पौराणिक कथा :— कर्णको डायरी : युद्ध सकिँदैन, सास सुरु हुन्छ ।
पौराणिक कथा :— कर्णको डायरी : युद्ध सकिँदैन, सास सुरु हुन्छ ।
“विजयः लिख्यते, प्राणो न गण्यते ।”
(इतिहास लेखिन्छ, तर सास गनिँदैन ।)
यो सूत्र
— युद्धको घोषणाभन्दा गहिरो,
— विजयको जयघोषभन्दा कठोर,
— धर्मको भाषाभन्दा मौन
छ ।
महाभारतको अन्तर्दृष्टि — कर्णको डायरी
महाभारत—सधैं पाण्डव र कौरवको द्वन्द्वको कथा भनि सुनाइन्छ तर यदि तपाईंले केवल झण्डा र रणघोषको आवाज मात्र सुन्नुभयो भने, तपाईंले युद्धको आधा अस्तित्व मात्र देख्नु भएको छ । युद्धको अँध्यारो कोठामा, जहाँ घोडाहरू चुपचाप सास फेर्छन्, रथहरू खाली मैदानमा अड्किन्छन्, त्यो ठाउँमा सैनिकहरूको मौन इतिहास लेखिन्छ । मृत्युको दृश्यमात्र हेरे नहुने रहेछ ।
कर्णको डायरीले हामीलाई त्यसै कोठामा प्रवेश गराउँछ । यहाँ पाण्डव र कौरवको प्रत्यक्ष छवि मात्र होइन; यहाँ छ— ३२, ३३, ३४, ३५, ३६ नम्बरका प्रतिनिधि सैनिकहरू, ती हरेक सैनिकको व्यथा बोल्छ । जसको अस्तित्व युद्धले कहिल्यै गन्न सकेन तर उनीहरूको सास, करुणा, पीडा र प्रतिरोधले नै यो युद्धको वास्तविक रेखा बनायो ।
–––
मौन विम्ब र युद्धभन्दा परको दृष्टि
वाणको श्ययामा पनि भीष्मको पीडा, अक्सिजनबिना ढलेका जवान, ३२ नम्बरको सैनिकको थरथर— यी दृश्यहरू केवल दृष्टिमा देखिदैनन्, तर मनमुटुमा महसुस हुन्छन् ।
सुर्योदयको पूजा, दानको अपरिचित भार, मानवताको मूल्य मापन गर्ने छिन–छिनका क्षणहरू—यी सब यो डायरीमा मौन दृश्यका रूपमा प्रकट हुन्छन्, जसले पाठकलाई युद्धको धुलो र रक्तस्रावभन्दा पर सशक्त करुणाको अनुभूति दिन्छ ।
–––
जनप्रदर्शनको खलबली
जब कर्णका ती विवरणहरू प्रकाशमा आए, सिर्जना मात्र होइन, इतिहास नै काँप्यो । जनताले महसुस ग¥यो— युद्धका ठूला नामले केवल रणभूमि सजाउँछन्, आफ्ना महत्त्वाकांक्षा दल्छन् । राजनीतिअनसार ढाल्छन् जसरी गुलाफको विरुवा कलमी गर्छन् तर वास्तविक मानवता अदृश्य सैनिकहरूको सासमा लुकेको छ ।
त्यो मथिङ्गल— धुलो, रक्त, घोडाको हिनहिनाहट, भीष्मको शय्यामा डुलेको वाण— सबै एउटै दृश्यमा अभिव्यक्त भयो र यसमा दुईमत रहेन ।
अन्ततः महाभारत केवल युद्धको वर्णन होइन । यो मानवताको विजयको कथा हो । जहाँ वीरगति मात्र होइन, साहस, करुणा, दान र नियतिसँगको अन्तर्सम्बन्धको पनि मापन हुन्छ ।
कर्णको डायरीले हामीलाई सम्झाउँछ— विजय केवल रणभूमिमा होइन, सैनिकको आँखामा, मानवताको अस्तित्वमा, र करुणाको सास–सासमा पनि हुन्छ । यो डायरी, यही सन्देश लिएर हामीलाई युद्धको बाहिरको गहिरो सत्य देखाउँछ ।
–––
वाणश्ययाको छेउबाट सुरु भएको कथा
कुरुक्षेत्र आज अस्वाभाविक रूपमा शान्त थियो । युद्ध थामिएको थिएन, केवल सास रोकिएको थियो ।
म कर्ण— आज युद्धका लागि होइन, एउटा ३३ नम्बरको सैनिक हेर्न निस्किएको थिएँ । उसको नाम कसैले उच्चारण गर्दैन, तर उसको सास मेरो सेनाको लयसँग गाँसिएको छ तर नियति सधैं सीधा बाटोमा हिँड्दैन ।
नियमले मलाई रोक्यो— “सेनापति, भीष्मलाई नहेरी सैनिककहाँ जान मिल्दैन ।”
म मनमनै हाँसेँ । नियम पनि कहिलेकाहीँ घाइते हुन्छ , तर कसैले देख्दैन ।
भीष्म — वाणको श्ययामा पल्टिएको महाकाल । उहाँलाई भेट्नु मेरो इच्छाभन्दा मेरो बाध्यता थियो ।
भीष्म पितामह वाणको शय्यामा सुतेका थिए— सुतेका होइनन्, पीडा भोगिरहेका थिए । वाणहरू शरीरमा गाडिएका थिए, तर पीडा चेतनामा । त्यो पीडाले असीमित बोलीहरु फुटाइरहेका थिए , अनि असीमित हत्या गरिसकेपछिको पश्चात्तापको पोलाइको भित्री लाभाबाट असीमित अभिव्यक्तिहरु टचल्किरहेका थिए ।
उहाँको मुखबाट शब्द निस्किरहेका थिए—कहिले मन्त्र, कहिले विलाप, कहिले इतिहास ।
त्यो कुनै निजी पीडा थिएन, त्यो त धारावाहिक प्रत्यक्ष प्रसारणजस्तै थियो— कुरु वंशको पतनको ।
“गङ्गे... म गलत थिएँ कि ?”
“प्रतिज्ञा...अत्यन्त भारी हतियार रहेछ...”
“धर्म...सबैभन्दा बढी रगत माग्ने शब्द...”
प्रत्येक वाक्य एउटा वाणसरह हावामा गड्थ्यो ।
म उभिएको थिएँ— सूर्यपुत्र भएर, तर छायामा ।
कर्ण र भीष्म — मौन संवाद
उहाँले मलाई देख्नुभयो । आँखा झिम्क्याए । त्यो झिम्काइ आशीर्वाद थियो कि दण्ड— म छुट्याउन सकिनँ ।
भीष्मः “कर्ण... तिमी यहाँ किन आयौ ?”
मैले सत्य बोलेँ, तर आधा ।
मः “पितामह, म आफ्नो सैनिक हेर्न जाँदै छु ।”
उहाँ हाँस्न खोज्नुभयो, तर पीडाले अनुमति दिएन ।
भीष्मः “सैनिक ? कति नम्बरको ?”
मः “३३ ।”
भीष्म केहीबेर मौन भए । वाणहरू हल्लिए । पीडाले फेरि प्रसारण सुरु ग¥यो ।
भीष्मः “राजाहरू युद्धको इतिहास लेख्छन्, तर युद्ध बाँच्ने त यही नम्बरहरू हुन्, कर्ण ।”
त्यो वाक्य मेरो डायरीको पहिलो पङ्क्ति बन्यो ।
३२–३६ :-नाम नभएका स्तम्भहरू
म फर्कंदै थिएँ भीष्मको पीडा पछाडि छोडेर तर मन अगाडि थियो— ३२, ३३, ३४, ३५, ३६ ।
उनीहरू न त पाण्डव थिए, न कौरव । उनीहरू केवल युद्धका कन्धा थिए । जो अनि जुन पक्षकाले वीरगति पाए पनि कुरुषेत्रमा मानव मरिरहेका थिए ।
३३ नम्बरको सैनिक— उसले मलाई देख्नेछ कि देख्दैन, मलाई थाहा थिएन तर आज पहिलो चोट मैले महसुस गरेँ— “महाभारत शायद यिनै सैनिकको आँखाबाट फेरि लेखिनुपर्छ ।”
म सूर्यतर्फ हेरेँ । उहाँ मौन हुनुहुन्थ्यो ।
डायरीमा लेखेँ— “वाणश्ययामा सुतिरहेको भीष्म इतिहास हो तर ३३ नम्बरको सैनिक भविष्य हो ।”
–––
नियतिले बसालिएको क्षण
म उठ्नै लागेको थिएँ । ३३ नम्बरको सैनिक— मेरो चेतनाले मलाई उतैतिर तानिरहेको थियो तर वाणको श्ययाबाट एक कमजोर तर अडिग आवाज आयो—
भीष्मः “कर्ण... एकछिन बस् ।”
म बस्न चाहँदैनथेँ । बसाइ अब युद्धजत्तिकै कठिन भइसकेको थियो तर यो मेरो इच्छा होइन, नियतिले दिएको आसन थियो ।
मैले खुट्टा रोकें । मन भने उभिएकै थियो ।
खाद्य उपहार : अस्वीकार गर्न नसकिने करुणा
भीष्मले फेरि भने— “केही खाएर जा । युद्धले पेटभन्दा पहिले आत्मा खाइरहेको छ ।”
म मुस्कुराएँ— त्यो मुस्कान स्वीकारोक्ति थियो, इच्छा होइन । मलाई भ्रष्टाचार मनपर्दैन ।
खाद्य लिएँ तर खाइनँ ।
त्यो थाली मेरो हातमा थिएन, मेरो अपराधबोधमा थियो । किनकि मेरो दृष्टि बारम्बार ३३ नम्बरको सैनिकतर्फ भागिरहेको थियो ।
निगरानीको गणित : ३५ र ३६
त्यसैबेला मैले चाल पाएँ— ३५ नम्बरको सैनिक भीष्मको श्ययाको छेउमा शान्त तर सजग उभिएको थियो । उसको आँखामा डर थिएन, तर कर्तव्यको कठोरता थियो ।
भीष्म उसैलाई निगरानीमा राखेर मलाई रोकिरहनु भएको रहेछ ।
३६ नम्बरको सैनिक—ऊ चाहिँ भित्तापछाडि थियो । उसको सासको धिमी आवाज म सुनिरहेको थिएँ, यति स्वच्छ घडीले ६ः३० बजाइरहेको थियो, त्योभन्दा बढी बस्नु मैले उचित ठानिन तर उसको अनुहार देख्न सकिनँ । नियतिले सबैलाई बराबर देखाउँदैन रहेछ ।
३३ लाई म खोज्दै थिएँ, ३५ देखिरहेथेँ, राजनीतिको फोहोरी खेल । धमिलो पानी यस्तो थियो कि ३६ चाहिँ इतिहासको कुनामा पहिले नै धकेलिएको थियो ।
भीष्मको स्मृति : टोकरी, डोको र समय
भीष्मको स्वर अचानक फेरियो— पीडाबाट स्मृतितर्फ ।
भीष्मः “आजैजस्तो लाग्छ कर्ण... यत्ति सानो बच्चा टोकरीजस्तो डोकोमा बहाइएको...”
मेरो शरीर जकडियो । त्यो कथा मैले सयहजारचोटि सुनिसकेको थिएँ, प्रत्येक चोटि सुन्दा आफुलाई उमाल्थेँ तर आज पहिलोचोटि वाणको श्ययाबाट होशमा सुनिरहेको थिएँ ।
भीष्मः “सारथिले उठाएर काखमा राखेको त्यो बच्चा...”
उहाँको सास भारी भयो । वाणहरू हल्लिए ।
भीष्मः “आज कर्णबीर भइसकेछ ।”
म केही बोलिनँ । किनकि यदि बोलेँ भने ३३ नम्बरको सैनिक मेरो मुखबाट निस्केला ।
कर्णको मौन स्वीकारोक्ति
म उभिएँ । अब बस्नु अवज्ञा हुन्थ्यो ।
मः “पितामह, समयले मलाई बोलाइरहेको छ ।”
भीष्मले टाउको हल्लाउनुभयो ।
भीष्मः “जा । तर याद राख— तिमी मात्र होइन, तिम्रा सैनिकहरू पनि तिमी भएर लडिरहेका छन् ।”
म बाहिर निस्किएँ ।
३३ नम्बरको सैनिक अझै प्रतीक्षामा थियो ।
३५ नम्बर ड्युटीमै ।
३६ नम्बर भित्तापछाडि— नाम नलिइएको नियति ।
डायरीमा लेखेँ— “मलाई सूर्यले जन्म दियो, युद्धले बनायो, तर यी ३२–३६ नम्बरका सैनिकले मलाई मानिस बनाइरहेका छन् ।”
–––
पर्दाभित्र हराएको ३३ नम्बर
३४ नम्बरको सैनिक मेरो पछाडि–पछाडि हिँडिरहेको थियो । उसको बोली हलुका थियो, तर अर्थ गहिरो ।
३४ नम्बरः “भीष्म दाइ त मीठो बोल्नुहुन्छ, हैन र ?”
