आशाको रेशमी किरण
आशाको रेशमी किरण
संसारले बिहानको पहिलो उज्यालो चिन्दैन, जबसम्म उसको मनमा आशाको एक रेशमी किरण झल्किँदैन । यही किरण हो, जसले रातभरको अँध्यारो सहने धैर्य दिन्छ, र भित्ताजस्तै मौन जीवनमा पनि कुनै अर्थको प्रकाश ल्याउँछ । आकाशको पूर्व कुनामा जब घामको पहिलो रेखा पर्छ, पहाडका काँधमा बिस्तारै सुनजस्तै न्यानो झल्को पस्छ, त्यो क्षणमा नदी पनि नाच्छ, र हावाले बिर्सिएका पातहरू समेट्दै कानमा भन्छ— “फेरि नयाँ दिन सुरु भयो, फेरि नयाँ आशा पलायो ।”
प्रकृतिले सधैँ यही सिकाउँछ— कुनै रात अन्तिम हुँदैन, कुनै हराएको कुरा सधैँ हराउँदैन, जसरी बादलले सूर्यमाथि पर्दा हाल्छ तर उसको ज्योति रोक्न सक्दैन । जीवनका ती साना घटनाहरू— पचास रुपैयाँको भुल, टेम्पोको धुवाँ, सिनेमा हलको टिकट, सबै वास्तवमा यही प्रकृतिको शाश्वत पाठ हुन् ।
कहिले बिजुलीझैँ चम्केर, कहिले हावाझैँ स्पर्श भएर,
हामीलाई सम्झाइरहन्छन्न्—
आशा कहिल्यै मर्दैन, केवल स्वरूप बदल्छ ।
“आशाको रेशमी किरण” यो कथाको आत्मा हो ।
यो किरण भित्ताभित्र बोल्ने चेतना हो,
मनको अँध्यारोबाट बाहिर निस्किने आत्मस्वर हो ।
यही किरणले समय, पैसा, नियति र सम्बन्धलाई
एकै उज्यालो सूत्रमा बाँध्छ—
जसको रेशमी न्यानोपनले जीवनलाई फेरि विश्वासको रंग दिन्छ ।
जसरी बिहानको ओसको थोपा घामसँग मिल्दा मोतीझैँ झल्किन्छ,
त्यसरी नै जीवनका दुःखहरू पनि आशाको उज्यालोमा पुग्दा अर्थवान् बन्छन् ।
त्यसैले, यो केबल कथा होइन—
यो त जीवनका बिखरिएका घटनाभित्र आशाको पुनर्जागरण हो ।
जो भित्र र बाहिर दुबै उज्यालो पार्छ ।
घरमा आज एक किसिमको मौन छ । खालि कुर्सीहरू, निस्क्रिय रेडियो, र भित्तामा टाँसिएका केही पुराना तस्बिरहरू—यी सबैसँगै म शान्त भएर बसिरहेको थिएँ ।
“भित्ते,” म बिस्तारै भित्तातिर हेरेर भनें, “आज ‘परान’ हेरेर आएँ, नेपाली आत्माको गहिरो रङ पो देखेँ ।”
भित्ताले उत्तर दिएझैँ लाग्यो—शायद मकैको रङमा पुरानो पप्लस्तर र हावाको कंपनले बोलेकै हो—
“सिनेमाले छोयो त ?”
“हो, छोयो,” मैले हाँसेर भनें, “साधारण कथाभित्र कस्तो गहिरो बुबाको मर्म थियो — न अभिनेता चमक, न अति संवाद; तर बुबाको मिहिनो मन, जसले तीन विवाहित छोराहरूसँग पनि ‘कर्तव्य’ नामको अदृश्य धागो तानिरहेछ ।”
भित्ताले शान्त स्वरमा भन्यो, “त्यो त तिमी पनि बुबै हौ नि । छोरा त अहिले कहाँ छ ?”
“छोरा ? ऊ त इन्टरनेटमा हराएको छ ।” म निस्सासिँदै हाँसेँ, “गृहकार्य, असाइनमेन्ट, युट्युब... यी उसको सिनेमा हुन् । आज मैले सोचेँ— दुई घण्टा हलसम्म बस्न लगाउनु भनेको उसलाई कष्ट दिनु हो । उसलाई आफ्नो संसार बाहेक अरूको कथा बुझ्ने फुर्सद छैन ।”
भित्ताले हल्का चिसो स्पर्श दिएझैँ ग¥यो । म फेरि बोलें “तर मलाई खुशी छ, ऊ ‘खाली’ छैन । उसका दिमागमा थुप्रो सोच छन्, योजनाहरू छन् । त्यसैले म हर्षित छु ।”
भित्ताले सम्झायो, “तर कहिले काँही उसलाई पनि ‘परान’ देखाऊ न, जहाँ बुबा हराएको प्रेम, जीवनको उत्तरदायित्व, र अन्त्यमा आत्मा नै उज्यालो भएर फर्कन्छ ।”
म मुस्कुराएँ, “साच्चै, त्यो अन्त्य त अद्भुत थियो— जब बुबाको त्याग र प्रेम एकैसाथ उजागर भयो, म आँखाबाट आँसु पुछ्दै थिएँ । न त अवाज ठूलो थिए, न दृश्य महँगा, तर संवादहरू चपल र झट्कादार—
‘बुबा त त्यही हुन् नि, जसले तातो भातको गन्धमा पनि सन्तानको माया पकाउँछन् ।’”
भित्ताले त्यो वाक्य दोहोरायो जस्तो लाग्यो—
“सन्तानको माया पकाउँछन्...”
घरको मौन फेरि बोल्न थाल्यो ।
भित्तामा टाँसिएको एउटा पुरानो तस्बिर—जहाँ म र मेरो छोरो सँगै हाँसिरहेका थियौं—त्यसले पनि हल्का मुस्कान फ्याँक्यो ।
म सोच्छु, कहिलेकाँही सिनेमा पर्दाभन्दा ठूलो पर्दा यही घरकै भित्तामा चल्छ, जहाँ सम्झनाहरू, संवादहरू र मौनहरू एकैसाथ अभिनय गर्छन् ।
बाहिर झरी पर्न थाल्यो ।
भित्ताको रङले पानी सोस्दै मलाई भन्यो,
“तिमीले लेख्न नछोड । तिमीलाई त अक्षरकै खेती मन पर्छ नि ।”
मैले कलम उठाएँ, अनि सोचें— सिनेमा ‘परान’को बुबाजस्तै, म पनि हरेक दिन आफ्ना अक्षरहरूको जिम्मेवारी सम्हाल्दैछु ।
जीवन पनि त त्यही हो—साधारण, तर मिहीन ढङ्गले बोकेको एउटा कथानक, जसको अन्त्यमा हरेक बुबाको परान, सन्तानकै हर्षमा समाहित हुन्छ ।
बाहिरको वर्षाले अब आकाशको धुलो धोइरहेको छ । बिजुलीको चमकले क्षणभर मेरो भित्तामा नयाँ छायाहरू बनाइरहेको छ—जसरी बुबा र छोराबीच हराएको संवाद फेरि उज्यालोमा फर्किएको छ । हावाले झ्याल ढकढक्याउँछ, र म भित्तासँग फेरि भन्छु—
“भित्ते, यो मौन पनि कति जीवन्त हुन्छ है...”
...................................
सिनेमा हलको टिकट मेरो हातमा आइसकेको थियो । हलभित्र छिर्न अझै तीस मिनेट बाँकी थियो । घडीले ११ः४५ बजेको देखाइरहेको थियो । पेटले हलचल मच्चाएको थियो — बिहानको नास्ता पनि ढिलो भएको, अनि उत्सुकताले मन पनि भोकै थियो ।
त्यसैले म नजिकैको एउटा सानो भेज होटलमा पसें । ढोका खोलेको बित्तिकै भाँडाको टन्न टन्न आवाज र हल्का बेसारको गन्धले स्वागत ग¥यो । काउन्टर पछाडि खैरो हाफसर्ट लगाएको वेटर भन्यो,
“के दिने सर ?”
“छिटो केही खान पाइन्छ ?” मैले हतारो मुखले सोधेँ ।
“पाइन्छ नि, एउटा प्लेट तरकारी, दुई चप, सिँगडा अनि लेमन टि बनाइदिन्छु ।”
“ठिक छ, यही देऊ ।”
वेटरको हात चाँडो चल्यो । एकछिनमै मेरो अगाडि गन्धैले भोक बढाउने खाजा आइपुग्यो । मैले पनि धेरै सोचिनँ — खाइहालें । तरकारीमा नुन अलि बढी थियो, तर म त्यसैलाई स्वादको रूपमा लिएँ । हतारको नास्ता, हतारकै चिया ।
खाईसकेर काउन्टरतिर गएँ । त्यहाँ रिसेप्सनिस्ट म्याम टोक्दै केही लेख्दै थिइन् ।
मैले नोट अघि बढाएँ ।
“कति भयो ?”
“जम्मा ११५,” उनले बेफिक्री स्वरमा भनिन् ।
मैले तुरुन्तै पैसा दिएँ । उनले ससर्त मुस्कान हाले र बचेको पैसा फिर्ता गर्न हात तानेकी मात्र थिइन्, त्योबेला वेटर हतारिँदै अगाडि आयो—
“म्याम, नत्र ! ...५० कटाउन त विर्सनुभयो नि ! तरकारी ५० थियो ।”
त्यो सुनेर म स्तब्ध भएँ ।
“के ? ५० ? पहिले त ११५ भन्नुभयो !”
म्यामको स्वर अलि तिखो बन्यो,
“अँ, तरकारी छुट्यो रे, त्यसैले जम्मा १७० हुन्छ ।”
मैले न अधर हल्लाएँ, न विरोध गरेँ । पैसा निकालेर राखिदिएँ तर त्यो क्षणभित्र के भयो— म आफूभित्र एकछिन सन्नाटामा परेँ ।
भित्तामा टाँसिएको पुरानो मेनु कार्डमा भने अझै पनि लेखिएको थियो— तरकारी सेटः ११५ मात्र ।
मैले सोध्न खोजें, “अनि त्यो मेनुमा...?”
तर वेटरको नजर घडीमा थियो, मेरो सिनेमा सुरु हुनलागेको समयजस्तै ।
मैले सोचें— कसरी सानो गल्तीमा पनि मानिसहरू सत्यभन्दा बहस खोज्छन् ।
के ५ रुपियाँ साँचोको मूल्य घटाउँछ र ?
मौन भएँ ।
बाहिर निस्कँदा घाम अलि झुल्किएको थियो । म सडक पार गर्दै थिएँ— मनमा दुई विचार गुन्गुनाइरहेका थिएः
पहिलो, सिनेमा सुरु हुन लाग्यो;
दोस्रो, साँचोको मूल्य, सायद नूनभन्दा पनि सस्तो भएको छ ।
भित्तामा ठोक्किएझैँ लाग्यो मेरो मनको स्वर—
“तिमीले त अक्षरको खेती गर्छौ, होइन र ?”
मैले मनभित्र जवाफ दिएँ, “हो, तर कहिलेकाहीँ अक्षरभन्दा अगाडि अनुहार पढ्न गाह्रो पर्छ ।”
सिनेमा हलमा पुग्दा ढोका बन्द हुँदै थियो । म हतारिँदै भित्र छिरेँ। पर्दा उज्यालो भयो । त्यहाँ पनि एउटा बुबा देखिँदै थिए— जो हरेक चोटि सत्यका साना कुराहरूमा पनि आफ्नो परान खोजिरहेथे ।
म हल्कै मुस्कुराएँ ।
शायद सिनेमा र वास्तविक जीवनबीचको रेखा यति पातलो छ कि कहिले काँही टिकट र तरकारीबीच पनि एउटा कथा लुकेर बस्छ ।
............................................
हतारले सिनेमा हलतिर दौडिँदै गएँ । टिकटको कुनो अलिकति मोलिएको थियो — बिहानको हतार र तरकारीको झमेला अझै मनमा बाक्लो थियो ।
ढोका ढकढक्याउँदै भित्र पसेँ ।
काउन्टरमा एउटा युवकले मुस्कुराउँदै भन्यो, “नाम र मोबाइल नम्बर टिपाउनुस् सर, अब नयाँ नियम छ।”
मैले नोटबुकमा आफ्नो नाम र नम्बर लेखेँ — कलम चलाउँदा अक्षरहरू अलि हल्लिएका थिए, जस्तै मन पनि अलि अस्थिर थियो ।
गेटमा उभिएको गार्डले मेरो ब्याग हेर्दै भन्यो, “भित्र औषधि लैजान मिल्दैन सर ।”
“यो त ब्लड प्रेसरको औषधि हो, नियमित खानुपर्छ ।”
उसले केहीबेर मलाई हेर्दै रह्यो, अनि हाँस्यो, “ठिक छ सर, मेरो बुबालाई पनि ब्लडप्रेसर, सुगर र थाइराइड छ । तपाईं जानुस् ।”
म मुस्कुराउँदै भित्र पसेँ । त्यो सामान्य वाक्यले मेरो मनलाई नरम बनायो —
अलिकति संवेदना कहिलेकाहीँ टिकटभन्दा ठूलो पासपोर्ट हुँदो रहेछ ।
भित्र अँध्यारो थियो । पर्दामा उज्यालो फैलिसकेको थियो । सिनेमा सुरु भएको पाँच मिनेट भइसकेको रहेछ तर त्यो पाँच मिनेट छुटेको पनि छुटेजस्तो लागेन — कथा त मेरो आफ्नै जीवनसँग मेल खाइरहेको थियो ।
कथामा बुबा आफ्नै तीन छोरासँग व्यवहारमा अल्झिएका थिए, कर्तव्य र ममता बीचको दोधारमा ।
मैले सास फेरेँ, अनि महसुस गरेँ— पर्दामा म पनि कतै छु । त्यो सलल बगिरहेको कथा कहिले रोएर, कहिले हाँसेर, सिधै मुटुमा पस्दै गयो ।
र, थाहा नै नपाई मध्यान्तर भयो ।
म हलबाट बाहिर निस्केँ ।
हलभित्रकै बेकरी क्याफे नजिकै थियो— त्यहाँ त्यति भीड थिएन, जति हलमा थिए । केहीजना मात्र आफ्ना कफी र मोबाइलसँग व्यस्त थिए ।
म पनि उभिएँ, सोचें— “थप ३० मिनेट समय छ ।”
पर्स खोलेँ, हिसाब गरेँ — २०० रुपैयाँ हुनुपर्ने ।
त्यसैले वेटरलाई भनें, “ए सानो कपको कफी देऊ, यही २०० जाने होला ।”
वेटरले ‘ठिक छ सर’ भन्दै तयार गर्न गयो ।
मैले पर्स फेरि हेरेँ — तर त्यहाँ १५० मात्र !
“ए... होइन, भयो भयो,” म छक्क परेँ, “क्यान्सिल है ! पैसा पुगेन ।”
वेटर मुस्कुरायो, “ठिक छ सर, कुनै कुरा होइन ।”
उसको त्यो सरल मुस्कानले केही सम्झायो — सायद सत्य पनि कहिलेकाहीँ यति नै सजिलो हुन्छ, जब हामी स्वीकार गर्छौं । म हलभित्र फर्किएँ । पर्दा फेरि उज्यालो भयो ।
त्यो बेला गायक सुजन चापागाईंको बाइग्राउन्ड स्वर गुञ्जिरहेको थियो— “मनका कुरा मनमै रहून्...”
त्यो गीतसँगै मेरो चेतनामा केही बत्ती बल्यो ।
म अचानक सम्झिएँ— भेज होटलमा मैले “तरकारी छुट्यो” भनेर दिएको ५० रुपैयाँ वास्तवमा बढ्ता थियो !
मसँग ठगी गरिएको थिएन— बरु मैले नै ५० रुपैयाँ बढी दिएको रहेछु ।
म हल्का हाँसेँ ।
भित्तामा टाँसिएको पर्दा हेर्दै लाग्यो— “सत्य कहिले हराउँदैन, ऊ त केवल चुप लाग्छ, जबसम्म हामी आफैं खोज्दैनौं ।” मलाई त्यो सानो सत्यमा ठूलो शान्ति महसुस भयो ।
कसरी एक कप कफी र एक गीतले मनभित्रको भ्रम पगालिदियो !
पर्दामा बुबा आफ्ना छोराहरूसँग हाँस्दै थिए ।
म पनि भित्रभित्रै सम्झँदै थिएँ— जीवनमा कहिले काँही ५० रुपैयाँ भन्दा ठूलो कुरा हराउँदैन,
तर त्यो पत्ता लगाउँदाको क्षण, त्यो हो परानको सत्य ।
सिनेमा हलको बाहिर निस्कँदा साँझको उज्यालोले सहरलाई सुनको रङ दिएको थियो ।
हावामा हल्का कफीको गन्ध र सुजनको स्वर अझै मिसिएको थियो ।
म सोच्दै थिएँ— “जीवन पनि सिनेमा जस्तै हो, तर टिकट होइन, सत्यले मात्र अन्त्यमा प्रवेश दिन्छ ।”
..............................
साँझको हावा अलि चिसो थियो । आकाशमा मधुरो सुनौलो रङ बिस्तारै हराउँदै थियो, जस्तै आजको दिन पनि शान्त भइसकेको थियो । म किराना पसलतिर हिँड्दै थिएँ—न त मनमा सिनेमा बाँकी थियो, न बिहानको हतार । केवल एउटा सानो शून्यता थियो, जुन सायद ५० रुपैयाँको सम्झना थियो ।
पसल पुग्दा त्यहाँ केही मानिसहरू उभिएका थिए—कसैले तेल तौलाउँदै थिए, कसैले सुतली र चिनीको मोल सोध्दै ।
म पनि ‘तेल कति पर्छ ?’ भनेर सोध्न खोज्दै थिएँ, त्यही बेला पसलेले हाँस्दै भन्यो— “अरे सर ! तपाईंले हिजो ५० रुपैयाँ बढी दिएर जानुभो नि !”
म अचम्म परेँ, “के ? साँच्चै ?”
उनले काउन्टरभित्रबाट एउटा मुचिएको नोट निकाल्दै भने, “हजुर गएपछि मैले गनें, रकम ठीक भएन । १५० नै त दिनु भएको रहेछ । बाकि यो ५० फिर्ता ।”
म केहीबेर उसलाई हेर्दै रहेँ । त्यो क्षणमा न त आश्चर्य थियो, न शंका—थियो त केवल एक किसिमको न्यानोपन । मैले नोट लिँदै मुस्कुराएँ,
“धन्यवाद, तपाईंले त आजको दिनको सिनेमा नै राम्रो बनाइदिनुभयो ।”
उनले ठट्ट्याए, “सिनेमा होइन सर, यो त हाम्रो व्यापारमा पनि सत्यको ट्रेलर हो ।”
त्यो वाक्य सुन्दा म हाँसेँ, तर मनभित्र कतै गहिरो अर्थ गड्यो । मैले त्यो ५० बोहोनी नभएको हलको कयाफेमा २००को ब्ल्याक कफी खान पाएको भए यसको महतत्व अझ बढ्थ्यो । के गर्ने ? सत्य कहिले हराउँदैन, केवल केही समयका लागि झिँगाले ढाकिदिन्छ । त्यसपछि म तेल लिएर बाटो लागेँ । सहरको बत्तीहरू बल्न थालेका थिए, र म सहरसँगै उज्यालिँदै थिएँ ।
भित्तासँग मनमा संवाद चलिरहेको थियो—
“देख्यौ नि भित्ते, संसारमा अझै यस्ता मान्छे बाँकी छन्— जसले ५० रुपैयाँको सट्टा विश्वास फिर्ता गर्छन् ।”
भित्ताले उत्तर दिएको अनुभूति भयो, “हो, त्यसैले त अक्षरको खेती फल्छ, जब सत्यले पानी सिँच्दछ ।”
भोलिपल्ट बिहानै म टेबहालतिर निस्किएँ ।
मनमा नयाँ उज्यालो थियो—आज म केही किन्ने होइन, केही सिक्ने मनस्थितिमा थिएँ ।
संकटाको गल्लीमा पुरानो स्टेसनरी पसल भेटियो । साहूजी टेबलमा टोनरको खाली बट्टा मिलाइरहेका थिए ।
मैले भनेँ, “आजकल म आफै रिफिल गर्न थालेको छु, यहाँ टोनर पाइन्छ ?”
साहूजी मुस्कुराउँदै, “पाइन्छ पाइन्छ, राम्रो कम्पनीको छ । कति चाहिन्छ ?”
“दुईवटा देऊ,” मैले सहज स्वरमा भनेँ ।
१५० का दुई टोनर उनले प्याक गरे ।
मैले पैसा दिँदै सोधेँ, “यो टोनरले कतिका पाना छाप्ला त ?”
उनले हाँस्दै जवाफ दिए,
“यदि प्रिन्टरमा धुलो नजम्यो भने, धेरै छापिन्छ—ठिक त्यसैगरी जस्तो मनमा धुलो नजम्यो भने, सत्य पनि धेरै चम्किन्छ ।”
मैले मुस्कुराएर टोनर लिँदै भनें,
“त्यो त ठीक भन्यौ साहूजी—साँचो मनको प्रिन्टर चलाइराख्नुपर्छ ।”
घर फर्किँदा आकाशमा चन्द्रमा शान्त भएर टल्किरहेको थियो । म हातमा टोनर बोकेर सोच्दै थिएँ—
कहिले काँही सानो गल्ती, सानो फिर्ता, र सानो मुस्कानले पनि जीवनको मोल बढाइदिन्छ ।
भित्तामा फर्किएर कलम राख्दा त्यसले जस्तो भन्यो—
“तिमीले फिर्ता ल्याएको त केवल ५० होइन, सत्यमा हराएको भरोसा हो ।”
.......................................
भोलिपल्ट बिहान सबेरै म फर्कने तयारीमा थिएँ । सहरको घाम अझै लजाएको थियो, सडकमा थोरै मान्छे मात्र देखिन्थे । मेरो हातमा एउटा १००० रुपियाँको नोट मात्र बाँकी ।
मनले भन्यो—“यहीले बाटो त काटिन्छ ।”
बस स्ट्यान्डमा पुग्दा, एक पुरानो म्युजिक बस तयार थियो—त्यसको अघिल्लो सिटमा ‘धेरै कुरा नबोल्ने’ अनुहारको ड्राइभर ।
म भित्र पसें, टिकटको पैसाको रूपमा १००० नोट अघि बढाएँ । “छोटो नोट छैन ?” उसले सोध्यो ।
मैले मुस्कुराएँ, “छैन, भइहाल्छ नि, पछि दिनुस् ।”
“ठिक छ,” भन्यो ऊ, अनि नोट खलासीलाई दियो ।
बस सुस्त गतिको जीवनझैँ अघि बढ्यो ।
सडकमा धुलो उड्थ्यो, गीत बज्थ्यो — “सारंगीको तानमा सम्झना...”
तर यात्रुहरू बिस्तारै ओझेल परे, अन्ततः म मात्रै बाँकी रहेँ—बसभित्र, सीट र सडकबीच । गन्तव्य आइपुग्दा, ड्राइभरले साइडमा गाडी रोकेको थियो ।
मैले भनें, “पैसा फिर्ता दिनुहोस् नि ।”
उसले खलासीलाई हेरेर भन्यो, “ए, साट्न जाऊ त, अगाडिको बस आउँदैछ ।”
खलासी दौडँदै गयो ।
केही मिनेटपछि ऊ हाँफिँदै फर्कियो—हातमा दस–दसका नोटको चाङ ।
उसले काउन्टरमा राख्दै भन्यो, “ल, यति धेरै पैसा बोक्नु हुँदैन है अंकल, अनि बढीबढी अरूलाई पनि दिनुहुँदैन । आजकल समय बदलिएको छ ।”
म हल्का हाँसेँ ।
“तिमीहरू त साना उमेरका तर कुरा भने ठूला गर्छौ ।”
ड्राइभरले स्टेरिङ समाउँदै मुस्कुरायो, “हामी त बाटोका मान्छे हौं सर, पैसाभन्दा बढी भरोसाको घाटा देखेका छौं ।”
त्यो वाक्यसँगै गाडी हुइँक्यायो—धुलोको एक मुस्लो मुनि म उभिएँ,हातमा ९ सय ५० रुपैयाँ र मनमा केही गहिरो चेतना ।
भित्तासँग संवाद फेरि मनमा सुरु भयो—
“देख्यौ नि भित्ते, संसारमा सत्यको मूल्य अझै छ, तर त्यसको सट्टा पनि सर्त हुन्छ—विश्वास ।”
भित्ताले उत्तर दिएझैँ लाग्यो,
“हो, र विश्वास पनि साटिन सक्छ, जसरी नोट साटिन्छ, तर साँचो मनमा चल्ने मुद्रा कहिल्यै खतम हुँदैन ।”
त्यो पलमा मैले महसुस गरेँ—
जीवनको यात्रामा हामी सबै यात्रु हौं,
कसैले फिर्ता दिन्छ, कसैले सम्झना, कसैले चेतना।
बसको धुलोले सडकको छेउका बुट्टाहरू ढाकिरहेको थियो ।
म हातमा दस–दसका नोट समाउँदै सोच्दै थिएँ—
जीवन पनि त्यस्तै हो,
ठूला नोटमा सुरु हुन्छ, तर अन्त्यमा साना साना क्षणहरूमा नै फिर्ता पाइन्छ ।
भित्तामा फर्किएर कलम राख्दा त्यसले भन्यो—
“तिमीले फिर्ता ल्याएको पैसा होइन, अनुभव हो — जसले तिम्रो अक्षरको खेती अझ गहिरो बनाउँछ ।”
..............................................
बसको धुलो टाढा हराउँदै गयो, र म सडकको छेउमा उभिँदै दस–दसका नोट गन्दै थिएँ ।
गन्दै जाँदा एकाएक ठमेलको सानो पसल सम्झिएँ — त्यहाँका मानिसहरूले पनि साँचोमा गन्दै गन्थे, तर अर्थ बुझ्दैनथे ।
नोटहरू गन्दै जाँदा मेरो औँला एकछिन रोयो —
“दस... बीस... तीस... नौ सय... हजार... एक हजार पचास!”
मैले छक्क परेँ।
“ए... यो के भयो ? उसले त मलाई १०५० फिर्ता दियो !”
क्षणभर म स्तब्ध भएँ।
“मैले त भाडा पनि तिरेको छैन, बरु उल्टै ५० बढी पाएँ ।”
मात्र ५० रुपैयाँ, तर त्यसको अर्थ निकै ठूलो लाग्यो ।
मनभित्र एक प्रश्न गुन्गुनायो — “के यो ५० समयमै आएको हो ?”
पसलका घटना, सिनेमा हलको मध्यान्तर, र बिहानको तरकारी— सबै सम्झना एकैचोटि परेडझैँ आए।
म सोच्दै गएँ,
“यदि यही ५० मैले त्यतिबेला पाएको भए, त्यो बेकरी क्याफेमा कफी पिउँदै गीत सुन्दै आराम गर्न पाउँथें होला ।
तर के त्यही बेला नै पाउनु आवश्यक थियो?” मैले हातमा त्यो नोट अटाएर त्यसलाई सोधेँ—
“हे ५०, तिमी किन समयमै नआएको ?”
त्यो सानो कागजको टुक्राले केही बोलेन, तर हावाले हल्का हल्लायो, र भित्ताको आवाज झैँ लाग्यो—
“किनकि तिमीले समयभन्दा अघि सिक्नुपर्ने पाठ बाँकी थियो ।”
म मुस्कुराएँ ।
“साँचो हो, यदि म पहिले पाएको भए, त्यो ५० केवल खर्च हुने थियो; तर अहिले, त्यो ५० ‘चेतना’ बनेर आएको छ— जसले मलाई सम्झाइदियो, जीवनमा हरेक कुरा आफ्नो समयमै अर्थपूर्ण हुन्छ ।”
त्यो क्षणमा लाग्यो— पैसा, सिनेमा, तरकारी, टोनर, बस— सबै केवल सन्देशका प्रतीक हुन् । साँचो त समयको रहस्य हो, जसले ५० रुपैयाँमार्फत पनि बोल्छ ।
भित्ताले फेरि भन्यो—
“तिमीले पचास होइन, समय फिर्ता पाएको हौ ।”
म हाँसेँ र त्यो नोट डायरीभित्र राखें ।
त्यो मेरा लागि अब मुद्रा होइन, स्मृति थियो—
सही समयमा आएको एउटा सन्देश, जसले भन्यो—
“जीवनमा ढिलो आउनु पनि कहिलेकाहीँ ठीक समयमा आउनु हो ।”
साँझको उज्यालो बिस्तारै हराउँदै थियो । म गल्याङ सडकको छेउमा, त्यो पचास नोटलाई समाउँदै उभिएको थिएँ । रवि क्षितिज मुनि डुब्दै थियो— ठीक त्यसरी, जसरी दिन ढिलो भएर पनि सुन्दरै गरी विदा लिन्छ ।
भित्ताले अन्तिमपटक बिस्तारै भन्यो— “समय त कहिल्यै ढिलो हुँदैन, ढिलो त हाम्रो बुझाइ हुन्छ ।”
....................................
बसको त्यो साँझको घटना पछि, म साँच्चै ‘५० रुपैयाँ’ सँग संवाद गर्दै सोचिरहेको थिएँ—
“के यो ढिलो आएको सन्देश हो ?”
त्यही सोचाइले मलाई अनायासै फ्ल्यास ब्याक तिर लिएर गयो ।
...त्यो बेला पनि म व्यस्त थिएँ । सबैलाईभन्दा बढी काम गर्ने गर्व थियो मलाई । साधारण “सेल” बाटै पनि असाधारण सिर्जना निकाल्ने आत्मसन्तोष थियो । मैले बनाएको सिट— यस्तो डिजाइन कि, म आफैं मख्ख परेर भनिदिन्थेँ— “यो कुनै किताबवालाले पनि बनाउन सक्दैन, यस्तो छ मेरो टेबल !”
त्यो समयका १०–१०का नोट म स–साना कामबाट जम्मा गर्थेँ । सहकारीमा खाता खोलिसकेको थिएँ— बचत गर्न, भविष्यको भरोसाको लागि । ३,००० रुपैयाँमा सुनको तोला पाइने जमानामा मैले १०,००० जम्मा गरेको थिएँ । अनि त्यो १०,००० नै लिएर म एकदिन विक्रम टेम्पोमा चढेँ— कालो धुवाँ फाल्दै गुडिरहेको त्यो टेम्पो, थकाइको साथसाथै सपनाको बोझ पनि बोकेर हिँडिरहेको जस्तो लाग्थ्यो ।
टेम्पोमा सानो खलासी थियो— बालक जस्तो । मुस्कुराउँथ्यो, “भाडा दिनुस्” भन्दा पनि सभ्य स्वरमा ।मैले पकेटको अगाडिबाट ५ रुपैयाँ निकालेर दिएँ ।
त्यो बेला त्यही हर्षको क्षण थियो— “कस्तो असल केटा रहेछ, यस्ता नै मान्छेले देश चलाउने हो ।” तर, जब टेम्पो हुइँकँदै गयो, मेरो मनमा केही अस्वस्थता भयो ।
छातीमा हात लगाएँ— हलुँगो लाग्यो । सुरुमा त अहिले बसबाट फिर्ता पाएको दशको विटोजस्तै खल्ती गह्रुँगो थियो ।
झसङ्ग परेँ ।
पसल, नोट, सहकारी, सपना— सबै सम्झना धमाधम टुक्रिएर खसे ।
१०,००० हराएको अनुभूति केवल पैसा हराउनु होइन, “विश्वास” हराउनु थियो ।
गर्मीको मौसम थियो, तर म चीसो भएर काँपिरहेको थिएँ । म त्यो खलासी बालकको अनुहार सम्झिरहेँ— उसले मेरो हातबाट पैसा लिँदा जसरी नजर उठाएको थियो, त्यसै नजरमा अब हजारौँ प्रश्नहरू पलायमान भइरहेका थिए ।
“के उसले लिएको हो ?”
“के मैले नै कहाँ राखेको थिएँ ?”
उत्तरहरू थिएनन्, केवल शून्य थियो तर त्यसै क्षण, मेरो अन्तर्मनले फुसफुसायो—
“संसारमा हराउने कुरा पैसा होइन, ‘अर्थ’ हो । र तिमीले हराएको अर्थ पुनः पाउनेछौ, जब तिमी त्यसमा समयको सन्देश देख्न सिक्छौ ।”
मौनता लामो फैलियो । त्यो घटनाबाट वर्षौँ बितिसक्यो । तर आज पनि, जब हातमा ५० रुपैयाँ आएको सम्झन्छु, म ठ्याक्कै त्यो टेम्पोको कालो धुवाँ, त्यो खलासीको अनुहार, र मेरो हलुँगो खल्ती सम्झन्छु ।
त्यो पैसा गए पनि, एउटा चेतना बाँकी रह्यो—
“कहिलेकाहीँ हराउनु भनेको, गहिरो अर्थ भेट्टाउनु पनि हो ।”
त्यो फ्ल्यास ब्याकको दृश्य बिस्तारै हराउँदै जान्छ—
म गहिरो रातमा, झ्यालबाट हेर्दै छु,
शहरको बत्तीहरू टिमटिमाइरहेका छन्—
जसरी मेरो भित्री स्मृतिहरू अझै टिमटिमाइरहेछन् ।
भित्ताले फेरि हल्का स्वरमा भन्यो—
“हराएको नोट फर्केर आउँदैन, तर त्यसले तिमीलाई ‘मूल्य’ सिकाएर जान्छ ।”
म अघिल्लो दिन पाएको ५० रुपैयाँ समाउँदै हाम्फाले जस्तो मुस्कुराएँ—
“शायद यही हो, समयसँगको संवाद ।”
.....................................
साँझ अलिक शान्त थियो । म पुरानो डायरीका पाना पल्टाउँदै थिएँ—
त्यही डायरी, जसमा म कहिलेकाहीँ “हराएको तलब” भनेर कथा लेख्थेँ, त्यो मेरो निजी आत्मकथाको, अनि समयसँगको साक्षात्कारको पनि दस्तावेज थियो । आज त्यो डायरीको एउटा फोटोकपी मैले छोरालाई पठाएँ ।
केही मिनेटमै वेब क्याममा ऊ देखा प¥यो— मुस्कुराउँदै, तर आँखा अलिक गम्भीर ।
“बुबा, मैले पढेँ त्यो कथा,” ऊ भन्थ्यो, “तर अब त समाचारमा त हेर्नुस्— पोखरा विमानस्थलमा १० अर्बको घोटाला भयो रे, यस्ता सयौँ केस छन् ।”
ऊ हाँस्यो—
“त्यसको अगाडि त हजुरको त्यो हराएको पैसा वान बाइ लाख्स पर्सेन्ट मात्रै हो नि !”
उसको हाँसोमा विडम्बना पनि थियो, व्यङ्ग्य पनि, अनि चेतना पनि ।
म चुपचाप सुन्दै थिएँ ।
उसले फेरि भन्यो—
“मुहार सफा पारेर आउने त यही ५० मात्र हो, बुबा ।
तर अब जेनेरेसन जेन्जीलाई ठीक पार्न त जेने अल्फा आउनै पर्छ ।”
त्यो वाक्यले मलाई गहिरो छोयो ।
क्यामेराको पारिपट्टि ऊ,
साइन्टिफिक क्याल्कुलेटरमा केही देखाउँदै थियो—
“यो हिसाब हेर्नुस् बुबा,” ऊ भन्थ्यो,
“यदि एक जनाले इमानदारी सिकायो भने,
त्यो दस जनामा फैलिन्छ, अनि त्यो नै पुनर्जागरणको सूत्र हो ।”
म उसको आँखामा एउटा नयाँ युगको ज्योति देख्थेँ ।
त्यो ज्योति केवल गणित होइन—
विश्वासको पुनर्जन्म थियो ।
त्यो ५० रुपैयाँ, त्यो टेम्पो, त्यो हराएको नोट,
सबै अहिले सम्झिँदा—
एकै सूत्रमा गाँसिएका लाग्थे,
जसले जीवनको ठ्याक्कै अर्थ बताइरहेका थिए—
“हराउने कुरा पैसा होइन, मानवताको संवेदना हो ।”
म त्यो रात उभिएर झ्यालबाट हेर्दै थिएँ— बाहिर आकाशमा ताराहरू चम्किरहेका थिए, जसरी भित्रका सोचहरू पनि उज्यालो भइरहेका थिए । सहरको बत्तीहरू टिमटिमाइरहेका थिए— ठ्याक्कै उस्तै, जस्तै हरेक इमान्दार मन अझै बाँचिरहेछ ।
त्यही बत्तीहरू बीच मैले डायरीको अन्तिम पृष्ठमा लेखेँ—
“विश्वास हराएको छैन,
केवल स्वरूप बदलिएको हो ।
नोट हराउँछ, तलब हराउँछ,
तर मानिसको भित्री सत्य— कहिल्यै हराउँदैन ।”
अनि अन्त्यमा लेखेँ—
“मेरो सानो ५० फिर्ता आएको दिन,
वास्तवमा विश्वासको पुनर्जन्म भएको दिन थियो ।”
वेबक्यामको पिक्सलहरूमा छोराको हाँसो तैरिरहेको थियो, त्यो हाँसोभित्र भविष्यको धड्कन थियो ।
म मुस्कुराएँ, अनि मनमनै भनें— “अब त नयाँ पुस्ताले नाफा होइन, मानवताको ब्याज बुझ्ने समय आएको छ ।”
जब सगरमाथाको चुचुरोमा घामको पहिलो रेशम उत्रन्छ,
त्यो किरण हिमालको हिउँमाथि टल्किँदै
देशका हरेक अनुहारमा झल्किन्छ,
त्यो नै हो —
“आशाको रेशमी किरण”,
२०८२ कात्तिक २७
Comments
Post a Comment