श्रमिक नारी दिवस ८ मार्च
श्रमिक नारी दिवस ८ मार्च
ठूलो सहरको एक कारखानामा, जहाँ दिनरात श्रमिक नारीहरू पसिना बगाउँदै काम गर्थे, त्यहाँकी एक महिला थिइन्—राधा । उनी केवल एक कामदार मात्र थिइनन्, उनी एक क्रान्तिकारी थिइन् ।
एक सय वर्षभन्दा अगाडि, जब नारी श्रमिकहरू न्यूनतम तलब, लामो कार्यसमय र शोषणका चपेटामा परेका थिए, त्यही बेलामा अमेरिकाको कपडा उद्योगमा काम गर्ने महिलाहरूले आफ्ना अधिकारका लागि आवाज उठाए । उनीहरूलाई दबाउने प्रयास गरियो, तर उनीहरू झुकेनन् ।
राधाले बाल्यकालदेखि नै श्रमको मूल्य चुकाएकी थिइन् । उनका बुबा बितेपछि उनले सानो उमेरमै आफ्नो परिवार धान्न सिलाइ–बुनाइको काम गर्न थालिन् तर, जब उनले महिला श्रमिकहरूको संघर्षबारे सुनेकी थिइन्, उनको मनमा जागरुकताको ज्योति बल्यो ।
एकदिन, कारखानाको मालिकले तलब घटाउने निर्णय गर्यो । राधाले यसलाई स्वीकार्न सकिनन् । उनले अन्य महिलाहरूसँग मिलेर विरोध गर्ने निर्णय गरिन् । उनीहरूले एउटै स्वरमा भनिन्—“हामी शोषण सहँदैनौँ, हाम्रो अधिकार सुनिश्चित गर ।” उनको आव्हानमा सयौं महिला एकजुट भए ।
यो आन्दोलन त्यति सजिलो थिएन । मालिक पक्षले उनीहरूलाई धम्क्यायो, कतिलाई जागिरबाट हटायो । समाजका कतिपय मानिसहरूले समेत उनीहरूलाई अपमान गरे तर राधा र उनका सहकर्मीहरू दृढ रहे । उनीहरूको संघर्षको आवाज अन्तर्राष्ट्रिय स्तरमा गुञ्जियो । यही संघर्षको प्रतीकस्वरूप ८ मार्चलाई महिला श्रमिक दिवसका रूपमा विश्वभर मनाइने निर्णय भयो ।
समय बित्दै गयो । आन्दोलन सफल भयो । महिला श्रमिकहरूले उचित पारिश्रमिक, सुरक्षित कार्यस्थल, बराबरी अवसर प्राप्त गरे तर यो मात्र सुरुवात थियो । राधाले थाहा पाइन्—लैङ्गिक समानताको युद्ध अझै समाप्त भएको छैन ।
आज ८ मार्च आउँदा, हामीले केवल नारी श्रमिकहरूको संघर्ष सम्झनु मात्र होइन, यो युद्ध अझै जारी छ भन्ने बुझ्नुपर्छ । समाजका हरेक क्षेत्रका महिलाहरूले स्वतन्त्रता, समानता र सम्मानका लागि अझै पनि निरन्तर संघर्ष गरिरहेका छन् ।
राधाको जस्तै साहस बोकेर, नारीहरू आफ्नो हकका लागि एकजुट हुनुपर्छ । जबसम्म हरेक नारीले समान अधिकार प्राप्त गर्दिनन्, तबसम्म यो क्रान्ति जारी रहन्छ । ८ मार्च केवल एउटा दिन होइन, यो संघर्षको प्रतीक हो ।
२०८१ फागुन २४मा परेको ८ मार्च २०२५को महिला श्रमिक दिवसको शुभकामनासहित
२०८१ फागुन २२
बिजु सुवेदी विजय
Comments
Post a Comment