स्यालहरूको राज्य जनताको जागरण
कथाः स्यालहरूको राज्य जनताको जागरण
१: गाउँबाट आएको आवाज
सहरमा त्यो बिहान अरू
दिनजस्तै सुरु भएको थियो । सडकहरूमा गाडीको हर्न,
चिया पसलमा राजनीतिका बहस, फुटपाथमा काम
खोज्नेहरूको भीड, र
कार्यालयतिर हतारिँदै गरेका मानिसहरू । सबैलाई आफ्नै गन्तव्यको हतार थियो । कसैसँग
कसैको कथा सुन्ने समय थिएन ।
म भने पुरानो
बानीअनुसार सडकछेउको सानो चिया पसलमा बसेर समाचारपत्र पल्टाइरहेको थिएँ । चार
वर्षअघि मैले जागिर छोडेको थिएँ । कारण धेरैले सोध्थे, तर मैले कहिल्यै लामो
उत्तर दिन चाहिनँ । मैले देखेको प्रणालीसँग सम्झौता गर्न सकिनँ । अहिले पनि मेरो
अडान उही थियो—गलतलाई गलत भन्नु कुनै राजनीति होइन,
नागरिकको कर्तव्य हो ।
त्यत्तिकैमा झोलामा
केही कागजपत्र बोकेको, धुलोले
ढाकिएको जुत्ता लगाएको एकजना मानिस पसलभित्र पस्यो । अनुहारमा थकान थियो, तर आँखामा अझै आशा
बाँकी थियो ।
उसले विस्तारै सोध्यो,
“दाइ,
यहाँ बस्न मिल्छ ?”
“किन नमिल्नु ? बस्नुहोस् ।”
ऊ बस्यो । पसलेले
चिया ल्याइदियो । केहीबेर मौन रह्यो । त्यसपछि गहिरो सास फेर्दै भन्यो,
“म गाउँबाट आएको हुँ । नाम रामबहादुर ।”
“के कामले आउनुभयो ?”
उसले मुस्कुराउने
प्रयास गर्यो, तर
त्यो मुस्कानमा पीडा धेरै थियो ।
“काम पनि खोज्न आएको हुँ,
अनि कसैलाई गाउँको कुरा सुनाउन पनि ।”
मैले समाचारपत्र बन्द
गरिदिएँ ।
“सुनाउँदा हुन्छ ।”
रामबहादुरको स्वर
बिस्तारै गम्भीर बन्दै गयो ।
“हाम्रो गाउँमा पहिले धेरै घरमा गलैँचा बुन्ने काम हुन्थ्यो ।
केहीले गार्मेन्टमा पनि काम गर्थे । गाउँका युवाहरूलाई विदेश जानु पर्दैनथ्यो ।
बिहानदेखि बेलुकासम्म मेहनत गर्थे,
घरमै आम्दानी अहिले
ती उद्योगका भवनहरू खण्डहर बनेका छन् । मेसिनमा धुलो लागेको छ । काम गर्ने हातहरू
विदेशतिर लागेका छन् ।”
ऊ केहीबेर रोकियो ।
“सुनिन्छ, बंगलादेशले सस्तो श्रमका कारण विश्व बजारको ठूलो हिस्सा हात
पारिसकेको छ । हामी भने आफ्नै उद्योग बचाउन सकेनौँ ।”
चिया पसलमा बसेका
केही मानिसले उसको कुरा सुने, तर खासै प्रतिक्रिया दिएनन् । कसैले मोबाइल हेर्दै भन्यो,
“यस्ता कुरा त वर्षौँदेखि सुनिँदै आएका हुन् ।”
रामबहादुरले त्यसतर्फ
हेरेन । ऊ आफ्नो मनको भारी हलुका गर्न चाहन्थ्यो ।
“उद्योग बन्द भएपछि गाउँका केटाकेटी विदेश जान थाले । विदेश जान
पनि ऋण चाहियो । घर धितो राखे । कसैले जग्गा बेचे । कतिले दलाललाई लाखौँ रुपैयाँ
बुझाए । अनि बल्ल जहाज चढ्न पाए ।”
उसको आँखामा टिलपिल
आँसु देखिन्थ्यो ।
“फर्किएपछि पनि सजिलो छैन । विदेशमा पसिना बगाएर ल्याएको पैसाले
नेपालमै केही उत्पादन गरौँ भनेर सोच्यो भने सयौँ झन्झट । अनुमति, प्रक्रिया, कागज, सिफारिस...
कहिलेकाहीँ लाग्छ, उत्पादन
गर्नेभन्दा हार मानेर बस्नेलाई सजिलो छ ।”
त्यतिबेला चिया पसलमा
बसेका एक सज्जनले कुरा काटे ।
“अनि विदेशकै उदाहरण किन दिने ?
आफ्नै देशको कुरा गर ।”
रामबहादुर शान्त
स्वरमै बोल्यो,
“विदेशको उदाहरण सफलता नक्कल गर्न दिइने हो, देश बेच्न होइन ।”
मैले उसको अनुहारतिर
हेरेँ । उसले कसैलाई दोष दिन खोजेको थिएन । उसले देखेको यथार्थ सुनाइरहेको थियो ।
केहीबेरपछि उसले अर्को
प्रसङ्ग निकाल्यो ।
“हाम्रो गाउँमा किसानले गोलभेँडा उत्पादन गर्छ । बिहान बारीबाट
दस रुपैयाँ किलोमा बेच्यो । बजार पुग्दा तीस,
चालीस,
कहिलेकाहीँ पचास रुपैयाँ पुग्छ ।
उपभोक्ताले किसान धनी भयो होला भन्छ । किसानले भने उही पुरानो मूल्य पाउँछ । बीचमा
कसले खायो ? त्यो
कसैले देख्दैन ।”
पसलमा एकजना ग्राहक
हाँस्दै बोले,
“व्यापार भनेको त्यस्तै हो ।”
रामबहादुरले सोध्यो,
“व्यापार हो कि शोषण ?”
त्यो प्रश्नको उत्तर
कसैले दिएन ।
म भने उसको कुरा
ध्यान दिएर सुनिरहेको थिएँ । ऊ कुनै अर्थशास्त्री थिएन, कुनै नेता पनि थिएन ।
तर उसले आफ्नै जीवनबाट सिकेका पाठहरू सुनाइरहेको थियो ।
ऊ फेरि बोल्यो,
“हाम्रो गाउँका सडक हेर्नुहोस् । वर्षौँदेखि उस्तै छन् । बिरामी
बोकेर अस्पताल लैजानुपरे भगवान् सम्झनुपर्छ । एकपटक म कोदारी राजमार्ग गएको थिएँ ।
त्यहाँ गाडी चलाउने चालकलाई सलाम गर्न मन लाग्यो । त्यो बाटोमा गाडी चलाउनु साहसको
काम रहेछ ।”
पसलमा बसेका अर्का
वृद्धले थपे,
“त्यो बाटोमा सम्बन्धित मन्त्रीलाई एकपटक बाँधेर गाडीमा राखेर
घुमाइदिए हुन्थ्यो ।”
सबै हाँसे । तर त्यो
हाँसो रमाइलो थिएन । त्यो असहायताको हाँसो थियो ।
रामबहादुर फेरि
गम्भीर भयो ।
“हामीले यी कुरा जहाँ भने पनि एउटै उत्तर आउँछ—‘यो राजनीति हो’, ‘यो नारा हो’, ‘तिमीहरूलाई गफ मात्र
आउँछ ।’”
मैले उसलाई सोधेँ,
“त्यसो भए तिमीलाई के लाग्छ ?”
उसले केहीबेर चुप
लागेर भन्यो,
“मलाई लाग्छ, समस्या समाधानभन्दा पनि हामीलाई एकअर्कासँग झगडा गराउन खोजिन्छ
। गाउँलेले सहरवालालाई दोष दिऊन् । सहरवालाले गाउँलेलाई अयोग्य भनून् । मजदूरले
कर्मचारीलाई शत्रु ठानून् । कर्मचारीले किसानलाई नबुझून् । हामी आपसमा नै
अल्झिरह्यौँ भने वास्तविक जिम्मेवारतिर कसको आँखा जान्छ ?”
उसका शब्दहरू हावामा
हराएनन् । ती सीधै मेरो मनमा आएर ठोक्किए ।
मैले विस्तारै भनेँ,
“मैले जागिर छोडेको चार वर्ष भयो । आज पनि मेरो अडान उही छ ।
नागरिकले कानुनअनुसार तिर्नुपर्ने कर इमानदारीका साथ तिर्नुपर्छ । घुस दिएर कर
घटाउनु चतुराइ होइन, त्यो
देशको भविष्यबाट चोरी गर्नु हो । कर्मचारीले घुस खानु जति गलत हो, घुस दिएर फाइदा लिन
खोज्नु पनि त्यत्तिकै गलत हो । बेइमानीलाई सामान्य व्यवहार बनायौँ भने त्यसको
मूल्य अन्ततः बेरोजगार युवाले, किसानले, मजदूरले र सामान्य नागरिकले तिर्नुपर्छ ।”
रामबहादुरले मेरो
अनुहार हेर्दै भन्यो,
“दाइ, तपाईंले
पनि यस्तै कुरा गर्दा मानिसहरूले राजनीति भन्नुहुन्छ ?”
मैले हल्का मुस्कान
दिएँ ।
“धेरैले भन्छन् ।”
“अनि तपाईंलाई रिस उठ्दैन ?”
“सत्यलाई नारा भन्नेहरूको संख्या बढ्दै जाँदा सत्य बदलिँदैन ।
बरु झूट धेरै दोहोरिँदै जान्छ ।”
चिया सकिएको थियो ।
बिहानको घाम माथि चढ्दै थियो । सडकमा भीड बढ्दै थियो । मानिसहरू आफ्ना कामतिर
दौडिरहेका थिए ।
तर त्यो दिन एउटा फरक
कुरा भएको थियो ।
गाउँबाट आएको एउटा
साधारण मानिसले आफ्ना समस्या मात्रै सुनाएको थिएन । उसले एउटा प्रश्न छोडेर गएको
थियो—
के यी सबै समस्या
वास्तवमै छुट्टाछुट्टै हुन्,
वा कुनै अदृश्य हातले समाजलाई टुक्राटुक्रा
पारेर सबैलाई एकअर्काको विरोधी बनाइरहेको छ ?
त्यो प्रश्नको उत्तर
तत्काल कसैसँग थिएन ।
तर त्यही प्रश्नबाट
एउटा लामो यात्राको सुरुवात भइसकेको थियो ।
२:
बिचौलियाको तेब्बर मुनाफा
रामबहादुरसँग
भेट भएको केही दिन बितिसकेको थियो । तर उसका प्रश्नहरू मेरो मनबाट हटेका थिएनन् ।
गाउँका किसानले पसिना बगाएर उत्पादन गर्छन्, उपभोक्ताले महँगो मूल्य तिर्छन्,
तर दुवै असन्तुष्ट छन् । आखिर बीचमा के
भइरहेको छ ?
एक
बिहान रामबहादुर फेरि आयो ।
“दाइ,
आज बजार घुम्न जानुहुन्छ ?”
“किन
?”
“हामीले
आफ्नै आँखाले हेर्नुपर्छ । कहिलेकाहीँ तथ्यले हजार भाषणभन्दा धेरै बोल्छ ।”
हामी
नजिकैको तरकारी बजारतर्फ लाग्यौँ । बिहानै किसानहरू ट्र्याक्टर, पिकअप र साइकलमा तरकारी ल्याइरहेका थिए ।
कतै गोलभेँडा, कतै
बन्दाकोबी, कतै काँक्रो र हरियो
सागका थुप्रा थिए । उनीहरूको अनुहारमा रातभरको यात्राको थकान स्पष्ट देखिन्थ्यो ।
रामबहादुरले
एक किसानसँग कुरा गर्यो ।
“दाइ,
गोलभेँडा कतिमा बेच्नुभयो ?”
किसानले
निस्सासिँदै उत्तर दिए,
“आज
त बाह्र रुपैयाँ किलोमा दिएँ । नदिए कुहिन्छ । फर्काएर लैजान गाडीभाडा पनि छैन ।”
हामी
केही पर पुगेपछि एउटा थोक व्यापारीको गोदाम देख्यौँ । त्यही गोलभेँडा त्यहाँ
पच्चीस रुपैयाँमा अर्को व्यापारीलाई बेचिँदै थियो । दिउँसो खुद्रा बजारमा पुग्दा
मूल्य चालीस रुपैयाँ भइसकेको थियो । साँझ उपभोक्ताले त्यही गोलभेँडा पचास
रुपैयाँमा किनिरहेका थिए ।
रामबहादुरले
मसँग सोध्यो,
“दाइ,
किसानले बाह्र रुपैयाँ पायो ।
उपभोक्ताले पचास रुपैयाँ तिर्यो । बीचको अठतीस रुपैयाँ कसले खायो ?”
मैले
उत्तर दिन सकिनँ ।
त्यत्तिकैमा
एउटी गृहिणी तरकारी किन्दै थिइन् । उनले पसलेसँग भनिन्,
“किसानहरू
पनि लोभी भएछन् । दिनदिनै भाउ बढाउँछन् ।”
त्यो
कुरा सुनेर नजिकै उभिएको किसान मुस्किलले मुस्कुरायो । त्यो मुस्कानमा आक्रोशभन्दा
बढी विवशता थियो ।
उसले
बिस्तारै भन्यो,
“आमा,
तपाईंले तिरेको मूल्यको आधा पनि मैले
पाएको भए आज मेरो छोरालाई विदेश पठाउन ऋण लिनुपर्ने थिएन ।”
गृहिणी
केही क्षण मौन भइन् । उनले पहिलो पटक किसानको आवाज प्रत्यक्ष सुनेको आभास पाएको
थियो ।
त्यसैबेला
एउटा व्यापारी ठूलो स्वरमा कराउँदै थियो,
“छिटो-छिटो
माल निकाल ! बेलुकासम्म अर्को ट्रक आउँछ ।”
रामबहादुरले
फुसफुसाउँदै भन्यो,
“यही
हो त्यो अदृश्य सञ्जाल । किसानसँग सौदाबाजी गर्दा ‘माल धेरै आएको छ’ भनेर मूल्य
घटाइन्छ । बजारमा उपभोक्तालाई ‘माल कम छ’ भनेर मूल्य बढाइन्छ । दुवैतिर डर बेचिन्छ
।”
मैले
वरिपरि हेरेँ । किसानहरू छुट्टाछुट्टै थिए । कसैसँग भण्डारण गर्ने ठाउँ थिएन ।
कसैसँग आफ्नै ढुवानी थिएन । कसैसँग बजारको वास्तविक मूल्यको जानकारी थिएन ।
उनीहरूलाई तुरुन्तै बेच्नुपर्ने बाध्यता थियो ।
अर्कोतर्फ,
खरिद गर्नेहरू संगठित थिए । गोदाम थियो ।
ढुवानी थियो । सूचना थियो । पूँजी थियो ।
शक्ति
असमान थियो ।
रामबहादुरले
भन्यो,
“जब
किसान कमजोर हुन्छ, उसले
मूल्य होइन, आफ्नो विवशता बेच्छ ।”
त्यसै
बेला बजारमा हल्ला फैलियो,
“आजदेखि
भाउ फेरि बढ्ने रे !”
मानिसहरू
हतारहतार किनमेल गर्न थाले । केही घण्टामै मूल्य फेरि बढ्यो ।
मैले
सोधेँ,
“यति
छिट्टै किन ?”
रामबहादुरले
कटाक्ष गर्दै भन्यो,
“समाचारभन्दा
हल्लाले यहाँ बढी व्यापार गर्छ ।”
हामी
बजारबाट बाहिर निस्कँदै थियौँ । बाटोमा केही किसानहरू आपसमा गुनासो गर्दै थिए ।
“हामीलाई
सरकारले केही गर्दैन ।”
उता
उपभोक्ताहरू भन्दै थिए,
“किसानहरूले
नै महँगो बनाए ।”
दुवै
पक्ष एकअर्कालाई दोष दिइरहेका थिए । तर
वास्तविक लाभ उठाउनेहरू कतै देखिँदैनथे ।
रामबहादुर
रोकियो ।
“दाइ,
तपाईंले याद गर्नुभयो ?”
“के
?”
“किसान
र उपभोक्ता दुवै पीडित छन् । तर दुवैलाई एकअर्काको शत्रु बनाइएको छ । यही त
सबैभन्दा ठूलो खेल हो ।”
त्यसको
कुरा सुन्दै मैले पहिलो भेटको प्रश्न सम्झिएँ ।
फुटाऊ
र राज गर ।
आज
त्यो नीति नयाँ रूपमा देखिएको थियो ।
गाउँको
किसानलाई भनिएको थियो—‘सहरका मानिसले तिम्रो पसिना लुटिरहेका छन् ।’
सहरको
उपभोक्तालाई भनिएको थियो—‘किसानहरूले नै मूल्य बढाएका हुन् ।’
दुवैबीच
अविश्वासको पर्खाल उठाइयो ।
र
त्यस पर्खालको छायाँमा केही सीमित मानिसहरू चुपचाप धन बटुलिरहेका थिए।
हामी
फर्कँदै गर्दा सूर्य अस्ताउन थालेको थियो । बजारको भीड विस्तारै कम हुँदै थियो ।
तर मेरो मनमा एउटा नयाँ प्रश्न जन्मिएको थियो ।
यदि
किसान र उपभोक्ताले एकअर्कालाई दोष दिन छोडेर एउटै दिशातिर हेर्न थाले भने,
कसको अनुहार सबैभन्दा
पहिले उज्यालोमा आउने थियो ?
त्यो
प्रश्नको उत्तर अझै बाँकी थियो। तर एउटा कुरा स्पष्ट हुँदै गइरहेको थियो—जनतालाई
विभाजित राख्नु नै कसैको सबैभन्दा ठूलो कमाइ बनेको थियो ।
३:
विदेश जाने सपना र स्वदेशको खडेरी
रामबहादुरसँगको
भेटपछि मभित्र एउटा प्रश्न झन् बलियो हुँदै गइरहेको थियो—यदि यो देशमा कामको यति
धेरै आवश्यकता छ भने काम गर्ने मानिसहरू किन विदेशतिर धकेलिँदै छन् ?
त्यही
प्रश्नको उत्तर खोज्दै एक बिहान हामी वैदेशिक रोजगार कार्यालयअगाडि पुग्यौँ ।
त्यहाँ
सयौँ युवाहरू लाइनमा उभिएका थिए । कसैको हातमा राहदानी थियो, कसैको मेडिकल रिपोर्ट, कसैको ऋणको कागज । अनुहारमा सपना पनि
थियो, डर पनि ।
रामबहादुरले
एक युवकसँग कुरा गर्यो ।
“कता
जाने तयारी ?”
“कतार
।”
“कति
खर्च लाग्यो ?”
युवक
केहीबेर चुप लाग्यो ।
“दलाल,
कागजपत्र, तालिम, मेडिकल, टिकट गरेर झन्डै तीन लाख रुपैयाँ ।”
“यति
पैसा कहाँबाट आयो ?”
“बुवाले
दुई रोपनी जग्गा धितो राख्नुभयो ।”
त्यो
उत्तर सुनेर रामबहादुरको अनुहार मलिन भयो ।
“त्यो
ऋण तिर्न कति वर्ष लाग्ला ?”
युवक
हाँस्न खोज्दै बोल्यो,
“पहिला
सकुशल फर्किएँ भने हिसाब गरौँला ।”
त्यो
हाँसोमा कुनै खुसी थिएन । त्यो बाध्यताको हाँसो थियो ।
हामी
त्यहाँबाट निस्केर गाउँतिर लाग्यौँ । बाटोभरि खाली घरहरू देखिन्थे । कतै घरमा
वृद्ध बाबुआमा मात्र थिए, कतै
बालबालिका हजुरबुबा-हजुरआमाको भरमा हुर्किरहेका थिए । खेतका कान्लामा झार उम्रिएको
थियो । सिँचाइ कुलो सुकेको थियो ।
रामबहादुरले
टाढाको बाँझो खेत देखाउँदै भन्यो,
“यी
खेतमा पहिले बिहानदेखि साँझसम्म हलो चल्थ्यो । अहिले चरा पनि बस्न छाडेका छन् ।”
हामी
एउटा पुरानो सानो उद्योगको भवनमा पुग्यौँ । फलामका ढोका खिया लागेर राताम्मे भएका
थिए । झ्यालका सिसा फुटेका थिए । भित्रका मेसिनहरू धुलोले ढाकिएका थिए ।
“पहिले
यहाँ तीस जना काम गर्थे,” रामबहादुरले
भन्यो ।
“अहिले
?”
“एक
जना चौकीदार पनि छैन ।”
त्यसैबेला
गाउँका एक वृद्ध त्यहाँ आइपुगे ।
“हामीले
धेरै पटक उद्योग फेरि खोल्न आग्रह गर्यौँ,” उनले भने, “तर ऋण पाइएन, बजार पाइएन, नीति पाइएन । अन्त्यमा सबै युवाले
राहदानी बनाए ।”
म
केही बोल्न सकिनँ । साँझतिर
हामी चिया पसलमा पुग्यौँ । त्यहाँ केही मानिस राजनीतिक बहस गरिरहेका थिए । रामबहादुरले विदेशमा सिकेका केही सफल
कृषि सहकारीका उदाहरण सुनाउन खोज्यो ।
उसले
भन्यो,
“कतिपय
देशले किसानलाई प्रत्यक्ष बजारसँग जोडिदिए । कतै साना उद्योगलाई सस्तो ऋण दिए ।
कतै युवालाई गाउँमै उद्यम गर्न सहयोग गरे । त्यस्ता कुरा हामीले पनि सिक्न सक्छौँ ।”
उसको
कुरा पूरा नहुँदै एकजना मानिस ठूलो स्वरमा बोल्यो,
“बस्,
फेरि सुरु भयो । सहरका मान्छेलाई
विदेशको उदाहरण मात्र दिन आउँछ । हाम्रो देशमा त्यो हुँदैन ।”
अर्कोले
थप्यो,
“किताब
पढेर देश बन्दैन । भाषणले पेट भरिँदैन ।”
रामबहादुर
चुप लाग्यो ।
मैले
ती मानिसहरूलाई हेरेँ र शान्त स्वरमा भनेँ,
“उदाहरण
दिनु अपराध होइन । राम्रो कुरा जहाँबाट सिके पनि त्यो हाम्रो बन्न सक्छ । विदेशको
सफलताको उदाहरण दिनु भनेको आफ्नै देशलाई सानो बनाउनु होइन, आफ्नै देशलाई राम्रो बनाउने सम्भावना
देखाउनु हो ।”
एक
युवकले प्रतिप्रश्न गर्यो,
“अनि
तपाईंहरू आफैँ किन गाउँ जानुहुन्न ?”
मैले
उत्तर दिएँ,
“प्रश्न
गाउँ जाने वा सहर बस्ने होइन । प्रश्न यस्तो व्यवस्था बनाउने हो, जहाँ गाउँ छोड्नु बाध्यता नहोस् ।”
चिया
पसल फेरि केहीबेर मौन भयो ।
रामबहादुरले
विस्तारै भन्यो,
“हाम्रो
गाउँका धेरै केटाहरू विदेशमा पुल बनाउँछन्, अग्ला भवन उठाउँछन्, कारखाना चलाउँछन् । तर आफ्नै गाउँमा
एउटा सानो उद्योग खोल्न खोज्दा महिनौँ कार्यालय धाउनुपर्छ । विदेशमा उनीहरू दक्ष
श्रमिक हुन्छन्, स्वदेश
फर्कँदा बेरोजगार ।”
उसका
शब्दहरू सुनेर एक वृद्धले टाउको हल्लाए ।
“हामी
मानिस निर्यात गर्छौँ,” उनले
भने, “तर उत्पादन आयात
गर्छौँ । यो कस्तो विडम्बना हो ?”
मलाई
फेरि त्यही अदृश्य खेल सम्झना आयो ।
युवालाई
भनिएको थियो—‘देशमा केही छैन, भाग ।’
गाउँलेलाई
भनिएको थियो—‘सहरले तिमीलाई बिर्सिसक्यो ।’
सहरवालाई
भनिएको थियो—‘गाउँलेहरू काम गर्न जान्दैनन् ।’
यसरी
एउटै पीडालाई तीन फरक कथामा बाँडिएको थियो ।
एकातिर
श्रम गर्ने हातहरू विदेशतिर बगिरहेका थिए । अर्कोतिर स्वदेशका कारखाना, कार्यशाला, खेत र उद्योगहरू काम गर्ने हातको अभावमा
सुकिरहेका थिए ।
मानिसहरू
समस्याको जरो खोज्नुको सट्टा एकअर्कालाई दोष दिइरहेका थिए । र त्यो दोषारोपणकै बीचमा केही अनुहारहरू
मौन मुस्कानसहित आफ्नो खेल खेलिरहेका थिए ।
त्यो
साँझ घर फर्कँदै गर्दा रामबहादुरले आकाशतिर हेर्दै भन्यो,
“दाइ,
विदेश जानु समस्या होइन । आफ्नै देशमा
बस्न नपाउने अवस्था समस्या हो ।”
मैले
उसको कुरा मनमनै दोहोर्याएँ ।
त्यो
दिन हामीले अर्को सत्य देखेका थियौँ—
देशबाट
युवाहरूको पलायन केवल रोजगारीको कथा थिएन; त्यो यस्तो व्यवस्थाको कथा थियो,
जसले उत्पादनभन्दा
पलायनलाई सजिलो बनायो, अनि त्यसको दोष पनि गाउँ, सहर र जनतामै एकअर्कालाई लगाइदियो ।
हामीलाई
थाहा थिएन, यो खेलको पर्दा अझै
कति तहमा लुकेको थियो। तर हरेक दिन एउटा नयाँ तह खुल्दै गइरहेको थियो ।
४:
जीर्ण राजमार्ग र मन्त्रीलाई बाँध्ने सपना
भोलिपल्ट
बिहानै रामबहादुरले फोन गर्यो ।
“दाइ,
आज एउटा यात्रा गरौँ ।”
“कहाँ
?”
“कोदारी
राजमार्ग ।”
हामी
एउटा पुरानो बसमा चढ्यौँ । चालकको अनुहारमा आत्मविश्वासभन्दा बढी सावधानी
देखिन्थ्यो । बसका यात्रुहरू सिटमा बसे पनि शरीर भने प्रत्येक खाल्डाखुल्डीसँग
उफ्रिन तयार थियो ।
सहर
छाड्दै जाँदा सडक साँघुरो हुँदै गयो । केही किलोमिटरपछि कालोपत्रे सडकको स्वरूप
हराउन थाल्यो । कतै डामर उक्किएको थियो, कतै पहिरोले आधा सडक बगाएको थियो । कतै गहिरा खाल्डा थिए,
कतै सडक नै चिरिएको थियो ।
बसको
गति कछुवाको जस्तो भयो ।
चालकले
स्टेरिङ कस्सिँदै भने,
“यहाँ
गाडी होइन, भाग्य चलाउनुपर्छ ।”
यात्रुहरू
हल्का हाँसे । त्यो हाँसो रमाइलो थिएन । त्यो बाध्यताको हाँसो थियो ।
अचानक
अगाडि ठूलो खाल्डो आयो । चालकले बसलाई कुशलतापूर्वक मोड्दै दुर्घटनाबाट जोगायो ।
सबै यात्रुले एकैचोटि सास फेरे ।
रामबहादुरले
चालकतर्फ हेरेर भन्यो,
“दाइ,
तपाईंलाई सलाम छ ।”
चालक
मुस्कुराए ।
“हामीलाई
होइन, भगवान्लाई गर्नुहोस् ।
हामी त हरेक दिन परीक्षा दिइरहेका हुन्छौँ ।”
बस
फेरि अघि बढ्यो ।
बाटोमा
कतै पहिरो हटाउन स्थानीयहरू आफैँ बेल्चा चलाइरहेका थिए । कतै एम्बुलेन्स रोकिएको
थियो । बिरामीलाई अर्को गाडीमा सारिँदै थियो । एउटा ट्रकको एक्सल भाँचिएको थियो ।
सयौँ गाडी लामबद्ध थिए ।
त्यहाँ
उभिएका एक वृद्ध रिसले भरिएको स्वरमा भने,
“यस
बाटोमा एकपटक सम्बन्धित मन्त्रीलाई बाँधेर गाडीभित्र राखेर ल्याइदिए थाहा पाउँथे
सडक कस्तो छ भनेर ।”
वरिपरिका
धेरैले सहमति जनाए ।
“हो,
चुनावको बेला हेलिकप्टरमा आउँछन् ।
एकपटक यही बसमा यात्रा गरून् ।”
“जनताको
दुःख भाषणले होइन, यात्राले
बुझिन्छ ।”
ती
शब्दहरूमा आक्रोश थियो, तर
त्यो आक्रोश कुनै व्यक्तिमाथिको घृणाभन्दा बढी उत्तरदायित्वप्रतिको माग थियो ।
यात्रा
सकिएपछि हामी एउटा होटलमा चिया खान रोकियौँ । त्यहाँ केही शिक्षित देखिने मानिसहरू
पनि बसेका थिए । उनीहरूले हाम्रो कुरा सुने ।
एकजनाले
हाँस्दै भने,
“यस्ता
कुरा त भावनात्मक नारा मात्र हुन् ।”
अर्काले
थप्यो,
“मन्त्रीलाई
बाँधेर घुमाउने कुरा गरेर विकास हुँदैन ।”
रामबहादुरले
शान्त स्वरमा उत्तर दियो,
“हामी
कसैलाई साँच्चै बाँध्ने कुरा गरिरहेका छैनौँ । हामी त यति मात्र भनिरहेका छौँ—जसले
निर्णय गर्छ, उसले निर्णयको परिणाम
आफ्नै आँखाले देखोस् ।”
ती
मानिसहरूले एकअर्काको अनुहार हेरे ।
कसैले
फेरि भन्यो,
“फेरि
राजनीति सुरु भयो ।”
मैले
पहिलो पटक अलि कडा स्वरमा भनेँ,
“सडकको
अवस्थाबारे कुरा गर्नु राजनीति होइन । बिरामी अस्पताल पुग्न नसक्नु, किसानको उत्पादन बजार पुग्न ढिलो हुनु,
विद्यार्थी विद्यालय जान जोखिम मोल्नु,
पर्यटक फर्किनु—यी सबै जनजीवनका प्रश्न
हुन् । प्रश्न उठाउनेलाई ‘नारा’ भन्ने बित्तिकै समस्या हराउँदैन ।”
होटल
केहीबेर शान्त भयो । त्यसैबेला
एउटा ट्रक चालक भित्र पस्यो । उसको कपडा धुलोले सेताम्मे भएको थियो ।
उसले
चिया माग्दै भन्यो,
“यो
सडकले गाडी मात्रै बिगार्दैन, जीवन
बिगार्छ । मर्मत खर्च बढ्छ, इन्धन
धेरै खर्च हुन्छ, सामान
ढिलो पुग्छ । अन्त्यमा त्यो खर्च उपभोक्ताले तिर्छ ।”
रामबहादुरले
तुरुन्तै भन्यो,
“त्यसको
दोष फेरि व्यापारीलाई, व्यापारीले
किसानलाई, किसानले सरकारलाई,
सरकारले मौसमलाई लगाउँछ । तर सडकको
वास्तविक अवस्था भने उस्तै रहन्छ ।”
मलाई
फेरि अर्को चित्र स्पष्ट देखियो । पहिले
किसान र उपभोक्ता एकअर्काको विरोधी बनाइएका थिए । त्यसपछि गाउँ र सहरलाई । अब समस्या उठाउने नागरिकलाई ‘राजनीतिक’
र चुप बस्नेलाई ‘असल’ नागरिकको रूपमा चित्रित गर्न खोजिँदै थियो । आवाजलाई मुद्दाबाट अलग गरिँदै थियो ।
साँझ
फर्किने बेला बस फेरि त्यही जीर्ण सडक हुँदै गुड्यो । झ्यालबाट बाहिर हेर्दै
रामबहादुर बिस्तारै बोल्यो,
“दाइ,
सडकमा खाल्डा देखिन्छ । तर समाजमा
बनाइएका खाल्डा देखिँदैनन् ।”
“कस्ता
खाल्डा ?”
“यही—कुनै
पनि गुनासोलाई ‘नारा’ भनेर उडाइदिने खाल्डा । समस्या बोल्ने मानिसलाई दोषी
बनाइदिने खाल्डा । जनताको प्रश्नलाई जनताकै विरुद्ध फर्काइदिने खाल्डा ।”
बस
अँध्यारो चिर्दै अघि बढिरह्यो ।
मलाई
लाग्यो, यो राजमार्ग केवल
पहाड चिर्दै बनेको बाटो थिएन । यो राज्यको प्राथमिकता, उत्तरदायित्व र नागरिकको जीवनबीचको
सम्बन्ध देखाउने ऐना थियो । तर
त्यो ऐनामा हेर्न चाहनेहरू कम थिए । हेर्न
नचाहनेहरू भने बारम्बार एउटै वाक्य दोहोर्याइरहेका थिए—
“यो त नारा मात्र हो ।”
र
त्यो एउटा वाक्यले सडकका खाल्डाहरूभन्दा गहिरो खाडल समाजभित्र खन्न थालिसकेको थियो
।
५:
फुटाऊ र राज गरको पहिलो रूप
कोदारी
राजमार्गको यात्रापछि रामबहादुर केही दिन गाउँ फर्कियो । म भने सहरमै थिएँ । तर
उसका शब्दहरू बारम्बार कानमा गुञ्जिरहेका थिए—
"सडकका खाल्डा पुरिन सक्छन्, तर मनमा खनिएका खाल्डा कसले पुर्छ ?"
केही
दिनपछि ऊ फेरि आयो ।
यसपटक
उसको अनुहारमा थकानभन्दा बढी चिन्ता थियो ।
“दाइ,
एउटा कुरा देखेर आएको छु ।”
“के
भयो ?”
“हाम्रो
गाउँको एकजना केटा जागिर खोज्दै सहर आएको रहेछ । उसलाई काम दिने मालिकले पहिलो
दिनमै भनेछ—‘गाउँका मान्छे धेरै कुरा नसिकाऊ । शहरका मान्छेको कुरा धेरै नसुन ।
उनीहरूलाई विदेशको उदाहरण दिन मात्र आउँछ ।’”
मैले
चुपचाप उसको कुरा सुनिरहेँ ।
“त्यो
केटा मालिकको कुरा नै सत्य हो भन्ने ठानेर फर्कियो । अब उसले गाउँमा गएर सबैलाई
त्यही कुरा सुनाउँदै हिँडिरहेको छ ।”
“त्यो
केटाको दोष होइन,” मैले
भनेँ, “उसले सुनेको कुरा नै
सत्य ठानेको हो ।”
रामबहादुरले
टाउको हल्लायो ।
“हो
। तर यस्तै गरी त मानिसको सोच बनाइन्छ ।”
त्यस
दिन हामी एउटा निर्माणस्थलमा पुग्यौँ । त्यहाँ गाउँबाट आएका मजदूरहरू र सहरका
प्राविधिक कर्मचारीहरू सँगै काम गरिरहेका थिए । एउटै भवन बनाइरहेका थिए, तर उनीहरूबीच अदृश्य पर्खाल उभिएको थियो
।
मजदूरहरू
छुट्टै बसेर खाना खाइरहेका थिए । कार्यालयका
कर्मचारीहरू छुट्टै । बीचमा
मुस्किलले अभिवादन बाहेक अरू संवाद थिएन ।
रामबहादुरले
एक मजदूरलाई सोध्यो,
“दाइ,
कार्यालयका मानिसहरूसँग कुरा गर्नुहुन्छ
?”
उसले
हाँस्दै भन्यो,
“उनीहरू
हामीलाई कहाँ गन्दारहेछन् ?”
त्यसपछि
हामी एक इन्जिनियरसँग कुरा गर्न गयौँ ।
“तपाईंहरू
मजदूरसँग बस्नुहुन्न ?”
उनले
सहजै उत्तर दिए,
“उनीहरूको
सोच फरक हुन्छ ।”
दुवै
पक्षले एकअर्कालाई नबुझीकन निष्कर्ष निकालिसकेका थिए ।
हामी
केही पर गएर एउटा रुखमुनि बस्यौँ ।
रामबहादुरले
गहिरो सास फेर्यो ।
“दाइ,
एउटै भवन कसले बनायो ?”
“सबैले
।”
“तर
श्रेय कसले पाउँछ ?”
मैले
उत्तर दिइनँ ।
उसले
फेरि भन्यो,
“मजदूरले
कर्मचारीलाई आफ्नो शत्रु ठान्छ । कर्मचारीले मजदूरलाई अशिक्षित ठान्छ । गाउँलेले
सहरवालालाई घमण्डी भन्छ । सहरवासीले गाउँलेलाई पछाडि परेको भन्छ । अनि वास्तविक
रूपमा यी सबैको श्रमबाट लाभ उठाउनेहरू भने चुपचाप मुस्कुराइरहेका हुन्छन् ।”
हामी
नजिकैको चिया पसलमा पुग्यौँ । त्यहाँ
फेरि उही बहस चलिरहेको थियो ।
एकजना
मानिस ठूलो स्वरमा भन्दै थिए,
“शहरका
मान्छेको उदाहरण खालि विदेशको हुन्छ । उनीहरूलाई गाउँको दुःख के थाहा !”
अर्काले
थप्यो,
“यिनीहरू
किताब पढेर बुद्धिमान् भएका हुन् । खेतबारी देखेका छैनन् ।”
रामबहादुरले
यसपटक प्रतिवाद गर्यो ।
“सहरमा
बस्ने सबै मानिस एउटै हुँदैनन् । गाउँमा बस्ने सबै मानिस पनि एउटै हुँदैनन् ।
मानिसलाई बसोबासले होइन, उसको
व्यवहारले चिनिन्छ ।”
त्यस
मानिसले हाँस्दै भन्यो,
“तिमी
पनि अब शहरियाकै भाषा बोल्न थाल्यौ ।”
रामबहादुर
केही क्षण मौन रह्यो ।
उसले
शान्त स्वरमा सोध्यो,
“यदि
एउटा गाउँको शिक्षकले जापानको शिक्षाको राम्रो उदाहरण दियो भने ऊ शहरिया हुन्छ ? यदि एउटा सहरको
डाक्टरले गाउँमा स्वास्थ्य सेवा सुधार्न सुझाव दियो भने ऊ गाउँविरोधी हुन्छ ?”
कसैले
उत्तर दिएन ।
मैले
थपेँ,
“राम्रो
विचारको कुनै स्थायी ठेगाना हुँदैन । त्यो गाउँको पनि हुन सक्छ, सहरको पनि, नेपालकै पनि, विदेशकै पनि । विचारलाई उसको उपयोगिताले
मापन गर्नुपर्छ, उत्पत्तिले
होइन ।”
चिया
पसल फेरि केहीबेर शान्त भयो ।
त्यसै
बेला एक वृद्ध किसान बिस्तारै उठे ।
“म
साठी वर्षदेखि खेती गर्दै आएको छु,” उनले भने, “मेरो
छोरो काठमाडौंमा शिक्षक छ । उसले मलाई नयाँ खेती गर्ने तरिका सिकाउँछ । मैले उसलाई
माटो चिन्न सिकाउँछु । हामीमध्ये कसले कसलाई सानो बनायो ?”
कसैसँग
उत्तर थिएन ।
हामी
फर्किँदै गर्दा रामबहादुरले बाटोमा काम गरिरहेका मजदूरहरूलाई हेर्दै भन्यो,
“दाइ,
यी मानिसहरूले सहर बनाउँछन् ।”
मैले
थपेँ,
“र
सहरले गाउँका उत्पादन किन्छ । गाउँले अन्न उब्जाउँछन्, सहरले त्यसलाई सेवा र बजारसँग जोड्छ ।
यी दुई प्रतिस्पर्धी होइनन्, एउटै
शरीरका दुई हात हुन् ।”
रामबहादुरले
गम्भीर स्वरमा भन्यो,
“तर
कसैलाई यो एकता मन पर्दैन ।”
“किन
?”
“किनकि
गाउँ र सहर एकअर्कालाई बुझ्न थाले भने उनीहरूले आफ्नो साझा समस्या पनि बुझ्न थाल्छन्
। मजदूर र कर्मचारीले एकअर्काको सम्मान गर्न थाले भने उनीहरूले साझा अधिकारको कुरा
पनि गर्न थाल्छन् । किसान र उपभोक्ताले सिधै संवाद गर्न थाले भने बिचौलियाको खेल
कमजोर हुन्छ ।”
मैले
उसको अनुहारतिर हेरेँ । अब
हामीले त्यो खेलको पहिलो रूप स्पष्ट देखेका थियौँ । मानिसहरूलाई गरिब र धनी भनेर मात्र होइन,
गाउँ र सहर, मजदूर र कर्मचारी, पढेका र नपढेका, स्थानीय र बाहिरका भनेर छुट्याइँदै थियो
। प्रत्येक समूहलाई
अर्को समूहप्रति शङ्का गर्न सिकाइँदै थियो । र त्यस शङ्काको पर्खालभित्र वास्तविक
प्रश्नहरू कैद भइरहेका थिए ।
त्यो
साँझ रामबहादुरले एउटा वाक्य मात्र भन्यो ।
“दाइ,
समाज फुटाउनेहरू कहिल्यै पहिलो ढुङ्गा
आफैँ फ्याँक्दैनन् । उनीहरू त मानिसको मनमा शङ्काको पहिलो बीउ मात्र रोप्छन् ।”
त्यस
रात म धेरैबेरसम्म निदाउन सकिनँ ।
किनकि
अब मलाई स्पष्ट हुँदै गइरहेको थियो—
फुटाऊ
र राज गरको पहिलो नियम मानिसलाई बल प्रयोग गरेर होइन, मनमा अविश्वास रोपेर सुरु हुन्छ ।
६:
आयकरको भाइरस
असार
सकिएको थियो ।
देशभर
आर्थिक वर्षको हिसाब बन्द हुँदै थियो । साना पसलदेखि ठूला उद्योगसम्म सबैले
आय–व्ययको फाइल मिलाइरहेका थिए । कर तिर्ने समय आइसकेको थियो । त्यही बिहान रामबहादुर मेरो घर आयो । उसको हातमा अखबार थियो । शीर्ष समाचारमा
कर संकलन, राजस्व लक्ष्य र
आर्थिक वृद्धिका चर्चा थिए ।
उसले
अखबार टेबलमा राख्दै सोध्यो,
“दाइ,
एउटा कुरा बुझ्न मन लागेको छ ।”
“के
कुरा ?”
“सबैले
देश समृद्ध होस् भन्छन् । तर कर तिर्ने बेला किन सबैभन्दा धेरै मानिस कर कसरी
घटाउने भन्ने उपाय खोज्छन् ?”
मैले
केही क्षण सोचेर उत्तर दिएँ,
“किनकि
धेरैले करलाई राष्ट्र निर्माणको योगदान होइन, घाटा ठान्न थालेका छन् ।”
रामबहादुरले
फेरि सोध्यो,
“त्यसो
भए सबैले कानुनअनुसार तिर्नुपर्ने कर तिर्ने हो भने के हुन्छ ?”
“राज्य
बलियो हुन्छ । विद्यालय, अस्पताल,
सडक, सिँचाइ, सामाजिक सुरक्षा—यी सबैमा लगानी बढाउन
सकिन्छ । तर त्यसका लागि करदाताले इमानदारी र राज्यले पारदर्शिता दुवै देखाउनुपर्छ
।”
त्यस
दिन हामी एक परिचित व्यवसायीलाई भेट्न गयौँ ।
उनको
कार्यालयमा ठूलो भिड थियो । लेखापालहरू कम्प्युटरमा व्यस्त थिए । कागजपत्रका
थुप्रा टेबलभरि थिए ।
त्यही
बेला एक अडिटर भित्र पसे ।
“चिन्ता
लिनुपर्दैन,” उनले आत्मविश्वासका
साथ भने, “हिसाब मिलाइदिन्छु ।
कर धेरै देखिएको छ भने घटाउने उपाय निकालौँला ।”
व्यवसायीले
राहतको सास फेरे ।
“कति
बचाउन सकिन्छ ?”
अडिटर
मुस्कुराए ।
“त्यो
हाम्रो अनुभवमा भर पर्छ ।”
रामबहादुरले
मेरो अनुहारतिर हेर्यो । ऊ केही बोल्न खोज्दै थियो ।
त्यत्तिकैमा
अर्को व्यक्तिले बिस्तारै भन्यो,
“कर
कार्यालयमा पनि चिनजान छ । सबै मिल्छ ।”
त्यो
वाक्य सहज रूपमा भनिएको थियो, मानौँ
त्यो कुनै असामान्य कुरा नै होइन ।
हामी
त्यहाँबाट निस्कियौँ ।
रामबहादुर
धेरैबेरसम्म मौन रह्यो।
अन्ततः
उसले सोध्यो,
“दाइ,
के सबैले यस्तै गर्छन् ?”
मैले
उत्तर दिएँ,
“होइन
। धेरै व्यवसायी, लेखापाल
र कर कर्मचारी इमानदारीपूर्वक काम गर्छन् । तर जहाँ मिलेमतो, घुस वा कर छलीलाई सामान्य व्यवहार
मानिन्छ, त्यहाँ त्यो
संस्कृतिले सम्पूर्ण प्रणालीलाई कमजोर बनाउँछ ।”
हामी
नजिकैको चिया पसलमा बस्यौँ ।
त्यहाँ
पनि करकै चर्चा थियो ।
एक
व्यापारी गर्वका साथ भन्दै थिए,
“यसपालि
पनि आधा कर बचाएँ ।”
अर्काले
हाँस्दै भन्यो,
“कर
पुरै तिर्ने मान्छे त मूर्ख हो ।”
त्यो
कुरा सुनेर रामबहादुरलाई पहिलो पटक रिस उठ्यो ।
“यदि
सबैले यही सोच्ने हो भने देश कसरी चल्छ ?”
व्यापारीले
प्रतिप्रश्न गर्यो,
“देशले
हामीलाई के दियो ?”
रामबहादुर
शान्त भयो ।
मैले
उत्तर दिएँ,
“राज्यको
कमजोरी देखाएर नागरिकको बेइमानी सही हुँदैन । राज्यले सुधार गर्नुपर्छ, नागरिकले पनि आफ्नो दायित्व निभाउनुपर्छ
। एउटा गल्तीले अर्को गल्तीलाई सही बनाउँदैन ।”
त्यसै
बेला चिया पसलका एक वृद्ध शिक्षक उठे ।
“मैले
चालीस वर्ष पढाएँ,” उनले
भने, “हामी विद्यार्थीलाई
नकल नगर्न सिकाउँथ्यौँ । तर पछि तिनै विद्यार्थीले व्यवसाय गर्दा कर छल्न सिके ।
समस्या केवल कानुनको होइन, सोचको
पनि हो । ब्यापारीले प्राबिधिक शिक्षा अनि इमानदारी भएका ब्यक्तिलाई किन नियुक्ति
दिँदैन ? थाहा छ ? उसको अप्रत्यक्षरूपको कर छलीको कुत्सित मनसाय जसले बुझ्छ नि !
उसले शैक्षिक योग्यता नभए पनि सहजै नियुक्ति पाउँछ ।”
उनका
शब्दले सबैलाई केही क्षण मौन बनायो ।
रामबहादुरले
बिस्तारै भन्यो,
“दाइ,
यो त स्कूलिङ रहेछ ।”
“कुन
स्कूलिङ ?”
“इमानदारी
होइन, बेइमानी सिकाउने
स्कूलिङ ।”
ऊ
अझ गम्भीर हुँदै गयो ।
“एउटा
व्यवसायीले अर्को व्यवसायीलाई कर छल्ने उपाय सिकाउँछ । एउटा अडिटरले कानुनलाई कसरी
घुमाउने भन्ने सिकाउँछ । कतै कर्मचारीसँग मिलेमतोको चर्चा हुन्छ । नयाँ पुस्ताले
यही सुन्छ । अनि बेइमानी नै सफलताको सूत्र हो भन्ने भ्रम फैलिन्छ ।”
मैले
उसको कुरा स्वीकारेँ ।
“जब
बेइमानी सामान्य बन्छ, इमानदारी
असामान्य देखिन थाल्छ ।”
रामबहादुरले
टेबलमा रहेको चियाको कप हेर्दै भन्यो,
“त्यसपछि
सबैले एउटै बहाना बनाउँछन्—‘अरू सबले पनि त यही गरिरहेका छन् ।’”
मलाई
अचानक एउटा पुरानो भनाइ सम्झना आयो ।
मैले
विस्तारै भनेँ,
“हिलो
भएको पोखरीमा कमल फुलेन भनेर पानीलाई मात्र दोष दिएर हुँदैन । यदि पोखरीमै हिलो
थपिरह्यौँ भने कमल फुल्ने सम्भावना झन् घट्दै जान्छ ।”
रामबहादुरले
मेरो वाक्य पूरा गर्यो,
“त्यसैले
पोखरी सफा गर्ने जिम्मेवारी सबैको हो ।”
साँझ
पर्दै थियो ।
हामी
कर कार्यालय नजिकबाट फर्किरहेका थियौँ । बाहिर मानिसहरूको भीड थियो । कसैले
इमानदारीपूर्वक आफ्नो विवरण बुझाउँदै थिए । कसैले छिटो काम गराइदिन चिनजान
खोजिरहेका थिए । कतै कानुनको पालना थियो, कतै छोटो बाटोको खोजी ।
त्यही
बेला रामबहादुरले एउटा गहिरो कुरा भन्यो,
“दाइ,
फुटाऊ र राज गरको अर्को रूप पनि यही
रहेछ ।”
“कसरी
?”
“इमानदार
करदातालाई मूर्ख बनाइयो । बेइमानलाई चलाख भनियो । नागरिकलाई राज्यको शत्रुजस्तो र
राज्यलाई नागरिकको शत्रुजस्तो देखाइयो । जब दुवैले एकअर्कामाथि विश्वास गर्न छोडे,
तब बीचमा बस्ने केही मानिसहरूको व्यापार
झन् फस्टायो ।”
म
धेरैबेरसम्म केही बोलिनँ ।
किनकि
त्यो दिन मैले अर्को अदृश्य रोग देखेको थिएँ । यो रोग शरीरमा लाग्ने भाइरसजस्तो थिएन । यो सोचमा लाग्ने भाइरस थियो । यसले मानिसलाई कानुनभन्दा चालाकीमा,
कर्तव्यभन्दा बहानामा र इमानदारीभन्दा
मिलेमतोमा विश्वास गर्न सिकाउँथ्यो । र त्यो भाइरस फैलिँदै जाँदा राष्ट्र
कमजोर बन्थ्यो, तर
त्यसबाट लाभ उठाउने केही अनुहारहरू भने झन् शक्तिशाली हुँदै जान्थे ।
त्यो
रात रामबहादुरले डायरीमा एउटा मात्र वाक्य लेख्यो—
“राष्ट्रलाई सबैभन्दा ठूलो क्षति कर
तिर्नुबाट होइन, इमानदारीलाई
मूर्खता र बेइमानीलाई बुद्धिमत्ता ठान्ने संस्कृतिबाट हुन्छ ।”
७:जाति, जनजाति र क्षेत्रीयताको आगो
करको विषयमा भएको
लामो बहसपछि रामबहादुर केही दिन गाउँ फर्कियो । एक सातापछि ऊ फेरि सहर आयो । यसपालि उसको अनुहारमा चिन्ताको
अर्को छाप थियो ।
“दाइ,” उसले
बस्नेबित्तिकै भन्यो, “यसपटक
पैसा लुट्ने नयाँ तरिका होइन, मन लुट्ने तरिका देखेर आएको छु ।”
“के भयो ?”
“गाउँमा विकासको विषयमा बैठक थियो । विद्यालय, सिँचाइ र
स्वास्थ्यचौकीको कुरा हुनुपर्ने थियो । तर केहीबेरमै बहस अर्कैतिर मोडियो । कसैले
भन्यो—‘पहिला हाम्रो जातिको अधिकार ।’ अर्काले भन्यो—‘हाम्रो समुदाय सधैँ पछि
पारियो ।’ अर्को समूह उठेर भन्यो—‘हाम्रो जिल्लालाई हेपिएको छ ।’”
“अन्त्यमा के भयो ?”
“न विद्यालयको कुरा भयो,
न सिँचाइको, न स्वास्थ्यचौकीको ।
बैठक झगडामै सकियो ।”
म केहीबेर मौन रहेँ ।
“त्यसपछि ?”
रामबहादुरले गम्भीर
स्वरमा भन्यो,
“भोलिपल्ट सबैले सामाजिक सञ्जालमा एकअर्कालाई गाली गर्न थाले ।
गाउँ दुई भागमा बाँडियो ।”
केही दिनपछि हामी
एउटा जिल्लामा आयोजित सार्वजनिक छलफलमा पुग्यौँ ।
कार्यक्रमको विषय
थियो—‘स्थानीय
विकास र रोजगारी ।’
सुरुमा सबैले आफ्ना
समस्या सुनाइरहेका थिए । बेरोजगारी,
शिक्षा,
सडक,
अस्पताल,
कृषि—सबै विषय उठिरहेका
तर अचानक एकजना
वक्ताले विषय मोडिदिए ।
“पहिला हाम्रो जातिलाई न्याय !”
अर्को समूहबाट आवाज
आयो,
“हामीलाई वर्षौँदेखि विभेद गरियो ।”
तेस्रो समूह उठ्यो,
“हामी त यो प्रदेशकै होइनौँ जस्तो व्यवहार गरियो ।”
केही क्षणमै विकासको
छलफल आरोप–प्रत्यारोपमा बदलियो ।
रामबहादुरले मेरो
कानमा बिस्तारै भन्यो,
“दाइ, फेरि
उही खेल ।”
“कुन खेल ?”
“सबैको समस्या एउटै थियो । तर समाधान खोज्नुको सट्टा सबैलाई
छुट्टाछुट्टै लडाइँमा धकेलियो ।”
कार्यक्रम सकिएपछि
हामी बाहिर निस्कियौँ ।
एउटा वृद्ध शिक्षक
रुखमुनि एक्लै बसिरहेका थिए ।
रामबहादुरले सोध्यो,
“बुबा, तपाईं
किन केही बोल्नुभएन ?”
वृद्ध मुस्कुराए ।
“किनभने मैले चालीस वर्ष पढाउँदा एउटै कुरा सिकेको छु—बच्चा
जन्मँदा जाति बोकेर जन्मँदैन, नाम बोकेर पनि जन्मँदैन । उसले मानिस भएर जन्म लिन्छ । सबभन्दा
पहिले हामी पृथ्बीबासी मानव हौँ ।”
उनी केहीबेर रोकिए ।
“विविधता हाम्रो सम्पत्ति हो । तर त्यसलाई घृणाको हतियार बनाइयो
भने त्यो सम्पत्ति होइन, बोझ
बन्छ ।”
साँझ हामी बजारतिर
लाग्यौँ ।
एउटा चिया पसलमा फेरि
बहस चलिरहेको थियो ।
“उनीहरूको प्रदेशले सबै बजेट खायो ।”
“हाम्रो जिल्लालाई कहिल्यै हेरेनन् ।”
“त्यो जातिका मानिसहरू यस्तै हुन्छन् ।”
यस्ता वाक्यहरू सहज
रूपमा बोलिँदै थिए ।
रामबहादुरले सोध्यो,
“तपाईंहरूले यी सबै मानिसलाई व्यक्तिगत रूपमा चिन्नुहुन्छ ?”
सबै चुप भए ।
“त्यसो भए केही व्यक्तिको गल्तीका आधारमा लाखौँ मानिसलाई किन एउटै
तराजुमा तौलिनुहुन्छ ?”
उत्तर कसैसँग थिएन ।
हामी फर्किँदै गर्दा
एउटा पुल निर्माण भइरहेको थियो । त्यहाँ
विभिन्न जाति, भाषा, धर्म र जिल्लाका
मजदूरहरू सँगै काम गरिरहेका थिए ।
एकजनाले ढुङ्गा
बोकिरहेको थियो । अर्काले फलाम बाँधिरहेको थियो । तेस्रोले सिमेन्ट मिसाइरहेको थियो ।
रामबहादुर मुस्कुरायो
।
“दाइ, पुल
बनाउनेहरूलाई हेर्नुहोस् ।”
“के भयो ?”
“यहाँ कसैले कसैको जाति सोधेको छैन । कसैले कसैको जिल्ला सोधेको
छैन । सबैले एउटै पुल बनाइरहेका छन् ।”
मैले थपेँ,
“तर त्यो पुल तयार भएपछि त्यसमाथि हिँड्ने मानिसलाई फेरि विभाजनको
कथा सुनाइनेछ ।”
रामबहादुर केहीबेर
मौन रह्यो ।
“दाइ, मैले
अब बुझ्न थालेको छु ।”
“के ?”
“मानिसहरू एकताबद्ध भएर रोजगारी,
शिक्षा,
स्वास्थ्य, कृषि, उद्योग र सुशासनको
प्रश्न सोध्न थाले भने कसैलाई अप्ठ्यारो पर्छ ।”
“त्यसैले ?”
“त्यसैले उनीहरूलाई पहिले जातिमा बाँडिन्छ । त्यसले पुगेन भने
भाषामा । त्यसले पनि पुगेन भने जिल्लामा । अनि प्रदेशमा । अन्त्यमा गाउँ टोलमै
विभाजन गरिन्छ ।”
मैले उसको कुरा
ध्यानपूर्वक सुनिरहेको थिएँ ।
“तर एउटा कुरा कहिल्यै बुझ्न सकेको छैन,” उसले भन्यो ।
“के ?”
“यदि गरिबीले जाति हेर्दैन,
बेरोजगारीले जिल्ला हेर्दैन, महँगीले भाषा हेर्दैन, भ्रष्टाचारले समुदाय
हेर्दैन भने समाधान खोज्ने बेला हामी किन यति धेरै विभाजित हुन्छौँ ?”
त्यो प्रश्नले मलाई
पनि केही क्षण निरुत्तर बनायो ।
रात पर्दै थियो । हामी घर फर्किरहेका थियौँ । आकाशमा एउटै जून थियो । त्यो जूनले हिमाल पनि उज्यालो बनाइरहेको थियो, पहाड पनि, तराई पनि । उसले कसैको जाति सोधेको थिएन । कसैको भाषा सोधेको थिएन । कसैको जिल्ला सोधेको थिएन ।
रामबहादुरले आकाशतिर
हेर्दै अन्तिम वाक्य भन्यो,
“दाइ, विविधता
समाजको शक्ति हो । तर त्यसलाई घृणा र अविश्वासमा बदल्नेहरूका लागि त्यो सबैभन्दा
सजिलो राजनीतिक व्यापार बन्छ ।”
त्यो रात मैले
डायरीमा लेखेँ—
“जब नागरिकले आफूलाई पहिले जाति, क्षेत्र वा समुदायको
मात्र प्रतिनिधि र पछि देशको नागरिक ठान्न थाल्छ, तब ‘फुटाऊ र राज गर’
को अर्को अध्याय सुरु हुन्छ । तर जब उनीहरूले एकअर्काको पहिचानको सम्मान गर्दै
साझा समस्यामा एकजुट हुन्छन्,
त्यहीँबाट त्यो खेल कमजोर हुन थाल्छ ।”
८:युवा र बूढा पुस्ताबीचको पर्खाल
यस्ता बिभाजनका
घटनापछि रामबहादुर धेरै सोचमा डुबेको थियो ।
एक साँझ उसले मलाई
फोन गर्यो ।
“दाइ, आज
एउटा विद्यालयमा आउनुहोस् ।”
“किन ?”
“त्यहाँ आज भविष्यको कुरा हुँदैछ । तर मलाई लाग्छ, फेरि कसैले भविष्यलाई
भूतसँग जुधाउँदै छ ।”
विद्यालयमा स्थानीय
युवा, शिक्षक, अभिभावक र केही
ज्येष्ठ नागरिकहरू भेला भएका थिए । विषय थियो—‘गाउँको भविष्य र युवाको भूमिका ।’
सुरुमा छलफल निकै
सकारात्मक थियो । युवाहरूले सूचना प्रविधि, आधुनिक कृषि, पर्यटन र साना
उद्योगका योजना प्रस्तुत गरिरहेका थिए । ज्येष्ठहरूले आफ्नो अनुभवका आधारमा जोखिम र सम्भावनाहरू
सुनाइरहेका थिए । लाग्थ्यो,
पुस्ताहरू एकअर्काबाट सिक्दैछन् । तर केहीबेरमै वातावरण फेरियो ।
एकजना व्यक्तिले
ठट्टा गर्दै भन्यो,
“यी आजकालका युवालाई मोबाइल चलाउन मात्र आउँछ । जीवन के हो, केही थाहा छैन ।”
हलमा केही हाँसो
गुञ्जियो । त्यसको जवाफमा एक युवक उठ्यो ।
“तपाईंहरू पुरानो पुस्ताले देश बिगार्नुभयो । अब हामीलाई सिकाउन
नआउनुहोस् ।”
त्यसपछि हाँसो हरायो । दुई पुस्ताबीचको संवाद क्षणभरमै आरोपमा बदलियो ।
रामबहादुरले मेरो
कानमा बिस्तारै भन्यो,
“दाइ, फेरि
उही खेल ।”
“कुन ?”
“पहिले समस्या एउटै थियो—गाउँ कसरी अगाडि बढाउने । अहिले बहस
बदलियो—युवा ठीक कि बूढा ठीक ?”
एकजना वृद्ध किसान उठे
। उनको हातमा हलो समातेको वर्षौँको अनुभव
थियो ।
“म धेरै पढेको मान्छे होइन,”
उनले भने,
“तर माटो चिन्छु ।”
तुरुन्तै एक युवकले
उत्तर दियो,
“त्यही पुरानो सोचले त हामी पछि परेका हौँ ।”
वृद्धको अनुहार मलिन
भयो । उनले केही भन्न खोजे, तर फेरि बस्न बाध्य
भए । त्यसैबेला एक अवकाशप्राप्त शिक्षक उठे ।
“म एउटा कुरा मात्र भन्न चाहन्छु,”
उनले भने ।
सबै चुप लागे ।
“मैले हजारौँ विद्यार्थी पढाएँ । आज तीमध्ये कोही इन्जिनियर छन्, कोही चिकित्सक, कोही किसान, कोही उद्यमी । उनीहरू
सबै मभन्दा धेरै जान्दछन् । त्यसमा मलाई गर्व छ । तर उनीहरूलाई अक्षर चिनाउने
अनुभव मसँग थियो । त्यसैले अनुभव र नयाँ शिक्क्षाको समझ शत्रु होइनन्, सहयात्री हुन् ।”
हल फेरि शान्त भयो ।
कार्यक्रम सकिएपछि
हामी विद्यालयको आँगनमा बस्यौँ ।
रामबहादुरले सोध्यो,
“दाइ, किन
बारम्बार एउटै कुरा हुन्छ ?”
“किनभने मानिसलाई तुलना गर्न सजिलो हुन्छ, सहकार्य गराउन गाह्रो
।”
“तर युवाले नयाँ सोच ल्याउँछन् ।”
“हो ।”
“बूढा पुस्तासँग अनुभव हुन्छ ।”
“त्यो पनि हो ।”
“त्यसो भए दुवैलाई किन लडाइन्छ ?”
मैले उत्तर दिएँ,
“किनकि जब अनुभव र ऊर्जा एक ठाउँमा उभिन्छन्, परिवर्तनको शक्ति
धेरै बलियो हुन्छ ।”
त्यसै बेला
विद्यालयको पुरानो पुस्तकालयतिर हाम्रो ध्यान गयो । त्यहाँ एक वृद्ध पुस्तक मिलाउँदै थिए । भित्र केही विद्यार्थी कम्प्युटरमा अध्ययन गरिरहेका थिए ।
एक विद्यार्थीले
वृद्धलाई सोध्यो,
“हजुरबुबा, यो पुरानो पुस्तक कहाँ राख्ने ?”
वृद्ध मुस्कुराए ।
“त्यो पुस्तकले तिमीलाई इतिहास सिकाउँछ । अनि त्यो कम्प्युटरले
भविष्यसँग जोड्छ । दुवै चाहिन्छ ।”
रामबहादुर मुस्कुरायो
।
“हेर्नुभयो दाइ ?
पुस्तकालयले त पुस्तालाई झगडा गराएको
छैन ।”
घर फर्किने क्रममा
एउटा बसमा यात्रा गरिरहेका थियौँ । चालक
पचास वर्ष नाघिसकेका थिए । सहचालक
बीस-बाइस वर्षका युवक थिए । चालकले
बाटोको जोखिम सम्झाउँदै थिए । युवाले
मोबाइलको नक्सा हेरेर वैकल्पिक मार्ग देखाइरहेका थिए । एकअर्काले थाहा पाएका कुरा प्रयोग गरेर यात्रुलाई सुरक्षित
गन्तव्यमा पुर्याइरहेका थिए ।
रामबहादुरले
झ्यालबाहिर हेर्दै भन्यो,
“देश पनि यही बसजस्तै रहेछ ।”
“कसरी ?”
“स्टेयरिङ समातेको अनुभव चाहिन्छ । तर अगाडिको नयाँ बाटो
देखाउने आँखा पनि चाहिन्छ ।”
त्यस रात हामी चिया
पसलमा पुगेका थियौँ । त्यहाँ
फेरि बहस चलिरहेको थियो ।
“युवाले केही जान्दैनन् ।”
“बूढा पुस्ता पुराना भए ।”
यी वाक्यहरू फेरि
दोहोरिँदै थिए ।
मैले शान्त स्वरमा
भनेँ,
“कुनै पनि पुस्ता पूर्ण हुँदैन । प्रत्येक पुस्ताले केही
उपलब्धि छोड्छ, केही
कमजोरी पनि । अर्को पुस्ताले त्यसलाई सुधार्दै अगाडि बढाउँछ । यही नै समाजको
स्वाभाविक यात्रा हो । यसरी नै समाज बिकसित हुँदै जाने हो ।”
रामबहादुरले थप्यो,
“तर यदि हरेक पुस्तालाई अर्को पुस्ताको शत्रु बनाइयो भने यात्रा
अघि बढ्दैन, चक्र
मात्रै घुमिरहन्छ ।”
त्यो रात मैले
डायरीमा अर्को पृष्ठ थपेँ ।
“फुटाऊ र राज गरको अर्को रूप पुस्तालाई पुस्तासँग जुधाउनु हो ।
युवालाई ‘अपरिपक्व’ र ज्येष्ठलाई ‘काम नलाग्ने’ भनेर चित्रित गरिन्छ । तर राष्ट्र
निर्माण तब हुन्छ, जब
युवाको ऊर्जा र ज्येष्ठको अनुभव एउटै दिशामा बग्छ । पुस्ताबीचको सम्मान टुटेपछि
भविष्य र इतिहास दुवै कमजोर हुन्छन् ।”
९:सरकारी कर्मचारी र निजी क्षेत्रबीचको अदृश्य युद्ध
छलफलपछि रामबहादुर
केही दिन मौन रह्यो ।
एक बिहान ऊ फेरि आयो ।
“दाइ, यसपटक
अर्को लडाइँ देखेँ ।”
“कसको ?”
“सरकारी कर्मचारी र निजी क्षेत्रका कामदारबीच ।”
मैले चिया अघि सार्दै
सोधेँ,
“के भयो ?”
“दुवै पक्ष आफूलाई पीडित भन्छन् । दुवैले अर्को पक्षलाई
सुविधाभोगी ठान्छन् ।”
त्यस दिन हामी एउटा
जिल्ला प्रशासन कार्यालय पुग्यौँ । बाहिर
लामो लाइन थियो । नागरिकहरू कागजात बनाउन,
सिफारिस लिन र विभिन्न कामका लागि
प्रतीक्षा गरिरहेका थिए । त्यही
लाइनमा एउटा निजी कम्पनीका कर्मचारी पनि
घडी हेर्दै उनले
झर्किँदै भने,
“हामीजस्तो निजी क्षेत्रमा काम गर्नेले एक दिन बिदा लियो भने
तलब काटिन्छ । यहाँ भने फाइल सार्न पनि दिन लाग्छ ।”
त्यसैबेला
कार्यालयबाट बाहिर निस्किएका एक सरकारी कर्मचारीले त्यो कुरा सुने । उनी पनि रोकिए ।
“तपाईंहरूलाई लाग्छ हामी केही गर्दैनौँ ?” उनले भने । “जनशक्ति
कम छ, काम
धेरै छ, नियमको
पालना पनि गर्नुपर्छ । सबै कर्मचारी एउटै हुँदैनन् ।”
क्षणभरमै तर्क सुरु
भयो ।
“सरकारी जागिर भएपछि ढुक्क ।”
“निजी क्षेत्रमा त शोषण मात्रै ।”
“सरकारी कर्मचारी कामचोर ।”
“निजी क्षेत्र कर छल्छ ।”
आवाज चर्किँदै गयो ।
रामबहादुरले मलाई
हेर्दै भन्यो,
“दाइ, दुवैले
एउटै कुरा बिर्सिए ।”
“के ?”
“दुवैले देशकै लागि काम गरिरहेका छन् ।”
त्यही बेला लाइनमा
उभिएका एक वृद्धले बोल्न अनुमति मागे ।
“म तीस वर्ष सरकारी विद्यालयमा शिक्षक थिएँ,” उनले भने । “अहिले
मेरो छोरा निजी उद्योगमा काम गर्छ । उसले कारखानामा उत्पादन गर्छ । मैले
विद्यार्थी उत्पादन गरेँ । उसले सामान उत्पादन गर्छ । हामीमध्ये देशको सेवा कसले
कम गर्यो ?”
सबै चुप लागे ।
कार्यालयबाट निस्केर
हामी एउटा सानो उद्योगमा गयौँ । त्यहाँ
कामदारहरू मेसिन चलाइरहेका थिए । उद्योगका
सञ्चालक चिन्तित देखिन्थे ।
“कच्चा पदार्थ महँगो भयो,”
उनले भने । “बिजुली, ढुवानी, कर, बैंकको ब्याज—सबै
बढेको छ । कर्मचारीलाई राम्रो तलब दिन चाहन्छु,
तर उद्योग टिकाउनै गाह्रो छ ।”
त्यसै बेला एक
कामदारले आफ्नो पीडा सुनायो ।
“हामी पनि दिनरात काम गर्छौँ । लक्ष्य पूरा भएन भने दबाब आउँछ ।
जागिर कहिले जाने हो थाहा हुँदैन ।”
रामबहादुरले दुवैलाई
ध्यानपूर्वक सुन्यो ।
“तपाईंहरूको समस्या त एउटै रहेछ,”
उसले भन्यो ।
“कसरी ?” सञ्चालकले
सोधे ।
“उद्योग टिके मात्र कामदारको रोजगारी टिक्छ । कामदारले राम्रो
काम गरे मात्र उद्योग टिक्छ ।”
दुवै एकअर्कातिर हेरे
।
सायद उनीहरूले पहिलो
पटक आफूहरू एउटै डुङ्गामा रहेको महसुस गरेका थिए ।
साँझ हामी फेरि चिया
पसलमा पुग्यौँ । त्यहाँ बहसको नयाँ विषय थियो ।
“सरकारी कर्मचारीहरू देश डुबाउने ।”
अर्को टेबलबाट आवाज
आयो,
“निजी क्षेत्रका व्यापारीहरू लोभी ।”
रामबहादुर उठेर
उनीहरूको बीचमा गयो ।
“एउटा प्रश्न सोध्न पाइन्छ ?”
“सोध ।”
“यदि सबै सरकारी कर्मचारी भ्रष्ट छन् भने इमानदार कर्मचारीहरू
को हुन् ?”
कसैले उत्तर दिएन ।
“यदि सबै निजी व्यवसायी शोषक हुन् भने हजारौँ मानिसलाई रोजगारी
दिने उद्यमीहरू को हुन् ?”
फेरि मौनता छायो ।
उसले शान्त स्वरमा
भन्यो,
“गल्ती गर्ने व्यक्तिलाई आलोचना गरौँ । तर एउटा व्यक्तिको
गल्तीका आधारमा पूरै समूहलाई दोषी नबनाऔँ ।”
घर फर्कँदै गर्दा
मैले रामबहादुरलाई भनेँ,
“मैले अब एउटा ढाँचा देख्न थालेको छु ।”
“कस्तो ?”
“पहिले किसान र उपभोक्ता ।”
“त्यसपछि गाउँ र सहर ।”
“त्यसपछि जाति र क्षेत्र ।”
“त्यसपछि युवा र बूढा ।”
“अब सरकारी कर्मचारी र निजी क्षेत्र ।”
रामबहादुरले मेरो
कुरा पूरा गर्यो ।
“हरेक पटक एउटै विधि ।”
“पहिले शङ्का फैलाउने ।”
“त्यसपछि आरोप ।”
“अन्त्यमा घृणा ।”
हामी पुलमाथि उभिएर
बगिरहेको नदी हेरिरहेका थियौँ ।
रामबहादुरले भन्यो,
“दाइ, एउटा
सरकारी अस्पतालमा निजी कम्पनीले बनाएको औषधि पुग्छ । निजी कम्पनीका इन्जिनियरले
बनाएको मेसिन सरकारी कार्यालयमा चल्छ । सरकारी विद्यालयमा पढेको विद्यार्थी निजी
उद्योगमा काम गर्छ । निजी क्षेत्रले तिरेको करबाट सरकारी सेवा चल्छ । सरकारी
नीतिले निजी उद्योगलाई दिशा दिन्छ ।”
ऊ केहीबेर रोकियो ।
“यति धेरै सम्बन्ध हुँदाहुँदै पनि दुवैलाई किन दुश्मन बनाइन्छ ?”
मैले उत्तर दिएँ,
“किनकि जब दुवैले साझा सुधारको माग गर्छन्, तब उत्तरदायित्वबाट
भाग्न गाह्रो हुन्छ । त्यसैले उनीहरूलाई एकअर्कामै व्यस्त राखिन्छ ।”
त्यो रात मैले
डायरीमा अर्को पाना थपेँ ।
“फुटाऊ र राज गरको अर्को रूप सरकारी कर्मचारी र निजी क्षेत्रलाई
आमनेसामने उभ्याउनु हो । एउटा पक्षलाई सबै समस्याको जड र अर्को पक्षलाई सबै
सद्गुणको प्रतीक बनाइन्छ । वास्तविकता भने फरक हुन्छ—दुवै क्षेत्रमा इमानदार र
बेइमान, सक्षम
र अक्षम मानिस हुन सक्छन् । संस्थाभन्दा व्यक्ति र व्यवहारको मूल्याङ्कन
नगर्दासम्म विभाजनको राजनीति बलियो रहन्छ ।”
१०:प्रदेश–प्रदेशबीच बजेटको युद्ध
यस घटनापछि रामबहादुर
केही दिनसम्म समाचार मात्र पढिरह्यो ।
हरेक दिन कुनै न कुनै
शीर्षक देखिन्थ्यो—
“फलानो प्रदेशलाई धेरै बजेट ।”
“हाम्रो प्रदेशलाई विभेद ।”
“हाम्रो जिल्लामाथि अन्याय ।”
उसले अखबार बन्द गर्यो
।
“दाइ,” उसले
भन्यो, “यसपटक
झगडा गाउँ र सहरबीच होइन । अब प्रदेश–प्रदेशबीच सुरु गराइएको रहेछ ।”
केही दिनपछि हामीले
एउटा अन्तरप्रदेशीय विकास सम्मेलनमा गयौँ । सातै प्रदेशका प्रतिनिधिहरू आएका थिए । कार्यक्रमको उद्देश्य थियो—साझा विकासका योजना बनाउने । सुरुमा वातावरण सकारात्मक थियो ।
कसैले कृषि सुधारको
कुरा गरे ।
कसैले पर्यटनको ।
कसैले उद्योग विस्तारको
।
तर केहीबेरमै छलफलको
दिशा फेरियो । एक प्रतिनिधि उठे ।
“हाम्रो प्रदेशलाई सधैँ कम बजेट दिइन्छ ।”
अर्को प्रदेशका
प्रतिनिधिले तुरुन्तै प्रतिवाद गरे ।
“हामीले पनि न्याय पाएका छैनौँ ।”
तेस्रोले थपे,
“सबै सुविधा त तपाईंहरूको प्रदेशले मात्रै पाएको छ ।”
केही मिनेटमै विकासको
बैठक बजेटको आरोप–प्रत्यारोपमा बदलियो ।
रामबहादुरले बिस्तारै
भन्यो,
“दाइ, फेरि
उही कथा ।”
“कुन ?”
“विकासको प्रतिस्पर्धा होइन,
पीडित बन्ने प्रतिस्पर्धा ।”
छलफल सकिएपछि हामी
बाहिर निस्कियौँ । त्यहाँ एक ट्रक चालक भेटिए । उनले पूर्वदेखि पश्चिमसम्म सामान ढुवानी गर्थे ।
रामबहादुरले सोध्यो,
“दाइ, तपाईं
कुन प्रदेशका ?”
चालक हाँसे ।
“म सडकको प्रदेशको ।”
हामी पनि मुस्कुरायौँ
।
उनले थपे,
“मेरो ट्रकले एक प्रदेशको अन्न अर्को प्रदेशमा पुर्याउँछ ।
एउटा प्रदेशको सिमेन्ट अर्को प्रदेशमा लैजान्छ । एउटा प्रदेशको फलफूल अर्को
प्रदेशका बजारमा बेचिन्छ । यदि एउटा प्रदेश रोयो भने अर्को पनि धेरै दिन हाँस्न
सक्दैन ।”
उनको त्यो सामान्य
वाक्यमा ठूलो सत्य लुकेको थियो ।
त्यसै साँझ हामी एउटा
चिया पसलमा पुग्यौँ ।
टेलिभिजनमा बहस
चलिरहेको थियो ।
“हाम्रो प्रदेशलाई केन्द्रले हेप्यो ।”
“तपाईंहरूको प्रदेशले सबै स्रोत कब्जा गर्यो ।”
“हामीलाई कर उठाउन मात्र प्रयोग गरियो ।”
पसलभित्र पनि त्यही
बहस दोहोरिन थाल्यो ।
एकजना युवकले
रिसाउँदै भने,
“हाम्रो प्रदेशका मानिसहरूले किन अरूलाई पाल्ने ?”
अर्कोले तुरुन्तै
जवाफ दियो,
“पहिला आफ्नो प्रदेश हेर्नुस् ।”
रामबहादुरले
उनीहरूलाई सोध्यो,
“एउटा प्रश्न गर्न मिल्छ ?”
सबैले उसको अनुहारतिर
हेरे ।
“यदि एउटा प्रदेशमा ठूलो बाढी आयो भने सहयोग गर्नुहुन्न ?”
“गर्छौँ ।”
“यदि अर्को प्रदेशमा ठूलो भूकम्प आयो भने ?”
“त्यो त गर्नैपर्छ ।”
“किन ?”
“किनकि उनीहरू पनि नेपाली हुन् ।”
रामबहादुर मुस्कुरायो
।
“त्यसो भए विकासको बेला हामी नेपाली किन बिर्सन्छौँ ?”
पसलमा मौनता छायो ।
घर फर्किने क्रममा
हामी एउटा नदीमाथिको पुलमा रोकियौँ । नदीले
दुई प्रदेश छुट्याएको थियो । तर
पुलले फेरि जोडेको थियो ।
रामबहादुरले पुलतिर
हेर्दै भन्यो,
“दाइ, नदीले
सीमा बनायो, मानिसले
पुल बनायो ।”
“त्यसको अर्थ ?”
“प्रकृतिले छुट्याएको ठाउँलाई पनि मानिसले जोड्न खोज्छ । तर
केही मानिस भने जोडिएका मनहरूलाई फेरि छुट्याउन खोज्छन् ।”
मैले उसलाई भनेँ,
“प्रदेशबीच स्रोत बाँडफाँडको विषयमा फरक मत हुन सक्छ । बजेटको
न्यायपूर्ण वितरणबारे बहस पनि आवश्यक हुन्छ ।”
“त्यो त स्वाभाविक हो ।”
“तर बहसलाई घृणामा बदल्नु र अर्को प्रदेशका नागरिकलाई नै शत्रु
देखाउनु फरक कुरा हो ।”
रामबहादुरले सहमति
जनायो ।
“हो दाइ । समस्याको समाधान खोज्नु एउटा कुरा हो । समस्यालाई
प्रयोग गरेर जनता जुधाउनु अर्कै कुरा ।”
त्यसै बेला एउटा
वृद्ध भूगोल शिक्षक त्यही पुलबाट हिँड्दै थिए । हामीले अभिवादन गर्यौँ । उनी मुस्कुराए ।
“तिमीहरू के हेर्दैछौ ?”
रामबहादुरले पुल
देखाउँदै भन्यो,
“प्रदेश जोड्ने पुल ।”
शिक्षकले टाउको
हल्लाए ।
“हो, तर
सबैभन्दा ठूलो पुल त विश्वास हो । त्यो भत्कियो भने फलामको पुलले पनि समाज जोड्न
सक्दैन ।”
उनको त्यो वाक्य लामो
समयसम्म हाम्रो मनमा गुञ्जिरह्यो ।
राति डायरी खोल्दा
मैले अर्को पृष्ठ थपेँ ।
“फुटाऊ र राज गरको पाँचौँ रूप प्रदेश–प्रदेशबीच अविश्वास
फैलाउनु हो । स्रोत, बजेट
र विकासबारे न्यायपूर्ण बहस लोकतन्त्रको आवश्यक प्रक्रिया हो । तर त्यसलाई
नागरिकबीच घृणा फैलाउने माध्यम बनाइयो भने समस्या समाधान हुँदैन, केवल नयाँ विभाजन
जन्मिन्छ । जब एउटा प्रदेशको पीडालाई अर्को प्रदेशको विजय मान्न थालिन्छ, तब राष्ट्र कमजोर
हुन्छ । जब सबै प्रदेशको विकासलाई साझा सफलता मानिन्छ, त्यहीँबाट राष्ट्रिय
एकता बलियो बन्छ ।”
११:सरकारी विद्यालय र निजी विद्यालयबीचको अदृश्य पर्खाल
प्रदेश–प्रदेशबीचको
विभाजनबारेको छलफल सकिएको केही दिनपछि रामबहादुर फेरि आयो । यसपालि उसको हातमा दुईवटा विद्यालयको विवरण थियो ।
एउटा सरकारी विद्यालय
।
अर्को निजी विद्यालय ।
“दाइ,” उसले
भन्यो, “हामीले
शिक्षा सुधार्ने कुरा गर्नुपर्ने हो । तर यहाँ त विद्यालयलाई नै दुई शिविरमा
बाँडिएको रहेछ ।”
“कसरी ?”
“सरकारी विद्यालयका विद्यार्थीलाई कमजोर भनेर हेर्ने । निजी
विद्यालयका विद्यार्थीलाई घमण्डी भन्ने । शिक्षकहरूलाई पनि दुई पक्षमा बाँड्ने ।”
त्यस दिन हामी एउटै
गाउँका दुई विद्यालयमा पुग्यौँ ।
पहिलो विद्यालय
सरकारी थियो ।
पुरानो भवन ।
पुस्तकालयमा कम
पुस्तक ।
प्रयोगशालाका केही
उपकरण बिग्रिएका ।
तर एउटा कक्षामा शिक्षक
अत्यन्त मन लगाएर पढाइरहेका थिए । विद्यार्थीहरू
ध्यान दिएर सुनिरहेका थिए । कक्षाको
अन्त्यमा एक छात्राले कठिन गणितको प्रश्न समाधान गरी ।
रामबहादुरले
मुस्कुराउँदै भन्यो,
“प्रतिभाले विद्यालयको नाम सोध्दैन रहेछ ।”
त्यसपछि हामी निजी
विद्यालय गयौँ । भवन आकर्षक थियो । कम्प्युटर कक्षा थियो । खेल मैदान व्यवस्थित थियो । त्यहाँ पनि शिक्षकहरू मेहनतका साथ पढाइरहेका थिए । तर विद्यालयबाहिर एक अभिभावक चिन्तित देखिन्थे ।
“छोरालाई राम्रो शिक्षा दिन भर्ना गराएँ,” उनले भने, “तर शुल्क तिर्नै
गाह्रो हुँदै गएको छ ।”
रामबहादुरले महसुस
गर्यो—
यहाँ पनि सबै समस्या
समाप्त भएका थिएनन् ।
दिउँसो हामी एउटा
सार्वजनिक बहसमा पुग्यौँ ।
विषय थियो—“नेपालको शिक्षा सुधार
।”
तर केही मिनेटमै बहस
फेरियो ।
एकजना वक्ताले भने,
“सरकारी विद्यालयमा केही हुँदैन ।”
तुरुन्तै अर्को उठे,
“निजी विद्यालय त पैसा कमाउने व्यापार मात्र हो ।”
दुवै पक्षका समर्थकले
ताली बजाए । शिक्षाको गुणस्तरको बहस हरायो । आरोप मात्र बाँकी रह्यो ।
रामबहादुरले मेरो
कानमा बिस्तारै भन्यो,
“दाइ, फेरि
उही खेल ।”
“कुन ?”
“विद्यालय सुधार्नेभन्दा विद्यालयलाई लडाउने ।”
कार्यक्रमपछि हामी दुवै
विद्यालयका दुई शिक्षकलाई भेट्यौँ ।
सरकारी विद्यालयका
शिक्षकले भने,
“हामीसँग स्रोत सीमित छन् । तर धेरै शिक्षक मनदेखि काम गरिरहेका
छन् ।”
निजी विद्यालयका
शिक्षकले भने,
“हामीमाथि नतिजाको ठूलो दबाब हुन्छ । राम्रो पढाउन नसके जागिर
पनि जोखिममा पर्छ ।”
दुवैले आ–आफ्ना
चुनौती सुनाए ।
रामबहादुरले सोध्यो,
“तपाईंहरू कहिल्यै सँगै बसेर विद्यार्थीको भविष्यबारे छलफल
गर्नुहुन्छ ?”
दुवैले एकअर्काको
अनुहार हेरे ।
“त्यस्तो अवसर कमै मिल्छ,”
उनीहरूले स्वीकारे ।
त्यसै बेला एउटी
आमाले आफ्ना दुई छोराछोरीसँग त्यहाँ आइन् । एउटा सरकारी विद्यालयमा पढ्थ्यो, अर्को निजी विद्यालयमा ।
रामबहादुरले सोध्यो,
“किन फरक विद्यालय ?”
आमाले लामो सास
फेरिन् ।
“जुन बेला जे सम्भव भयो,
त्यही गरियो । तर दुवै मेरा सन्तान हुन्
। दुवैको भविष्य उज्यालो होस् भन्ने चाहना एउटै हो ।”
त्यो उत्तरले केही
क्षण सबै मौन भए ।
साँझ चिया पसलमा फेरि
बहस चलिरहेको थियो ।
“सरकारी विद्यालयका विद्यार्थी कमजोर ।”
“निजी विद्यालयका विद्यार्थी घमण्डी ।”
यस्ता वाक्यहरू सहजै
बोलिँदै थिए ।
रामबहादुर उठ्यो ।
“एउटा प्रश्न सोध्न मिल्छ ?”
सबैले टाउको हल्लाए ।
“डाक्टर बिरामी जाँच्दा बिरामी कुन विद्यालयमा पढेको थियो भनेर
सोध्छ ?”
“सोध्दैन ।”
“इन्जिनियरले पुल बनाउँदा आफू सरकारी कि निजी विद्यालयमा पढेको
भनेर पुलले छुट्याउँछ ?”
सबै हाँसे ।
“अदालतले न्याय दिँदा न्यायाधीशले आफ्नो विद्यालयको नाम हेरेर
फैसला गर्छ ?”
“गर्दैन ।”
रामबहादुरले शान्त
स्वरमा भन्यो,
“त्यसो भए हामी किन बालबालिकालाई विद्यालयको नामका आधारमा
मूल्याङ्कन गर्छौँ ?”
घर फर्किने क्रममा
हामी एउटा खेल मैदानमा रोकियौँ । त्यहाँ
सरकारी र निजी विद्यालयका विद्यार्थीहरू एउटै फुटबल खेलिरहेका थिए ।
गोल गर्दा कसैले
सोधेको थिएन—
“तिमी कुन विद्यालयका ?”
हार्दा पनि कसैले
भनेको थिएन—
“त्यो सरकारी विद्यालयको गोल थियो ।”
त्यहाँ केवल खेल थियो
। सहकार्य थियो । मित्रता थियो ।
रामबहादुर मुस्कुरायो
।
“दाइ, बालबालिकाले
त विभाजन सिकेका रहेनछन् ।”
मैले उत्तर दिएँ,
“विभाजन उनीहरूको जन्मसँग आउँदैन । समाजले बिस्तारै सिकाउँछ ।”
त्यो रात मैले
डायरीमा अर्को पाना थपेँ ।
“फुटाऊ र राज गरको छैटौँ रूप शिक्षा प्रणालीलाई सरकारी र निजी
विद्यालयको कठोर विभाजनमा सीमित गर्नु हो । शिक्षा सुधारको वास्तविक
प्रश्न—शिक्षकको क्षमता, विद्यार्थीको सिकाइ,
स्रोत, पहुँच र गुणस्तर—ओझेलमा
पर्छ । राम्रो र कमजोर अभ्यास दुवै प्रणालीमा हुन सक्छन् । राष्ट्र तब बलियो बन्छ, जब प्रत्येक
बालबालिकाले गुणस्तरीय शिक्षा पाउँछ,
चाहे विद्यालय सरकारी होस् वा निजी ।”
१२:स्वास्थ्य सेवामा विश्वासको विभाजन
शिक्षाको विषयमा भएको
छलफल सकिएको केही दिनपछि रामबहादुर हतारिँदै मेरो घर आयो ।
“दाइ, यसपटक
गाउँमा बिरामीभन्दा डर ठूलो देखेँ ।”
“किन ?”
“मानिसहरू उपचारभन्दा अफवाहमा बढी विश्वास गर्न थालेका छन् ।
कोही भन्छ—डाक्टर सबै व्यापारी हुन् । कोही भन्छ—फार्मेसीले जे दिन्छ, त्यही ठीक हुन्छ ।
कोही भन्छ—अस्पताल त पैसा कमाउने ठाउँ मात्र हो ।”
उसको स्वरमा चिन्ता
थियो ।
“र बिरामी ?”
“उनीहरू बीचमै अल्झिएका छन् ।”
त्यस दिन हामी जिल्ला
अस्पताल गयौँ । बाहिर लामो लाइन थियो । कसैको हातमा एक्स–रे रिपोर्ट थियो, कसैको रगत परीक्षणको कागज । एक वृद्ध महिला कुर्सीमा बसेर आफ्नो पालो कुर्दै थिइन् । एक चिकित्सक लगातार बिरामी हेरिरहेका थिए । थकित देखिन्थे, तर काम रोकिएको थिएन । उता बाहिर केही मानिस भने आफ्नै निष्कर्ष सुनाइरहेका थिए ।
“डाक्टरले त अनावश्यक परीक्षण मात्र लेख्छ ।”
“सबै औषधि महँगो किन ?”
“सरकारी अस्पतालमा केही हुँदैन ।”
रामबहादुरले सबै कुरा
चुपचाप सुन्यो ।
अस्पतालबाट बाहिर
निस्कँदै गर्दा हामी नजिकैको औषधि पसलमा पुग्यौँ । त्यहाँ पनि भीड थियो । एक व्यक्तिले चिकित्सकको सल्लाहबिनै औषधि माग्दै थिए ।
“अघिल्लो पटक यही औषधिले निको भएको थियो ।”
औषधि पसलका
कर्मचारीले भने,
“पहिला चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।”
तर त्यो व्यक्तिले
जोड गरिरहे ।
“त्यसको आवश्यकता छैन ।”
रामबहादुरले विस्तारै
भन्यो,
“दाइ, कहिलेकाहीँ
मानिसहरू विशेषज्ञको सल्लाहभन्दा अनुमानमा बढी भरोसा गर्छन् ।”
त्यही बेला एक
चिकित्सक र एक औषधि व्यवसायी बाहिर भेटिए । दुवैले नमस्कार गरे । रामबहादुर छक्क पर्यो ।
“म त सोच्थेँ, तपाईंहरू एकअर्काका विरोधी हुनुहुन्छ ।”
दुवै हाँसे ।
चिकित्सकले भने,
“हामी बिरामी निको होस् भन्ने एउटै उद्देश्यका लागि काम गर्छौँ ।”
औषधि व्यवसायीले थपे,
“उचित निदान चिकित्सकले गर्छन् । सुरक्षित रूपमा औषधि उपलब्ध
गराउनु हाम्रो जिम्मेवारी हो ।”
त्यो दृश्यले
रामबहादुरलाई केही सोच्न बाध्य बनायो । साँझ हामी चिया पसलमा पुग्यौँ । फेरि बहस चलिरहेको थियो ।
“अस्पतालका सबै डाक्टर व्यापारी ।”
अर्कोले भन्यो,
“औषधि पसलहरू त दलाल मात्र हुन् ।”
यी वाक्यहरू हावामा
सजिलै उडिरहेका थिए ।
रामबहादुर उठ्यो ।
“एउटा प्रश्न सोध्न मिल्छ ?”
सबैले उसलाई हेरे ।
“यदि एउटा चिकित्सकले गल्ती गर्यो भने के सबै चिकित्सक दोषी
हुन्छन् ?”
कसैले उत्तर दिएन ।
“यदि कुनै औषधि पसलले नियमविपरीत काम गर्यो भने के सबै औषधि
व्यवसायी त्यस्तै हुन्छन् ?”
फेरि मौनता छायो ।
उसले शान्त स्वरमा
भन्यो,
“गल्ती गर्ने व्यक्तिलाई कानुनअनुसार जवाफदेही बनाउनुपर्छ । तर
सम्पूर्ण पेशालाई एउटै रङले रंगाउनु न्याय होइन ।”
त्यही बेला अस्पतालकी
एक नर्स चिया खान आइन् । उनले
दिनभरको थकान लुकाउन सकेकी थिइनन् ।
“हामीलाई सबैभन्दा दुःख के लाग्छ,
थाहा छ ?”
उनले भनिन् ।
“के ?”
“बिरामी निको भएर घर फर्किँदा कसैले केही भन्दैन । तर एउटा
कमजोरी भयो भने सबै स्वास्थ्यकर्मी एउटै हुन् भनेर भनिन्छ ।”
उनको आँखामा थकानसँगै
पीडा पनि थियो ।
घर फर्कने क्रममा हामी
एम्बुलेन्सलाई बाटो दिँदै रोकियौँ । एम्बुलेन्स
अस्पतालतर्फ दौडिरहेको थियो । रामबहादुरले
त्यसलाई हेरिरह्यो ।
“दाइ, यो
एम्बुलेन्सभित्रको बिरामीलाई अहिले सबैभन्दा आवश्यक कुरा के होला ?”
“छिटो र गुणस्तरीय उपचार ।”
“उसलाई अहिले चिकित्सक सरकारी कि निजी, औषधि कुन कम्पनीको, वा अस्पताल कसको हो
भन्नेभन्दा उपचार नै महत्त्वपूर्ण हुन्छ ।”
मैले टाउको हल्लाएँ ।
“ठीक त्यही ।”
हामी केही पर पुगेपछि
रामबहादुर फेरि बोल्यो ।
“अब मैले अर्को कुरा बुझेँ ।”
“के ?”
“स्वास्थ्य प्रणालीमा कमजोरी छन् भने सुधार गर्नुपर्छ ।
अनियमितता छ भने अनुसन्धान र कारबाही हुनुपर्छ । तर जनताको विश्वास नै भत्काइदिने
गरी सबैलाई एकअर्काको शत्रु बनाइयो भने अन्तिम पीडा बिरामीले भोग्छ । थोरै भएका
इमानदारहरू पनि ओझेलमा पर्छन् ।”
त्यो रात मैले
डायरीमा अर्को पाना थपेँ ।
“फुटाऊ र राज गरको सातौँ रूप स्वास्थ्य सेवामा अविश्वास फैलाउनु
हो । कुनै व्यक्तिको गल्तीलाई सम्पूर्ण पेशाको चरित्र बनाइन्छ । परिणामस्वरूप
बिरामी, स्वास्थ्यकर्मी
र सेवा प्रणालीबीचको विश्वास कमजोर हुन्छ । स्वास्थ्य सेवा तब बलियो हुन्छ, जब चिकित्सक, नर्स, औषधि व्यवसायी, प्राविधिक, व्यवस्थापक र नागरिक
सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाउँछन् र अनियमितताको जवाफदेहिता पनि
सुनिश्चित हुन्छ ।”
१३:सञ्चार माध्यममा ध्रुवीकरण
यस पछि रामबहादुर
केही दिन गाउँमै बस्यो ।
एक साँझ उसले मलाई
फोन गर्यो ।
“दाइ, आज
गाउँभरि एउटै घटनाको पाँचवटा फरक कथा सुनियो ।”
“कस्तो घटना ?”
“एउटै सभाको समाचार । तर हरेकले फरक–फरक सत्य सुनायो ।”
भोलिपल्ट ऊ सहर आयो । हामी एउटा चिया पसलमा बस्यौँ । पसलमा तीनवटा टेलिभिजन चलिरहेका
थिए । एउटै समाचारलाई तीन फरक शैलीमा प्रस्तुत
गरिँदै थियो ।
पहिलो च्यानलले भन्यो,
“देश बचाउने ऐतिहासिक कदम ।”
दोस्रोले भन्यो,
“देश डुबाउने षड्यन्त्र ।”
तेस्रोले भन्यो,
“जनताको आवाजमाथि प्रहार ।”
रामबहादुर अचम्मित
भयो ।
“दाइ, घटना
त एउटै हो नि !”
“हो ।”
“त्यसो भए तीनवटा सत्य कसरी भए ?”
मैले उत्तर दिएँ,
“घटना एउटै हुन सक्छ । तर त्यसको व्याख्या फरक हुन सक्छ ।
समस्या त्यतिबेला सुरु हुन्छ, जब तथ्यभन्दा पक्षपात ठूलो बन्छ ।”
त्यसै दिन हामी
बजारमा दुई पुराना साथीलाई भेट्यौँ । दुवै
विद्यालयमा सँगै पढेका थिए । दुवैले
एउटै गाउँमा बाल्यकाल बिताएका थिए । तर
अहिले उनीहरू एकअर्कासँग बोल्दैनथे ।
“किन ?” रामबहादुरले
सोध्यो ।
पहिलोले भन्यो,
“ऊ देशद्रोहीहरूको कुरा गर्छ ।”
दोस्रोले तुरुन्तै
जवाफ दियो,
“देशद्रोही त तिमीहरू हौ ।”
रामबहादुरले छक्क
पर्दै सोध्यो,
“तिमीहरू कहिलेदेखि शत्रु भयौ ?”
पहिलोले आफ्नो
मनपर्ने सञ्चार माध्यमको नाम लियो, दोस्रोले अर्को माध्यमको । दुवैले आफ्नो स्रोतलाई मात्र सत्य र अर्को स्रोतलाई पूर्ण झूट
मानिरहेका थिए ।
हामी त्यहाँबाट
निस्कियौँ ।
रामबहादुरले गहिरो
सास फेर्यो ।
“दाइ, पहिले
मानिसहरू विचारमा फरक हुन्थे । अहिले त मानिस नै दुई शिविरमा बाँडिएका छन् ।”
मैले टाउको हल्लाएँ ।
“कहिलेकाहीँ यस्तो वातावरण बन्छ कि एउटा पक्ष सधैँ ‘देशभक्त’ र
अर्को पक्ष सधैँ ‘देशद्रोही’ भनेर चित्रित गरिन्छ । त्यसले संवादभन्दा आरोप बढाउँछ
।”
साँझ एउटा पत्रकारितासम्बन्धी
कार्यक्रममा पुग्यौँ ।
त्यहाँ एक वरिष्ठ
पत्रकारले अनुभव सुनाइरहेका थिए ।
“पत्रकारको पहिलो दायित्व तथ्य खोज्नु हो,” उनले भने, “कुनै पक्षको प्रचार
गर्नु होइन । नागरिकले पनि एउटै स्रोतमा सीमित नभई फरक–फरक विश्वसनीय स्रोतबाट
जानकारी जाँच्ने बानी बसाल्नुपर्छ ।”
कार्यक्रम सकिएपछि
रामबहादुरले उनलाई सोध्यो,
“यदि कसैले सरकारको आलोचना गर्यो भने ऊ देशविरोधी हुन्छ ?”
पत्रकार मुस्कुराए ।
“देश र सरकार एउटै कुरा होइन । सरकार परिवर्तन हुन्छ, देश रहिरहन्छ ।
त्यसैगरी, सरकारको
हरेक निर्णयको समर्थन गर्ने व्यक्ति स्वतः देशभक्त हुन्छ भन्ने पनि होइन ।
देशप्रतिको जिम्मेवारी काम, इमानदारी
र नागरिक कर्तव्यबाट देखिन्छ; केवल नाराबाट होइन ।”
रामबहादुरले
धेरैबेरसम्म सोचिरह्यो ।
फर्कने क्रममा हामी
एउटा पुस्तकालयमा छिर्यौँ । त्यहाँ
एउटै घटनाबारे लेखिएका विभिन्न पुस्तकहरू थिए । रामबहादुरले एउटा पुस्तक उठायो ।
“दाइ, यहाँ
त एउटै विषयमा धेरै दृष्टिकोण रहेछन् ।”
मैले उत्तर दिएँ,
“सत्य बुझ्न धेरै कोणबाट हेर्नुपर्छ । एउटै झ्यालबाट मात्र
हेर्दा पूरा दृश्य देखिँदैन ।”
राति फेरि चिया पसलमा
बहस चलिरहेको थियो ।
“यदि तिमी हाम्रो पक्षमा छैनौ भने देशको पक्षमा पनि छैनौ ।”
अर्कोले जवाफ दियो,
“तिमीहरू सबै देश बेच्ने हौ ।”
बहस अब तर्कमा थिएन । पहिचानमा बदलिएको थियो । रामबहादुर उठ्यो ।
“एउटा प्रश्न सोध्न मिल्छ ?”
सबै चुप लागे ।
“यदि एउटै परिवारका दुई दाजुभाइ फरक विचार राख्छन् भने के
उनीहरूमध्ये एक जना स्वतः देशद्रोही हुन्छ ?”
कसैले उत्तर दिएन ।
“यदि एउटै गाउँका दुई नागरिकले फरक मत राखे भने के उनीहरू
दुश्मन भइहाल्छन् ?”
फेरि मौनता छायो ।
उसले शान्त स्वरमा
भन्यो,
“मत फरक हुन सक्छ । तथ्यको व्याख्या फरक हुन सक्छ । तर
प्रमाणबिना एकअर्कालाई देशद्रोही वा देशभक्तको स्थायी छाप लगाइदिँदा संवाद मर्छ ।”
घर फर्कँदै गर्दा
रामबहादुरले आकाशतिर हेर्दै भन्यो,
“दाइ, अब
मैले अर्को चाल पनि बुझेँ ।”
“के ?”
“यदि नागरिकलाई तथ्य खोज्न नदिई केवल पक्ष रोज्न बाध्य बनाइयो
भने उनीहरूले प्रश्न सोध्न छोड्छन् । अनि वास्तविक समस्याभन्दा एकअर्कासँगको लडाइँ
ठूलो बन्छ ।”
मैले सहमति जनाएँ ।
त्यो रात मैले
डायरीमा अर्को पाना थपेँ ।
“फुटाऊ र राज गरको आठौँ रूप सूचनालाई ध्रुवीकरण गर्नु हो । एउटै
घटनालाई आधार बनाएर नागरिकलाई स्थायी शिविरमा बाँडिन्छ । एउटा पक्षलाई सधैँ
देशभक्त र अर्को पक्षलाई सधैँ देशद्रोही भनेर चित्रण गर्दा तथ्य, प्रमाण र विवेकपूर्ण
संवाद कमजोर हुन्छ । लोकतान्त्रिक समाजमा आलोचना, समर्थन र असहमति
सबैको स्थान हुन्छ, तर
तिनको आधार प्रमाण, तर्क
र जिम्मेवारी हुनुपर्छ; व्यक्तिलाई स्थायी लेबल लगाएर होइन ।”
१४:धर्म र संस्कृतिलाई हतियार बनाउने खेल
यो घटनापछि रामबहादुर
निकै गम्भीर देखिन्थ्यो । एक
बिहान ऊ गाउँबाट सिधै मेरो घर आयो ।
“दाइ,” उसले
थकित स्वरमा भन्यो, “यसपटक
झगडा विकासको होइन, विश्वासको
देखेँ ।”
“के भयो ?”
“एउटा सामान्य सांस्कृतिक कार्यक्रममा सुरु भएको विवाद केही
घण्टामै धर्मको प्रश्न बनाइयो । साँझसम्म गाउँ दुई समूहमा बाँडियो ।”
मैले उसलाई विस्तारले
भन्न आग्रह गरेँ । रामबहादुरले सुनाउन थाल्यो ।
“हाम्रो गाउँमा हरेक वर्षजस्तै मेला लागेको थियो । सबै समुदायका
मानिसहरू आउँथे । कसैले आफ्ना परम्परागत गीत गाए,
कसैले नाच प्रस्तुत गरे, कसैले आफ्नो धार्मिक
परम्पराअनुसार पूजा गरे ।”
“त्यसपछि ?”
“कार्यक्रममा भएको एउटा सामान्य व्यवस्थापकीय त्रुटिलाई कसैले
सामाजिक सञ्जालमा अर्कै रूपमा प्रस्तुत गरिदियो । केही घण्टामै मानिसहरूले सत्य
नबुझीकन टिप्पणी गर्न थाले ।”
भोलिपल्ट हामी त्यही
गाउँ पुग्यौँ । अघिल्लो वर्षसम्म एउटै चौतारामा बसेर
चिया खाने मानिसहरू यसपटक छुट्टाछुट्टै समूहमा बसेका थिए । कोही रिसाएका थिए । कोही डराएका थिए । कोही
अन्योलमा थिए ।
रामबहादुरले एक
वृद्धसँग सोध्यो,
“बुबा, पहिले
त यस्तो थिएन नि ?”
वृद्धले लामो सास
फेरे ।
“छोरा, हामी
त वर्षौँदेखि एकअर्काको चाडमा शुभकामना दिन जान्थ्यौँ । अहिले बाहिरबाट आएका केही
शब्दले छिमेकीलाई पनि शङ्काले हेर्न थालेका छौँ ।”
हामी गाउँको
विद्यालयतिर लाग्यौँ । विद्यालयमा
विभिन्न धर्म र संस्कृतिका बालबालिका एउटै बेन्चमा बसेर पढिरहेका थिए । मध्याह्नको विश्राममा उनीहरू सँगै खेलिरहेका थिए ।
रामबहादुर मुस्कुरायो
।
“दाइ, यी
बालबालिकालाई त कसैले फरक बनाएको छैन ।”
मैले उत्तर दिएँ,
“घृणा जन्मजात हुँदैन । त्यो सिकाइन्छ ।”
साँझ गाउँको
सामुदायिक भवनमा सबैलाई बोलाएर छलफल गरियो । एकजना युवक उठे ।
“हाम्रो धर्ममाथि आक्रमण भयो ।”
अर्कोले प्रतिवाद गर्यो
।
“हाम्रो संस्कृतिलाई अपमान गरियो ।”
वातावरण फेरि तात्न
थाल्यो । त्यही बेला गाउँका सबैभन्दा ज्येष्ठ
व्यक्तिले बोल्न अनुमति मागे ।
“म केही प्रश्न सोध्न चाहन्छु,”
उनले भने ।
हल शान्त भयो ।
“तपाईंहरूको घरमा कसैले बिरामी पर्दा उपचार गर्नुअघि धर्म
सोध्नुहुन्छ ?”
“सोध्दैनौँ ।”
“आगो लाग्दा छिमेकीले पानी ल्याउँदा उसको संस्कृतिको प्रमाणपत्र
माग्नुहुन्छ ?”
“माग्दैनौँ ।”
“बाढी आउँदा उद्धार गर्न आउने मानिस कुन समुदायको हो भनेर
पर्खिनुहुन्छ ?”
सबैले एकै स्वरमा भने,
“पर्खिन्नौँ ।”
वृद्ध मुस्कुराए ।
“त्यसो भए दुःखमा हामी एक हुन्छौँ भने सुखमा किन छुट्टिन्छौँ ?”
त्यो प्रश्नले हल
केहीबेर मौन बनायो ।
रामबहादुर उठ्यो ।
“हाम्रो देशको शक्ति नै विविधता हो । फरक–फरक भाषा, संस्कृति, चाडपर्व, परम्परा र विश्वासले
समाजलाई समृद्ध बनाउँछन् । यदि यही विविधतालाई सम्मान गर्नुको सट्टा शङ्का र
घृणाको माध्यम बनाइयो भने सबैभन्दा ठूलो क्षति हामी सबैलाई हुन्छ ।”
एक महिलाले आँखा
रसाउँदै भनिन्,
“हामी त वर्षौँदेखि एकअर्काको घरमा चाड मनाउन जान्थ्यौँ । एउटा
अफवाहले यति ठूलो दूरी कसरी बनायो ?”
कसैसँग सजिलो उत्तर
थिएन ।
फर्कने क्रममा हामी
पुरानो मन्दिर, गुम्बा, मस्जिद र चर्च
नजिकैबाट हिँड्यौँ । ती
सबै आफ्नै स्थानमा शान्त उभिएका थिए । उनीहरूबीच
कुनै विवाद थिएन । विवाद मानिसहरूको मनमा थियो ।
रामबहादुरले बिस्तारै
भन्यो,
“दाइ, भवनहरू
झगडा गर्दैनन् । परम्पराहरू पनि झगडा गर्दैनन् । झगडा त तब सुरु हुन्छ, जब कसैले विश्वासलाई
डरमा बदलिदिन्छ ।”
मैले सहमति जनाएँ ।
“धर्मले मानिसलाई नैतिकता,
करुणा र सहअस्तित्व सिकाउन सक्छ ।
संस्कृतिले पहिचान र इतिहास जोगाउन सक्छ । तर तिनलाई घृणाको हतियार बनाइयो भने मूल
उद्देश्य नै हराउँछ ।”
त्यो रात मैले
डायरीमा अर्को पाना थपेँ ।
“फुटाऊ र राज गरको नवौँ रूप धर्म र संस्कृतिलाई द्वन्द्वको
माध्यम बनाउनु हो । साना घटना वा गलतफहमीलाई बढाइचढाइ गरेर समुदायहरूबीच अविश्वास
फैलाइन्छ । विविधता कुनै खतरा होइन;
त्यसको राजनीतिक वा व्यक्तिगत दुरुपयोग
समाजका लागि खतरा बन्न सक्छ । जब नागरिकले एकअर्काको आस्था र संस्कृतिको सम्मान
गर्दै तथ्यका आधारमा संवाद गर्छन्,
विभाजनको आगो निभ्न थाल्छ ।”
१५:बेरोजगार युवालाई प्रतीक्षामा राख्ने खेल
यो घटनापछि केही दिन
रामबहादुर गाउँमै थियो ।
एक बिहान ऊ निकै उदास
अनुहार लिएर आयो ।
“दाइ, यसपटक
मैले झगडा होइन, प्रतीक्षा
देखेँ ।”
“कस्तो प्रतीक्षा ?”
“हजारौँ युवाको । सबैको हातमा फाराम थियो । सबैको आँखामा एउटै
सपना—सरकारी जागिर ।”
“त्यो त नराम्रो होइन ।”
“होइन । तर नराम्रो के थियो भने,
धेरैले सरकारी जागिरबाहेक अर्को बाटो
कल्पनै गर्न छोडेका थिए ।”
हामी राजधानीमा आयोजित
एउटा लोकसेवा तयारी कक्षाको बाहिर पुग्यौँ । भवनबाहिर सयौँ युवाहरू नोटबुक बोकेर निस्किरहेका थिए । कसैले पाँचौँ पटक परीक्षा दिएको थियो, कसैले सातौँ पटक । कसैले उमेरको अन्तिम अवसर पर्खिरहेको थियो ।
रामबहादुरले एक
युवकसँग सोध्यो,
“कहिलेदेखि तयारी गर्दै हुनुहुन्छ ?”
“चार वर्ष भयो ।”
“बीचमा केही काम गर्नुभएन ?”
युवकले टाउको हल्लायो
।
“यदि जागिर छुट्यो भने तयारी बिग्रन्छ ।”
उसको उत्तरमा आशा पनि
थियो, डर
पनि ।
त्यसै बेला हामी
अर्को गाउँबाट आएका युवालाई भेट्यौँ ।
उसले भन्यो,
“म पनि यही तयारी गर्न आएको थिएँ । तर गाउँ फर्केर सानो
मौरीपालन सुरु गरेँ । अहिले पाँच जनाले मसँगै काम गर्छन् ।”
वरिपरिका केही युवाले
आश्चर्यले उसलाई हेरे ।
“त्यसो भए तिमीले सरकारी जागिर छोड्यौ ?”
ऊ मुस्कुरायो ।
“छोडेको होइन । मैले काम सुरु गरेँ ।”
दिउँसो हामी एउटा
रोजगारी मेलामा पुग्यौँ । त्यहाँ
कृषि, सूचना
प्रविधि, पर्यटन, उत्पादन, हस्तकला र साना
उद्योगका स्टलहरू पनि थिए ।
तर अधिकांश युवाको
भीड एउटै स्टलमा थियो—
"सरकारी सेवा तयारी"
बाँकी स्टलहरू प्रायः
खाली थिए ।
रामबहादुरले बिस्तारै
भन्यो,
“दाइ, यो
दृश्यले केही सोच्न बाध्य बनायो ।”
“के ?”
“हामीले जागिर खोज्ने लाखौँ हात बनायौँ । तर काम सिर्जना गर्ने
हात किन यति कम छन् ?”
त्यही बेला एक वृद्ध
उद्यमी त्यहाँ आए । उनले
सानो कुटीर उद्योगबाट सुरु गरेर अहिले दर्जनौँ मानिसलाई रोजगारी दिएका थिए ।
रामबहादुरले सोध्यो,
“हजुरको सुरुवात कसरी भयो ?”
वृद्ध मुस्कुराए ।
“पहिलो वर्ष घाटा भयो ।”
“अनि ?”
“दोस्रो वर्ष पनि सजिलो थिएन ।”
“अनि पनि छोड्नुभएन ?”
“यदि पहिलो असफलतामै हार मानेको भए आज यी सबै परिवारको रोजगारी
हुने थिएन ।”
युवाहरू ध्यान दिएर
सुनिरहेका थिए । साँझ चिया पसलमा फेरि बहस चलिरहेको थियो
।
“सरकारी जागिर पाएपछि जीवन सफल ।”
अर्कोले भन्यो,
“व्यवसाय भनेको जोखिम मात्र हो ।”
तेस्रोले थप्यो,
“उद्यम गरेर केही हुँदैन ।”
रामबहादुर उठ्यो ।
“एउटा प्रश्न सोध्न मिल्छ ?”
सबैले उसलाई हेरे ।
“सरकारी कर्मचारीको तलब कहाँबाट आउँछ ?”
एकजनाले उत्तर दियो,
“राज्यबाट ।”
“राज्यको आम्दानी कहाँबाट आउँछ ?”
कसैले भन्यो,
“करबाट ।”
“कर कसले तिर्छ ?”
अब सबै केहीबेर मौन
भए ।
रामबहादुरले शान्त
स्वरमा भन्यो,
“किसान, उद्योग, व्यवसाय, सेवा, श्रमिक, कर्मचारी—सबैले
आ–आफ्नो योगदान दिन्छन् । सरकारी सेवा आवश्यक छ । निजी उद्यम पनि आवश्यक छ । दुवै
एकअर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक हुन् ।”
फर्कने क्रममा हामी
एउटा सानो फलफूल प्रशोधन उद्योगमा पुग्यौँ । केही वर्षअघि विदेश जान खोजेका युवाहरू अहिले त्यही उद्योगमा
काम गरिरहेका थिए ।
एकजनाले भने,
“हामी पनि कतार जाने तयारीमा थियौँ । पछि गाउँमै उद्योग सुरु
गर्ने अवसर मिल्यो ।”
रामबहादुरले वरिपरि
हेर्दै भन्यो,
“यहाँ त रोजगारी मात्र होइन,
आशा पनि उत्पादन भइरहेको रहेछ ।”
मैले उसलाई भनेँ,
“सरकारी सेवा कुनै समस्या होइन । सक्षम र इमानदार कर्मचारी
राष्ट्रका लागि अत्यन्त आवश्यक हुन्छन् ।”
“तर ?”
“तर यदि सम्पूर्ण युवालाई एउटै ढोकामात्र सफलता हो भन्ने सोचमा
सीमित गरियो भने धेरै सम्भावना प्रयोग नै हुँदैन । उद्यम, अनुसन्धान, कृषि, उत्पादन, विज्ञान, प्रविधि, कला—यी सबै पनि
राष्ट्र निर्माणका आधार हुन् ।”
रामबहादुरले सहमति
जनायो ।
“हो दाइ । सबैले सरकारी कर्मचारी बन्न सक्दैनन् । तर धेरैले
अवसर पाए काम सिर्जना गर्ने व्यक्ति बन्न सक्छन् ।”
घर फर्कँदा सूर्य
अस्ताउँदै थियो । क्षितिजमा रातो प्रकाश फैलिएको थियो ।
रामबहादुरले अन्तिम
पटक भन्यो,
“दाइ, बेरोजगारीको
समाधान केवल जागिर खोज्ने मानिस बढाउनु होइन,
काम सिर्जना गर्ने वातावरण पनि बनाउनु
रहेछ ।”
त्यो रात मैले
डायरीमा अर्को पाना थपेँ ।
“फुटाऊ र राज गरको दशौँ रूप युवालाई केवल प्रतीक्षाको
संस्कृतिमा अल्झाउनु हो । सरकारी सेवा राष्ट्रका लागि आवश्यक संस्था हो, तर त्यसलाई सफलताको
एकमात्र बाटो बनाइँदा उद्यमशीलता,
नवप्रवर्तन र उत्पादनशील सोच कमजोर पर्न
सक्छ । राष्ट्र तब बलियो बन्छ,
जब इमानदार सरकारी सेवा, सक्षम निजी क्षेत्र र
सिर्जनशील उद्यमीहरू एकअर्काका सहयात्री बन्छन्, प्रतिस्पर्धी होइन ।”
१६:रेमिट्यान्सको सपना, उत्पादनको शून्यता
बिहानको सूर्य भर्खरै
डाँडामाथि उक्लँदै थियो । रामबहादुर
फेरि मेरो घर आयो । यसपटक
उसको काँधमा एउटा पुरानो झोला थियो । त्यो
झोलाभित्र केही कपडा थिए, केही
पुराना कागजात, एउटा
राहदानी र एउटा च्यातिएको तस्बिर ।
“दाइ,” उसले
गहिरो सास फेर्यो, “यो
झोला मेरो होइन ।”
“कसको हो ?”
“मेरा गाउँका दाइको । बीस वर्ष विदेश बसे । अहिले गाउँ फर्केका
छन् ।”
“अनि ?”
“झोलामा विदेशको पसिना छ । तर गाउँमा भविष्य छैन ।”
त्यसै दिन हामी
रामबहादुरसँगै उनको गाउँ पुग्यौँ । गाउँ
पहिलेभन्दा फरक देखिन्थ्यो । धेरै
नयाँ पक्की घर बनेका थिए । कतिपय
घरमा महँगा टायल थिए । कतिपयको
आँगनमा नयाँ गाडी थियो । तर
खेतमा झार उम्रिएको थियो । सिँचाइ
कुलोमा पानीभन्दा धुलो धेरै थियो ।
धारामा वृद्धहरू
मात्र देखिन्थे । युवा थिएनन् । गाउँको विद्यालयमा विद्यार्थी घटेका थिए । गाउँको मिल बन्द थियो । पुरानो गलैँचा उद्योगको भवनमा ताला झुण्डिएको थियो । एक समय सयौँ परिवारलाई रोजगारी दिने सानो गार्मेन्ट उद्योग
झाडीले ढाकिएको थियो ।
रामबहादुरले बिस्तारै
भन्यो,
“दाइ, पैसा
आएको छ । तर उत्पादन हराएको छ ।”
हामी विदेशबाट
फर्किएका ती दाइलाई भेट्न गयौँ । उनको
अनुहार घामले डढेको थियो । हातमा
वर्षौँको मेहनतका डाम थिए ।
“कति वर्ष विदेश बस्नुभयो ?”
“बीस वर्ष ।”
“कति दुःख गर्नुभयो ?”
“जति कल्पना गर्न सकिन्छ,
त्योभन्दा बढी ।”
“अहिले के गर्ने सोच छ ?”
उनी केही क्षण मौन
बसे ।
“यही त थाहा छैन ।”
“खेती ?”
“बजारको भर छैन ।”
“उद्योग ?”
“ऋण पाइँदैन, पाए पनि झन्झट धेरै ।”
“व्यवसाय ?”
“अनुमति, कर, बिचौलिया, अस्थिर नीति—सबैतिर
अन्योल ।”
“त्यसो भए ?”
“बैंकमा पैसा राख्छु । ब्याज आउला ।”
रामबहादुरको अनुहार
मलिन भयो ।
“दाइ, विदेशको
पसिना बैंकको खातामा सुत्ने भयो ।”
त्यसै बेला गाउँका
केही युवा पनि आए ।
एकजनाले भन्यो,
“हामी पनि विदेश जाने तयारी गर्दैछौँ ।”
“किन ?”
“यहाँ काम छैन ।”
अर्कोले थप्यो,
“काम छ भने पनि आम्दानी छैन ।”
तेस्रोले भन्यो,
“उत्पादन गरे बजार छैन ।”
चौथोले भन्यो,
“बजार भए मूल्य छैन ।”
पाँचौँले भन्यो,
“मूल्य भए बिचौलिया छ ।”
रामबहादुरले
उनीहरूलाई हेरिरह्यो । उनीहरूका
उत्तर फरक थिए । तर पीडा एउटै थियो ।
त्यस साँझ हामी
गाउँको चौतारोमा बस्यौँ । त्यहाँ
विदेशबाट फर्किएका, गाउँमै
बसेका किसान, शिक्षक, एक सानो उद्योगी र
केही महिलाहरू भेला भए । छलफल
सुरु भयो ।
एक किसान बोले,
“हामी उत्पादन गर्छौँ । बजारमा पुग्दा हाम्रो मूल्य हराउँछ ।”
उद्योगीले भने,
“हामी उत्पादन गर्न खोज्छौँ । सस्तो आयातित सामानसँग
प्रतिस्पर्धा गर्न सक्दैनौँ ।”
महिलाहरूले भने,
“हामीले बनाएका हस्तकलाका सामान बेच्ने ठाउँ छैन ।”
शिक्षकले भने,
“विद्यालयबाट पढेर निस्केका विद्यार्थीलाई गाउँमै भविष्य देखाउन
सकिएको छैन ।”
विदेशबाट फर्किएका
दाइले टाउको झुकाउँदै भने,
“मैले दुई दशक विदेशमा बिताएँ । फर्केर आफ्नै गाउँमा लगानी गर्न
चाहन्छु । तर मभन्दा धेरैले दलाल भेट्छन्,
सल्लाहकार कम ।”
रामबहादुरले मलाई
हेर्दै भन्यो,
“दाइ, यी
सबै समस्या त छुट्टाछुट्टै देखिन्छन् ।”
“तर ?”
“तर जरा एउटै रहेछ ।”
“कस्तो ?”
“उत्पादन गर्ने मानिस कमजोर हुँदै गएका छन् ।”
मैले टाउको हल्लाएँ ।
“सोच त गर ।”
“किसान उत्पादन गर्न डराउँछ ।”
“सानो उद्योग टिक्न गाह्रो हुन्छ ।”
“युवा विदेश जान बाध्य हुन्छ ।”
“विदेशबाट फर्किएको मानिस लगानी गर्न डराउँछ ।”
“बजार बिचौलियाले नियन्त्रण गर्छ ।”
“सडक जीर्ण हुँदा ढुवानी महँगो हुन्छ ।”
“कर प्रणालीमा इमानदारले पनि कहिलेकाहीँ झन्झट भोग्छ ।”
“सरकारी र निजी क्षेत्र एकअर्कालाई दोष दिन्छन् ।”
“शिक्षामा गुणस्तरको बहसभन्दा विद्यालयको नाम ठूलो हुन्छ ।”
“स्वास्थ्यमा विश्वासभन्दा अफवाह छिटो फैलिन्छ ।”
“जाति, क्षेत्र, पुस्ता, धर्म, प्रदेश—सबैमा विभाजन
फैलाइन्छ ।”
रामबहादुरले गहिरो
सास फेर्यो ।
“दाइ, अब
मलाई सबै फुटाऊ र हत्याऊका कुनीयतहरू एउटै पुस्तकका अध्यायजस्ता लाग्न थाले ।”
त्यही बेला गाउँका एक
असी वर्षे वृद्ध उठे । उनले
जीवनभर खेती गरेका थिए ।
“म एउटा कुरा भन्न चाहन्छु,”
उनले भने ।
सबै चुप लागे ।
“हामीले पहिले गरिबी देख्यौँ ।”
“त्यसपछि विदेश जाने लहर देख्यौँ ।”
“अब गाउँ रित्तिँदै गएको देखिरहेका छौँ ।”
उनले वरिपरि हेरे ।
“गाउँमा पक्की घर छन् ।”
“तर घरभित्र मानिस छैनन् ।”
“खेत छन् ।”
“तर खेत जोत्ने हात छैन ।”
“विद्यालय छ ।”
“तर विद्यार्थी घटेका छन् ।”
“स्वास्थ्यचौकी छ ।”
“तर चिकित्सक टिक्दैनन् ।”
“सडक बने पनि कतै बिग्रेका छन् ।”
“उद्योगका भवन छन् ।”
“तर मेसिन मौन छन् ।”
“पैसा छ ।”
“तर उत्पादन कम छ ।”
वृद्धको स्वर भारी
भयो ।
“समृद्धि भनेको बैंक खाताको अंक मात्र होइन । समृद्धि भनेको काम
गर्ने हात, उत्पादन
गर्ने मन, र
आशा बोकेको गाउँ पनि हो ।”
मलाई ती किसानका ४०
औँ वर्षका अनुभवका निष्कर्ष कृषि क्याम्पसमा स्नातक गरेका बिद्यार्थीका उपजभन्दा
अत्यन्तै परिपक्व अनि उत्कृष्ट रहेछ भन्ने लाग्यो ।
रात पर्न थालेको थियो
। त्यसै बेला विदेशबाट फर्किएका ती दाइले
आफ्नो राहदानी रामबहादुरको हातमा राखे ।
“यसमा मेरो जीवनका बीस वर्ष छन् ।”
“पछुतो लाग्छ ?”
“विदेश गएकोमा होइन ।”
“केमा त ?”
“यति वर्षको अनुभव र बचत आफ्नै देशमा उपयोग गर्न सजिलो वातावरण
बनाउन नसकेकोमा ।”
रामबहादुर उठ्यो । ऊ चौताराको बीचमा उभियो ।
“हामीले आजसम्म धेरै विभाजन देख्यौँ ।
किसान र उपभोक्ता ।
गाउँ र सहर ।
सरकारी र निजी ।
युवा र ज्येष्ठ ।
प्रदेश र प्रदेश ।
विद्यालय र विद्यालय ।
धर्म र धर्म ।
समुदाय र समुदाय ।
तर आज मैले अर्को
ठूलो विभाजन देखेँ ।
उत्पादन गर्ने र
उत्पादन छोड्न बाध्य पारिने मानिसबीचको विभाजन ।”
उसले सबैतिर हेर्दै
भन्यो,
“यदि विदेश गएको नेपालीको सीप,
अनुभव र बचत गाउँको माटोसँग जोड्न
सक्यौँ भने रेमिट्यान्स केवल उपभोगको पैसा रहने छैन,
विकासको बीउ बन्नेछ ।”
म धेरैबेरसम्म मौन
रहेँ । हामीले देखेका प्रत्येक समस्या फरक–फरक
अनुहार थिए ।
तर तिनको छायाँ एउटै
थियो—
जनतालाई आपसमा
अल्झाइराख्ने, उत्पादनभन्दा
उपभोगमा रमाउने, प्रश्नभन्दा
आरोपमा व्यस्त बनाउने, र
साझा हितभन्दा साना विभाजनलाई ठूलो बनाउने सोच ।
त्यसैबीच केही सीमित
मानिसहरू शक्तिशाली हुँदै गइरहेका थिए ।
तब मानिसको सोच बदलिन
थालेको थियो । रामबहादुरले पहिलो पटक समस्याहरूलाई
अलग-अलग घटनाका रूपमा होइन, एउटै
जालका धागाहरूका रूपमा देख्न थालेको थियो । र जाल देखिसकेपछि त्यसबाट निस्कने बाटो पनि खोज्न सकिन्थ्यो ।
त्यो रात मैले
डायरीको अन्तिम पानामा एउटा लामो वाक्य लेखेँ—
“राष्ट्रलाई कमजोर बनाउने सबैभन्दा सजिलो उपाय भनेको जनतालाई
उत्पादनभन्दा उपभोगमा, सहकार्यभन्दा विभाजनमा,
समाधानभन्दा आरोपमा, र आत्मनिर्भरताभन्दा
केवल परनिर्भरतामा अल्झाइराख्नु हो । जब किसान, मजदुर, शिक्षक, चिकित्सक, कर्मचारी, उद्यमी, विद्यार्थी, विदेशबाट फर्किएका
नेपाली र आम नागरिकले आफ्ना समस्या छुट्टाछुट्टै होइन, एउटै संरचनाका
विभिन्न रूप हुन् भन्ने बुझ्न थाल्छन्,
त्यही क्षण ‘फुटाऊ र राज गर’ को
सबैभन्दा ठूलो हतियार कमजोर हुन थाल्छ । यसरी नै आउने हो, जागरणको मोडमा ।”
१७: ढिलो चेतना
आकाशमा वर्षाको
अन्तिम बादलहरू बिस्तारै हट्दै थिए । पहाडका
टाकुरामा घाम झुल्किन थालेको थियो । म
चौतारामा एक्लै बसेर डायरीका पुराना पानाहरू पल्टाइरहेको थिएँ । पहिलो पानामा गार्मेन्ट उद्योगको पतन थियो, दोस्रोमा किसानको
पसिना, तेस्रोमा विदेशिने युवाको विवशता । त्यसपछि जीर्ण राजमार्ग,
कर छली,
जातीय विभाजन, पुस्ताको द्वन्द्व, सरकारी र निजी
क्षेत्रबीचको अविश्वास, प्रदेश–प्रदेशको
दूरी, शिक्षा, स्वास्थ्य, सञ्चार, धर्म, उद्यमशीलता र
रेमिट्यान्सका कथाहरू...
हरेक पाना एउटा घाउ
थियो । तर आज पहिलो पटक ती घाउहरू एउटै शरीरका
हुन् भन्ने अनुभूति भयो । त्यत्तिकैमा
रामबहादुर आइपुग्यो । उसले
मेरो हातबाट डायरी लिएर सबै पाना एक–एक गरी हेर्यो ।
अन्तिम पाना बन्द
गर्दै ऊ मुस्कुरायो ।
“दाइ, हामी
धेरै ढिलो पो रहेछौँ ।”
“किन ?”
“हामी प्रत्येक समस्यासँग छुट्टाछुट्टै लडिरहेका थियौँ ।”
“अनि ?”
“शत्रु भने एउटै थियो ।”
म केही बोलिनँ । ऊ आफैँ बोलिरह्यो ।
“हामीले किसानको समस्या छुट्टै देख्यौँ ।”
“विदेश गएको युवाको छुट्टै ।”
“शिक्षाको छुट्टै ।”
“स्वास्थ्यको छुट्टै ।”
“करको छुट्टै ।”
“धर्मको छुट्टै ।”
“प्रदेशको छुट्टै ।”
“तर अहिले बुझ्दैछु,
यी त एउटै रूखका हाँगाहरू रहेछन् ।”
“जरा ?”
रामबहादुरले गहिरो
सास फेर्यो ।
“जनतालाई एक हुन नदिने सोच ।”
त्यस दिन हामी गाउँको
पुरानो बरपीपलमुनि सार्वजनिक भेटघाट राख्यौँ । गाउँका किसान आए । विद्यालयका
शिक्षक आए । विदेशबाट फर्किएका युवाहरू आए । साना उद्योग चलाउनेहरू आए । दैनिक ज्यालादारी मजदुर आए । महिलाहरू आए । विद्यार्थीहरू
आए । केही सरकारी कर्मचारी पनि आए । निजी कम्पनीमा काम गर्नेहरू पनि आए । पहिले सबै आफ्नै समस्याको कुरा गर्न थाले ।
एक किसान उठे ।
“हाम्रो सबैभन्दा ठूलो समस्या बजार हो ।”
एक शिक्षकले भने,
“हाम्रो समस्या शिक्षाको गुणस्तर हो ।”
विदेशबाट फर्किएका
युवाले भने,
“हाम्रो समस्या लगानीको वातावरण हो ।”
एक नर्सले भनिन्,
“हाम्रो समस्या स्वास्थ्य सेवामाथिको अविश्वास हो ।”
सरकारी कर्मचारीले
भने,
“हामीमाथि सबै दोष थुपारिन्छ ।”
निजी क्षेत्रका
प्रतिनिधिले भने,
“हामीलाई पनि शङ्काकै दृष्टिले हेरिन्छ ।”
सबै आ–आफ्नो पीडा
सुनाइरहेका थिए । रामबहादुर चुपचाप सुनिरहेको थियो । अन्त्यमा ऊ उठ्यो । उसले माटोमा एउटा ठूलो गोलो कोर्यो । त्यस गोलाभित्र धेरै साना रेखाहरू तान्यो ।
“यो के हो ?” कसैले सोध्यो ।
रामबहादुरले उत्तर
दियो,
“हामीले देखेका सबै समस्या ।”
त्यसपछि उसले ती सबै
रेखालाई एउटै बिन्दुमा जोडिदियो ।
“यो ?”
“यो ती सबैको साझा जरा ।”
हलमा मौनता छायो ।
त्यसै बेला गाउँका एक
वृद्ध लोहार उठे ।
“म जीवनभर फलाम जोड्ने काम गर्थेँ,” उनले भने ।
“यदि फलामको एउटा भाग मात्र फुटेको देखेर त्यही टुक्रा मात्रै
जोडिरह्यो भने के औजार बलियो हुन्छ ?”
“हुँदैन ।”
“किन ?”
“किनकि समस्या भित्र पनि हुन सक्छ ।”
वृद्ध मुस्कुराए ।
“ठीक त्यस्तै, समाजको एउटा समस्या मात्रै टालेर हुँदैन । त्यसको कारण पनि
बुझ्नुपर्छ ।”
त्यसपछि हामी सहरतिर
लाग्यौँ । सहरमा मेरा केही पुराना साथीहरू थिए ।
कोही पत्रकार थिए, कोही
शिक्षक, कोही इन्जिनियर, कोही उद्योगी, कोही वकिल, कोही विद्यार्थी । हामीले उनीहरूलाई पनि यही प्रश्न सोध्यौँ ।
“तपाईंलाई देशको सबैभन्दा ठूलो समस्या के लाग्छ ?”
सबैले फरक–फरक उत्तर
दिए ।
कसैले भ्रष्टाचार भने,
कसैले बेरोजगारी, कसैले शिक्षा, कसैले स्वास्थ्य, कसैले कृषि ।
रामबहादुर मुस्कुरायो
।
“हामी पनि पहिले यस्तै सोच्थ्यौँ ।”
“अनि अहिले ?”
“अहिले हामी समस्याको नामभन्दा त्यसको सम्बन्ध खोजिरहेका छौँ ।”
त्यस साँझ पहिलो पटक
गाउँ र सहरका मानिस एउटै हलमा भेला भए । पहिले उनीहरू एकअर्कालाई शङ्काले हेर्थे । त्यसबेला भने उनीहरू एकअर्काको कुरा ध्यान दिएर सुनिरहेका थिए ।
एक किसानले
उद्योगीलाई भने,
“यदि तपाईंले हाम्रो उत्पादनलाई उचित बजार दिनुभयो भने हामी
राम्रो उत्पादन गर्छौँ ।”
उद्योगीले उत्तर दिए,
“यदि गुणस्तरीय उत्पादन भयो भने हामी उद्योग पनि विस्तार गर्छौँ
।”
एक शिक्षकले भने,
“यदि गाउँमा रोजगारी बढ्यो भने विद्यार्थीको भविष्य पनि गाउँमै
देखिन्छ ।”
विदेशबाट फर्किएका
युवाले थपे,
“यदि नीति स्थिर भयो भने हामी लगानी गर्न तयार छौँ ।”
सरकारी कर्मचारीले
भने,
“यदि प्रणाली पारदर्शी बन्यो भने हाम्रो काम पनि सजिलो हुन्छ ।”
निजी क्षेत्रका
प्रतिनिधिले भने,
“यदि नियम सबैका लागि समान भए भने हामी पनि इमानदारीपूर्वक
प्रतिस्पर्धा गर्न सक्छौँ ।”
पहिलो पटक समस्या
होइन, समाधानका
वाक्यहरू सुनिन थाले ।
त्यही बेला
रामबहादुरले सबैलाई एउटा प्रश्न सोध्यो ।
“यहाँ को–को किसान हुनुहुन्छ ?”
धेरै हात उठे ।
“को–को विद्यार्थी ?”
धेरै हात फेरि उठे ।
“को–को मजदुर ?”
अर्को समूह उठ्यो ।
“को–को व्यापारी ?”
केही हात उठे ।
त्यसपछि उसले अन्तिम
प्रश्न सोध्यो ।
“यहाँ को–को नेपाली हुनुहुन्छ ?”
पूरै हलभरि सबै हात
एकैचोटि उठे ।
रामबहादुरको अनुहार
उज्यालियो ।
“हेर्नुभयो ?”
“हामीलाई पहिले साना परिचयले छुट्याइयो ।”
“तर सबैभन्दा ठूलो परिचय त हामीले अन्तिममा सम्झियौँ ।”
कार्यक्रम सकिएपछि म
र रामबहादुर बरपीपलमुनि फेरि बस्यौँ ।
मैले उसलाई सोधेँ,
“अब के गर्ने ?”
उसले दृढ स्वरमा
उत्तर दियो,
“अब गुनासो मात्र होइन ।”
“अनि ?”
“अब जोड्ने काम ।”
“गाउँलाई सहरसँग ।”
“किसानलाई उपभोक्तासँग ।”
“युवालाई ज्येष्ठसँग ।”
“सरकारीलाई निजीसँग ।”
“विदेशबाट फर्किएकालाई गाउँसँग ।”
“र सबैभन्दा ठूलो कुरा...”
“के ?”
“डरलाई आशासँग ।”
रात परिसकेको थियो । बरपीपलका पातहरू हावासँगै हल्लिरहेका थिए । मलाई लाग्यो, अब कथा बदलिँदै थियो । पहिले पात्रहरू समस्याको खोजीमा थिए । अब उनीहरू समाधानको यात्रामा निस्किसकेका थिए ।
त्यो रात मैले
डायरीमा अर्को पाना थपेँ—
“जनतालाई पराजित गर्ने सबैभन्दा सजिलो उपाय उनीहरूलाई एक–एक
गरेर कमजोर बनाउनु हो । तर जब किसान,
मजदुर, विद्यार्थी, शिक्षक, कर्मचारी, उद्यमी, स्वास्थ्यकर्मी, पत्रकार, विदेशबाट फर्किएका
नेपाली र आम नागरिकले आफ्ना पीडाको साझा जरा चिन्छन्, तब विभाजनको शक्ति
कमजोर हुन थाल्छ । चेतना ढिलो आउन सक्छ,
तर जब आउँछ, त्यसले वर्षौँदेखि
फैलाइएको भ्रमलाई चुनौती दिन थाल्छ । यही चेतनाबाट जागरण जन्मिन्छ, र जागरणबाट परिवर्तन ।”
१८: सानो एकताको सुरुवात
यी सबै भेलापछि गाउँ
र सहर दुवैतिर एउटा नयाँ हलचल सुरु भएको थियो । त्यो कुनै राजनीतिक सभा थिएन । त्यो कुनै ठूलो आन्दोलन पनि थिएन । त्यहाँ मञ्च थिएन । ठूला ब्यानर थिएनन् । लाउडस्पिकर थिएन । त्यहाँ
केवल केही मानिसहरू थिए, जसले
धेरै वर्ष गुनासो गरिसकेपछि पहिलो पटक आफैँबाट परिवर्तन सुरु गर्ने निर्णय गरेका
थिए ।
एक बिहान बरपीपलको
चौतारामा फेरि भेला भयो । यसपटक
उपस्थित मानिसहरूको अनुहार फरक थियो । किसान
थिए । दैनिक ज्यालादारी मजदुर थिए । साना पसल चलाउने व्यवसायी थिए । विदेशबाट फर्किएका केही युवा थिए । सरकारी कार्यालयका केही इमानदार कर्मचारी थिए । निजी क्षेत्रका कर्मचारी पनि थिए । शिक्षक, नर्स, विद्यार्थी र
गृहिणीहरू पनि थिए ।
रामबहादुरले सबैलाई
हेर्दै भन्यो,
“आज हामी कसैविरुद्ध होइन,
आफ्नै जिम्मेवारीका पक्षमा उभिन आएका
हौँ ।”
सबैभन्दा पहिले एक
किसान उठे ।
“हामीले एउटा निर्णय गरेका छौँ ।”
“के ?”
“अब हामी उत्पादन बेच्न सकेसम्म सहकारी र प्रत्यक्ष बजारको
माध्यम प्रयोग गर्नेछौँ । बिचौलियामाथि मात्र निर्भर रहने छैनौँ ।”
अर्का किसानले थपे,
“गुणस्तरमा पनि सम्झौता गर्ने छैनौँ । राम्रो उत्पादन गरेर
उपभोक्ताको विश्वास जित्नेछौँ ।”
त्यसपछि सहरबाट आएका
एक उपभोक्ताले हात उठाए ।
“हामी पनि सस्तो भनेर मात्र होइन,
गुणस्तरीय स्थानीय उत्पादनलाई
प्राथमिकता दिनेछौँ ।”
पहिलो पटक किसान र
उपभोक्ता एउटै पक्षमा उभिएका थिए ।
त्यसपछि एक साना
व्यवसायी उठे ।
“हामीले अर्को निर्णय गरेका छौँ ।”
“कस्तो ?”
“नक्कली बिल, गलत तौल र उपभोक्तालाई झुक्याउने अभ्यास त्याग्नेछौँ ।”
एक ग्राहकले मुस्कुराउँदै
भने,
“हामी पनि उचित मूल्य तिर्न तयार छौँ, यदि गुणस्तर र
इमानदारी पाइयो भने ।”
त्यसै बेला सरकारी
कार्यालयका एक कर्मचारी उठे । उनी
धेरै वर्षदेखि सेवामा थिए ।
“हामी सबै पूर्ण छैनौँ,”
उनले भने ।
“तर म र मेरा केही सहकर्मी एउटा प्रतिज्ञा गर्छौँ ।”
हल शान्त भयो ।
“हामी आफ्नो जिम्मेवारी कानुनअनुसार पूरा गर्नेछौँ । सेवा लिन
आउनेलाई अनावश्यक दुःख दिने छैनौँ । कुनै अनुचित प्रभाव स्वीकार गर्ने छैनौँ ।”
त्यो सुनेर निजी
क्षेत्रका एक लेखापाल उठे ।
“हामी पनि एउटा प्रतिज्ञा गर्छौँ ।”
“के ?”
“कानुनअनुसार तिर्नुपर्ने कर इमानदारीपूर्वक तिर्ने प्रयास
गर्नेछौँ । कर छल्नु सफलताको चिन्ह होइन भन्ने सन्देश आफ्नै व्यवसायबाट सुरु
गर्नेछौँ ।”
हलमा पहिलो पटक ताली
बज्यो ।
रामबहादुरले
मुस्कुराउँदै भन्यो,
“हामीले सधैँ अरूलाई दोष दियौँ । सुशासन भनेको त यो पो रहेछ ।”
“आज ?”
“आज हामी आफैँबाट सुरु गरौँ ।”
त्यसपछि बेरोजगार
युवाहरूको समूह उठ्यो।
एकजनाले भन्यो,
“हामी सबैले सरकारी जागिर पाउँछौँ भन्ने छैन ।”
अर्काले थप्यो,
“तर त्यसको अर्थ हामी निष्क्रिय बस्ने पनि होइनौँ ।”
तेस्रोले भन्यो,
“हामी गाउँका उत्पादनलाई बजारसम्म पुर्याउने डिजिटल समूह
बनाउनेछौँ ।”
चौथोले भन्यो,
“हामी स्थानीय उद्योगलाई प्रविधिमा सहयोग गर्नेछौँ ।”
विदेशबाट फर्किएका एक
युवाले भने,
“हामीले विदेशमा सिकेका सीप गाउँमै बाँड्नेछौँ ।”
केही सातापछि
परिवर्तनका साना संकेत देखिन थाले । गाउँमा
हप्ताको एक दिन स्थानीय
उत्पादन बजार सुरु
भयो । किसानले आफ्नै तरकारी, फलफूल, मह, अचार, कोदो, फापर र हस्तकला सिधै
बेच्न थाले । उपभोक्ताले किसानसँग प्रत्यक्ष कुरा
गर्न थाले ।
“यो विषादीबिनाको हो ?”
“हो ।”
“कति दिनअघि टिप्नुभयो ?”
“आज बिहान ।”
विश्वास बिस्तारै
फर्किन थालेको थियो ।
उता सहरमा केही पसलेहरूले
पसलको ढोकामा एउटा सानो सूचना टाँसे ।
“उचित तौल,
उचित मूल्य, स्थानीय उत्पादनलाई
प्राथमिकता ।”
त्यो केवल सूचना थिएन
।
आफ्नै व्यवहारबाट
सुरु गरिएको वाचा थियो ।
सरकारी कार्यालयमा
पनि सानो परिवर्तन देखियो । सूचना
बोर्ड स्पष्ट बनाइयो । आवश्यक
कागजातको सूची सार्वजनिक गरियो । लाइनमा
बस्ने वृद्धलाई कुर्सी थपियो । सेवा
प्रक्रियालाई सहज बनाउन सुझाव पेटिका राखियो ।
एक कर्मचारीले
मुस्कुराउँदै भने,
“ठूलो सुधार एकैदिन हुँदैन । तर एउटा सही कदम पनि सुधारको
सुरुवात हुन सक्छ ।”
त्यसैबीच रामबहादुरले
गाउँ–सहर अभियान सुरु गर्यो ।
उसको नारा सरल थियो—
“आफ्नो उत्पादन,
आफ्नो जिम्मेवारी, आफ्नो भविष्य ।”
उनीहरू विद्यालयमा गए
। क्याम्पसमा गए । बजारमा गए । कारखानामा
गए । कसैलाई गाली गर्न होइन । कसैलाई शत्रु भन्न होइन, एकअर्काको भूमिका सम्झाउन ।
तर सबैलाई यो
परिवर्तन मन परेको थिएन । बिचौलियाको
कमाइ घट्न थालेको थियो । बसीबसी खानेको दिन गइसकेको थियो । झूटा अफवाह फैलाएर मानिसलाई भिडाउनेहरू चिन्तित हुन थाले । कानुनभन्दा मिलेमतोमा विश्वास गर्ने केही व्यक्तिहरू असहज हुन
थाले ।
एकजना दलालले
रिसाउँदै भन्यो,
“यी केही दिनमै समाज बदल्छन् रे !”
अर्काले हाँस्दै
उत्तर दियो,
“छोड, केही
दिनमा थाकिहाल्छन् ।”
उनीहरूलाई अझै
विश्वास थियो—
जनता फेरि फुट्नेछन् । फेरि एकअर्कालाई दोष दिनेछन् । फेरि पुरानै चक्र सुरु हुनेछ । तर उनीहरूले एउटा कुरा बुझेका थिएनन् । यसपालि परिवर्तन भाषणबाट होइन,
व्यवहारबाट सुरु भइसकेको थियो ।
एक साँझ रामबहादुर र
म चौतारामा बसिरहेका थियौँ ।
मैले सोधेँ,
“हामीले त धेरै सानो काम मात्रै गरेका छौँ ।”
रामबहादुर मुस्कुरायो
।
“दाइ, ठूलो
रुख पनि सानो बीउबाटै उम्रिन्छ ।”
“तर यो बीउ उम्रेला त ?”
उसले गाउँतिर हेर्दै
भन्यो,
“जब किसानले इमानदारीपूर्वक उत्पादन गर्छ, उपभोक्ताले विश्वासका
साथ किन्छ, व्यवसायीले
सही व्यापार गर्छ, कर्मचारीले
कानुनअनुसार सेवा दिन्छ, नागरिकले
आफ्नो दायित्व निभाउँछ र युवाले सिर्जना गर्न थाल्छ—त्यो बीउलाई कसैले सजिलै
सुकाउन सक्दैन ।”
त्यो रात मैले
डायरीमा अर्को पाना थपेँ ।
“परिवर्तन सधैँ क्रान्तिको गर्जनबाट सुरु हुँदैन । कहिलेकाहीँ
त्यो एउटा इमानदार करदाताबाट सुरु हुन्छ । एउटा किसानले बिचौलियाको विकल्प खोज्दा
सुरु हुन्छ । एउटा ग्राहकले स्थानीय उत्पादन रोज्दा सुरु हुन्छ । एउटा कर्मचारीले
घुस अस्वीकार गर्दा सुरु हुन्छ । एउटा युवाले रोजगारी खोज्नुका साथै रोजगारी
सिर्जना गर्ने साहस गर्दा सुरु हुन्छ । जब यस्ता साना निर्णयहरू एकअर्कासँग
जोडिन्छन्, तब
विभाजनको राजनीति कमजोर र नागरिकताको शक्ति बलियो हुँदै जान्छ ।”
१९:
यात्राले देखाएको वास्तविक नेपाल
बरपीपलको
चौतारामा सुरु भएको सानो अभियानले गाउँ र सहरका मानिसहरूलाई एकअर्काको पीडा बुझ्न
सिकाएको थियो ।
तर
रामबहादुरले एक दिन अचानक भन्यो,
“दाइ,
हामीले धेरै कुरा सुन्यौँ । अब सुनेर
मात्र पुग्दैन ।”
“त्यसो
भए ?”
“देशलाई
किताबबाट होइन, बाटोबाट
पढ्नुपर्छ ।”
केही
दिनपछि हामी किसान, शिक्षक,
साना व्यवसायी, दुई जना इमानदार कर्मचारी, केही विद्यार्थी र विदेशबाट फर्किएका
युवासहित एउटा बसमा चढ्यौँ ।
गन्तव्य
थियो—
तातोपानी
।
यो
कुनै मनोरञ्जनको यात्रा थिएन ।
यो
नेपाललाई आफ्नै आँखाले पढ्ने यात्रा थियो ।
बिहानै
काठमाडौँबाट बस छुट्यो । बस
त्रिपुरेश्वर हुँदै सूर्यविनायक, धुलिखेल,
पाँचखाल, बाह्रबिसे पार गर्दै अगाडि बढ्दै थियो । धुलिखेलको उकालो चढ्दा पूर्वतिर देखिएका
हिमशृङ्खलाले सबैलाई केहीबेर मौन बनाए ।
“यति
सुन्दर देश...”
एक
विद्यार्थी बिस्तारै बोल्यो ।
“हो,”
मैले उत्तर दिएँ, “प्रकृतिले हामीलाई धेरै दिएको छ । अब
हामीले त्यसको सदुपयोग गर्न सिक्न बाँकी छ ।”
बसभित्र
उत्साह थियो । तर त्यो उत्साह
धेरैबेर टिकेन ।
बाह्रबिसे
पार गरेपछि सडकको वास्तविक अनुहार देखिन थाल्यो । कहीं पिच उध्रिएको थियो । कहीं सडक साँघुरो भएर पहाडसँग टाँसिएको
थियो । कहीं पहिरोको घाउ अझै
ताजै थियो । बसको प्रत्येक धक्का
यात्रुहरूको शरीरमात्र होइन, मनमा
पनि बज्रिन्थ्यो ।
चालक
अत्यन्त सावधानीपूर्वक स्टेरिङ घुमाइरहेका थिए । कहिले ब्रेकको तीखो आवाज आउँथ्यो । कहिले बस पहाडतिर टाँसिन्थ्यो । कहिले सडकको बाहिरी किनार हेर्दा सयौँ मिटर
तल खोँच देखिन्थ्यो ।
बसभित्र
केही क्षण सन्नाटा छायो ।
रामबहादुरले
चालकतिर हेरेर भन्यो,
“गुरुजी,
यस्तो बाटोमा वर्षौँदेखि गाडी चलाउनु
सजिलो छैन होला ।”
चालक
मुस्कुराए ।
“हामीलाई
बाटोले भन्दा यात्रु सकुशल पुर्याउने जिम्मेवारीले धेरै थकाउँछ ।”
सबैले
ताली बजाए ।
तातोपानी
पुग्दा साँझ पर्न लागेको थियो । तातो
पानीको प्राकृतिक कुण्डबाट निस्किरहेको बाफले वातावरण नै फरक बनाएको थियो । देशका विभिन्न ठाउँबाट आएका मानिसहरू
त्यहाँ थिए । कसैले स्वास्थ्यको
आशामा स्नान गरिरहेका थिए । कसैले
केवल प्रकृतिको आनन्द लिइरहेका थिए ।
स्थानीयले
सबैलाई एउटै सुझाव दिए—
“धेरैबेर
नबस्नुहोस् ।”
“भोकै
ननुहाउनुहोस् ।”
“स्वास्थ्य
अवस्था अनुसार सावधानी अपनाउनुहोस् ।”
रामबहादुरले
मुस्कुराउँदै भन्यो,
“हाम्रो
गाउँको आत्मीयता अझै बाँचेको रहेछ ।”
भोलिपल्ट
हामी कोदारीतिर लाग्यौँ । सीमानजिक
पुग्दा व्यापारको सानो चहलपहल देखिन्थ्यो ।
एक
स्थानीय व्यापारीसँग गफ गर्दै गर्दा उनले भने,
“अहिले
सीमित रूपमा व्यापार चलिरहेको छ । यसले यहाँका धेरै परिवारलाई केही राहत दिएको छ ।”
“तर
सबैभन्दा ठूलो समस्या के हो ?” मैले
सोधेँ ।
उनले
कुनै ढिलाइ नगरी उत्तर दिए,
“बाटो
।”
“किन
?”
“सडक
राम्रो भए सामान सस्तो पर्छ । किसानले उत्पादन बजार पुर्याउन सक्छ । पर्यटक
बढ्छन् । उद्योग आउँछन् , फष्टाउँछन् पनि। अहिले त धेरै अवसर बाटोमै हराउँछन् ।”
फर्कने
बेला हामीले बुलेरो जिप समात्यौँ । जिपका
झ्यालबाट तल भोटेकोशी गर्जिरहेको थियो । माथि पहाड उभिएको थियो, बीचमा साँघुरो
सडक । हरेक मोडमा चालकको
अनुभवको परीक्षा भइरहेको थियो । एक
स्थानमा जिप रोकियो । अगाडि
सडकको एउटा भाग भासिएको थियो । सबै
यात्रु ओर्लियौँ ।
रामबहादुर
लामो समयसम्म त्यही सडक हेरिरह्यो ।
“दाइ,”
उसले बिस्तारै भन्यो, “देशको विकासबारे धेरै भाषण सुनेँ । तर
यो सडकले एउटा शब्द पनि बोलेन । यसले आफ्नो अवस्था आफैँ देखाइदियो ।”
फर्केर
बाह्रबिसेबाट लोकल बस चढ्यौँ । धक्का,
धुलो, जाम र घुम्तीले पाँच घण्टापछि बल्ल
काठमाडौँ देखियो । बसबाट
ओर्लिएपछि कसैले केही बोलेन । सबैजना
सोचमा थिए ।
अन्ततः
रामबहादुरले मौनता तोड्यो ।
“अब
मैले एउटा कुरा स्पष्ट बुझें ।”
“के
?”
“किसानको
आलु बजारमा किन पुग्दैन भन्ने उत्तर यही सडकमा रहेछ ।”
“पर्यटक
किन कम आउँछन् भन्ने उत्तर पनि यही सडकमा रहेछ ।”
“युवा
किन गाउँ छोड्छ भन्ने उत्तर पनि यही सडकमा रहेछ ।”
“ढुवानी
किन महँगो हुन्छ भन्ने उत्तर पनि यही सडकमा रहेछ ।”
“देशको
विकास किन सुस्त छ भन्ने उत्तर पनि यही सडकमा रहेछ ।”
त्यो
रात बरपीपलमुनि सबै फेरि भेला भयौँ ।
मैले
सोधेँ,
“हामीले
यस यात्राबाट के सिक्यौँ ?”
एक
किसानले भने,
“बाटो
भनेको केवल गाडी गुड्ने ठाउँ रहेनछ ।”
शिक्षकले
थपे,
“यो
शिक्षासम्म पुग्ने बाटो पनि हो ।”
नर्सले
भनिन्,
“यो
बिरामी अस्पताल पुग्ने बाटो पनि हो ।”
व्यापारीले
भने,
“यो
व्यापारको बाटो पनि हो ।”
विद्यार्थीले
भन्यो,
“यो
अवसरको बाटो पनि हो ।”
विदेशबाट
फर्किएका युवाले अन्तिम वाक्य थपे,
“र
यो देशको भविष्यको बाटो पनि हो ।”
रामबहादुर
उठ्यो । उसको आँखामा अब
निराशा थिएन । दृढता थियो ।
“हामीले
धेरै वर्ष दोष एकअर्कालाई दियौँ ।”
“अब
समस्या कहाँ छ भन्ने आफ्नै आँखाले देख्यौँ ।”
“अब
कसैले गाउँलाई सहरसँग, किसानलाई
उपभोक्तासँग, विकासलाई राजनीतिसँग
भिडाएर भ्रम फैलाउन खोजे पनि हामी सजिलै विश्वास गर्ने छैनौँ ।”
“किनकि
अब हामीले वास्तविक नेपाल देखिसकेका छौँ ।”
त्यो
रात मैले डायरीमा अर्को वाक्य थपेँ—
“कहिलेकाहीँ एउटा जीर्ण सडकले सयौँ
भाषणभन्दा ठूलो सत्य बोल्छ । राष्ट्रको विकास घोषणामा होइन, जनताको दैनिक यात्रामा देखिन्छ । जहाँ
सडक कठिन हुन्छ, त्यहाँ
किसानको मूल्य, बिरामीको
जीवन, विद्यार्थीको
भविष्य, उद्योगको
सम्भावना र राष्ट्रको गति सबै कठिन बन्छ । त्यसैले विकासको पहिलो पाइला जनताको
वास्तविक यात्रालाई सहज बनाउनु हो ।”
२०: स्यालहरूको आक्रमण
सानो परिवर्तनले गाउँ
र सहरमा एउटा नयाँ विश्वास जन्माउन थालेको थियो
। किसानले आफ्ना उत्पादन सिधै बजारमा पुर्याउन
थालेका थिए । युवाहरूले स्थानीय उद्योगलाई प्रविधिमा
सहयोग गर्न थालेका थिए । केही
व्यवसायीले सही तौल र पारदर्शी कारोबारलाई आफ्नो प्रतिष्ठा बनाउन थालेका थिए । इमानदार कर्मचारीहरूले सेवा प्रक्रियालाई सहज बनाउन थालेका थिए
। सबै समस्या समाप्त भएका थिएनन् ।
तर एउटा कुरा
परिवर्तन भएको थियो—
मानिसहरू एकअर्कालाई
दोष दिनुभन्दा एकअर्कासँग कुरा गर्न थालेका थिए । त्यही परिवर्तन कसैलाई असहज लाग्न थालेको थियो ।
एक साँझ रामबहादुर
हतारिँदै मेरो घर आयो । उसको
हातमा मोबाइल थियो ।
“दाइ, हेर्नुहोस्
।”
सामाजिक सञ्जालमा
एउटा सन्देश तीव्र गतिमा फैलिरहेको थियो ।
"यी सबै अभियान राजनीति लुकाएर गरिएको खेल हो ।"
अर्कोमा लेखिएको
थियो—
"विदेशी पैसाले चलाइएको अभियान !"
तेस्रोमा—
"यी मानिसहरूले देशमा अशान्ति फैलाउन खोजिरहेका छन् ।"
रामबहादुर मुस्कुरायो
।
“हामीले त किसान र उपभोक्तालाई जोड्ने कुरा मात्र गरेका थियौँ ।”
मैले उत्तर दिएँ,
“जब संवाद बलियो हुन थाल्छ,
अफवाह पनि छिटो फैलिन सक्छ ।”
केही दिनमै नयाँ–नयाँ
हल्लाहरू फैलिन थाले ।
“रामबहादुर फलानो दलको मान्छे हो ।”
“त्यो सहरको मान्छे त विदेशी संस्थासँग जोडिएको रहेछ ।”
“स्थानीय उत्पादन भन्ने नाममा आफ्नो व्यापार गर्न खोजेको हो ।”
“कर तिर्ने कुरा गरेर सरकारको एजेन्ट बनेको छ ।”
“सरकारी कर्मचारीसँग मिलेको छ ।”
“निजी क्षेत्रसँग मिलेको छ ।”
विरोधाभास यति धेरै
थियो कि एउटै मानिसलाई एकैपटक फरक–फरक आरोप लगाइँदै थियो ।
रामबहादुरले हाँस्दै
भन्यो,
“दाइ, एउटाले
मलाई सरकारी पक्षको भन्छ ।”
“अर्काले ?”
“अर्काले सरकारविरोधी भन्छ ।”
“एउटाले निजी क्षेत्रको मान्छे भन्छ ।”
“अर्काले व्यापारीविरोधी ।”
म पनि हल्का
मुस्कुराएँ ।
“सायद यसले एउटा कुरा देखाउँछ ।”
“के ?”
“मानिसले तर्कभन्दा लेबल छिटो टाँस्न खोज्छ ।”
त्यसै बेला केही
बिचौलियाहरू पनि सक्रिय भए । गाउँमा
फेरि अफवाह फैलाइयो ।
“सहरका मान्छेले गाउँ कब्जा गर्न खोज्दैछन् ।”
सहरमा अर्को कुरा
फैलाइयो ।
“गाउँले उत्पादन गर्छौँ भन्दै मूल्य बढाउने योजना बनाएका छन् ।”
किसान र उपभोक्ताबीच
फेरि अविश्वास फैलाउने प्रयास भयो ।
विद्यालयमा अर्को
हल्ला फैलियो ।
“यो अभियानले निजी विद्यालय बन्द गराउन खोज्छ ।”
अर्को समूहमा भनियो,
“यी त सरकारी विद्यालयको मात्र पक्ष लिन्छन् ।”
स्वास्थ्य क्षेत्रमा
पनि यस्तै कुरा उठाइयो ।
“यी अस्पतालविरोधी हुन् ।”
अर्कोले भन्यो,
“यी औषधि व्यवसायविरोधी हुन् ।”
जहाँ संवाद सुरु भएको
थियो, त्यहीँ
शङ्काको बीउ छर्न खोजियो ।
एक दिन बजारमा ठूलो
बहस भयो ।
एकजना प्रभावशाली
व्यक्तिले ठूलो स्वरमा भने,
“यी सबै अराजक तत्व हुन् ।”
रामबहादुर शान्त भएर
उभियो ।
“अराजक भनेको के हो ?”
“प्रणालीविरुद्ध बोल्ने ।”
रामबहादुरले उत्तर
दियो,
“यदि इमानदारीपूर्वक कर तिरौँ भन्नु अराजकता हो भने, बेइमानी के हो ?”
हल केही क्षण मौन भयो
।
अर्काले भन्यो,
“स्थानीय उत्पादन किन्न आग्रह गर्नु पनि राजनीति हो ।”
रामबहादुरले मुस्कुराउँदै
सोध्यो,
“आफ्नो गाउँका किसानको उत्पादन किन्ने निर्णय कसरी राजनीति
हुन्छ ?”
कसैले स्पष्ट उत्तर
दिन सकेन ।
त्यसै रात केही
अज्ञात व्यक्तिले गाउँका सूचना बोर्ड च्यातिदिए । स्थानीय बजारको प्रचार गर्ने पोस्टर हटाइयो । अभियान चलाउने युवालाई सामाजिक सञ्जालमा गाली गर्न थालियो । कसैको चरित्रमाथि प्रश्न उठाइयो । कसैको परिवारसम्मलाई तानियो । डर सिर्जना गर्ने प्रयास भयो ।
भोलिपल्ट फेरि
बरपीपलमुनि भेला भयो । यसपालि
वातावरण गम्भीर थियो । एक
युवक उठ्यो ।
“अब हामी पनि उनीहरूलाई त्यही भाषामा जवाफ दिऊँ ।”
रामबहादुरले तुरुन्तै
टाउको हल्लायो ।
“त्यसो नगर ।”
“किन ?”
“किनकि उनीहरूको सबैभन्दा ठूलो चाहना नै हामीलाई रिसले विभाजित
गराउनु हो ।”
एक किसानले सोधे,
“त्यसो भए के गर्ने ?”
रामबहादुरले उत्तर
दियो,
“हामीले तथ्य बोल्ने ।”
“अफवाह आयो भने ?”
“प्रमाण खोज्ने ।”
“गाली आयो भने ?”
“संयम राख्ने ।”
“झूट फैलियो भने ?”
“सत्यलाई धैर्यपूर्वक दोहोर्याउने ।”
त्यही बेला मैले
वरिपरि बसेका मानिसहरूलाई हेरेँ । पहिले
सानो अफवाहले उनीहरू छुट्टिन्थे ।
आज उनीहरू एकअर्कासँग
सोधिरहेका थिए—
“यो कुरा साँच्चै हो कि हल्ला ?”
त्यो सानो परिवर्तन
थिएन । त्यो चेतनाको परिवर्तन थियो । लगन र
धैर्यको राम्रो पर्णाम थियो ।
केही दिनपछि गाउँमा
फेरि एउटा सार्वजनिक कार्यक्रम भयो । यसपालि
कसैले जातिको कुरा उठायो, अर्काले धर्मको, तेस्रोले प्रदेशको, चौथोले दलको । पहिले यस्ता विषयले सभा भत्किन्थ्यो ।
यसपालि भने एक वृद्ध
महिला उठिन् ।
“पहिले एउटा कुरा गरौँ,”
उनले भनिन् ।
“हाम्रो खाने अन्न महँगो किन भयो ?”
सबै चुप लागे ।
एक युवा उठ्यो ।
“हाम्रो गाउँका युवा किन बाहिरिन बाध्य छन् ?”
फेरि मौनता ।
एक किसानले थपे,
“हाम्रो उत्पादनको उचित मूल्य कसरी पाउने ?”
अब सभा मूल विषयमा
फर्कियो ।
रामबहादुरले मेरो हात
समात्दै बिस्तारै भन्यो,
“दाइ, हेर्नुभयो
?”
“के ?”
“स्यालहरूले फेरि पुरानै चाल चल्न खोजे ।”
“अनि ?”
“यसपालि बथान भागेन ।”
रात गहिरिँदै थियो । बरपीपलका पातहरू हावासँगै हल्लिरहेका थिए । टाढा कतै केही स्यालहरू कराइरहेका थिए । रामबहादुरले त्यो आवाज सुन्यो ।
“दाइ, स्यालहरू
अझै हराएका छैनन् ।”
मैले शान्त स्वरमा
भनेँ,
“हो । उनीहरू सजिलै हार मान्ने पनि छैनन् ।”
“त्यसो भए ?”
“अब अन्तिम परीक्षा बाँकी छ ।”
त्यो रात मैले
डायरीमा अर्को पाना थपेँ ।
“विभाजनबाट लाभ उठाउनेहरूका लागि सबैभन्दा ठूलो खतरा एकताबद्ध
नागरिक हुन् । त्यसैले उनीहरूले शङ्का,
अफवाह, आरोप र लेबलको प्रयोग
गरेर विश्वास तोड्ने प्रयास गर्छन् । तर जब नागरिकले गालीभन्दा तथ्य, अफवाहभन्दा प्रमाण, घृणाभन्दा संवाद र
भीडको उत्तेजनाभन्दा विवेक रोज्न थाल्छन्,
तब ‘फुटाऊ र राज गर’ को शक्ति क्रमशः
क्षीण हुँदै जान्छ ।"
२१:
उत्कर्ष र कन्क्लुजन — जनताको सबक
संघर्षको अन्तिम
अध्याय सुरु हुन लागेको आभास भइसकेको थियो ।
रवि
उदयचलबाट उदाउँदै थियो । तर
त्यो दिनको उज्यालो अरू दिनजस्तो थिएन । वर्षौंदेखि थुप्रिएका पीडा, अन्याय, विभाजन, अविश्वास र मौनतामाथि नयाँ लालीमय बिहानी
प्रभात बनी उक्लिरहेको थियो ।
रामबहादुर
बरपीपलको चौतारामा उभिएको थियो । म
उसको छेउमै थिएँ । हाम्रो
अगाडि गाउँका किसानहरू थिए, पछाडि सहरका मजदुरहरू ।
एकातिर
साना उद्योगी, अर्कोतिर विद्यार्थीहरू, विदेशबाट फर्किएका युवाहरू अनि शिक्षक,
चिकित्सक, नर्स, पत्रकार, इमानदार कर्मचारी, साना व्यापारी, गृहिणी, ज्येष्ठ नागरिक...
कसैले
कसैको जात सोधेको थिएन । कसैले
कसैको प्रदेश सोधेको थिएन । कसैले
कसैको धर्म सोधेको थिएन ।
आज
सबैले एउटा मात्रै परिचय बोकेका थिए—
नागरिक
।
रामबहादुरले
माइक समातेन, आक्रोशित पनि भएन । उसले
केवल सामान्य स्वरमा बोल्न थाल्यो । तर
त्यो आवाज हजारौँ मुटुको गहिराइसम्म पुगिरहेको थियो ।
“हामी
यहाँ कसैलाई घृणा गर्न आएका होइनौँ ।”
“हामी
यहाँ कुनै मानिसको शत्रु बन्न आएका होइनौँ ।”
“हामी
यहाँ एउटा प्रवृत्तिको अन्त्य गर्न आएका हौँ ।”
सभा
एकाएक मौन भयो ।
“वर्षौँसम्म
हामीलाई किसान र उपभोक्तामा बाँडियो ।”
“मजदुर
र कर्मचारीमा बाँडियो ।”
“गाउँ
र सहरमा बाँडियो ।”
“सरकारी
र निजीमा बाँडियो ।”
“युवा
र ज्येष्ठमा बाँडियो ।”
“जात,
भाषा, धर्म, प्रदेश र विचारका नाममा बाँडियो ।”
“हामी
झगडा गरिरह्यौँ ।”
“अरूले
शासन गरिरहे ।”
त्यसै
बेला एक किसान अगाडि आए । उनले
आफ्नो उत्पादनको पुरानो रसिद सबैलाई देखाए ।
“मैले
यही आलु यही मूल्यमा बेचेँ ।”
त्यसपछि
बजारको बिल देखाइयो । त्यो
मूल्य तीन गुणा बढी थियो । भीडमा
सुस्केरा फैलियो । एक
उपभोक्ता उठे ।
“हामीले
किसानलाई दोष दियौँ ।”
किसानले
टाउको हल्लाए ।
“हामीले
उपभोक्तालाई दोष दियौँ ।”
दुवै
एकअर्कातिर गए ।
पहिलो
पटक उनीहरूले हात मिलाए । तालीको
गडगडाहटले चौतारो गुञ्जियो ।
त्यसपछि
विदेशबाट फर्किएका युवाहरू अगाडि आए ।
उनीहरूले
घोषणा गरे—
“हामी
विदेशमा सिकेको सीप गाउँमै प्रयोग गर्नेछौँ ।”
“हामी
उत्पादन बढाउनेछौँ ।”
“हामी
रोजगारी सिर्जना गर्नेछौँ ।”
“हामी
अर्को पुस्तालाई केवल विदेश जाने सपना होइन, आफ्नै माटोमा सम्भावना पनि देखाउनेछौँ ।”
त्यसपछि
इमानदार व्यवसायीहरू उठे ।
“हामी
सही तौल दिनेछौँ ।”
“हामी
नक्कली बिल बनाउने छैनौँ ।”
“हामी
कानुनअनुसार कर तिर्नेछौँ ।”
त्यसपछि
केही इमानदार कर्मचारीहरू उठे ।
“हामी
सेवा बेच्ने होइन, सेवा
दिनेछौँ ।”
“हामी
घुसलाई अस्वीकार गर्नेछौँ ।”
“हामी
नियम सबैका लागि समान रूपमा लागू गर्ने प्रयास गर्नेछौँ ।”
सभामा
फेरि ताली बज्यो ।
त्यसपछि
एउटा विशेष घोषणा भयो ।
गाउँ
र सहरका नागरिकले मिलेर ‘जनउत्तरदायित्व अभियान’ सुरु गर्ने निर्णय
गरे ।
यस
अभियानअन्तर्गत—
·
सार्वजनिक
खरिद र विकास योजनाबारे उपलब्ध सार्वजनिक विवरण नागरिकले नियमित अध्ययन गर्ने ।
·
कर
छली, मिलेमतो, कृत्रिम अभाव वा भ्रष्टाचारको शङ्का
देखिएमा सम्बन्धित कानुनी निकायमा प्रमाणसहित उजुरी गर्ने ।
·
स्थानीय
उत्पादनलाई प्राथमिकता दिने ।
·
बिचौलियामाथिको
अत्यधिक निर्भरता घटाउन सहकारी, किसान
बजार र प्रत्यक्ष बिक्रीलाई प्रोत्साहन गर्ने ।
·
सार्वजनिक
पदमा रहेका प्रतिनिधिहरूलाई नियमित रूपमा आफ्नो क्षेत्रको अवस्था प्रत्यक्ष अवलोकन
गर्न आग्रह गर्ने र नागरिक संवाद आयोजना गर्ने ।
·
बिचौलियाका
तह तहका काम छुटेता पनि बेरोजगार हुन नदिई देशकै उत्पादनमूलक कार्यमा सहभागी गराई
उनीहरूको रोजिरोटी पनि नखोस्ने ।
रामबहादुरले
भन्यो,
“कानुन
आफ्नो ठाउँमा छ । हामी पनि आफ्नो नागरिक जिम्मेवारी पूरा गर्नेछौँ ।”
त्यसको
केही दिनपछि एउटा प्रतीकात्मक कार्यक्रम आयोजना गरियो । कोदारी राजमार्गको जीर्ण खण्डमा स्थानीय
नागरिक, पत्रकार, प्राविधिक, सडक इन्जिनियर र जनप्रतिनिधिहरूलाई
संयुक्त रूपमा निरीक्षण यात्रामा निमन्त्रणा गरियो । वर्षौँदेखि गाडी हल्लिँदा मौन बसेका
नागरिकहरूले यसपालि कागजात, तस्बिर
र तथ्यसहित आफ्ना गुनासा सुनाए ।
एक
वृद्धले मुस्कुराउँदै भने,
“हामी
रिसले होइन, यथार्थ देखाउन
बोलाएका हौँ ।”
एक
बालकले सडकको ठूलो खाल्डो देखाउँदै सोध्यो,
“यो
कहिले पुरिन्छ ?”
त्यो
प्रश्न कुनै एक मन्त्रीलाई मात्र होइन,
सम्पूर्ण
जिम्मेवार प्रणालीलाई थियो ।
त्यसैबीच
बिचौलियाहरूको केही नेटवर्क कानुनी अनुसन्धानको दायरामा आए ।
कृत्रिम
अभाव सिर्जना गर्ने, गलत
तौल प्रयोग गर्ने र नियमविपरीत गतिविधिमा संलग्न केही व्यक्तिमाथि सम्बन्धित
निकायले अनुसन्धान सुरु गर्यो ।
समाचार
फैलियो ।
तर
यसपालि जनता उत्तेजित भएनन् ।
उनीहरूले
एउटै कुरा भने—
“कसैले
गल्ती गरेको छ भने प्रमाणका आधारमा कानुनले फैसला गरोस् ।”
भीडले
पहिलो पटक न्यायलाई बदला होइन, प्रक्रियासँग
जोडेर हेर्न थालेको थियो ।
त्यसपछि
रामबहादुर फेरि मञ्चको बीचमा उभियो । उसको स्वर पहिलेभन्दा अझ दृढ थियो ।
“तिमीहरूले
हामीलाई फुटाएर खान खोज्यौ ।”
“हामीलाई
किसान र उपभोक्तामा बाँड्यौ ।”
“हामीलाई
गाउँ र सहरमा बाँड्यौ ।”
“हामीलाई
मजदुर, कर्मचारी, व्यापारी, विद्यार्थी, युवा, ज्येष्ठ, जात, धर्म र प्रदेशका नाममा बाँड्यौ ।”
“तर
अब हामीले बुझ्यौँ ।”
“मजदुर
मजदुर हो ।”
“किसान
किसान हो ।”
“सहरका
मानिस पनि नेपाली नै हुन् ।”
“गाउँका
मानिस पनि नेपाली नै हुन् ।”
“इमानदार
कर्मचारी पनि हाम्रो आफ्नै हुन् ।”
“इमानदार
व्यवसायी पनि यही समाजका सदस्य हुन् ।”
“हामी
फरक पेशाका हुन सक्छौँ, तर
हाम्रो भविष्य एउटै देशसँग जोडिएको छ ।”
उसले
हात उठायो ।
“अब
तिमीहरूको फुटाउने नारा काम गर्दैन ।”
“हामी
एक भएका छौँ ।”
“अब
यो देश हाम्रो साझा जिम्मेवारी हो, कसैको
शिकारगाह होइन ।”
भीडबाट
एकै स्वर उठ्यो—
“एकता ! उत्तरदायित्व ! उत्पादन !
इमानदारी !”
त्यो
नारा कुनै दलको थिएन ।
त्यो
जागेको नागरिकताको आवाज थियो ।
केही
महिनापछि गाउँ फेरि बदलिएको थियो । सहकारीको
नयाँ भवन ठडिएको थियो । त्यहाँ
किसानले उत्पादन ल्याउँथे । युवाहरूले
डिजिटल बजार सञ्चालन गर्थे । महिलाहरूले
प्रशोधित खाद्य सामग्री उत्पादन गर्थे । विदेशबाट फर्किएका युवाले तालिम दिन्थे ।
पाका किसानले त्योभन्दा एक तह माथिबाट निगरानी गर्थे ।
स्थानीय
विद्यालयका विद्यार्थीहरू त्यहीँ उद्यमशीलता सिक्न आउँथे । गाउँ र सहरबीच अब केवल बस चल्दैनथ्यो । विश्वास पनि आवतजावत गर्न थालेको थियो । रामबहादुर आफ्नो गाउँ फर्कियो । यसपटक ऊ खाली हात थिएन । उसको हातमा एउटा झोला थिएन ।
उसको
साथमा थियो—
गाउँ
र सहरलाई जोड्ने सानो सहकारी,
स्थानीय
उत्पादन समूह,
युवाहरूको
सीप केन्द्र,
र
एउटै विश्वास—
"आफ्नो माटोमा भविष्य बनाउन सकिन्छ ।"
म
बरपीपलमुनि एक्लै बसेर डायरीको अन्तिम पाना पल्टाइरहेको थिएँ ।
चार
वर्षअघि मैले जागिर छोड्दा धेरैले भनेका थिए—
“तिम्रो
कुरा केवल कोरा आदर्श हो ।”
“यसबाट
केही बदलिँदैन ।”
“यो
पनि एउटा नारा मात्र हो ।”
आज
म त्यही चौतारामा बसेर मुस्कुराइरहेको थिएँ ।
किनकि
मैले बुझेको थिएँ—
परिवर्तन
एकैदिन आएको थिएन । कुनै
एक व्यक्तिले ल्याएको पनि थिएन । त्यो
त एउटा प्रश्नबाट सुरु भएको थियो । त्यसपछि
संवाद बनेको थियो ।
संवादबाट
विश्वास ।
विश्वासबाट
एकता ।
र
एकताबाट परिवर्तन ।
मैले
डायरी बन्द गरेँ ।
बरपीपलका
पातहरू फेरि हल्लिए ।
यसपटक
तिनको आवाजमा निराशा थिएन ।
त्यहाँ
आशा थियो ।
उपशंहार
समाजलाई
कमजोर बनाउने सबैभन्दा ठूलो हतियार विभाजन हो । समाजलाई बलियो बनाउने सबैभन्दा
ठूलो शक्ति विश्वास, उत्तरदायित्व, कानुनप्रतिको सम्मान, उत्पादनशीलता र नागरिक एकता हो । कुनै
राष्ट्र पूर्ण हुँदैन, तर आफ्ना कमजोरीलाई स्वीकार गरेर, तथ्यका आधारमा सुधार खोजेर र एकअर्कालाई
शत्रु होइन सहयात्री ठानेर अघि बढ्ने नागरिक भएको राष्ट्रलाई लामो समयसम्म कमजोर
बनाउन सकिँदैन । अनि सबै जना रोजगारमूलक भएपछि राज्यलाई बेरोजगार भत्ता दिनुपर्छ
भन्ने अनावश्यक बोझ पनि हुँदैन ।
२०८३
साउन १२
बिजु
सुवेदी विजय
Comments
Post a Comment