कथा :— नागरिकको आत्मा प्रश्न
कथा :— नागरिकको आत्मा प्रश्न
१ “बहुमतको मौन प्रश्न”
निर्वाचन परिणाम सार्वजनिक भएको दिन राजधानी असामान्य रूपमा शान्त थियो । सडकमा भीड थियो, तर त्यो भीड उत्सवको भन्दा बढी प्रतीक्षाको जस्तो देखिन्थ्यो ।
टीभी स्क्रिनमा अंक स्थिर भइसकेका थिए —राष्ट्रिय स्वतन्त्र पार्टी ६६ प्रतिशत बहुमत ।
कफी पसलको एउटा कुनामा तीन जना मानिस बसेका थिए । आर्यन, माया र दीपक ।
आर्यनले मोबाइलको स्क्रिनबाट आँखा नहटाइकन भन्यो, “इतिहास बदलियो भन्छन् सबैले ।”
दीपक हल्का हाँस्यो, “इतिहास बदलियो कि नाम मात्र बदलियो, त्यो चाहिँ अझै थाहा छैन ।”
मायाले उनीहरूलाई हेरिन्, “तर एउटा कुरा त स्पष्ट छ —जनताले पुराना दललाई ‘अब पुग्यो’ भनेका छन् ।”
आर्यनले टेबलमा औँला ठोक्दै भन्यो, “हो, तर अर्को कुरा पनि बुझ्नुपर्छ । यो जित उनीहरूको लोकप्रियताको मात्र होइन । यो जनताको निराशाको परिणाम हो ।”
बाहिर सडकमा युवाहरू झण्डा बोकेर नारा लगाइरहेका थिए तर त्यो नारामा उत्साह जति थियो, त्यति नै अस्थिरता पनि मिसिएको थियो ।
दीपकले झ्याल बाहिर हेर्दै भन्यो, “समस्या के हो थाहा छ ? जनताले पुरानोलाई हटाए तर अब नयाँलाई कसले प्रश्न गर्ने ?”
माया तुरुन्तै बोलिन्, “जनताले नै ।”
आर्यनको अनुहार गम्भीर भयो, “यदि जनताले प्रश्न गर्न छोडे भने यो ६६ प्रतिशत बहुमत लोकतन्त्रको शक्ति होइन, नयाँ प्रकारको निरंकुशताको ढोका बन्न सक्छ ।”
कफी पसल केही क्षण मौन भयो ।
टीभीमा एङ्करको आवाज गुञ्जिरहेको थियो— “ऐतिहासिक बहुमत... नयाँ युगको सुरुवात...”
तर आर्यनको मनमा एउटा फरक वाक्य घुमिरहेको थियो, “बहुमत अन्तिम उत्तर होइन, पहिलो प्रश्न हो ।”
–––
२ः “प्रश्नको क्षण”
निर्वाचन सकिनुभन्दा केही हप्ता अगाडिको घटना आर्यनलाई बारम्बार सम्झना आउँथ्यो । त्यो साँझ गाउँको सानो चोकमा भीड थियो । उम्मेदवारहरू घर–घर पुगेर भोट मागिरहेका थिए ।
एक जना उम्मेदवार आर्यनको घरअगाडि आइपुगे । उनको वरिपरि कार्यकर्ताहरू थिए, अनि हातमा चुनावी पर्चा ।
उम्मेदवारले सामान्य शैलीमा भने, “हामी परिवर्तनका लागि आएका छौँ । तपाईंको समर्थन चाहिन्छ ।”
आर्यन केही क्षण मौन रह्यो । त्यो मौन साधारण मौन थिएन ।
त्यो मौन भित्र एउटा प्रश्न घुमिरहेको थियो —“के म पनि अरूजस्तै चुप लागेर टाउको हल्लाउने मान्छे हुँ ?”
उसले सीधै सोध्यो, “तपाईंलाई भोट किन हाल्ने ?”
वरिपरिका कार्यकर्ताहरू एकछिन चुप भए ।
उम्मेदवार हल्का अड्किए, “हामी देश बदल्न आएका छौँ ।”
आर्यन फेरि बोल्यो, “देश बदल्ने भन्ने त सबैले भन्छन् तर तपाईंले के बदल्नुहुन्छ ? कसरी बदल्नुहुन्छ ?”
चोकमा बसेका केही मानिसहरू एक–अर्कातिर हेर्न थाले । किनकि यो प्रश्न सामान्य थिएन । यो त्यो प्रश्न थियो जुन धेरैले मनभित्र सोच्छन् तर बोल्दैनन् ।
उम्मेदवारले अन्ततः केही योजनाको कुरा गरे, तर उनको स्वरमा पहिलेको आत्मविश्वास थिएन ।
उनीहरू बिदा भएर गएपछि आर्यनको छिमेकी दीपकले भन्यो, “तिमीले अलि कडा प्रश्न सोध्यौ ।”
आर्यन मुस्कुरायो, “कडा होइन । यो त सामान्य प्रश्न हो । हामी नागरिक हौँ, भोट हाल्ने मेसिन होइन ।”
–––
३ “प्रश्नको आगो”
निर्वाचनको परिणाम आइसकेपछि पनि आर्यनको मन शान्त थिएन ।
एक साँझ उसले आफ्नो ल्यापटपमा एउटा भिडियो खोल्यो । त्यो केही हप्ता अगाडि भएको सम्मेलनको रेकर्डिङ थियो ।
मञ्चमा एक वृद्ध महिला शान्त स्वरमा बोलिरहेकी थिइन् — इरानकी मानवअधिकार अभियन्ता क्जष्चष्ल भ्दबमष् । उनको आवाज नरम थियो, तर शब्दहरू असाधारण रूपमा तीखा ।
“मानिसले सिकेको पहिलो कुरा नै प्रश्न हो,” उनले भनिन् । “यदि मानिसले प्रश्न नगरेको भए, आजको सभ्यता अस्तित्वमै आउने थिएन ।”
आर्यन केही क्षण स्थिर भएर सुन्न थाल्यो ।
उनको मनमा अचानक धेरै दृश्यहरू एकैपटक उठे —विद्यालयमा शिक्षकलाई प्रश्न गर्न डराएको दिन, गाउँमा नेताले भाषण गर्दा सबैले चुपचाप टाउको हल्लाएको दृश्य, अनि निर्वाचनअघि उम्मेदवारसँग आफूले गरेको त्यो सानो प्रश्न ।
भिडियोमा डा. इवादी बोलिरहेकी थिइन्, “जहाँ प्रश्न हुन्छ, त्यहाँ परिवर्तन हुन्छ । जहाँ प्रश्न बन्द हुन्छ, त्यहाँ तानाशाही सुरु हुन्छ ।”
आर्यनले भिडियो रोकेर झ्यालतिर हे¥यो । सडकमा युवाहरू अझै चुनावको चर्चा गरिरहेका थिए । सबैले “नयाँ युग” सुरु भएको कुरा गरिरहेका थिए ।
तर आर्यनलाई अचानक एउटा असहज विचार आयो, “यदि प्रश्न गर्ने बानी फेरि हरायो भने, नयाँ युग पनि पुरानै गल्ती दोहोर्याउनेछ ।”
त्यसैबेला फोन बज्यो । दीपकको फोन थियो ।
“तिमीले परिणामपछि के सोच्दैछौ ?” दीपकले सोध्यो ।
आर्यनले केही क्षण मौन बसेर उत्तर दियो, “म एउटा कुरा सोच्दैछु —हामीले नेता बदल्यौँ, तर के हामीले आफूलाई बदल्यौँ ?”
फोनको अर्को छेउ केही क्षण चुप भयो।
–––
४ः “दासत्व र प्रश्न”
अर्को दिन साँझ आर्यन र दीपक शहरको एउटा सानो पुस्तकालयमा भेटिए । त्यहाँ केही युवाहरू गोलाकारमा बसेर चुनावपछि देशको अवस्थाबारे छलफल गरिरहेका थिए ।
मायाले कुरा सुरु गरिन्, “हामी सबै परिवर्तनको कुरा गर्छौँ तर एउटा प्रश्न छ —परिवर्तन सुरु कहाँबाट हुन्छ ?”
कसैले स्पष्ट उत्तर दिन सकेन । आर्यनले टेबलमा राखिएको एउटा इतिहासको किताब पल्टायो ।
“इतिहास हेर्नुपर्छ,” उसले भन्यो, “मानिस किन परिवर्तन गर्छ भन्ने बुझ्न ।”
दीपकले जिज्ञासु भएर सोध्यो, “के देखिन्छ इतिहासमा ?”
आर्यन केही क्षण सोचेर बोल्यो, “मानिसले आफ्नो अस्तित्वबारे प्रश्न गर्न थालेपछि नै ऊ शक्तिशाली बन्छ । प्रश्न नगर्ने समाज भने सधैँ कसैको अधीनमा बस्छ ।”
मायाले थपिन्, “त्यसैले त हरेक ठूलो राजनीतिक परिवर्तन केही साहसी प्रश्नबाट सुरु भएको हुन्छ ।”
पुस्तकालयको झ्यालबाट बाहिरको सडक देखिन्थ्यो । त्यहाँ पोस्टरहरू अझै टाँसिएका थिए —“नयाँ युग”, “नयाँ राजनीति”, “नयाँ आशा” ।
दीपकले ती पोस्टरतिर हेर्दै भन्यो, “तर इतिहासले अर्को कुरा पनि देखाउँछ —क्रान्ति जितेपछि पनि प्रश्न बन्द भयो भने नयाँ शक्ति पनि पुरानै जस्तो बन्न सक्छ ।”
त्यो वाक्यले कोठा केही क्षण मौन भयो ।
आर्यनले पुस्तक बन्द गर्यो ।
“त्यसैले असली प्रश्न अहिले सुरु हुन्छ,” उसले भन्यो, “हामीले सत्ता बदल्यौँ । अब के हामीले सत्तालाई प्रश्न गर्ने संस्कार बनायौँ ?”
–––
५ः “इतिहासको प्रतिध्वनि”
पुस्तकालयको छलफल केही दिनपछि फेरि बस्यो ।
यसपटक विषय थियो —“परिवर्तनपछि नागरिकको भूमिका ।”
मायाले बोर्डमा एउटा प्रश्न लेखिन्, “परिवर्तन कहाँबाट सुरु हुन्छ ?”
आर्यनले कुर्सीबाट उठ्दै भन्यो, “यदि हामी आफ्नै इतिहास हेर्छौँ भने उत्तर स्पष्ट हुन्छ ।”
उसले बोर्डमा केही वर्षहरू लेख्यो —२००७, २०४६, २०६३ ।
दीपकले सोध्यो, “यी वर्षहरूले के देखाउँछन् ?”
आर्यनले उत्तर दियो, “यी वर्षहरूले एउटा कुरा देखाउँछन् —नेपालमा कुनै पनि परिवर्तन चुपचाप आएको छैन । हरेक परिवर्तन एउटा प्रश्नबाट सुरु भएको छ ।”
कोठामा बसेका युवाहरू ध्यान दिएर सुनिरहेका थिए ।
आर्यनले अगाडि भन्यो, “कहिले वंशवादी शासनको अन्त्यको प्रश्न उठ्यो, कहिले नागरिक स्वतन्त्रताको प्रश्न उठ्यो, कहिले न्याय र समानताको प्रश्न उठ्यो ।”
मायाले थपिन्, “राजनीति वास्तवमा प्रश्नहरूको अभ्यास हो । सत्तासँग गरिने संवाद हो ।”
दीपकले झ्यालतिर हेर्दै भन्यो, “तर एउटा खतरा पनि छ । इतिहासले देखाएको छ —प्रश्नले परिवर्तन ल्याउँछ तर परिवर्तनपछि प्रश्न रोकिन सक्छ ।”
कोठा फेरि केही क्षण मौन भयो ।
आर्यनले टेबलमा हात राख्दै भन्यो, “आजको चुनावी परिणाम पनि एउटा प्रश्नको उत्तर हो । जनताले पुरानो शैलीको शासनलाई अस्वीकार गरे ।”
ऊ एकछिन रोकियो, “तर असली परीक्षा अहिले सुरु हुन्छ । यदि हामीले नयाँ सत्तालाई पनि ‘के गरिरहेका छौ?’ भनेर सोधेनौँ भने यो परिवर्तन पनि केही वर्षमै निराशा बन्न सक्छ ।”
कोठामा बसेका युवाहरूले एक–अर्कातिर हेरे ।
किनकि उनीहरूले पहिलोपटक महसुस गरेका थिए —परिवर्तन केवल मतदानबाट होइन, निरन्तर प्रश्नबाट जीवित रहन्छ ।
–––
६ः “प्रश्नको अर्थ”
शहरको एउटा सार्वजनिक हलमा युवाहरूको छलफल कार्यक्रम आयोजना गरिएको थियो ।
विषय थियो— “नयाँ सरकार र नागरिकको भूमिका ।”
हलमा विद्यार्थी, पत्रकार र केही राजनीतिक कार्यकर्ताहरू पनि थिए । कार्यक्रम सुरु भएको केही समयपछि एक युवक उठेर बोल्यो, “हामीले सरकार बनाएका छौँ । अहिले नै प्रश्न गर्न थाले देश अघि कसरी बढ्छ ?”
हलमा केही मानिसहरूले टाउको हल्लाए । त्यो वाक्य सुनेपछि आर्यनले माइक समात्यो ।
“तिमीले एउटा सामान्य गल्ती गर्यौ,” उसले शान्त स्वरमा भन्यो ।
युवक अलि चिढिएको जस्तो देखिन्थ्यो, “गल्ती ?”
आर्यनले उत्तर दियो, “प्रश्न गर्नु विरोध होइन । प्रश्न गर्नु अवरोध पनि होइन ।”
हल एकछिन चुप भयो ।
आर्यनले अगाडि भन्यो, “राजनीतिमा प्रश्न भनेको कसैलाई गिराउन खोज्नु होइन । यो त सत्तासँग गरिने एउटा सामान्य जिज्ञासा हो ।”
मायाले आफ्नो नोटबुक पल्टाउँदै थपिन्, “प्रश्नले केवल ‘के भइरहेको छ?’ सोध्दैन । यसले ‘किन भइरहेको छ?’, ‘कसका लागि भइरहेको छ ?’ र ‘अर्को विकल्प के हुन सक्छ ?’ भनेर पनि सोध्छ ।”
पछाडिबाट कसैले हल्का स्वरमा भन्यो, “त्यसो भए प्रश्न किन धेरैलाई मन पर्दैन ?”
दीपकले तुरुन्त उत्तर दियो, “किनकि प्रश्नले जिम्मेवारी माग्छ ।”
हल फेरि केही क्षण मौन भयो । बाहिर सडकमा अझै चुनावी पोस्टरहरू टाँसिएका थिए ।
आर्यनले झ्यालतिर हेर्दै बिस्तारै भन्यो, “यदि प्रश्नलाई विरोध ठानियो भने लोकतन्त्र बाँच्दैन । किनकि लोकतन्त्रको सास नै प्रश्न हो ।”
–––
७ः “सेतु”
शहरको नगरपालिका हलमा खुला नागरिक संवाद कार्यक्रम राखिएको थियो ।
नयाँ सरकार बनेपछि यो पहिलो सार्वजनिक संवाद थियो । हलमा विद्यार्थी, शिक्षक, व्यापारी र केही पत्रकारहरू पनि उपस्थित थिए । मञ्चमा एक मन्त्री र दुई सांसद बसिरहेका थिए ।
कार्यक्रमको संयोजकले भने, “आज नागरिकहरूले प्रत्यक्ष प्रश्न गर्न सक्नुहुन्छ ।”
पहिलो केही मिनेटसम्म कोही उठेन ।
कोठामा अजीब किसिमको मौनता थियो —जस्तो कि सबैसँग प्रश्न थियो, तर कसैले सुरु गर्न चाहँदैनथ्यो ।
त्यसपछि आर्यन उठ्यो । उसले माइक समात्दै शान्त स्वरमा भन्यो, “हामी यहाँ विरोध गर्न आएका होइनौँ । हामी केवल बुझ्न आएका हौँ ।”
मन्त्रीले टाउको हल्लाए ।
आर्यनले अगाडि सोध्यो, “नयाँ सरकारले पारदर्शिताको कुरा गरेको छ । त्यसलाई व्यवहारमा लागू गर्ने स्पष्ट योजना के हो ?”
हलमा केही मानिसहरूले ध्यान दिएर सुन्न थाले ।
मायाले अर्को प्रश्न थपिन्, “अनि अर्को कुरा —निर्णय प्रक्रियामा नागरिकको सहभागिता कसरी सुनिश्चित हुन्छ ?”
मञ्चमा बसेका नेताहरू केही क्षण सोच्न बाध्य भए । किनकि यो नाराको प्रश्न थिएन, यो उत्तर माग्ने प्रश्न थियो ।
दीपकले पछाडिबाट बिस्तारै भन्यो, “हेर्दै जाऊ, यही प्रक्रियाले नागरिक र सत्ताबीचको दूरी घटाउँछ ।”
आर्यनले माइक टेबलमा राख्दै भन्यो, “जब नागरिक प्रश्न गर्छ, ऊ केवल शासित हुँदैन । ऊ शासन प्रक्रियाको हिस्सेदार बन्छ ।”
हलमा पहिलोपटक हल्का ताली बज्यो । त्यो ताली नेताका लागि थिएन । त्यो ताली प्रश्न गर्ने साहसका लागि थियो ।
–––
८ः “डर”
नागरिक संवाद कार्यक्रमको केही दिनपछि एउटा अनौठो घटना भयो ।
टीभीमा एक जना वरिष्ठ नेता अन्तर्वार्ता दिइरहेका थिए । उनको अनुहारमा हल्का असन्तोष देखिन्थ्यो ।
“आजकल केही समूहहरूले अनावश्यक प्रश्न उठाएर सरकारलाई काम गर्न नदिने प्रयास गरिरहेका छन्,” उनले भने ।
आर्यनले त्यो अन्तर्वार्ता आफ्नो ल्यापटपमा हेर्दै थियो ।
दीपक पनि त्यहीँ थियो ।
दीपकले हाँस्दै भन्यो, “हेर्, अब प्रश्न गर्नेहरूलाई समस्या मान्न थाले ।”
आर्यन गम्भीर भयो, “यो नयाँ कुरा होइन,” उसले भन्यो ।
“किन ?” दीपकले सोध्यो ।
आर्यनले टेबलमा राखिएको कागज पल्टाउँदै उत्तर दियो, “किनकि प्रश्नले शक्ति असहज बनाउँछ ।”
माया पनि त्यहाँ आइपुगिन्, “कुन अर्थमा ?” उनले सोधिन् ।
आर्यनले शान्त स्वरमा भन्यो, “जो आफूलाई सबैभन्दा धेरै जान्ने ठान्छ , उसैले आफ्नो थाहा पाएको प्रश्नसँग डराउँछ ।”
दीपकले थप्यो, “अनि जो आफूलाई जनताको मालिक ठान्छ , उसैले जनताबाट आएको प्रश्नसँग झन् डराउँछ ।”
झ्याल बाहिर सडकमा सामान्य चहलपहल थियो तर आर्यनको मनमा अर्को विचार घुमिरहेको थियो ।
“सत्तालाई प्रश्न किन डर लाग्छ थाहा छ ?” उसले बिस्तारै भन्यो ।
माया र दीपक दुवैले उसको अनुहारतिर हेरे ।
“किनकि प्रश्नले एउटा खतरा ल्याउँछ ः—
शक्ति खोसिने डर,
अहंकार च्यातिने डर,
र भ्रम टुट्ने डर ।”
ती तीन वाक्यपछि कोठा केही क्षण मौन भयो ।
टीभीमा अन्तर्वार्ता अझै चलिरहेको थियो ।
नेता फेरि बोलिरहेका थिए— “हामीलाई काम गर्न दिनुपर्छ ।”
आर्यनले स्क्रीन बन्द गर्यो । “काम गर्न दिनु ठीक हो,” उसले भन्यो, “तर प्रश्न गर्न नदिनु भने खतरनाक हो ।”
–––
९ः “परीक्षा”
नागरिक संवादपछि आर्यन घर फर्किँदै थियो ।
सडकको छेउमा अझै पुराना चुनावी पोस्टरहरू आधा च्यातिएका थिए । त्यो दृश्य देख्दा उसलाई निर्वाचनअघि भएको एउटा घटना याद आयो ।
त्यो साँझ गाउँमा उम्मेदवारहरूको टोली भोट माग्न आएको थियो ।
सामान्यतया हुने जस्तै— हात मिलाउने, मुस्कान दिने, अनि “समर्थन चाहिन्छ” भन्ने वाक्य ।
तर त्यसदिन आर्यनले चुप बस्ने निर्णय गरेन । उसले सीधै सोध्यो, “हामीले तपाईंलाई भोट किन हाल्ने ?”
उम्मेदवार एकछिन अड्किए । वरिपरि उभिएका केही मानिसहरूले हल्का हाँसो गरे, जस्तो कि यस्तो प्रश्न असामान्य हो ।
उम्मेदवारले अन्ततः भने, “हामी विकास ल्याउन चाहन्छौँ ।”
आर्यनले फेरि सोध्यो, “कस्तो विकास ? कुन योजना ? कुन समयसीमा ?”
भीड अब गम्भीर हुँदै गयो । दीपक, जो त्यहीँ उभिएको थियो, पछि सम्झिँदै भन्यो, “त्यो दिन पहिलोपटक मैले बुझेँ —मत भनेको दया होइन रहेछ ।”
आर्यनले मुस्कुराउँदै उत्तर दियो, “मत भनेको विश्वास हो तर अन्धविश्वास होइन ।”
मायाले थपिन्, “त्यसैले मतदानअघि प्रश्न आवश्यक हुन्छ । त्यो नागरिकको अधिकार मात्रै होइन, जिम्मेवारी पनि हो ।”
भीड बिस्तारै छरपस्ट भयो । उम्मेदवारहरू अर्को घरतिर लागे तर त्यो साँझ गाउँका धेरै मानिसहरूले एउटा कुरा महसुस गरेका थिए—
मतदान केवल समर्थन होइन, परीक्षा पनि हो ।
–––
१०ः “नारा र नीति”
निर्वाचनअघि शहरको मुख्य चोकमा ठूलो सभा आयोजना गरिएको थियो । मञ्चमा नेताहरू पालैपालो भाषण गरिरहेका थिए । भीडमा झण्डा हल्लाइरहेका युवाहरू, नाराबाजी, र उत्साह देखिन्थ्यो ।
एक नेता जोशिलो स्वरमा बोलिरहेका थिए,
“हामी नयाँ नेपाल बनाउँछौँ !
भ्रष्टाचार अन्त्य गर्छौँ !
रोजगारी सिर्जना गर्छौँ !”
भीडबाट ताली आयो तर आर्यनको अनुहार गम्भीर थियो ।
दीपकले उसको कानमा बिस्तारै भन्यो, “नारा सुन्दा त सबै राम्रो लाग्छ ।”
आर्यनले टाउको हल्लायो, “नारा राम्रो हुन सक्छ,” उसले भन्यो, “तर प्रश्न बिना नारा केवल शब्द हुन्छ ।”
त्यसैबेला प्रश्न–उत्तरको समय घोषणा भयो ।
आर्यन उठ्यो ।
उसले माइक समात्दै शान्त स्वरमा सोध्यो, “तपाईंले भ्रष्टाचार अन्त्य गर्ने भन्नुभयो । त्यसका लागि ठोस योजना के हो ?”
भीड केही क्षण चुप भयो । नेताले सामान्य उत्तर दिन खोजे, “हामी कडा कदम चाल्छौँ ।”
आर्यनले फेरि सोध्यो, “कस्ता कदम ? कुन कानुनी सुधार ? कुन समयसीमा ?”
अब भीडको ध्यान पूरा त्यहीँ केन्द्रीत भयो ।
मायाले पछाडिबाट थपिन्, “नारा नीति बन्ने हो भने यसको स्पष्ट मार्ग हुनुपर्छ ।”
नेता केही क्षण सोच्न बाध्य भए ।
दीपकले बिस्तारै भन्यो, “यही कारणले प्रश्न महत्त्वपूर्ण हुन्छ । प्रश्नले नारालाई परीक्षण गर्छ ।”
सभा समाप्त भएपछि भीड बिस्तारै छरपस्ट भयो तर धेरै मानिसहरू एक–अर्कासँग एउटा कुरा गर्दै थिए—
“नारा सुन्न सजिलो छ तर प्रश्नले मात्र त्यसलाई वास्तविक बनाउँछ ।”
–––
११ः “पारदर्शिता”
नगरपालिका हलमा नागरिक संवादको दोस्रो दिन सुरु भएको थियो ।
आर्यनले माइक समात्दै भने, “हाम्रो प्रश्न केवल जिज्ञासा होइन । यो शक्ति र पारदर्शिताको परीक्षण पनि हो ।”
मञ्चमा बस्ने एक मन्त्री अलि असहज भए । उनले मुस्कुराए, तर आवाजमा झन् सतर्कता थियो ।
दीपकले कानमा बिस्तारै भन्यो, “सत्ता डराउँछ , बुझ्यौ ?”
आर्यनले टाउको हल्लायो, “कसरी नडराउने ? प्रश्नले वाचा र व्यवहारबीचको अन्तर उजागर गर्छ । तथ्य माग्छ , बहाना मान्दैन ।”
हलमा केही पत्रकारहरू चुपचाप नोट लिइरहेका थिए ।
मायाले थपिन्, “इतिहासले देखाउँछ —निरंकुश शासकले सबैभन्दा पहिले प्रश्न गर्नेहरूलाई दमन गरे । आज पनि जो भ्रमको खेती गर्छन्, उनी प्रश्नलाई दबाउँछन् ।”
मन्त्रीले हलतिर हेरे । उनको अनुहारमा हल्का तनाव देखिन थाल्यो ।
आर्यनले माइक माथि उठाउँदै भने, “यदि प्रश्नमाथि आक्रमण भयो भने, त्यो तानाशाही हो । लोकतन्त्रको आत्मा ध्वस्त पार्ने प्रयास हो । भ्रमको सत्तालाई अक्षुण्ण राख्ने प्रयास हो ।”
भीडमा हल्का सरसल्लाह भयो ।
दीपकले बिस्तारै भन्यो, “त्यसैले राजनीति केवल चुनाव होइन । राजनीतिमा कहिल्यै भ्रमको खेती हुनु हुन्न । प्रश्नले मात्र उत्तरदायी राजनीति जन्माउँछ । यो लोकतन्त्रको आत्मा बचाउने उपाय हो ।”
आर्यनले माइक राख्यो । भीड मौनतामा केही समय बस्यो । कसैले टुसुक्क हाँसो पनि गरेन ।
त्यो साँझ धेरैले महसुस गरे —सत्ता डराउँछ , तर नागरिकले प्रश्न उठाइरहन सके, लोकतन्त्र जीवित रहिरहन्छ ।
–––
१२ः “प्रश्नको प्रभुत्व”
निर्वाचन सकिएको केही दिनपछि नगरपालिकाको खुला हलमा नागरिक छलफल भइरहेको थियो । भीडमा युवा, पत्रकार, शिक्षक र केही व्यवसायी उपस्थित थिए ।
आर्यनले माइक समात्दै भने, “ध्यान दिनुहोस् —निर्वाचन जित्नु भनेको पाँच वर्षका लागि मालिक बन्नु होइन । पाँच वर्षसम्म जनताको प्रश्न सुन्ने दायित्व स्वीकार गर्नु हो ।”
भीडमा हल्का सरसल्लाह भयो ।
दीपकले थप्यो, “यो बेला सबैभन्दा महत्त्वपूर्ण छ । एकदम संवेदनशील पनि । ६६ प्रतिशत बहुमतले सजिलै ‘अब जे पनि गर्न सकिन्छ’ भन्ने सोच ल्याउन सक्छ ।”
आर्यनले टाउको हल्लाउँदै अगाडि भन्यो, “हाम्रो काम भनेको सत्ता माथि प्रश्न उठाउनु हो । सत्ता होइन, नागरिक नै मालिक हुन् र नागरिकको सवालहरू मात्र असली अधिकारको आधार हुन् ।”
मायाले नोटबुक पल्टाउँदै जोड दिइन्, “निर्वाचन जितिसकेपछि प्रश्न रोकिँदैन । बरु यहाँबाट सबैभन्दा सक्रिय भएर प्रश्न गर्ने बेला सुरु हुन्छ ।”
भीडमा युवाहरू बिस्तारै सम्झन थाले । केहीले आपसमा सानो संवाद गरे, “अब हामीले अझ बढी प्रश्न गर्नुपर्छ । नयाँ शक्ति जाँचको घेरामा रहोस् ।”
आर्यनले हलको झ्यालबाट बाहिर हेर्दै शान्त स्वरमा भन्यो, “यदि हामी प्रश्न सोध्न छोड्यौं भने यो बहुमत पनि पुरानै निरंकुशताको नयाँ रूप मात्र बन्न सक्छ ।”
भीडमा फेरि हल्का सरसल्लाह भयो ।
सबैले बुझ्न थाले —सत्ता मात्र होइन, प्रश्न नै वास्तविक शक्ति हो ।
–––
१३ः “शक्ति र प्रश्न”
निर्वाचनपछि शहरको मुख्य चोकमा नागरिक र युवा समूहहरू भेटघाट गर्दै थिए ।
आर्यनले भीडलाई सम्बोधन गर्दै भने, “६६ प्रतिशत बहुमत प्राप्त भयो तर मत कुनै अन्धविश्वास थिएन ।
यो प्रश्न थियो —‘पुरानो राजनीति किन असफल भयो ?’”
भीडमा हल्का सरसल्लाह भयो ।
दीपकले जोड दियो, “अब प्रश्न रोकिएको खण्डमा, नयाँ बहुमतले पनि पुरानो गल्ती दोहोर्याउन सक्छ ।”
आर्यनले माइक माथि उठाउँदै भन्यो, “रास्वपाको बहुमत जनताको आशा हो तर आशालाई जोगाउन प्रश्न आवश्यक छ । सत्ता हाम्रो मालिक होइन; हामी नागरिक हौँ । सत्ता माथि प्रश्न रहिरहन्छ । यसैले यो सत्ता पहिलेका सत्ताहरु जस्तो हुन पाउँदैन ।”
हलमा केही युवा उठे, “तर हामीले अब प्रश्न कसरी सोध्ने ?” उनीहरूले सोधे ।
आर्यनले शान्त स्वरमा उत्तर दियो, “साक्षात्कार, खुला बहस, र सार्वजनिक बैठकहरूमा । यदि हामी प्रश्न सोध्न छोड्यौं भने यो बहुमत पनि क्षणिक भ्रममा परिणत हुन्छ ।”
भीडले बिस्तारै बुझ्न थाल्यो । केहीले आपसमा कुरा गर े—“यसकारण नागरिकले शक्ति राख्न प्रश्न उठाउनु पर्छ ।”
त्यस दिनको साँझ, हलबाट बाहिर निस्कँदा आर्यनले सडकमा झुन्डिएका पोस्टरहरूतर्फ हेर्दै सोचे—
“सत्ता जित्न सक्छ, तर नियन्त्रणको साँचो केवल प्रश्नमा छ । जनतालाई यसैले हक दिन्छ ।”
–––
१४ः “लोकतान्त्रिक मित्रता”
निर्वाचनअघिको साँझ, गाउँको मुख्य चौकमा उम्मेदवारको टोली भोट माग्न आएको थियो । भीडमा सामान्य मानिसहरू, शिक्षकहरू, विद्यार्थी र व्यापारीहरू उभिएका थिए ।
आर्यनले साथी दीपकसँग भन्यो, “हेर्दै जाऊ, प्रश्नको अभ्यास सानो तर महत्वपूर्ण कदम हो । जब मतदाताले प्रश्न गर्न थाल्छन्, समाज परिपक्व बन्न थाल्छ ।”
दीपकले हाँस्दै उत्तर दियो, “तर धेरैले अझै प्रश्नलाई शत्रुता ठान्छन् ।”
आर्यनले माइक समात्दै भने, “हामी शत्रुता गर्न आएका होइनौं । हामी लोकतान्त्रिक मित्रता देखाउन आएका हौँ —सत्तालाई सही बाटोमा हिँडाउने मित्रता ।”
भीडमा केही जना हेरिरहे, केहीले सानो प्रश्न सोधेः “तपाईंले रोजगारी सिर्जना गर्ने भन्नुभयो तर योजना के हो ? कुन समयभित्र ?”
उम्मेदवार केही क्षण अड्किए । भीडले चुपचाप जवाफ सुन्ने निर्णय ग¥यो ।
आर्यनले फेरि स्पष्ट पारे, “प्रश्न केवल आलोचना होइन । यो पारदर्शिता, जवाफदेहिता र समाजलाई शिक्षित गर्ने उपाय हो । यही अभ्यासले भावनात्मक उत्तेजना घटाउँछ र नीति–निर्माण सुदृढ बनाउँछ ।”
भीडको केही मानिसहरूले टुसुक्क सहमति जनाए । साँझको उज्यालोमा, आर्यनले पनि बुझ्यो —
लोकतन्त्र केवल मतदाताको अधिकार होइन, प्रश्न गर्ने संस्कृतिले मात्र यसको आत्मा जीवित रहन्छ ।
–––
१५ः “मौनको मूल्य”
शहरको मध्यपाटीमा एउटा खुला सभा थियो । भीड चुपचाप बसिरहेको थियो । केही युवा मोबाइलमा खवर हेर्दै थिए, केही पत्रकार नोट लिइरहेका थिए ।
आर्यन माइक समात्दै बोले, “ध्यान दिनुहोस् —प्रश्न नगर्ने समाज बिस्तारै मौन बन्दै जान्छ । राजनीतिमा मौनता भनेको दासत्व हो ।”
दीपकले शान्त स्वरमा थप्यो, “जब दासत्वले विवेक नियन्त्रण गर्छ , लोकतन्त्र कमजोर हुन्छ । यो अवस्था आएको खण्डमा चुनाव मात्र हुन्छ , तर सही विकल्प दिइँदैन । सदन बस्छ, तर बहस हुँदैन । सरकार बन्छ , तर उत्तरदायी हुँदैन ।”
भीडमा हल्का सरसल्लाह भयो ।
आर्यनले फेरि थपे, “तपाईंले मौन रहँदा, लोकतन्त्र सीमित हुन्छ । जनताको अधिकार केवल औपचारिकतामा सीमित रहन्छ । त्यस्तो लोकतन्त्रको जनतालाई के काम ?”
मायाले नोटबुक पल्टाउँदै थपिन्, “त्यसैले प्रश्न सोध्नु केवल अधिकार होइन, जिम्मेवारी पनि हो । जनता सचेत रहनु अनिवार्य छ । यदि हामी मौन हुन्छौं भने, निर्वाचनको प्रयोजन मात्र औपचारिकता रहन्छ ।”
भीड चुपचाप सोचमा डुब्यो ।
साँझको उज्यालोमा आर्यनले सडकमा झुन्डिएका पोस्टरहरूतर्फ हेर्दै भन्यो, “प्रश्न नभएको लोकतन्त्र, मतदाताको अधिकारलाई गुमाइदिन्छ । यदि हामी मौन छौं भने लोकतन्त्र केवल कागजमा सीमित रहन्छ ।”
–––
१६ः “प्रश्नको शक्ति”
शहरको पुस्तकालयको सानो हलमा युवा नागरिकहरू भेटघाट गरिरहेका थिए ।
आर्यनले भित्तामा टाँसिएका पोस्टरहरूतर्फ हेर्दै भन्यो, “राजनीतिमा प्रश्न सोध्नु कमजोरी होइन, शक्ति हो । प्रश्न नागरिकको आत्मसम्मान हो । यो जनअधिकार हो । राज्यप्रतिको कर्तव्य तबमात्र उजागर हुन्छ र सम्बन्धित निकायलाई घच्घच्याई हुन्छ । अनि नीतिनिर्माण गर्न वाध्य हुन्छ । त्यसैले प्रश्नले लोकतन्त्रलाई सास दिन्छ ।”
दीपकले साइडमा थप्यो, “प्रश्न नगर्ने राजनीति अहंकारी हुन्छ , तर प्रश्नसहितको राजनीति मात्रै मानवीय हुन्छ ।”
हलमा उपस्थित युवाहरूले आपसमा सानो बहस सुरु गरे ।
एक विद्यार्थीले उठेर सोध्यो, “तर प्रश्न गर्न सामाजिक सञ्जालमा मात्र सीमित भएन भने —सडक, सदन वा नागरिक सभा—कसरी प्रभाव पर्छ ?”
आर्यन मुस्कुराउँदै उत्तर दियो, “प्रश्नले राजनीतिलाई छेक्ने काम गर्छ । नागरिकले अझ धेरै प्रश्न गरेर सुनिश्चित गर्छ —सत्ता भड्किन नपाओस्, योजना कार्यान्वयनमा होस् ।”
दीपकले थपे, “यही प्रश्न उठाउने संस्कृतिले मात्र लोकतन्त्रको वास्तविक मालिक नागरिक हो भनेर पुष्टि गर्छ । सत्ता मात्र जित्छ , तर प्रश्न सुन्नेले लोकतन्त्रको वास्तविक शक्ति राख्छ ।”
हलको तटमा मायाले नोटबुक पल्टाउँदै भनिन्, “अब सजिलो पनि छ र जरुरी पनि —सडक, सामाजिक सञ्जाल, सदन —सबै ठाउँमा प्रश्न उठाउन सकिन्छ ।
रास्वपाका नेता र सांसदलाई सोध्न सकिन्छ —‘तपाईंको पाँच वर्षे योजना के हो ? गरिबी कसरी घटाउन े? भ्रष्टाचार रोक्ने उपाय के हो ?’ जबसम्म प्रश्न सोधिँदैन, विजयको जिम्मेवारी पूरा हुँदैन ।”
भीड मौन भई सोच्न थाल्यो । आर्यनले हलको झ्यालबाट बाहिर हेर्दै सम्झाए— “सत्ता जित्न सक्छ , तर शक्ति केवल प्रश्न गर्ने नागरिकसँगै छ र यो प्रश्न गर्दा नै कायम हुन्छ ।”
–––
१७ः “प्रश्नको न्याय”
उपमहानगरको साँझ, उम्मेदवारको टोली घर–आँगनमा भोट माग्न आएको थियो । आर्यन आफ्नो टोलीसहित त्यहाँ पुगे । भीडमा स्थानीय किसान, मजदुर र युवाहरू उभिएका थिए ।
आर्यनले उम्मेदवारको सामुन्ने अघि बढ्दै सोध्यो, “तपाईंले लगाएको माला, कहिले कतै उखु किसानको आँसुले भिजेको त छैन ?”
उम्मेदवार हल्का मुस्कुराए तर चुप लागे ।
आर्यन फेरि सोध्यो, “तपाईंले लगाएको लुगामा मिटरब्याजीको हृदयको मैलो सरेको त छैन ?”
भीडमा केही मानिसहरूले हाँसो होइन, तर गहिरो सोच व्यक्त गरे ।
दीपकले पन्छाउँदै भने, “अब गाडीमा चढ्दा हाम्रो करमाथि रजगज गर्ने विचौलियाको साथ त छैन होला ?”
आर्यनले अझै प्रश्नलाई तीव्र बनायो, “के तपाईंलाई सम्झना छ ?, केही वर्षअघि आफ्नो मृत बच्चा जमिनमा गाढ्ने ठाउँ नपाएर कोशीमा बगाउने पिताको गल्ती के थियो ? १५ वर्ष उमेर नहुँदै भारतका बँधुवा बन्न बाध्य दलित, जनजाति र भूमिहीनले गरेका पीडा के हो ?”
उम्मेदवारले उत्तर दिन खोज्यो, तर आर्यनले रोक्दै भने, “उत्तर मात्र होइन, तपाईंले जिम्मेवारी कहिले पूरा गर्ने भन्नुहुन्छ ? राज्यको दायित्व कहाँ छ ?”
भीड मौन भयो । कसैले टुसुक्क हाँसो पनि गरेन ।
साँझको उज्यालोमा, आर्यनले सोच्यो —“प्रश्न नगर्ने मतदाताले केवल अनुमोदन दिन्छ ; प्रश्न उठाउनेले मात्र न्याय र उत्तरदायित्व सुनिश्चित गर्छ ।”
–––
१८ः “अन्तिम प्रश्न”
शहरको उपनगरमा साँझको धर्तीमा हल्का हावा चलिरहेको थियो । आर्यन आफ्नो टोलीसहित मतदाता भेट्न घर–आँगन पुगे । भीडमा साना किसान, मजदुर, विद्यार्थी र स्थानीय व्यापारीहरू उभिएका थिए ।
आर्यनले माइक समात्दै भन्यो, “भोट माग्न आउने उम्मेदवारलाई हामीले पहिले नै प्रश्न गरिसकेका छौँ —
शीतलहरमा कठ्यांग्रिने हामी,
गर्मीमा बाफिने हामी,
भोकमा तड्पिने हामी,
गरिबीमा फस्ने हामी ।
तर भोट जित्नेहरू सधैं रजगजमा । किन यस्तो ?”
भीडमा हल्का सरसल्लाह भयो ।
दीपकले थपे, “अब मतपरिणाम आएको छ । यदि तपाईंले प्रश्न सोध्न सक्नुभएन भने, भविष्यमा कहिल्यै सोध्न सक्ने अवसर हुँदैन । त्यसपछि जे हुनेछ , त्यो केवल दुर्भाग्य हो ।”
आर्यनले भीडमा नजर दौडाउँदै भन्यो, “मतदाता मात्र होइन, हामी सबैको जिम्मेवारी छ —प्रश्न उठाएर सत्ता जिम्मेवार बनाउनु । यदि मौन रह्यौं भने, समाजले भविष्य गुमाउँछ ।”
भीडमा केही मानिसहरूले टुसुक्क सहमति जनाए । साँझको घाम बिस्तारै ढल्दै गर्दा आर्यनले सडकमा झुन्डिएका पोस्टरहरूतर्फ हेर्दै सम्झिए —“अन्तिम प्रश्न सोध्ने अवसर छ , तर यो अवसर गुमाए, भविष्य केवल दुर्भाग्य र निराशा मात्र रहन्छ ।”
–––
१९ः “प्रश्नको सास”
साँझको हल्का हावामा शहरको मुख्य चोक सुनसान थियो । आर्यन चुपचाप सडकको किनारमा उभिएर हेर्दै सोच्न थाल्यो । पार्कको घाँसमा फूल फुलेका थिए, नदीको पानी बिस्तारै बगिरहेको थियो, र टुप–टुप रूपमा पात झरिरहेका थिए । प्रकृतिको यो लामो दृश्यले उसलाई चेतना दिलायो —मानिस, शक्ति र प्रश्नको सम्बन्ध ।
आर्यनले माइक समात्दै भीडमा भने, “अब हामीले मौन बस्ने समय छैन । रास्वपाले ६६ प्रतिशत बहुमत पाएको छ , तर यो बहुमत जनताको हो, नेताको होइन । यदि हामी हरेक दिन, हरेक महिना प्रश्न गरिरह्यौं भने मात्र यो बहुमतले साँच्चै नयाँ नेपाल निर्माण गर्न सक्छ ।”
भीडमा हल्का सरसल्लाह भयो ।
दीपकले थप्यो, “प्रश्न गर्नु भनेको देशप्रतिको प्रेम हो । प्रश्न गर्नु भनेको लोकतन्त्रको रक्षा हो ।”
आर्यनले बाहिरी चोकतिर हेर्दै थप्यो, “निर्वाचन सकिएको छ , तर लोकतन्त्रको सास फेर्ने प्रश्न कहिल्यै रोकिँदैन । ६६ प्रतिशत बहुमतले नयाँ आशा जगाएको छ , तर यो आशा सार्थक बनाउन विजयी नेताहरूलाई निरन्तर प्रश्न गर्नुपर्छ — घर–आँगनमा, सडकमा, सदन र मिडियामा ।”
त्यत्तिकैमा एक युवाले अग्रसरता देखायो । भीडमा केही युवा उठे र प्रश्न गर्न थाले,
“तपाईंले वाचा किन पूरा गर्नुभएन ?”
“जनताको पीडा अझै उस्तै किन छ ?”
“यो बहुमतलाई तपाईंले कसरी जनताको सेवा बनाउनुभयो?”
आर्यनले हल्का मुस्कुराउँदै उत्तर दियो, “यदि हामी मौन बस्यौं भने यो परिवर्तन पुरानो निराशाको पुनरावृत्ति मात्र हुनेछ तर प्रश्नले मात्र शक्ति जनताको हातमा राख्छ । जनताको हातमा शक्ति आउनु भनेको देशको राजनीति ट्र्याकबाट बाहिर नजानु हो । प्रश्न नगरेसम्म विजयको जिम्मेवारी कहिल्यै पूरा हुँदैन ।”
भीड मौन भई प्रकृतिको दृश्यमा हरायो —घण्टीको टङ्टङ् सहितका झल्लरहरुको लहर, सडकमा झुल्ने पात, बगिरहेको नदी, ढल्किंदै गएको घाम ।
आर्यनले मनमनै सम्झियो, “प्रिय नागरिक! प्रश्न गर्नुहोस्, जवाफ माग्नुहोस् । लोकतन्त्रलाई जीवन्त राख्नुहोस् । किनकि प्रश्न नै नागरिकको शक्ति हो, प्रश्न नै नयाँ नेपालको आधार हो । प्रकृतिको यो लामो दृश्यले मलाई सम्झायो —जसरी नदीले निरन्तर बहन्छ , त्यसरी नै प्रश्नले लोकतन्त्रलाई जीवन्त राख्छ ।”
–––
२० प्रश्नको आत्मा : जेन्जी मुभमेन्ट
फागुनको अन्तिम साँझ थियो ।
काठमाडौँको आकाशमा दिनको अन्तिम उज्यालो बिस्तारै हराउँदै थियो। पश्चिमतिरको क्षितिजमा रवि डुब्ने बेला रातो, सुनौलो र बैजनी रङ मिसिँदै गएका थिए । शहरका भवनहरू माथि हल्का हावाले धुलो उडाइरहेको थियो, तर त्यो धुलोभित्र पनि एउटा नयाँ हलचलको संकेत थियो —जसरी लामो सुक्खापछि जमिनले वर्षाको गन्ध पर्खिरहेको हुन्छ ।
आर्यन माइतिघर मण्डलातर्फ हिँडिरहेको थियो ।
त्यो साँझ सामान्य थिएन ।
त्यो केवल एउटा सभा थिएन ।
त्यो एउटा प्रश्नको पुनर्जन्म थियो ।
विसं २०८२ भदौ २३ र २४ को त्यो विनाशकारी घटना देशले अझै बिर्सेको थिएन । अपार जनधनको क्षति, उजाड घरहरू, रोइरहेका परिवारहरू , देशका यी विभत्स घाउहरू —यी सबै अझै स्मृतिमा जिउँदै थिए ।
छानबिन आयोगले हजार पृष्ठको प्रतिवेदन तयार गरिसकेको थियो । त्यो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइसकिएको थियो ।
तर जनता अझै प्रतीक्षामा थिए —सत्य कहिले बाहिर आउँछ ? दोषीमाथि कारबाही कहिले हुन्छ ?
त्यसैले जेन्जी मुभमेन्टले निर्णय गरेको थियो—
चैत्र १ गते माइतिघर मण्डलामा शान्तिपूर्ण, तर शक्तिशाली नागरिक भेला गर्ने ।
माइतिघर पुग्दा आर्यनले देख्यो—
सयौँ युवा, विद्यार्थी, नागरिकहरू त्यहाँ भेला भइसकेका थिए ।
कसैले ठूलो नारा लगाइरहेका थिएनन् ।
कसैले हिंसात्मक भाषा प्रयोग गरिरहेका थिएनन् ।
तर सबैको हातमा एउटा शब्द थियो —“प्रश्न”
दीपकले बिस्तारै भन्यो, “यही हो लोकतन्त्रको आत्मा ।”
आर्यनले वरिपरि हेर्दै भन्यो, “जब नागरिक मौन बस्दैन, त्यतिबेला इतिहास बदलिन्छ ।”
त्यसैबेला पूर्वबाट चिसो हावा चल्यो । माइतिघरको वरिपरि रोपिएका रुखका पातहरू एकसाथ हल्लिए । झन्डाहरू हल्का हावामा फर्फराए । आकाशमा जून बिस्तारै माथि उक्लँदै थियो —जस्तो कि रातको अँध्यारोलाई चिर्दै कुनै शान्त उज्यालो फैलिँदै होस् ।
आर्यनले त्यो दृश्य हेर्दै सम्झियो —प्रकृतिमा पनि प्रश्न हुन्छ ।
नदी किन बग्छ ?
हावा किन चल्छ ?
बिउ किन फुट्छ ?
किनकि जीवन स्थिर हुँदैन ।
नाि अनि समयसरि जीवन सधैं अगाडि बढ्छ ।
नदी रोकिन्छ भने सड्न थाल्छ ।
हावा रोकियो भने वातावरण घुटिन्छ ।
र समाजमा प्रश्न रोकियो भने लोकतन्त्र मर्छ ।
माइतिघरको त्यो भीड अब मौन थिएन ।
उनीहरू नारा होइन, माग राखिरहेका थिए—
प्रतिवेदन तुरुन्त सार्वजनिक गर ।
दोषीलाई कारबाही गर ।
न्यायको निकास देऊ ।
आर्यनले आकाशतिर हेर्दै बिस्तारै भन्यो,
“प्रश्न रोकिँदैन ।
यो नदीजस्तै बगिरहन्छ ।
यो समयसरि लम्किरहन्छ ।
हावाजस्तै चलिरहन्छ ।
आकाशको उज्यालोजस्तै फैलिरहन्छ ।”
त्यो रात माइतिघर मण्डलामा एउटा कुरा स्पष्ट भयो—
लोकतन्त्र सदनले मात्र जोगिँदैन ।
लोकतन्त्र प्रश्न गर्ने नागरिकले जोगाउँछ ।
र जब नागरिक उठ्छ , त्यो केवल भीड हुँदैन —त्यो इतिहासको नयाँ अध्याय हुन्छ ।
आकाशमा जून पूर्ण रूपमा उक्लिसकेको थियो ।
र माइतिघर मण्डलाको चोकमा
हजारौँ आँखाभित्र एउटै उज्यालो चम्किरहेको थियो —प्रश्नको उज्यालो ।
–––
२१ माइतिघर : प्रश्नको उज्यालो
चैत्र १ को बिहान ।
काठमाडौँको आकाश असामान्य रूपमा स्वच्छ थियो । रातभरि परेको हल्का पानीले सडक धुलाम्मे शहरलाई धोएर राखेको थियो । माइतिघर मण्डलाको वरिपरि पानीका साना थोपा अझै चम्किरहेका थिए, जसमा बिहानका रवि टुक्रा–टुक्रा सुनौलो भएर परिरहेका थिए ।
तर त्यो बिहान सामान्य थिएन ।
बिस्तारै मानिसहरू आउन थाले ।
पहिले केही विद्यार्थी ।
त्यसपछि किसानका प्रतिनिधि ।
केही श्रमिक, केही पत्रकार, केही वृद्ध नागरिक ।
हातमा कागज, पोस्टर र एउटा सरल माग —“प्रतिवेदन सार्वजनिक गर ।”
आर्यन माइतिघरको घेरामा उभिएको थियो ।
उसले वरिपरि हेर्दा एउटा अजीब अनुभूति भयो—
भीड ठूलो थियो, तर आवाज कम ।
मानिसहरू चिच्याइरहेका थिएनन् तर उनीहरूको मौनभित्र पनि एउटा गहिरो तनाव थियो ।
दीपकले बिस्तारै भन्यो, “आज प्रश्नले सडक छोएको दिन हो ।”
दिउँसो हुँदै जाँदा भीड अझ बाक्लिँदै गयो । माइतिघरको गोलो घेरा अब मानिसहरूले भरिएको थियो । पोस्टरहरू हावामा हल्लिरहेका थिए । अचानक टाढाबाट सायरनको आवाज आयो ।
राज्य पनि आइपुगेको थियो ।
प्रहरीको पङ्क्ति सडकको अर्को छेउमा उभियो ।
ढाल, हेल्मेट र अनुशासनबद्ध पङ्क्ति ।
केही क्षणका लागि वातावरण झन् गहिरो भयो ।
भीड र राज्य —दुवै एकअर्कालाई नियालिरहेका थिए ।
आर्यनले त्यो दृश्य हेर्दै सम्झियो —लोकतन्त्र यस्तै क्षणहरूमा परिक्षित हुन्छ ।
यदि राज्यले सुन्छ भने लोकतन्त्र बलियो हुन्छ ।
यदि राज्यले दबाउँछ भने प्रश्न अझ ठूलो हुन्छ ।
त्यही बेला एक वृद्ध किसान अगाडि आए ।
उनको हात काँपिरहेको थियो, तर आवाज स्पष्ट थियो, “हामी यहाँ झगडा गर्न आएका होइनौँ,” उनले भने, “हामी यहाँ सत्य माग्न आएका हौँ ।”
भीड एकछिन मौन रह्यो ।
त्यो मौन कुनै डरको मौन थिएन ।
त्यो प्रतीक्षाको मौन थियो ।
आकाशतिर हेर्दा बादलहरू बिस्तारै सर्दै थिए ।
हावाले झन्डा हल्लायो ।
नजिकैको रुखबाट केही पात झरे ।
आर्यनले मनमनै महसुस गर्यो —प्रकृतिमा कुनै चीज स्थिर हुँदैन ।
नदी बग्छ ।
हावा चल्छ ।
बादल सर्छ ।
र समाजमा पनि प्रश्न रोकिन सक्दैन ।
दिउँसोको उज्यालो माइतिघरको शान्तिका विम्ब पत्थरमाथि फैलिँदै गयो ।
राज्यका प्रतिनिधिहरू अन्ततः अगाडि आए ।
उनीहरूले एउटा छोटो घोषणा गरे —प्रतिवेदन सार्वजनिक प्रक्रियामा लैजाने प्रतिवद्धता ।
त्यो पूर्ण समाधान थिएन तर त्यो मौनता भत्किने सुरुवात थियो ।
भीडमा हल्का ताली बज्यो ।
आर्यनले आकाशतिर हेर्दै बिस्तारै भन्यो, “लोकतन्त्र कहिल्यै एक दिनमा जितिँदैन । यो निरन्तर प्रश्नले जोगिन्छ ।”
साँझ पर्दै जाँदा माइतिघरको भीड बिस्तारै घट्न थाल्यो तर चोक खाली भए पनि एउटा कुरा त्यहाँ रहिरह्यो —
प्रश्न !!!
र त्यो प्रश्न !!!
नदीजस्तै बगिरहनेछ ,
हावाजस्तै चलिरहनेछ ,
घडीको टिजिटजस्तै बढिरहनेछ ,
र उज्यालोजस्तै फैलिरहनेछ ।
किनकि अन्ततः
प्रश्न नै नागरिकको आत्मा हो ।
–––
२०८२ फागुन ३०
बिजु सुवेदी विजय
Comments
Post a Comment