कथा ः— अन्तरिक्ष यात्रा

 कथा ः— अन्तरिक्ष यात्रा

१

नासाको प्रशिक्षण केन्द्रको विशाल हलभित्र सुनीता विलियम्स र बुच विल्मोर अन्य अन्तरिक्षयात्रीहरूसँग बसेका थिए । उनीहरूको अगाडि प्रशिक्षक जेम्स स्टोन उभिएका थिए । उनले बोर्डमा ठूलो अक्षरमा लेखे – “अन्तरिक्षमा बाँच्ने कला ।”


“तपाईंहरूलाई स्वागत छ,“ जेम्सले गम्भीर स्वरमा भने, “तपाईंहरूलाई थाहा छ, अन्तरिक्ष केवल रोमाञ्चक यात्रा मात्र होइन, त्यहाँ जीवनको प्रत्येक क्षण चुनौतीपूर्ण हुन्छ । यदि तपाईंहरू यहाँबाट अन्तरिक्ष जान तयार हुनुहुन्छ भने, पहिलो कुरा बुझ्नुपर्छ – अनुशासन !”


सुनीताले टाउको हल्लाइन् । उनले बच्चादेखि नै अनुशासन सिकेकी थिइन्, तर अन्तरिक्ष यात्राको लागि चाहिने अनुशासन भिन्न खालको थियो ।


“आज हामी शून्य गुरुत्वाकर्षण वातावरणमा रहने प्रशिक्षण गर्छौं,” जेम्सले भने । “सबै जना आफ्नो स्थानमा जानुहोस् !”


समूहका सबै जना “वेटलेसनेस ट्रेनर” नामक विशेष विमानमा प्रवेश गरे । यो विमान पृथ्वीको गुरुत्वाकर्षणबाट मुक्त हुने गरी उडान भर्न सक्थ्यो, जसले गर्दा अन्तरिक्षमा जस्तै तैरिन सकिन्थ्यो ।


विमान उड्न थालेपछि, केही मिनेटमै सबै जना हावामा तैरन थाले ।


बुच हाँस्दै सुनीतातिर हेर्दै बोले, “यो त साँच्चै रोचक छ !”


सुनीताले पनि मुस्कुराउँदै भनिन्, “तर यहाँ केवल रमाइलो होइन, हामीले सन्तुलनमा रहन सिक्नुपर्छ । अन्यथा, अन्तरिक्षमा हाम्रो शरीर नियन्त्रण बाहिर जान सक्छ ।”


त्यसपछि प्रशिक्षकले आदेश दिए, “अब, तपाईंहरूलाई अन्तरिक्षमा जीवनको आधारभूत कार्यहरू गर्न सिकाइन्छ ।”


जेम्सले बोर्डमा अर्को शब्द लेखे – “आपतकालीन स्थिति”


“अन्तरिक्षमा समस्या आउँदा तपाईंहरूले कस्तो प्रतिक्रिया देखाउनुहुन्छ, त्यसमा तपाईंहरूको जीवन निर्भर रहन्छ,” उनले भने। “हामीले अब अक्सिजन प्रवाहमा अवरोध आउँदा के गर्ने भन्ने सिक्नेछौं ।”


प्रशिक्षणको क्रममा, सुनीता र बुचलाई स्पेससुट लगाइयो । उनीहरूलाई एक विशेष सिमुलेटरभित्र राखियो, जसले अक्सिजन प्रवाह रोकियोस् भन्ने परिस्थितिलाई प्रतिकृति बनाएको थियो ।


बुचले सास फेर्दै भने, “सुनिता, म सास फेर्न गाह्रो महसुस गर्दैछु !”


सुनीताले तत्कालै उनको स्पेससुटको कन्ट्रोल जाँच गरिन् र भने, “तिम्रो अक्सिजन भल्भ बन्द हुन सक्छ, म खोल्ने प्रयास गर्छु !”


