दीव्य वाणी

 दीव्य वाणी


विवेक आफ्नो पुरानो गाउँ घर फर्किएको थियो । करिब दस वर्षपछि पहिलो पटक ऊ त्यहाँ गएको थियो । घर उस्तै थियो, आँगनको रुख उस्तै थियो, तर एउटा चीज भने फेरिएको थियो— हजूरबुबा अब त्यो आँगनमा थिएनन् ।


आँगनमा उभिएर विवेकले सम्झ्यो, त्यही ठाउँ जहाँ हजूरबुबा कुर्सीमा बस्नुहुन्थ्यो, हातमा एउटा पुरानो किताब समातेर उसलाई असल वाणी सुनाउनुहुन्थ्यो ।


“सम्पत्ति कमाउने भए जोखिम मोल, शिक्षा चाहिएको छ भने पुस्तक पढ । अझ परेर जानेका कुरा मनमा गढ !” हजूरबुबाको त्यही आवाज सम्झँदा उसको आँखामा आँसु टिलपिलायो ।


त्यही बेला, भित्रबाट आमा आइन् । “कति समयपछि आयौ बाबु ! हजूरबुबाले त तिमीलाई धेरै सम्झिनुहुन्थ्यो । तिमीलाई भेट्न पाइएन भनेर कति निराश हुनुभएको थियो !”


विवेकले टाउको झुकायो, मन भारी भयो । उसले त शहरको दौडधुपमा, करियरको अत्तो नपत्तो खोज्दा हजूरबुबालाई एकपटक भेट्न पनि सकेनछ ।


त्यसपछि, आँगनको कुर्सीमा बस्दै विवेकले फेरि सम्झना ग¥यो ।


बच्चा बेलाको त्यो दिन

ऊ सानो छँदा, एकदिन ऊ किताबभन्दा बाहिर खेल्न जान खोज्दै थियो । हजूरबुबाले मुस्कुराउँदै भने, “पढ्न त मन लाग्दैन, नि है ?”


विवेक अलिकति हिचकिचायो । “पढ्नुपर्छ भनेर थाहा छ, हजूरबुबा तर, कहिलेकाहीँ अल्छी लाग्छ ।”


हजूरबुबाले हाँस्दै भने, “ठीक छ, अब यस्तो गर । बिहान किताब पढ, बेलुका खेल । शिक्षा पनि प्राप्त हुन्छ, रमाइलो पनि गर्न पाइन्छ तर, एक कुरा सम्झ— किताबमा लेखिएका कुरा पढ्नु मात्र होइन, ती कुरा आत्मसात् पनि गर्नुपर्छ ।”


त्यस दिनदेखि विवेकले पढाइलाई गम्भीर रूपमा लिन थाल्यो ।

समय बित्दै गयो...

हजूरबुबाको प्रत्येक वाणी उसले जीवनमा लागू ग¥यो । जब ऊ व्यापार गर्न निस्कियो, हजूरबुबाका शब्दहरू कानमा गुन्जिए— “सम्पत्ति कमाउने भए जोखिम मोल ।” उसले नयाँ व्यापार सुरु ग¥यो, कैयौं संघर्ष गरे, केही असफलतासमेत भए, तर कहिल्यै हरेस खाएन ।


जब ऊ थकाइ लाग्दा घर फर्किन्थ्यो, ऊ पार्कमा गएर बस्ने गर्थ्याे, जहाँ रूखहरू, चरा–चुरुङ्गी र शान्त वातावरण हुन्थ्यो । अनि फेरि सम्झन्थ्यो— “शान्तिका लागि प्रकृतिसँग रमाऊ ।”

हालको समय...

अब विवेक एउटा सफल मानिस थियो तर हजूरबुबा भने थिएनन् ।


त्यो आँगनमा कुर्सीमा बसेर ऊ आफ्नै विगत नियाल्दै थियो । उसको मनमा एउटा प्रश्न खेलिरहेको थियो— “यदि हजूरबुबाले तातेताते नगराउनुभएको भए, के म आज यहाँसम्म आइपुग्थेँ ?”


उसले हजूरबुबाको कुर्सी छाम्दै बिस्तारै भन्यो, “धन्यवाद, हजूरबुबा । हजूरले मलाई दौडन, हिँड्नमात्र होइन, बाँच्न पनि सिकाउनुभयो ।”


त्यति बेला भित्रबाट आमा आइन् । “बाबु, थाक्यौ होला ! आऊ, खाजा खान बस ।”


विवेक मुस्कुराउँदै भित्र छि¥यो तर आँखा भने हजूरबुबाको पुरानो कुर्सीमै टाँसिएको थियो । त्यही कुर्सी, जहाँ उहाँ बसेर उसलाई जीवनका गहिरा कुरा सिकाउनुहुन्थ्यो ।


समयको पानामा फर्केर...

विवेक सानै थियो, जब उसले पहिलो पटक हारको सामना गरेको थियो ।


त्यसदिन विद्यालयमा दौड प्रतियोगिता भएको थियो । ऊ निकै आशावादी थियो, तर दौड जित्न सकेको थिएन ।


रुँदै घर फर्किएपछि, हजूरबुबाले मुस्कुराउँदै सोध्नुभयो, “के भयो रे ? हाम्रो सानु नाति यति दुःखी किन देखिन्छ ?”


विवेक नजिकै आएर भन्यो, “हजूरबुबा, म हारें ! मलाई लाग्यो म जित्छु, तर अरू साथीहरू द्रूत दौडिए । म त दौडको बीचमै थाकेर पछाडि परें ।”


हजूरबुबाले सर्लक्क कपाल मिलाउँदै उसको टाउको मुसार्दै भन्नुभयो, “छोरा, राम्रो जीवनका लागि मेहनत गर्न नछोड । तिमी आज हारेको होला, तर यदि अभ्यास गर्यौ भने भोलि जित्न सक्छौ । जित्नेहरू एकैपटक जित्दैनन्, बारम्बार मिहिनेत गर्छन् ।”


विवेकले आँसु पुछ्यो । “तर, हजूरबुबा, म साँच्चै दौड्न सक्छु त ?”


हजूरबुबाले टेबलमा राखिएको एउटा पुरानो घडी समाउँदै भने, “यो घडीलाई हेर । यसको काँटा सधैं अगाडि नै बढ्छ । कहिल्यै पछाडि फर्कंदैन । तिमी पनि यही घडीको जस्तै बन्नुपर्छ । रोकिनु हुँदैन । हरेक दिन अभ्यास गर, म तिमीलाई सधैं हेरिरहनेछु ।”


त्यस दिनदेखि विवेक बिहान–बिहान दौड अभ्यास गर्न थाल्यो ।

हालको समय...

अब विवेक ठूला उद्योगहरूको मालिक बनिसकेको थियो तर, आफ्नो सफलताभन्दा बढी ऊ हजूरबुबाका ती अमूल्य उपदेशहरूलाई सम्झिन्थ्यो ।


शहरमा सफलता हात पारेपछि, ऊ फेरि गाउँ फर्केको थियो ।


एकदिन बिहान ऊ उही पुरानो आँगनमा उभिएर सोच्दै थियो, “यदि हजूरबुबाले त्यसबेला तातेताते नगराउनुभएको भए, म हिँड्न, दौडन, उठ्न, संघर्ष गर्न सिक्ने थिइनँ ।”


त्यत्तिकैमा, उसको छेउमा एकजना सानो केटो आयो, जुन उसको भाइको छोरो थियो ।


“दाइ, म पनि तिमीजस्तै बन्न चाहन्छु ।” केटोले आँखा चम्काउँदै भन्यो ।


विवेकले पनि सर्लक्क कपाल मिलाउँदै उसको टाउको मुसा¥यो । “त्यसो भए, मेहनत गर्न कहिल्यै नछोड । शरीर स्वस्थ राख्न कसरत गर । आफूलाई परिवर्तन भएको हेर्न चाहन्छौ भने यी सबै कुरामा अग्रसर बन ।”


साँच्चै, समय बित्छ, पुस्ता बदलिन्छ, तर असल वाणीहरू कहिल्यै मर्दैनन् । हजूरबुबाको उपदेशहरू उसकै शब्दहरूमा पुनः जीवित भइरहेका थिए ।


बिहानीको चिसो बतासले आँगनका पातहरू हल्लायो । विवेकले महसुस ग¥यो— हजूरबुबा कहींकतै छैनन्, तर उहाँका शब्दहरू हरेक दिन ऊसँगै बाँचिरहेका छन् ।


.......................................................................................................................

आजको दिन विवेकका लागि कुनै साधारण दिन थिएन। वर्षौंदेखि मनमा लुकाइराखेको एउटा ठूलो सपना आज साकार हुन लागेको थियो— "हजूरबुबाको दिव्यवाणी" नामक पुस्तक सार्वजनिक हुने दिन ।


उज्यालो सभाहल, अगाडि राखिएको स्टेज, पुस्तकहरू राम्ररी सजाइएका थिए । हल भरि आफन्त, शिक्षक, साथीभाइ, पत्रकारहरू थिए तर विवेकको मन भने अतीतको सम्झनाहरूमा हराइरहेको थियो ।


समयको पानामा फर्केर...

एकदिन, विवेक हजूरबुबासँग बसेर उहाँका पुराना कागजहरू हेरिरहेको थियो ।


“हजूरबुबा, तपाईंले किन यति धेरै लेख्नुभएको छ ?” उसले कौतूहलता व्यक्त ग¥यो ।


हजूरबुबाले मुस्कुराउँदै भने, “यो मेरा अनुभवका अक्षरहरू हुन्, बाबु । जीवनले मलाई जे सिकायो, तिनलाई लेखेर राख्न मन लाग्यो ।” 


विवेकले ती कागजहरू पल्टाउँदै सोध्यो, “तर हजूरबुबा, तपाईंका यी अमूल्य उपदेशहरू अरूलाई पनि थाहा हुनु पर्ने होइन र ?”


हजूरबुबाले हल्का हाँसेर निधारमा हात राख्दै भने, “राम्रा कुरा यसरी नै पुस्तान्तरण हुँदै त हाम्रो समाज यत्ति विकसित अवस्थामा आएको हो नि विवेक ।” “म सधैं तिमीसँग हुनेछु, विवेक। मेरा यी विचारहरू जिउँदै रहनेछन्, यदि तिमीले तिनलाई बचाइराख्न सक्यौ भने ।”


त्यो दिनको कुरा विवेकलाई कहिल्यै बिर्सन सक्दैन ।

...

हालको समय...

सभाहलमा उद्घोषकको आवाज आयो, “अब हामी निमन्त्रणा गर्छौं लेखक श्री विवेकलाई, जो आज हामीलाई ’हजूरबुबाको दिव्यवाणी’ पुस्तकबारे केही बताउनुहुनेछ ।”


विवेक स्टेजमा उभियो, मन भारी थियो । ऊ माइक समातेर बोल्न थाल्यो, “आज म जुन स्थानमा उभिएको छु, त्यो मेरो हजूरबुबाको मार्गदर्शनकै कारण सम्भव भएको हो । उहाँले सधैं भन्नुहुन्थ्यो— ’राम्रो जीवनका लागि मेहनत गर्न नछोड । स्वस्थ शरीरका लागि कसरत गर । यदि तिमी आफैंलाई परिवर्तन भएको हेर्न चाहन्छौ भने, साना–साना असल बानीहरू अंगाल ।’


उसले हल्का सास फे¥यो र अगाडि थप्यो, “आज उहाँ यहाँ हुनुहुन्न, तर उहाँका शब्दहरू छन् । उहाँका विचारहरू छन् । उहाँकै शिक्षाले मलाई जीवनको बाटो देखायो । यही कारणले मैले उहाँका असल विचारहरूलाई पुस्तकको रूपमा साकार पारेको छु । यो पुस्तक केवल कागजका अक्षरहरू होइन, यो मेरो हजूरबुबासँगको भावनात्मक नाता हो ।”


त्यसपछि, ऊ हलको एक छेउमा बसेकी आमातिर फर्कियो । आमाको आँखाभरि आँसु थियो । विवेकले माइकतिर फर्केर फेरि भन्यो, “म सधैं सोच्थें— यदि हजूरबुबा हुनुहुन्थ्यो भने, उहाँ यो पुस्तक हेरेर के भन्नुहुन्थ्यो ? सायद उहाँ हल्का हाँस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो— "अब मात्र लेख्यौ बाबु ? धेरै ढिलो ग¥यौ है !’ "


सभाहल हल्का हाँसोले गुञ्जियो। त्यसपछि सबैले तालि बजाए ।


विवेकको आँखा पनि रसाएको थियो । उसले पुस्तक हातमा लियो, हजूरबुबाका पुराना अक्षरहरू हेर्दै मनमनै भन्यो, “धन्यवाद, हजूरबुबा ! यदि तपाईंको दिव्यवाणी नभएको भए, म आज यहाँसम्म आइपुग्ने थिइनँ ।“


त्यस दिन, विवेकले महसुस ग¥यो— समय बित्न सक्छ, मानिसहरू जान सक्छन्, तर असल विचार र शिक्षाहरू कहिल्यै मर्दैनन् ।

अहिले ऊ गाउँमा हजुरबुबाको कुर्सीमा त्यही दीव्यवाणी पुस्तक मुटुमा राखी पल्टाइरहेकाे थियाे । गाउँको पुरानो घरको आँगनमा आज पनि ठूला पीपलका पातहरू बताससँग हल्लिरहेका थिए । विवेक त्यो आँगनको छेउमा उभिएर एकटकले नियालिरहेको थियो । मनमा अनेकौं स्मृतिहरू जागिरहेका थिए ।


“हजूरबुबा, आज म यहाँ छु, तपाईंको आशीर्वादकै कारण। तपाईंका ती असलवाणीहरू आज पनि मेरो कानमा गुन्जिरहन्छन् ।” उसले मनमनै भने । त्यहीबेला त्यही बेला, एक हल्का बतास आयो । जस्तो लाग्थ्यो— हजूरबुबाको आशीर्वाद अझै उसैसँग स्निग्ध छ ।


२०८१ फागुन १७

बिजु सुवेदी विजय


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा