बाँदरको छायाँमाः सहअस्तित्वको यात्रा

 

कथाः- बाँदरको छायाँमाः सहअस्तित्वको यात्रा

१: गाउँको मौनता

बिहानको कुहिरो अझै डाँडाको काँधमा अल्झिरहेको थियो । पूर्वबाट निस्कँदै गरेको घामका किरणले धनकुटाको चौबिसे गाउँपालिका–४ को ठूलागाउँलाई छुन खोजिरहेका थिए, तर त्यो गाउँमा अब पहिलेको जस्तो उज्यालो फैलिन छाडेको थियो । हावाले पुराना घरका झ्यालहरू हल्लाउँथ्यो, तर ती झ्यालबाट बालबालिकाको हाँसो आउँदैनथ्यो । गोठका ढोका खुला थिए, तर गाईभैंसीको घण्टी बज्दैनथ्यो । बारीका कान्लामा उम्रिएको झारले मानौँ एउटा युगको अन्त्यको कथा सुनाइरहेको थियो ।

कुनै समय यही गाउँमा पैंतीस घर थिए । बिहानै मेलापात जाने महिलाहरूको गीत सुनिन्थ्यो । मकैबारीमा काम गरिरहेका किसानका हाँसो गुञ्जिन्थे । दसैँतिहारमा घर–घरका आँगन भरिन्थे । अहिले भने त्यो सबै सम्झनामा सीमित भएको थियो ।

सिङ्गो टोलमा एउटा मात्र घर बाँकी थियो—टंक देवानको ।

घरको आँगनमा उभिएर उनले वरिपरि दृष्टि डुलाए । खाली घरहरूका टिनका छाना हावासँग कराइरहेका थिए । कतै ढोकामा ताला थिए, कतै ढोका नै झरेका थिए । कुनै समय धुवाँ निस्कने चुल्होमा अहिले चराहरूले गुँड बनाइसकेका थिए ।

"यही घरमा बस्छु," उनले आफैँसँग बुदबुदाए, "तर कहिलेकाहीँ लाग्छ, म गाउँमा होइन, स्मृतिको संग्रहालयमा बसिरहेको छु ।"

त्यत्तिकैमा उनकी श्रीमतीले घरभित्रबाट आवाज दिइन् ।

"बारीतिर फेरि हेर्न जानुपर्ला ।"

टंकले कुनै उत्तर दिएनन् । उनलाई थाहा थियो, के हेर्न जाने ? केही दिनअघि रोपेको मकै उम्रँदै थियो । केही कोसा लागेका थिए । तर त्यो खेत अब उनीहरूको मात्र थिएन । त्यो खेतलाई अर्को आँखाले पनि हेरिरहेको थियो ।

जंगलको डिलबाट ।

 

जंगलको सिमानामा एउटा पुरानो चिलाउनेको रुख थियो । त्यसमाथि रातो बाँदरहरूको एउटा ठूलो हुल बसेको थियो । बूढो भाले बाँदर सबैभन्दा माथिल्लो हाँगामा बसेर तल गाउँतिर नियालिरहेको थियो । केही जवान बाँदरहरू खेलिरहेका थिए । दुई–तीनवटा बच्चा आमाको पेटमा टाँसिएका थिए । उनीहरूलाई गाउँ र मानिसबीचको दूरी थाहा थिएन । उनीहरूलाई भोक मात्रै थाहा थियो ।

बूढो बाँदरले वरिपरि जंगल नियाल्यो । पहिले यतै काफल हुन्थ्यो । घँगारु हुन्थ्यो । कटुसका फल झर्थे । जामुन पाक्थे । तर अहिले ती धेरै रुख हराइसकेका थिए । केही सडकका नाममा ढले, केही काठका लागि काटिए, केही आफैँ बुढा भएर सकिए । नयाँ उम्रेका रुखहरूमा खाने फल थिएनन् ।

बच्चा बाँदरले आमाको अनुहार हेर्दै करायो । आमाले उसलाई अँगालो हालिन् । भोकको भाषा सबै प्राणीले बुझ्छन् ।

 

गाउँमा फेरि एकपटक हल्ला उठ्यो ।

"आए ! आए !"

टंकले गुलेली समाते । घरको छतमा सुकाइराखेको मकै झट्ट भित्र सारियो । श्रीमतीले अन्नको डोको ढाकिन् । एकछिनमै बीस–पच्चीसवटा बाँदर बारीभरि फैलिइसकेका थिए ।  कसैले मकै उखेले । कसैले आधा खाएर फालिदियो । कसैले आलुको बोट उखेलेर फाल्यो । साना बाँदरहरू खेलिरहेका थिए । उनीहरूका लागि त्यो खेल थियो ।

टंकका लागि त्यो वर्षभरिको पसिना थियो । गुलेलीको ढुङ्गा एउटा रुखमा लाग्यो । बाँदरहरू केही क्षण तर्सिए । तर भागेनन् । उनीहरू अहिले मानिसको डरभन्दा भोकसँग बढी परिचित भइसकेका थिए । टंक दौडिए । लठ्ठी बजाए । चिच्याए ।

एकछिनपछि बाँदरहरू जंगलतिर फर्किए । तर फर्कँदा उनीहरूले आधा बाली पनि साथ लिए । बाँकी आधा खेतमै नष्ट गरेर गए । टंक बारीको बीचमा उभिए । उनले एउटा मकैको बोट उठाए । त्यो भाँचिएको थियो । उनका आँखामा आँसु थिएनन् । किनभने आँसु पनि धेरैपटक बगिसकेपछि सुक्दोरहेछ ।

 

त्यसै दिन वडाध्यक्ष लोकेन्द्र मगर गाउँ निरीक्षणका लागि आएका थिए । उनले खाली घरहरू हेरे । बन्द आँगनहरू हेरे । झाडीले ढाकिएका बाटाहरू हेरे । टंकसँग बसेर लामो सास फेरे ।

"पहिले विकास नहुँदा गाउँ छोडिन्थ्यो," उनले भने, "अहिले विकास आए पनि गाउँ रित्तिँदै छ ।"

टंकले केही भनेनन् ।

"अहिलेको मुख्य समस्या बाँदर हो," वडाध्यक्षको स्वरमा पीडा थियो । "मानिस खेती गर्न सक्दैन । खेती भएन भने गाउँ टिक्दैन । गाउँ नटिकेपछि घर रहन्छ, मान्छे रहँदैन ।"

टंकले वरिपरि हेरे ।

त्यो वाक्य सत्य साबित गर्न गाउँ आफैँ पर्याप्त थियो ।

 

साँझ पर्दै गयो । डाँडामाथि सुनौलो घाम विस्तारै हराउँदै थियो । जंगलतिर बाँदरहरूको हुल फेरि भेला भए । आज उनीहरूले पेट त केही भरे । तर जंगल अझै खाली थियो । यता गाउँमा टंकले भाँडामा बाँकी रहेको मकै गने । यसपालि परिवारलाई पुग्ला कि नपुग्ला भन्ने हिसाब गरे । दुवै पक्ष गणना गरिरहेका थिए । एउटाले बाँच्न कति चाहिन्छ भन्ने । अर्कोले बाँकी कति रह्यो भन्ने ।

प्रकृतिले कसैलाई शत्रु बनाएर जन्माएको थिएन । न टंकले बाँदरसँग युद्ध चाहेका थिए, न बाँदरले मानिसको खेत रोजेका थिए । तर कतै बीचमा केही यस्ता सम्बन्ध टुटेका थिए, जसले जंगल र गाउँबीचको अदृश्य सीमाना मेटाइदिएको थियो । र त्यो रात, ठूलागाउँको सुनसान आकाशमुनि, एउटै प्रश्न हावामा तैरिरहेको थियो—

वास्तवमा गाउँ कसले रित्यायो ? बाँदरले, मानिसले, कि हामी सबैले मिलेर प्रकृतिसँग गरेको अदृश्य अन्यायले ?

२: बाँदरको आँखाबाट

बिहानको पहिलो किरण जंगलका टुप्पाहरूमा परे पनि सिन्दुरेको आँखामा उज्यालो झरेको थिएन । ऊ हुलकी सबैभन्दा पाको पोथी बाँदर थिई । उसको अनुहारका रौँ फिक्का भइसकेका थिए । आँखाको वरिपरि उमेरका धर्काहरू कोरिएका थिए । तर ती आँखामा अझै एउटा ठूलो जंगल सुरक्षित थियो—त्यो जंगल, जहाँ भोकभन्दा बढी फलफूल हुन्थे, डरभन्दा बढी हरियाली हुन्थी ।

उसले रुखको सबैभन्दा अग्लो हाँगाबाट तल हेरिन् । तल अहिले पनि वन थियो । तर त्यो वन पहिलेको जस्तो थिएन । जहाँ काफलका रुखले राताम्य मुस्कान छर्थे, त्यहाँ अहिले सल्ला उभिएका थिए । जहाँ लप्सीका बोटमा बच्चा बाँदर झुन्डिएर खेल्थे, त्यहाँ अब कतै बाटो थियो, कतै बिजुलीका पोल । चुत्रो, किम्बु, घँगारु, कटुस र जामुनले भरिएको वन अब सम्झनाको एउटा टुक्रामात्र बाँकी थियो ।

सिन्दुरेले आँखा बन्द गरी पुरानो समय सम्झिइन् । त्यतिबेला बिहानको काम भनेकै बच्चाहरूलाई लिएर काफलतिर जानु हुन्थ्यो । कहिले चुत्रो पाक्थ्यो, कहिले कटुस झर्थ्यो । वर्षाअघि जंगलभरि कोइरालोका फूल फुल्थे । सानो खोल्सामा वर्षभरि पानी बग्थ्यो । पेट भरिएपछि बच्चाहरू रुखबाट रुखमा खेल्थे ।

त्यो बेला मानिस टाढा देखिन्थे । उनीहरू आफ्नै संसारमा थिए । बाँदर आफ्नै संसारमा । कसैले कसैको सीमा नाघ्दैनथ्यो ।

 

"आमा..."

एउटा सानो बाँदरले सिन्दुरेको पुच्छर समात्यो ।

"आज कहाँ जाने ?"

सिन्दुरेले केही बोलिनन् । उनले वरिपरि नियालिन् । हिजो खोजेको काफलको रुखमा एउटा पनि फल थिएन । अर्को डिलको लप्सी धेरै वर्षअघि काटिएको थियो । कटुसका बोटहरू वृद्ध भइसकेका थिए । चुत्रोका झाडीहरू बाटो बनाउँदा मासिएका थिए ।

साना बाँदरहरूको पेट कराइरहेको थियो । भोकले कुनै भाषा बोल्दैन । उसले केवल शरीरलाई हिँडाउन सिकाउँछ ।

 

हुलका जवान भाले बाँदरहरू गाउँतिर हेर्दै बसेका थिए । तल मानिसका खेत हरिया देखिन्थे । मकै पाक्दै थियो । आलु उम्रिरहेको थियो । केरा झुन्डिएको थियो । त्यो दृश्य उनीहरूका लागि जंगलभित्र हराउँदै गएको जीवनको विकल्प थियो ।

सिन्दुरेले गाउँतिर लामो नजर लगाइन् । उनीलाई त्यो बाटो मन पर्दैनथ्यो । त्यहाँ ढुङ्गा उड्थे । गुलेली लाग्थ्यो । लठ्ठी बर्सिन्थ्यो । कहिलेकाहीँ कुकुर पनि पछि लाग्थे । तर फर्केर जंगल हेर्दा पनि पेट भर्ने कुनै आशा थिएन ।

"जाऔँ," उनले मधुरो संकेत गरिन् । पूरै हुल विस्तारै बस्तीतिर झर्‍यो ।

 

बाटोमा एउटा सुकेको खोल्सो आयो । सिन्दुरे केहीबेर रोकिइन् । यही खोल्सामा कहिल्यै पानी सुक्दैनथ्यो । गर्मी लागेपछि सबै यहीँ झर्थे । बच्चाहरू पानीमा खेल्थे । आमाहरूले पेटभरि पानी पिउँथे । अहिले त्यहाँ ढुङ्गा मात्र थिए । उनले माटो सुँघिन् । त्यो गन्ध पनि फेरिएको थियो ।

 

बस्ती नजिकिँदै जाँदा बच्चा बाँदरहरू उत्साहित भए । उनीहरूका लागि गाउँ डरभन्दा बढी नयाँ खेलको ठाउँ थियो । तर सिन्दुरेले भने हरेक छानो, हरेक झ्याल र हरेक मानिसको चाल बुझ्थिन् । उनी धेरै वर्षदेखि यही बाटो हिँडिरहेकी थिइन् ।

एकपटक उनको पहिलो बच्चा गुलेली लागेर रुखबाट खसेको थियो । अर्को वर्ष एउटा जवान भाले विद्युतीय तारमा झुन्डिएर मरेको थियो । अर्की पोथीले मानिसले फालेको प्लास्टिकसँगै खाना खाँदा धेरै दिन बिरामी परेकी थिई ।

त्यसैले सिन्दुरे जान्थिन्—

मानिसको गाउँमा खाना त भेटिन्छ, तर सुरक्षाको कुनै निश्चितता हुँदैन ।

 

हुल खेतमा फैलियो । साना बाँदरहरू मकैका कोसा समातेर खेल्न थाले । कसैले आधा खायो । कसैले चाखेर फाल्यो । त्यो उनीहरूको स्वभाव थियो । जंगलमा पनि उनीहरूले एउटै फल पूरा खाँदैनथे । रुखले धेरै फल फलाउँथे । अर्को फल सजिलै पाइन्थ्यो । तर मानिसले त्यसलाई नोक्सानी मात्र देख्थे ।

सिन्दुरेले एउटा पाकेको मकै टिपिन् । बच्चालाई दिइन् । त्यसको अनुहार उज्यालियो । आमाको मन पनि केही क्षण शान्त भयो ।

त्यसै बेला टाढाबाट ठूलो आवाज आयो ।

"हट्... हट्..."

गुलेलीको ढुङ्गा रुखको हाँगामा बज्रियो । साना बाँदरहरू डराएर आमासँग टाँसिए । सिन्दुरेले सबैलाई एकैपटक जंगलतिर फर्कने संकेत गरिन् । भाग्दै गर्दा उनले एकछिन पछाडि फर्केर हेरिन् । एउटा वृद्ध किसान आफ्नै बाली हेरेर निराश उभिएको थियो । सिन्दुरे केही क्षण स्थिर भइन् । उनले त्यो मानिसको अनुहारमा आफूले पनि चिनेको भाव देखिन् ।

त्यो भाव थियो—

असहायता ।

उनी भोकले गाउँ आएकी थिइन् । ऊ आफ्नो वर्षभरिको मेहनत जोगाउन दौडिरहेको थियो । दुवै हारिरहेका थिए ।

 

साँझ फेरि जंगलमा हुल भेला भयो । बच्चाहरू निदाइसकेका थिए । तर सिन्दुरेलाई निद्रा लागेको थिएन । टाढा गाउँका केही घरमा बत्ती बलिरहेका थिए । जंगलमा भने अँध्यारो फैलँदै थियो ।

उनले मनमनै सोचिन्—

"हामीलाई कसैले मानिसको अन्न मन पर्छ भनेर सिकाएको होइन । जंगलले आफ्ना फलफूल गुमायो, त्यसपछि हामीले गाउँको बाटो सिक्यौं । यदि फेरि जंगलमा काफल फुल्ने दिन फर्किए, लप्सीले हाँगा झुकाउने दिन आए, चुत्रो र कटुसले पेट भर्ने भए, हामी किन मानिससँग झगडा गर्न आउँथ्यौं र ?"

त्यो रात सिन्दुरेले ताराभरिएको आकाशतिर हेर्दै एउटा पुरानो जंगल सम्झिइन् । सायद त्यो जंगल अझै कतै बाँकी थियो । तर अहिले त्यो जंगल वास्तविकताभन्दा बढी स्मृतिमा जीवित थियो । र स्मृतिले कहिल्यै कसैको पेट भरिदिँदैन ।

३: किसानको दिनचर्या

कुखुराले भालेले पहिलो डाक दिँदा पनि गाउँ अझै निद्रामै थियो । तर योगेन्द्रप्रसाद घिमिरे निदाइसकेका थिएनन् । उनको उमेर त्रिसट्ठी वर्ष पुगिसकेको थियो । शरीर पहिलेझैँ फुर्तिलो थिएन । घुँडाले कहिलेकाहीँ दुखाइको गुनासो गर्थ्यो । तर खेती गर्ने किसानलाई दुखाइले बिदा दिँदैन । बिहान उज्यालो हुनुअघि नै उनी ओछ्यानबाट उठे । आँगनमा निस्कँदा पूर्वतिरको आकाश हल्का राताम्मे हुँदै थियो ।

घरभित्र उनकी श्रीमती चुलोमा आगो सल्काउँदै थिइन् ।

"आज पनि चिया चाँडै खानुपर्छ," योगेन्द्रले भने, "सूर्य नउदाउँदै बारी पुग्नुपर्छ ।"

श्रीमतीले केही उत्तर दिइनन् ।

उनीहरू दुवैलाई थाहा थियो—बारीमा ढिलो पुग्नु भनेको बाँदरलाई निम्ता दिनुजस्तै हो ।

 

मार्से टोल कुनै बेला निकै चहलपहल हुने ठाउँ थियो । एउटा घरमा बिहे पर्दा सिङ्गो टोल जुट्थ्यो । कसैको खेत रोप्नुपरे सबै हातेमालो गर्थे । साँझ परेपछि चौतारामा बसेर गाउँका बूढापाका गफ गर्थे । तर अहिले त्यो सबै कथा बनिसकेको थियो ।

घरहरू थिए । मानिस थिएनन् । कतै झ्याल भाँचिएका थिए । कतै ढोकामा वर्षौँदेखिको ताला झुन्डिरहेको थियो । कतै आँगनभरि सिस्नो र झार उम्रिएको थियो ।

"हेर न," योगेन्द्रकी श्रीमतीले बाटोमा एउटा घर देखाउँदै भनिन्, "यही घरमा दाइहरूको परिवार बस्थ्यो ।"

योगेन्द्रले टाउको हल्लाए ।

"छोराहरू झापा गए । पछि बुबाआमा पनि उतै लागे ।"

अर्को मोडमा अर्को घर आयो ।

"त्यो पनि खाली ।"

त्यसपछिको पनि ।

फेरि अर्को पनि ।

गाउँ विस्तारै मान्छेले होइन, मौनताले भरिन थालेको थियो ।

 

बारीमा पुगेपछि उनीहरूको पहिलो काम खेती गर्नु थिएन ।

पहिलो काम थियो— जंगलतिर हेर्नु ।

कुनै रुखको टुप्पो हल्लिएको छ कि ? कुनै बाँदरको आवाज सुनिन्छ कि ? कुनै हुल तल झर्दै छ कि ?

खेतीभन्दा पहिला पहरा ।

उत्पादनभन्दा पहिला सुरक्षा ।

यही नै उनीहरूको नयाँ दिनचर्या बनेको थियो ।

योगेन्द्रले बारीको कान्लामा एउटा पुरानो लाठी राखेका थिए । गुलेली पनि त्यहीँ थियो । फलामको थाल पनि थियो । बाँदर देखिए त्यसलाई बजाएर आवाज गर्ने । उनलाई कहिलेकाहीँ लाग्थ्यो—म किसान कम, चौकीदार बढी भएको छु ।

 

सूर्य माथि चढ्दै गयो । उनकी श्रीमतीले लसुनको बोट स्याहार्न थालिन् । अलिकति पर प्याज पनि थियो । पहिले यी बाली सुरक्षित मानिन्थे ।

मानिसहरू भन्थे—

"बाँदरले लसुन–प्याज कहाँ खान्छ र !"

तर अहिले त्यो विश्वास पनि भत्किएको थियो । केही दिनअघि एउटा हुलले लसुनका बोट उखेलेर फालिदिएको थियो ।

खानका लागि होइन ।

खेल्दा–खेल्दै ।

कतिपय प्याज पनि निकालेर टाढा फालेका थिए ।

योगेन्द्रले त्यो दृश्य सम्झिए ।

"पहिला मकै, कोदो, आलु मात्र खान्थे," उनले गहिरो सास फेरे, "अब त छुनु नहुने केही बाँकी रहेन ।"

श्रीमतीले माटोमा हात चलाउँदै भनिन्,

"भोकले प्राणीलाई के खानु, के नखानु भन्ने छुट कहाँ दिन्छ र ?"

त्यो वाक्य सुनेर योगेन्द्र केहीबेर मौन भए ।

 

दिउँसोसम्म तीनपटक बाँदरको झल्को देखियो ।

पहिलोपटक रुखको टुप्पामा ।

दोस्रोपटक जंगलको डिलमा ।

तेस्रोपटक सिधै खेतको छेउमा ।

योगेन्द्र दौडिए । थाल बजाए । लाठी घुमाए । ठूलो स्वरले कराए । बाँदरहरू केही पर हटे । तर पूर्ण रूपमा गएनन् । मानौँ उनीहरू पनि प्रतीक्षा गरिरहेका थिए—किसान थाक्नेबित्तिकै खेतमा पस्ने । योगेन्द्रको निधार पसिनाले भिज्यो । उनले पानीको घुट्को खाए ।

आफ्नै मनसँग भने,

"यो खेती हो कि युद्ध ?"

 

दिउँसोको खाना उनीहरूले बारीकै कान्लामा बसेर खाए ।

रोटी, साग र अलिकति अचार ।

पहिले यही बेला छिमेकीहरू पनि सँगै बस्थे । कोही जिस्किन्थे । कोही खेतीको कुरा गर्थे । कोही मौसमको अनुमान लगाउँथे । आज भने कान्लामा दुई जना मात्र थिए ।

हावा थियो ।

र टाढाबाट सुनिने बाँदरहरूको आवाज ।

"हामी पनि जाने हो कि ?" श्रीमतीले एक्कासि सोधिन् ।

योगेन्द्रले चकित हुँदै उनको अनुहार हेरे ।

"कता ?"

