यो रेलको आवाजभित्र हजारौँ नेपाली
श्रमिकहरूको मौन जीवन फेरि हराउँदै गयो ।
त्यसैले धेरै श्रमिकहरू बेलुका सस्तो मदिरा
पिउँथे ।
“अलिकति
खाएपछि निद्रा आउँछ,” दिलबहादुर भन्थ्यो ।
पहिले हप्तामा एक दिन । पछि हरेक रात ।
रक्सीले केही घण्टा दुःख बिर्साउँथ्यो । तर
अर्को बिहान फेरि उही जीवन फर्किन्थ्यो ।
कतिपय त जुवामा पनि फस्न थाले । “एक रातमै धेरै कमाइन्छ” भन्ने लोभ ।
एक जना नेपाली श्रमिकले महिनाभरि कमाएको पैसा
एकै रात हार्यो । त्यसपछि ऊ दुई दिनसम्म चुपचाप बसिरह्यो ।
“घरमा
के भन्छौ ?” हरिले सोध्यो ।
ऊ हाँस्यो । त्यो हाँसो डरलाग्दो थियो ।
“झूट
बोल्छु ।”
---
सानु पनि बदलिँदै थियो ।
काला पहाडको कठोर जीवनले उसको उमेर चाँडै
बढाइरहेको थियो ।
पहिले ऊ धेरै बोल्थ्यो । अहिले चुपचाप बस्न
थालेको थियो ।
राति सबै सुतिसकेपछि ऊ बाहिर निस्केर पहाडतिर
हेर्थ्यो ।
उसलाई कहिलेकाहीँ अनौठो डर लाग्थ्यो । बिनाकारण
छाती भारी हुन्थ्यो । मन बेचैन हुन्थ्यो ।
तर उसले कसैलाई केही भनेन ।
किनकि त्यहाँ “मनको रोग” भन्ने कुरा गरिबका लागि विलासिता
मानिन्थ्यो ।
---
घरबाट फोन भने नियमित आइरहन्थ्यो ।
“पैसा
कहिले पठाउने ?”
“ऋण
तिर्नुपर्यो ।”
“छोराको
फी बुझाउनुपर्यो ।”
“आमा
बिरामी हुनुहुन्छ ।”
हरेक फोनसँग अपेक्षा जोडिएको हुन्थ्यो ।
रामबहादुर कहिलेकाहीँ मोबाइल हेरेर डराउँथ्यो ।
उसलाई थाहा थियो — घरले उसको दुःखभन्दा उसको कमाइ
खोजिरहेको छ । त्यो उनीहरूको दोष पनि थिएन । गरिबीले सम्बन्धलाई पनि हिसाबकिताबमा
बदलिदिन्छ ।
एक रात गीताले फोनमा भनिन्—
“सोनुको
स्कूलले फेरि दबाब दिएको छ ।”
रामबहादुरले खोकी दबाउँदै उत्तर दियो—
“यो
महिना पठाउँछु ।”
“तिमी
ठीक छौ ?”
उसले तुरुन्त भन्यो—
“एकदम
।”
त्यसपछि फोन काटेर धेरै बेर खोक्दै बसिरह्यो ।
उसलाई अचानक रोइदिन मन लाग्यो ।
तर कोठाभित्र अरू मान्छे थिए । गरिब पुरुषहरू
अरूको अगाडि रुँदैनन् ।
---
केही दिनपछि स्टेशनमा काम गर्दै गर्दा एउटा
कुल्ली अचानक लड्यो ।
उसको सास फुलिरहेको थियो । मानिसहरू केही बेर
वरिपरि भेला भए ।
“अस्पताल
लैजाऊ !”
तर अस्पताल टाढा थियो । एम्बुलेन्स बोलाउन पैसा
चाहिन्थ्यो ।
अन्ततः दुई जना साथीले रिक्सा गरेर सरकारी
अस्पताल लगे ।
बेलुका खबर आयो—
“बेड
पाएन रे ।”
सबै चुप भए ।
त्यो खबर कसैलाई नयाँ लागेन ।
---
त्यही रात शिवलालले पुरानो अखबार देखाए ।
शीर्षक थियो—
“सामाजिक
सुरक्षा कार्यक्रमका लागि अर्बौँ बजेट विनियोजन ।”
तल नेताहरू मुस्कुराइरहेका थिए ।
शिवलालले तीतो स्वरमा भन्यो—
“कागजमा
हामी धेरै सुरक्षित छौँ ।”
रामबहादुर हाँस्यो । धेरै दिनपछि ।
तर त्यो हाँसोभित्र गहिरो थकान थियो ।
उनीहरूलाई थाहा थियो — बजेट भाषणमा उनीहरूको नाम आउँछ, तर अस्पतालको लाइनमा उनीहरू अदृश्य
हुन्छन् ।
---
रात गहिरिँदै गयो ।
कोठाभित्र कसैले खोकीरहेको थियो । कसैले रक्सी
खाएर बर्बराइरहेको थियो । कसैले मोबाइलमा घरको फोटो हेरिरहेको थियो ।
बाहिर शहर अझै जागिरहेको थियो ।
रामबहादुर भित्तामा टेकेर बस्यो । उसको ढाड
पोलिरहेको थियो ।
उसले मनमनै सोच्यो—
“शरीर
त बिस्तारै सकिँदैछ… तर मन पहिले सकिन्छ जस्तो छ ।”
तर भोलि बिहान फेरि उठ्नैपर्थ्यो ।
किनकि गरिब श्रमिकहरूको जीवनमा पीडा पनि छुट्टी
नलिने कामजस्तै हुन्छ ।
१० : हराएका मान्छेहरू
बेलहवाको गाउँमा अब भारत गएका मानिसहरूको सूची
लामो भइसकेको थियो ।
कोही दिल्ली । कोही पञ्जाब । कोही गुजरात ।
कोही “काला पहाड” ।
तर गाउँलेहरू बीच अर्को सूची पनि बिस्तारै
बढिरहेको थियो — फर्केर नआएकाहरूको ।
कसैको फोन बन्द भयो । कसैको ठेगाना हरायो ।
कसैको “पछि आउँछु” भन्ने वाक्य नै अन्तिम खबर बन्यो ।
गाउँमा यस्ता मानिसहरूको चर्चा चिया पसलमा
हुन्थ्यो । केही दिन चिन्ता हुन्थ्यो । पछि जीवन फेरि आफ्नो दुःखतिर फर्किन्थ्यो ।
गरिबको हराइ पनि धेरै दिन समाचार बन्दैन ।
---
रामबहादुरसँगै दिल्ली आएको एक युवक थियो — जितेन्द्र ।
ऊ धेरै बलियो थियो । दिनमा सबैभन्दा बढी भारी
बोक्थ्यो । हाँसिरहन्थ्यो ।
एक दिन स्टेशनको भर्याङबाट भारी बोकेर झर्दै
गर्दा उसको खुट्टा चिप्लियो ।
ठूलो बाकससँगै ऊ तल खस्यो ।
धडाम !
मानिसहरू एकछिन रोकिए । फेरि भीड अघि बढ्यो ।
उसलाई अस्पताल लगियो । ढाडमा गम्भीर चोट लागेको
थियो ।
दुई महिनापछि ऊ गाउँ फर्कियो — ह्वीलचेयरमा ।
बेलहवामा उसको घरअगाडि मानिसहरू भेला भएका थिए ।
उसकी आमा छोरालाई देखेर चिच्याउँदै रोइन् ।
जितेन्द्रको आँखामा आँसु थिएन ।
सायद आँसु पनि थाकिसकेका थिए ।
अब ऊ खेत जोत्न सक्दैनथ्यो । भारी बोक्न
सक्दैनथ्यो । शरीर बाँचेको थियो, तर
जीवनको आधार हराइसकेको थियो ।
गाउँलेहरू केही दिन सहानुभूति देखाउँथे ।
त्यसपछि सबै आफ्नो संघर्षमा फर्किन्थे ।
गरिबको अपाङ्गता पनि अन्ततः उसकै व्यक्तिगत
समस्या बन्छ ।
---
कर्णालीमा मैतीदेवी अझै कहिलेकाहीँ बाटोतिर
हेर्थिन् ।
सानुको बाबु हराएको पाँच वर्ष भइसकेको थियो ।
तर उनको मनले पूर्ण रूपमा हार मानेको थिएन ।
एक दिन गाउँमा कसैले खबर ल्यायो—
“भारतमा
हराएका नेपाली खोज्ने एउटा संस्था आएको छ रे ।”
मैतीदेवी तल बजारसम्म गइन् । पुरानो फोटो बोकेर
।
त्यहाँ धेरै महिला थिए । कसैको छोरा हराएको, कसैको श्रीमान् ।
सबैका हातमा पुराना फोटो ।
एउटी महिलाले रोँदै भनिरहेकी थिई—
“जिउँदो
छ कि मरेको छ, त्यत्ति मात्र थाहा पाऊँ ।”
त्यो वाक्य सुनेर मैतीदेवीको मुटु काँप्यो ।
कति ठूलो पीडा होला — मृत्यु स्वीकार गर्न पनि प्रमाण नपाउनु
।
संस्थाका मानिसहरूले विवरण टिपे । नम्बर लिए ।
“खोज्ने
प्रयास गर्छौँ,” भने ।
तर उनीहरूको आवाजमै आशा कम थियो ।
भारतका शहरहरूमा हराएका गरीब नेपालीहरू
धुलोजस्तै हुन्छन् — लाखौँ भीडमा मिसिएपछि फेरि छुट्याउन
नसकिने ।
---
मुम्बईमा हरिको साथी दिलबहादुर बिरामी पर्न
थालेको थियो ।
सुरुमा सामान्य ज्वरो । पछि खोकी । त्यसपछि सास
फेर्न गाह्रो ।
“अस्पताल
जाऊ,” हरिले भन्यो ।
“पैसा
छैन ।”
ऊ काम गरिरह्यो ।
एक रात गेटमै ऊ अचानक ढल्यो ।
अस्पताल पुर्याउँदासम्म धेरै ढिलो भइसकेको
थियो ।
डाक्टरले छोटो वाक्य भने—
“फोक्सो
धेरै बिग्रिसकेको थियो ।”
हरि धेरै बेर अस्पतालबाहिर बसिरह्यो ।
अब अर्को समस्या सुरु भयो—
लास घर कसरी पठाउने ?
दिलबहादुरको घर सिन्धुपाल्चोकमा थियो । बूढी
आमा र श्रीमती ।
कागजपत्र थिएन । बीमा थिएन । कम्पनीले
जिम्मेवारी लिन मानेन ।
“हाम्रो
कर्मचारी स्थायी होइन,” मालिकले भन्यो ।
त्यो वाक्य सुनेर हरिको मुटु पोल्यो ।
मानिस जिउँदो हुँदा कामदार । मरेपछि “जिम्मेवारी होइन ।”
---
नेपाली श्रमिकहरूले चन्दा उठाए ।
कसैले पाँच सय । कसैले हजार । कसैले आफ्नो एक
हप्ताको खाना खर्च बचायो ।
दिलबहादुरको शव एम्बुलेन्स र कागजी
प्रक्रियाबाट नेपाल पठाउन तीन दिन लाग्यो ।
जब गाउँमा गाडी पुग्यो, सिंगो बस्ती जम्मा भयो ।
आमाले छोरोको शव देख्नेबित्तिकै चिच्याउँदै
छाती पिटिन् ।
श्रीमती बेहोस भइन् ।
सानो छोरो डराएर कुनामा उभिएको थियो । उसलाई
मृत्युको अर्थ थाहा थिएन ।
हरि पनि गाउँसम्म आएको थियो ।
उसले चुपचाप त्यो दृश्य हेरिरह्यो ।
त्यस क्षण उसलाई लाग्यो — श्रमिकहरू विदेश पैसा कमाउन जाँदैनन्, बिस्तारै आफ्नो जीवन टुक्राटुक्रा गर्न
जान्छन् ।
---
त्यही हप्ता काठमाडौंमा संसद चलिरहेको थियो ।
एक सांसद उभिएर बोलिरहेका थिए—
“प्रवासी
नेपालीहरूको सुरक्षा सरकारको प्राथमिकता हो…”
अर्कोले टेबल ठोक्दै समर्थन गर्यो ।
“विदेशमा
नेपाली श्रमिकले ठूलो योगदान गरेका छन्…”
टेलिभिजनमा ताली बजिरहेको थियो ।
तर केही दिनपछि अर्को समाचार आयो— बजेट अभावका कारण श्रमिक सहायता
कार्यक्रम रोकियो ।
हरिले मोबाइलमा त्यो समाचार पढ्यो ।
उसले लामो सास फेर्यो ।
उनीहरूका लागि “प्रवासी नेपाली” भन्ने
शब्द भाषणमा राम्रो सुनिन्थ्यो । तर वास्तविकतामा एउटा मृत शरीर घर पुर्याउन समेत
प्रणाली तयार थिएन ।
---
दिल्लीको स्टेशनमा फेरि अर्को नयाँ नेपाली युवक
आएको थियो ।
काँधमा झोला । आँखामा डर र आशा मिसिएको ।
रामबहादुरले उसलाई हेर्दै सोध्यो—
“पहिलो
पटक ?”
युवकले टाउको हल्लायो ।
“काम
पाइन्छ दाइ ?”
रामबहादुर केही क्षण चुप रह्यो ।
उसले वरिपरि हेर्यो — भीड, धुवाँ, कराउने आवाज, भारी बोकेका थाकेका शरीर ।
उसलाई अचानक आफूहरू सबै एउटै लामो हराइको
यात्रामा रहेको महसुस भयो ।
कोही शरीरले हराउँछन् । कोही मनले । कोही नामै
मेटिने गरी ।
उसले अन्ततः बिस्तारै भन्यो—
“काम
त पाइन्छ भाइ… तर यहाँ मान्छे बिस्तारै हराउँदै जान्छ
।”
११ : घर फर्किएका घाउ
बेलहवाको गाउँ उस्तै थियो ।
उही धुलाम्मे बाटो । उही बाँझो खेत । उही चिया
पसलमा उही राजनीतिक बहस । फरक यति मात्र थियो— गाउँका
धेरै युवाको अनुहार अब त्यहाँ थिएन ।
कोही भारतमा थिए । कोही खाडीमा । कोही
हराइसकेका थिए ।
र केही, शरीर
र मनका घाउ बोकेर फर्किएका थिए ।
---
सात वर्षपछि रामबहादुर गाउँ फर्कियो ।
तर ऊ गएको बेलाको रामबहादुर रहेन ।
उसको ढाड सधैँ बांगोझैँ देखिन्थ्यो । धेरै बेर
उभिँदा खुट्टा काम्थे । खोकी पुरानै साथी बनेको थियो । भारी बोक्दा बिग्रिएको शरीर
अब खेतको काम पनि राम्ररी गर्न सक्दैनथ्यो ।
बसबाट झर्दा गाउँका केही मानिसले चिने ।
“ए
रामबहादुर आयो !”
कसैले हाँस्दै सोध्यो—
“कति
कमाएर आयौ त ?”
उसले हल्का मुस्कान दिन खोज्यो ।
“जिन्दगी
।”
सबै हाँसे ।
तर त्यो उत्तर मजाक थिएन ।
---
घरअगाडि गीता उभिएकी थिइन् ।
वर्षहरूले उनको अनुहार पनि थकित बनाएको थियो ।
आँखामा खुसी थियो, तर त्यसभित्र गहिरो गुनासो पनि लुकेको ।
पूजा अब किशोरी भइसकेकी थिई । सोनु बाबुभन्दा
अग्लो हुन थालेको थियो ।
रामबहादुरले छोरालाई हेर्दै सोध्यो—
“चिनिस्
?”
सोनु केही क्षण चुप रह्यो । त्यसपछि बिस्तारै
मुस्कुरायो ।
त्यो मुस्कानमा आफ्नोपनभन्दा बढी अपरिचय थियो ।
रामबहादुरको मुटु चसक्क भयो ।
उसले अचानक महसुस गर्यो— ऊ परिवारका लागि पैसा कमाउन गएको थियो, तर त्यो यात्राले उसलाई आफ्नै घरमा
पाहुना बनाइदिएको रहेछ ।
---
राति खाना खाँदा लामो मौनता छायो ।
पहिला जस्तो कुरा गर्न सजिलो रहेन ।
बच्चाहरू आफ्नै दुनियाँमा थिए । गीता धेरै कुरा
मनभित्रै राख्न सिकिसकेकी थिइन् ।
केही बेरपछि गीता बिस्तारै बोलिन्—
“तिमी
हुँदा पनि नहुँदाजस्तै भयो ।”
रामबहादुर चुप रह्यो ।
उसले विरोध गर्न सकेन ।
सात वर्षमा ऊ पैसा पठाउने आवाज मात्रै बनेको
थियो । घरमा उसको शरीर थिएन, उपस्थिति
थिएन ।
गीताले एक्लै बिरामी सहेकी थिइन् । एक्लै खेत
सम्हालेकी थिइन् । बच्चाको स्कूल, ऋण, गाउँको कुरा— सबै ।
त्यो रात रामबहादुर धेरै बेर सुत्न सकेन ।
बाहिर गाउँ शान्त थियो । तर उसको मनभित्र अजीब
खालीपन थियो ।
---
मुम्बईबाट हरि पनि फर्किएको थियो ।
तर ऊ पहिलाको हँसिलो हरि रहेन ।
रातभर जाग्राम बसेको वर्षहरूले उसको निद्रा
खोसेका थिए । अझै पनि राति सानो आवाजमा झसङ्ग ब्युँझिन्थ्यो ।
उसको छोरो, जो
दुई वर्षको हुँदा ऊ गएको थियो, अब
स्कूल जान्थ्यो ।
एक दिन हरिले छोरोलाई काखमा राख्न खोज्यो ।
छोराले असहज मान्दै आमातिर हे¥यो ।
त्यो क्षण हरिलाई कुनै गालीभन्दा गहिरो चोट
लाग्यो ।
उसले मनमनै सोच्यो—
“मैले
कसका लागि यति दुःख गरेँ ?”
---
गाउँलेहरूको व्यवहार पनि अजीब थियो ।
भारतबाट फर्किएको मान्छेलाई सबैले धनी कल्पना
गर्थे ।
“मोबाइल
ल्याएनस् ?”
“सुन
छैन ?”
“घर
त ठूलो बनायौ होला नि ?”
जब उनीहरूले वास्तविकता देख्थे— थाकेको शरीर, पुरानो झोला, खाली हात— तब उनीहरूको रुचि हराउँथ्यो ।
कोही बुझ्न चाहँदैनथे कि भारतको श्रमले
मानिसलाई धनीभन्दा बढी थकित बनाउँछ ।
---
सानु पनि काला पहाडबाट फर्किएको थियो ।
तर गाउँलेहरूले उसलाई देखेर चकित हुन्थे ।
सत्र वर्षको किशोर गएको केटा अब तीस वर्षे
जस्तो देखिन्थ्यो ।
अनुहारमा गहिरा रेखा । हात फुटेका । आँखामा
स्थायी थकान ।
मैतीदेवी उसलाई घर फर्किएको देखेर रोएकी थिइन् ।
तर खुसीभित्र डर मिसिएको थियो ।
सानु राति धेरै बोल्दैनथ्यो । कहिलेकाहीँ अचानक
टाढा हेरिरहन्थ्यो ।
एक दिन आमाले सोधिन्—
“के
सोचिराख्छस् ?”
सानुले धेरै बेरपछि उत्तर दियो—
“त्यहाँ
मरेका मान्छेहरू सम्झिन्छु ।”
मैतीदेवी चुप भइन् ।
काला पहाडबाट शरीर मात्रै फर्किएको थियो । मनको
केही भाग अझै त्यहीँ अड्किएको थियो ।
---
गाउँका खेतहरू झन् बाँझा देखिन थालेका थिए ।
रामबहादुर भारतबाट फर्किएपछि केही समय साँच्चै गाउँमै केही
गर्ने सोचमा थियो । शरीर थाकेको थियो, मन झन् धेरै थाकेको ।
उसले गीतासँग एक साँझ भन्यो—
“अब फेरि भारत जान मन छैन । आफ्नै खेतमा
केही गरौँ ।”
गीताले केही बोलिनन् ।
केवल उसको अनुहार हेरिन् । उनलाई थाहा थियो—
यो
इच्छा हो, तर गाउँको यथार्थ
इच्छा अनुसार चल्दैन ।
त्यो वर्ष
रामबहादुरले ऋण गरेर मल किन्यो । बिउ ल्यायो । बिहान अँध्यारैदेखि खेतमा पस्न
थाल्यो । सानु र हरिले पनि गाउँमै तरकारी खेती सुरु गरेका थिए । केही समय गाउँमा
आशाको हल्का हरियाली पलाएको जस्तो देखियो ।
बर्खापछि खेत साँच्चै
राम्रो भयो ।
धान झुल्न थाले ।
तरकारी हरियो भयो । रामबहादुर धेरै दिनपछि खेत हेरेर मुस्कुराएको थियो ।
उसले मनमनै हिसाब
गरिरहेको थियो—
“यसपालि ऋण अलि तिरिन्छ… सोनुको खर्च पुग्छ…”
तर वास्तविक पीडा
खेतमा होइन, बजारमा पर्खिरहेको
थियो ।
उनीहरू तरकारी बोकेर
बजार पुगे । त्यहाँ व्यापारीहरूले मूल्य सुनाए ।
“यति मात्रै ?”
हरि झर्कियो ।
व्यापारी काँध
उचाल्दै भन्यो—
“माथिबाटै रेट कम छ ।”
रामबहादुर चुप रह्यो ।
उसले हिसाब गर्यो— मल, बिउ,
सिँचाइ, श्रम, ढुवानी… सबै जोड्दा त लागत पनि उठ्दैन ।
तर शहरमा त्यही
तरकारी तीन–चार गुणा महँगोमा
बेचिँदै थियो ।
सानुले तीतो स्वरमा
भन्यो—
“हामीले उब्जाउने… अरूले खाने ।”
त्यही बेला एउटा
व्यापारी मोबाइलमा कुरा गर्दै हाँसिरहेको थियो—
“गाउँलेलाई थोरै दिए पुग्छ ।”
रामबहादुरको
मुटुभित्र केही चर्कियो ।
उसले त्यतिबेला
बुझ्यो— खेतमा पसिना बगाउने
किसानले आफ्नो उत्पादनको मूल्य पाउँदैन रहेछ । बीचमा यति धेरै तहका बिचौलिया
रहेछन् कि किसानको हातमा पुग्दासम्म मूल्यको हड्डी मात्रै बाँकी रहँदो रहेछ ।
३ महिना भएपनि कमाउने
कृषिमा पनि किसानले मलको मूल्य नपाएको उनीहरूलाई थाहा हुन्न । सब बिचौलियाका धेरै
तहले खाँदा रहेछन् ।
गाउँ फर्किँदा हरि
रिसले करायो—
“नेताहरू भाषणमा कृषि क्रान्ति भन्छन्… किसानले आफ्नै उत्पादन बेचेर नुन किन्न
नसक्ने हालत छ ।”
सानु चुपचाप बाटो
हेरिरहेको थियो ।
त्यो मौनताभित्र एउटा
ठूलो हार लुकेको थियो ।
उनीहरूले फेरि महसुस
गरे— गाउँमा बस्न खोज्दा
पनि प्रणालीले उनीहरूलाई फेरि सीमा पार धकेलिरहेको छ ।
युवाहरू बाहिर । बूढाबूढी र महिलाले मात्रै
खेती धानिरहेका ।
कतै झार उम्रिएको । कतै सिँचाइको कुलो भत्किएको
।
तर चुनाव नजिकिँदै थियो ।
एक दिन गाउँमा फेरि गाडी आयो । माइक बज्यो ।
“कृषि
क्रान्ति ल्याउँछौँ !”
“युवालाई
गाउँमै रोजगार !”
“समृद्ध
गाउँ, समृद्ध नेपाल !”
रामबहादुर, हरि
र सानु चिया पसलअगाडि उभिएर सुनिरहेका थिए ।
उही पुराना अनुहार । उही पुराना भाषण ।
नेताले भीडतिर हेर्दै भन्यो—
“अब
कसैले विदेश जानु पर्दैन !”
त्यही बेला परबाट एउटा बस आयो । छतमाथि झोला
बोकेका केही युवकहरू थिए ।
भारत जाने ।
हरिले बिस्तारै हाँस्यो ।
“हामीले
पनि यही सुनेर जीवन बितायौँ ।”
रामबहादुरले बाँझो खेततिर हेर्यो ।
हावाले सुख्खा माटो उडाइरहेको थियो ।
उसे अचानक लाग्यो— गाउँमा फर्किएका उनीहरू वास्तवमा पूरा
फर्किएका थिएनन् । उनीहरूको शरीर मात्रै गाउँ आएको थियो । जीवनका धेरै वर्ष, धेरै सपना, धेरै सम्बन्ध भारतका स्टेशन, गेट र पहाडहरूमा छुटिसकेका थिए ।
नेताको भाषण चलिरह्यो ।
गाउँलेहरूले ताली बजाए ।
र केही दिनपछि ती नेता फेरि पाँच वर्षका लागि
हराउने थिए ।
१२ : पसिनाको ऋण, मौनताको विरासत
बेलहवाको बसपार्कमा फेरि उही दृश्य दोहोरिँदै
थियो ।
बिहानको धमिलो उज्यालो । काँधमा झोला बोकेका
युवकहरू । आमाको आँसु । श्रीमतीको चुप अनुहार । साना बच्चाहरूको अलमलिएको हेराइ ।
समय फेरिएको थियो, तर दृश्य फेरिएको थिएन ।
रामबहादुर चिया पसलअगाडि उभिएर त्यो भीड
हेरिरहेको थियो । सात वर्ष भारतमा बिताएर फर्किएको उसको शरीर अझै पूरै ठिक भएको
थिएन । खोकी पुरानै थियो । ढाड दुखाइ स्थायी बनिसकेको थियो ।
तर उसले फेरि भारत जाने सोचिरहेको थियो ।
किनकि गाउँले जीवनले उसलाई आराम गर्ने अधिकार
दिएको थिएन ।
---
सोनु अब उन्नाइस वर्षको भइसकेको थियो ।
एक साँझ उसले बिस्तारै भन्यो—
“बाबु… म पनि जान्छु ।”
रामबहादुर केही क्षण चुप रह्यो ।
उसले छोरोको अनुहार हेर्यो । त्यही उमेर, जति बेला ऊ पहिलो पटक भारत गएका थियो ।
“किन
?”
सोनुले बाँझो खेततिर हेर्दै भन्यो—
“यहाँ
के छ र ?”
त्यो प्रश्नले रामबहादुरको छाती चिरियो ।
उसले धेरै कुरा भन्न खोज्यो— त्यहाँको अपमान, भोक, चोट, हराइ, रातको रोदन ।
तर शब्द आएनन् ।
किनकि उसको आफ्नै जीवनले त्यो प्रश्नको उत्तर
दिन सकेको थिएन ।
---
गाउँका केही युवाले सानो प्रयास सुरु गरेका थिए
।
हरि, सानु
र अरू दुई–तीन जनाले मिलेर एउटा कृषि सहकारी खोले
। योजना राम्रो थियो— तरकारी खेती, बाख्रापालन, सानो सीप तालिम ।
पहिलो केही महिना गाउँमा उत्साह थियो ।
“अब
गाउँमै केही गर्नुपर्छ,” हरि भन्थ्यो ।
सानु बिहानदेखि खेतमा काम गर्थ्यो । ऊ अब
पहिलाजस्तो बोल्दैनथ्यो, तर काममा डुबेर आफ्नो विगत बिर्सिन
खोज्थ्यो ।
तर समस्या चाँडै सुरु भयो ।
सिँचाइको योजना बीचमै रोकियो । अनुदानको पैसा
कागजमै अड्कियो । वडा कार्यालय धाउँदा फाइल “माथि
गएको” भनियो । बैंकले ऋण दिन मानेन ।
एक दिन हरि रिसले करायो—
“भाषणमा
कृषि क्रान्ति, व्यवहारमा धुलो मात्रै !”
केही महिनापछि सहकारी ऋणमा डुब्न थाल्यो ।
कतिपय युवक फेरि भारत जाने कुरा गर्न थाले ।
“कम्तीमा
उता काम त पाइन्छ,” कसैले भन्यो ।
सानुले टाउको झुकायो ।
उसलाई थाहा थियो— त्यो वाक्य हारको घोषणा हो ।
---
काठमाडौंमा फेरि चुनावी सभा चलिरहेको थियो ।
कसैले समाजवादको कुरा गरिरहेको थियो । कसैले
राष्ट्रवाद । कसैले मधेश अधिकार । कसैले विकास ।
मञ्च फरक थिए । झण्डा फरक थिए । भाषणका शब्द
फरक थिए ।
तर एउटा कुरा उस्तै थियो—
कसैले कुल्लीको ढाडको कुरा गरेन ।
कसैले काला पहाडमा हराएको किशोरको कुरा गरेन ।
कसैले रातभर जाग्राम बस्ने दरेबानको
आत्मसम्मानको कुरा गरेन ।
उनीहरूका लागि यी श्रमिकहरू मानिसभन्दा बढी “रेमिट्यान्स” थिए ।
देशको अर्थतन्त्र चलाउने सङ्ख्या ।
बैंकको रिपोर्टमा आउने प्रतिशत ।
विदेशबाट पैसा पठाउने अदृश्य शरीर ।
---
एक दिन गाउँमा खबर आयो— दिल्लीमा काम गर्ने नथुनी हराएका छन् ।
फोन बन्द । ठेगाना छैन ।
उनकी श्रीमती रोइरहेकी थिइन् ।
“कसलाई
खोज्न जाऊँ ?”
गाउँ चुप थियो ।
सबैलाई उत्तर थाहा थियो— गरीब श्रमिक हराएपछि खोज्ने व्यवस्था
कतै छैन ।
केही दिन दुःख हुन्छ । त्यसपछि जीवन फेरि अगाडि
बढ्छ ।
मौनताले सबै कुरा ढाकिदिन्छ ।
---
राति रामबहादुर घरबाहिर बसेको थियो ।
आकाशमा तारा थिए । पर कतै बसको आवाज आयो ।
भारत जाने रात्रीबस ।
उसले बिस्तारै सोनुतिर हेर्यो ।
छोरो झोला मिलाउँदै थियो ।
इतिहास फेरि दोहोरिन लागेको थियो ।
रामबहादुरले अचानक महसुस गर्यो— उनीहरूले गरिबीबाट भाग्न खोजेका थिए, तर गरिबीले पुस्तैपिच्छे एउटै बाटोमा
धकेलिरहेछ ।
बाबु भारत गयो ।
छोरो फेरि भारत जाँदैछ ।
सायद भोलि नाति पनि ।
---
त्यो रात हरि मन्दिरछेउको चिया पसलमा बसिरहेको
थियो ।
मोबाइलमा समाचार चलिरहेको थियो—
“देशको
रेमिट्यान्स आय ऐतिहासिक रूपमा वृद्धि…”
समाचार वाचक मुस्कुराइरहेका थिए ।
हरिले तीतो स्वरमा भन्यो—
“हाम्रो
पसिनाको रकमले देश धनी देखिन्छ… हामी
आफैँ भने सधैँ गरीब ।”
चिया पसलेले सहमति जनाउँदै टाउको हल्लायो ।
---
अर्को बिहान बसपार्क फेरि भरियो ।
सानु त्यहाँ उभिएको थियो । ऊ यसपटक जाँदै थिएन ।
तर उसको आँखामा गहिरो थकान थियो ।
उसले नयाँ केटाहरूलाई हेर्यो— कसैको काँधमा पुरानो झोला, कसैको हातमा आमाले दिएको पोको ।
ठ्याक्कै त्यही दृश्य, जसमा ऊ वर्षौँअघि थियो ।
बसको छतमाथि झोला बाँधिँदै थियो ।
कसैले आमालाई अँगालो हाल्यो । कसैले आँसु
लुकायो । कसैले “चाँडै फर्किन्छु” भन्यो ।
बसको इन्जिन गर्जियो ।
धुलो उड्न थाल्यो ।
रामबहादुरले छोराको काँध समात्दै केवल यति
भन्यो—
“आफ्नो
ख्याल राख ।”
उसले भन्न चाहेका धेरै कुरा थिए । तर अनुभवले
उसलाई सिकाइसकेको थियो— केही पीडा शब्दले बुझाउन सकिँदैन ।
बस बिस्तारै अगाडि बढ्यो ।
झ्यालभित्रबाट युवाहरूले गाउँलाई अन्तिमपटक
हेरिरहेका थिए ।
गाउँ पछाडि छुट्दै गयो ।
फेरि केही नेपाली शरीरहरू सीमा पार गर्न जाँदै
थिए— अदृश्य, असुरक्षित, अपरिहार्य ।
---
दिल्लीको स्टेशनमा फेरि कुनै नेपाली कुल्ली
भारी बोकेर दौडिरहेको थियो ।
मुम्बईको गेटमा फेरि कुनै नेपाली दरेबान रातभर
जाग्राम बसिरहेको थियो ।
काला पहाडमा फेरि कुनै किशोर हथौडा चलाइरहेको
थियो ।
र उनीहरू सबैको मनभित्र एउटै मौन प्रार्थना
जीवित थियो—
“घरमा
मेरा मान्छे भोकै नपरून् ।”
कथा त्यहीँ सकिँदैन ।
किनकि यो कुनै एक रामबहादुर, हरि वा सानुको कथा मात्र होइन ।
यो हजारौँ नेपाली श्रमिकहरूको अनन्त यात्रा हो— जहाँ पसिना देशको अर्थतन्त्र बन्छ, तर पसिना बगाउने मानिसहरू भने सधैँ
मौनताभित्र हराइरहन्छन् ।
रात निकै गहिरो भइसकेको थियो ।
बसपार्कको धुलो बिस्तारै बसिरहेको थियो ।
केहीबेरअघि भारततिर लागेका बसहरूको आवाज अब टाढा हराइसकेको थियो । तर गाउँको
हावामा अझै डिजेलको गन्ध बाँकी थियो— मानौँ
त्यो गन्ध केवल गाडीको होइन, पुस्तौँदेखि
गाउँ छोडेर जाने गरीब नेपालीहरूको नियतिको गन्ध हो ।
रामबहादुर घर फर्केन । ऊ खेतको डिलमा गएर बस्यो
।
त्यो खेत, जहाँ
उसका बाबुले पनि पसिना बगाएका थिए । त्यही खेत, जसले
उनका बाबुलाई पनि पाल्न सकेन । त्यही खेत, जसले
उसलाई भारत धकेल्यो । र अब त्यही खेतले उसको छोरालाई पनि सीमा पार पठाइरहेको थियो ।
आकाशमा चन्द्रमा फिक्का थियो । सुख्खा माटोमा
चिरा परेका थिए । हावाले बाँझो खेतका झारहरू हल्लाइरहेको थियो । टाढा एउटा पुरानो
कुलो सुकेको सर्पझैँ बांगो भएर लम्पसार परेको थियो ।
रामबहादुरले त्यो दृश्य हेरिरह्यो ।
अचानक उसलाई लाग्यो— यो गाउँ पनि बिस्तारै वृद्ध भइरहेको छ ।
यहाँ घर छन्, तर जवान आवाज छैनन् ।
यहाँ आँगन छन्, तर हाँसो छैन ।
यहाँ खेत छन्, तर जोत्न सक्ने हात छैनन् ।
जसरी शरद ऋतुमा रूखका पातहरू एक–एक गर्दै झर्छन्, त्यसरी नै गाउँका युवाहरू वर्षौँदेखि
बस चढेर झरिरहेका छन्— कोही दिल्ली, कोही मुम्बई, कोही काला पहाड, कोही हराउने अज्ञात शहरतिर ।
प्रकृतिले कम्तीमा झरेका पातलाई फेरि वसन्तमा
नयाँ पालुवा दिन्छ ।
तर यो देशले आफ्ना झरेका मानिसहरूलाई के दियो ?
रामबहादुरको मनभित्र अचानक एउटा गहिरो रिस
उठ्यो ।
उसका बाबुले पनि यही सुनेका थिए—
“देश
बन्छ ।”
उसले पनि यही सुन्यो—
“विकास
आउँछ ।”
अब सोनुले पनि यही सुन्दैछ—
“युवाको
भविष्य स्वदेशमै ।”
तर तीन पुस्तासम्म बदलिएको के थियो ?
केवल नेताको फोटो ।
केवल झण्डाको रङ ।
केवल भाषणको शैली ।
गरिबको झोला उस्तै रह्यो ।
उसको भोक उस्तै रह्यो ।
उसको सीमा पार गर्ने बाध्यता उस्तै रह्यो ।
नेतामा गरीबको कुरा नउठाउने, अनि पहिलेभन्दा
बिकास भयो भन्ने होडबाजी भइरह्यो ।
उसलाई अचानक महसुस भयो— यो केवल गरिबी होइन, यो एउटा संगठित मौन अपराध हो ।
एउटा यस्तो अपराध, जहाँ राज्यले वर्षौँदेखि आफ्ना
नागरिकहरूलाई बिस्तारै देशबाहिर धकेलिरहेको छ । खेत बाँझो हुँदैछन्, गाउँ रित्तिँदैछन्, बूढी आमाहरू बाटो हेर्दै सुक्दैछन्, बच्चाहरू बाबुको अनुहार फोटोमा चिन्दै
हुर्किरहेका छन्— अनि सत्तामा बस्नेहरू रेमिट्यान्सको
ग्राफ हेरेर ताली बजाइरहेका छन् ।
हावाले फेरि सुख्खा माटो उडायो ।
रामबहादुरले टाढा सडकतिर हे¥यो । त्यही बाटो भएर उसका बाबु गएका
थिए । त्यही बाटो भएर ऊ गयो । अब त्यही बाटो भएर उसको छोरो गयो ।
सायद भोलि उसको नाति पनि जानेछ ।
त्यस क्षण उसलाई लाग्यो— यो बाटो सडक होइन, यो त एउटा कहिल्यै नसुक्ने घाउ रहेछ ।
एउटा यस्तो घाउ, जहाँ हरेक पुस्ताले आफ्नो शरीर थप्दै जान्छ ।
एउटा यस्तो नदी, जसमा पानी होइन, गरीब
मानिसहरूको पसिना बगिरहेको छ ।
एउटा यस्तो पहाड, जसले ढुंगा होइन, मानिसहरूको
जवानी चपाइरहेको छ ।
र त्यो देश—
जुन देश उनीहरूको पसिनाले बाँचेको छ,
उही देशले उनीहरूलाई कहिल्यै आफ्नो मान्छेजस्तो
हेरेन ।
रात झन् गहिरियो ।
टाढा कतै फेरि अर्को बसको आवाज आयो ।
सायद फेरि केही युवकहरू भारततिर जाँदै थिए ।
सायद फेरि कुनै आमाले आँसु पुछ्दै थिइन् ।
सायद फेरि कुनै बाबुले “चाँडै फर्किन्छु” भनेर झूट बोल्दै थियो ।
आकाशमाथि बादल बिस्तारै जूनमाथि चढ्न थाले ।
र त्यस अन्धकारभित्र, यो देशको सबैभन्दा ठूलो विडम्बना झन्
स्पष्ट देखिन थाल्यो—
नेपालका गरीबहरू आफ्नै देशमा बाँच्न नपाएर
पुस्तौँदेखि सीमा पार गरिरहेका छन्,
तर सत्ता हरेक पटक नयाँ भाषणलाई नै परिवर्तन
ठानिरहेको छ ।
कथा त्यहीँ टुङ्गिँदैन ।
किनकि भोलि बिहान फेरि अर्को बाबु झोला बोकेर
निस्किनेछ ।
अर्को छोरो रेलको ढोकामा झुन्डिनेछ ।
अर्को नाति काला पहाडको चिसोमा हथौडा चलाउनेछ ।
र यो देश, उनीहरूको
पसिनामाथि उभिएर पनि, अझै उनीहरूलाई देखेनजस्तो गरेर भाषण
गरिरहनेछ ।
२०८३ जेठ १
बिजु सुवेदी विजय
Comments
Post a Comment