काँचुली फेर्दै गरेको देश

 काँचुली फेर्दै गरेको देश


बिहानी सधैँ उज्यालो भएर आउँदैन । कहिलेकाहीँ रवि उदाए पनि हावामा अझै हिजोको धुवाँ अड्किएको हुन्छ । देश पनि त्यस्तै बिहानमा थियो । पहाडहरू चुपचाप उभिएका थिए— धेरै देखेका साक्षीझैँ । नदीहरू बगिरहेका थिए, तर भित्र कतै थाकेको आवाज बोकेर । रुखहरू हरिया थिए, तर जरा कतै चट्टानले थिचिएको थियो ।


यो देश कुनै युद्ध हारेको थिएन, तर धेरै सत्यहरू हार्दै आएको थियो । यहाँ झण्डा फेर्न सजिलो थियो, तर स्वभाव फेर्न कठिन । यहाँ नारा चर्को थियो, तर न्याय कमजोर । हावा सधैँ स्वतन्त्र बग्थ्यो, तर मानिसहरू आफ्नै डरभित्र बाँधिएका थिए । चरा आकाश चिर्थे, तर धेरै आवाजहरू घाँटीमै अड्किन्थे ।


देश कुनै एक मान्छेको प्रतिक्षामा थिएन । देश त्यस्तो मान्छेको खोजमा थियो— जो सत्ता खोज्न नआओस्, तर सत्य बोकेर उभिन सकोस् ।


माटो धेरै पटक काँचुली फेरेको थियो— राजा गए, व्यवस्था फेरिए, झण्डा फेरिए तर मान्छेको नियत अझै उही पुरानो वस्त्रमा अड्किएको थियो ।


प्रकृतिलाई गुटबन्दी थाहा हुँदैन । नदीलाई पार्टी सदस्यता चाहिँदैन । रविले कसैको परिचयपत्र सोध्दैन तर मानिसले सबैभन्दा पहिले मानिसलाई नै वर्गीकरण ग¥यो ।


कुनै महान् विजयबाट होइन, कुनै ऐतिहासिक घोषणाबाट होइन तर एक साधारण मान्छेको असजिलो प्रश्नबाट— “यदि सत्य नै भारी भयो भने, उठाउने को ?”


त्यसपछि मात्रै एक नाम जन्मिन्छ , एक उपनाम फैलिन्छ , र एक अविष्मरणीय कथा आफ्नो बाटो लिन्छ— “अजात शत्रु” ।


–––

 “अजात शत्रु” जन्मिनु अघि

–––


म पार्टी कार्यालयको चिसो बेन्चमा बसेको थिएँ । भित्तामा टाँसिएको झन्डा अझै रातो थियो, तर त्यसको छायाँचाहिँ कालो देखिन थालिसकेको थियो । “तिमी धेरै इमानदार भयौ,” एक सिनियरले मुस्कुराउँदै भनेका थिए— त्यो मुस्कान प्रशंसा होइन, चेतावनी थियो ।


म मौन रहेँ । किनकि इमानदार हुनु अपराध हो भन्ने कुरा त्यो दिन मात्रै होइन, धेरै ढिलो थाहा पाउँदै थिएँ ।


मैले सोचेको क्रान्ति यस्तो थिएन । यहाँ त क्रान्तिकारी हुनु भनेको ठूला स्वरमा भाषण गर्नु, साना झूटलाई रणनीति भन्नु, र सत्यलाई समय नमिलेको भन्दै थन्क्याउनु रहेछ ।


झन् धेरै प्रश्न गर्ने मान्छे झन् धेरै शङ्कास्पद ठहरिँदो रहेछ ।

“सत्यराज,” एक दिन पार्टीको बन्द कोठामा भनियो, “राजनीति सिद्धान्तले होइन, सन्तुलनले चल्छ ।”


मैले सोधेँ, “सन्तुलन भनेको के हो ?”


उत्तर आयो, “कहिले आँखा चिम्लिनु, कहिले कान बन्द गर्नु ।”


त्यो दिन मैले बुझें— यहाँ क्रान्तिकारी त हुनै नहुने रहेछ । क्रान्तिकारीले असजिलो प्रश्न गर्छ र असजिलो प्रश्नले कुर्सी हल्लाउँछ ।


म पार्टीमा इमानदार भएर लाग्दा दुःख पाएँ तर त्यो दुःख व्यक्तिगत थिएन— त्यो एउटा प्रणालीको पीडा थियो, जहाँ इमानदारी अयोग्यता मानिन्थ्यो ।


(संवाद – आफैसँग) अब यो मेरो भोगाइ थाहा पाएपछि को राजनीतिमा लाग्ला ? र यदि राम्रो मान्छे राजनीतिमा नलागे भने के हुन्छ ?


उत्तर म आफैँलाई थाहा थियो— त्यही चोर–डाँका नेताहरूको हालीमुहाली हुन्छ ।


त्यसपछि जनताले मलाई एउटा नाम दिए— “अजात शत्रु”।


सायद किनकि मैले कसैसँग वैर राखिनँ, तर धेरैको स्वार्थमा आगो हालिदिएँ तर त्यो नाम आउनु अघि, मैले धेरै कुरा गुमाइसकेको थिएँ— पद, अवसर, र केही आफ्नै साथीहरू तर एउटा कुरा भने बाँकी थियो— आफ्नै नजरमा नझरेको अनुहार ।


–––

सिद्धान्तको अपराध

–––


मैले पार्टी बिगार्न खोजेको थिइनँ । मैले त उसलाई धोएँ— झूटको धूलो पुछेँ , डरको गन्ध हटाएँ, र कागजमा होइन, व्यवहारमा सिद्धान्त उतार्न खोजेँ । त्यही नै मेरो सबैभन्दा ठूलो अपराध भयो ।

(संवाद – पार्टी भित्र) “सत्यराज धेरै कट्टर छ ।”

बैठकमा कसैले भन्यो । “कट्टर होइन,”

अर्कोले थप्यो, “आतङ्ककारी स्वभावको छ ।”


म चुप लागिरहेँ । किनकि मैले बुझिसकेको थिएँ—यहाँ सिद्धान्तसँग मिल्नु अपराध होइन सिद्धान्तमा अडिक रहनु अपराध हो ।

(मनोवाद) म क्रान्तिकारी हुँ । त्यो पार्टीको परिभाषामा पनि गलत थिएन तर क्रान्ति यहाँ नारामा चाहिएको रहेछ , नैतिकतामा होइन । सिद्धान्त किताबमा ठीक लाग्छ , मान्छेमा लागू हुँदा खतरनाक कहलिन्छ ।


मैले पार्टीलाई स्वच्छ र पवित्र बनाउने प्रयास गरेँ । त्यसको पुरस्कार शङ्का बन्यो । जहाँ मसँग पार्टीको झन्डा थियो, तर विश्वास थिएन ।


पार्टीमा मजस्तो नेताले वरिष्ठता हासिल गर्दै जानुपर्ने थियो । इतिहास, योगदान, र जनसमर्थन तीनै थिए तर आजसम्म पनि मलाई केन्द्रीय सदस्यसम्म बनाइएन ।


(संवाद – आफैसँग) अचम्म लाग्छ— मभन्दा जुनीयरहरू प्रधानमन्त्रीसम्म भइसके । मैले भने पार्टीको कुर्सी त परै जाओस्, पार्टीको सूचीमा पनि नाम खोजिरहनुपर्छ ।


कसैले खुलेर भन्न सक्दैनथ्यो, तर संकेत स्पष्ट थियो— “तिमी माथि पुग्यौ भने हामी सबै नाङ्गिन्छौँ ।”


(मनोवाद) यही हो राजनीतिमा इमानदारको हैसियत । ऊ उपयोगी हुन्छ— तर खतरनाक , त्यसैले उसलाई माथि चढाइँदैन, तर तल पनि फ्याँकिन्न ।


जनताले फेरि नाम दिए— “अजात शत्रु” ।


किनकि मैले कसैको पद खोसिनँ, तर धेरैको निद्रा खोसेँ ।


किनकि अगाडि एउटा ठूलो प्रश्न उभिएको छः


के म यही पार्टीभित्र रहेर लडिरहूँ ? कि पार्टीभन्दा ठूलो राजनीतिक नैतिकता रोजूँ ?


–––

लेख्ने मान्छे

–––


पार्टीभित्र साम, दाम, दण्ड, भेद यी शब्दहरू रणनीति मानिन्थे । अरू पार्टी दबाउनु राजनीतिक कौशल ठहरिन्थ्यो तर त्यही कुरा मेरो पेटमा अपचजस्तै बस्थ्यो ।


(मनोवाद) राजनीति यदि डर देखाएर जितिन्छ भने त्यो विजय होइन, आत्मसमर्पण हो र यदि पैसाले मान्छे किन्न सकिन्छ भने सिद्धान्त किन चाहियो ?


मैले चिच्याएर बोलिनँ , नारा लगाएर कसैलाई गाली गरिनँ । म लेखेर बोल्थेँ । शब्दहरू मेरा हतियार थिए— शान्त, तर गहिरो चोट दिने ।


(संवाद – पार्टीभित्र) “लेखेर के हुन्छ ?”


कसैले हाँसेर सोध्यो , “लेख त कमजोरको हतियार हो ।”


मैले जवाफ दिइनँ । किनकि इतिहासमा सबैभन्दा बलिया सत्ता लेखकै अगाडि ढलेका छन् ।


पार्टीले मलाई सुविधा दिएन। न गाडी, न भत्ता, न सुरक्षा तर जनताले मलाई छोडेन ।


कहिले कुनै किसानले पेटभरी खुवाइदिन्थ्यो — भन्ने गथ्र्यो, “नेताज्यू, तपाईं भोकै हुनु हुँदैन ।”


कहिले विदेशमा कार्यक्रम गर्न जाँदा लुगा पसलका शुभचिन्तकहरूले देशको इज्जतका लागि लुगा थमाइदिन्थे ।


 (संवाद – आफूभित्र) म ती लुगा लगाएर जान्थेँ । किनकि त्यो मेरो सुविधा थिएन— त्यो जनताको भरोसा थियो ।


कार्यक्रम सकिएपछि म ती लुगा फिर्ता गर्न जान्थेँ । उनीहरू नमानेता पनि म धेरै कर गर्थेँ । अन्ततः

धन्यवाद त दिएरै फिर्ता गर्थेँ ।


(मनोवाद) यदि मैले एउटा सानो सुविधा पनि आफ्नो बनाएको भए म आफैँसँग हार्थेँ र म हार्न चाहन्नथेँ— न चुनावमा, न आत्मामा ।


त्यसैले मैले आफ्नो सिद्धान्त जोगाएँ । पार्टीले मलाई असहज मानिरह्यो, तर जनताले मलाई आफ्नो माने ।


त्यही बेला मैले बुझें— सत्ता पार्टीले दिन्छ तर वैधता जनताले ।


अब पार्टी र जनता दुवैको बीचमा उभिएको एउटा मान्छे बाँकी छ ।


–––

आफ्नै घरभित्रको शत्रु

–––


मलाई ढिलो भयो, तर स्पष्ट भयो— जो अरू पार्टीलाई तिकडम गरेर दबाउँछन्, तिनै मान्छे आफ्नै पार्टीभित्र पनि गुटबन्दी गरेर सोझा र इमानदारलाई माथि जानै नदिने रहेछन् ।


(मनोवाद) मैले सोचिरहेको थिएँ— बाहिरको लडाइँ कठिन छ । तर यहाँ त घरभित्रै युद्ध चलिरहेको रहेछ ।


(संवाद – पार्टी बैठक) “निर्णय बहुमतले भयो,” अध्यक्षले भने ।


मैले सोधेँ, “बहुमत कहिले भयो ? मतदान त भएन ।”


कोठा चुप लाग्यो ।

 

अन्ततः कुनै कुनाबाट आवाज आयो, “यही नै पार्टी पद्धति हो ।”

म फेरि घोत्लिएँ सायद माइन्युटको बीचमा पछि सिद्धान्तविहीन कुरा राखेर लेखेर विधान बनाएजस्तो मलाई खेदेजस्तो त होला नि ? 


त्यो दिन मैले देखेँ— पार्टीभित्र न लोकतान्त्रिक पद्धति थियो, न मानवअधिकार ।


ती शब्दहरू केवल प्रेस विज्ञप्तिका सजावटी अक्षर थिए ।


(मनोवाद) लोकतन्त्र यहाँ भाषणमा सीमित थियो । मानवअधिकार पोस्टरमा मात्र बाँचेको थियो । भित्र, डर शासन गथ्र्यो— बोल्नेको करियर काटिन्थ्यो, नबोल्नेको आत्मा ।


गुटबन्दी यति सुसंस्कृत ढङ्गले हुन्थ्यो कि त्यसलाई षड्यन्त्र भन्न पनि लाज लाग्थ्यो । सबै कुरा सहमतिको नाटक थियो— तर निर्णय पहिल्यै बन्द कोठामा भइसकेको हुन्थ्यो ।


(संवाद – आफैसँग) यदि पार्टीभित्रै लोकतन्त्र छैन भने देशलाई के दिने ? यदि आफ्नै साथीको अधिकार सुरक्षित छैन भने जनताको अधिकार कसरी सुरक्षित हुन्छ ?


त्यसपछि मैले धेरै कुरा बुझ्न थालेँ—  माथि पुग्नेहरू सक्षम भएर होइन, सुरक्षित भएर पुग्थे , सुरक्षित भनेको— सिद्धान्तविहीन, प्रश्नविहीन, र गुटअनुकूल ।


त्यो दिन मेरो विश्वास टुटेन— तर स्थान फेरियो । अनि म पार्टीमाथि होइन, मान्छेमाथि भरोसा गर्न थालेँ ।


किनकि अब एउटा अन्तिम द्वन्द्व बाँकी छः त्यस्तो पार्टीभित्र बसेर परिवर्तन सम्भव छ ? कि परिवर्तनका लागि पार्टीभन्दा बाहिर निस्कनुपर्छ ?


–––

निकाला र स्वीकार

–––


अन्ततः उनीहरूले मलाई अराजक तत्त्व भने । कारण सरल थियो— म बसेँ भने उनीहरूको अध्यक्षभन्दा म नै सिनियर देखिन्थेँ ।


(संवाद – पार्टीको अन्तिम क्षण) “तपाईं पार्टी अनुशासनमा बस्न सक्नुहुन्न,”

निर्णय पढियो ।


मैले सोधेँ, “अनुशासन कि डर ?”

कुनै उत्तर आएन

(मनोवाद) यहाँ अराजकता प्रश्न गर्नेलाई भनिन्छ र अनुशासन मौनतालाई ।


मलाई पार्टीबाट निकालियो तर 

उनीहरु आफै भन्थे अजात सत्रुको नाम जनताको मनबाट  निकाल्न सकिएन ।


निकालिएको दिनपछि म जहाँ गएँ, जहाँ बोलेँ, जहाँ चुप लागेँ— जनताले उनीहरूलाई होइन, हामीजस्ता “अजात शत्रु”लाई अपार स्नेह दिए ।


कुनै बृद्धाले हात समातेर भनिन्, “छोरा, पार्टीले त निकाल्ला, हामीले कहिल्यै निकाल्दैनौँ ।”


(मनोवाद) त्यो दिन म हारेर होइन, हलुका भएर घर फर्किएँ ।


सबैभन्दा गहिरो क्षण घरभित्र थियो । हाम्रा सन्तानहरू हामीलाई हेरेर गर्वले नाक फुलाउँथे, छाती चौडा पार्थे । किनकि उनीहरूले देखेका थिए— सत्ता नभए पनि सम्मान हुन्छ ।


(संवाद – सन्तानसँग) “बुबा, तपाईं प्रधानमन्त्री नभए पनि ठीक छ,”

उनीहरूले भने, “तपाईं ठीक मान्छे हुनुहुन्छ ।”


त्यो वाक्य मेरो सबै पदभन्दा ठूलो भयो ।


पार्टीले मलाई निकाल्यो, तर जनताले मलाई रोजे । त्यसैले म आज पनि भन्छु— म कुनै पार्टीको नेता होइन, म जनताको साक्षी हुँ ।


–––

विडम्बनाको बोझ

–––


कहिलेकाहीँ मलाई लाग्छ— जनताले मलाई “अजात शत्रु” उपनाम दिए, सन्तानहरू गर्वले फुले, तर देश र जनताका लागि ठोस रूपमा केही गर्न नपाएकामा म मात्रै दुःखी छु कि ?


(मनोवाद) सायद सम्मानले खालीपन भर्दैन । सायद नैतिक जित व्यावहारिक हारसँग सँगै आउँदो रहेछ । 


म सडकमा हिँड्दा मानिसहरू मुस्कुराएर नमस्कार गर्छन् , म मुस्कुराएर फर्काउँछु तर भित्र एउटा प्रश्न चुपचाप बसिरहन्छ— मैले के परिवर्तन गरें ?


मसँग न सत्ता छ, न नीति बनाउने अधिकार । मेरो विचार किताबमा छन्, लेखमा छन्, तर कानुनमा छैनन् ।


(मनोवाद) शब्दले चेतना जगाउँछ , तर पेट भर्दैन । आशयले बाटो देखाउँछ , तर पुल आफैँ बन्दैन । जनता मलाई माया गर्छन्, सम्मान गर्छन् तर उनीहरूकै दुःख उनीहरूकै जीवन जस्ताको तस्तै छ ।


(संवाद – आफैसँग) यदि म ठीक थिएँ भने, किन म प्रभावहीन भएँ ? यदि म प्रभावशाली भएँ भने, किन म असफल जस्तो लाग्छु ?


त्यहीँ विडम्बना जन्मिन्छ— सही मान्छे भएर पनि सही ठाउँमा नपुग्नु ।


सायद इतिहासले मलाई न्याय देला तर मेरो मनले आजै प्रश्न गर्छ— “के नैतिकता मात्रै पर्याप्त हुन्छ ?”

–––

अन्जानको उत्सव

–––


अहिलेका पिँढीहरू त्यस्ता पार्टीमा लाग्छन् । “यो गर्छु, ऊ गर्छु,” भन्दै बहुमतले जित्छन् । हात उठाउँदा उठाउँदै उनीहरूलाई आफू इतिहास बनाउँदैछु जस्तो लाग्छ ।


(मनोवाद) उत्साह अपराध होइन। तर अन्जान भएर सत्ता समात्नु खतरनाक हुन्छ ।


सायद उनीहरूलाई त्यो पार्टीको अन्तर्य थाहा छैन । भित्र कसरी गुट बनिन्छ , कसरी सिद्धान्त सुविधामा रूपान्तरण हुन्छ , कसरी इमानदारीता अराजकता ठहरिन्छ— यी कुरा न घोषणापत्रमा हुन्छन्, न चुनावी भाषणमा ।


जाली पार्टीहरू नयाँ पुस्तालाई सपना देखाउँछन् तर भित्र उनीहरूको सपना खण्ड–खण्ड पार्ने संरचना तयार हुन्छ ।


(संवाद – नयाँ पुस्तासँग, मौन रूपमा) तिमीहरू जित्दैछौ, तर कसको खेल खेल्दैछौ ? तिमीहरू बहुमतमा छौ, तर निर्णय गर्ने को हो ? म दोष लगाउँदिनँ किनकि म पनि कहिल्यै त्यही जोश लिएर भित्र छिरेको थिएँ ।

(मनोवाद) अनुभव बिना आशा हुन्छ , अनुभव पछि आशा जिम्मेवारी बन्छ । त्यसैले म आज ठूलो स्वरमा केही भन्दिनँ । म केवल यति लेख्छु— जित्नु मात्रै राजनीति होइन । भित्र के जित्दैछौ, त्यो बुझ्नु राजनीति हो ।


यदि यी शब्दहरू कुनै एक अन्जानले ढिलो भए पनि पढ्यो भने, सायद मेरो असफल जस्तो देखिएको यात्रा व्यर्थ हुनेछैन ।

–––

म होइन, देश

–––


अब म आफूलाई केन्द्रमा राख्न चाहन्नँ । किनकि मुख्य कुरा म जित्नु होइन, देशले जित्नु हो ।


(मनोवाद) यदि सत्यले जित्छ भने, मेरो हार स्वीकार्य छ । यदि देशले काँचुली फेर्छ भने, मेरो नाम इतिहासको छेउमा रहे पनि, म मर्दा पनि मलाई शहीद नभनिए पनि अथवा मेरो किरिया नवारे पनि म सन्तुष्ट छु । मजस्ता नेताले स्थानै नपाए पनि के फरक पर्छ ?


यदि सिस्टम बदलिन्छ , भ्रष्टाचार हट्दछ नीति शुद्ध हुन्छ तथा  सत्ता उत्तरदायी बन्छ भने— त्यो नै म मेरो विजय हो ।


देश कुनै एक मान्छेले जित्ने होइन । देश त्यो दिन जित्छ जुन दिन सत्यलाई सजाय दिइन्न ।


(संवाद – आफूलाई) म नपुगेको ठाउँमा सायद अरू पुग्लान् तर म नझुकेको ठाउँमा कसैले नझुकुन् । मूख्यत देश र स्वदेशी जनताले ।

–––

काँचुली फेर्दै गएको आकाश

–––


साँझ परेको थियो । घाम पश्चिमतिर झर्दै थियो, पहाडहरू अझै चुपचाप उभिएका थिए— धेरै कुरा देखे, धेरै कुरा सहनु पर्यो । नदीहरू शान्त तर अडिग बहिरहेका थिए । धारा अझै ढल्किरहेको थियो, तर त्यसले कहिल्यै आफ्नो मार्ग परिवर्तन गरेन ।


रुखहरू हरिया थिए, तर पातहरू केही दिनअघि झरेका थिए— उनीहरूले मौनमा पुरानो पातलाई सम्झाइरहेका थिए ।


देश पनि त्यहीँ अवस्थामा थियो— सधैं परिवर्तनको खोजीमा, तर मौलिक सत्य, नैतिकता, र सम्मान अझै चुनौतीमा थिए । मान्छेले जितेको पदहरू छिटो ओझेलमा जान्थ्यो, तर सत्य र जनताको भरोसा कसैले हराउन सक्दैनथ्यो ।


मजस्ता मान्छे अराजक ठहरिए पनि, निकालिए पनि, जनताले दिएको सम्मान कसैले खोस्न सक्दैन । मलाई व्यक्तिगत जित वा हार कम चिन्ता थियो । मुख्य कुरा देशले आफ्नो दिशा फेर्नुपर्छ , सत्यले विजय प्राप्त गर्नुपर्छ ।


हावा अझै स्वतन्त्र बगिरहेको थियो । चरा अझै आकाश चिर्थे । मानिसहरू घर फर्कँदा थकित तर आशा बोकेर । धेरै आवाजहरू अड्किए पनि, धेरै प्रश्नहरू अनुत्तरित भए पनि, कसैले देख्न नसकेको सत्यको उज्यालो अझै धर्तीमा फैलिरहेको थियो ।


प्रकृतिले सिकाउँछ— सत्य र न्याय आफ्नो मार्गमा अडिग रहन्छन् । मान्छे पिंढी–पिंढी आए, गए, तर नदी, पहाड, हावा, रवि सधैं आफ्नो मार्गमा रहे ।


त्यसैले कुनै एक “अजात शत्रु” ले उठाएको प्रश्न अन्तिममा व्यर्थ जाँदैन । देशको दिशा सत्यले रेखाङ्कित हुन्छ र इतिहासको पृष्ठहरू सधैं उसैको वचनमा भर्छ ।


साँझको रविले पहाडलाई सुनौलो बनायो । नदीले हल्का आवाजमा बतायो— “सत्य अझै बाँचिरहेको छ ।”


र चरा आकाशमा उडेर गए, सन्देश लिएर— सत्य र न्याय, कुनै पनि व्यक्तिको नाम नभई, सधैं जीवित रहन्छ ।


यदि मेरो कथा कसैका लागि सिर्जनशील बेचैनी बन्यो भने, यदि कुनै युवा पार्टी रोज्नु अघि आफ्नो विवेकसँग एकपल्ट सल्लाह गर्छ , मन्थन गर्छ भने— त्यो नै मेरो योगदान हुनेछ ।


देशले जित्नुपर्छ । सत्यले जित्नुपर्छ । मजस्ता “अजात शत्रु” इतिहासको किनारमा बसेर ताली नबजाए पनि, यदि देशले काँचुली फेर्छ भने— हो, त्यही नै पर्याप्त हो ।


–––

२०८२ पुस १९

बिजु सुवेदी विजय


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा