नयाँ र पुरानो बीचः जनताको निर्णायक क्षण
नयाँ र पुरानो बीचः जनताको निर्णायक क्षण
चिया पसलको कुना । एक जना भन्छ , “विदेश धेरै माथि गइसक्यो ।”
अर्कोले हाँसो होइन, सास फेर्छ । “माथि गइसक्यो भने तल को छ त ?”
पहिलोले औँला टेबलमा ठोक्छ । “हाम्रो देशलाई पनि त्यहाँसम्म पु¥याउने ध्येय भएको मान्छे चाहिन्छ । विदेश जानु नपर्ने वातावरण बनाउने । रोजगार दिने । गाउँ विकास गर्ने ।”
छेउको कुर्सीबाट तेस्रो आवाज आउँछ —शान्त तर चिरिने खालको । “त्यो ध्येय कसको हो ? उसको कि तिम्रो ?”
पहिलो अलमलिन्छ । “नेताकै हो नि ।”
तेस्रो हाँस्दैन । “नेताले ध्येय बोल्छ , तर तिमीले सपना सुम्पिन्छौ । फरक बुझ्यौ ?”
केही छिन मौनता । चियाको कप चिसिँदै जान्छ ।
अर्को मान्छे भन्छ । “हामी विदेश जानु नपरोस् भनेर भोट हाल्छौँ, उनीहरू हामी विदेश गएको पैसाले चुनाव जित्छन् ।”
त्यो वाक्यमा कसैले ताली पाउँदैन तर सबैले सुन्छन् । “हामी विकास खोज्दै भोट दिन्छौँ, तर भोट दिनु अघि नै देश हामीबाट बाहिरिइसकेको हुन्छ ।”
अर्कोले भन्छ , “तर यो कमजोरी नै शक्तिशाली छ , किनकि यही भ्रम लाखौँको साझा भ्रम हो कि नेताले केही गर्छ कि भन्ने । भन त आजसमम नेताले केही गरेको छ ? केही गरेका भए देशको हालत यस्तो हुन्छ ?”
–––
बसपार्कको छायाँ । एक जना भन्छ । “पुरानाले गफ मात्र गरे ।”
अर्को तुरुन्तै थप्छ , “गरेका पनि छन् नि ।”
“हो हो गरेका पनि छन्, आफ्नो कोर क्षेत्र भन्छन् उनीहरु तर जनतालाई अलिकति विकास गरेको देखाउने ठाउँ र त्यो ठाउँमा उनीहरु गढ ठान्छन् । भोट बैङ्क बनाउँछन् । यही हो जनताको भ्रम र उनीहरु अध्यक्षको सिट सुरक्षित पार्छन् । अबको पालामा असुरक्षित पार्न सक्नुपर्छ । नत्र पहिलेजस्तो त्यही नेता घाँडो हुन्छ ।”
पहिलो झर्किन्छ , “गरेको गफ । काम होइन ।”
छेउमा उभिएको युवक हाँस्छ । “पुराना त अहिले पनि नयाँभन्दा गफमा खप्पिस छन् ।”
एक बुढो आवाज, अलि टाढाबाट—“गफमा खप्पिस हुनु अपराध होइन, गफमै देश अड्िकनु अपराध हो ।”
सबै चुप लाग्छन् ।
युवक फेरि बोल्छ , “केही गर्छन् कि भन्ने आश नयाँसँगै छ ।”
त्यही बुढो आवाज, यसपटक कडा— “आश नयाँसँग राख्नु ठीक हो, तर जिम्मेवारी पुरानालाई बिर्सनु मूर्खता हो । नयाँ पनि पुरानाको तालमा आए भने ?”
बस आइपुग्छ । सबै चढ्छन् । कसैले कसैलाई फेरि हेर्दैन ।
“हामी गफ गर्ने पुरानाबाट दिक्क छौँ, तर काम गर्न नसिकेका नयाँलाई आश दिएर सन्तुष्ट छौँ ।”
“पुराना गफाडी” — ठीक ।
“नयाँले गर्छन् ” — प्रमाण के ? हरे शिव !
यहीँ जनताको सोच चिप्लिन्छ । पुरानालाई सजाय दिन खोज्दा, नयाँलाई बिनापरीक्षा पास गराइन्छ ।
– कसैले “नयाँ पनि पुरानै हुन्” भन्छ
– कसैले “नाम होइन, काम हेर्छु” भन्छ
– कसैले “आश छैन, तर भोट हाल्नैपर्छ” भन्छ
–––
एयरपोर्टको प्रस्थान कक्ष । सुटकेसहरू लाइनमा छन्, देश पछाडि छुट्दैछ ।
एक आवाज मोबाइलभित्रबाट आउँछ, “हामीले भोट हाले पनि नहाले पनि...”
अर्को आवाज, स्क्रिनको अर्को छेउबाट, “भोट हाल्नेले राम्रो मान्छेलाई हालुन् ।”
छेउमा उभिएको युवक सोध्छ , “तिमीचाहिँ ?”
फोनको आवाज अलि हाँस्छ , “हामी त विदेशमा छौँ क्यारे ।”
युवक चुप लाग्छ । एक अधबैंसे मान्छे बिस्तारै भन्छ , “देश छोड्नु बाध्यता हुन सक्छ तर निर्णय छोड्नु त रोजाइ हो नि ।”
फोन केही क्षण मौन । लाइन अगाडि बढ्छ । घोषणा हुन्छ —उडान नम्बर फलानो, गेट बन्द हुँदैछ ।
फोन काटिन्छ ।
यो जनउत्तर भावनात्मक रूपमा “व्यावहारिक” सुनिन्छ , तर लोकतान्त्रिक रूपमा खतरनाक छ । “हामी विदेशमा छौँ” भन्ने वाक्य तटस्थता होइन, हात झिक्ने बहाना हो । र “अरूले राम्रो मान्छेलाई हालुन् ” भन्ने कुरा— यो नै सबैभन्दा सजिलो तर सबैभन्दा कायर राजनीतिक स्थिति हो ।
स्पष्ट छ यिनीहरुले “देश छोडेर गएका होइनन्, देशलाई निर्णयविहीन छोडेर गएका हौँ ।” भनिरहेको देखिन्छ ।
–––
सबैलाई “राम्रो” चाहिएको छ , तर “राम्रो को ?” भन्ने प्रश्नबाट सबै भाग्छन् ।
–––
सायद कसैले भन्छः “भोट हाल्दिन” “सबै एउटै हुन्” “डर लाग्छ बोल्न”
चोकको भित्तामा टाँसिएका कागजहरू । छरपस्त पम्प्लेट । पर्चाहरु । ठूला अक्षर, ठूला वाचा । एक जना पढ्दै भन्छ ,
“नेताहरू घोषणापत्र बनाउनमा व्यस्त छन् ।”
अर्को तुरुन्तै थप्छ , “जनता पनि कम छैनन् — राम्रा नेता कसलाई छान्ने भन्नेमा व्यस्त ।”
छेउमा बसेको मान्छे मुस्कुराउँछ, “उनीहरू लेखिरहेछन् भविष्य, हामी खोजिरहेछौँ मानिस । भविष्य त राम्रो लेख्ला तर गर्ने मान्छेसँग पनि भविष्यको भिजन हुनुपर्छ । दुबै कच्चा लाग्छन् । कति अल्लमल्ल हो यो ?”
पहिलोले सोध्छ, “त्यो गलत हो र ?”
त्यसले भित्तातिर औँला ठड्याउँछ , “घोषणापत्र पढेर होइन, अनुभव भोगेर नेता चिनिन्छ ।”
मौनता ।
कागज हावामा फर्फराउँछ ।
अन्तिम आवाज, लगभग बुदबुद— “तर हामी पढ्नभन्दा छान्नमै व्यस्त भयौँ ।”
“नेताले कागजमा देश बनाइरहे, हामी नाममा भविष्य खोजिरह्यौँ ।”
“के हामीले सेलिब्रेटीलाई जिताएर ऊ इमानदार भएन भने ? वा ऊसँग भिजन भएन भने ?”
–––
“यहाँ त जनता होउन् वा नेता कसैले पनि आफ्नो जिम्मेवारी ठीकसँग पूरा नगरेको अवस्था छ । वासतबमा निष्कर्ष के हो त ? के हुन सक्छ त ?”
यो जनउत्तर सुनिँदा “सन्तुलित” लाग्छ, तर वास्तवमा दुवै पक्षलाई बराबर दोष दिएर उम्किने तर्क हो ।
नेता घोषणापत्रमै सीमित छन् —ठीक ।
तर जनता “राम्रा नेता” खोज्दैछन् —यो आफैँमा पर्याप्त होइन ।
किनकि प्रश्न गलत छ ।
प्रश्न “राम्रो को हो ?” होइन,
प्रश्न “जवाफदेही कसरी बनाउने ?” हो ।
यहाँ यही कमजोरीले सबैलाई नङ्ग्याइरहेको छ ।
...
घरको आँगन । ढोकामा नेता उभिएको छ । “भोट दिनुहुन्छ नि ?”
स्वर मीठो छ , हात जोडिएको ।
घरभित्रबाट जवाफ आउँछ , “अँ, दिन्छु... हुन्छ ।”
ढोका बन्द हुन्छ । भित्र चुल्हो बलिरहेको छ ।
छिमेकीले सोध्छ , “साँच्चै दिन्छौ त ?”
घरको मान्छे भन्छ , “भोट माग्न आएको बेला ‘हुन्छ’ भन्नु अपराध होइन ।”
छिमेकी हाँस्छ , “अनि भोट कसलाई ?”
उत्तर ढिलो आउँछ , तर स्पष्ट— “आफूलाई विश्वास लाग्ने, मनले खाएको मान्छेलाई ।”
छिमेकी एकछिन चुप ।
पछि भन्छ , “मनले खाएको मान्छे कहिले दिमागले चिनिएको थियो ?”
चुल्होको आगो एकछिन बल्झिन्छ ।
“हामी सबैलाई ‘हुन्छ’ भन्छौँ, तर अन्तिम निर्णय मनले गर्छ —र मन प्रायः प्रमाण हेर्दैन ।”
–––
तपाईं पनि यहीँ रोकेर निष्कर्ष गर्नुभयो भने, तपाईं पनि ‘हुन्छ’ भनेर जिम्मेवारी टार्ने भीडमै पर्नुहुन्छ ।
यो जनउत्तर धेरै नेपाली मतदाताको वास्तविकता हो, तर यसमा ठूलो समस्या छ । नेतालाई “हुन्छ” भन्नु सामाजिक रणनीति हुन सक्छ —ठीक । तर “मनले खाएको” आधार बनाउनु राजनीतिक निर्णय होइन, भावनात्मक जुवा हो ।
मन विश्वास गर्छ , तर मन हिसाब गर्दैन ।
मन सम्झिन्छ ,
तर मन तथ्य छान्दैन ।
यहाँ यही जोखिम देखाइरहेको छ — लोकतन्त्रलाई मनको खेल बनाउने खतरा ।
–––
“सबैको आफ्नै मन हुन्छ” भन्ने निष्कर्षमा पुग्यो भने, त्यो कमजोर पलायन हो । यहाँ अझै कडा आवाज चाहिन्छ —सायद कसैले भन्छ ः
– “मनले खाएकोले नै देश बिग्रियो”
– “विश्वास गर्नु अघि हिसाब गर्नुपर्छ”
– “झूट बोल्न सिक्यौँ, प्रश्न गर्न सिकेनौँ”
सभा हल ।
माइक अगाडि एक आवाज गुञ्जिन्छ— “देशमा विकास गर्ने, भ्रष्टाचार हटाउने, जिम्मेवार नेता चाहिएको छ ।”
ताली बज्छ ।
तर केही सेकेन्ड मात्र ।
पछाडिबाट एक मान्छे बिस्तारै सोध्छ , “त्यो नेता कसरी चिन्छौँ ?”
अर्को जवाफ आउँछ, “घोषणाबाट होइन, चरित्रबाट ।”
पहिलो फेरि भन्छ, “...नेपाललाई टड्कारो आवश्यकता छ ।”
त्यही पछाडिको आवाज फेरि —अझ कडा, “आवश्यकता धेरै छ , तर मापदण्ड थोरै किन ?”
हल शान्त हुन्छ ।
माइक अझै खुलै छ ।
अन्तिम वाक्य कसैले फुसफुसाउँछ, “हामी आदर्श खोज्दैछौँ, तर प्रश्न सोध्न डराइरहेछौँ ।”
“देशलाई जिम्मेवार नेता चाहिएको छ तर नेताहरूलाई जिम्मेवार बनाउने मतदाता अझै चाहिएको छैन ।”
यो कुरा पनि अझै अधुरो छ । यहाँ आदर्शको माग देखिएको छ , तर प्रक्रियाको माग छैन । यदि यसलाई अन्तिम निष्कर्ष ठानेर मत हाल्ने निर्णयमा पुग्नु भयो भने, तपाईं पनि ‘राम्रो नेता चाहियो’ भन्ने पुरानै चक्रमा फस्नुहुन्छ ।
यो जनउत्तर सुनिँदा सबैभन्दा “सही” लाग्छ —तर यही सबैभन्दा खतरनाक क्लिसे पनि हो ।
सबैलाई विकास चाहिएको छ ।
सबैलाई भ्रष्टाचार हटाउन मन छ ।
तर कसैले सोध्दैन —कसरी ? कहिले ? के मूल्यमा ?
“जिम्मेवार नेता” भन्ने शब्द मतदाताले प्रयोग गर्ने सबैभन्दा सजिलो तर सबैभन्दा अल्छी वाक्य हो ।
यी दृश्यहरु देख्दा लाग्छ सबै यही अल्छीतिर दौडिरहेका छन् ।
–––
“यो आदर्शमा अविश्वास छ ।”
“सबै यही भन्छन्”
“मापदण्ड बनाउने धैर्य हामीसँग छैन”
चुनावी जुलुसको छेउ ।
माइक तानातान छ ।
एक मतदाता अगाडि बढ्छ । “तपाईंलाई के आधारमा दिने ?”
नेता अलि अचम्मित । “मैले धेरै काम—”
अब मतदाता काट्छ , “हजुरको भिजन के हो ? मिसन के हो ? देश बनाउने नक्सा के छ ?”
भीड अलि हल्लिन्छ ।
नेता मुस्कुराउँछ , “हामी नयाँ सोच—”
त्यही मतदाता फेरि, “नयाँ हुनु पर्याप्त हो र ? नयाँलाई पनि यही सोधौँ ?”
केही सेकेन्ड मौन ।
माइकको आवाज मात्र —सिस्स ।
भीडभित्रबाट कसैले भन्छ , “पहिलो पटक यस्तो प्रश्न सुनेको जस्तो छ ।”
“हामी प्रश्न गर्न थालेको दिनदेखि नै, नेता पुराना–नयाँ होइन, सबै नाङ्गा हुन थाल्छन् ।”
–––
यो निष्कर्ष पनि अझै अपूरो छ । यहाँ नागरिकमा चेतनाको मोड देखिएको छ , तर यसको निरन्तरता प्रश्न एक पटक सोधेर लोकतन्त्र सुध्रिँदैन ।
–––
प्रश्न सोध्नु आफैँमा बहादुरी होइन । प्रश्नमा अडिनु, जवाफ मागिरहनु, र गलत जवाफमा भोट नदिनु — यही कठिन छ । धेरैजसो मतदाता यहाँसम्म आएर रोकिन्छन् । अझ इमानदारहरु पर्गेल्न त बाँकी नै छ । त्यो दूधको दूध पानीको पानी सायद पानीहाँसले मात्र सक्छ होला । “सोध्यौँ नि” भनेर सन्तुष्ट हुन्छन् ।
यहाँ यो कथाले यस्तो आधा–साहसलाई पनि प्रश्न गर्छ ।
–––
“अब प्रश्न सोध्न थाल्यौँ” मा टुंगियो भने, त्यो अधुरो विजय हो । अब चाहिन्छ—
– कसैले भनोस् ः “जवाफ मन परेन”
– कसैले स्वीकारोस् ः “त्यसैले भोट दिइनँ”
– कसैले भनिदियोस् ः “नयाँले पनि नक्सा देखाएन”
घरभित्र राति ।
भान्सामा भाँडा राखिँदै छन् ।
एक महिला भन्छिन्, “अनि आफ्नो स्वविवेकले हाल्ने भोट ।”
दाजुको स्वर बाहिरबाट, “मैले भनेकोलाई हाल है ।”
श्रीमान् हाँस्दै, “मेरो पार्टी राम्रो छ ।”
उनी चुपचाप सुनिरहन्छिन् । पछि बिस्तारै भन्छिन्, “चाहे दाजु, चाहे श्रीमान्, चाहे मिल्ने साथी— जसले फोर्स गरे पनि, मन खाने व्यक्तिलाई स्वविवेकले भोट हाल्ने ।”
छेउको साथी जिज्ञासु, “अनि उनीहरूले सोधे भने ?”
उनी सहजै भन्छिन्, “उनीहरूले भनेकैलाई हालेको भन्दिने ।”
साथी अलि झस्किन्छ , “झूट ?”
उनी काँध उचाल्छिन्, “किन वैमनस्यता गर्ने एकवारको जुनीमा ? होइन र ?”
भित्ताको घडी टिक–टिक गर्छ ।
कसैले उत्तर दिँदैन ।
“हामी स्वतन्त्र निर्णय गर्छौँ, तर स्वतन्त्रताको मूल्य तिर्न डराउँछौँ ।”
–––
यो निष्कर्ष पनि अझै कच्चा छ । यहाँ व्यक्तिगत स्वतन्त्रता र सामाजिक डर बीचको सम्झौता भएको देखिन्छ । यदि यसलाई यहीँ अन्तिम ठानेर प्रयोग गर्नुभयो भने, यो चेतना होइन —सामान्यीकरण मात्र बन्छ ।
–––
यो जनउत्तर धेरैलाई “व्यावहारिक” लाग्छ , तर लोकतान्त्रिक रूपमा गम्भीर समस्या बोकेको छ । स्वविवेकले भोट हाल्नु —सही । तर त्यसलाई लुकाएर झूट बोल्नु —यसले मत गोप्य राख्दैन, यसले नागरिक आत्मविश्वास कमजोर बनाउँछ ।
यहाँ प्रश्न भोटको होइन, डरको हो । डर हटेन भने, स्वविवेक पनि निजी डायरीमै थुनिन्छ ।
यो कथा यही असहज सत्यतर्फ गइरहेको छ ।
–––
यदि निष्कर्षमा “झगडा नगर्न झूट ठीकै हो” भन्ने ठाउँमा पुग्यो भने, त्यो हार हो —शान्त देखिने हार । अब चाहिन्छ यस्तो आवाजः
– “म झूट बोल्दिनँ”
– “मन नपरेकोलाई भोट दिन्नँ”
– “वैमनस्यता सहन्छु , तर विवेक साट्दिनँ”
सभा हल सुनसान छ ।
धेरै वर्ष अघि बोल्ने बुढा नेताको आवाज अझै भित्तामा टाँसिएको छ ।
“किन हाम्रो देशमा समृद्धि भएन ? भ्रष्टाचारको जरा खत्तम गर्नु पर्छ । आर्थिक–सामाजिक परिवर्तन नहुँदासम्म विद्रोह स्वाभाविक हो । ढिलासुस्ती, घुसखोरी, आफ्नो मान्छेको मात्र काम —यी सबै हट्नैपर्छ ।”
भीडले सुनेको छ , र अब उनीहरू जान्छन् तर यो आवाज अब कुनै डरको आवाज होइन, यो युवाको चुनौती बनेको छ ।
एक युवक उभिन्छ ।
उनी भन्छन् —धेरैले गफ गर्ने, ढाकछोप गर्ने, मीठा वाचा मात्र गर्ने —अब त्यहाँ स्थान छैन ।
“हाम्रो स्वविवेक, हाम्रो प्रश्न, हाम्रो मान्यता —अब हामी पुरानालाई चुनौती दिन्छौँ । हामी भोट दिन्छौँ, तर आफैंले नाप्ने मापदण्डमा । हामी केवल आशा राख्दैनौं, हामी कार्यको माग गर्छौँ ।”
भीडको स्वर एकैछिन सुस्पष्ट हुन्छ —एकमत ।
सधैं मौन रहेका आवाजहरू उठ्छन् । त्यो दिन, केवल नेता होइन, जनता पनि निर्णय गर्न सक्षम भएको प्रमाण बनेको छ ।
“देशका नक्सा नेता मात्र होइन, अब हामी—जनता—ले आफैं बनाउनेछौँ । आशा पुरानामा होइन, हाम्रो विवेक र कार्यमा छ । अब गफको छैन, निर्णयको समय हो ।”
आजसम्म सय प्रतिशत नेताको योगदान भएको छैन । यो प्रमाणित भइसकेको छ । बरु जनताको सधैँ परिवर्तनमा ८० प्रतिशत योगदान छ । कुन चाहिँ परिवर्तन जनताले रातभरि धर्ना नदिइकन भएको छ ? कुन चाहिँ परिवर्तन जनताले रातारात “खुट्टा नकमाऊ नेता हामी साथ छौँ, हामी पछाडि छौँ ।” नभनी भएको छ ?
–––
सुनसान सडक ।
भीड हल्का चिच्याइरहेको छैन, तर आँखामा अग्नि छ ।
एक नयाँ मतदाता अगाडि बढ्छ —सानी युवती । “हामी भोट हाल्दछौँ, तर केवल विश्वासमा होइन । स्वविवेक, विवेक, र मापदण्डमा । हामी हरेक दाजु, श्रीमान्, साथीको दबाबमा होइन, आफ्नो मनले मनाएको मान्छेलाई मात्र भोट दिन्छौँ । किनभने हामीले बुझिसक्यौँ —देशको भविष्य हाम्रो हातमा छ , नेताले मात्र होइन ।”
भीडले चुपचाप सुन्छ ।
अर्को युवा थप्छ— “पुराना र नयाँ सबै गफमा व्यस्त छन् तर अब हामीले माग्नेछौँ —काम र चरित्र । आशा पुरानामा होइन, हाम्रो निर्णय र कार्यमा छ ।”
अर्को आवाज, विदेशबाट फर्केका— “हामीले भोट हाले पनि नहाले पनि, विश्वासयोग्य मान्छेलाई नै मार्ग दिन्छौँ तर अब हाम्रो आवाज डरले दब्दैन । झूट बोल्ने, वाचा दिने, फोर्स गर्ने —सबैको अन्त्य भयो ।”
भीडमा हल्का हलचल ।
एक वृद्ध मान्छे बिस्तारै भन्छ, “हामीले देखेका सबै गफको मूल्य बुझिसक्यौँ । समृद्धि, भ्रष्टाचार हटाउने, जिम्मेवार नेतृत्व —अब हामीले आफ्नै मापदण्डमा परीक्षण गर्छौँ ।”
सामूहिक स्वरमा उन्नति हुन्छ । “अब गफको समय सकियो, अब निर्णयको समय हो ।”
“अब केवल नेता होइन, हामी—जनता—देशको नक्सा आफैं बनाउनेछौँ । धेरैले गफ गर्ने, धेरैले आशा दिने —अब त्यसको कुनै मान्यता छैन । हाम्रो विवेक, हाम्रो भोट, हाम्रो जिम्मेवारी । अन्तिम शक्ति हामीसँग छ ।”
सडक चुप हुन्छ ।
तर मौनमा पनि सशक्त क्रान्ति टन्न भैरहेको छ ।
यो दिन, केवल नेताले होइन —जनता आफैंले आफ्नो भविष्य बनाउने निर्णयमा उभिएको छ ।
“देशको नक्सा केवल घोषणा होइन,
केवल योजना होइन—
यो अब हाम्रो विवेक, हाम्रो भोट, हाम्रो निर्णय हो ।
गफ सकियो, निर्णय सुरु भयो ।”
फागुन २१को चुनावमा स्वविवेकले भोट हालौँ । कसैको करकापमा नपरौँ । मत गोप्य राख्ने मानव अधिकार हो । यो पनि बुझौँ । देशको समृद्धिका लागि सही उम्मेदवार चुनौँ ।
–––
२०८२ माघ ९
बिजु सुवेदी विजय
Comments
Post a Comment