"सबै गएजस्तै । झापा, मोरङ... जहाँ भए पनि ।"

लामो मौनता छायो ।

त्यसपछि उनले बिस्तारै भने,

"यो माटो छोडेपछि म बाँच्छु जस्तो लाग्दैन ।"

श्रीमतीले प्रतिवाद गरिनन् ।

उनी पनि जान्थिन्—

माटो छोड्नु भनेको घर मात्र छोड्नु होइन, जीवनको आधा इतिहास त्याग्नु हो ।

 

साँझ ढल्दै गयो । उनीहरूले फेरि एकपटक सिङ्गो खेत घुमे । कतै बोट भाँचिएको थियो । कतै माटो उधिनिएको थियो । कतै ताजा पैतालाका डाम थिए । आकाश राताम्मे हुँदै थियो । टाढाको डिलमा सिन्दुरेको हुल फेरि देखियो ।

योगेन्द्र केही क्षण उनीहरूलाई हेर्दै उभिए । उनीहरूको आँखामा भोक थियो । आफ्नो आँखामा चिन्ता ।

एकछिनका लागि उनलाई लाग्यो—

दुवै पक्षले आफ्नो घर गुमाउँदै छन् ।

बाँदरले जंगल ।

मानिसले गाउँ ।

र त्यसको बीचमा उभिएको छ एउटा यस्तो द्वन्द्व, जसमा जित्ने कोही छैन ।

सूर्य अस्तायो । योगेन्द्रले घर फर्कँदै पछाडि फर्केर आफ्नै बारीलाई हेरे । उनी फेरि भोलि बिहान यहीँ आउनेछन् ।

खेती गर्न ।

रुँगालो बस्न ।

र आफ्नै जन्मभूमिमा किसान भएर बाँच्न सकिन्छ कि सकिँदैन भन्ने अर्को दिनको परीक्षा दिन  ।

४: तीन प्रजाति, तीन स्वभाव

वर्षाको झरी रोकिएको भोलिपल्ट बिहान जंगल अनौठो गरी शान्त थियो । रुखका पातबाट थोपा–थोपा पानी झरिरहेका थिए । सिन्दुरे आफ्नो हुलसँग एउटा अग्लो चिलाउनेको रुखमा बसिरहेकी थिई । तलको खोँचमा कुहिरो बिस्तारै हट्दै थियो । त्यही बेला अर्को डाँडाबाट एउटा फरक आवाज सुनियो ।

"ख्याक... ख्याक..."

सिन्दुरेले उता हेरिन् ।

रुखको टुप्पोमा कालो अनुहार र खरानीजस्तो शरीर भएका केही लंगुरहरू बसेका थिए । उनीहरू शान्त थिए । उनीहरूको हाउभाउमा हतार थिएन । उनीहरू बिस्तारै पात टिप्दै खाइरहेका थिए ।

अर्कोतिर, जंगलको किनारमा केही साना बाँदरहरूको अर्को समूह देखा पर्‍यो । उनीहरू निकै चञ्चल थिए । एउटा हाँगाबाट अर्को हाँगामा फुर्तीका साथ उफ्रिरहेका थिए । वरिपरि सानो आवाज भए पनि तुरुन्त सचेत हुन्थे ।

जंगलमा आज तीन फरक संसार एकैचोटि उपस्थित थिए ।

तीन प्रजाति ।

तीन स्वभाव ।

तीन जीवनशैली ।

 

केही दिनअघि यही जंगलमा वन्यजन्तुको अध्ययन गर्न एक अनुसन्धान टोली आएको थियो । टोलीको नेतृत्व प्राइभेट (बाँदर जाति) अनुसन्धानमा लामो समयदेखि काम गर्दै आएका प्राध्यापक डा. मुकेश चालिसेले गरिरहेका थिए ।

उनले विद्यार्थीहरूलाई एउटा रुख देखाउँदै भने,

"नेपालमा देखिने बाँदरहरू सबै उस्तै हुँदैनन् । उनीहरूको व्यवहार, खानपान, सामाजिक संरचना र मानिससँगको सम्बन्ध पनि फरक–फरक हुन्छ ।"

विद्यार्थीहरू चुपचाप सुनिरहेका थिए ।

"यो," उनले सिन्दुरेको हुलतिर देखाउँदै भने, "रातो बाँदर हो । अहिले मानव–बाँदर द्वन्द्वमा सबैभन्दा धेरै देखिने प्रजाति यही हो ।"

त्यसपछि उनले केही पर देखिएका साना बाँदरतिर औँला तेर्स्याए ।

"ती आसामी पहरे हुन् । नेपालमा संरक्षित प्रजाति । संख्या सीमित भएकाले तिनको संरक्षण विशेष महत्त्वको विषय हो ।"

अन्त्यमा लंगुरतिर फर्केर उनले मुस्कुराए ।

"र ती लंगुर । उनीहरूको स्वभाव अरूभन्दा धेरै शान्त हुन्छ । प्रायः पात, कोपिला र वनस्पतिमा निर्भर रहने भएकाले बस्तीमा कम झर्छन् ।"

विद्यार्थीहरूले एउटै जंगलभित्र तीनवटा फरक जीवनपद्धति देखिरहेका थिए ।

 

सिन्दुरेको हुल भने फरक थियो । उनीहरू अत्यन्त संगठित थिए । सबैभन्दा अगाडि अनुभव भएका सदस्य । बीचमा पोथीहरू र बच्चाहरू । सबैभन्दा पछाडि बलिया जवान भाले ।

कुनै नयाँ ठाउँमा जानुअघि दुई–तीनवटा सदस्यले वरिपरि निरीक्षण गर्थे । खतरा नभएको संकेत पाएपछि मात्र पूरा हुल अघि बढ्थ्यो । बस्ती पस्दा पनि यही नियम लागू हुन्थ्यो ।

कुन घरमा कुकुर छ । कुन घरमा मानिस धेरै छन् । कुन बारीमा मकै पाकेको छ । कुन बाटोबाट छिटो जंगल फर्किन सकिन्छ । यी सबै कुरा उनीहरूले सम्झिरहेका हुन्थे । सिन्दुरेले आफ्ना बच्चाहरूलाई कहिल्यै पुस्तक पढाएर सिकाएकी थिइनन् । तर अनुभवको विद्यालयमा उनीहरू हरेक दिन नयाँ पाठ सिकिरहेका थिए ।

 

एक दिन हुलकी एउटी जवान पोथीले एउटा बच्चा जन्माएकी थिई । सबैले उसलाई घेरेर हेरे । बच्चा आमाको छातीमा टाँसियो । सिन्दुरे नजिकै बसिन् । हुलका अन्य पोथीहरू पनि पालैपालो बच्चालाई हेर्न आए । मानिसहरूले कहिलेकाहीँ यो दृश्यलाई केवल जनावरको व्यवहार ठान्थे । तर त्यो व्यवहारभित्र ममता थियो । सामाजिक सम्बन्ध थियो । एक–अर्काको सुरक्षा गर्ने जिम्मेवारी थियो । बाँदरहरूको समाजमा बच्चा एउटी आमाको मात्र हुँदैन । पूरै हुलको भविष्य हुन्छ ।

 

महिनौँपछि त्यो हुलमा एउटा दुःखद घटना भयो । सानो बच्चा रुखबाट लडेर बच्न सकेन । आमा स्तब्ध भई । तर उनले बच्चालाई त्यत्तिकै छोडिनन् ।

एक दिन ।

दुई दिन ।

तीन दिन ।

उनले मृत बच्चालाई छातीमा च्यापेर हिँडिरहिन् । कहिलेकाहीँ उसलाई सुम्सुम्याउँथिन् । कहिलेकाहीँ उसको अनुहार चाट्थिन् । हुलका सदस्यहरू चुपचाप पछिपछि लागिरहे । सिन्दुरेले त्यो दृश्य धेरैपटक देखेकी थिई । मृत्यु बुझ्न नसक्ने होइन । छुट्टिन नसक्ने माया थियो त्यो ।

त्यो दृश्यले वनमा अनुसन्धान गरिरहेका धेरै मानिसलाई पनि निःशब्द बनाइदिएको थियो । ममता प्रजातिले होइन, मनमुटुले छुट्याउँदो रहेछ ।

 

साँझ पर्दै थियो । लंगुरहरू वनभित्रै हराए । आसामी पहरेहरू अर्को डाँडातिर लागे । तर सिन्दुरेको हुल भने फेरि गाउँतिर हेर्न थाल्यो । उनीहरू अरूभन्दा धेरै अनुकूलन गर्न सक्ने थिए । परिस्थिति बदलियो भने बाटो बदल्थे । खाना बदलियो भने आहार बदल्थे । खतरा बदलियो भने रणनीति बदल्थे । यही अनुकूलन गर्ने क्षमताले उनीहरूलाई बाँच्न सिकाएको थियो । तर यही क्षमताले मानिससँगको द्वन्द्व पनि बढाएको थियो ।

 

जंगलको डिलमा उभिएर सिन्दुरेले तलका खेतहरू हेरिन् । टाढाबाट योगेन्द्रप्रसाद आफ्नो बारीमा पहरा दिइरहेका देखिन्थे । माथिबाट हेर्दा उनीहरू शत्रु जस्ता देखिन्थे । तर प्रकृतिको गहिरो दृष्टिले हेर्दा दुवै एउटै संघर्षका पात्र थिए । एउटाले बुद्धि प्रयोग गरेर आफ्नो हुल बचाइरहेको थियो । अर्कोले श्रम प्रयोग गरेर आफ्नो परिवार ।

जंगलमा तीन प्रजातिका बाँदर थिए । तर मानिसका आँखामा प्रायः सबै एउटै देखिन्थे । सायद यही गलत बुझाइले समस्या अझ जटिल बनाएको थियो । कसैलाई चिन्नुअघि उसको नाम, स्वभाव र जीवन बुझ्नुपर्छ ।

जंगलले पनि त्यही पाठ सिकाइरहेको थियो ।

५: वन विनाशको कथा

पानी परेर आकाश खुलेको बिहान थियो । सिन्दुरेको हुल एउटा डाँडाको टुप्पोमा बसेर तल फैलिएको उपत्यका हेरिरहेको थियो । त्यही डाँडाबाट धेरै टाढासम्म हरिया वन देखिन्थे । तर सिन्दुरेका आँखाले त्यो हरियालीमा पनि एउटा अभाव देख्थिन् । हरियो सबै वन एउटै हुँदैन । कतिपय वनले जीवन दिन्छन् । कतिपयले केवल छायाँ ।

 

उदयपुरको ताप्ली गाउँपालिका–५।

चक्रबहादुर मंग्राती आफ्नो पुख्र्यौली घरको आँगनमा उभिएका थिए । घर अझै उस्तै थियो । ढुङ्गाको गारो, खरको पुरानो सम्झना बोकेको टिनको छाना र आँगनको एकछेउमा बूढो आँपको रुख । तर गाउँ उस्तै थिएन । उनको खेत पनि उस्तै थिएन । बुबाले जोतेको बारी अहिले झाडीले ढाक्न थालेको थियो ।

कहिलेकाहीँ उनी कीर्तिपुरबाट गाउँ फर्किन्थे । केही दिन बस्थे । अनि फेरि मजदुरी गर्न राजधानी फर्किन्थे । कहिल्यै उनले सोचेका थिएनन् कि एउटा किसान आफ्नो जन्मभूमि छोडेर अर्काको घर बनाउने मजदुर बन्नुपर्ने दिन पनि आउँछ ।

 

आँगनमा बसेका उनका बूढा काकाले सोधे,

"अब फेरि खेती गर्ने सोच छ कि ?"

चक्रबहादुर मुस्कुराए । त्यो मुस्कानमा आशाभन्दा बढी पीडा थियो ।

"खेती कसरी गर्ने, काका ? बाली पाक्न नपाउँदै बाँदर आउँछन् । दिनरात रुँगालो बस्न सकिँदैन । छोराछोरी पढाउनुपर्छ । घर चलाउनुपर्छ ।"

काकाले टाढाको डाँडातिर हेरे ।

"हामी साना हुँदा जंगल बेग्लै थियो ।"

चक्रबहादुर चुपचाप सुनिरहे ।

 

"त्यो डाँडाभरि काफल थियो," काकाले औँलाले देखाए ।

"उता लप्सीका रुख थिए ।"

"खोल्साको माथि चुत्रो र ऐँसेलुका झाडी थिए ।"

"कटुस यति धेरै हुन्थ्यो कि झोलाभरि टिपेर ल्याउँथ्यौँ ।"

उनी केही क्षण रोकिए ।

"त्यो बेला बाँदर गाउँ झर्थे, तर कहिलेकाहीँ मात्र । जंगलमै उनीहरूलाई पुग्दो खाना थियो ।"

चक्रबहादुरले अहिलेको डाँडातिर हेरे ।  काफल थिएन । लप्सी थिएन । चुत्रो थिएन । रैथाने फलफूलका अधिकांश रुखहरू हराइसकेका थिए ।

 

वर्षौँअघि मानिसले जंगल फँडानी गर्न थाले । कसैले खेत विस्तार गरे । कसैले काठ काटे । कतै नयाँ बस्ती बस्यो । कतै सडक पुग्यो । वनको क्षेत्रफल मात्रै घटेको थिएन । वनको स्वरूप पनि बदलिएको थियो । जहाँ अनेकौँ जातका फलफूलका रुख थिए, त्यहाँ विस्तारै एउटै प्रकारका रुख बढ्न थाले । जंगल हरियो देखिन्थ्यो । तर त्यस हरियालीभित्र बाँदरका लागि चाहिने भोजन कम हुँदै गइरहेको थियो ।

सिन्दुरेले पनि यही परिवर्तन आफ्नै जीवनमा देखेकी थिई । उनी जवान हुँदा एक दिनभरि वनभित्रै घुमे पुग्थ्यो । आज त्यही दूरी हिँडेर पनि बच्चाहरूको पेट भरिँदैनथ्यो ।

 

वनको अर्को परिवर्तन मानिसको आँखाले सजिलै देख्दैनथ्यो । पहिले जंगलमा चितुवाको उपस्थिति सामान्य मानिन्थ्यो । बाँदरहरूको हुल सधैँ सतर्क रहन्थ्यो । कमजोर, बिरामी वा असावधान सदस्यहरू सजिलै बाँच्न सक्दैनथे । प्रकृतिले आफ्नै सन्तुलन बनाएको थियो । तर समयसँगै चितुवा घट्दै गए । कतै बासस्थान साँघुरियो । कतै मानिससँगको द्वन्द्व बढ्यो । कतै सिकारका कारण संख्या कम भयो । वनको एउटा प्राकृतिक नियन्त्रण कमजोर हुँदै गयो । बाँदरहरूका लागि खतरा कम भयो । तर खाना भने बढेन ।

फलस्वरूप उनीहरूको संख्या विस्तारै बढ्दै गयो, जबकि उपलब्ध प्राकृतिक आहार घट्दै गइरहेको थियो । त्यो असन्तुलनको भार अन्ततः गाउँले बोक्न थाले ।

 

कीर्तिपुरमा चक्रबहादुर बिहानदेखि साँझसम्म निर्माणस्थलमा काम गर्थे ।

हातमा बेल्चा ।

काँधमा सिमेन्ट ।

मनमा भने आफ्नै गाउँ ।

दिउँसो साथीहरूले सोध्थे,

"तिम्रो यति धेरै जमिन रहेछ, किन खेती गर्दैनौ ?"

उनी उत्तर दिन मुस्किल मान्थे । जमिन हुनु र त्यसबाट जीवन चल्नु एउटै कुरा होइन । कहिलेकाहीँ उनले मोबाइलमा आफ्नी श्रीमतीले पठाएको भिडियो हेर्थे । बाँदरको हुल बारीभरि दौडिरहेको हुन्थ्यो । महिनौँको मेहनत केही मिनेटमै उजाडिएको देखिन्थ्यो । त्यो दृश्य हेरेपछि उनी केहीबेर काम गर्न पनि सक्दैनथे ।

 

उता जंगलमा सिन्दुरे आफ्ना नातिनातिनालाई लिएर एउटा पुरानो डिलमा पुगिन् । त्यहाँ एउटा निकै बूढो काफलको रुख अझै बाँकी थियो । रुख जीवित थियो । तर फल थोरै लागेका थिए । बच्चाहरूले हाँगाभरि खोजे । मुठीभरि पनि काफल भेटिएन ।

सिन्दुरेले टाढा मानिसको बस्ती हेरिन् ।

उनीलाई थाहा थियो—

आज पनि साँझतिर गाउँ झर्नैपर्छ ।

उनको त्यो निर्णय रहरले होइन, बाध्यताले जन्माएको थियो ।

 

त्यसै साँझ चक्रबहादुर फेरि कीर्तिपुर फर्कने बसमा चढे । बस बिस्तारै गाउँबाट तल झर्‍यो । झ्यालबाट उनले आफ्नो बारीलाई अन्तिमपटक हेरे । त्यो बारीमा अहिले कसैले हलो जोतेको थिएन । जंगलको डिलमा भने सिन्दुरेको हुल उभिएको थियो । दुवैले एकअर्कालाई देखेनन् ।

तर दुवै एउटै कथाका पात्र थिए।

एउटाले आफ्नो वन गुमाउँदै थियो ।

अर्कोले आफ्नो खेत ।

वनको विनाशले सुरु गरेको एउटा सानो परिवर्तन, वर्षौँपछि मानिस र बाँदर दुवैको जीवनमा गहिरो पीडाको रूपमा फर्किएको थियो ।

यो द्वन्द्व अचानक जन्मिएको थिएन ।

यसको बीउ धेरै पहिले रोपिएको थियो—त्यो दिन, जब जंगललाई केवल काठ र जमिनका रूपमा हेरियो, जीवित घरका रूपमा होइन ।

६: सहर र गाउँको फरक

सिन्दुरे पहिलोपटक मानिसको घरभित्र पस्दा निकै डराएकी थिई ।

त्यो धेरै वर्षअघिको कुरा थियो । त्यतिबेला गाउँका घरका ढोका खुला हुन्थे । मानिसहरू खेतमा हुन्थे । भान्सामा राखिएको केही मकै वा फलफूल लिएर उनीहरू तुरुन्त जंगल फर्किन्थे । तर समय फेरियो । अब बाँदरहरू केवल खेतमा सीमित रहेनन् । उनीहरू गाउँबाट बजार पुगे । बजारबाट सहरतिर । र मानिससँगको दूरी झन् साँघुरिँदै गयो ।

 

धरानको एउटा बस्ती । बिहानको आठ बज्न लागेको थियो । पञ्चमाया राई भान्सामा खाना पकाउँदै थिइन् । नाति बैठकको भुइँमा खेलिरहेको थियो । अचानक छानामाथि ठूलो आवाज आयो ।

"धप्प... धप्प..."

पञ्चमायाले बाहिर हेर्न नपाउँदै झ्यालबाट एउटा रातो बाँदर भित्र पस्यो । त्यसको पछिपछि अरू दुईवटा पनि । एउटाले फलफूल राखेको टोकरी समात्यो । अर्कोले रोटी टिप्यो । तेस्रो सिधै दराजमाथि उक्लियो ।

"हट्... हट्..."

पञ्चमाया कराइन् । तर कराउनुको सट्टा नाति डराएर रुन थाल्यो । बच्चा रोएको आवाज सुनेर एउटा बाँदर एकछिन उसको नजिकै पुग्यो । पञ्चमायाको मुटु एकाएक ढुकढुकाउन थाल्यो । उनले नातिलाई काखमा तानिन् । बाँदरहरू केही क्षण घरभित्रै उफ्रिए । कपडा तानातान भए । भित्तामा झुन्डिएको एउटा लुगा च्यातियो । भान्साको भाँडा लड्यो । खानेकुराका डब्बा छरपस्ट भए । त्यसपछि उनीहरू छत हुँदै बाहिर निस्किए । घर फेरि शान्त भयो । तर त्यो शान्तिमा डर मिसिएको थियो ।

 

केही टाढा अर्की महिला, मनीषा देवान, आफ्नै अनुभव सुनाइरहेकी थिइन् ।

"पहिला हामी झ्याल खुलै राख्थ्यौँ," उनले भनिन् ।

"अहिले पाँच मिनेट पनि खुला छोड्न सकिँदैन ।"

उनले घरको जाली देखाइन् । सबै झ्यालमा फलामको तार जडान गरिएको थियो । ढोकामा थप कडी लगाइएको थियो । छानाको एउटा भाग पनि बन्द गरिएको थियो ।

"यी सबै चोरका लागि होइन," उनी मुस्कुराइन्, "बाँदरका लागि हो ।"

त्यो मुस्कानभित्र थकान थियो ।

 

धरानका केही बासिन्दा एउटा हलमा भेला भएका थिए ।

कोही किसान ।

कोही शिक्षक ।

कोही व्यापारी ।

कोही गृहिणी ।

सबैको कथा फरक थियो ।

तर समस्या एउटै ।

कसैले भन्यो,

"बारी सखाप पार्छ ।"

अर्काले भन्यो,

"घरभित्रै पस्छ ।"

तेस्रोले भन्यो,

"बच्चा खेलिरहेको बेला झम्टिन खोज्यो ।"

चौथोले थप्यो,

"अब त वृद्धहरू पनि एक्लै बाहिर निस्कन डराउन थाले ।"

यही पीडाले उनीहरूलाई एउटै ठाउँमा ल्याएको थियो ।

उनीहरूले एउटा संस्था बनाए—

'बाँदरपीडित संघर्ष समिति ।'

त्यो नाममा आक्रोशभन्दा बढी विवशता लुकेको थियो ।

 

समितिको बैठकमा सबैभन्दा बढी उठ्ने प्रश्न एउटै थियो ।

"अब के गर्ने ?"

कसैले बाँदरलाई समातेर अन्तै लैजानुपर्ने प्रस्ताव राख्यो । कसैले सरकारी टोली माग्यो । कसैले क्षतिपूर्ति दिनुपर्ने कुरा गर्‍यो । तर हरेक छलफलको अन्त्य एउटै वाक्यमा पुग्थ्यो ।

"हाम्रो कुरा सुन्ने कोही छैन ।"

उनीहरूले धेरै ठाउँमा निवेदन दिएका थिए ।

स्थानीय तह ।

वन कार्यालय ।

सम्बन्धित निकाय ।

कहिलेकाहीँ टोली आएर अवस्था हेर्थ्यो । तस्बिर खिच्थ्यो । प्रतिवेदन बन्थ्यो । तर समस्या भने जस्ताको तस्तै रहन्थ्यो । दिन बित्थे । बाँदरको हुल फेरि आउँथ्यो ।

 

त्यसै साँझ सिन्दुरेको हुल धरानको बाहिरी क्षेत्रमा आइपुग्यो । उनीहरूलाई जंगलभन्दा यहाँ धेरै गन्ध आउँथ्यो ।

फलफूल ।

रोटी ।

बिस्कुट ।

पकाएको भात ।

मानिसले छोडेका खानेकुरा ।

साना बाँदरहरू उत्साहित थिए । तर सिन्दुरे भने सतर्क थिई ।

उनलाई थाहा थियो—

सहरमा खाना बढी छ । तर जोखिम पनि बढी छ । यहाँ गाडी छन् । बिजुलीका तार छन् । भीड छ । डराएका मानिस छन् । र कहिलेकाहीँ रिसले भरिएका मानिस पनि ।

 

एउटा सानो बाँदरले सडक किनारमा फालिएको प्लास्टिकको झोला खोलेर केही खान खोज्यो । सिन्दुरे तुरुन्तै त्यसलाई तानेर पछाडि लगिन् । बच्चाले असन्तुष्ट हुँदै करायो ।

तर सिन्दुरेले धेरै वर्षको अनुभवले सिकेकी थिई—

मानिसको संसारमा देखिने सबै कुरा खाना हुँदैन ।

 

उता पञ्चमाया राति ढोका बन्द गर्दै थिइन् । झ्याल जाँचिन् । छाना हेरिन् । आँगनमा केही खाना छुटेको छैन भन्ने निश्चित गरिन् । घर आफ्नै थियो । तर घरभित्र सुरक्षित महसुस गर्न उनले पहिलेभन्दा धेरै सावधानी अपनाउनुपर्थ्यो ।

उता सिन्दुरे पनि आफ्ना बच्चाहरूलाई बीचमा राखेर निदाउन तयार भइन् । उनी पनि सुरक्षित स्थान खोजिरहेकी थिई ।

मानिस र बाँदर दुवैको रात बेचैन थियो ।

एकातिर घरभित्र पस्ने डर ।

अर्कोतिर भोलि कहाँबाट खाना जुटाउने चिन्ता।

समस्या गाउँमा मात्र सीमित रहेन । यो सहरसम्म आइपुगेको थियो ।

र त्यसले एउटा गम्भीर प्रश्न उठाएको थियो—

यदि जंगल र मानिसबीचको दूरी यसरी नै घटिरह्यो भने, भोलिको नेपालमा बाँदरको घर कहाँ हुनेछ ?

र मानिसको घर कति सुरक्षित रहनेछ ?

७: धार्मिक विरोधाभास

शनिबार बिहान थियो ।

मन्दिरको घण्टी निरन्तर बजिरहेको थियो । धूपको सुगन्ध हावामा फैलिएको थियो । भक्तजन हातमा प्रसाद, फलफूल र बिस्कुटका प्याकेट लिएर उकालो चढिरहेका थिए । मन्दिरको वरिपरिका पीपल र बरका रुखमा रातो बाँदरहरूको हुल पहिलेदेखि नै बसेको थियो ।

सिन्दुरे पनि त्यही हुलसँगै थिई । उसले धेरै वर्षदेखि यो दृश्य दोहोरिएको देखेकी थिई ।

घण्टी बज्ने ।

मानिस आउने ।

प्रसाद चढाउने ।

अनि बाँदरतिर केही खानेकुरा फ्याँक्ने । साना बाँदरहरू दौडेर टिप्ने । ठूलाहरूले तानातान गर्ने । कहिलेकाहीँ झगडा पनि हुने । यो उनीहरूको जीवनको एउटा नियमित हिस्सा बनिसकेको थियो ।

 

मन्दिरको भर्‍याङ चढ्दै गरेका एक वृद्ध भक्तले मुस्कुराउँदै भने,

"हनुमानजी आएका छन् । प्रसाद खुवाऔँ, पुण्य मिल्छ ।"

उनले केरासँगै चाउचाउको प्याकेट पनि फ्याँकिदिए । अर्काले बिस्कुट फ्याँके । कसैले चिप्स । कसैले मीठा रङ्गीन पेय पदार्थको बोतल खोलेर बाँकी रहेको तरल पदार्थ ढुङ्गामाथि खन्यायो । साना बाँदरहरू त्यसतिर झम्टिए । उनीहरूलाई यो भोजन जंगलमा कहिल्यै भेटिँदैनथ्यो ।

 

मन्दिरको चौतारामा बसेका एक वृद्ध पुजारीले त्यो दृश्य गम्भीर भएर हेरिरहेका थिए । उनी धेरै वर्षदेखि यही मन्दिरमा पूजा गर्दै आएका थिए ।

उनले एक युवकलाई सोधे,

"तिमीले के खुवायौ ?"

"बिस्कुट ।"

"किन ?"

"माया लागेर ।"

पुजारी केहीबेर मौन रहे ।

त्यसपछि शान्त स्वरमा भने,

"माया भनेको जे मन लाग्यो त्यही खुवाउनु होइन । जसलाई जे आवश्यक छ, त्यही दिनु हो ।"

युवक अचम्म पर्‍यो ।

पुजारीले मन्दिर वरिपरि उफ्रिरहेका बाँदरहरूतिर हेर्दै थपे,

"हनुमानको सम्मान गर्ने नाममा यदि हामी उनीहरूको प्राकृतिक जीवन बिगार्दै छौँ भने त्यो श्रद्धा हो कि अज्ञान ?"

 

त्यसै दिन त्यहाँ वन्यजन्तु अध्ययन गरिरहेकी एक युवा अनुसन्धानकर्ताले केही तथ्य सुनाइन् ।

"बाँदरको शरीर प्राकृतिक वनस्पति, फलफूल, कोपिला, बीउ र जंगलमा पाइने विविध आहारका लागि अनुकूलित हो ।"

उनले बिस्कुटको खाली खोल देखाउँदै भनिन्,

"मानिसले दिने अत्यधिक चिल्लो, नुनिलो र चिनी धेरै भएका प्रशोधित खानेकुराले उनीहरूको स्वास्थ्यमा असर गर्न सक्छ । यस्ता खानेकुराको बानी परेपछि उनीहरू मानिसमाथि निर्भर बन्दै जान्छन्, आक्रामक व्यवहार बढ्न सक्छ र प्राकृतिक रूपमा आहार खोज्ने बानी पनि कमजोर हुन सक्छ ।"

त्यहाँ उपस्थित धेरै मानिस पहिलोपटक यस्ता कुरा सुनिरहेका थिए । उनीहरूले अहिलेसम्म बाँदरलाई खाना खुवाउनु दया ठानेका थिए । त्यसको दीर्घकालीन असरबारे कमैले सोचेका थिए ।

 

सिन्दुरेको हुलमा पनि परिवर्तन देखिन थालेको थियो । साना बाँदरहरू जंगलका केही फलभन्दा मानिसले फालेको बिस्कुट चाँडो टिप्न दौडिन्थे । केही जवान भालेहरू पहिलेभन्दा बढी झगडालु भएका थिए । खाना हातमा लिएर भागिरहेका मानिसको पछि लाग्ने बानी पनि बढेको थियो ।

सिन्दुरेले आफ्ना पुराना दिन सम्झिइन् । त्यतिबेला बच्चाहरूले काफलको स्वाद चिन्दथे । अहिले धेरैले बिस्कुटको गन्ध पहिले चिन्न थालेका थिए । उनीलाई त्यो परिवर्तन मन परेको थिएन । तर उनले त्यसलाई रोक्न पनि सक्दिनथिइन् ।

 

केही महिनापछि अनुसन्धानकर्ताहरू फेरि मन्दिर वरिपरि आएका थिए । उनीहरूले हुलको संख्या टिपिरहेका थिए । बच्चाहरूको अवस्था हेर्दै थिए ।

त्यसमध्ये एक जनाले भने,

"केही क्षेत्रमा मानिसबाट नियमित रूपमा ऊर्जा धेरै भएका खानेकुरा पाउने बाँदरहरूको प्रजनन ढाँचामा परिवर्तन देखिएको भन्ने अध्ययनहरू छन् । कतिपय स्थानमा वर्षमा दुई पटक बच्चा जन्माउने वा जुम्ल्याहा बच्चा देखिने घटना पनि अभिलेख भएका छन् । तर यस्तो परिवर्तनका कारण धेरै जटिल हुन्छन्—आहार, वातावरण, स्वास्थ्य र अन्य जैविक पक्षहरू सबैले भूमिका खेल्न सक्छन् ।"

उनीहरूको उद्देश्य डर फैलाउनु होइन । प्रकृतिको सन्तुलन बुझाउनु थियो ।

 

त्यसै साँझ मन्दिर रित्तिन थाल्यो । भक्तजन घर फर्किए । तर मन्दिरको भर्‍याङमा चाउचाउका खोल, प्लास्टिकका टुक्रा र केही बाँकी प्रसाद छरिएका थिए । साना बाँदरहरू ती वस्तु केलाउँदै थिए । सिन्दुरे तल झरी । उसले एउटा बच्चाको हातबाट प्लास्टिकको टुक्रा खोसेर टाढा फालिदिई । त्यसपछि उसले वरिपरि हेरी ।

मन्दिर अझै उस्तै थियो । घण्टी उस्तै बजिरहेको थियो । तर मानिस र बाँदरबीचको सम्बन्ध भने बिस्तारै बदलिँदै थियो ।

 

रात पर्न लाग्दा पुजारी मन्दिरको ढोका बन्द गर्दै थिए ।

उनले हनुमानको मूर्तितिर हेरेर मनमनै भने,

"तपाईंको नाममा हामीले करुणा सिक्यौँ । तर करुणा भनेको प्रकृतिको नियम भत्काएर निर्भरता सिर्जना गर्नु होइन । साँचो श्रद्धा भनेको हरेक जीवलाई उसको स्वाभाविक जीवन बाँच्न मद्दत गर्नु हो ।"

डाँडामाथि सिन्दुरेको हुल पनि वनतिर फर्कँदै थियो । आज उनीहरूको पेट भरिएको थियो । तर त्यो भोजनले उनीहरूलाई जंगलभन्दा मानिसको संसारतिर अझ एक पाइला तानेको थियो ।

आस्थाले मानिसलाई दयालु बनाएको थियो ।

तर विवेकबिना गरिएको दयाले कहिलेकाहीँ प्रकृतिको सन्तुलन नै बदलिदिन सक्छ भन्ने कुरा न मानिसले पूर्ण रूपमा बुझेका थिए, न बाँदरले ।

८: अल्पकालीन प्रयासहरू

अर्को बिहान गाउँमा अनौठो हलचल थियो । सामान्य दिनजस्तो मानिस खेततिर काम गर्न गइरहेका थिएनन् । सबैका हातमा केही न केही थियो । कसैसँग टिनका पुराना पाता थिए । कसैसँग लठ्ठी । कसैले खाली ड्रम बोकेका थिए । युवाहरूले डोरीमा पुराना कपडा झुन्ड्याएर मानिसजस्ता पुत्ला बनाइरहेका थिए । त्यो दिन खेती गर्ने दिनभन्दा बढी बाँदर धपाउने दिन थियो ।

 

योगेन्द्रप्रसाद बिहानै बारीमा पुगे । उनले खेतको बीचमा पुरानो सर्ट, टोपी र परालले एउटा पुत्ला उभ्याए । टाढाबाट हेर्दा साँच्चै मानिसजस्तै देखिन्थ्यो ।

श्रीमतीले हाँस्दै भनिन्,

"यसपालि त अलिक दिन तर्सिएलान् कि ?"

योगेन्द्रले पनि केही आशा गरे । सायद यसपालि बाली जोगिएला ।

 

जंगलको डिलमा सिन्दुरेको हुल बसेर तल हेरिरहेको थियो । एउटा जवान भालेले नयाँ उभिएको पुत्लातिर हेरेर एकछिन रोकियो ।

"मानिस !"

ऊ पछाडि हट्यो । सिन्दुरेले लामो समयसम्म त्यो आकृति नियाली । न त त्यो हल्लियो । न त बोल्यो । न त हिँड्यो । केही बेरपछि उनी आफैँ बिस्तारै नजिकिइन् । रुखबाट रुखमा सर्दै उनी खेतको किनारसम्म आइपुगिन् । अझै केही भएन । त्यसपछि उनले एउटा मकै टिपिन् । पुत्लाले कुनै प्रतिक्रिया जनाएन । एकछिनमै पूरै हुल खेतमा फैलियो । पुत्ला खेतको बीचमा उभिएर हेर्दै रह्यो । उसले कसैलाई रोक्न सकेन ।

 

त्यसपछि गाउँलेहरूले अर्को उपाय अपनाए । टिनका पाता झुन्ड्याइए । हावा चल्दा ठट्ठट्ठ आवाज आउँथ्यो । पहिलो दिन बाँदरहरू तर्सिए । दोस्रो दिन केही पर बसे ।

तेस्रो दिन उनीहरूलाई थाहा भयो—

यो आवाजले चोट पुर्‍याउँदैन । आवाजसँगै उनीहरूको डर पनि हराउँदै गयो ।

 

लालीगुराँस नगरपालिकामा त्यस वर्ष फरक निर्णय गरियो । बाँदरको समस्या अत्यधिक बढेपछि स्थानीय सरकारले एक दिन सार्वजनिक बिदा नै घोषणा गर्‍यो । त्यो दिन विद्यालय बन्द भए । केही कार्यालय पनि बन्द भए ।

गाउँका अधिकांश मानिस एउटै उद्देश्य लिएर निस्किए—

बाँदरलाई सामूहिक रूपमा जंगलतिर धपाउने ।

टिन बजाइयो । ड्रम पिटियो । सिटी फुकियो । लठ्ठी ठोकियो । पहाडभरि मानिसका आवाज गुञ्जिए । सिन्दुरेको हुलसहित धेरै बाँदर जंगलको गहिराइतिर भागे । त्यो दिन गाउँलेहरूले केही राहतको सास फेरे ।

 

तर सिन्दुरेले त्यो दिन बिर्सिनन् । केही दिन उनीहरू जंगलभित्रै बसे । भोक सहे । बच्चाहरू कराए । त्यसपछि उनी फेरि डिलमा उक्लिइन् ।  गाउँ शान्त थियो । टिन बजेको थिएन । मानिस आफ्नै काममा फर्किसकेका थिए । उनी फेरि तल झरिन् । जीवन फेरि पुरानै चक्रमा फर्कियो ।

 

कतिपय किसानले सोलार फेन्स पनि लगाए । सूर्यको उज्यालोबाट चल्ने विद्युतीय घेराबार । पहिलोपटक बाँदरहरू त्यसको नजिकै गएनन् । केहीले सामान्य झड्का पनि महसुस गरे । उनीहरू केही समय टाढै बसे । तर समय बित्दै जाँदा उनीहरूले कमजोर ठाउँ खोज्न थाले ।

कतै तार भाँचिएको थियो । कतै रुखको हाँगा घेराबारमाथि झुकेको थियो । त्यही बाटो हुँदै उनीहरू फेरि खेतमा पसे ।

 

वन कार्यालयका प्राविधिकले अर्को उपाय सुझाए ।

"कागती, टिमुर र खुर्सानीको गन्ध बाँदरलाई मन पर्दैन ।"

गाउँलेहरूले खेतको वरिपरि त्यही मिश्रण छरे । पहिलो केही दिन बाँदरहरू सचेत देखिए । साना बाँदरहरूले नाक सुँघ्दै पछाडि हटे । तर केही दिनपछि एउटा जवान भाले अघि बढ्यो । उसले माटो सुँघ्यो । अलिकति परबाट खेतमा पस्यो । केही भएन । त्यसपछि अरू पनि भित्रिए । गन्ध पनि अब उनीहरूका लागि नयाँ रहेन ।

 

योगेन्द्रप्रसाद साँझ घर फर्कँदा थाकेका थिए । आज उनले खेतीभन्दा बढी बाँदर धपाएका थिए । घरको आँगनमा बसेर उनले लठ्ठी भित्तामा अड्याए ।

श्रीमतीले सोधिन्,

"कति दिन यसरी धपाइरहन सकिन्छ ?"

योगेन्द्रसँग उत्तर थिएन ।

 

उता जंगलमा सिन्दुरे आफ्ना साना सदस्यहरूलाई हेरिरहेकी थिई । आज एउटा बच्चाले टिनको आवाज सुनेर भागेन । अर्कोले पुत्लालाई मानिस ठानेन । तेस्रोले सोलार फेन्सको कमजोर ठाउँ सम्झियो ।

सिन्दुरेले महसुस गरिन्—

अनुभव केवल मानिसले मात्र सिक्दैन । बाँदरहरूले पनि सिक्छन् । उनीहरू पनि सम्झन्छन् । उनीहरू पनि नयाँ परिस्थितिमा आफूलाई बदल्छन् ।

 

केही सातापछि गाउँ फेरि उस्तै भयो । पुत्ला उभिएकै थियो । टिन बजिरहेकै थियो । कागती–टिमुर–खुर्सानीको गन्ध पनि बाँकी थियो । तर बाँदरहरू फेरि बारीमा थिए ।

योगेन्द्रप्रसादले टाढाबाट सिन्दुरेको हुललाई हेरे । सिन्दुरेले पनि केही क्षण उनलाई हेरिन् । दुवैले आ–आफ्नो लडाइँ जारी राखेका थिए ।

त्यो दिन गाउँका एक वृद्धले गहिरो स्वरमा भने,

"समस्या त धपाइरहेका छौँ, तर समाधान गरेका छैनौँ ।"

त्यो वाक्य हावासँगै पहाडभरि फैलियो । किनकि टिनको आवाज, पुत्ला, हेरालु, बन्दुकको आवाज, सोलार फेन्स वा तीखो गन्धले केही समयका लागि बाँदरलाई रोक्न सक्थ्यो ।

तर भोकलाई रोक्न सक्दैनथ्यो ।

र जबसम्म भोकको कारण जस्ताको तस्तै रहन्छ, त्यसबेलासम्म कुनै पनि उपाय केवल केही दिनको विराम मात्र हुने थियो ।

९: स्थानान्तरणको असफलता

वर्षौँदेखि चलिरहेको द्वन्द्वले गाउँलेहरूलाई थकाइसकेको थियो । टिन बजाएर, लठ्ठी देखाएर, पुत्ला उभ्याएर र रातभरि रुँगालो बसेर पनि समस्या जस्ताको तस्तै थियो । त्यसैले एक दिन गाउँको चौतारामा फेरि बैठक बस्यो ।

"अब एउटै उपाय बाँकी छ," कसैले भन्यो, "यी बाँदरलाई समातेर अन्तै लैजानुपर्छ ।"

धेरैले सहमति जनाए । उनीहरूलाई लाग्यो—बाँदर गएपछि समस्या पनि जानेछ । तर प्रकृतिका समस्याहरू यति सजिलै एक ठाउँबाट अर्को ठाउँमा सारिँदैनन् ।

 

केही महिनापछि सिन्दुरेको हुलमा अनौठो घटना भयो । बिहानै जंगलमा मानिसहरूको ठूलो टोली आयो ।

जाल ।

पिँजडा ।

फलफूलको प्रलोभन ।

साना बाँदरहरू उत्सुकताले नजिकिए । सिन्दुरेले खतरा महसुस गरिन् । उनले ठूलो स्वर निकालेर सबैलाई पछि हट्न संकेत गरिन् । तर ढिलो भइसकेको थियो । जवान भाले बाँदर एउटा पिँजडाभित्र पस्यो । ढोका एक्कासि बन्द भयो । त्यसको करुण चिच्याहटले जंगल गुञ्जियो ।

त्यसपछि अर्को ।

अर्को ।

एकपछि अर्को गर्दै धेरै बाँदर समातिए । सिन्दुरे आफ्ना केही सदस्यसँग टाढाको रुखमा लुकेर त्यो दृश्य हेर्दै रहिन् । उनले जीवनमा पहिलोपटक आफ्नो परिवारलाई यसरी छुट्टिँदै गरेको देखिरहेकी थिइन् ।

 

समातिएका बाँदरहरूलाई गाडीमा राखियो । उनीहरू धेरै टाढा लगिए ।

लामो यात्रा ।

अपरिचित बाटो ।

अन्ततः उनीहरूलाई अर्को जंगलमा छोडियो ।

नयाँ वन ।

नयाँ रुख ।

नयाँ गन्ध ।

तर त्यो वन खाली थिएन ।

त्यहाँ पहिलेदेखि नै अर्को बाँदरको हुल बसोबास गरिरहेको थियो । नयाँ आएका बाँदरहरूका लागि त्यो उनीहरूको घर थिएन । त्यो अरू कसैको क्षेत्र थियो ।

 

केही दिनमै समस्या सुरु भयो । खानाका स्रोत सीमित थिए । नयाँ हुलले पुराना हुलसँग दूरी कायम गर्न सकेन । कहिलेकाहीँ झगडा भयो । कतिपय फेरि मानिसको बस्तीतिर झरे ।

उनीहरूका लागि त्यो पनि अपरिचित ठाउँ थियो । तर भोकले अपरिचित ठाउँ पनि चिन्न सिकाउँछ । यसरी एउटा ठाउँको समस्या अर्को ठाउँमा पुग्यो ।

 

मोरङ जिल्लामा यस्तै अनुभव धेरैले देखिसकेका थिए । विराटनगर जुटमिल क्षेत्रबाट समातिएका केही बाँदरहरूलाई कानेपोखरीको जंगलमा लगेर छोडिएको थियो । सुरुमा धेरैले राहतको सास फेरे ।

"अब त समस्या सकियो," उनीहरूले सोचे ।

तर केही समयपछि कानेपोखरी वरपरका बासिन्दाले नयाँ गुनासो गर्न थाले ।

"पहिले नभएका बाँदर अहिले गाउँ पस्न थाले ।"

जुन समस्या विराटनगरमा थियो, त्यसको छाया अर्को ठाउँमा सरेको थियो । समस्या हराएको थिएन । ठेगाना मात्र फेरिएको थियो ।

 

त्यही विषयमा जिल्ला सदरमुकाममा छलफल आयोजना गरियो । वनका कर्मचारी, स्थानीय प्रतिनिधि, किसान र केही अनुसन्धानकर्ता सहभागी थिए ।

एक किसानले आक्रोश पोखे,

"हामीलाई त राहत चाहिएको हो ।"

एक वन प्राविधिकले शान्त स्वरमा भने,

"राहत र समाधान एउटै कुरा होइन ।"

सबै चुप लागे ।

उनले नक्सा फैलाए ।

"यदि एउटा जंगलमा भएको बाँदर अर्को जंगलमा लगेर छोड्यौँ भने त्यहाँको पारिस्थितिक सन्तुलन पनि बिग्रन सक्छ । पुराना हुलसँग द्वन्द्व हुन सक्छ । फेरि उनीहरू मानिसको बस्तीमा आउन सक्छन् । त्यसैले स्थानान्तरण अत्यन्त सीमित अवस्थामा मात्र विचार गर्न मिल्ने उपाय हो, सबै समस्याको उत्तर होइन ।"

त्यो कुरा धेरैलाई नयाँ लाग्यो ।

 

उता सिन्दुरे आफ्नो हुलका हराएका सदस्यहरू खोजिरहेकी थिई । रुखको टुप्पोमा पुगेर उनले धेरैपटक परिचित आवाज निकालिन् । कसैले उत्तर दिएन । बच्चाहरूले आफ्ना साथी खोजे । आमाहरूले आफ्ना सन्तान । तर जंगल मौन थियो । मानिसका लागि त्यो केवल केही बाँदरको स्थानान्तरण थियो । सिन्दुरेका लागि त्यो परिवारको विछोड थियो ।

 

योगेन्द्रप्रसादले पनि यो समाचार सुने ।

छिमेकीले उत्साहित हुँदै भने,

"अब हाम्रो गाउँका बाँदर पनि अन्तै लगिदिए हुन्थ्यो ।"

योगेन्द्र केहीबेर सोचिरहे ।

उनले बिस्तारै भने,

"यदि त्यहाँका किसानले पनि यही पीडा भोग्नुपर्‍यो भने ? हामीले दुःख सार्‍यौँ कि समाधान गर्‍यौँ ?"

छिमेकीसँग तत्काल उत्तर थिएन ।

 

साँझको सूर्य अस्ताउँदै थियो । सिन्दुरे डाँडामाथि बसेर टाढा क्षितिजतिर हेरिरहेकी थिई । उनीसँग पहिलेभन्दा कम सदस्य थिए । तर भोक उस्तै थियो । जंगल उस्तै थियो । अभाव उस्तै थियो । त्यही बेला योगेन्द्रप्रसाद पनि आफ्नै खेतको डिलमा उभिएर वनतिर हेरिरहेका थिए ।

उनलाई आज पहिलोपटक महसुस भयो—

समस्या कुनै एउटा बाँदरको होइन । कुनै एउटा गाउँको पनि होइन । यो त प्रकृतिको सन्तुलन बिग्रिएपछि जन्मिएको परिणाम हो । यदि कारण जस्ताको तस्तै रह्यो भने, बाँदरलाई जहाँ लगे पनि, समस्या पनि त्यहीँ पछ्याउँदै जानेछ । किनकि घरबाट विस्थापित भएको जीवले नयाँ घर होइन, बाँच्ने ठाउँ खोजिरहेको हुन्छ ।

१०: वैज्ञानिक आवाज

सिन्दुरेको हुल अहिले पहिलेभन्दा धेरै सावधान भएर हिँड्थ्यो । स्थानान्तरणपछि हराएका साथीहरू अझै फर्किएका थिएनन् । जंगलमा खानेकुरा झन् घटेको थियो । गाउँमा झर्दा मानिसको प्रतिरोध झन् बढेको थियो । दुवै संसारका बीचमा उनीहरू दिनदिनै अल्झिँदै गइरहेका थिए ।

यही समयमा जिल्लामा एउटा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

विषय थियो—

"मानव–बाँदर द्वन्द्व : समस्या, विज्ञान र समाधान ।"

हल किसान, वनकर्मी, स्थानीय जनप्रतिनिधि, विद्यार्थी र सञ्चारकर्मीले भरिएको थियो ।

सबै एउटै उत्तर खोजिरहेका थिए ।

 

कार्यक्रममा वन्यजन्तु अनुसन्धानकर्ता करण शाहले आफ्नो प्रस्तुति सुरु गरे । स्क्रिनमा जंगलको एउटा तस्बिर देखियो । त्यसमा एउटा चितुवा र टाढा रुखमा बसेका बाँदर थिए ।

"हामी प्रायः बाँदरलाई मात्र समस्याका रूपमा हेर्छौँ," उनले भने, "तर प्रकृतिमा प्रत्येक जीव अर्को जीवसँग जोडिएको हुन्छ ।"

उनले अर्को तस्बिर देखाए ।

"चितुवा बाँदरको प्रमुख प्राकृतिक सिकारीमध्ये एक हो । जहाँ स्वस्थ वन र प्राकृतिक खाद्य शृङ्खला कायम हुन्छ, त्यहाँ धेरै प्रजातिको जनसंख्या प्राकृतिक रूपमा सन्तुलनमा रहन्छ ।"

हलमा सन्नाटा छायो । किसानहरूले पहिलोपटक बाँदरको समस्यालाई चितुवासँग जोडिएको रूपमा सुन्दै थिए ।

 

त्यसपछि विज्ञ डा. मुकेश चालिसे बोल्न उठे । उनले कुनै आरोप लगाएनन् । कुनै चमत्कारी समाधान पनि सुनाएनन् । बरु एउटा प्रश्न सोधे ।

"यदि तपाईंको घरको भान्सा खाली भयो भने तपाईं कहाँ जानुहुन्छ ?"

कसैले उत्तर दिएन ।

"बाँदरले पनि त्यही गर्छ," उनले भने । "जंगलमा प्राकृतिक आहारा घटेपछि उनीहरू मानिसको खेत र बस्तीमा आउँछन् ।"

उनले नक्सामा विभिन्न जिल्लाहरू देखाए । कतै समस्या धेरै थियो । कतै कम । कतै लगभग थिएन ।

"यसैले," उनले जोड दिए, "एकै उपाय सबै ठाउँमा लागू हुँदैन । प्रत्येक ठाउँको वन, बाँदरको संख्या, मानिसको बसोबास, खेती प्रणाली र भौगोलिक अवस्था फरक हुन्छ । समाधान पनि त्यही अनुसार—साइट स्पेसिफिक—हुनुपर्छ ।"

त्यो वाक्य हलभरि गुञ्जियो ।

 

कार्यक्रमपछि योगेन्द्रप्रसादले डा. चालिसेलाई भेटे ।

"डाक्टर साब," उनले भने, "हामीले त वर्षौँदेखि बाँदर धपाइरहेका छौँ । अब के गर्ने ?"

डा. चालिसे मुस्कुराए ।

"पहिलो काम, जंगललाई फेरि जंगल बनाउने ।"

"कसरी ?"

"जहाँ सम्भव छ, बाँदरका प्राकृतिक आहार हुने रैथाने रुखहरू रोप्ने—काफल, लप्सी, कटुस, चुत्रो, किम्बु, ऐँसेलु, जामुन र अन्य स्थानीय फलफूल । वनभित्र पर्याप्त प्राकृतिक आहार उपलब्ध भयो भने मानिसको खेतमाथिको निर्भरता कम गराउन मद्दत मिल्छ ।"

योगेन्द्र ध्यान दिएर सुनिरहेका थिए । यो उत्तर उनले पहिले कहिल्यै सुनेका थिएनन् ।

 

त्यसपछि करण शाहले अर्को पक्ष उठाए ।

"केवल रुख रोपेर भोलि समस्या समाधान हुँदैन," उनले भने ।

"वन पुनर्स्थापना समय लाग्ने प्रक्रिया हो । त्यसबीचमा वैज्ञानिक व्यवस्थापन पनि आवश्यक पर्छ ।"

उनले भारतको हिमाचल प्रदेशको एउटा उदाहरण सुनाए ।

त्यहाँ केही क्षेत्रमा बाँदरको संख्या व्यवस्थापन गर्न अनुसन्धानका आधारमा पीजेडपी (PZP) गर्भनिरोधक भ्याक्सिन र अन्य प्रजनन नियन्त्रणका विधिबारे परीक्षण तथा प्रयोग भएका थिए ।

"यस्ता उपाय सबै ठाउँमा प्रयोग गर्न मिल्दैन," उनले स्पष्ट पारे । "यसका लागि विस्तृत अध्ययन, कानुनी व्यवस्था, प्राविधिक क्षमता र दीर्घकालीन अनुगमन आवश्यक हुन्छ ।"

हलमा बसेकाहरूले बुझे— विज्ञानले समाधान दिन सक्छ । तर त्यो समाधान पनि जिम्मेवारीसाथ प्रयोग गर्नुपर्छ ।

 

उता जंगलमा सिन्दुरे एउटा बूढो काफलको जरामुनि बसेकी थिई । त्यहाँ केही वनकर्मी आएका थिए । उनीहरू रुख काट्न होइन, बिरुवा रोप्न आएका थिए ।

साना–साना काफल ।

लप्सी ।

कटुस ।

चुत्रो ।

घँगारु ।

सिन्दुरेले उनीहरूलाई टाढाबाट हेरिरही ।

उनीलाई थाहा थिएन—

ती साना बिरुवाले वर्षौँपछि उनका नातिनातिनाको जीवन बदल्न सक्छन् ।

 

महिनौँदेखि गाउँमा पहिलोपटक आशाको कुरा हुन थालेको थियो । टिन ठटाउनेभन्दा ठूलो योजना । गुलेलीभन्दा दिगो सोच । बाँदर धपाउनेभन्दा अघि जंगल सुधार्ने योजना ।

योगेन्द्रप्रसादले घर फर्केर श्रीमतीलाई भने,

"आज डाक्टरहरूले एउटा कुरा सिकाए ।"

"के ?"

"हामी वर्षौँदेखि बाँदरसँग लडिरहेका रहेछौँ । तर अब बुझ्दै छु, वास्तवमा हामीले बिग्रिएको जंगलसँग लड्नुपर्छ ।"

श्रीमती केहीबेर मौन रहिन् । त्यसपछि बिस्तारै भनिन्,

"यदि जंगल फेरि भरियो भने, सायद गाउँ पनि फेरि भरिन्छ ।"

 

साँझपख सिन्दुरेले आफ्ना साना सदस्यहरूलाई लिएर वनको माथिल्लो भागतिर लागिन् । त्यहाँ माटो चिरेर निस्केका केही नयाँ बिरुवा देखिन्थे । तिनीहरू अझै कमजोर थिए । तर जीवनले सधैँ सानो अंकुरबाटै यात्रा सुरु गर्छ । टाढा गाउँमा योगेन्द्रप्रसादले पनि आफ्नै खेतको डिलमा एउटा काफलको बिरुवा रोपे ।

उनलाई थाहा थियो—

त्यसको फल उनले नखान पनि सक्छन् । तर कहिल्यै नदेखेको भविष्यका लागि रोपिएको रुख नै सबैभन्दा ठूलो आशा हुन्छ ।

सायद यही पहिलो दिन थियो, जब मानिस र बाँदर दुवैले एउटै समाधानतर्फ हेर्न थालेका थिए—

प्रकृतिलाई फेरि प्रकृतिजस्तै बनाउने समाधानतर्फ ।

११: पशुपालनको विकल्प

वर्षायाम सकिन लागेको थियो । पहाडका कान्लामा हरियो घाँस लहराउन थालेको थियो । धेरै वर्षदेखि बाँझो छोडिएका खेतहरूमा पनि प्रकृतिले आफ्नै तरिकाले जीवन फर्काइरहेको थियो । जहाँ पहिले मकै र कोदो फल्थ्यो, त्यहाँ अहिले बनमारा, खर र डालेघाँस उम्रिएका थिए ।

योगेन्द्रप्रसाद बिहान खेततिर जाँदै थिए । तर त्यो दिन उनको हातमा न गुलेली थियो, न टिनको पाता । उनको काँधमा कोदालो थियो ।

 

केही दिनअघि गाउँमा कृषि तथा पशुपालनसम्बन्धी छलफल भएको थियो ।

कृषि प्राविधिकले एउटा प्रश्न सोधे,

"तपाईंहरू बाँदरसँग अन्न जोगाउने लडाइँ कहिलेसम्म लड्नुहुन्छ ?"

हलभरि मौनता छायो । त्यसपछि उनले अर्को नक्सा देखाए । त्यसमा पहाडका हजारौँ रोपनी बाँझो जमिन हरियो रङले चिन्ह लगाइएको थियो ।

"यदि यही जमिनमा घाँसेबाली लगाएर पशुपालन विस्तार गरियो भने ?"

धेरै किसानले पहिलोपटक त्यो सम्भावनाबारे गम्भीरतापूर्वक सोचे ।

 

बैठकपछि योगेन्द्रप्रसाद घर फर्किए ।

श्रीमतीले सोधिन्,

"आज के नयाँ कुरा सिकेर आयौ ?"

योगेन्द्रले बिस्तारै भने,

"हामी सधैँ बाँदरले खाने बाली लगाइरहेका छौँ । तर यदि त्यस्तो खेती गरियो, जसमा बाँदरको चासो कम हुन्छ भने ?"

"के भनेको ?"

"घाँसेबाली । पशुपालन ।"

श्रीमती चुप लागिन् ।

उनीहरूका बुबाबाजेको समयमा हरेक घरमा गाईभैँसी हुन्थे । गोठ भरिएका हुन्थे । दूध बेचिन्थ्यो । घ्यू बनाइन्थ्यो । पछि खेतीतिर जोड बढ्यो । गोठ रित्तिँदै गए ।

 

अर्को हप्ता योगेन्द्रप्रसादले आफ्नो बाँझो परेको एउटा कान्लामा नेपियर र अन्य डालेघाँस रोपे ।

छिमेकीले अचम्म माने ।

"अब अन्न नलगाउने ?"

योगेन्द्र मुस्कुराए ।

"सबै जमिनमा होइन । केही जमिनलाई नयाँ तरिकाले प्रयोग गरौँ भन्ने सोच हो ।"

महिनौँपछि त्यो कान्ला बाक्लो हरियो घाँसले भरियो । एक बिहान सिन्दुरेको हुल त्यहाँ आइपुग्यो । साना बाँदरहरूले वरिपरि हेरे । मकै थिएन । आलु थिएन । फल थिएन । उनीहरूले केहीबेर घाँस सुँघे । त्यसपछि अर्को डिलतिर लागे ।

योगेन्द्रले टाढाबाट त्यो दृश्य हेरिरहेका थिए । उनी पहिलोपटक केही नधपाई आफ्नै बारी सुरक्षित देखिरहेका थिए ।

 

त्यही वर्ष गाउँका केही युवाहरू विदेश जाने तयारीमा थिए । तीमध्ये एक थिए—रमेश । वैदेशिक रोजगारीका लागि कागजात तयार भइसकेका थिए । तर गाउँमै पशुपालनसम्बन्धी नयाँ योजना सुरु हुने खबर आयो । स्थानीय सरकारले सहुलियत ऋण, प्राविधिक तालिम र घाँसेबाली विस्तारमा सहयोग गर्ने कार्यक्रम ल्याएको थियो । रमेश दोधारमा परे ।

बुबाले भने,

"विदेश गएर अरूको गोठ सम्हाल्नुभन्दा आफ्नै गाउँमा केही गरौँ ।"

रमेशले अन्ततः जाने निर्णय स्थगित गरे । घरको पुरानो गोठ मर्मत भयो । दुईवटा उन्नत गाई ल्याइए । केही बाख्रा पनि थपिए ।

 

बिस्तारै गाउँमा परिवर्तन देखिन थाल्यो । रित्तिएका गोठमा फेरि घण्टी बज्न थाल्यो । बिहान दूध संकलन गर्ने गाडी आउन थाल्यो । महिलाहरूले दूधबाट छुर्पी बनाउन सिके । युवाहरूले अर्गानिक पशुपालनको तालिम लिए । पशुका लागि चाहिने घाँस आफ्नै बाँझो जमिनमा उत्पादन हुन थाल्यो । पहिले बेवारिसे बनेका कान्लाहरू फेरि हरिया देखिन थाले ।

 

एक दिन कृषि सहकारीको बैठकमा विज्ञले भने,

"नेपालका पहाडी क्षेत्रमा गुणस्तरीय छुर्पी र अर्गानिक पशुजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार हुने सम्भावना छ । यदि उत्पादन, गुणस्तर र बजार व्यवस्थापन राम्रो भयो भने यसले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सक्छ ।"

युवाहरू ध्यान दिएर सुनिरहेका थिए । उनीहरूका आँखामा विदेशको विमानस्थल होइन, आफ्नै गाउँको भविष्य झल्किन थालेको थियो ।

 

सिन्दुरेको हुलले पनि गाउँमा आएको परिवर्तन महसुस गरिरहेको थियो । कतिपय पुराना खेत अब हरिया घाँसे मैदान बनेका थिए । त्यहाँ गाईहरू शान्तसँग चरिरहेका हुन्थे । बाँदरहरू केहीबेर रुखमा बसेर हेर्थे । त्यसपछि वनतिर लाग्थे । त्यो घाँस उनीहरूको रोजाइको आहार थिएन । यसले गाउँ र बाँदरबीचको एउटा सानो दूरी फेरि बनाइरहेको थियो ।

 

साँझ गोठबाट गाई फर्कँदै थिए ।

योगेन्द्रप्रसादले एउटा बाछालाई माया गर्दै सुम्सुम्याए । टाढाको रुखमा सिन्दुरे आफ्ना नातिनातिनासँग बसिरहेकी थिई । आज दिनभरि उनीहरू योगेन्द्रको बारीमा पसेका थिएनन् । न योगेन्द्रले टिन बजाए । न गुलेली चलाए । त्यो सानो परिवर्तनले उनलाई गहिरो सन्तोष दियो ।

उनले श्रीमतीलाई भने,

"सायद सबै जमिनमा एउटै खेती उपयुक्त हुँदैन रहेछ ।"

श्रीमतीले हरियो कान्लातिर हेर्दै उत्तर दिइन्,

"प्रकृतिसँग लडेर होइन, प्रकृतिलाई बुझेर काम गर्दा समाधान भेटिँदो रहेछ ।"

पहाडमाथि सूर्य अस्ताउँदै थियो । हरिया घाँसेबाली हावासँगै लहराइरहेका थिए । गोठबाट गाईको घण्टी बजिरहेको थियो । र टाढाको जंगलमा सिन्दुरेको हुल शान्तिपूर्वक आफ्नो बाटो लागिरहेको थियो । दुवै पक्षले अझै आफ्ना सबै समस्या समाधान गरेका थिएनन् । तर पहिलोपटक, एउटाको जीविकाले अर्काको अस्तित्वलाई कम चुनौती दिन थालेको थियो ।

त्यो सहअस्तित्वको यात्रामा एउटा नयाँ अध्याय थियो ।

१२: स्थानीय तहका प्रयास

शरद ऋतुको उज्यालो बिहान थियो । गाउँको चौतारामा फेरि मानिसहरू भेला भएका थिए । तर यसपालि उनीहरूको अनुहारमा केवल गुनासो थिएन, केही गर्ने इच्छा पनि थियो । वर्षौँदेखि बाँदरसँग संघर्ष गरिरहेका गाउँहरूले अब आफ्नै तहबाट समाधान खोज्ने प्रयास सुरु गरेका थिए ।

योगेन्द्रप्रसाद पनि त्यही भेलामा बसेका थिए ।

स्थानीय जनप्रतिनिधिले नक्सा खोल्दै भने,

"समस्या हाम्रो मात्र होइन । पाल्पादेखि बैतडी, पर्वतदेखि दोलखासम्म धेरै पहाडी गाउँले यही पीडा भोगिरहेका छन् ।"

 

वन प्राविधिकले विभिन्न स्थानीय तहका अनुभव सुनाउन थाले । कतै गाउँपालिकाले बाँदर धपाउन हेरालु नियुक्त गरेको थियो । कतै विशेष बजेट छुट्याइएको थियो । कतै किसानलाई आवाज निकाल्ने उपकरण, बन्दुकको आवाजजस्ता डर देखाउने सामग्री वा अन्य प्रतिरोधात्मक साधन उपलब्ध गराइएको थियो । कतिपय पालिकाले वार्षिक पाँचदेखि दस लाख रुपैयाँसम्मको बजेट विनियोजन गरेर तत्काल राहतका कार्यक्रम सञ्चालन गरेका थिए । सुरुका केही महिना किसानलाई केही सहज भएको अनुभव थियो । बाँदरको हुल केही समय टाढा बसे । तर समस्या फेरि फर्कियो ।

 

बैठकमा एक वृद्ध किसान उठे ।

"हामीले हेरालु पनि राख्यौँ," उनले भने ।

"बिहानदेखि बेलुकासम्म खेतमा बस्यो । तर ऊ एक्लैले कतिवटा खेत जोगाउने ?"

अर्को किसानले थपे,

"बन्दुकको आवाजले सुरुमा बाँदर भागे । अहिले त आवाज सुन्नासाथ अलि पर बसेर फेरि फर्कन्छन् ।"

हलमा हल्का हाँसो गुञ्जियो । त्यो हाँसो रमाइलोको थिएन । लाचारताको थियो ।

 

त्यसै बेला वन अधिकृतले एउटा तस्बिर देखाए ।

तस्बिरमा सहिदभूमि गाउँपालिकाका केही विद्यार्थी, किसान र वनकर्मी हातमा बिरुवा लिएर जंगलतिर उक्लिरहेका थिए ।

"यो अभियान बाँदर धपाउने होइन," उनले भने ।

"यो बाँदरलाई फेरि जंगलमै बस्ने वातावरण बनाउने अभियान हो ।"

तस्बिरमा काफलका बिरुवा थिए ।

लप्सीका बिरुवा ।

कटुस ।

चुत्रो ।

किम्बु ।

जामुन ।

स्थानीय वनस्पतिका अनेक बिरुवा ।

"यी रुख भोलि फल दिन वर्षौँ लाग्ला," उनले स्वीकारे, "तर यदि आज रोपेनौँ भने भोलि पनि केही हुने छैन ।"

 

योगेन्द्रप्रसादको मनमा डा. मुकेश चालिसेको कुरा फेरि सम्झना आयो—

"जंगललाई फेरि जंगल बनाउनुहोस् ।"

उनी बैठक सकिएपछि घर फर्केनन् । सीधै वनतिर लागे । त्यहाँ केही युवाहरू खाल्डो खन्दै थिए । विद्यालयका विद्यार्थीहरू पनि सहभागी थिए ।

एक जना बालकले सोध्यो,

"हजुरबा, यो रुख हामीले रोपेको हो । यसमा फल कहिले लाग्ला ?"

योगेन्द्र मुस्कुराए ।

"सायद तिमी ठूलो भएपछि ।"

बालकले फेरि सोध्यो,

"त्यतिञ्जेल बाँदर के खाने ?"

यो प्रश्नको उत्तर सजिलो थिएन ।

योगेन्द्र केहीबेर मौन रहे ।

"त्यसैले त अहिलेको समस्या पनि हामीले मिलेर समाल्नुपर्छ," उनले अन्ततः भने ।

 

उता जंगलमा सिन्दुरेले केही नयाँ गन्ध महसुस गरिन् । मानिसहरू फेरि आएका थिए । तर यसपालि उनीहरूको हातमा जाल थिएन । न त गुलेली । न त लठ्ठी । उनीहरूले माटो खन्दै थिए । सानासाना बिरुवा रोप्दै थिए ।

सिन्दुरे टाढाको रुखमा बसेर हेरिरही । उनी मानिसको उद्देश्य बुझ्न सक्दिनथिइन् ।

तर उनले देखिन्—

आज उनीहरूले कुनै बाँदर धपाएनन् ।

 

महिनाहरू बिते ।

हेरालु अझै खेतमा देखिन्थे । कतै–कतै आवाज निकाल्ने उपकरण पनि प्रयोग भइरहेका थिए । स्थानीय सरकारले छुट्याएको बजेटले तत्काल राहत त दिएको थियो ।

तर योगेन्द्रप्रसादले एउटा कुरा बुझिसकेका थिए — बजेट सकिन्छ । कार्यक्रम समाप्त हुन्छ । हेरालु फेरिन्छ । तर जंगलमा रोपिएको एउटा काफलको बिरुवाले दशकौँसम्म फल दिन सक्छ ।

 

एक साँझ उनी र गाउँका अध्यक्ष डिलमा उभिएर नयाँ रोपिएका बिरुवातिर हेर्दै थिए ।

अध्यक्षले भने,

"हामीले वर्षौँसम्म समस्या देख्यौँ । अब कारणतिर हात हाल्न थालेका छौँ ।"

योगेन्द्रले टाउको हल्लाए ।

"अल्पकालीन उपाय चाहिन्छ," उनले भने, "किनकि किसान आज बाँच्नुपर्छ ।"

केही क्षणपछि उनले जंगलतिर हेर्दै थपे,

"तर दीर्घकालीन उपाय पनि चाहिन्छ । किनकि हाम्रो नातिनातिनाले पनि यही पहाडमा बाँच्नुपर्छ ।"

डिलमाथि हावा चलिरहेको थियो । नयाँ रोपिएका काफलका बिरुवाहरू हल्लिरहेका थिए ।

टाढाको रुखमा सिन्दुरे आफ्ना साना सदस्यहरूसँग बसिरहेकी थिई ।

सायद उसले ती बिरुवाको अर्थ बुझेकी थिइन ।

तर प्रकृतिले भने बुझिसकेको थियो—

आज रोपिएको एउटा सानो बिरुवाले भोलिको मानव–बाँदर सम्बन्धलाई बदल्ने सम्भावना बोकेको हुन्छ ।

१३: सिन्दुरेको यात्रा

रातभरि पानी परेको थियो । बिहानको पहिलो पहेँलो घामसँगै पातमा अड्किएका पानीका थोपाहरू चम्किरहेका थिए । सिन्दुरे सबैभन्दा अग्लो चिलाउनेको रुखमा बसेर पूर्वतिर हेरिरहेकी थिई । उनको अनुहारमा उमेरका चिह्न स्पष्ट देखिन्थे । आँखा भने अझै तीक्ष्ण थिए । आज उनीहरूको हुल फेरि यात्रामा निस्कँदै थियो । यो यात्रा रहरको थिएन । बाँच्नका लागि थियो ।

 

सिन्दुरे जवान हुँदा जंगल फराकिलो थियो । एक डाँडाबाट अर्को डाँडासम्म काफलका रुखहरू थिए । कटुसका बोटहरू थिए । लप्सी, चुत्रो, ऐँसेलु र किम्बुका झाडी थिए । त्यस बेला यात्रा भनेको नयाँ ठाउँ हेर्नु थियो । अहिले यात्रा भनेको पेट भर्ने ठाउँ खोज्नु थियो ।

 

हुल बिस्तारै अघि बढ्यो । सबैभन्दा अगाडि दुई जवान भाले । बीचमा पोथी र साना बच्चाहरू । सबैभन्दा पछाडि सिन्दुरे । अब उनी नेतृभन्दा बढी अनुभवको भण्डार थिइन् । उनको काम दौडनु होइन । सही बेला सही निर्णय गर्नु थियो ।

 

पहिलो डाँडामा पुगेपछि एउटा जवान बाँदरले तल देखिएको गाउँतिर औँला देखायो । त्यहाँ धेरै घर थिए । घरका छानामा मकै सुकाइएको थियो । आँगनमा केरा थिए । केही घरको पछाडि फलफूलका बोट थिए ।

जवान बाँदर उत्साहित भयो ।

"त्यहाँ जाऔँ ।"

सिन्दुरे केही बोलिनन् । उनले धेरैबेर गाउँ नियालिन् । घरसँगै दुई ठूला कुकुर थिए । बिजुलीका तारहरू रुखमाथिसम्म फैलिएका थिए । एक जना किसान गुलेली काँधमा बोकेर खेततिर जाँदै थिए । सिन्दुरेले टाउको हल्लाइन् । हुल अर्को डिलतिर लाग्यो ।

 

साना बाँदरहरू असन्तुष्ट थिए । उनीहरूलाई गाउँको खाना सजिलो लाग्थ्यो । न रुख चढ्नुपर्थ्यो । न धेरै खोज्नुपर्थ्यो । एकैछिनमा पेट भरिन्थ्यो । तर सिन्दुरेलाई त्यो सजिलोपनको मूल्य थाहा थियो ।

उनीसँग सम्झनाहरू थिए । एउटा जवान भाले, जो बिजुलीको तार छोएपछि कहिल्यै उठेन । एउटी पोथी, जसलाई गाउँको कुकुरले लखेटेर गम्भीर घाइते बनायो । एउटा बच्चा, जो मानिसले हानेको गुलेलीको ढुङ्गाले रुखबाट खस्यो । सजिलो खाना सधैँ सुरक्षित हुँदैन ।

 

दिउँसो हुल एउटा खोल्सामा रोकियो । त्यहाँ केही किम्बुका बोट थिए । फल धेरै थिएन । तर जे थियो, प्राकृतिक थियो । सिन्दुरेले सबैलाई शान्त भएर खान दिइन् । त्यसै बेला एउटा जवान बाँदर फेरि करायो ।

"यति खोजेर थोरै खानुभन्दा गाउँमा गएर धेरै खान पाइन्छ ।"

अरू केही जवानहरूले पनि उसको समर्थन गरे । सिन्दुरे बिस्तारै उठिन् । उनी एउटा सुकेको हाँगामाथि बसिन् । हुल चुप लाग्यो । उनीहरूको संसारमा शब्द कम थिए । तर अनुभवको भाषा सबैले बुझ्थे । सिन्दुरेले तलको गाउँतिर हेरिन् । त्यसपछि माथिको जंगलतिर ।

उनको शान्त दृष्टिले एउटै कुरा भनिरहेको थियो—

"जंगलले ढिलो खुवाउँछ, तर बाँच्न दिन्छ ।"

"गाउँले छिटो खुवाउँछ, तर हरेक दिन नयाँ खतरा बोकेर आउँछ ।"

 

साँझपख उनीहरू एउटा अग्लो सालको रुखमा पुगे । टाढाबाट सहरको आवाज आइरहेको थियो । गाडीहरू गुडिरहेका थिए । मानिसहरूको चहलपहल बढिरहेको थियो । हुलका साना सदस्यहरू उत्सुकताले त्यता हेरिरहेका थिए । उनीहरूको पुस्ताले जंगलभन्दा मानिसको संसार बढी देख्न थालेको थियो ।

सिन्दुरेको मन भारी भयो ।

यदि यही क्रम चलिरह्यो भने,

भोलिको बाँदरले काफलको स्वादभन्दा बिस्कुटको स्वाद बढी चिन्न सक्छ ।

 

उता योगेन्द्रप्रसाद पनि आफ्नो खेतबाट घर फर्किरहेका थिए । आज उनले दिनभरि एउटै बाँदर पनि देखेका थिएनन् ।

उनी खुसी भए ।

तर त्यो खुसीसँग एउटा प्रश्न पनि थियो ।

"आज उनीहरू कहाँ गए होलान् ?"

उनीलाई थाहा थिएन—

त्यही बेला सिन्दुरे आफ्नो हुललाई लिएर अर्को जंगल खोज्दै भौँतारिरहेकी थिई ।

 

रात परेपछि हुल एउटा सुरक्षित रुखमा बस्यो । साना बाँदरहरू निदाइसके । जवानहरू पनि थाकेका थिए । तर सिन्दुरे निदाइनन् ।

उनले आकाशभरि फैलिएका ताराहरू हेरिन् । त्यही आकाशमुनि उनले आफ्नो जन्म देखेकी थिइन् । त्यही आकाशमुनि आफ्ना सन्तान हुर्काएकी थिइन् । र त्यही आकाशमुनि उनले जंगल सानो हुँदै गएको पनि देखेकी थिइन् ।

उनलाई थाहा थियो—

यात्रा अझै सकिएको छैन । भोलि फेरि अर्को डाँडा चढ्नुपर्छ । अर्को खोल्सो पार गर्नुपर्छ । अर्को निर्णय गर्नुपर्छ । किनकि एउटा बूढी नेतृको सबैभन्दा ठूलो जिम्मेवारी आफू धेरै खानु होइन, आफ्नो हुललाई भोलिसम्म जीवित राख्नु हो । सिन्दुरेले आँखाहरू बिस्तारै बन्द गरिन् ।

हावाले सालका पातहरू हल्लाइरहेको थियो । जंगल अझै बाँकी थियो ।

तर त्यो जंगल अब पहिलेको जस्तो रहेन ।

र सायद यही परिवर्तनले उनको यात्रालाई कहिल्यै नटुङ्गिने यात्रामा बदलिदिएको थियो ।

१४: किसानको रूपान्तरण

दश वर्षअघि चक्रबहादुर मंग्राती गाउँ छोडेर कीर्तिपुर गएका थिए । त्यस दिन उनले घरको ढोकामा ताला लगाउँदा मनमनै सोचेका थिए—सायद यो ताला धेरै दिनका लागि लाग्नेछ ।

तर समयले अर्को कथा लेखिरहेको थियो ।

त्यो कथा उनका लागि होइन,

उनकी छोरी अनिता का लागि थियो ।

 

अनिता कृषि विषय पढेर गाउँ फर्किएकी थिई । उनका धेरै साथीहरू विदेश जाने तयारीमा थिए । कसैले अष्ट्रेलिया रोजेका थिए । कसैले कोरिया । कसैले खाडी मुलुक । तर अनिताले बाबुलाई एउटा फरक कुरा सुनाइन् ।

"बुबा, म गाउँमै बस्छु ।"

चक्रबहादुर छक्क परे ।

"के गरेर ?"

"खेती गर्छु । तर पहिलेको जस्तो होइन ।"

 

भोलिपल्ट उनीहरू वर्षौँदेखि बाँझो रहेको पाखोमा पुगे । झाडीले ढाकेको थियो । कतै पुरानो कान्लाको डिल मात्र देखिन्थ्यो । चक्रबहादुरले लामो सास फेरे ।

"यही खेतले हामीलाई हुर्काएको थियो ।"

अनिताले माटो हातमा लिएर मिचिन् ।

"यसले अझै पनि हुर्काउन सक्छ ।"

"तर बाँदर ?"

अनिताले मुस्कुराउँदै उत्तर दिइन्,

"हामी बाँदरसँग प्रतिस्पर्धा गर्ने खेती कम गर्छौँ ।"

 

केही सातापछि उनले स्थानीय कृषि शाखामा आवेदन दिइन् । त्यहाँबाट पशुपालनसम्बन्धी तालिम पाइन् । घाँसेबाली उत्पादन, दुग्ध व्यवस्थापन, गोठ सुधार, फलफूलको मिश्रित खेती र जैविक मल निर्माणका विषयमा प्रशिक्षण लिइन् । सरकारी कार्यक्रमअन्तर्गत केही अनुदान पनि प्राप्त भयो । त्यसले ठूलो सम्पत्ति त बनाएन । तर सुरुआत गर्ने साहस दियो ।

 

पहिलो वर्ष उनले सबै खेतमा अन्न रोपिनन् । कान्लाको धेरै भागमा नेपियर, मलाटो र अन्य डालेघाँस लगाइन् । डिलहरूमा काफल, लप्सी, अम्बा र कागतीका बिरुवा रोपिन् । गोठमा दुईवटा उन्नत जातका गाई ल्याइन् । पछि केही बाख्रासमेत थपिन् ।

छिमेकीहरूले अचम्म मान्दै भने,

"यस्तो खेती त यहाँ कसैले गरेको छैन ।"

अनिताले उत्तर दिइन्,

"हामीले पहिलेको समस्यालाई हेरेर नयाँ खेती रोज्नुपर्छ ।"

 

केही महिनापछि सिन्दुरेको हुल त्यहाँ आइपुग्यो । पहिलेजस्तै मकैको विशाल खेत थिएन । धानका बाला थिएनन् । घाँसका हरिया कान्ला थिए । फलफूलका साना बिरुवा थिए, जसलाई सुरक्षाका लागि जालीले छोपिएको थियो । साना बाँदरहरूले केहीबेर वरिपरि हेरे । खाने कुरा धेरै भेटिएन । उनीहरू केही बेर बसे । त्यसपछि जंगलतिर लागे ।

अनिताले टाढाबाट त्यो दृश्य हेरिन् । उनले कुनै टिन बजाइनन् । कुनै गुलेली चलाइनन् । आज उनको खेत आफैँले आफूलाई जोगाएको थियो ।

 

बिस्तारै गोठबाट दूध आउन थाल्यो । दूधबाट दही, घ्यू र छुर्पी बन्न थाल्यो । गाईको गोबरबाट जैविक मल तयार भयो । त्यही मलले फलफूलका बिरुवा झन् राम्रोसँग हुर्किए । घाँसले पशु पाल्यो । पशुले मल दियो । मलले बगैँचा हरियाली भयो । बगैँचाले भविष्यको आशा रोप्यो । प्रकृतिको चक्र फेरि बिस्तारै जोडिन थालेको थियो ।

 

एक दिन चक्रबहादुर कीर्तिपुरबाट गाउँ फर्किए । उनी डिलमाथि उभिएर छोरीको काम हेरिरहेका थिए । पहिले बाँझो देखिने जमिन अहिले हरियो थियो । गोठबाट गाईको घण्टी सुनिन्थ्यो । डिलमा फलफूलका बिरुवा हल्लिरहेका थिए ।

छोरीले मुस्कुराउँदै भनिन्,

"बुबा, यो सबै अहिले पूर्ण समाधान होइन ।"

"तर सुरु त हो ।"

चक्रबहादुरका आँखा रसाए ।

"मैले हार मानेको जमिनसँग तिमीले फेरि मित्रता गरिछौ ।"

 

त्यही बेला सिन्दुरे रुखमाथि बसेर त्यो दृश्य हेरिरहेकी थिई । उनले आज त्यो खेतमा खासै समय बिताइनन् । जंगलको माथिल्लो भागमा केही नयाँ काफलका बिरुवा पनि हुर्किरहेका थिए । वनभित्र फेरि आहार बढ्ने संकेत देखिन थालेका थिए । उनले आफ्ना साना सदस्यहरूलाई जंगलतिर डोर्याइन् ।

पहिलोपटक उनलाई लाग्यो—

सायद मानिसहरू सबै एउटै जस्ता हुँदैनन् । कसैले जंगल काट्छ । कसैले जंगल रोप्छ । कसैले लड्छ । कसैले सहअस्तित्व खोज्छ । साँझ अनिताले गोठको ढोका बन्द गरिन् । आकाश राताम्मे भएको थियो । टाढाको रुखमा सिन्दुरेको हुल पनि रात बिताउने तयारीमा थियो ।

दुवै पक्ष अझै एउटै भूमिमा थिए । तर आज उनीहरूबीचको दूरी शत्रुताको थिएन । सम्झदारीतर्फ बढिरहेको थियो ।

अनिताले बाबुतिर फर्केर भनिन्,

"हामीले बाँदरलाई हराउनु होइन, उनीहरूसँग जुध्ने कारण घटाउनु रहेछ ।"

चक्रबहादुरले डिलपारिको जंगलतिर हेरे ।

त्यहाँ साँझको हावा काफलका नयाँ पातहरू हल्लाइरहेको थियो ।

उनलाई लाग्यो—

कहिलेकाहीँ परिवर्तन खेतमा होइन,

सोचमा उम्रन्छ ।

र सोच बदलिएको दिनदेखि नै भविष्य पनि बदलिन थाल्छ ।

१५: सहअस्तित्वको नमुना परियोजना

हिउँदको सुरुवातसँगै सहिदभूमि गाउँपालिकाको सभाहल भरिएको थियो । यसपालिको बैठक अरूभन्दा फरक थियो । यसमा केवल किसान र जनप्रतिनिधि मात्र थिएनन् । वन विज्ञ, कृषि प्राविधिक, पशु चिकित्सक, अनुसन्धानकर्ता, विद्यालयका शिक्षक, युवा क्लब र सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरू पनि उपस्थित थिए ।

बैठकको शीर्षक थियो—

"मानव–बाँदर सहअस्तित्व नमुना परियोजना ।"

गाउँपालिकाका अध्यक्षले उद्घाटन गर्दै भने,

"वर्षौँदेखि हामी बाँदर धपाइरहेका छौँ । अब हामी समस्या धपाउने होइन, समाधान निर्माण गर्ने अभियान सुरु गर्दैछौँ ।"

 

सबैभन्दा पहिले अनुसन्धान सुरु भयो । अनुमानका भरमा निर्णय गर्ने समय सकिएको थियो । वनकर्मीहरू बिहानै जंगल पसे । उनीहरूले प्रत्येक बाँदरको हुलको संख्या टिपे । कुन क्षेत्रमा धेरै देखिन्छन् । कुन समयमा बस्ती झर्छन् । कति पोथी छन् । कति बच्चा जन्मिएका छन् । प्रजननको अवस्था कस्तो छ । कुन गाउँमा सबैभन्दा धेरै क्षति हुन्छ । कुन बालीमा बढी आक्रमण हुन्छ । हरेक विवरण नक्सामा चिन्ह लगाइयो ।

करण शाहले टोलीलाई सम्झाउँदै भने,

"तथ्यबिना गरिएको व्यवस्थापन अनुमान मात्र हुन्छ । दीर्घकालीन समाधानका लागि पहिले समस्या बुझ्नुपर्छ ।"

 

योगेन्द्रप्रसाद पनि सर्वेक्षण टोलीसँग एक दिन हिँडे । उनले आफ्नै खेतमा भएको क्षतिको अभिलेख गराए । यसपालि कसैले केवल गुनासो लेखेन । कति रोपनीमा क्षति भयो । कुन महिनामा भयो । कति आर्थिक नोक्सानी भयो । सबै तथ्याङ्क व्यवस्थित रूपमा सङ्कलन गरियो ।

योगेन्द्रले मनमनै सोचे,

"पहिलोपटक कसैले हाम्रो पीडा नाप्न खोजिरहेको छ ।"

 

उता जंगलमा सिन्दुरेको हुललाई पनि केही मानिसहरूले टाढाबाट नियालिरहेका थिए । उनीहरूले फोटो खिचे । टाढैबाट दूरबिनले व्यवहार अवलोकन गरे । तर कसैले जाल ल्याएन । कसैले लखेटेन ।

सिन्दुरेले पनि महसुस गरिन्—

आज मानिसहरू सिकार गर्न आएका होइनन् । बुझ्न आएका हुन् ।

 

वसन्त लाग्नासाथ परियोजनाको दोस्रो चरण सुरु भयो । जंगलका खाली भागहरूमा हजारौँ रैथाने बिरुवा रोपिए ।

काफल ।

लप्सी ।

कटुस ।

चुत्रो ।

किम्बु ।

ऐँसेलु ।

जामुन ।

वनका कुनाकाप्चामा साना पोखरी पनि बनाइए । पहिले गर्मी लाग्दा पानी खोज्दै बाँदर धेरै तल झर्थे । अब वनभित्रै वर्षभरि पानी रहने व्यवस्था गरियो । त्यससँगै पुराना जैविक पर्खालहरू पनि पुनर्स्थापना हुन थाले ।

बाँस, काँडेबेर, टिमुर, असुरो र अन्य स्थानीय झाडी मिलाएर खेतको डिलमा प्राकृतिक घेराबार बनाइयो । यसले माटो जोगायो । चराचुरुङ्गी फर्किए । र केही ठाउँमा बाँदरलाई पनि खेतमा एकैचोटि पस्न कठिन बनायो ।

 

अनिताले आफ्नो खेत वरिपरि यस्तै जैविक पर्खाल लगाइन् ।

केही छिमेकी हाँसे ।

"झाडी रोपेर बाँदर रोकिन्छ ?"

अनिताले उत्तर दिइन्,

"झाडीले मात्र होइन । धेरै साना उपाय मिलेर ठूलो समाधान बन्छ ।"

एक वर्षपछि त्यही जैविक पर्खालमा चराहरूले गुँड बनाउन थाले ।

मौरी आए । लहरे वनस्पति फैलिन थाले । त्यो पर्खाल अब केवल अवरोध थिएन । एउटा सानो पारिस्थितिक प्रणाली बनेको थियो ।

 

परियोजनाको अर्को महत्त्वपूर्ण पक्ष किसानको सुरक्षा थियो । गाउँपालिकाले बाली राहत कोष स्थापना गर्‍यो । क्षति भएमा वैज्ञानिक मूल्याङ्कनका आधारमा राहत उपलब्ध गराउने व्यवस्था बनाइयो । त्यससँगै केही प्रमुख बालीका लागि बाली बीमा कार्यक्रममा किसानलाई सहभागी गराइयो । योगेन्द्रप्रसादले पहिलोपटक राहतका लागि कार्यालय धाउनुपरेन । प्रक्रिया स्पष्ट थियो । तथ्याङ्क थियो । नियम थियो ।

उनीलाई लाग्यो—

अब सरकार समस्या सुन्न मात्र होइन, व्यवस्थापन गर्न पनि थालेको छ ।

 

महिनाहरू बिते । सिन्दुरेको हुल फेरि त्यही क्षेत्र हुँदै गुज्रिए । जंगलभित्रका केही काफलका बिरुवाले नयाँ पालुवा हालेका थिए । पोखरीमा पानी थियो । वरिपरि चराहरूको चहलपहल बढेको थियो । उनीहरूले केही समय त्यहीँ बिताए । त्यस दिन उनीहरू गाउँमा निकै कम झरे । सिन्दुरेले आफ्ना साना सदस्यहरूलाई पानी पिउँदै गरेको हेरिन् । उनको आँखामा धेरै वर्षपछि अलिकति शान्ति देखिन्थ्यो ।

 

त्यही साँझ गाउँपालिकामा परियोजनाको पहिलो समीक्षा बैठक बस्यो ।

अध्यक्षले प्रतिवेदन हेर्दै भने,

"समस्या पूर्ण रूपमा समाप्त भएको छैन ।"

करण शाहले मुस्कुराउँदै थपे,

"प्रकृतिमा कुनै पनि जटिल समस्या एक वर्षमा समाधान हुँदैन । तर सही दिशामा सुरु भएको यात्रा नै सबैभन्दा ठूलो उपलब्धि हो ।"

मुकेश चालिसेले अन्तिम टिप्पणी गरे,

"हामीले आज बाँदर व्यवस्थापन मात्र गरेका छैनौँ । हामीले मानिस र प्रकृतिबीचको सम्बन्ध पुनःस्थापना गर्ने प्रयास सुरु गरेका छौँ ।"

 

सूर्य अस्ताउँदै थियो । योगेन्द्रप्रसाद आफ्नो खेतको डिलमा उभिएका थिए । टाढाको जंगलमा सिन्दुरेको हुल एउटा नयाँ पोखरीछेउ विश्राम गरिरहेको थियो । बीचमा हरियो डाँडा थियो । त्यही डाँडाले आज दुई पक्षलाई अलग गरेको थिएन । बरु एउटै भूमिको साझेदार बनाइरहेको थियो ।

योगेन्द्रले आफ्नो नातिलाई काफलको सानो बिरुवा देखाउँदै भने,

"यो रुख हाम्रा लागि मात्र होइन ।"

"बाँदरका लागि पनि हो ।"

नातिले अचम्म मानेर सोध्यो,

"त्यसो भए हामी र बाँदरलाई एउटै जंगल बाँड्ने ?"

योगेन्द्रले मुस्कुराउँदै टाउको हल्लाए ।

"हो । आखिर पहाड कसै एक्लैको होइन । जसले बाँड्न सिक्छ, उसैले भविष्य पनि बचाउँछ ।"

१६: नीति र कानुनको द्वन्द्व

सहअस्तित्व नमुना परियोजनाको पहिलो वर्ष सकिएको थियो । गाउँमा केही सकारात्मक परिवर्तन देखिन थालेका थिए । जंगलमा बिरुवा हुर्किरहेका थिए । केही किसानले पशुपालन रोजेका थिए । बाँदरबाट हुने क्षति केही क्षेत्रमा घटेको पनि थियो । तर एउटा प्रश्न अझै बाँकी थियो । यदि यति धेरै उपाय सम्भव छन् भने देशभरि किन लागू हुन सकेका छैनन् ?

यसको उत्तर खेतमा थिएन । जंगलमा पनि थिएन । त्यो उत्तर सिंहदरबारदेखि स्थानीय तहसम्म फैलिएको नीति र कानुनको जटिल जालभित्र लुकेको थियो ।

 

काठमाडौँमा मानव–वन्यजन्तु द्वन्द्व विषयमा राष्ट्रिय गोष्ठी आयोजना गरिएको थियो । त्यहाँ मन्त्री, वन विभागका अधिकारी, संरक्षणविद्, अनुसन्धानकर्ता, कानुनविद् र स्थानीय तहका प्रतिनिधि सहभागी थिए । योगेन्द्रप्रसाद पनि किसानका प्रतिनिधिका रूपमा पुगेका थिए । उनका लागि यो पहिलो पटक थियो—जहाँ गाउँको पीडा राजधानीको सभाहलमा सुनिँदै थियो ।

 

कार्यक्रममा एक कानुनविद्ले प्रस्तुति सुरु गरे । उनले ठूलो पर्दामा एउटा शीर्षक देखाए—

"राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९" ।

उनले भने,

"नेपालमा धेरै वन्यजन्तु कानुनी संरक्षणमा छन् । केही बाँदर प्रजाति पनि विशेष संरक्षणका व्यवस्थाभित्र पर्छन् । संरक्षणको उद्देश्य जैविक विविधता जोगाउनु हो ।"

त्यसपछि अर्को स्लाइड आयो ।

त्यसमा अन्तर्राष्ट्रिय महासन्धिको नाम थियो—

साइटिस (CITES – Convention on International Trade in Endangered Species of Wild Fauna and Flora)।

उनले स्पष्ट पारे,

"वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापार कडा नियमभित्र हुन्छ । कुनै पनि निर्णय राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय दायित्व दुवैसँग मेल खानुपर्छ ।"

हलमा धेरै किसान पहिलोपटक यी कानुनी संरचनाबारे सुनिरहेका थिए ।

 

त्यसपछि छलफल सुरु भयो ।

एक जनप्रतिनिधिले भने,

"कतिपयले बाँदर निर्यात गर्न सकिन्छ भन्ने सुझाव दिन्छन् ।"

हलमा हलचल भयो । वन विभागका एक वरिष्ठ अधिकारी उठे ।

"कुनै पनि वन्यजन्तुसँग सम्बन्धित यस्तो विषय अत्यन्त जटिल हुन्छ," उनले भने ।

"कानुनी प्रक्रिया, अन्तर्राष्ट्रिय दायित्व, पशु कल्याण, रोग व्यवस्थापन, गन्तव्य देशका नियम, वैज्ञानिक आधार र नैतिक पक्ष सबै विचार गर्नुपर्छ । त्यसैले यस्तो प्रस्ताव व्यवहारमा अत्यन्त कठिन हुन्छ ।"

छलफल फेरि शान्त भयो । जटिल समस्याको सजिलो उत्तर हुँदैन भन्ने कुरा सबैले महसुस गरे ।

 

त्यसपछि अर्को प्रश्न उठ्यो ।

एक किसान भावुक हुँदै बोले,

"यदि केही गर्न नसक्ने हो भने मार्न त पाइन्छ ?"

सभाहल केही क्षण मौन रह्यो । त्यसपछि एक समाजशास्त्री बोलिन् ।

"नेपालमा बाँदर केवल वन्यजन्तु मात्र होइन ।"

"उनीहरू धेरै समुदायका लागि धार्मिक आस्था र सांस्कृतिक परम्परासँग पनि जोडिएका छन् ।"

"त्यसैले व्यापक रूपमा कलिङ (मार्ने) भन्ने उपाय कानुनी, सामाजिक र धार्मिक—तीनै दृष्टिले अत्यन्त विवादास्पद र व्यवहारतः अस्वीकार्य छ ।"

योगेन्द्रप्रसादले टाउको झुकाए । उनी आफैँ पनि कहिल्यै बाँदर मार्न चाहँदैनथे । उनी केवल आफ्नो बाली जोगाउन चाहन्थे ।

 

उता जंगलमा सिन्दुरे एउटा अग्लो रुखमाथि बसेकी थिई । उनीलाई कानुनको अर्थ थाहा थिएन । महासन्धि भनेको के हो, उनी बुझ्दिनथिइन् ।

तर उनी एउटा कुरा बुझ्थिन्—

जंगल साँघुरियो भने बाँच्न गाह्रो हुन्छ । भोक लाग्यो भने गाउँ झर्नुपर्छ ।

त्यो प्रकृतिको नियम थियो ।

 

गोष्ठीको अन्तिम सत्रमा डा. मुकेश चालिसेले एउटा खाली कागज उठाए । त्यसमा उनले एउटा वृत्त बनाए ।

त्यस वृत्तभित्र पाँच शब्द लेखे—

वन

कृषि

स्थानीय तह

अनुसन्धान

समुदाय

त्यसपछि उनले ती सबैलाई रेखाले जोड्दै भने,

"हाम्रो सबैभन्दा ठूलो समस्या उपायको अभाव होइन ।"

"समस्या समन्वयको अभाव हो ।"

"वनले आफ्नो काम गरिरहेको छ । कृषि कार्यालयले आफ्नो । स्थानीय तहले आफ्नो । अनुसन्धानकर्ताले आफ्नो । किसानले आफ्नो ।"

"तर सबैले एउटै दिशामा सँगै काम नगरेसम्म दीर्घकालीन समाधान सम्भव हुँदैन ।"

हलभरि ताली बज्यो । किनकि त्यो वाक्य केवल सिद्धान्त थिएन । वर्षौँको अनुभवको निष्कर्ष थियो ।

 

कार्यक्रमपछि योगेन्द्रप्रसाद भवनबाहिर निस्किए । त्यहाँ चक्रबहादुर, अनिता र केही वनकर्मी भेटिए ।

सबैले एउटै प्रश्न गरे,

"अब के गर्ने ?"

योगेन्द्र मुस्कुराए ।

"आज मैले एउटा कुरा सिकेँ ।"

"समस्या बाँदर मात्र होइन ।"

"समस्या हाम्रो सोच टुक्राटुक्रामा बाँडिएको रहेछ ।"

 

त्यसै साँझ सिन्दुरे आफ्नो हुलसँग नयाँ रोपिएका काफलका बिरुवानजिक बसिरहेकी थिई । टाढा गाउँका घरहरूमा बत्ती बलिरहेका थिए । मानिसहरू नीति बनाइरहेका थिए । जंगलमा प्रकृतिले आफ्नै नियम चलाइरहेको थियो । यी दुई संसारबीच पुल बनाउनु नै अब सबैभन्दा ठूलो चुनौती थियो ।

किनकि कानुनले संरक्षण दिन सक्छ । विज्ञानले उपाय दिन सक्छ । समुदायले श्रम दिन सक्छ । तर यी सबै एकै ठाउँमा नजोडिएसम्म सहअस्तित्व केवल एउटा सुन्दर शब्द मात्र रहन्छ ।

र जब यी सबै हातहरू एउटै दिशामा अघि बढ्छन्,

त्यसपछि मात्र जंगल पनि सुरक्षित हुन्छ,

किसान पनि,

र सिन्दुरेजस्ता अनगिन्ती जीवहरूको भविष्य पनि ।

१७: एक स्वास्थ्यको कथा

वसन्तको सुरुवात थियो । जंगल फेरि हरियो देखिन थालेको थियो । नयाँ पालुवाले रुखहरू सजिएका थिए । काफलका बिरुवाहरूमा पहिलोपटक राताम्मे टुसा देखापर्न थालेका थिए । सिन्दुरे आफ्नो हुलसँगै ती नयाँ बिरुवाको वरिपरि घुमिरहेकी थिई ।

उनलाई थाहा थिएन—

उनले खाएर फ्याँकेको एउटा सानो बिउले केही वर्षपछि यही जंगललाई फेरि हराभरा बनाउनेछ ।

 

त्यसै दिन गाउँको विद्यालयमा एउटा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । डाक्टर, पशु चिकित्सक, वन विज्ञ र कृषि प्राविधिक एउटै मञ्चमा थिए ।

विद्यार्थीहरू अचम्ममा परे।

"आज सबै किन सँगै आएका होलान् ?"

कार्यक्रम सुरु गर्दै डाक्टरले एउटा वृत्त बनाए ।

त्यस वृत्तमा उनले तीन शब्द लेखे—

मानिस

जनावर

वातावरण

त्यसपछि तीनै शब्दलाई एउटै रेखाले जोड्दै भने,

"यी तीनवटा अलग संसार होइनन् । एउटै जीवनका तीन पाटा हुन् । एउटा बिग्रियो भने बाँकी दुई पनि प्रभावित हुन्छन् ।"

 

योगेन्द्रप्रसाद पनि कार्यक्रममा उपस्थित थिए ।

उनले हात उठाएर सोधे,

"बाँदरले हाम्रो बाली खान्छ । त्यसको स्वास्थ्यसँग हाम्रो स्वास्थ्यको के सम्बन्ध ?"

पशु चिकित्सक मुस्कुराए ।

"धेरै ठूलो सम्बन्ध छ ।"

उनले विस्तारै सम्झाउन थाले ।

"मानिस र वन्यजन्तु बारम्बार नजिकिँदा केही रोग एकअर्कामा सर्न सक्ने सम्भावना बढ्छ । यस्ता रोगलाई जुनोटिक रोग भनिन्छ ।"

त्यसपछि उनले उदाहरण दिए,

"रेबिजजस्ता रोग केही स्तनधारी जनावरबाट मानिसमा सर्न सक्छन् । त्यसैले घाइते वा अस्वाभाविक व्यवहार देखिने वन्यजन्तुसँग अनावश्यक सम्पर्क गर्नु हुँदैन ।"

उनले थपे,

"समस्या बाँदर होइन । अस्वस्थ सम्पर्क हो । त्यसैले सुरक्षित दूरी, जनचेतना र स्वास्थ्य निगरानी आवश्यक छ ।"

 

विद्यालयको एक छात्राले अर्को प्रश्न सोधी ।

"यदि बाँदरले यति धेरै दुःख दिन्छ भने प्रकृतिलाई यसको के फाइदा हुन्छ ?"

यसपटक वन विज्ञ उठे । उनले एउटा पाकेको काफल हातमा लिए ।

"सिन्दुरेले यो फल खान्छे," उनले भने ।

"पछि धेरै टाढा पुगेर यसको बिउ फ्याँक्छे ।"

उनले अर्को तस्बिर देखाए । सानो बिरुवा उम्रिरहेको थियो ।

"त्यो बिरुवा कसले रोप्यो ?"

बालबालिकाले एकअर्काको अनुहार हेरे ।

वन विज्ञले उत्तर दिए,

"प्रकृतिले । र प्रकृतिको सहयोगीमध्ये एउटा बाँदर पनि हो ।"

 

उनले थप स्पष्ट पारे,

"बाँदर केवल फल खाने जीव होइन ।"

"ऊ वनको बिउ फैलाउने दूत हो ।"

"कतिपय वनस्पतिको पुनर्जननमा उसको भूमिका महत्त्वपूर्ण हुन्छ ।"

"वनका अनेक बिरुवाको बिउ टाढाटाढासम्म फैलिन्छ । केही वनस्पतिको परागसेचनमा पनि वन्यजन्तुको अप्रत्यक्ष भूमिका रहन्छ ।"

त्यसपछि उनले मुस्कुराउँदै भने,

"यदि चराहरू आकाशका किसान हुन् भने बाँदर जंगलका माली हुन् ।"

विद्यार्थीहरू ताली बजाउन थाले । उता जंगलमा सिन्दुरे एउटा पाकेको लप्सी टिपेर खाइरहेकी थिई । केही बेरपछि हुल अर्को डाँडातिर लाग्यो । बाटोमा उनले बिउ झारिन् । उनी त्यो ठाउँमा फेरि कहिल्यै नआउन पनि सक्छिन् ।  तर वर्षौँपछि त्यही बिउबाट नयाँ रुख उम्रिन सक्छ । त्यस रुखमा फेरि चराहरू बस्न सक्छन् । त्यसको छहारीमा माटो जोगिन सक्छ । त्यसका फल फेरि अर्को पुस्ताका बाँदरले खान सक्छन् । प्रकृतिको चक्र यस्तै अदृश्य धागोले बाँधिएको हुन्छ ।

 

अनिता आफ्ना गाईहरू चराउँदै वनको किनार पुगेकी थिई । त्यहाँ उनले एउटा सानो बिरुवा देखिन् । त्यो उनले रोपेको थिएन । वरिपरि कुनै मानिस पनि पुगेको थिएन ।

उनले मुस्कुराउँदै भनिन्,

"यो त सायद सिन्दुरेको उपहार होला ।"

उनका बुबा चक्रबहादुर हाँसे ।

"हामीले जंगलमा बिरुवा रोप्यौँ ।"

"जंगलले पनि आफ्ना कामदार पठाएको रहेछ ।"

 

त्यसै साँझ गाउँमा एउटा घटना भयो । एउटा सानो बाँदर गाउँ पस्यो । बालबालिका त्यसलाई समाउन दौडिए ।

योगेन्द्रप्रसादले उनीहरूलाई तुरुन्त रोक्दै भने,

"छुनु हुँदैन ।"

"ऊ पनि डराएको छ । हामी पनि सुरक्षित रहनुपर्छ ।"

वन कार्यालयलाई खबर गरियो । प्रशिक्षित टोली आयो । बादरलाई कुनै हानि नगरी सुरक्षित रूपमा वनतिर फर्काइयो ।

गाउँलेहरूले पहिलोपटक महसुस गरे— संरक्षण भनेको केवल जनावर बचाउनु होइन । मानिसलाई पनि सुरक्षित राख्नु हो ।

 

रात पर्न लागेको थियो । सिन्दुरे आफ्ना नातिनातिनासँग काफलको नयाँ बिरुवामुनि बसेकी थिई । टाढा गाउँमा योगेन्द्रप्रसाद आफ्ना नातिलाई एउटा कथा सुनाइरहेका थिए ।

"हामीले धेरै वर्ष बाँदरलाई केवल बाली खाने जीव ठान्यौँ," उनले भने ।

"तर आज थाहा भयो—

उसले जंगल पनि रोप्दो रहेछ ।"

नातिले अचम्म मान्दै सोध्यो,

"त्यसो भए ऊ किसान पनि हो ?"

योगेन्द्र मुस्कुराए ।

"हो ।"

"फरक यत्ति हो—

हामी खेतमा खेती गर्छौँ ।

ऊ जंगलमा ।"

आकाशमा पूर्णिमाको जून उदाएको थियो । त्यसको उज्यालोमा जंगल र गाउँ दुवै समान रूपमा चम्किरहेका थिए। प्रकृतिले कहिल्यै मानिस र बाँदरलाई छुट्टाछुट्टै संसार मानेको थिएन । उनीहरू एउटै जीवनचक्रका सहयात्री थिए । कसैले बिउ रोप्थ्यो । कसैले फल फलाउँथ्यो । कसैले त्यसलाई जोगाउँथ्यो ।

र यही अदृश्य सम्बन्धको नाम थियो—

एक स्वास्थ्य, एक प्रकृति, एक साझा भविष्य ।

१८: इतिहास, आस्था र विज्ञानको संगम

असारको अन्तिम साता थियो । पहाडमाथि बादलहरू बिस्तारै तैरिरहेका थिए । सहअस्तित्व नमुना परियोजनाले गाउँमा परिवर्तन ल्याउन थालेको थियो । तर योगेन्द्रप्रसादको मनमा एउटा प्रश्न अझै बाँकी थियो ।

"मानिस र बाँदरको सम्बन्ध आखिर कहाँबाट सुरु भयो ?"

त्यही प्रश्नले उनलाई पाल्पातर्फ लाग्ने एउटा अध्ययन भ्रमणमा सहभागी बनायो ।

 

तिनाउ खोलाको किनारमा केही विद्यार्थी, अनुसन्धानकर्ता र स्थानीय मानिसहरू भेला भएका थिए ।

त्यहाँका एक भूगर्भविद्ले हातमा एउटा ढुङ्गाको नमुना उठाउँदै भने,

"यही क्षेत्र विश्व वैज्ञानिक समुदायका लागि पनि महत्त्वपूर्ण मानिन्छ । यहाँबाट प्राचीन कपि समूहसँग सम्बन्धित जीवाश्म अवशेष फेला परेका छन्, जसलाई रामापिथेकससँग सम्बन्धित अध्ययनको सन्दर्भमा पनि उल्लेख गरिन्छ ।"

योगेन्द्रले नदीतिर हेरे । शान्त बगिरहेको पानीले लाखौँ वर्षको इतिहास आफ्नै गर्भमा बोकेको थियो ।

उनी सोच्न थाले—

सायद यही भूमिमा कहिल्यै मानव र कपि पूर्वजहरूको पदचिह्न एउटै माटोमा परेको थियो ।

 

त्यसै साँझ अनुसन्धान केन्द्रमा एउटा वृत्तचित्र प्रदर्शन गरियो । त्यसमा वैज्ञानिकहरूले मानव विकासक्रमको कथा सुनाइरहेका थिए । चित्रमा विभिन्न कालखण्डका प्राचीन कपि, प्रारम्भिक होमिनिन र आधुनिक मानवसम्मको विकास यात्रा देखाइयो ।

कार्यक्रमपछि एक विद्यार्थीले प्रश्न गर्यो,

"के मानिस बाँदरबाट बनेको हो ?"

हलमा हल्का हाँसो फैलियो ।

जीवविज्ञानका प्राध्यापकले मुस्कुराउँदै उत्तर दिए,

"आधुनिक मानिस अहिलेका बाँदरबाट बनेको होइन । मानिस र अहिलेका बाँदरहरूको धेरै टाढाको साझा पूर्वज थियो । त्यसपछि दुवैका विकासका बाटा फरक–फरक दिशामा अघि बढे ।"

योगेन्द्रले टाउको हल्लाए । वर्षौँदेखि सुन्दै आएको एउटा भ्रम आज हट्दै थियो ।

 

प्राध्यापकले त्यसपछि विज्ञानको इतिहास सुनाए ।

उन्नाइसौँ शताब्दी ।

चार्ल्स डार्बिनको विकासवाद ।

त्यसको पक्ष र विपक्षमा संसारभरि चलेका बहस । त्यही क्रममा उनले प्रसिद्ध जीवविज्ञानी थोमस हेनरी हक्स्लेको एउटा प्रसङ्ग सुनाए ।

कसैले उनलाई व्यङ्ग्य गर्दै सोधेको थियो,

"तपाईंलाई बाँदरको सन्तति भन्न लाज लाग्दैन ?"

हक्स्लेले शान्त स्वरमा जवाफ दिएका थिए,

"म बाँदरको सन्तति हुनुमा लाज मान्दिन । तर सत्यलाई बेवास्ता गर्ने मानिसको पक्षमा उभिन चाहन्न ।"

हल केही क्षण मौन भयो । त्यो वाक्य केवल इतिहासको उद्धरण थिएन । शिक्षाको समझप्रतिको इमानदारीपूर्ण घोषणा थियो ।

 

भोलिपल्ट योगेन्द्रप्रसाद गाउँ फर्कँदै गर्दा बाटोमा एउटा पुरानो हनुमान मन्दिरमा रोकिए । मन्दिरमा केही मानिसहरूले प्रसाद चढाइरहेका थिए । मन्दिरको आँगनमा दुई–तीन वटा बाँदर पनि थिए । तीमध्ये एकले कसैले दिएको चाउचाउको खोल तानेर खान खोजिरहेको थियो ।  योगेन्द्रलाई पहिलेको घटना सम्झना आयो ।

त्यसै बेला मन्दिरका पुजारी बाहिर आए ।

उनीहरूले भक्तहरूलाई नम्रतापूर्वक भने,

"बिस्कुट, चाउचाउ र जंक फुड नदिनुहोस् । यदि केही दिनैपर्छ भने प्राकृतिक फलफूल दिनु राम्रो हुन्छ ।"

योगेन्द्र अचम्मित भए ।

पुजारीले मुस्कुराउँदै भने,

"आस्था भनेको हानि पुर्‍याउनु होइन । रक्षा गर्नु हो ।"

 

त्यही दिन गाउँमा विद्यालयका विद्यार्थीहरूका लागि छलफल आयोजना गरियो ।

अनिताले एउटा प्रश्न सोधिन्,

"विज्ञान र आस्था सधैँ एकअर्काका शत्रु हुन् त ?"

कसैले उत्तर दिन सकेन ।

त्यसपछि उनले बोर्डमा दुई शब्द लेखिन्—

आस्था

विज्ञान

बीचमा एउटा पुल कोरिन् ।

"आस्थाले हामीलाई प्रकृतिलाई सम्मान गर्न सिकाउँछ," उनले भनिन् ।

"विज्ञानले त्यसलाई कसरी जोगाउने भन्ने उपाय सिकाउँछ ।"

"यी दुवै एकअर्काका प्रतिस्पर्धी होइनन् । सही रूपमा बुझिए भने दुवै सहयात्री हुन सक्छन् ।"

 

उता सिन्दुरे आफ्नो हुलसँगै मन्दिरभन्दा माथिको जंगलमा थिई । उनी आज गाउँतिर झरिनन् । जंगलमै पाकेका केही काफल भेटिएका थिए । साना बाँदरहरू हाँगाबाट हाँगामा उफ्रिरहेका थिए । सिन्दुरेले उनीहरूलाई हेरिन् ।

उनीहरूलाई न डार्बिन थाहा थियो ।

न हक्स्ले ।

न इतिहास ।

उनीहरूलाई केवल यति थाहा थियो—

जंगल सुरक्षित भयो भने जीवन सुरक्षित हुन्छ ।

 

साँझ योगेन्द्रप्रसाद आफ्नो नातिसँग घरको आँगनमा बसेका थिए ।

नातिले सोध्यो,

"हजुरबा, हामी र बाँदरबीच सम्बन्ध के हो ?"

योगेन्द्रले केही क्षण सोचेर भने,

"इतिहासले भन्छ—हाम्रो धेरै पुरानो साझा यात्रा छ ।"

"आस्थाले भन्छ—उनीहरूलाई सम्मान गर ।"

"विज्ञानले भन्छ—उनीहरूलाई बुझ ।"

"र जीवनले भन्छ—एउटै पृथ्वीमा मिलेर बाँच ।"

नातिले आकाशतिर हेर्‍यो । टाढाको डाँडामा सिन्दुरेको हुल रात बिताउने तयारीमा थियो । गाउँमा मन्दिरको घण्टी बजिरहेको थियो । जंगलमा झ्याउकिरी गाइरहेका थिए ।

इतिहास, आस्था र विज्ञान—

तीनवटै आफ्नै भाषामा एउटै सत्य दोहोर्याइरहेका थिए—

मानिस प्रकृतिभन्दा माथि होइन । प्रकृतिको एउटा हिस्सा मात्र हो । त्यसैले सहअस्तित्व विकल्प होइन, भविष्यको आधार हो ।

१९: एउटै वंशवृक्षका पातहरू

पल्टिएर हेर्दा कथा केवल गाउँको थिएन । यो लाखौँ वर्षअघि सुरु भएको एउटा यात्राको कथा पनि थियो । त्यस दिन गाउँको माध्यमिक विद्यालयमा विशेष व्याख्यान आयोजना गरिएको थियो । विद्यार्थी, किसान, स्थानीय जनप्रतिनिधि र वन उपभोक्ता समूहका सदस्यहरू सबै भेला भएका थिए । अतिथि थिए—जीवविज्ञानका प्राध्यापक र प्राइमेट (वानर वर्ग) अनुसन्धानकर्ता ।

कार्यक्रम सुरु हुँदै प्राध्यापकले कालोपाटीमा एउटा ठूलो रुख कोरे । रुखको फेदबाट धेरै हाँगाहरू छुट्टिएका थिए ।

"आज," उनले भने, "हामी बाँदरको मात्र होइन, आफ्नै इतिहासको पनि कथा सुन्नेछौँ ।"

 

"धेरै मानिसले एउटा वाक्य सुन्छन्—'मानिस बाँदरबाट बनेको हो ।'"

हलमा हलचल भयो ।

प्राध्यापक मुस्कुराए ।

"यो विज्ञानले भनेको कुरा होइन ।"

उनले रुखको फेदतिर देखाउँदै भने,

"विज्ञान भन्छ—आधुनिक मानिस र अहिलेका बाँदरहरूको धेरै टाढाको साझा पूर्वज थियो । त्यस पूर्वजबाट करोडौँ वर्षको विकासक्रममा विभिन्न शाखाहरू अलग–अलग दिशामा अघि बढे ।"

"त्यसैले मानिस अहिलेको रातो बाँदर, लंगुर वा गिब्बनबाट बनेको होइन । उनीहरू सबै एउटै विशाल वंशवृक्षका फरक–फरक हाँगा हुन् ।"

योगेन्द्रप्रसादले पहिलोपटक यो कुरा यति स्पष्ट रूपमा बुझे ।

 

त्यसपछि प्राध्यापकले अर्को चित्र देखाए ।

त्यसमा प्राचीन कपि र आधुनिक प्राइमेटहरूको विकासक्रम देखाइएको थियो ।

"नेपालको पाल्पास्थित तिनाउ नदी क्षेत्र विश्व वैज्ञानिक समुदायका लागि महत्त्वपूर्ण मानिन्छ," उनले भने ।

"किनभने यहाँबाट फेला परेका जीवाश्मले दक्षिण एसियामा बसोबास गर्ने प्राचीन कपि समूहको अध्ययनमा महत्त्वपूर्ण योगदान दिएका छन् ।"

त्यसपछि उनले एउटा नाम उच्चारण गरे—

रामापिथेकस ।

"एक समय रामापिथेकसलाई मानिसको प्रत्यक्ष पूर्वज मान्ने धारणा थियो । पछि नयाँ जीवाश्म र आनुवंशिक अनुसन्धानपछि वैज्ञानिकहरूले त्यो धारणा परिमार्जन गरे । अहिले रामापिथेकसलाई सामान्यतया सिभापिथेकस (Sivapithecus) समूहसँग सम्बन्धित प्राचीन कपिका रूपमा बुझिन्छ, जसको सम्बन्ध आधुनिक ओराङओटाङका पुर्खासँग बढी नजिक देखिन्छ ।"

"विज्ञानको यही सुन्दर पक्ष हो—नयाँ प्रमाण आएपछि उसले आफ्नै निष्कर्ष पनि सुधार्छ ।"

अनिताले डायरीमा ठूलो अक्षरले लेखिन्—

"विज्ञान जिद्दी होइन, सत्य खोज्ने यात्रा हो ।"

 

विद्यार्थीहरूमध्ये एकले हात उठायो ।

"सर, बाँदर भनेको सबै एउटै हो ?"

प्राध्यापक हाँसे ।

"जसरी सबै मानिस एउटै स्वभावका हुँदैनन्, त्यसरी नै सबै प्राइमेट पनि एउटै हुँदैनन् ।"

उनले एउटा–एउटा तस्बिर देखाउन थाले ।

पहिलो तस्बिर थियो—ढेडु (Macaque)।

"नेपालमा रातो बाँदर यसै समूहमा पर्छ । यसको पुच्छर हुन्छ । यो अत्यन्त अनुकूलनशील हुन्छ । समूहमा बस्छ । मानिससँग नजिक बस्न पनि सिक्छ ।"

दोस्रो तस्बिरमा लामो हात भएको जीव थियो ।

गिब्बन ।

"गिब्बनलाई 'लेसर एप' अर्थात् सानो मानवकपि भनिन्छ । यसको पुच्छर हुँदैन । रुखबाट रुखमा हातको बलले अद्भुत गतिमा झुल्दै हिँड्ने क्षमता यसमा हुन्छ ।"

तेस्रो तस्बिर देखियो ।

राताम्मे कपाल, ठूलो शरीर, गम्भीर आँखा ।

ओराङओटाङ ।

"मलाय भाषामा यसको अर्थ हुन्छ—'वनको मानिस' । यो विश्वका सबैभन्दा बुद्धिमान् प्राइमेटमध्ये एक हो । यसले साधन प्रयोग गर्न सक्छ, सिक्न सक्छ र आफ्ना बच्चालाई वर्षौँसम्म पालनपोषण गर्छ ।"

त्यसपछि उनले चिम्पान्जी र गोरिल्लाको पनि छोटो परिचय दिए ।

"यी सबै हाम्रो विशाल जैविक परिवारका सदस्य हुन् ।"

 

त्यही बेला विद्यालयको आँगनबाहिर सिन्दुरेको हुल रुखमाथि बसेको थियो । साना बाँदरहरू खेलिरहेका थिए । एउटा बच्चाले सानो टह्रो समातेर उफ्रन खोज्दै थियो ।

प्राध्यापकले झ्यालतिर देखाउँदै भने,

"तपाईंहरूले त्यो बच्चालाई खेलिरहेको देख्नुभयो ?"

"खेल केवल रमाइलो होइन ।"

"त्यही खेलबाट उसले जीवनका सीप सिक्छ ।"

"हामीजस्तै धेरै प्राइमेटमा सिकाइ, अनुकरण, मित्रता, मातृत्व र सामाजिक सम्बन्ध अत्यन्त विकसित हुन्छ ।"

योगेन्द्रलाई पहिलेको कुरा सम्झना आयो—

आफ्नो मरेको बच्चालाई पनि दिनौँसम्म बोकेर हिँड्ने आमाबाँदर ।

उनले मनमनै भने,

"भावना पनि प्रकृतिको साझा भाषा रहेछ ।"

 

कार्यक्रमको अन्तिम चरणमा प्राध्यापकले इतिहासको अर्को पाना खोले ।

उनले चार्ल्स डार्बिनको तस्वीर देखाए ।

"डार्बिनले १८५९ मा विकासवादको सिद्धान्तलाई वैज्ञानिक आधारसहित प्रस्तुत गरे । उनले भने—प्राकृतिक छनोट (Natural Selection) मार्फत जीवहरू समयसँगै परिवर्तन हुँदै जान्छन् ।"

त्यसपछि अर्को तस्वीर आयो ।

थोमस हेनरी हक्स्ले ।

"डार्बिनका सबैभन्दा बलिया समर्थक ।"

प्राध्यापकले प्रसिद्ध प्रसङ्ग सुनाए ।

एक आलोचकले हक्स्लेलाई अपमान गर्न खोज्दै भने,

"तपाईंको पुर्खा बाँदर हो ?"

हक्स्लेले शान्त स्वरमा जवाफ दिएका थिए—

'म सत्य खोज्ने प्राणीको सन्तति हुन पाउँदा लज्जित छैन । बरु सत्य जान्दाजान्दै त्यसलाई अस्वीकार गर्ने मानिसप्रति लाज लाग्छ ।'

हलभरि गहिरो मौनता छायो । त्यो उत्तर केवल बहसको जित थिएन । त्यो प्रमाण र विवेकप्रतिको सम्मान थियो ।

 

घर फर्किने बेला योगेन्द्रप्रसाद र अनिता जंगलको बाटो हुँदै आए । रुखमाथि सिन्दुरे आफ्ना नातिनातिनासँग बसिरहेकी थिई । योगेन्द्रले केही बेर उनीहरूलाई हेरे । अब उनले त्यहाँ केवल बाली खाने जीव देखेनन् । उनले लाखौँ वर्षको विकासयात्राको एउटा जीवित अध्याय देखे । एउटा यस्तो प्राणी, जसले आफ्नै तरिकाले परिवार बनाउँछ । सन्तान हुर्काउँछ । सीप सिकाउँछ । वनमा बिउ छर्छ । र आफ्नै अस्तित्वका लागि संघर्ष गर्छ ।

अनिताले बिस्तारै भनिन्,

"हामी र उनीहरूबीचको फरक धेरै छ ।"

योगेन्द्र मुस्कुराए ।

"हो ।"

"तर एउटै पृथ्वीमा बाँच्ने हाम्रो नियति भने एउटै छ ।"

डाँडामाथि सूर्य अस्ताउँदै थियो । सिन्दुरेले आफ्ना साना सदस्यहरूलाई लिएर जंगलभित्र उकालो लागिन् । तल गाउँमा बालबालिकाले विद्यालयबाट सिकेको नयाँ पाठ दोहोर्याउँदै घर फर्किरहेका थिए । आज उनीहरूले केवल जीवविज्ञान पढेका थिएनन् । उनीहरूले नम्रता सिकेका थिए ।

किनभने विकासक्रमको विशाल वंशवृक्षमा मानिस सबैभन्दा शक्तिशाली हाँगा हुन सक्छ,

तर ऊ त्यस रुखको एक्लो हाँगा भने कहिल्यै होइन ।

२०: सेताम्मे कपालको मौन संवाद

वर्षौंदेखि एउटै पहाडले दुई जीवनको यात्रा हेरिरहेको थियो ।

एउटा थियो—योगेन्द्रप्रसाद ।

अर्की थिई—सिन्दुरे ।

दुवैको जन्म फरक संसारमा भएको थियो । दुवैको भाषा फरक थियो । दुवैको संघर्ष फरक थियो । तर समयले दुवैका कपालमा एउटै रङ पोतिदिएको थियो—सेतो ।

 

एक बिहान योगेन्द्रप्रसाद ऐनाअगाडि उभिए । उनले आफ्नै कपाल छामे । कालो रङ लगभग हराइसकेको थियो ।

नातिले हाँस्दै सोध्यो,

"हजुरबा, तपाईंको कपाल किन सेतो भयो ?"

योगेन्द्र मुस्कुराए ।

"समयले रंग फेरेको हो ।"

तर त्यो उत्तर पूरा थिएन । उनका सेता कपालभित्र केवल उमेर थिएन । त्यहाँ बाँदर धपाउँदै बितेका अनगिन्ती पहेँला घामका बिहान थिए । असिना परेका खेत थिए । बसाइँ सरेका छिमेकीहरू थिए । रित्तिएका गोठ थिए । निद्राहीन रातहरू थिए । आशा र निराशाबीच डगमगाएका दशकहरू थिए ।

मानिसको बुढ्यौलीमा वर्ष मात्र थपिँदैन, स्मृतिको भार पनि थपिन्छ ।

 

त्यही बेला जंगलको काफलको रुखमाथि सिन्दुरे आफ्ना हातहरू चाट्दै बसिरहेकी थिई । उनको अनुहार वरिपरिका रौँ पनि पहिलेजस्तो राताम्मे थिएनन् । आँखाको चमक अझै बाँकी थियो, तर फुर्ती घटिसकेको थियो । अब उनी सबैभन्दा अगाडि दौडिन सक्दिनथिइन् । सबैभन्दा माथिल्लो हाँगामा एकै छलाङमा पुग्न सक्दिनथिइन् । तर हुलले उनलाई अझै पछ्याउँथ्यो ।

किनभने उमेरले उनको शरीर कमजोर बनाएको थियो,

निर्णय गर्ने बुद्धि होइन ।

 

जीवविज्ञानका प्राध्यापकले एक दिन विद्यालयमा एउटा रोचक कुरा सुनाए ।

"धेरै प्राइमेटमा, विशेषगरी मानिसमा, उमेरसँगै कपाल सेतो हुनु सामान्य जैविक प्रक्रिया हो ।"

"कपालको जरामा हुने मेलानोसाइट नामका कोशिकाले मेलानिन नामक रङ उत्पादन गर्छन् । उमेर बढ्दै जाँदा ती कोशिकाको सक्रियता घट्छ । त्यसैले कपाल सेताम्मे देखिन थाल्छ ।"

एउटा विद्यार्थीले सोध्यो,

"बाँदरको पनि कपाल सेतो हुन्छ ?"

प्राध्यापकले उत्तर दिए,

"कतिपय प्रजातिमा उमेर बढ्दै जाँदा अनुहार, टाउको वा शरीरका रौँ फुस्रा वा सेताम्मे देखिन थाल्छन् । तर यो मानिसजस्तो सबै प्रजातिमा उस्तै रूपमा देखिँदैन ।"

"तर एउटा कुरा समान छ—बुढ्यौली ।"

"प्रत्येक जीव समयको नियमभित्र बाँच्छ ।"

 

अनिताले थप प्रश्न गरिन्,

"त्यसो भए मानिस र बाँदरको बुढ्यौलीमा समानता के हो ?"

प्राध्यापकले कालोपाटीमा दुई स्तम्भ बनाए ।

समानता

– उमेरसँगै शरीरको शक्ति घट्दै जानु ।

– प्रजनन क्षमता क्रमशः कम हुँदै जानु ।

– गति सुस्त हुनु ।

– अनुभवी सदस्यको सामाजिक भूमिका बढ्नु ।

– नयाँ पुस्तालाई सिकाउने जिम्मेवारी बढ्नु ।

त्यसपछि उनले अर्को स्तम्भ लेखे—

भिन्नता

"मानिस धेरै लामो आयु बाँच्न सक्छ ।"

"उसले चिकित्सा, पोषण र सामाजिक हेरचाहबाट आयु बढाउन सक्छ ।"

"बाँदर भने जंगलको कठोर प्राकृतिक छनोटमा बाँच्छ ।"

"भोक, रोग, सिकारी जनावर, दुर्घटना र बासस्थानको अभावले धेरैलाई वृद्धावस्थासम्म पुग्नै दिँदैन ।"

योगेन्द्रको मन एकाएक सिन्दुरेतिर गयो ।

"त्यसैले ऊ यति बूढी हुनु आफैँमा एउटा विजय रहेछ," उनले मनमनै सोचे ।

 

सिन्दुरेको हुलमा एउटा परिवर्तन धेरै अघिदेखि सुरु भइसकेको थियो । अब जवान पोथीहरू अगाडि हिँड्थे ।

उनीहरू फल खोज्थे । साना बच्चा बोक्थे । जोखिमको बेला दौडन्थे । सिन्दुरे भने पछाडि बसेर वरिपरि नियाल्थी ।

कुन बाटो सुरक्षित छ ।

कहाँ पानी छ ।

कुन ठाउँमा मानिस धेरै छन् ।

यी निर्णय अब उनको सबैभन्दा ठूलो योगदान थिए । जंगलमा उमेरको सम्मान शक्तिका कारण होइन, अनुभवका कारण हुन्थ्यो ।

 

योगेन्द्रप्रसादको जीवनमा पनि उस्तै परिवर्तन आएको थियो । अब खेतमा दिनभरि काम गर्ने शक्ति उनीसँग थिएन । अनिता र गाउँका युवाले धेरै जिम्मेवारी समालिसकेका थिए । तर गाउँको कुनै निर्णय गर्दा सबैले उनीसँग सल्लाह गर्थे ।

कुन कान्लामा पहिले बाँदर धेरै आउँथे । कुन खोल्सो गर्मीमा सुक्छ । कुन रूखमा पहिले काफल धेरै फल्थ्यो । यी सबै कुरा कुनै पुस्तकमा लेखिएका थिएनन् । ती योगेन्द्रको स्मृतिमा थिए । उनको अनुभव पनि गाउँको जीवित अभिलेख बनिसकेको थियो ।

 

एक साँझ अद्भूत दृश्य देखियो । योगेन्द्रप्रसाद डिलमाथि लाठी टेकेर उभिएका थिए । उता सिन्दुरे काफलको पुरानो रुखमाथि थिई ।

दुवै केही क्षण एकअर्कालाई हेरिरहे । बीचमा कुनै शब्द थिएन । तर समयले उनीहरूबीच एउटा मौन संवाद गराइरहेको थियो । दुवैले जवानीमा लडेका थिए । दुवैले आफ्ना सन्तान जोगाएका थिए । दुवैले भोक देखेका थिए । दुवैले हानि भोगेका थिए । दुवैले आफ्ना संसार परिवर्तन हुँदै गएको देखेका थिए । आज दुवैको शरीर थाकेको थियो ।

तर दुवैको सबैभन्दा ठूलो सम्पत्ति एउटै थियो—

अनुभव ।

 

त्यसै बेला योगेन्द्रका नातिले सोध्यो,

"हजुरबा, तपाईं र त्यो बूढी बाँदर किन यति शान्त हुनुहुन्छ ?"

योगेन्द्र मुस्कुराए ।

"किनकि उमेरले एउटा कुरा सिकाउँछ ।"

"लडाइँले सबै कुरा जितिँदैन ।"

"कतिपय कुरा बुझाइले मात्र जितिन्छ ।"

उता सिन्दुरेले पनि आफ्ना नातिनातिनालाई गाउँतिर जान नदिई जंगलभित्रको काफलतिर डोर्याइन् । सायद उनको अनुभवले पनि त्यही कुरा भनिरहेको थियो ।

 

प्रकृतिले मानिस र बाँदरलाई धेरै कुरा फरक दिएको छ ।

भाषा फरक ।

संस्कृति फरक ।

सभ्यता फरक ।

तर बुढ्यौली भने दुवैलाई समान रूपमा दिएको छ । समय दुवैको कपालमा आफ्नो हस्ताक्षर गर्छ । मानिसको कपाल सेतो हुँदा उसको अनुभव समाजको सम्पत्ति बन्छ । बाँदरको रौँ फुस्रा हुँदा उसको अनुभव हुलको सुरक्षा बन्छ ।

त्यसैले वृद्धावस्था केवल शरीरको क्षय होइन ।

यो अनुभवको परिपक्वता हो ।

र सायद यही कारणले—

अन्त्यमा योगेन्द्रप्रसाद र सिन्दुरे दुवै सेताम्मे देखिनु केवल उमेरको संकेत थिएन । त्यो दुई प्रजातिको लामो संघर्षपछि प्राप्त भएको बुद्धि, धैर्य र सहअस्तित्वको परिपक्वताको प्रतीक थियो ।

जवानीले उनीहरूलाई एकअर्काको विरोधी बनाएको थियो ।

बुढ्यौलीले उनीहरूलाई एउटै पृथ्वीका समान यात्रु बनाइदिएको थियो ।

 

 

२१: गाउँको पुनरुत्थान

सात वर्ष बितिसकेको थियो । पहाड उही थियो । खोल्साहरू उही थिए । हावाले उही सल्लाका पात हल्लाइरहेको थियो । तर गाउँ अब पहिलेको गाउँ रहेन । र जंगल पनि पहिलेको जंगल रहेन । सबैभन्दा ठूलो परिवर्तन मानिसको सोचमा आएको थियो ।

 

कहिल्यै बाँझै रहने जस्तो लागेका कान्लाहरू आज हरिया थिए । कतै नेपियर घाँस लहराइरहेको थियो । कतै डालेघाँसका पाखाहरू फैलिएका थिए । गोठहरू फेरि भरिन थालेका थिए । गाईका घण्टीहरू बिहानको शान्तिलाई मधुर बनाइरहेका थिए । बाख्राका बथान डिल–डिल चर्दै थिए । पहिले झाडीले ढाकेको जमिन अहिले उत्पादनले भरिएको थियो ।

 

अनिताको गोठ अब दुई गाईबाट बढेर बाह्रवटामा पुगेको थियो । उनले गाउँका अरू युवालाई पनि तालिम दिन थालेकी थिइन् । दूध संकलन केन्द्र विस्तार भएको थियो । छुर्पी उत्पादन गर्ने सानो उद्योग खुलेको थियो । स्थानीय महिलाहरूले सहकारीमार्फत आफ्ना उत्पादन बजार पठाउन थालेका थिए । एक समय विदेश जाने सोच बनाएका रमेश अहिले यही उद्योगको व्यवस्थापक थिए ।

उनी हाँस्दै भन्थे,

"रोजगारी खोज्न विदेश जानुभन्दा रोजगारी सिर्जना गर्न गाउँ फर्कनु राम्रो रहेछ ।"

 

योगेन्द्रप्रसाद बूढा भइसकेका थिए । उनको गुलेली अहिले घरको धुरीमा झुन्डिएको थियो ।

धुलोले ढाकिएको ।

वर्षौँदेखि प्रयोग नभएको ।

नातिले एक दिन सोध्यो,

"हजुरबा, यो के हो ?"

योगेन्द्र मुस्कुराए ।

"कहिल्यै हाम्रो हातको हतियार थियो ।"

"अहिले ?"

"अहिले सम्झना मात्र ।"

 

जंगलमा पनि परिवर्तन कम थिएन । वर्षौँअघि रोपिएका काफलका बिरुवाहरू अहिले साना रुख बनेका थिए । लप्सीले फल दिन थालेका थिए । चुत्रोका झाडी बाक्लिएका थिए । कटुसका बोटहरू फैलिएका थिए । वर्षायाममा पोखरीहरू पानीले भरिन्थे । चराहरूको संख्या बढेको थियो । मौरीहरू फर्किएका थिए । र सिन्दुरेको हुल अब पहिलेजस्तो बारम्बार गाउँ झर्नुपर्ने अवस्थामा थिएन ।

 

सिन्दुरे भने अब धेरै वृद्ध भइसकेकी थिई । उनको हिँडाइ सुस्त भएको थियो । तर आँखामा सन्तोष थियो । आज उनका नातिनातिना जंगलमै खेलिरहेका थिए ।

एक दिन एउटा जवान बाँदरले तलको गाउँतिर हेरेर झर्न खोज्यो । सिन्दुरेले शान्त स्वरमा संकेत गरिन् । त्यसपछि उसलाई काफलले भरिएको रुखतिर डोर्याइन् ।

जवान बाँदर केही बेरमै गाउँ बिर्सियो ।

सिन्दुरेले मनमनै महसुस गरिन्—

जंगलले फेरि आफ्नो काम गर्न थालेको छ ।

 

तर सबै कुरा पूर्ण थिएन । कहिलेकाहीँ लामो खडेरी पर्दा केही बाँदर अझै गाउँ झर्थे । कुनै वर्ष फल कम लाग्दा केही बालीमा क्षति हुन्थ्यो । कतिपय किसान अझै चिन्तित हुन्थे । स्थानीय तहले हरेक वर्ष तथ्याङ्क अद्यावधिक गर्थ्यो । बाली राहत कोष सञ्चालनमै थियो । वनमा नयाँ बिरुवा रोप्ने अभियान रोकिएको थिएन ।

अनिताले गाउँको बैठकमा सधैँ एउटै कुरा दोहोर्याउँथिन्,

"व्यवस्थापन एक पटक गर्ने काम होइन ।"

"यो निरन्तर चलिरहने प्रक्रिया हो ।"

सबैले सहमतिमा टाउको हल्लाउँथे ।

 

एक दिन जिल्ला स्तरको टोली गाउँ अवलोकन गर्न आयो । उनीहरूले पुराना तस्बिर र अहिलेका दृश्य तुलना गरे । त्यस बेला अधिकांश खेत बाँझा थिए । आज हरिया थिए । त्यस बेला धेरै घरमा ताला लागेको थियो । आज आँगनमा बालबालिका खेलिरहेका थिए । त्यस बेला गोठ रित्तिएका थिए । आज दूधका क्यान बजारतिर जाँदै थिए । त्यस बेला बाँदर र मानिसबीचको भेट झगडाले टुङ्गिन्थ्यो । आज त्यस्ता घटना कम भएका थिए । पूर्ण रूपमा समाप्त भने भएका थिएनन् । तर परिवर्तन स्पष्ट थियो ।

 

त्यस साँझ योगेन्द्रप्रसाद आफ्नो घरअगाडिको चौतारामा बसेका थिए । सिन्दुरेको हुल टाढाको डाँडाबाट जंगलभित्र हराउँदै थियो । उनीहरू गाउँतिर झरेनन् । योगेन्द्रले धेरैबेर उनीहरूलाई हेरिरहे ।

उनी सम्झिए—

कहिले यही बाँदरलाई देख्नेबित्तिकै उनी गुलेली समाउँथे । आज उनी केवल हेर्दै थिए । द्वेष हराएको थियो । सावधानी भने बाँकी नै थियो ।

 

सूर्य पश्चिमको डाँडामुनि डुब्न थाल्यो । पहाड सुनौलो भयो । घाँसका मैदानहरू चम्किए । गोठबाट फर्कँदै गरेका गाईका घण्टीहरू गुञ्जिए । जंगलभित्र काफलका रुखहरू हावामा बिस्तारै हल्लिए ।

योगेन्द्रका नातिले सोध्यो,

"हजुरबा, अब त बाँदरको समस्या सकियो ?"

योगेन्द्रले मुस्कुराउँदै जंगलतिर हेरे ।

"प्रकृतिमा समस्या कहिल्यै पूर्ण रूपमा सकिँदैन, बाबु ।"

"हामीले केवल त्यससँग मिलेर बाँच्न सिक्नुपर्छ ।"

"आज हामी त्यही सिकिरहेका छौँ ।"

टाढा सिन्दुरेले अन्तिमपटक गाउँतिर फर्केर हेरिन् । त्यसपछि उनी आफ्ना हुलसँगै जंगलभित्र हराइन् ।

मानिस र बाँदरबीचको दूरी अझै थियो ।

तर त्यो दूरी अब डरले बनाएको पर्खाल थिएन ।

एकअर्काको अस्तित्वलाई स्वीकार गर्ने समझदारीको सीमा थियो ।

र यही सीमाले पहाडलाई फेरि जीवन्त बनाइरहेको थियो ।

२२: छायाँबाट प्रकाशतिर

बिहानको पहिलो घाम चौबिसे–४, ठूलागाउँका डाँडाहरूमा बिस्तारै फैलिँदै थियो । कुनै समय सुनसान बनेको गाउँ आज फेरि जाग्दै थियो । गोठबाट गाईका घण्टी बजिरहेका थिए । आँगनमा बालबालिकाको हाँसो गुञ्जिरहेको थियो । घरका छानामा फेरि मकै र कोदो सुकाइएका थिए, तर अब ती वरिपरि सावधानीपूर्वक बनाइएका प्राकृतिक जैविक घेराबार, सामुदायिक निगरानी र व्यवस्थापनका उपाय पनि थिए । गाउँलेहरूलाई थाहा थियो—सहअस्तित्वको अर्थ लापरबाही होइन, जिम्मेवारी हो ।

 

टंक देवान घरको पिँढीमा बसेर बिहानको चिया पिइरहेका थिए । कुनै समय यही गाउँका पैंतीस घरमध्ये अन्तिम बासिन्दा उनी मात्र थिए । एकपछि अर्को छिमेकी गाउँ छोड्दै गए ।

खेत बाँझिए । आँगन सुनसान भयो । साझ पर्दा केवल हावाको आवाज सुनिन्थ्यो । आज त्यही बाटोमा फेरि मानिसहरू हिँडिरहेका थिए । एउटा घरमा नयाँ छाना लगाइएको थियो । अर्को घरमा गोठ बनिरहेको थियो । कतै बालबालिकाले विद्यालय जाने तयारी गरिरहेका थिए । कतै महिलाहरू दूध संकलन केन्द्रतिर हिँडिरहेका थिए ।

टंक देवानका आँखामा वर्षौँपछि सन्तोषको चमक देखियो ।

उनले बिस्तारै भने,

"गाउँले फेरि सास फेर्न थालेछ ।"

 

योगेन्द्रप्रसाद, चक्रबहादुर र अनिता पनि त्यही बिहान चौतारामा भेटिए । उनीहरूका कपाल सेताम्मे भइसकेका थिए । तर अनुहारमा पहिलेको निराशा थिएन । उनीहरूले तल फैलिएको हरियो गाउँ नियाले ।

घाँसेबालीले ढाकिएका कान्ला ।

फलफूलका बगैँचा ।

गोठभरि पशु ।

जंगलतिर फैलिएका काफल, लप्सी, कटुस र चुत्राका रुख ।

अनिताले शान्त स्वरमा भनिन्,

"हामीले बाँदरको समस्या समाधान गरेका होइनौँ ।"

"हामीले समस्यासँग बाँच्ने बुद्धि सिकेका हौँ ।"

सबैले मौन समर्थन जनाए ।

 

त्यसै बेला डाँडामाथिको एउटा पुरानो काफलको रुखमा सिन्दुरे बसेकी थिई । उनी अब निकै वृद्ध भइसकेकी थिई । उनीसँगै उनका सन्तान, नातिनातिना र नयाँ पुस्ताका सदस्यहरू थिए । तल गाउँ देखिन्थ्यो । तर त्यो गाउँ अब पहिलेजस्तो थिएन । त्यहाँ उनीहरूका लागि सजिलो खाना कम थियो ।

जंगलभित्रका फलफूल बढेका थिए । पोखरीमा पानी थियो । रुखमा प्रशस्त फल थिए । त्यसैले आज उनीहरू गाउँ झर्नुपर्ने आवश्यकता महसुस गरिरहेका थिएनन् ।

सिन्दुरेले धेरैबेर तल हेरिरही ।

उनलाई याद आयो—

कहिल्यै यही गाउँमा ढुङ्गा उड्थे । टिन बज्थे । कुकुर भुक्थे । मानिस कराउँथे ।

आज हावाको आवाज मात्र थियो । उनले आफ्ना नातिनातिनालाई बिस्तारै जंगलभित्र डोर्याइन् । उनको लामो यात्राले अन्ततः केही शान्ति भेट्टाएको थियो ।

 

त्यही दिन गाउँमा वृक्षारोपण दिवस मनाइँदै थियो । विद्यालयका विद्यार्थीहरूले काफल, लप्सी, कटुस र जामुनका बिरुवा रोपिरहेका थिए ।

शिक्षकले सोधे,

"यी रुख कसका लागि ?"

एउटा बालकले भन्यो,

"हाम्रा लागि ।"

अर्की बालिकाले थपिन्,

"जंगलका जनावरका लागि ।"

तेस्रोले मुस्कुराउँदै भन्यो,

"हामी सबैका लागि ।"

शिक्षकले सन्तोषपूर्वक टाउको हल्लाए ।

नयाँ पुस्ताले सहअस्तित्व किताबबाट मात्र होइन, जीवनबाट सिक्न थालेको थियो ।

 

साँझ पर्न लाग्यो । सूर्य पहाडपारि हराउँदै थियो । हरियो घाँसमा गाईहरू चरिरहेका थिए । चराहरू आफ्ना गुँडतिर फर्किरहेका थिए । टाढाको जंगलमा सिन्दुरेको हुल रुखमाथि बसिसकेको थियो । गाउँमा चुल्होबाट धुवाँ उठ्न थालेको थियो ।

योगेन्द्रप्रसादले आफ्नो पुरानो गुलेली हातमा लिए । केही क्षण त्यसलाई हेरे ।

त्यस गुलेलीले उनको जीवनका धेरै वर्ष बोकेको थियो—

रिस ।

डर ।

असहायता ।

संघर्ष ।

उनले त्यो गुलेली घरको भित्तामा टाँसे ।

स्मृतिका रूपमा । हतियारका रूपमा होइन ।

उनका नातिले सोध्यो,

"यसलाई किन राख्नुभयो ?"

योगेन्द्र मुस्कुराए ।

"हामीले कहाँबाट सिक्यौँ भन्ने कुरा बिर्सनु हुँदैन ।"

"तर फेरि त्यही गल्ती दोहोर्याउनु पनि हुँदैन ।"

 

रात विस्तारै फैलियो । आकाशमा अनगिन्ती ताराहरू टल्किरहेका थिए । त्यही आकाशमुनि गाउँ थियो । त्यही आकाशमुनि जंगल थियो । र त्यही आकाशमुनि मानिस र बाँदर दुवै निदाउने तयारीमा थिए ।

यो पृथ्वी कसको हो ?

मानिसको मात्र ?

बाँदरको मात्र?

जंगलको मात्र ?

उत्तर प्रकृतिले धेरै पहिले दिइसकेको थियो । पृथ्वी कुनै एक प्रजातिको सम्पत्ति होइन । यो सबैको साझा घर हो । यसमा प्रत्येक जीवको स्थान छ । प्रत्येक प्रजातिको भूमिका छ । प्रत्येक अस्तित्वको अर्थ छ ।

विवेकशील प्राणी भएकाले मानिसको जिम्मेवारी अरूभन्दा ठूलो छ ।

बल प्रयोग गरेर जित्नु होइन, बुझेर जोगाउनु । विनाश गरेर होइन, सन्तुलन कायम गरेर अघि बढ्नु । बाँदर हाम्रो शत्रु होइन । ऊ पनि यही पृथ्वीको सहयात्री हो ।

जब जंगलमा पर्याप्त रैथाने फलफूल हुन्छ, जब पानीका स्रोत जोगाइन्छन्, जब बासस्थान पुनर्स्थापित हुन्छ, जब किसानलाई राहत, बीमा, वैज्ञानिक व्यवस्थापन र वैकल्पिक आजीविका—विशेषतः घाँसेबाली र पशुपालन—को आधार दिइन्छ, जब समुदाय, स्थानीय तह, वैज्ञानिक, वनकर्मी र नीति निर्माताहरू एउटै दिशामा सँगै हिँड्छन्, तब मानव र बाँदर दुवैको भविष्य सुरक्षित बन्न थाल्छ । सहअस्तित्व कुनै चमत्कार होइन । यो दीर्घकालीन सोच, निरन्तर प्रयास र साझा जिम्मेवारीको परिणाम हो ।

त्यस रात काफलको रुखमुनि सिन्दुरेले अन्तिमपटक गाउँतिर हेरिन् । गाउँबाट पनि एउटा बालकले जंगलतिर हेरिरहेको थियो । दुवैले एकअर्कालाई बोलाएनन् । दुवैले एकअर्कालाई लखेटेनन् । तर एउटै मौनताभित्र एउटा नयाँ सम्बन्ध जन्मिइसकेको थियो ।

मानिस र बाँदरबीचको त्यो सम्बन्ध विजय र पराजयको थिएन ।

त्यो सम्बन्ध एउटै पृथ्वीका दुई सहयात्रीबीचको विश्वासको थियो ।

र यही विश्वासको उज्यालोमा—

बाँदरको छायाँमा सुरु भएको यात्रा अन्ततः सहअस्तित्वको प्रकाशमा पुग्यो ।

 

२०८३ साउन १०

बिजु सुवेदी विजय

 

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

जेन्जी आन्दोलनलाई नजिकबाट हेर्दा

पुस्तागत अध्ययन : एक अध्ययन