उसले मलाई हेरेन, हावालाई सोध्यो । “तर कर्णलाई त आज सुद्धि हराएर केरा खाएको जस्तो लागिरहेको छ ।”
म मुस्कुराएँ तर त्यो मुस्कान मेरो होसको थिएन ।
किनकि म हेर्न आएको थिएँ— ३३ नम्बरको सैनिक ।
कर्णको “उत्खनन”
मलाई लागिरहेको थियो— आज म राजा होइन, सेनापति होइन, म त परीक्षक हुँ ।
मेरो मनले भनिरहेको थियो— “यदि निम्नस्तरको सैनिक पनि सुर्योदयको पूजामा दिइने दानजस्तै वैद्यखानामा सेवा–सुश्रुषा पाउँछ भने धर्म अझै बाँकी छ ।”
३४ नम्बरले मेरो अनुहार पढिरहेको थियो ।
३४ नम्बरः “हजुर अनुसन्धान गर्न आउनुभएको हो ?”
मैले उत्तर दिइनँ किनकि यदि बोलेँ भने राजनीति निस्कन्थ्यो, तर मलाई चाहिएको मानवता थियो ।
३५ नम्बरको छेउमा बसेको सत्य
त्यसैबेला मैले देखेँ— ३५ नम्बरको सैनिक वैद्यखानाको ढोकाछेउ बसिरहेको थियो । उसको आँखा भित्र थियो, तर शरीर बाहिर ।
मः “३३ नम्बर ?”
३५ नम्बरले केही बोल्न सकेन । केवल आँखा झुकायो । त्यो झुकाइ उत्तर थियो । पर्दा झ¥यो भित्रबाट हडबडी आयो । उपचारकहरू पर्दा लिएर निस्किए । पर्दाले सबै कुरा ढाक्यो— शरीर, सास, असफलता ।
३४ नम्बर मेरो छेउमा एक पाइला पछाडि हट्यो ।
३४ नम्बर (मौनमा): “अक्सिजन थिएन...”
म अडिन सकिनँ । ३३ नम्बरको सैनिक— जसलाई म “रिसर्च” गर्न आएको थिएँ— अब अध्ययनको विषय रहेन । ऊ वीरगतिको निष्कर्ष भइसकेको थियो ।
दाहसंस्कारतर्फ लाग्दै
उपचारकहरूले पर्दाले घेरेर शरीर उठाए । कुनै नाम उच्चारण भएन ।
केवल नम्बर— “३३...३३ नम्बर...”
त्यो आवाज मेरो कानमा होइन, मेरो छातीमा बज्यो । म त्यहीँ उभिएको थिएँ— सूर्यपुत्र, दानवीर, तर एक सैनिक जोगाउन नसकेको सामान्य मानिस ।
डायरीमा हात काँप्दै लेखेँ— “म दान दिन जान्थेँ, तर ! तर ! भन्न कत्तिको गह्रुँगो हुँदो रहेछ । मेरो शरीर खुलुलु चिसो भयो, बर्फिलो भूमिमा पसारिएसरि ३३ नम्बरको सैनिक दान बन्न पुग्यो ।”
३४ नम्बर मेरो छेउमै उभिएको थियो ।
३४ नम्बरः “हजुर... अब के हुन्छ ?”
मैले आकाशतर्फ हेरेँ । सूर्य अस्ताउँदै थियो ।
मः “अब महाभारत एक सैनिक कम भएर लडिन्छ ।”
पर्दा टाढा गयो । ३३ नम्बर इतिहासको सूचीमा थपियो तर मेरो डायरीमा ऊ पहिलो चोट नाम भएर बाँचेको थियो ।
–––
दानवीरताको असफलता र दुई दिनको रोदन
बाहिरका आँखाले मलाई एउटै वाक्यमा सीमित गरे— “कर्ण भीष्मसँग विह्वल भयो ।”
दर्शकलाई वाणको श्ययामा परेको वृद्ध देखेर कर्णको विह्वलता देख्थ्यो , तर मभित्र अक्सिजन नपाएर ढलेको जवान कराइरहेको थियो । आज दुई दिन भयो । दुई दिनदेखि म युद्धको मैदानमा छैन । म आफ्नो चेतनाको कालकोठरीमा छु ।
३३ नम्बर — मामुली उपचार, असम्भव मृत्यु
३३ नम्बरको सैनिक कुनै अस्त्रले वीरगति प्रप्त गरेन । कुनै शत्रुले ढालेन । उसले मामुली उपचार नपाएर देह त्याग्यो । अक्सिजन— जसको मूल्य एक दानको आधा पनि थिएन । मैले हजार कवच दान गरेँ, तर एक सास दान गर्न सकिनँ । त्यो सोचले मेरो छाती च्यातिरह्यो ।
इति–बृत्तान्तको बुलेटिन
मैले आफ्नै हातले पूरा विवरण लेखेँ— इति–बृत्तान्त । त्यो पनि पौराणिक ताडपत्रमा, आँखाले त्यो देखेका प्रत्यक्ष प्रशारणसरि सञ्जयले बयान नदिएका मैले वर्णन स्पष्ट्याइरहेको थिएँ । राजाका लागि होइन, इतिहासका लागि होइन— आफूलाई दोषी ठहर गर्न । डायरीमा लेखेँ— “दानवीर भनिनु त्यो क्षण व्यर्थ भयो जब दान सर्वसाधारण सैनिकसम्म पुग्न सकेन ।”
मैले आफ्नो दानवीरताको अँगालो खाली देखेँ । त्यस अँगालोमा राजा अट्थे, देवता अट्थे, तर ३३ नम्बरको सैनिक अटेन ।
आत्मधिक्कार : कर्ण विरुद्ध कर्ण
छिनछिनमा मेरो हात आफैं उठ्थ्यो । मुड्की बज्थ्यो— छातीमा, भित्तामा, माथितिर पनि । “धिक्कार छ, कर्ण !”
त्यो स्वर मेरो होइन, मेरो अन्तरात्माको थियो । म रोएँ— न लुकेर, न शाही मर्यादामा । म रोएँ जसरी नम्बरवाला सैनिक रोइरहन्थे ।
भीष्म र “रुनुको”को आरोप
उता भीष्मसँग रुनुको भनियो । “वाणको श्ययाको पीडाले कर्णको चेतना हल्लिएको छ ।”
तर उहाँलाई पनि सत्य कहाँ थाहा थियो र ? म उहाँसँग होइन, मसँगै लडिरहेको थिएँ । भीष्मको पीडा दृश्य थियो, मेरो पीडा अदृश्य तर अदृश्य पीडाले नै मानिस भत्काउँछ ।
डायरीको अन्तिम पङ्क्ति त्यो दिन लेखेँ— “यदि दान राजदरबारमै अड्किन्छ भने त्यो दान होइन, त्यो मुर्दा सजावट हो ।”
म चुप लागेँ तर भित्र दृष्य महाभारतभनदा ठूलो महाभारत चलिरह्यो ।
–––
बीचमा उभिएको मानिस
आज म कौरवको पङ्क्तिमा उभिएको थिएँ, तर मेरो प्रश्न कुनै झण्डाको थिएन । ३३ नम्बरको सैनिक वीरगति प्राप्त गरेपछि मभित्र एउटा रेखा मेटिएको थियो— कौरव–पाण्डवको । यहँदेखि मैले हेर्ने नजरिया बदलियो । सायद त्यो मामुली जवान मेरा सबैभन्दा ठूला गुरु बने ।
कर्णको प्रश्न : युद्धभन्दा बाहिरको युद्ध
मैले स्वर उठाएँ । पहिलोचोटि अस्त्रका लागि होइन, सासका लागि । म (आक्रोशित हुँदै)ः “आखिर किन ? न कौरवको झण्डामुनि, न पाण्डवको झण्डामुनि— स्वतन्त्र युद्धस्तरमा स्वास्थ्यको व्यवस्था किन भएन ?”
मेरो स्वर रणघोषभन्दा ठूलो थियो । “यो धर्मयुद्ध हो भने उपचार कहाँ छ ? यो सामान्य जहँितहीँ सर्वत्र पाइने हावा हो , यो नीति हो भने अक्सिजन किन विलासिता बन्यो ?”
म एकछिन रोकेँ । छाती भारी थियो । मन खुलुलु भयो ।
“यो सरासर मानव अधिकारको धज्जी उडाउनु हो । सैनिकलाई केवल मर्नका लागि भर्ती गरिएको हो ?”
दुबै पक्ष, एउटै दृष्टि
म सोच्थेँ— कुराले त सबैलाई छुनेछ तर आँखा अर्कै कुरा बोल्दै थिए । कौरवको पङ्क्तिबाट मलाई पाण्डवको सहानुभूति बोकेको जसरी हेरियो । पाण्डवको पङ्क्तिबाट मलाई कौरवको प्रतिनिधि जसरी । म देख्दै थिएँ— कसैलाई मेरो प्रश्न असहज लाग्यो, कसैलाई मेरो करुणा षड्यन्त्र ।
“कर्ण त अब न यता छ , न उता ।”
त्यो निर्णय आँखामै लेखिएको थियो ।
एक्लोपनको स्वीकारोक्ति
म मुस्कुराएँ । त्यो मुस्कान हारको होइन, स्वीकारको थियो ।
डायरीमा लेखेँ— “जब युद्धले मानव अधिकार देख्न छोड्छ , तब प्रश्न गर्ने मानिस दुवै पक्षका लागि शत्रु बन्छ ।”
म एक्लो भएँ तर सत्यसँग अनि न्यायसँग नजिकिएँ । कुनै पनि पक्षमा नलाग्नु त्रिशङ्कु होइन रहेछ । यो न यता न उता पनि होइन रहेछ । यो पङ्कितिमा बसेर दुबै पक्षलेभन्दा बढी न्याय दिन सकिने रहेछ । कौरब भन्थे कर्तव्य अनि पाण्डव धर्मका पक्षपाती तर यो बीचको बाटो त्यो पाटो रहेछ जसले ती दुबै पक्षभन्दा बढी न्याय अनि सत्यसँग नजिकिन सकिने र अन्तिम अदालतले जस्तो जीजीविषाको न्याय दिन सकिने रहेछ ।
३४ नम्बरको सैनिक टाढाबाट मलाई हेरिरहेको थियो । ३६ नम्बर अझै भत्तापछाडि । मैले बुझ्दै थिएँ—अब यो कथा झण्डाको होइन ।
यो कथा बाँच्ने अधिकारको हो ।
अन्तिम वाक्य
मैले अन्तिमपटक दुवै पङ्क्तितर्फ हेरेँ।
मः “यदि युद्धले उपचार दिन सक्दैन भने, मानवको लाशमात्र गन्दछ भने इतिहासले यसलाई विजय होइन, अपराध भनेर लेख्नेछ ।”
म फर्किएँ , बीचको बाटो समातेर ।
डायरी बन्द गरिनँ— किनकि अझै ३४ र ३६ नम्बर बाँचिरहेका थिए ।
–––
सत्य पहरामा परेको दिन
त्यो दिन युधिष्ठिर स्वयं उपस्थित थिए । उनी धर्मराज— सत्यका प्रतिरूप तर मैले त्यही दिन पहिलोपटक स्पष्ट बुझेँ— सत्य पनि कहिलेकाहीँ पहरामा राखिन्छ ।
युधिष्ठिरको आँखाअगाडि धर्म बोलिन्थ्यो, तर धर्म लागू हुँदैनथ्यो । कर्मचारीतनत्र सुधार्न जहिल्यै गाह्रो यो कटु सत्य रहेछ ।
मैले बुझें— समस्या असत्य होइन, समस्या सत्यको पहुँच हो । सत्यमै पुगेपछि वास्तविक समस्या निक्र्यौल हुने रहेछ अनि सत्यमै टिकेपछि मात्र त्यो समस्या समाधान गरेर गन्तव्य पहिल्याउन सकिने अनि उपचार पनि गर्न सकिने मूख्य चुरो रहेछ तर त्यो बाटोमा कोही पनिा देखिएन । सायद म नितान्त छु ।
३२ नम्बर — नदेखिने दुर्दशा
त्यसैबेला मलाई ३२ नम्बरको सैनिककहाँ ल्याइयो । ऊ श्ययामा थिएन, श्ययाले उसलाई थामेको थियो । आँखा धसिएका, ओठ सुक्खा, सास धिपधिपे गणनामा ।
ऊ कराइरहेको थिएन— त्यो नै सबैभन्दा कारुणिक थियो ।
कौरवले देखेनन् । पाण्डवले देखेनन् । किनकि ३२ नम्बर कुनै रणनीतिक बिन्दु थिएन ।
भीष्मको खाद्य ः आज्ञाबाट करुणासम्म
मेरो हातमा अझै थियो— भीष्मले दिएको खाद्य उपहार ।
“खा, कर्ण ।”
“खानैपर्छ, कर्ण ।”
उहाँको स्वर अझै मेरो कानमा सनसनाइरहेको थियो तर आज मेरो पेटले होइन, मेरो आत्माले खान मागिरहेको थियो ।
मौन दान
मैले कुनै घोषणा गरिनँ । कुनै झण्डा उचालिनँ । दुवै पक्षको नजर छल्दै हजार पर्दा लगाए पनि मेरो गन्तव्य जसरी म ३२ नम्बरको श्ययामा बसें । म आफैंसँग बोल्दै जस्तो गरेँ—
“खाऊ है, कर्ण...
खानुपर्छ है, कर्ण...”
३२ नम्बरले आँखा खोलेर मलाई हेरेन तर उसको हात मेरो हात छोयो । मैले भीष्मको खाद्य उसका ओठमा राखिदिएँ । त्यो क्षण कुनै शास्त्रले धर्म परिभाषित गरेन तर मेरो छातीबाट भारी ढुंगा अलिकति खस्यो ।
क्षणिक हलुकापन
३२ नम्बरले थोरै निल्यो । सास एकछिन स्थिर भयो । म उठें । मन अझै भारी थियो, तर पहिले जस्तो अब असह्य थिएन ।
डायरीमा अन्तिम वाक्य लेखेँ— “जब सत्यलाई पहरा चाहिन्छ , तब करुणा चोरीजस्तै गर्नुपर्छ ।”
म फर्किएँ ।
पछाडि ३२ नम्बर अझै सास फेर्दै थियो । अगाडि महाभारत घोर घमासानसँग अझै लडिँदै थियो । हजारौँ लाशका थुप्राका पर्वतहरु बढिरहेको थियो तर आज मैले कम्तीमा एक सास जोगाएँ । जिन्दगी उपयोग गर्न अब बल्ल जान्न थालेको थिएँ । उसलाई भन्दा बढी आफुलाई राहत पाएको अनुभव भयो । यो राहतको अनुभव न पर्जन्य वा न विजयजस्ता अश्त्रको वरदान पाउँदा नै भएको थियो । यो पल सबैभन्दा गूढ किसिमको थियो । जिन्दगी जिउन बल्ल जानेँ । सायद यो रहेछ जीजीविषाको आत्मा ।
–––
भित्तापछाडिको दृष्टि
युद्धले सधैं अगाडिको दृश्य मात्र देख्छ ः अस्त्र, रथ, रणघोष तर भित्तापछाडि अरू नै महाभारत चलिरहेको हुन्छ । ३६ नम्बरको सैनिक त्यही भित्तापछाडि थियो ।
ऊ न त घाइते सूचीमा थियो, न त वीरगतिको गणनामा तर उसले सबै देखिरहेको थियो।
३६ नम्बर — साक्षी, सहभागी होइन
उसले देख्यो— ३३ नम्बर पर्दाभित्र हराएको ।
उसले देख्यो— ३२ नम्बर मौन दानले एकछिन बाँचिएको ।
उसले देख्यो— कर्ण राजा भएर होइन, मानिस भएर लुक्दै हिँडेको अनि मानिस भएर हिँड्नु नै उसलाई अप्रतिम हुनु तर कसैले उसलाई सोधेन— “तँले के देखिस् ?” किनकि साक्षीहरू इतिहासलाई असहज बनाउँछन् ।
कर्णको अन्तिम करुणात्मक विद्रोह
मैले ३६ नम्बरलाई पहिलोचोटि आँखामा आँखा मिलाएर हेरें । त्यो आँखा प्रश्नले भरिएको थिएन, आरोपले भरिएको थियो ।
३६ नम्बर (मौनमा)ः “हजुरले देख्नुभयो, तर रोक्न सक्नुभएन ।”
त्यो मौन मेरो अन्तिम विद्रोह बन्यो । अब म चिच्याउन चाहन्नथेँ । अब म भाषण गर्न चाहन्नथेँ ।
मैले निर्णय गरेँ— “यदि करुणा नीति बन्न सक्दैन भने, म करुणा भएरै अपराध गर्छु ।”
त्यो मेरो अन्तिम विद्रोह थियो— न राज्यविरुद्ध, न शत्रुविरुद्ध— त्यो त नियतिविरुद्ध ।
नियतिसँग प्रत्यक्ष सामना
म एक्लै उभिएँ । सूर्य अस्ताउँदै थियो । मैले आकाशतर्फ हेरेँ— “हे नियति, तिमीले मलाई दानवीर बनायौ, तर सास बाँड्न नदिने नियम पनि तिमीले नै बनायौ ।”
म मुस्कुराएँ ।
“आज म तिम्रो नियम तोडेर बाँच्नेछु— हारेर सही ।”
नियतिले उत्तर दिएन तर ३६ नम्बरको सैनिक मेरो पछाडि उभियो । उसले केही भनेन तर त्यो उभिनु नै इतिहास थियो ।
युद्धले नदेखेको अन्तिम दृश्य
रणभूमिमा घोडा हिनहिनाइरहेका थिए । शङ्ख बजिरहेका थिए तर भित्तापछाडि— एक राजा एक सैनिकसँग मौन रूपमा उभिएको थियो ।
डायरीको अन्तिम पाना
मैले त्यहीँ लेखेँ— “युद्धले जसलाई देखेन, उसैले मेरो सत्य देख्यो र त्यो सत्यसँग उभिनु नै मेरो अन्तिम विजय हो ।”
३६ नम्बर फेरि भित्तापछाडि गयो । म अगाडि— नियतितर्फ ।
महाभारत अब मेरो हातमा थिएन तर मेरो मानवता अझै मेरो थियो ।
–––
कर्ण — युद्धले हारेको, मानवताले जितेको
कुरुक्षेत्रको साँझ धेरै वर्षपछि पनि साँझ नै रहन्छ । सूर्य त्यही दिशाबाट अस्ताउँछ , जहाँबाट रथहरू बिहान उठेका थिए । हावा धुलो बोकेर हिँड्छ— धुलोमा रगतको स्मृति मिसिएको हुन्छ ।
नदी आज पनि बग्छ, तर त्यसको किनार अब नाम होइन, नम्बरहरू सम्झन्छ ।
शरीरमा यस्ता नशा अरबौँ हुन्छन् । धर्तीमातामा त नशा कत्ति कत्ति । ३२, ३३, ३४, ३५, ३६— यी कुनै पङ्क्ति होइनन्, यी धरतीका नसा हुन् ।
–––
वर्षौँपछि मानिसहरू भन्नेछन्—
“भीष्म वाणको श्ययामा सुते ।”
“अर्जुनले बाण हाने ।”
“कृष्णले नीति सुनाए ।”
तर कसैले सोध्दैन—
“३३ नम्बरको सैनिकले अक्सिजन किन पाएन ?”
“३२ नम्बर किन मौन रह्यो ?”
“३६ नम्बर किन भित्तापछाडि साक्षी बनिरह्यो ?”
इतिहास सधैं ठूला नामले आफ्नो लाज छोप्छ ।
कर्णको शरीर एकदिन धरतीमा ढल्यो । रथ अड्कियो । सूर्य टाढा भयो । अस्त्र मौन भए तर त्यो दिन धरतीले एकछिन सास फेर्न पाई । किनकि त्यो शरीरसँगै मानवता मरेन ।
त्यो साँझ हावा एकछिन रोकियो । पातहरू बिनाकारण खसे । चराहरू आकाशमै अड्किएजस्तो भए र कुरुक्षेत्रले पहिलोचोटि आफूलाई सोध्यो— “के यो युद्ध जित्नकै लागि थियो ?”
त्यस दिनपछि घाम उस्तै उदायो, तर उसको ताप फरक भयो । किनकि अब घामले राजाहरू मात्र होइन, सैनिकहरू पनि देख्न थालेको थियो ।
कर्णको डायरी त्यहीँ बन्द हुन्छ तर त्यसको अन्तिम पानामा यति मात्र लेखिएको छ —
“महाभारतमा कर्ण युद्धले हा¥यो, तर ३२–३६ नम्बरका सैनिकको आँखामा ऊ मानवता भएर अमर भयो ।”
–––
आज म युद्धको बीचमा उभिएको छैन । म इतिहासको छायाँमा उभिएको छु । यहाँ शङ्ख फुकिँदैन, यहाँ श्वास रोकिन्छ । भीष्म वाणको शै्ययामा गन्दैछन् पीडा, म गन्दैछु — गनिन नपाएका प्राणहरू । सेनाको सङ्ख्या लेखियो, विजेता तय गरियो, तर ३२, ३३, ३४, ३५, ३६ — यी केवल अङ्क होइनन्, यी मौन चिहान हुन् । यदि यही नै इतिहास हो भने म यसलाई साक्षी भएर स्वीकार्दिनँ, म यसलाई दोषी भएर लेखिदिन्छु ।
विजयः लिख्यते, प्राणो न गण्यते ।
— कर्ण
यो मन्त्र कुनै पक्षको पक्षपोषण होइन, यो युद्ध–केन्द्रित इतिहासमाथिको मानव–केन्द्रित अभियोग हो । कर्ण यहाँ दानवीर होइन, महायोद्धा होइन, राजनीतिक पात्र पनि होइन— ऊ अङ्क र आत्माको बीच उभिएको अन्तिम साक्षी हो ।
–––
२०८२ पुस २८
बिजु सुवेदी विजय
Comments
Post a Comment