तेजेश्वरको विद्यालय, देशको कथा
तेजेश्वरको विद्यालय, देशको कथा
पहाडको गर्भभित्र एउटा सानो खोला बग्छ— शान्त तर असल प्रवाहको प्रतीक । कहिलेकाहीँ त्यो खोला प्यासै मेट्ने जल हुन्छ, कहिलेकाहीँ पहिरो बगाउने बल । देश पनि उस्तै हो— जहाँ चेतना बग्छ भने सभ्यता जन्मिन्छ, र जहाँ चेतना थुनिन्छ, त्यहाँ सत्ताको दलदल बस्छ ।
तेजेश्वरको विद्यालय पनि त्यहीँ दलदलको मुहान बनेको थियो— शिक्षा नामको बगैंचामा स्वार्थका काँडाहरू उम्रँदै गए । शुरुमा माटोमा पसिना मिसाएर फुल फुलाउने तेजेश्वर, पछिल्लो समयमा पैसामा विवेक बेच्ने व्यापारी बन्यो । ४९ विद्यार्थीका सपना बोकेर सुरु भएको विद्यालय, ३५०० विद्यार्थीको भीडमा रूपान्तरण भयो— तर शिक्षाको आत्मा खोसियो, र विद्यालय केवल नाफाको फाइल बन्यो ।
कसैले पढाइमा उत्कृष्ट भए पनि इन्टरनेटबाट ज्ञान खोज्ने बच्चा “नियम उल्लङ्घन” का अभियुक्त ठहरिए । कसैले खेलकूदमा देशको नाम चम्काए पनि मन्त्रीको अहङ्कारले उनीहरूको मैदान बन्द गरायो र यहीँबाट देशको चरित्र झल्किन्छ —
जहाँ तेजेश्वरहरू सत्तामा पुग्छन्, र चम्पु–पम्पुहरू चेतनामा तर इतिहास कहिल्यै स्थिर रहँदैन — एकदिन हावाले दिशाअनुसार बाटो फेर्छ, आकाशले छायाअनुसार रंग बदल्छ, र पुस्ताले सोचअनुसार युग बदल्छ । तेजेश्वरहरू ढल्छन्, तर चम्पु–पम्पुहरू उठ्छन् — इन्टरनेटको जालबाट शिक्षको जरो गाडेर, सत्यको वटवृक्ष फुलाउँछन् ।
यी कथाहरू केवल एक विद्यालयका घटनाहरू होइनन्, यी त सम्पूर्ण देशका प्रतिबिम्ब हुन् — जहाँ शिक्षा, राजनीति, भ्रष्टाचार र चेतनाको संघर्ष एकसाथ बाँचिरहेका छन् ।
तेजेश्वरको विद्यालय कुनै एउटा भवन होइन, यो त हाम्रा आफ्ना विद्यालयहरू हुन् जहाँ विवेकभन्दा ठूलो विषय अंक बन्न पुगेको छ, जहाँ शिक्षकभन्दा बढी प्रभावशाली व्यापारीहरू छन्, र जहाँ विद्यार्थीहरू अझै पनि स्वतन्त्रताको खोजीमा छन् ।
तर अन्त्यमा प्रकृतिले सधैं न्याय गर्छ— धर्तीले सास फेर्छ, हावाले सत्यको गीत गाउँछ, र फेरी एकपटक हरियो वसन्त फर्कन्छ । त्यो वसन्त — चम्पु र पम्पुहरूको रूपमै —
देशमा सत्य र चेतनाको नयाँ बिहान ल्याउँछ ।
..............................................
“शुरुवातको घाम”
“तेजेश्वर सर, तलब त कहिले मिल्ने होला ?” — विज्ञान शिक्षक तर्पणले बिस्तारै भनिन् ।
तेजेश्वरको अनुहारमा मुस्कान त थियो, तर त्यो मुस्कानमा थकान मिसिएको थियो ।
“मिल्छ नि, तर्पण म्याडम । विद्यार्थीहरूका अभिभावकहरूले यस महिनाको शुल्क अझै पूरा बुझाएका छैनन् । दुई चार दिन धैर्य गर्नुहोस् न ।”
कक्षाकोठाबाहिरका नानीहरू पर्खालमा लेख्दै थिए — ‘मेरो विद्यालय, मेरो भविष्य ।’
तेजेश्वर ती शब्द हेर्दै केही बेर मौन रहे । मनमनै सोच्न थाले —
“कस्तो विडम्बना! बच्चाहरूको भविष्य बनाउने सपना बोकेको विद्यालय आफ्नै वर्तमानसँग संघर्ष गर्दैछ ।”
विद्यालयको सुरुवात गर्दा उनले ठूलो सपना देखेका थिए —
शिक्षा व्यवसाय होइन, सेवा हो ।
तर यथार्थ भने उनको आदर्शभन्दा निकै कठोर ठहरियो ।
एक साँझ उनले पत्नी रञ्जनासँग कुरा गरे ।
“रञ्जना, कहिलेकाहीँ लाग्छ, मैले गलत समय रोजेँ कि ?”
रञ्जनाले हौसला दिइन् — “तेजेश्वर, ठूलो वृक्ष पनि सानो बीउबाट सुरु हुन्छ । अहिले त बीउ मात्र रोपिएको छ । पानी दिनु त तपाईंको काम हो ।”
तेजेश्वर मुस्कुराए । त्यो मुस्कान अब थकानको होइन, प्रतिबद्धताको बनिसकेको थियो ।
अर्को बिहान, शिक्षकहरूबीच बैठक भयो ।
तर्पण म्याडमले भनिन् —
“सर, हाम्रो विद्यालयमा त पाठ्यपुस्तक पुरा नभएका विद्यार्थी पनि छन् । अभिभावकहरूलाई बुझाउन सकिन्छ ?”
“पक्कै सकिन्छ,” तेजेश्वरले उत्तर दिए,
“तर हामीले पनि उनीहरूलाई महसुस गराउनुपर्छ कि यो विद्यालय व्यापार होइन, विश्वास हो ।”
त्यो दिन तेजेश्वरले प्रत्येक विद्यार्थीको घरमा गएर कुरा गरे । कसैको घरमा बाख्रा बाँधिएको थियो, कसैकोमा माटोको छानो चुहिँदै थियो ।
तर सबै ठाउँमा एउटै कुरा उनले महसुस गरे —
“शिक्षा त उनीहरूको सपना हो, तर शुल्क तिनीहरूको बाध्यता ।”
तेजेश्वरले निर्णय गरे — जसले अहिले शुल्क तिर्न सक्दैन, उसलाई छात्रवृत्ति दिने ।
“हामीले केही समय कमाउने होइन, विश्वास कमाउने हो,” उनले शिक्षकहरूलाई भने ।
महीनौँपछि विद्यालयमा नयाँ ब्यानर टाँसियो —
“ज्ञान मन्दिर — जहाँ शिक्षा व्यवसाय होइन, आस्था हो ।”
अब विद्यार्थी ४९ होइन, ९४ भइसकेका थिए ।
तर्पण म्याडमले मुस्कुराउँदै भनिन् —
“सर, अब त हामीलाई पनि तलब समयमै मिल्ने भयो जस्तो छ ।”
तेजेश्वर हाँसे —
“हो म्याडम, जब विश्वास बढ्छ, तब आम्दानी आफैं आउँछ ।”
क्यामेराले जस्तै सूर्यको किरण विद्यालयको पर्खालमा प¥यो —
तेजेश्वरको अनुहार चम्कियो,
जस्तो ‘शुरुवातको घाम’ फेरि उदाएको होस् ।
...........................................
रङ्गशालाको विशाल मंचमा आज हजारौं अभिभावक, विद्यार्थी र अतिथिहरूको भीड थियो ।
ब्यानरमा लेखिएको थियो —
“तेजेश्वर इन्टरनेशनल स्कूल — नेपालका उत्कृष्ट विद्यालयमध्ये टपमा तेस्रो पटक पुनः चयन !”
तेजेश्वर मञ्चमा उभिएका थिए — सूट, टाई, र सुनौलो हजारी ट्रफीसँग ।
तर्पण म्याडमले माइकमा भनिन्,
“सर, तपाईंको सपना पुरा भयो । अब हामीलाई केही चिन्ता छैन ।”
तेजेश्वर मुस्कुराए, तर त्यो मुस्कान पहिले जस्तो आत्मीय थिएन ।
उनको मनमा पुरानो विद्यालयको सानो कक्षाकोठा झल्किरहेको थियो —
जहाँ उनले ४९ जना विद्यार्थीका लागि आफ्नै खल्तिबाट तलब दिएर विद्यालय चलाएका थिए ।
अब विद्यालयमा तीन हजार पाँच सयभन्दा बढी विद्यार्थी थिए ।
पर्खालहरूमा मार्बल, गेटमा सुरक्षा गार्ड, प्रत्येक कोठामा एसी र स्मार्ट बोर्ड ।
अभिभावकहरू महँगा कारमा आउँथे, र चम्पु र पम्पुका बाबु भने सधैं घाममा पसिना पुछ्दै प्रवेशद्वारमा पुग्थे ।
अफिसले हरेक वर्ष शुल्क बढाउँथ्यो, र उनीहरू जेनतेन छोराछोरीलाई त्यही पढाइरहेका थिए —
“हामी पनि धनी बच्चाजस्तै राम्रो पढोस् भन्ने चाहना मात्रैले ।”
“सर, अब त विद्यालयमा पढाउनका लागि सयौं आवेदन आएका छन्,”
लेखा प्रमुखले भनिन्,
“तलब घटाएर पनि शिक्षक राख्न सकिन्छ ।”
तेजेश्वर केही बेर मौन रहे ।
“तर तलब घटाउँदा त शिक्षकको समर्पण घट्ने होइन ?” उनले सोधे ।
“अब शिक्षकहरू अवसर खोज्दै आउँछन्, सर,” ती प्रमुखले सहज स्वरमा भने,
“उनीहरूलाई पैसा होइन, प्रतिष्ठा चाहिएको हो ।”
तेजेश्वरले मुस्कुराउन खोजे, तर त्यो मुस्कान मुखमा अड्कियो ।
उनी सम्झिए —
पहिलेको तर्पण म्याडमले भनेको वाक्य —
“तेजेश्वर, ठूलो वृक्ष पनि सानो बीउबाट सुरु हुन्छ ।”
तर अब त्यो वृक्षको छायाँले सुकाउँदै थियो — ‘मानवता’।
विद्यालयमा चम्पु र पम्पु अब अरू विद्यार्थीको हाँसोको विषय बन्न थालेका थिए —
“अँ, तिम्रो बुबा त गाडी किन ल्याउँदैनन्?”
“किन तिमीले नयाँ युनिफर्म लगाएको छैनौ ?”
उनीहरू कक्षाको कोठाको कुनामा बस्थे — मौन, विवश ।
तेजेश्वरले यो कुरा सुने ।
उनको छाती भारी भयो ।
राति अफिसको कोठामा बसेर उनले पुरानो फोटो हेरे —
४९ जना स–साना विद्यार्थीहरू र मुस्कुराइरहेका शिक्षकहरू ।
उनले बिस्तारै कुर्सीको टेबलमा हात राखे र मनमनै बोले —
“सपना त पुरा भयो, तर उद्देश्य हरायो ।”
पछिल्लो स्टाफ मिटिङमा तर्पण म्याडमले भनिन् —
“सर, अब हाम्रो विद्यालय साँचै उत्कृष्ट भयो तर तपाईं किन यति गम्भीर देखिनुहुन्छ ?”
तेजेश्वरले उत्तर दिए —
“तर्पण म्याडम, पहिले हामी भविष्य निर्माण गर्न स्कूल चलाउँथ्यौं, अब हामी ब्रान्ड बेच्दैछौं ।”
मौन छायो ।
त्यो मौन रङ्गशालाभन्दा गहिरो र भीडभन्दा ठूलो थियो ।
तेजेश्वरको विद्यालय अब “सफलताको प्रतीक” बनिसकेको थियो,
तर तेजेश्वरको मनमा एउटा प्रश्न बारम्बार गुन्जिन्थ्यो —
“शिक्षा महँगो भयो, कि मन सस्तो ?”
तेजेश्वर रङ्गशालाको भीडबाट टाढा हिँडे,
सडकको छेउमा देखे — चम्पु र पम्पु स–साना डब्बा लिएर सडकमा गुडिरहेका थिए, हाँस्दै ।
उनीहरूलाई देख्दा तेजेश्वरको आँखामा आँसु आयो —
“म विद्यालय जितेँ, तर विद्यार्थी हराएँ ।”
....................................
रातको ढिलो समय थियो । तेजेश्वरको नयाँ बंगालोभित्र बत्तीहरू झलमलिरहेका थिए ।
मूल ढोकामै सुरक्षागार्ड, वरिपरि ठूला गाडीहरू ।
टेबलमाथि सर्टिफिकेट, ट्रफी, र चेकका गड्डी ।
तेजेश्वरले हिजोमात्र एउटा पार्टीलाई एक करोड चन्दा दिएका थिए ।
अघिल्लो चुनावमा त्यही पार्टीले उनलाई समानुपातिक सूचीमा राखी सांसद बनायो ।
अब, दोस्रो चुनावमा उनले प्रत्यक्ष चुनाव जितेका थिए —
त्यो पनि पैसाको बलमा, प्रचारका विशाल बोर्ड र टेलिभिजन विज्ञापनहरूद्वारा ।
तर्पण म्याडम एकदिन भेट्न आइन् ।
“सर होइन, अब त माननीय भन्नुपर्ला,” उनले हल्का मुस्कानका साथ भनिन् ।
तेजेश्वर हाँसे, तर त्यो हाँसो अब सौम्य थिएन —
शक्ति र आत्मसन्तुष्टिको मिश्रण थियो ।
“म्याडम, अब देशकै शिक्षा नीति म बनाउने ठाउँमा छु,” उनले गर्वका साथ भने ।
“त्यो त असाधारण कुरा हो सर !”
“हो, अब शिक्षा प्रणालीलाई आधुनिक बनाउनेछु... विदेशी मोडल ल्याउनेछु... सबै विद्यालय निजीकरण गर्नुपर्छ । त्यत्तिबेलामात्र गुणस्तर आउँछ ।”
तर्पण म्याडम मौन रहिन् ।
उनले भित्तामा टाँसिएको पुरानो फोटो देखिन् —
तेजेश्वर, ती ४९ विद्यार्थीहरू र सानो पर्खाल भएको विद्यालय ।
उनले बिस्तारै भनिन्,
“सर, गुणस्तर पैसाबाट होइन, निष्ठाबाट आउँछ ।”
तेजेश्वर केही बेर मौन रहे ।
तर त्यस मौनलाई तुरुन्तै मोबाइलको घन्टीले तोड्यो —
“माननीय, प्रधानमन्त्रीले खेलकूद मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।”
तेजेश्वर मुस्कुराए —
“अब त खेल पनि मेरो हातमा,” उनले बिस्तारै भने ।
तेजेश्वर अब मन्त्री थिए ।
मन्त्रीको कुर्सी, सम्मेलन, पत्रकार, विदेशी भ्रमण— जीवन अब राजनीतिक रंगमञ्चमा बदलिएको थियो ।
कहिलेकाहीँ उनले सोध्थे आफ्नै मनलाई — “म शिक्षाविद् हुँ कि व्यापारी ? कि अब राजनीतिज्ञ मात्र ?”
तर उत्तर आउँदैनथ्यो ।
सत्ताको तामझामले त्यो आवाज ढाकिदिएको थियो ।
एक दिन उनको पुरानो साथी रञ्जनाले भनिन् —
“तेजेश्वर, तिमीले जुन विद्यालय बनायौ, अहिले त्यहाँ विद्यार्थीहरू हप्तौंसम्म टिचरको अनुहार देख्दैनन् रे ।”
तेजेश्वर गम्भीर भएनन् ।
“अब त्यो निजी कम्पनीले हेर्छ, म मन्त्री भएको मान्छे ।”
रञ्जनाले भनिन् —
“तिमीले ज्ञान मन्दिर बनाएको थियौ, अहिले त्यसको मूर्तिमा ताला लागेको छ ।”
तेजेश्वरको मुखमा केही क्षणको लागि मौनता फैलियो,
तर तुरुन्तै उनले सचिवलाई बोलाए —
“आजको प्रेस मिटिङमा शिक्षा होइन, खेलकूदको सुधारका कुरा गरौं ।”
मन्त्रीका रूपमा उनी उद्घाटन कार्यक्रममा गए ।
रङ्गशालामा ठूला पोस्टर टाँसिएका थिए —
“माननीय तेजेश्वरद्वारा नयाँ खेल नीति घोषणा ।”
त्यही रङ्गशाला — जहाँ कहिल्यै पहिले उनले विद्यालयको वार्षिक कार्यक्रम गरेका थिए । त्यो दिन हजारौं विद्यार्थीहरू थिए, आज पनि हजारौं थिए, तर भाव फरक थियो ।
तेजेश्वरको भाषण लामो भयो ।
तर भाषणको बीचमा उनको नजर तल बसिरहेका दुई बच्चातिर गयो —
चम्पु र पम्पु !
त्यो दुई अहिले एउटा स्थानीय टोलीका खेलाडी थिए —
प्लास्टिकका जुत्ता र पुरानो जर्सीमा पसिना बगाउँदै ।
उनको मनभित्र अचानक केही टुट्यो ।
“म मन्त्री बनेँ, तर ती बच्चाहरूको सपना अझै घाममा जल्दैछ ।”
त्यो रात उनी निदाउन सकेनन् ।
संसद, सत्ताको शोर, भाषणका शब्दहरू — सबै मौन थिए ।
कक्षाकोठाको त्यो पुरानो नारा फेरि उनको मनमा बज्यो —
“मेरो विद्यालय, मेरो भविष्य ।”
उनले बिस्तारै डायरीमा लेखे — “सत्ता पाएँ, तर आत्मा हराएँ ।”
बत्ती निभाइयो ।
अँध्यारो कोठाभित्र केवल एउटा आवाज गुन्जियो —
“अब समय आयो, पुनर्जागरणको ।”
........................................................
विद्यालयको ठूलो प्राङ्गणमा आज शून्यता थियो । पहिले जहाँ विद्यार्थीहरूको हाँसो गुँजिन्थ्यो, आज त्यहाँ घाँस ओइलिएको थियो । तेजेश्वर इन्टरनेशनल स्कूलले खेलकूद प्रतियोगिता रोक्ने निर्णय गरेको हप्तौं भइसकेको थियो ।
कारण ?
चम्पु र पम्पु ।
दुईजना सामान्य पृष्ठभूमिका ती बालक —
एकजना फुटबलमा, अर्को चेसमा — विद्यालयकै इतिहासमा पहिलोपटक राष्ट्रिय स्तरको पुरस्कार ल्याएका थिए ।
तर त्यसपछि विद्यालयको प्रबन्धक समिति नै अचम्म प¥यो ।
“कसरी ती सामान्य घरका केटाहरू इन्टरनेटबाट सिकेर यस्तो जित्न सक्छन् ?”
तेजेश्वरले कठोर स्वरमा भने —
“अबदेखि विद्यालयले खेलकूद प्रतियोगिता गर्नैपर्दैन । हामी पढाइमा केन्द्रीत हुन्छौं । खेलले ध्यान भंग गर्छ ।”
तर्पण म्याडमले साहस गरेर भनिन् —
“सर, यी केटाहरूमा असाधारण प्रतिभा छ । देशको भविष्य बन्न सक्छन् ।”
तेजेश्वरले कुर्सीमा टेक्दै भने — “प्रतिभा मात्रै पुग्दैन, पृष्ठभूमि पनि चाहिन्छ र हाम्रो विद्यालयको छवि बिग्रन दिन सकिन्न ।”
तर्पणको स्वर काँप्यो —
“तर सर, तपाईं त खेलकूद मन्त्री पनि हुनुहुन्छ, अनि यहाँ खेलकूदमै रोक लगाउनुहुन्छ ?”
तेजेश्वर केही बेर मौन रहे ।
त्यस मौनतामा उनको अहंकार लुकेको थियो —
शायद, त्यो डर थियो कि ‘खेल मैदानमा ती दुई केटाहरूले उनको बनावटी छवि उजागर गर्लान्’ ।
चम्पु र पम्पु अब विद्यालयमा चुपचाप बस्थे । उनीहरूको हाँसो हराइसकेको थियो । फुटबलको बल अब उनीहरूले झ्यालबाट मात्र हेर्थे । चेस बोर्डमा राजा र रानी बिच्छ्याइएका टुक्राजस्तै उनीहरू विद्यालय र आफ्नो सपनाबीच फँसेका थिए ।
एउटा दिन चम्पुले पम्पुलाई भन्यो —
“हामी विद्यालयका लागि खेल्यौं, तर विद्यालयले हाम्रो लागि ढोका नै बन्द ग¥यो ।”
पम्पुले उत्तर दियो —
“शायद, अब मैदान बाहिरको खेल खेल्नुपर्ला — जीवनको ।”
(संवाद – रञ्जना र तेजेश्वरबीच)
रञ्जनाले एउटा साँझ सोधिन् —
“तेजेश्वर, तिमीले किन विद्यालयमा खेलकूद बन्द गर्यौ ?”
तेजेश्वर झर्किए — “त्यो विद्यालय अब मेरो हैन, प्रणालीको भाग हो ।”
रञ्जनाले टेबलमाथि अखबार राखिन् —
त्यसमा लेखिएको थियो —
“खेलकूद मन्त्रीको विद्यालयमा खेलकूद प्रतिबन्ध ।”
तेजेश्वरको अनुहार मलिन भयो ।
पत्रकार सम्मेलनमा उनले हिजोमात्रै भनेका थिए —
“खेलकूद देशको मेरुदण्ड हो ।”
तर आज उनको आफ्नै विद्यालयमा त्यो मेरुदण्ड भाँचिएको थियो ।
एकदिन विद्यालयमा गुपचुप एउटा घटना भयो ।
चम्पु र पम्पुले राति विद्यालयको मैदानमा साना बत्ती बालेर फुटबल खेले ।
कसैले भिडियो खिच्यो र सो भिडियो भाइरल भयो ।
शीर्षक थियो —
“बन्देजबीच पनि सपनाको गोल ।”
भोलिपल्ट त्यो भिडियो हेर्दा तेजेश्वरको हात काँपियो ।
त्यो दृश्यमा उनले आफ्नो विगत देखे —
त्यो ४९ विद्यार्थी र सानो विद्यालयको आत्मा ।
उनको मनभित्र एउटा आवाज गुन्जियो —
“तिमीले खेलकूद बन्द गरेको होइन, भविष्य बन्द गरेको हो ।”
संसदमा अर्को दिन पत्रकारले प्रश्न गरे —
“माननीय, तपाईंको विद्यालयमा खेलकूद रोकिएको खबर सत्य हो ?”
तेजेश्वर केही क्षण बोल्न सकेनन् ।
त्यो मौनता हजार शब्दभन्दा भारी थियो ।
त्यो रात उनले आफ्नो डायरी खोलेर लेखे —
“मैदान मेटाएँ, तर हृदयमा त्यो खेल अझै बाँकी छ ।”
पृष्ठको अन्त्यमा उनले एउटा वाक्य थपे —
“अब मेरो खेल सुरु हुनेछ — अन्तरात्माको ।”
............................................
अब तेजेश्वरको विद्यालय केवल विद्यालय थिएन — त्यो एउटा व्यापारिक साम्राज्य बनिसकेको थियो ।
विद्यार्थी संख्या घट्दै थियो, तर शुल्क र शुल्कका नयाँ बहानाहरू बढ्दै ।
शिक्षकहरू अब कर्मचारी थिए, शिक्षा अब उत्पादन ।
तेजेश्वरको हुकुम सधैं अन्तिम हुन्थ्यो —
“अभिभावकहरूलाई भन्नुहोस्, बच्चालाई इन्टरनेट चलाउन नदिनू !
यी सबै ‘नेटका कुरा’ले नै उनीहरूको मन अध्ययनबाट भङ्ग गर्छ ।”
तर साँचो कारण अर्कै थियो —
इन्टरनेटमै चम्पु र पम्पुजस्ता केटाहरूले संसारसँग जोडिएर विद्यालयभन्दा परको सत्य देख्न थालेका थिए ।
तेजेश्वरलाई त्यो असहज लाग्थ्यो । किनकि जब ज्ञान स्वतन्त्र हुन्छ, नियन्त्रण गुम्छ ।
(संवाद – तेजेश्वर र लेखा प्रमुखबीच)
“सर, अब विद्यालय पहिलेझैँ टपमा छैन,” प्रमुखले भनिन् ।
“सामाजिक सञ्जालमा अरू विद्यालयहरू निकै चर्चामा छन् ।”
तेजेश्वरको अनुहार तातियो ।
“मलाई त्यो टप फिर्ता चाहिएको छ । त्यसका लागि जो गर्नुपर्छ, गर्नुस् । विज्ञापन बढाउनुहोस्, पुरस्कार घोषणा गर्नुहोस् । म चाहन्छु — विद्यालय फेरि नेपाल टप बनोस् !”
“तर सर,” प्रमुखको स्वर शान्त थियो,
“टप बन्न त गुणस्तर चाहिन्छ, प्रचार होइन ।”
तेजेश्वर क्रुद्ध भए,
“तिमीलाई तलब म दिन्छु कि उपदेश मागेको छु ?”
तेजेश्वरको आँखामा अब पैसा मात्र चम्किन्थ्यो ।
विद्यालयका विद्यार्थीहरू खेलकूद, सिर्जनशीलता र स्वतन्त्र सोचबाट टाढा पारिएका थिए ।
इन्टरनेट प्रतिबन्धपछि बालकहरू पुस्तकका अक्षर त पढ्थे, तर जीवनका अर्थ हराइसकेका थिए ।
राति अफिसमा बसेर तेजेश्वरले सोचे — “मैले यो विद्यालयबाट अरबौँ कमाउन सक्छु,
फेरि मिडियामा बुम बनाउँछु, फेरि सबैले मलाई ‘नेपालको शिक्षा नायक’ भनौं ।”
तर त्यो सपना पूरा हुन सकेन ।
एकदिन सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो —
शीर्षक थियो, “तेजेश्वर इन्टरनेशनलमा इन्टरनेट बन्द, विद्यार्थीको विद्रोह ।”
त्यो भिडियोमा केही विद्यार्थीहरू कराउँदै थिए — “हाम्रो शिक्षा रोक्न पाइँदैन !”
“इन्टरनेट अपराध होइन, अवसर हो !”
पत्रकारहरूले सोधे — “माननीय, तपाईं इन्टरनेट रोक्दै हुनुहुन्छ ? मन्त्री भएर यस्तो नीति कसरी सम्भव ?”
तेजेश्वरको जवाफ तयार थिएन । उनको स्वर हडबडियो —
“त्यो विद्यालय मेरो निजी संस्था हो, मैले नीति अनुसार मात्र...” तर त्यो वाक्य अधुरो रह्यो ।
उनको अनुहारमा चमक हरायो — अहंकारको रंग गाढिँदै गयो।
(संवाद – रञ्जना र तेजेश्वरबीच)
“तेजेश्वर, तिमीले कहिले महसुस गर्न छाड्यौ कि विद्यालय त बच्चाको संसार हो ?”
तेजेश्वर मौन रहे ।
रञ्जनाले थपिन् —
“तिमीले सृष्टि बेच्यौ, नाम बेच्यौ, अनि अन्त्यमा आत्मा पनि बेच्यौ ।”
तेजेश्वरको हातमा कप कम्पन भयो । उनले बिस्तारै कुर्सीमा टेक्दै भने —
“साँचो कुरा के हो रञ्जना, म शिक्षा बेच्दै थिएँ, तर सोच बेचिएको थाहा पाएँ ।”
बिहान सूर्य उदाउँदै थियो ।
विद्यालयको गेटमा ठूला ब्यानरहरू झुण्ड्याइएका थिए, तर विद्यार्थीहरू कम, खाली बसहरू धेरै ।
तर्पण म्याडमले स्कूलको भित्तामा लेखेको पुरानो नारा देखिन् —
“ज्ञान मन्दिर — जहाँ शिक्षा व्यवसाय होइन, आस्था हो ।”
त्यो वाक्य अब रंग उडेर फिका भइसकेको थियो ।
जस्तै, तेजेश्वरको विवेक पनि ।
त्यो रात उनले फेरि डायरी खोले —
पाँचौं वर्षको मन्त्रीकाल, अनगिन्ती सम्पत्ति, तर हृदयभित्रको रिक्तता झन् बढ्दै थियो ।
उनी लेख्दै गए — “मैले विद्यालयलाई साम्राज्य बनाएँ, तर साम्राज्य मेरो भित्री मान्छेले तोडिदियो ।”
त्यो अन्तिम वाक्यपछि उनी लामो समय कुर्सीमा टोलाइरहे ।
बाहिर हावाले झ्याल हल्लायो —
जस्तो कोही बिस्तारै भनिरहेको होस् —
“अब तिमीलाई पुनर्जन्म लिनुपर्छ — आत्माको ।”
......................................................
हो, म कथाकार — चम्पु र पम्पुको बुबा नै हुँ ।
म साक्षी छु, कसरी तेजेश्वरजस्ता पात्रहरूले विद्यालयको नाममा राष्ट्रको चेतनालाई बेच्न खोजे, र कसरी नयाँ पुस्ता — चम्पु र पम्पु जस्ता — मौन रहे पनि भित्रभित्रै विस्फोट भैरहेका थिए ।
जब भ्रष्टाचारको शासन ढल्यो, र तेजेश्वरजस्तो मन्त्रीगत संरचना पनि इतिहासको पानामा पुरियो, तब जनताले केही क्षणको राहत त महसुस गरे तर म जान्दथेँ — यो त केवल एउटा अध्यायको अन्त्य थियो, सम्पूर्ण ग्रन्थको होइन ।
किनभने भ्रष्टाचार उखेलिन्छ हातबाट होइन, चेतनाबाट ।
तेजेश्वर पक्राउ प¥यो, तर कारबाहीको ढोका अझै बन्द थियो । अदालतमा मुद्दा लम्बिँदै थियो । उसका वकिलहरू, उसका सञ्चारकर्मी साथीहरू, र उसको पैसाको छायाँले न्यायको उज्यालोलाई ढाक्दै थियो ।
तर देशको मुटुमा नयाँ धड्कन शुरु भइसकेको थियो — जेन्जी आन्दोलन ।
त्यो आन्दोलनको नेतृत्व गर्थे मेरा छोराहरू — चम्पु र पम्पु ।
उनीहरूले इन्टरनेटको माध्यमबाट “Nepal Relearn Movement” सुरु गरे —
एक यस्तो अभियान जसले शिक्षा, चेतना र पारदर्शितालाई एउटै धारामा ल्यायो ।
पहिलो नारा थियो —
“विद्यालय होइन, विचार बिक्न रोकौँ ।”
देशभरका विद्यार्थीहरूले यस आन्दोलनलाई साथ दिए । सरकारी विद्यालयका शिक्षकहरू, प्राध्यापकहरू, र सामान्य नागरिकसम्मले समर्थन गरे ।
तेजेश्वरको विद्यालयमा पनि विद्यार्थीहरूले आवाज उठाए —
“हाम्रो पढाइ अब डरमा होइन, स्वतन्त्रतामा ।”
त्यो दिन, पहिलोपटक विद्यालयमा प्रहरी होइन, विद्यार्थीहरूको आँखा चम्किएका देखिए — सत्यको प्रकाशमा ।
त्यो दृश्य म आज पनि सम्झन्छु — आकाश खुलिसकेको थियो । मदनपुरको सानो खोलाले नयाँ गीत गाइरहेको थियो — हिउँदपछि पहिलो वसन्त आयो, जसले पहाडका ढुंगामाटोलाई समेत हरियो बनाइदियो । वनका बोटहरू हावासँग कुरा गर्दै थिए — जस्तो लाग्थ्यो, धर्तीले पनि सास फेर्न सुरु गरेकी होस् ।
चम्पु र पम्पु त्यही ढिस्कोमा उभिएका थिए जहाँ कहिले तेजेश्वरले आफ्नो विद्यालयको ढोका बन्द गरेर
“इन्टरनेट निषेध” को आदेश दिएको थियो । अहिले त्यही ठाउँमा वायफाय टावर उभिएको छ —
र, त्यो टावरले शिक्षा, स्वतन्त्रता र सहानुभूति प्रसारण गरिरहेको छ ।
साँझको सूर्य टल्किरहेको थियो — सुनौलो उज्यालोले देशका पहाड र उपत्यकालाई न्यानो रङ्गले माछ्थ्यो । हावाले बोटका पातमा बजाउँथ्यो —
“सत्य कहिल्यै हराउँदैन, केवल मौन रहन्छ ।”
मलाई लाग्यो — प्रकृतिले नै सत्यको पुनर्जागरण मनाइरहेकी छ ।
तेजेश्वरहरू ढल्छन्, तर फूल फेरि फुल्छन्,
नदी फेरि बग्छ,
आकाश फेरि निलो हुन्छ ।
र म — चम्पु र पम्पुको बुबा —
मुस्कुराएँ,
किनकि मैले देखेँ —
देश फेरि उठेको छ,
सत्य फेरि बोल्न थालेको छ,
र प्रकृतिले फेरि मानवको आत्मामा विश्वास राख्न थालेकी छ ।
........................................
२०८२ कात्तिक २४
बिजु सुवेदी विजय
Comments
Post a Comment