कथा :- “जेन्जी युगको सुरुवात”

 कथा :- “जेन्जी युगको सुरुवात”

सन्ध्याकालको हल्का सुनौलो प्रकाशले हिमालका शिखरहरूमा लहराउदै आकाशसँग खेलिरहेको थियो । त्यहाँको हावा, जसले घाम र चिसोको सन्तुलन बोकेको थियो, सानो–सानो पातहरूमा गुन्जिरहेको छ । नदीले पहाडको भित्ताबाट दौडदै, ढुङ्गामाथि छिटो छिटो ठोक्किँदै, शान्त तर प्रबल स्वर निकालिरहेको थियो । जंगलको हरियालीमा हावाको हल्का सुघ्घर गन्ध मिसिएको थियो, जसले मानवको मुटुमा शान्ति र उत्साह दुवै जागृत गराउँथ्यो ।

हरेक पात, हरेक रुख, हरेक चरा र चराको कलकलले यस्तो कुरा सम्झाइरहेको थियो—जीवन निरन्तर बहिरहेछ , परिवर्तन अपरिहार्य छ , र त्यसको मूल्य बुझ्नुपर्छ । पहाडका ढलान, खोलाको बहाव, र आकाशको अपार विस्तारले मानवलाई सानो तर जिम्मेवार महसुस गराउँथ्यो; यहाँ केवल व्यक्तिगत स्वार्थको जग बस्दैन, तर प्रकृति र मानवको सहअस्तित्त्वको मार्गदर्शन हुन्छ ।

त्यसै प्रकार, राष्ट्र र समाजको जीवन पनि यस प्रकृतिजस्तै छ—हरेक गतिविधि, निर्णय र संघर्षले भविष्यको दिशा निर्धारण गर्छ , जहाँ नदीले मार्ग खोज्छ , त्यहीं पहाडले स्थिरता दिन्छ ; जहाँ हावा र घाँसे मैदानले एक–अर्कालाई सम्हाल्छन्, त्यही मानव र राष्ट्र पनि सहयोग र समझदारीमा उभिन्छ ।

यही प्रकृति र मानव चेतनाको अन्तरसम्बन्धबाट सुरु हुन्छ , जसले हरेक आन्दोलन ईन्टरनेटबाट गर्ने जेन्जी आन्दोलनको भावनात्मक, दार्शनिक र राजनीतिक यात्रा अघि बढाउँछ ।

अवसरको नयाँ परिभाषा

वि.सं. २०८२ भदौ २३ र २४ ।

काठमाडौंका सडकहरू इतिहासको सबैभन्दा तीव्र कम्पनले हल्लिएका थिए—तर त्यो कम्पन भूकम्पको होइन, पुस्ताको विद्रोहको थियो । ‘जेन्जी आन्दोलन’ भनेर इतिहासले नाम राख्ने त्यो दिब्य क्षणले पुरानो शक्ति संरचनालाई जरोसहित उखेलेर फालिदियो । देशले एकैचोटि थकित अनुहार फेरेजस्तै, राजनीति पनि ह्वारह्वार बदलिन थाल्यो ।

सत्ता पल्टियो, तर जनताले चाहेको परिवर्तन भने अझै टाढै थियो । यिनै क्षणमा एउटा नयाँ विचार सतहमा आयो— “हामी अवसरवादी पनि हुनुपर्छ, तर अवसर देश बनाउने हुनुपर्छ ।”

यो उक्ति नयाँ नेपालको पहिलो अनौपचारिक मन्त्रजस्तै फैलिए । अवसरवादी भन्ने बित्तिकै मानिसहरूले नकारात्मकता देख्थे, तर जेन्जी पुस्ताले त्यो शब्दलाई नयाँ परिभाषा दियो—

“अवसरवाद होइन, सकारात्मक अवसर–सेवन ।”

“हामीले पुराना नेताहरूको अवसरवाद देख्यौँ—व्यक्तिगत लाभका लागि अवसर खोज्ने प्रवृत्ति तर अब त्यही शब्दलाई उल्ट्याउने समय आएको छ । हामी अवसरवादी हुन्छौँ—तर अवसर देशलाई दिनेहरु । अवसर पाउने बित्तिकै जनताको पक्षमा निर्णय गर्नेहरू ।”

त्यसको केही दिनमै उनले आफ्नो मन्त्रालयको ढोका खुला शासनमा रूपान्तरण गरे । नागरिक, पत्रकार, विद्यार्थी—सबैलाई मन्त्रालयमा आउने अनुमति ।

“अवसर तिमीहरूले खोज, निर्णय म बनाउँछु,” एक जेन्जी अविरल भन्थे ।

यो शैली देशभर फैलिन थाल्यो । गाउँमा पानीथानीदेखि शहरका कंक्रिट भवनसम्म मानिसहरूले अवसरका नाममा देशघाती काम होइन, साझा निर्माण खोज्न थाले ।

जेन्जी आन्दोलनले राष्ट्रलाई पहिलो पटक सिकायो— अवसरवादलाई पनि सकारात्मक बनाइन्छ जब अवसर देश निर्माणतर्फ मोडिन्छ । अवसर पाएर हैन, अवसर सिर्जना गरेर राष्ट्र बन्छ ।

.....................................

जेन्जी आन्दोलनले सत्ताको धरहरा भत्काएपछि देशमा एउटा विचित्र वातावरण बनेको थियो—

“अब के हुन्छ ?”

“अब कसले चलाउँछ देश ?”

मानिसहरूको मनमा एकैसाथ डर पनि थियो, आशा पनि । यति बेलामा पुराना नेताहरूको बानीब्यवहार फेरि सतहमा आउन थाल्यो । कसैले मन्त्री भेट्न गएको नागरिकले बाहिर निस्केपछि हल्ला चलाइदिने गथ्र्यो— “मेरो समस्या सुन्नुभो कि सुन्नुभएन ?”

नेतालाई भेटेर फर्केपछि सर्वसाधारणले पनि यस्तै सोध्थे—“मेरो टाउको पहिचान भयो कि भएन, आफ्नो प्रभाव देखाएँ कि देखाइनँ ?”

यसरी राजनीति थिएटर बनिरहेको थियो, र जनता त्यसमा दर्शक ।

यही अवस्थालाई उक्ल्याउने एउटा नयाँ आवाज उठ्यो— “मेरो सिनेमामा मुहार देख्यो कि देखेन ? टाउको देख्यो कि देखेन ? मैले उद्घाटन गरेको समाचारमा आयो कि आएन ? भन्ने पात्रपात्रजस्तो व्यवहारले राजनीति चल्दैन । सुशासनले चल्छ ।”

यो वाक्य जेन्जी आन्दोलनकै केन्द्रविन्दु मानिएको अर्की जेन्जी युवती इशा गुरुङले टुँडिखेलको दोस्रो विशाल सभामा उद्घोष गरेकी थिइन् ।

उनको आवाजमा उत्तेजना थिएन, तर योजना थियो ।

इशा मञ्चमा उभिई भन्थिन्— “राजनीति कलाकारिता होइन । यसमा मुख्य पात्र जनताका समस्या हुन्—नेता होइन ।”

त्यो भाषणले देशभर तरङ्ग चलायो । नयाँ मन्त्रालयहरूमा टेबुलमा राखिने ‘मन्त्रीको फोटो’ हटाइयो । सामान्य कागजातमा राखिने ‘यसको पहलमा सम्पन्न’ जस्ता प्रचारात्मक वाक्यलाई बन्द गरियो । फोटोसुट, सेल्फी, स्वागत–विदाईका कार्यक्रम हटाइएका कारण पुराना नेताहरू अलमल्ल परे, नयाँहरू सहज भए—किनकि उनीहरूलाई आफू देखिनु भन्दा काम देखिनु महत्त्वपूर्ण थियो ।

इशाको अर्को वाक्य देशभर चर्चित बन्यो— “देश क्यामेराले चलाउँदैन, कागजले चलाउँदैन, नीति र निष्ठाले चलाउँछ ।”

जेन्जी आन्दोलनले सिकायो— राजनीति भूमिकाको प्रदर्शन होइन, जिम्मेवारीको पुरा कार्यान्वयन हो । नेता देखिएर होइन, सुशासन देखिएर देश चल्छ ।

.........................................

२०८२ भदौ २३ र २४ को बिहान चिसो थियो, तर सडकहरू तातिएका थिए । त्यो तातो केवल भीडको ताप होइन—मौनता तोडिएको क्षणको ताप थियो । देशले पहिलोपटक पुस्ता–दरपुस्ता सिकाइको साख पल्टाइदिने आँट गरेको दिन ।

तर आन्दोलन सकिएर सत्ता बदलिएसँगै, पुराना शक्ति–समूहले अर्को खेल सुरु गरे—

“आन्दोलन त अस्थिरता थियो ।”

“देशको सुरक्षा जोखिममा पर्यो ।”

“विद्रोही युवाहरूले प्रणाली तोडिदिए ।”

त्यही बेलामा उठ्यो एक महत्वपूर्ण आह्वान—

“२०८२ को जेन्जी आन्दोलनलाई अपराधीकरण नगरौँ,

उल्टै त्यसलाई उपलब्धितिर लैजाऔँ ।”

यो आवाज अर्का जेन्जी पुष्कर अधिकारी नामक २६ वर्षे अधिवक्ताबाट आएको थियो, जसले आन्दोलनमा गोली लागेका युवाहरूलाई निःशुल्क कानुनी सहायता गरेका थिए ।

उनले राष्ट्रिय संवाद कार्यक्रमको पहिलो दिनै भने— “अपराधीकरण नहुने पहिलो शर्त के हो भने—दमनकारी नेताले आत्मालोचना गर्नुपर्छ । त्यसका लागि जनदबाब चाहिन्छ र त्यो दबाब तब मात्र सिर्जना हुन्छ , जब युवा राजनीतिमा छिर्छन् ।”


यही विचारले प्रेरित भएर देशभर “युवा–राजनीति पहल समूह” गठन भयो ।

विद्यार्थीहरू, पढिरहेका युवा, विदेशबाट फर्केका कामदार, टेक क्षेत्रका प्रोग्रामर—सबै मिलेर एउटा साझा घोषणापत्र लेखे—

“राजनीति बाहिरबाट आलोचना गर्ने होइन, भित्रबाट सफा गर्ने प्रणाली ।”

यस घोषणापत्रले देशभर हलचल चलायो ।

पहिले “राजनीति फोहोरी छ” भनेर टाढै बस्ने युवाहरू अहिले खुला रूपमा भन्थे—

“फोहोरी छ भने सफा गर्ने पनि हामी नै ।”

दमनकारी नेताहरूलाई संसदमा पहिलोपटक सार्वजनिक आत्मालोचना गर्न बाध्य बनाइयो ।

कसैले स्वीकारे—“हामीले गल्ती ग¥यौँ ।”

कसैले अर्ध–स्वीकारे ।

कसैले मौन बसे—तर मौन बसे पनि इतिहास बोल्दै थियो ।

जेन्जी आन्दोलनले देशलाई सिकायो— क्रान्ति अपराध होइन, दिशानिर्देश हो । दमनको अन्त्य तब हुन्छ जब युवाले राजनीति कब्जा गर्दैनन्, बरु शुद्धिकरण गर्छन् ।

......................................

क्रान्तिपछि देश नयाँ मोडमा थियो । युवाहरू उत्साहित थिए, तर समाजका पुराना आवाजहरू पुनः उचालिन थाले— “पोलिटिक्स इज अ डर्टी गेम ।”

“केटाकेटीले राजनीतिमा नजाओस्, बिग्रिन्छन् ।”

“देश बनाउने काम ठूला मान्छेले गर्छन्, बच्चाले होइन ।”

यी आवाजहरू घरघरमा पुस्तौंदेखि घन्किँदै आएका थिए । यही मानसिकताले नेपालका लाखौँ युवालाई सडकमा सिर्जना–ऊर्जा बोकेर हिँड्ने बनाएको थियो, तर संसद् र सत्ता भित्र पस्न नदिएको थियो । त्यही बन्धन तोड्ने साहसिक मनोविज्ञान लिएर अघि बढिन्— प्रधानमन्त्री सुशिला कार्की ।

देशको नेतृत्व गर्नेभन्दा पनि, उनले जेन्जी पुस्तालाई “राजनीतिक अभिभावकत्व” दिएर चर्चा कमाइन् ।

जेन्जी आन्दोलनपछि पहिलो संबोधनमा प्रधानमन्त्री कार्की ओजपूर्ण तर कोमल स्वरमा भनिन्—

“तपाईंहरूलाई दशौँ वर्षदेखि भनिएको थियो—‘राजनीति फोहोरी छ ।’ फोहोरी छ भने सफा पनि त कसैले गर्नैपर्छ । त्यो काम अब तिमीहरूबाटै सुरु हुन्छ ।”

देशभर टेलिभिजनमा हेर्ने आमाहरू चकित भए— यी शब्दहरू नेताको होइन, आमाको थिए । राजनीतिक इतिहासमा पहिलोपटक प्रधानमन्त्री एक पुस्ताको संरक्षकजस्तै देखिइन् ।

उनी निरन्तर जेन्जी युवासँग संवादमा रहिन्—

अर्को दिन उनले सिभिल सेवा, प्राविधिक, शिक्षा र स्वास्थ्य क्षेत्रका १८–२५ वर्षका युवाहरूलाई सरकारी निवासमै बोलाइन् ।

“राजनीति तिमीहरूसँग डराउँछ,” उनले हाँस्दै भनिन्,

“किनकि तिमीहरू स्वच्छ छौ । स्वच्छतासँग डराउनेहरू फोहोरी कहाँसम्म छन्—तिमीहरूले आफैँ देख्नेछौ ।”

उनका शब्दले हजारौँ घरमा नयाँ विचार जन्मायो ।

पहिले “राजनीतिले बिग्रेला“ भनेर छोराछोरी रोक्ने आमाबुवाहरू अहिले खुसीले भन्थे—

“त्यसै भएर प्रधानमन्त्रीले बोलाइरहेकी छिन्, जाऊ, सिक ।”

जेन्जी आन्दोलनले देशलाई सिकायो— राजनीति फोहोरी होइन, फोहोरी बनाइएका हातहरूको समस्या हो र त्यो धारणा तोड्न प्रधानमन्त्री कार्कीले “सत्ताको कठोरता“ होइन, “मातृत्वको भरोसा” प्रयोग गरिन् ।

देश यसरी नयाँ राजनीति निर्माणमा लाग्यो— जहाँ युवा मात्र सहभागी होइन, देशकै संरक्षक बने ।

...................................

क्रान्ति सफल भयो, सत्ता परिवर्तन भयो, नयाँ विचारहरू देशभर फैलिन थाले तर एउटा कुरा भने अझै अपूरो थियो— जेन्जीको घाउ ।

भदौ २३ र २४ को आन्दोलनका क्रममा मारिएका युवाहरूका घरहरूमा अझै पनि उनैका जुत्ता, ढाल, ब्यानर, र टुटेको चस्मा सुरक्षित राखिएका छन् । देश बदलिँदै थियो, तर ती घरहरूमा समय अझै पनि त्यही स्थानमा रोकिएजस्तै ।

यस्तै अवस्थामा एउटा महत्वपूर्ण संरचना बनाइएको थियो—

“हत्यारा छानबिन तथा कारबाही आयोग ।”

यो आयोग जेन्जी आन्दोलनकै दबाबमा गठन गरिएको थियो, तर अब यसको म्याद मात्र १ महिना बाँकी थियो ।

यो खबरले देशभर शीतलहर चलायो— समय सकिन लागेको छ , तर न्याय सुरु नै हुन बाँकी छ ।

उत्ति उठ्यो—जेन्जीको एक स्वरः

“कारबाही अनिवार्य छ ।

यो नै हाम्रो एकमात्र माग हो ।

यही हाम्रो बटमलाइन हो ।”

आयोगका सदस्यहरू राजधानीमा बन्द कोठामा बैठक चलाइरहेका बेला बाहिर शान्ति वाटिकामा हजारौँ युवाहरू शान्तिपूर्वक उभिएका थिए । कसैको हातमा तस्विर, कसैको हातमा नाम लेखिएको प्ले–कार्ड ।

तर सबैको हातमा एउटा साझा कुरा थियो—

दबाब ।

‘दबाब नै ताकत हो’ भन्ने नयाँ राजनीतिक संस्कृतिले युवाहरूलाई हिँसादेखि धेरै टाढा लगेर, न्यायको मागलाई संयमित र विवेकपूर्ण रूपमा अघि सार्न सिकाएको थियो ।

प्रधानमन्त्री सुशिला कार्कीले पनि मन्त्रिपरिषद् बैठकमा स्पष्ट भनिदिइन्—

“आयोगले काम नगर्ने वा रिपोर्ट लुकाउने विकल्प छैन ।

म्याद सकिनु अघि सत्य सार्वजनिक हुन्छ ।”

यही वचनले युवाहरूलाई थप ऊर्जा दियो । देशभर सबै जिल्लामा “जस्टिस काउन्टडाउन क्याम्पेन” सुरु भयो । घडी टिक–टिक गर्दै थियो, र प्रत्येक टिकसँग जनदबाब बढ्दै थियो ।

आयोगको भित्री स्रोतहरूले पत्रकारलाई चुपचाप भने— “हामीमाथि दबाब छ , तर यो नै सही दबाब हो । युवाहरूले हामीलाई सुत्न नदिने भय होइन, न्याय बिर्सिन नदिने कर्तव्य दिलाएका छन् ।”

जेन्जी आन्दोलनले सिकायो— सत्ता परिवर्तनले न्याय स्वतः आउँदैन । न्यायका लागि निरन्तर दबाब दिनुपर्छ । हत्यारालाई कारबाही गर्नु नै जेन्जीको अन्तिम र अपरिवर्तनीय माग— बटमलाइन ।

.........................................................................

आन्दोलनपछि देश बदलिन थाल्यो, धेरै कुराहरू नयाँ भए, तर एउटा कुराले भने जेन्जी पुस्तालाई कहिल्यै शान्त बस्न दिएन—

सत्ताको दम्भ ।

भदौ २३–२४ को आन्दोलनमा मारिएका ३–४ जना युवा मरेको सुरुका बेला मृत्युबारे केही नेताहरूले दिएको अभिव्यक्ति

जेन्जी पुस्ताको इतिहासमा सधैँ–सधैँको घाउ बनिरह्यो— “३–४ जना मान्छे मरेर सत्ता जान्छ र ?”

यो वाक्यले देश हल्लिएको थियो ।

यही शब्दले जेन्जीलाई बुझायो— सत्ता जनताबाट होइन, निर्दयी अहंकारबाट चलेको रहेछ । यही दम्भकै कारण केपी ओली–कांग्रेस गठबन्धन जनता–असन्तोषको भार थाम्न नसकेर ढलेर नगई भएन ।

सत्ता त पल्टियो, तर सबभन्दा ठूलो कुरा— दम्भको मुखुण्डो च्यातियो ।

आन्दोलनपछि केही हप्तासम्म सत्ताको गलियारा अलि शान्त, अलि पीडित, अलि भयग्रस्त देखिन्थ्यो । नयाँ सरकार बनेको थियो, तर पुरानाहरूको छाया अझै पनि हल्लिएको थियो ।

जेन्जी पुस्ताले एकै स्वरमा भने—“दम्भ चिर्नैपर्छ , नत्र परिवर्तन पहिलेजस्तै केवल टेबलकै कागजात हुनेछ ।”

त्यसपछि सुरु भयो

“अहंकार हटाऊ, मेरो आवाज सुन्ने सरकार बनाऊ” नामक जन–अभियान ।

कुनै पनि पार्टीका युवा सदस्यहरू, स्वतन्त्र अभियन्ता, विपन्न वर्ग, महिलाहरू, सबै एउटै मञ्चमा आए । राष्ट्रभर भिन्सेन्ट फोटो (शहीद युवाहरूका तस्बिरहरू) हातमा लिएर मानिसहरू भन्थे—

“यी ३–४ जनामात्र होइनन्, यी नै देशका असली जननिर्माता हुन् ।” यसअभियानको प्रभावले नयाँ सरकारले पहिलोपटक ‘जन–संवेदनशीलता परीक्षण प्रणाली’ सुरु ग¥यो । कुनै पनि मन्त्री, सचिव वा प्रमुख पदाधिकारीले जनताको दुःखलाई तुच्छ ठानेको प्रमाणित भएमा प्रत्यक्ष कारबाही । यसरी नै अहंकार–राजनीतिको संरचना ठहरिन थालेको थियो ।

प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रीपरिषदमा उभिएर भनिन्— “मानिस मरून् भन्ने मनोविज्ञान राख्ने

मानिसहरू शासक हुनसक्दैनन् ।”

उनले थपिन्—“दम्भ हटेपछि मात्रै लोकतन्त्र बोल्दैन, सांस फेरिन्छ ।”

जेन्जी आन्दोलनले देशलाई सिकायो— जनताको जीवनभन्दा ठूलो कुनै सत्ता छैन ।

३–४ जना मरेर केही हुँदैन भन्ने सोच सत्ताको सबैभन्दा खतरनाक रोग हो । र यसबाट मुक्ति दिने औषधि जेन्जीको एक मात्र दबाब हो—

“दम्भ चिर्ने राजनीति ।”

...........................................

भदौ २३–२४ को आन्दोलनको धुवाँ मेटिँदै जाँदा लएक कुरा भने झन् स्पष्ट हुँदै थियो— नेपाली राजनीति दशौँ वर्षदेखि सिन्डिकेटको बन्धक बनेको रहेछ । तीन–चार बूढा पार्टी— त्यसैका केही बूढा नेताहरू— तिनकै पुराना खुम्चिएका सोच, उही काकाकुलतन्त्र, उही पनि–राम्रो–छ–भन्ने मानसिकता । यही कारणले देश बदलिन नसकेको रहेछ । यही पीडाले भरिएको स्वर

जेन्जी पुस्ताले उच्च स्वरमा बोल्यो— “अब रक्तपात पुग्यो, त्यो खहरे तरौँ ।”

“पार्टीहरू सबै बुढा सिन्डिकेटले विग्रेका छन् ।”

“अब फरक–फरक भएर होइन, एकजुट भएर काँध मिलाउनु पर्छ ।”

देशभर अचानक एउटा नयाँ चर्चा सुरु भयो— “पोष्ट–सिन्डिकेट राजनीति ।” युवाहरूले पहिला पार्टीका झण्डा बोकेर अलग–अलग मञ्च बनाउने चलन तोडिदिए ।

अब उनीहरू एउटाभन्दा अर्को पार्टीमा नभागी “जनताको एजेन्डा” नामको साझा मञ्चमा भेला हुन थाले । यो मञ्चमा रंग–झण्डा थिएनन्, थिए त केवल तीन शब्द— न्याय – सुशासन – अवसर काठमाडौं, पोखरा, धनगढी, धरान— सबै शहरमा एकै समयमा ‘काँध मिलाऊ अभियान’ सुरु भयो । मंसिरको चिसो बिहान, हजारौँ युवा तीन–तीन जनाको पंक्तिमा उभिएर एक–अर्काको काँध समातेर शान्तिवाटिकामा शान्ति–पथ यात्रा निकाल्थे ।

सन्देश थियो—

“राजनीति हैन, मानवता पहिलो ।”

“पार्टी हैन, विषय पहिलो ।”

“सत्ता हैन, जनउद्देश्य पहिलो ।”

बुढा पार्टीहरू तर्सन थाले । उनीहरुका हरेक कार्यक्रममा केन्द्रीय सदस्यका नेता बाहेक अरु थिएन । उनीहरु रित्ता भइसकेका थिए । उनीहरूले सोचेका थिए—

“युवाहरू फुट्छन्, भङ्ग हुन्छन् ।” तर जेन्जी पुस्ताले त उल्टै एकताको विज्ञान देखाइरहेथ्यो ।

प्रधानमन्त्री सुशिला कार्कीले पनि मन्त्रीपरिषदमा भनिन्—

“युवाहरूले देखाएको एकता देशले दशकौँ पछि पाएको अद्भुत राजनीतिक नेतृत्व हो ।”

उनको वाक्यले पुराना दलका आन्तरिक भूकम्प झनै बढ़ायो । किनकि अब युवाहरू पार्टीको पन्नामा होइन, देशको नक्सामा राजनीति लेखिरहेका थिए ।

त्यही नक्साको शीर्षमा ठूलो अक्षरमा लेखिएको थियो— “अब एकजुट भएर काँध मिलाऔँ ।”

जेन्जी आन्दोलनले सिकायो— रक्तपात र विभाजनले देश अघि बढ्दैन । सिन्डिकेट राजनीति इतिहासको अवशेष हो । अब एकताको राजनीति नै नयाँ नेपालको आधार हो ।

जब काँध मिल्छ, राजनीति होइन — राष्ट्र उठ्छ ।

.............................

नेताका रोजगारी, सुशासन, समृद्धि, न्याय, पारदर्शिता— यी सबै शब्दहरू देशको राजनीतिक भाषामा वर्षौँदेखि घन्किएका थिए तर यो नारा, भाषण र घोषणापत्रको जंगलभित्र एक कठोर यथार्थ पनि लुकेको थियो— “कुनै पनि राष्ट्रिय एजेन्डा भ्रष्टाचार र कुशासनले सफल भएको देखिएन ।”

यही तीतो सत्य जेन्जी पुस्ताको घाउ पनि थियो, तेस्र्याइने आन्दोलनहरूको ऊर्जास्रोत पनि । देशमा एउटा धारणा फैलिसकेको थियो— “एजेन्डामा फोकस भएर लाग्ने नेता नै सफल नेता ।”

तर विडम्बना के थियो भने फोकस भएका एजेन्डा थिएनन्, थिए त— व्यक्तिगत स्वार्थ, पद–व्यापार, पार्टी–भित्रको फुट, र भ्रष्टाचारका गहिरा दर्ता । यही कारणले जनताको मुद्दा कहिल्यै मुद्दा बन्न पाएन ।

प्रधानमन्त्री सुशिला कार्कीले सिंहदरबारमा मन्त्री र सचिवहरूको संयुक्त बैठक बोलाइन् । उनी एक विशाल डिजिटल बोर्ड अगाडि उभिइन् । त्यसमा एउटा वाक्य ठूला अक्षरमा चम्किरहेको थियो—

“फोकस = परिणाम

ओझेल = विफलता ।”

उनले पहिलो वाक्य भने— “देशका एजेन्डा किन असफल भए ? किनकि हामीबाट कहिल्यै दीर्घकालीन उद्देश्यमा फोकस गरिएन र भ्रष्टाचारले सबै फोकस जलेर खरानी बनायो ।”

कुनै मन्त्रीले धमिलो स्वरमा भन्यो— “एजेन्डा त राखेका थियौँ, तर...”

उनले तुरुन्तै उत्तर दिइन्— “एजेन्डा राख्नु फोकस होइन । एजेन्डा पूरा नहुन्जेल नथाक्नु— त्यो हो फोकस ।”

यो वाक्य त्यसदिन बैठकमा उपस्थित युवा प्रशिक्षार्थी कर्मचारीहरूका मनमा झट्का जस्तै बस्यो । उनीहरूले त्यही साँझ फोकस फोरम नामको आन्तरिक युवाग्रुप गठन गरे— सरकारका सबै राष्ट्रिय एजेन्डाको निरन्तर अनुगमन गर्ने समूह ।

देशभरको परिवर्तन देशका ७ प्रदेश कार्यालयहरूमा ‘वन–एजेन्डा–वन–कमिटमेंट’ अभियान शुरू भयो ।हरेक कार्यालयले एउटा मात्र एजेन्डा लिई त्यसमा एक वर्ष फोकस गर्ने निर्णय ग¥यो— कसैले शिक्षा, कसैले स्वास्थ्य, कसैले न्यायिक पहुँच, कसैले निःशुल्क टेक्निकल तालिम ।

पुराना पार्टीहरू यसरी फोकस भएर काम गरेको दृश्य पहिले कहिल्यै थिएन तर यो जेन्जी आन्दोलन–प्रभावित राजनीतिक संस्कृतिको नयाँ चमक थियो ।

जेन्जी पुस्ताको टिप्पणी

युवाहरू टुँडिखेलमा भेला भएर भन्थे— “देशको एजेन्डा ओझेल परेको रह्यो भने हाम्रै भविष्य हराउँछ ।”

“फोकस भएको राष्ट्र बलियो राष्ट्र हो ।”

त्यस दिन एउटा जेन्जी युवतीले माइक समाएर भनिन्— “अबदेखि भ्रष्टाचारले एजेन्डा ओझेल पार्ने छैन । हामी एजेन्डा ओझेल पार्नेहरूलाई ओझेल परिने स्थानमै पठाउँछौँ— इतिहासका अँध्यारा पानामा ।”

जेन्जी आन्दोलनले सिकायो— एजेन्डामा फोकस हरायो भने राष्ट्र अन्धो हुन्छ । भ्रष्टाचार र कुशासन फोकसका सबै बत्ती निभाइदिन्छ । अबको राजनीति एक–एजेन्डा, एक–प्रतिबद्धता, एक–परिणामको मौलिक आधारमा उभिँदैछ ।

......................................

एउटा सिनेमा सफल हुँदा केवल हिरो ले मात्र अगाडि आएर क्रेडिट लिनु उचित हुँदैन । सफलताको जग त दर्सकले देख्ने पर्दाभन्दा धेरै टाढा—स्क्रिप्ट राइटरका रातभरका संशोधन, निर्देशकका सयौँ डबिङ–टेक, संगीतकारका थुनिएका नोटहरू, गायक–गायिकाका स्वरका चढावउतार, संवाद लेखकका प्राणपोषक हरफहरू—यी सबैको सामूहिक श्रमबाट तयार हुन्छ ।

देश पनि ठीक यही हो—एउटा व्यक्ति, एउटा पद वा एउटा पार्टीले मात्र अघि बढाउने होइन । विभिन्न विधा, पेसा, नीति–विचार र जिम्मेवारी बोकेका प्रत्येक पात्रको योगदान बराबरी मूल्यवान हुन्छ । त्यसैले देश निर्माणमा लागेका सबैलाई कदर गर्न सिकौँ ।

जनताले चुनावमा योग्य, इमानदार, योगदान गरेका व्यक्तिहरूलाई नबिर्सून् । नेताहरूले पनि केवल आफ्नो सानो घेरामै सीमित भएर संसार बुझ्छु भन्ने गल्ती नगरून्, किनकि त्यस्तो घेराभित्र रहेर देशको वास्तविक धड्कन सुन्न सम्भव हुँदैन ।

सुशासनलाई मूल ध्येय बनाऔँ—त्यसैमा राष्ट्रको भविष्य सुरक्षित छ।

..........................................

जसरी आजका सत्ताधारी नेताहरूको निर्णय र अहंकारले जेन्जीहरूलाई शहादतसम्म धकेलियो, त्यही नेताहरू पनि आफ्नो युवावस्थामा आजका जेन्जीसरह उस्तै जुनून, उस्तै आक्रोश र परिवर्तनको आगो बोकेरै अघि बढेका थिए । त्यसैले आजका जेन्जीको मूल्य नघटाऔँ—किनकि ती युवामनहरूमा अहिले पनि ठीक उही ऊर्जा, उही निष्ठा, र देशप्रति उही स्वच्छ चाहना बगेको छ ।

जेन्जीलाई अवमूल्यन नगर्ने, अन्डर–इस्टिमेट नगर्ने संस्कार स्थापित गरौँ । उनीहरूलाई तोडेर होइन, बुझेर सशक्त बनाउनु नै राष्ट्रको हित हो ।

आफ्नो रिस, क्रोध र पूर्वाग्रहहरूलाई कोर्स–करेक्शन गर्ने बेला यही हो—किनकि नेतृत्वको महानता त्यसको आक्रोशको उचाइमा होइन, आत्मसमीक्षाको गहिराइमा नापिन्छ ।

............................

२०८२ भदौ २३–२४ को जेन्जी आन्दोलनले इतिहासको पृष्ठ पल्टायो । देश बदलियो, सत्ता पल्टियो, तर चेतना मात्र स्थायी रह्यो । यो चेतना नयाँ पुस्ताका हातमा, नयाँ विचारका ढोकामा, सकारात्मक अवसरवाद, सुशासन, न्याय, एकता, एजेन्डामा फोकस, र सबैको समान योगदानमा आधारित थियो तर इतिहासले चेतावनी पनि दिइरहेको थियो । जनयुद्धका कमाण्डरहरूले सामन्ती व्यवस्थाविरुद्ध लडे, तर आजका नेता र युवाहरू नवसामन्तका रूपमा फेरि उभिन नदिइयोस् ।

यो चेतना जगे–जगी रहनु पर्छ ,सत्ता व्यक्तिगत स्वार्थको खेल होइन— देश र जनताको उज्यालोको माध्यम हो भन्ने बुझाइमा आधारित रहनुपर्छ ।

जेन्जी पुस्ताले पुराना नेताहरूको दम्भ चिर्दै, भ्रष्टाचार र कुशासनले एजेन्डा निस्तेज बनाइदिने प्रवृत्तिलाई पराजित गर्दै, एकता र न्यायका मूल्यहरूलाई समाजमा पुनःस्थापित ग¥यो । प्रधानमन्त्री सुशिला कार्कीले मातृत्व–भरोसा र मार्गदर्शन दिएर युवालाई राजनीति मात्र सिकाएनन्, सशक्त र उत्तरदायी नेतृत्वको संस्कृति पनि जन्माइन् ।

देशभरका युवा अब जान्दछन्— सिर्जना गर्छन्, दबाब दिन्छन्, न्याय माग्छन्, एजेन्डामा फोकस गर्छन्, एकअर्कालाई सम्मान गर्छन् । जसरी सिनेमामा प्रत्येक क्रिएटिभ सदस्यको योगदान बराबरी महत्त्व राख्छ , देश निर्माणमा पनि सबैका योगदान बराबरी सम्मानका पात्र हुन् ।

नेता केवल दर्शक होइन, सहभागी हुनुपर्छ; युवाहरू केवल क्रान्ति मात्र होइन, देशको भविष्यको निर्माता हुन् ।

राष्ट्रको नयाँ अध्याय, जेन्जी पुस्ताले सुरु गरेको यात्रा, जसरी हिमालहरूले आकाश छुन्छन् र नदीनालाले मैदानहरू भर्छन्, त्यसरी नै देशभरि विचार, ऊर्जा, एकता, र न्याय प्रवाहित हुन्छ । हरेक पहाड, हावा, र नदीले उनीहरूको धैर्यता, जुनून, र अनुशासनको कथा सुनाउँछन् । जसरी रवि बिहान उठ्दा शीतल प्रकाशले ढाक्छ , त्यसरी नै नयाँ राजनीति राष्ट्रलाई उज्यालो, समृद्धि र आशाले भरिदिन्छ ।

जेन्जी आन्दोलन केवल इतिहास होइन,

यो चेतनाको धारा हो,

यो भविष्यको मार्गदर्शन हो,

र यो नै नयाँ नेपालको सुरुवात हो ।

......................................

जेन्जी आन्दोलनले देशलाई सिकारु चेतनाबाट सतर्क नागरिकमा रूपान्तरण गर्यो तर इतिहासले बारम्बार देखाएको थियो—सत्तामा पुगेपछि शक्ति र भ्रष्टाचारले नैतिकता हराउँछ । त्यसैले युवा पुस्ता, नेताहरू, र नागरिक सबैले एकै स्वरमा भनिरहेका छन्—

“नो नट अगेन ।”

यो केवल नारा मात्र होइन, यो राजनीतिमा नैतिकताको खोजी हो ।

यो चेतना हो—सिर्जना, न्याय, समानता र सुशासनको दिशामा ।

अबका नेताहरूले बुझ्नुपर्छ— अहंकार, व्यक्तिगत स्वार्थ, र भ्रष्टाचारले देशलाई फेरि भत्काउने छैन । युवाहरूले आफ्नो दृष्टि मात्र नभई, देशको भविष्य सुरक्षित गर्ने जिम्मेवारी पनि लिएका छन् । सिनेमाको प्रत्येक कलाकारको योगदान जस्तै, देश निर्माणमा पनि प्रत्येक व्यक्तिको योगदान कदरयोग्य छ । असलले जित्नुपर्छ । नेताहरूले आफ्नो सानो सर्कलमा सीमित भएर निर्णय गर्नु हुँदैन; जनताले चाहेको नैतिकता र न्यायको मार्गमा निर्णय लिनुपर्छ ।

सडक, पहाड, नदी, र आकाश—सबैले यो चेतनालाई समेटेका छन् । हरेक हावा, हरेक धारा, हरेक रविको किरणले भन्छन्—“अहिलेको राजनीति मात्र होइन, भविष्यको मार्ग नै शुद्ध हुनुपर्छ ।”

“नो नट अगेन” अब केवल नारा होइन,

यो जेन्जी पुस्ताको चेतना,

देशको भविष्य,

र नयाँ नेपालको मौलिक आधार हो ।

....................................

जेन्जी आन्दोलनले राष्ट्रलाई न्याय, फोकस, एजेन्डा, एकता, र नैतिकताका मूल्यहरू सिकायो तर चेतनाको अर्को पक्ष पनि याद गर्न आवश्यक थियो—मानवता । नेपालमा जो पनि गलत गरे भन्ने आधारमा मानमर्दनतर्फ नजानु नै बुद्धिमानी हो । देशमा राम्रा व्यक्तिहरू धेरै छन्, तर उनीहरूमा पनि केहि न केही लुज प्वाइन्ट हुन्छ । हामी देवता होइनौँ, हामी मानिस हौँ । यो धरातल कहिल्यै नबिर्सौँ ।

यदि त्यही लुज प्वाइन्टलाई भाइरल बनाइदिएर मानमर्दन सुरु गरियो भने, देशमा कुनै पनि मान्छे पूर्ण रूपमा शुद्ध र दोषरहित पत्ता लगाउन सकिँदैन । दूधमा नुहाएको व्यक्ति कहीं पनि भेटिँदैन ।

युवाहरूले सामाजिक संजालमा, सार्वजनिक संवादमा, र कार्यक्रममा सकारात्मक आलोचना र मानवताको आधारमा मात्र कुरा गर्न थाले । गल्ती देख्दा सुधारको अवसर दिन्छन्, न कि सामाजिक र अपारदर्शी निन्दा मार्फत व्यक्तिलाई दबाइन्छ ।

सामूहिक चेतनाले भन्छ—

“निन्दा होइन, मार्गदर्शन; आलोचना होइन, सुधार ।”

यसले देशमा लोकतन्त्र मात्र होइन, समानुभूति, सहिष्णुता, र समझदारीको संस्कृति पनि जन्मायो ।

जेन्जी आन्दोलनले सिकायो—

देश निर्माणको अर्को पक्ष भनेको मानवताको सम्मान हो । गल्ती देख्दा शिक्षा दिन सकिन्छ , तर मानमर्दनले केवल समाजलाई विभाजित र नकारात्मक बनाउँछ । देशमा दूधमा नुहाएको व्यक्ति नभए पनि,

मानवताको आधार भनेको समान व्यवहार र न्याय हो ।

........................................

सेवा भावको राजनीति

भदौ २३–२४ को जेन्जी आन्दोलनले देशलाई केवल सत्ता परिवर्तन मात्र होइन, राजनीतिमा मूल्य र उद्देश्यको पाठ सिकायो । अब राजनीतिको अर्थ पदका लागि होइन, पार्टीको कुर्सीका लागि पनि होइन । राजनीति हुनु पर्छ सेवा भावको मूल भावमा आधारित ।

देशभरका युवा जेन्जी पुस्ताले जाने— सत्तामा पुग्नु मात्र लक्ष्य होइन । जनताको जीवन सुधार्नु, न्याय सुनिश्चित गर्नु, शिक्षा, स्वास्थ्य, अवसरको समान पहुँच सुनिश्चित गर्नु नै नेतृत्व हो ।

प्रधानमन्त्री सुशिला कार्कीको मातृत्व–भरोसा र मार्गदर्शनले देखाइदियो— सत्ता मात्र होइन, उत्तरदायित्व र सेवा नै राजनीति हो ।

अबका नेताहरूले यही मूल्यमा आफूलाई परिभाषित गर्नुपर्छ । देशभर, सडकदेखि संसदसम्म, युवा अभियानमा जुटिरहेका छन्— नेतृत्व केवल अधिकार होइन, सेवा हो ।


जेन्जी आन्दोलनले सिकायो—

राजनीति पद, सत्ता, वा कुर्सीको खेल होइन;

यो सेवा भावको अभ्यास हो ।

जहाँ सेवा भाव हुन्छ ,

 त्यहाँ सुशासन र न्याय स्वतः उन्नति गर्छ ।

........................................

राजनीतिमा इमानदार, असल व्यक्तिहरू पनि छन् तर उनीहरूको क्षमतामा कमी होइन, सही टिमवर्क र संगठनको वोधको अभावले उनीहरूलाई प्रायः ओझेलमा राखेको छ ।

देशभरका युवा जेन्जी पुस्ताले बुझ्यो— एक्लै मात्र अगाडि बढ्नुले परिणाम दिन सक्दैन । नेतृत्व मात्र होइन, सबै स्तरमा संगठन र सहकार्य अपरिहार्य छन् । इमानदार र असल व्यक्तिहरूले टिमवर्कको कला बुझेर मात्र राष्ट्रको भलाइ सुनिश्चित गर्न सक्छन् । संसद्, स्थानीय प्रशासन, सामाजिक संगठन, र युवामञ्च—सबैमा टिमवर्क र साझा उद्देश्य आवश्यक छ । यसले व्यक्तिगत संघर्षलाई सामूहिक शक्ति बनाउँछ , र देशको विकास, न्याय, एजेन्डा–फोकस र सुशासनलाई सुदृढ बनाउँछ ।

जेन्जी आन्दोलनले सिकायो—

इमानदारी र असलियत पर्याप्त छैन;

सही संगठन, साझा उद्देश्य र टिमवर्कले मात्र राष्ट्र बलियो हुन्छ ।

देशका लागि टिमवर्क अपरिहार्य र टड्कारो आवश्यक छ ।

.......................................

अन्त्यमा वरिष्ठ नेताहरुलाई भन्न चाहन्छु— देशको नेतृत्व केवल अनुभव वा पदका कारण मात्र होइन, युवाको ऊर्जा, नवीन सोच, र अग्रेसर चेतनासँग पुस्तान्तरण गर्नु अपरिहार्य छ ।

जेन्जी आन्दोलनले देखायो—

सत्ता मात्र होइन, जिम्मेवारी, सेवा भाव, न्याय, एजेन्डामा फोकस, टिमवर्क, संगठन र मानवता आवश्यक छन् । यी मूल्यहरू नयाँ पुस्तासँगै अगाडि बढ्दा मात्र देशले दीर्घकालीन समृद्धि र सुशासन पाउँछ । पुराना नेताहरूले आफ्नो अनुभव र शिक्षा साझा गर्दै, युवालाई अवसर दिनु पर्छ , सुधार, सृजनात्मकता र राष्ट्रिय विकासमा उनीहरूको नेतृत्व सुनिश्चित गर्नु पर्छ ।

पुस्तान्तरण अपरिहार्य छ ।

सत्तामा रहेको शक्ति र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्दा मात्रै देशको भविष्य उज्यालो र न्यायपूर्ण हुन्छ ।

जेन्जी पुस्ताले यो चेतना बुझेर मात्र अगाडि बढ्छ,

र नयाँ नेपाल निर्माणको मार्ग प्रशस्त गर्छ ।

...............................

पुराना पार्टीहरूले देशमा आफ्नो दबदबा कायम राख्नु हुँदैन । जेन्जी आन्दोलनले सिकाएको चेतना अनुसार, अब जनताको अधिकार, न्याय र एजेन्डा प्राथमिक हुनुपर्छ ।

यसपालीको ०८२ को चुनावमा पनि देशको राजनीति नयाँ मोडमा हुनेछ । जनताले केवल सिट जिताउने मात्र होइन, सन्देश पठाउने निर्णय गरेका छन् । पुराना पार्टीका नेता आफ्नो शक्ति कायम राख्ने प्रयास गरे,

तर युवा र चेतनाशील मतदाताले भन्दैछन्— “तिमीहरूले अधिकार र जिम्मेवारीको गलत प्रयोग गर्यौ ।अब एक सिट मात्र जिताएर पनि गिल्टि फिल गराउन आवश्यक छ ।”

यो चेतना स्पष्ट थियो—

पुराना दललाई साना सन्देश र दबाबका माध्यमबाट सम्झाइदिनु जरुरी छ । त्यसैले ०८२ को चुनावमा कुनै पार्टीले केवल बहुमत होइन, जनताको चेतनाले सही सन्तुलन बनाउने निश्चितता हुनेछ ।

जेन्जी आन्दोलनले सिकायो—

पुराना पार्टीको दबदबा होइन,

जनताको चेतना र दबाबले नै नयाँ शक्ति सन्तुलन निर्माण गर्छ ।

राजनीतिक परिवर्तनको वास्तविक आधार यही हो—

नयाँ सोच, चेतनाशील मतदाता, र जिम्मेवार नेताहरू ।

....................................

गणतन्त्रमा विश्वास गर्ने व्यक्तिहरू र जेन्जी आन्दोलनलाई देश विकासका लागि अवतरण गराउने युवाहरू— दुबै नै आजको नेपालको भविष्यका दुई सबल मेरुदण्डरुपि स्तम्भ हुन् ।

०८२ भदौको आन्दोलनपछि देशले नयाँ गति खोज्दैछ ।

त्यही बेला दुई व्यक्तित्वको विशेष भूमिकाले राजनीतिमा स्पष्टता थप्यो—

सुदन गुरुङ — देशलाई बारम्बार अस्थिरताबाट “सेफ लाइन” मा ल्याउने संयम, रणनीति र व्यवहारिकता बोकेका नेता ।

रक्षा बम — गणतन्त्र, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यहरूमा कुनै पनि कठिन परिस्थितिमा सम्झौता नगर्ने जेन्जी नेत्री ।

यी दुई नेताहरूको चरित्र फरक भए पनि,

यो संयोजन—स्थिरता + मूल्यप्रति अडान—

नेपालकै लागि एउटा आदर्श राजनीतिक सूत्र बन्न सक्छ ।

सुदनको शान्त, व्यावहारिक र समाधानमुखी दृष्टि र रक्षाको अडान, सैद्धान्तिकता र जेन्जी चेतनाको संगमले देशलाई समझदारी, स्थिरता र सशक्त लोकतान्त्रिक मार्गतर्फ लैजान सक्ने संयोजन हो ।

देशले सिकेको पाठ

देशलाई हरेक दिन झगडामा, आरोप–प्रत्यारोपमा, ध्रुवीकरणमा, र अनावश्यक तनावमा डुबाइराखिरहन आवश्यक छैन ।

देशलाई आवश्यकता छ—

सन्तुलित नेतृत्व, संयमित व्यवहार, अडानसँगै समाधान दिने क्षमता, र लोकतान्त्रिक मूल्यमा अटल प्रतिबद्धता ।

गणतन्त्रवादी सोच र जेन्जी क्रान्तिको चेतना दुवै एक–अर्काको विरोध होइन, एक–अर्काको पूरक शक्ति हुन् । यी दुईको संयोजनले देशलाई स्थिर, न्यायपूर्ण, प्रगतिशील र बौद्धिक रूपले सक्षम भविष्यमा पु¥याउन सक्छ ।

संदेश स्पष्ट छ—

झगडा होइन, संयोजनबाट नै नयाँ नेपाल बन्छ ।

......................................

जेन्जी आन्दोलनले देखाएको चेतना केवल प्रतिक्रियामा सीमित हुनु हुँदैन ।

देशले सिक्नु आवश्यक छ—

जुन कुरा प्रिभेन्टले (सजगताले) गर्न सकिन्छ , त्यसको प्रिभेन्सन(दूर्घटना आउन नदिनु)मा पनि जानुपर्छ । राजनीति, प्रशासन, न्याय, शिक्षा, स्वास्थ्य—सबै क्षेत्रमा समस्याहरूको समाधान मात्र होइन, पुर्व–निवारण अत्यावश्यक छ । भ्रष्टाचार रोक्न सकिन्छ भने त्यसको प्रणालीगत रोकथाम गर्नू । अव्यवस्थापन र असन्तुलन आउन नदिने योजना बनाउनू । युवाहरूलाई चेतना र नेतृत्वको पुर्व–प्रशिक्षण दिनू । यसले मात्र संकटको बेलामा प्रतिक्रियामा झन् कमजोर नपर्ने र राष्ट्र सुदृढ बन्ने वातावरण तयार हुन्छ ।

देशले सिकेको पाठ

जेन्जी पुस्ताले चेतना जगायो— सिर्जना, न्याय, एजेन्डा फोकस, सेवा भाव, संगठन, टिमवर्क, पुस्तान्तरण—सबै महत्त्वपूर्ण छन् तर यदि पूर्व–निवारणको अभ्यास गर्न सके, देशले झनै स्थिर, न्यायपूर्ण, र दीर्घकालीन प्रगतिशील मार्ग पाउनेछ ।

“प्रतिक्रियामा मात्र होइन,

पूर्व–निवारणमा पनि सजग हुनु राष्ट्रको आवश्यकता हो ।”

देश निर्माण केवल संकटमा मात्र होइन,

स्मार्ट र सावधान नेतृत्वमार्फत पनि सम्पन्न हुन्छ ।

................................

अब अन्त्यमा, हामीले बुझ्नुपर्छ— यो सत्य घटनाको राजनीतिक कथा हो, क्रान्तिकारी मात्र जेन्जी युवाहरुको सत्य कथा हो । कुनै काल्पनिक पात्रको कथा होइन । हामी कहिल्यै व्यक्तिगत स्वार्थका पात्रमा अड्किनु हुँदैन । सधैं विधि, सुशासन, र संस्थागत संरचनामा विश्वास राख्नुपर्छ ।

भदौ २३–२४ को जेन्जी आन्दोलनमा प्राणको आहूती दिई आन्दोलनमा उत्रेका युवाहरूको बलिदानले मात्र यो उपलब्धी सम्भव भयो ।

अब त्यस बलिदानको सम्मान र सदुपयोग हाम्रा अनि हामी सबैकोे जिम्मेवारी हो ।

देशका लागि त्यो उपलब्धीलाई संस्थागत बनाउन, नीति, नियम, र नैतिकता कायम राख्नुपर्छ ।

पुराना कमजोरी, भ्रष्टाचार र अस्थिरताबाट सिक्दै,

अबको लक्ष्य हो—

देशलाई न्याय, सेवा, एजेन्डा–फोकस, टिमवर्क र स्थिर नेतृत्वमार्फत सुदृढ बनाउनु ।

राष्ट्रको भविष्यलाई प्रकृतिको स्वरूपमा देख्न सकिन्छ— हिमालले आकाशलाई छुन्छ, तर आफ्नो आधारको गर्व भुल्दैन । नदीहरूले मैदान भर्छन्, तर आफ्नो धारा स्थिर राख्छन् । पानीले सबैतिर समतल हुन सिकाउँछ । वन, पहाड र घाँसे मैदानहरूले मानव र राष्ट्रलाई आकाशको शान्ति र धरातलको मजबुती सम्झाउँछन् । जसरी रविले बिहानको प्रकाश फैलाउँछ, त्यस्तै सुशासनले देशभर उज्यालो, सन्तुलन र समृद्धि फैलाउँछ । हरेक हावा, हरेक पात, हरेक नदीको बहावले यो सम्झाइरहेछ— बलिदान र उपलब्धि सदुपयोग गरी, सुशासन र संस्थागत संरचनामा मात्र देशको भविष्य सुरक्षित रहन्छ ।

अन्तिम सन्देश

जेन्जी आन्दोलनले देखाएको चेतना, युवाको जोश, र बलिदानको मूल्य

अब केवल इतिहासको पाना होइन;

यो नयाँ नेपालको मार्गदर्शन हो ।

राजनीति, नेतृत्व र राष्ट्र निर्माणमा अब केवल विधि, सुशासन, संस्थागत संरचना र मानवताको आदर्शमा विश्वास राख्ने समय आएको छ ।


२०८२ मङ्सिर १

बिजु सुवेदी विजय



Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा