गन्धर्व गीतलाई संरक्षण गरौं

गन्धर्व गीतलाई संरक्षण गरौं
स्वर, शब्द, सङ्गीत :– मगर गाइने

गाम्ले दाजु गाम्ले भाइ के दुःख पायौ नि
सुखको लागि गर्दछु काम , झन् दुःख पायौ नि , हजूर झन् दुःख पायौ नि

हिउँदै भरी परदेशै लाग्यौं ढाकर बनेर
साहूले लिन्छन् हिसाबै गरी घरमा बसेर , हजूर हिसाबै गरेर

दुई चार हरुको डढेको पाखो खनेर जोतेर
ढुङ्गामा रगत गाडीमा मासु कमाइ गरेर , हजूर पसिना पुछेर

दुई चार मुरी भित्र्यायौं वाली प्राण छ त्यसैमा
त्यसैमा नुन , त्यसैमा लुगा , साहू छ त्यसैमा , हजूर साहू छ त्यसैमा

धनीले खान्छन् मसिना चामल तीनपल्ट फलेर
गरीबले खान्छन् कोदाको गेरा जाँतोमा दलेर , हजूर आँसु नै झारेर

धनीले लाउँछन् बर्षादी कोट सितारा टल्कने
गरीबलाई छैन बोराको भोटो मनमनै कल्पने , हजूर मनमनै कल्पने

सामन्तका कुकुरहरु दूधरोटी खाँदैन
गरीबका छोराछोरी केही पनि पाउँदैन , हजूर केही पनि पाउ्रँदैन

नोट :– वास्तवमा पढेर होइन परेर निरन्तर साहित्य उमार्ने यी हुन् मगर गाइने । यस्ता गन्धर्व गीतले देशको स्थिति बोलेको हुन्छ । गरीब जनताको मर्म बोलेको हुन्छ । वास्तबमा गरीबका लागि बोलिदिने पनि यिनी जस्तै मगर गाइने नै हुन् भन्नने पनि यो गन्धर्व गीतले अझ स्पष्ट पारेर देखाइदिएको छ । यस्ता हुनेखानेहरुले हुँदाखानेहरुलाई गरेका थिचोमिचोहरुलाई यस गीतले उदिङ्गयाउन पनि सफल भएको छ र यस वस्तु स्थितिलाई राज्यले यथासिघ्र ध्यान पुर्याओस् र समाधान यथासिघ्र गरोस् ।
.......बिजु सुवेदी “विजय”.......
......कुलेश्वर , काठमाण्डौं.......
......bijusubedi@gmail.com......

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा