नेता बन्ने सपना
लघुकथा ः—“नेता बन्ने सपना”
कलेजको प्राङ्गणमा उभिएका दुई विद्यार्थी—अमृत र शंकर— सरस्वतीको अपमान भएकाबारे नैराश्यतामा गम्भीर कुराकानी गर्दै थिए ।
अमृतः “यार, यो स्वतन्त्र विद्यार्थी युनियनमा यस्तो गुन्डागर्दी कहिलेसम्म सहनुपर्ने हो ? आज फेरि चुनावको नाममा ढुंगा हानाहान, सिसा फुटफुटाइ । पढ्न आउने ठाउँमा तर्सिएर हिँड्नुपर्ने ?”
शंकरः “यो देख्दैछस् नि, अमृत ! पार्टीहरू आफ्ना युवाहरूलाई यहाँ पठाउँछन्, शक्ति प्रदर्शन गर्न । कलेज अब शिक्षा दिने थलो नभएर सानो मोर्चा बनेको छ ।”
अमृतः “अनि हाम्रा नेताजीहरू ? केही भन्दैनन् ? यिनीहरूकै छत्रछायामा त हुर्किराखेका हुन् नि यस्ता दादा, डन भनाउँदा विद्यार्थीहरू ।”
शंकरः “हो त ! नेतृत्त्व सिकाउने भनेको नै त हिँसा र आक्रमण पो रहेछ ! तिमीलाई थाहा छ, हाम्रो सिनियर वाल्मिकी दाइ युनियनको अध्यक्ष भएपछि कसरी फेरिए ? सुरुमा शान्त स्वभावका थिए, तर जब उनी संगठनको ’मुखिया’ भए, उनले पनि हातपात गर्न थाले ।”
अमृतः “यस्तो देख्दा त नेता बन्ने सपना नै मरिहाल्छ । पढाइमा राम्रो गर्ने विद्यार्थीलाई तिनीहरूले कहिल्यै अघि बढ्नै दिँदैनन् । कलेजको चुनाव पनि गुन्डागर्दीबाट जित्नुपर्छ रे !”
त्यतिकैमा कलेजको मूल ढोकाबाट केही विद्यार्थीहरू नाराबाजी गर्दै आए । उनीहरू आक्रोशित देखिन्थे ।
विद्यार्थी भीड (कराउँदै)ः “तिनलाई बाहिर निकाल ! हाम्रो संगठनविरुद्ध बोल्नेलाई ठाउँ छैन !”
अमृतले एकछिन डराउँदै शंकरतिर हे–यो ।
अमृतः “यो देखिस् ? अब त बोल्ने स्वतन्त्रता पनि छैन । जो सत्य बोल्छ, उसैलाई दुश्मन बनाइन्छ । उसैले कुटाइ खानुपर्ने हुन्छ ।”
शंकरः “यस्तै नै चलिरह्यो भने, कलेजबाट पढेर जाने विद्यार्थीहरू शान्तिपूर्ण समाज निर्माण गर्छन् भन्ने आशा राख्नु मूर्खता हुनेछ ।”
भीड अगाडि बढ्दै गयो । अमृत र शंकर चुपचाप एकातिर पसे ।
सन्देशः
यो कथा कलेज र विद्यार्थी युनियनभित्रको वास्तविकता उजागर गर्ने प्रयास हो । संवादका माध्यमबाट देखाइएका यी घटनाक्रमहरूले समाजमा विद्यमान समस्या औंल्याउँछन् । शिक्षालयहरू विचारको केन्द्र बन्नुपर्नेमा, अहिले तिनलाई राजनीतिक युद्धभूमि बनाइएको छ । यदि शिक्षाले नै हिंसालाई मलजल गर्ने भयो भने, भविष्यको नेतृत्व कस्तो बन्ला ?
तपाईंको विचार ?
तपाईंलाई के लाग्छ—विद्यार्थी युनियन सुधार्न सकिन्छ ? कि यो व्यवस्थाले नै हिंसालाई निरन्तरता दिनेछ ?
२०८१ चैत्र ७
बिजु सुवेदी विजय
Comments
Post a Comment