थप पाँच सेकेन्डपछि, अक्सिजन पुनः प्रवाह भयो । प्रशिक्षक जेम्सले टाउको हल्लाउँदै प्रशंसा गरे, “सुनीता, तिमीले सतर्कता देखायौ ! यस्तो परिस्थितिमा निर्णय क्षमता नै जीवनरक्षक हुनसक्छ ।”


सात महिनाको कठोर तालिमपछि, अन्तिम परीक्षण बाँकी थियो – मानसिक स्थिरता !


प्रशिक्षक जेम्सले सबैलाई एक बन्द कोठामा राखे । यहाँ कुनै घडी थिएन, कुनै आवाज थिएन, कुनै बाहिरी सम्पर्क थिएन । उनीहरूलाई पूर्ण एक्लोपनमा तीन दिनसम्म बस्न लगाइयो ।


सुनीताले पहिलो दिन शारीरिक अभ्यास गरिन्, किताब पढिन्, र ध्यान गरिन् तर दोस्रो दिन, उनले महसुस गरिन् कि समयको बोध हराउँदै गइरहेको थियो ।


बुचले हाँस्दै भने, “सुनीता, के तिमीलाई लाग्छ कि दुई दिन भइसक्यो ?”


सुनीताले टाउको हल्लाउँदै भनिन्, “सायद होइन, तर यहाँ बस्दा समयको बोध गुम्छ । यही कुरा अन्तरिक्षमा पनि हुनेछ ।”


तेस्रो दिन जब ढोका खुल्यो, प्रशिक्षक जेम्सले उनीहरूलाई हेरिरहे । “तपाईंहरू पास हुनुभयो । तपाईंहरूको मनोवैज्ञानिक तयारी पूरा भइसकेको छ !”


वर्षौंको तयारीपछि, सुनीता र बुच अन्ततः अन्तरिक्ष यात्राको लागि तयार थिए ।


प्रक्षेपणको दिन, जेम्सले उनीहरूलाई अन्तिम सुझाव दिए, “अन्तरिक्षमा जाँदा तपाईंहरूले सिकेका सबै कुरा सम्झनुहोस् । तपाईँहरूलाई सफलता मिलोस् !”


जसै रकेट आकाशतर्फ उड्यो, सुनीता र बुचले प्रशिक्षकलाई अन्तिम पटक सलाम गरे । अब उनीहरू वास्तविक अन्तरिक्ष यात्राको सामना गर्न तयार थिए !


यो केवल एउटा यात्रा थिएन, यो अनुशासन, साहस, र धैर्यको परीक्षा थियो ।


२


सुनीताले आफूलाई सम्झाउँदै भनिन्, “हामी यहाँ रहनका लागि तयार छौँ । अन्तरिक्ष हाम्रो नयाँ घर हुनेछ !”


समुद्रको छेउमै एक विशाल भीड जम्मा भएको थियो । सबैको नजर आकाशतर्फ तेर्सिएको थियो । टाढाबाट आउने एउटा सानो कालो बिन्दु विस्तारै ठूलो हुँदै गयो, अनि केही बेरमै प्यरासुट खोलिएर यान पानीमा अवतरण ग¥यो ।


सिएनएनका पत्रकारले उत्सुकतापूर्वक भने, “अन्ततः, नौ महिनापछि सुनिता विलियम्स ’सनि’ र ई विल्मोर ’बुच’ पृथ्वीमा फर्केका छन् !”


यान समुद्रमा हल्किहाल्की हल्लिरहेको थियो । वरिपरि डल्फिनहरूको समूह घेराबन्दी गरेर तैरिरहेको देखिन्थ्यो । उद्धार टोली तत्कालै अगाडि बढ्यो ।


सनिले हल्का मुस्कान गर्दै बुचलाई हेर्दै भनिन्, “हामी फेरि पृथ्वीमा छौं, बुच !”


बुचले टाउको हल्लाउँदै भने, “अद्भूत छ, होइन ? नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा पाइला टेक्न पाउनु...अवर्णनीय !”


“तर सम्झनु, हामी त केवल आठ दिनका लागि गएका थियौं,” सनिले हाँस्दै भनिन् ।


“हाहाहा, हो ! तर हाम्रो अन्तरिक्ष यानले धोका दियो,“ बुचले व्यंग्य गर्दै उत्तर दिए ।


सनि अलिकति गम्भीर हुँदै भनिन्, “तर सोच त, हामीले अन्तरिक्षमा बिताएका ती नौ महिना... शून्य गुरुत्वाकर्षण, अजीब अनुभवहरू, पृथ्वीलाई बाहिरबाट हेर्ने सौभाग्य...”


बुचले टाउको हल्लाउँदै सम्झे, “त्यस रात हामीले पृथ्वीको उज्यालो सहरहरू हेरेका थियौं, हैन ? कस्तो सुन्दर देखिएको थियो !”


सनिले थपिन्, “अनि हामीले गुरुत्वाकर्षणबिना कफी पिउन सिक्यौं, हावामा किताब तैराएर पढ्यौं, अनि तिम्रो अनौठो तरिकाले खाना खाने शैली...!”


बुच हाँसे, “हे भगवान ! पहिलो महिनानै मलाई तौल नबढ्ने भए पनि फिटनेस गर्नुपर्छ भनेर तनाव थियो !”


सनिले गम्भीर हुँदै भनिन्, “तर त्यो नौ महिना केवल रमाइलो मात्र थिएन, है । कहिलेकाहीं पृथ्वी फर्कन पाइन्छ कि पाइँदैन भन्ने डर पनि लाग्थ्यो ।”


बुचले स्वीकृतिमा टाउको हल्लाए, “हो, खासगरी जब यानको सोलार प्यानलमा समस्या आयो... हामीले त केही हप्ता त्यसलाई मर्मत गर्नमै बितायौं ।”


“अनि त्यो सञ्चार समस्या ! कति दिन हामी पृथ्वीसँग सम्पर्कविहीन भयौ ं!” सनि ले सम्झिइन् ।


“तर आज हामी यहाँ छौं,“ बुचले सन्तोषको सास फेर्दै भने ।


त्यसै बेला उद्धार टोली यानसम्म पुग्यो ।


“कप्तान विलियम्स, मिस्टर विल्मोर, तपाईंहरूलाई घरमा स्वागत छ !” एउटा उद्धारकर्मीले मुस्कुराउँदै भन्यो ।


सनि र बुचले एकअर्कालाई हेरिरहे । उनीहरू अब फेरि पृथ्वीको गुरुत्वाकर्षण महसुस गर्दै थिए ।


सनिले भनिन्, “अब साँचो अर्थमा घर फर्किन पायौं !”


यानबाट बाहिर निस्कँदै गर्दा सनि र बुचले टाउको निकालेर आकाशतिर नियाले । घामको न्यानो उज्यालो अनुहारमा पर्दै थियो । समुद्रको ताजा हावा महसुस गर्दै सनिले मुस्कुराउँदै भनिन्, “हेल्लो एभ्रिवन !”


वरिपरि उभिएका उद्धारकर्मीहरू र वैज्ञानिक टोलीले उनीहरूलाई उत्साहका साथ स्वागत गरे । “तपाईंहरूलाई स्वागत छ !” उनीहरूले हात मिलाउँदै भने ।


सुरक्षाकर्मीहरूले सनि र बुचलाई हल्का सहयोग गर्दै स्ट्रेचरमा राखे । सनिले गुरुत्वाकर्षण महसुस गर्दै आफ्नो खुट्टा धर्तीमा टेकिन्, “यो भावना अविश्वसनीय छ !” उनले भनिन् ।


बुच झन् उत्साहित हुँदै उठेर हिँड्न खोजे तर शरीर लरबर भयो । “हेहे, मेरो खुट्टा अझै पृथ्वीसँग तालमेल गर्न तयार छैन,” उनले ठट्टा गरे । उद्धार टोलीका सदस्यहरूले उनलाई समाते र स्ट्रेचरमा राखे ।


बुच हाँस्दै हात हल्लाउँदै भने, “म त तैरिन सक्दिनँ, तर यो महसुस पनि अद्भुत छ !”


नासाले घोषणा ग¥यो कि दुबैजनाको स्वास्थ्य अवस्था सामान्य छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले भने, “उनीहरू केही समय चिकित्सकीय निगरानीमा रहनेछन् ।”


सनिले आकाशतिर फर्केर हेर्दै बिस्तारै भनिन्, “नौ महिना अन्तरिक्षमा बिते तर अन्ततः हामी घर आइपुग्यौं ।”




गत वर्षको जुन महिनामा अन्तरिक्ष यात्रामा निस्केका सनि र बुचले कल्पनाभन्दा निकै फरक अनुभव सँगाले ।


बुचले सम्झँदै भने, “हामीले शून्य गुरुत्वाकर्षणमा जीवन चलाउने तरिका मात्र होइन, धैर्य, संयमता, र टोली भावना पनि सिक्यौं ।”


सनिले सहमतिमा टाउको हल्लाइन्, “यदि हामी कुनै साधारण मानिस भएका भए, सायद यति लामो समय अन्तरिक्षमा जिवित रहन असम्भव हुन्थ्यो ।”


बुचले मुस्कुराउँदै थपे, “तर हामीले प्रमाणित ग¥यौं कि मानव मस्तिष्कले जस्तोसुकै कठोर वातावरणमा पनि आफूलाई अनुकूल बनाउने क्षमता राख्छ ।”


सनिले सम्झिइन्, “ती रातहरू जब हामीले पृथ्वीलाई बाहिरबाट नियाल्यौं, शून्यमा हराएर पनि मानसिक रूपमा बलियो रहनुको अर्थ बुझ्यौं ।”


बुचले हाँस्दै भने, “अन्ततः, यो यात्रा केवल विज्ञानको लागि मात्र होइन, सम्पूर्ण मानवजातिको लागि प्रेरणादायक रह्यो ।”


सनिले आकाशतिर हेर्दै बिस्तारै भनिन्, “अब पृथ्वीमा फर्केपछि पनि, अन्तरिक्षले हामीलाई दिएको पाठ कहिल्यै नबिर्सौं !”


बेलुन जस्तो स्पेस यानभित्र तैरँदै बिताएका नौ महिना केवल आरामदायक थिएनन् । एक दिन बुचले भनिन्, “हामीले बाहिर निस्केर यान मर्मत गर्नुपर्नेछ, सुनिता ।”


सुनिता अलि गम्भीर देखिइन्, “त्यहाँ बाहिर जोखिम छ, तर हामीलाई गर्नु नै छ ।”


स्टेशन बाहिर निस्किँदा, उनीहरू अन्तरिक्षको अनन्त शून्यतामा हराएजस्तै महसुस गरे । बुचले टेलिस्कोपको प्रकाश फिल्टर मिलाउँदै भने, “यो काम जटिल छ, तर गर्नैपर्छ ।”


सुनिताले ऊर्जा संयन्त्रको एडप्टर मिलाउँदै भनिन्, “अन्तरिक्षमा बाँच्न केवल विज्ञान होइन, साहस पनि चाहिन्छ ।”


नौ महिनापछि पृथ्वी फर्केपछि, उनीहरूले अन्तरिक्षमा मात्र होइन, जीवनमा पनि नयाँ दृष्टिकोण लिएर आएका थिए ।


२०८१ चैत्र ७

बिजु सुवेदी विजय











Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा