धुलोमुनि जन्मिएको उज्यालो
धुलोमुनि जन्मिएको उज्यालो
— “खाली असनहरू र भरिएको मौनता”
आज ट्रान्स्परेन्सी इन्टरनेशनल डे । सहरको केन्द्रमा रहेको पुरानो सभाहलको ढोकासम्म पुग्दा म निकै उत्साहित थिएँ— “आज त केही नयाँ परिवर्तन सुन्न पाइनु पर्छ, केही आगो झैं बल्ने शब्द सुन्न पाइनु पर्छ,” मनले भनेको थियो ।
तर जब म ढोका खोलेर भित्र पसेँ—
सभाहलमा चर्को ताली, क्यामेराको झिलिमिली, पत्रकारको भीड सबै पहिले नै सकिसकेका रहेछन् ।
म ढिला आएँ हैन,
कार्यक्रम नै मन्तरजस्तो छिटो—रित्तो—औपचारिक रूपमा हुँदै सकिएको रहेछ ।
सबैभन्दा अगाडि मञ्चमा बसेका तेलिलो अनुहार, घडीका चमक र कोटका कर्डन बोकेका उही अफन्ते–एजेन्डा–क्वोट कमिशनधारीहरु भर्खर मात्र “भ्रष्टाचारविरोधी प्रतिबद्धता” घोषणा–पत्रमा हस्ताक्षर गरेर हैसियत झल्कने गाडी चढेर गइसकेका थिए ।
म भने— “भ्रष्टाचारविरोधी” साधारण नागरिक, म जस्तै अरू सानातिना आवाज बोकेका मानिसहरू—
हाम्रा लागि त कार्यक्रम सुरु हुनै नपाई समाप्त भइसकेको ।
भित्रका कुर्सीहरू अघिल्ला ‘विशेष अतिथि’ का तौलले अहिलेसम्म हलमलाइरहेका थिए । पछाडिका असनहरू भने हामी जस्ता साधारण नागरिकका लागि खाली—अधैर्य—र निरन्तर प्रतीक्षामा । मसँगै उभिएका केही जागिरेहरू गुनासो पोख्दै थिए— “हामी त सरकारी जागिरे, भ्रष्टाचारविरोधी कार्यक्रममा खुलेर भाग लिन पाइँदैन, भाग लियौं भने लाइनमै उभ्याएर कारबाही गर्छन् ।”
कसैले कन्कले हाँस्दै थप्यो— “उता मञ्चमा भने भर्खरै २० बर्षदेखि राज्य दोहन गरेका मान्छे ‘भ्रष्टाचार अन्त्य’को प्रतिज्ञा पढेर गएका छन्, हामीचाहिँ... मौन ।”
त्यो वाक्य सुन्दा सभाहलभरि कुनै ठूलो मौन बजिरहेको जस्तो लाग्यो । त्यो मौन भ्रष्टाचारको आवाजभन्दा पनि ठूलो थियो । किनकि त्यो मौनमा डर, पीडा र बोल्न नपाउनेहरूको आक्रोश मिसिएको थियो ।
अनि म भित्रैभित्र सोचिरहेँ— आजको दिनमा कार्यक्रममा भाग लिनुपर्ने सबैभन्दा महत्वपूर्ण मान्छे
हाम्रै जस्ता नागरिक,– तर भाग लिने अधिकार भने त्यो लुटेको शक्तिका मालिकहरूको ।
भन्थे— भ्रष्टाचारविरोधी दिवस भ्रष्टाचारलाई चुनौती दिने दिन हो तर यहाँ त भ्रष्टाचारकै मालिकहरुले कार्यक्रम कब्जा गरे । हामी जस्तै मान्छे ढोकाबाट हेरेर बस्नुपरेको छ तर यही बिहान यही मौनता मेरो मनमा एउटा आरोह बनेर उठ्यो— “अब तिमी बस्ने होइन, ... बोल्ने पालो आइपुग्यो ।”
–––
“सडकमा उभिएको डरको छायाँ”
ट्रान्स्परेन्सी इन्टरनेशनल डेको कार्यक्रम सकिएको त्यो निराश मन बोकेर म घर फर्किंदै थिएँ । साँझको हावामा बुटवल–चितवन–काठमाडौं जस्तै धुलो मिसिएको थियो, तर आजको धुलो मलाई सामान्य धुलो जस्तो लागेन—
यो त भ्रष्टाचारीहरूकोल अहंकारले उडाएको धम्कीको धुलो जस्तो थियो ।
म स्वयम्भू चढ्ने बाटो नजिकै थिएँ—बुद्धका झण्डाहरू नरम हावामा फर्फराइरहेका थिए— तर त्यही बेला ट्र्याक्टरको आवाजजस्तै गर्जनासहित एक मोटरसाइकल र्याली म किंवा सडकको बीचबाटै चिर तभबचष्लन गर्दै मैले हिँडेको बाटोतिर आकस्मिक मोडियो ।
पहिलो मोटरसाइकलले एउटै झट्का दिने गरी होर्न बजायो।
दोस्रोले इन्जिन उचालेर जानी–जानी माथिल्लो साइड मिररले मेरो कुम छोएजस्तै ग¥यो।
तेस्रो मोटरसाइकलमा बसेका दुई जनाले त झन् हाँस्दै स्पीड घटाएर कानसम्म सुनिने गरी भने— “आज त कार्यक्रम हाम्रै घरमुनि भएकै हो नि... टोपी नदिखाईकन किन हो कन्काइँ हिँड्यो ?”
त्यो वाक्यमा राजनीतिक अहंकार, अपराधी ढुकुटी, र धम्कीको बाक्लो धुवाँ थियो । मैले ठ्याक्कै बुझिसकेको थिएँ— आज उनीहरू मलाई उही कारणले धम्क्याइरहेका थिए— किनकि म भ्रष्टाचार विरोधी कार्यक्रममा उनीहरूको घरमुनिको बाटोबाट नहिँडिकन लामो बाटो समाएर गएको थिएँ ।
उनीहरूको सन्देश स्पष्ट थियो— “तिमीले हाम्रो नजर चक्मा दिएर कुन पक्ष लिन जाँदै छौ ?”
सडकमा १० मिनेटको त्यो क्षण मनभित्र भने १० वर्षभन्दा ठूलो आक्रमण जस्तो लाग्यो । सडकमा हाँस्दै गुड्ने त्यो र्याली तानाशाहको छायाँजस्तै भयानक थियो र त्यो बहानामा उनीहरूले मलाई भन्न चाहेका थिए— “हामीलाई नदेखेरे तिमी स्वतन्त्र हिँड्न पाउँदैनौ ।”
तर मनको कुनै कुना पहिलेभन्दा बलियो हुँदै गइरहेको थियो । साहस कहिलेकाहीँ मनको अँध्यारो कुनाबाट नै सबैभन्दा ठूलो उज्यालो भएर निस्कन्छ । त्यस क्षण मैले मनमनै सोचेँ— “यदि एक दिन भ्रष्टाचारसँग लड्नेछु भने, त्यसको पहिलो छायाँ यही सडकमै भेटिएछ ।”
–––
“झूटको तौल र सत्यको खाली हाथ”
स्वयम्भूको बाटोमा मोटरसाइकलको र्यालीले दिएर गएको धम्की केवल ट्राफिक दुर्घटनाको जोखिम थिएन— त्यसले एउटा झूटको तुफान बोकेको थियो र त्यो तुफान त्यसबेला झन् प्रचण्ड भयो जब मैले सुनेँ— उनीहरूको डाका धारणाः मैले रे उनीहरूको सामान घोटाला गरेछु । पहिले त सुन्दा हाँसो लाग्यो... के म— अहिले पनि महिनाको भाडा तिर्न दुई पटक हिसाब–किताब मिलाउने मान्छे, जसले आफ्नो श्रमको पसिनाबाहेक कुनै जमिन, भवन, बैक–कर्जा, सुन, चाँदी, केही पनि जोडेको छैन— त्यस मलाई उनीहरू “डाँका” भन्न थालेछन् ?
तर हाँसो तत्कालै एक भारी मौनमा परिणत भयो । कहिलेकाहीँ आरोप यस्तो हुन्छ जसले सत्यभित्रै डर भरिदिन्छ । उनीहरूका घरमा भित्ताभरि सर्टिफिकेट, ड्रइङरुममा काठका शेल्फभरि सुनका पुरस्कार, चौरमा उभिने चार–चार वटा गाडी— तर उनीहरूको दास जनमत जति ठूलो, उत्तिकै ठूलो झूट चलाउने क्षमता पनि ।
किनकि असल मान्छेलाई दोष दिन भ्रष्ट शक्तिहरू अदालत होइन निकै चलाख अफवाह प्रयोग गर्छन् । त्यही अफवाहले मलाई उनीहरूको नजरमा एकाएक “डाँका” बनाइदियो । त्यही शब्द— “डाँका”—
एकछिनका लागि माथिबाट खस्रिएको पत्थरझैं माथि प¥यो । यस आरोपको विडम्बना यति बिम्बात्मक थियो कि— श्रमिकसँग केही सम्पत्ति छैन, तर असल मान्छेले कुरा उठायो कि अपराधीको दिमागमा सबैभन्दा पहिले “घोटाला” को आरोप जन्मिन्छ ।
कसैले मलाई सोध्यो— “तिनीहरूले किन यस्तो आरोप लगाएका हुन्?”म भित्रभित्रै मुस्कुराएँ...किनकि मैले उनीहरूको घरमुनिको बाटोबाट कार्यक्रम जान छाडेपछि उनीहरूको मनमा एउटा डर बसेको थियो— “यो मान्छे अब हाम्रो नजरबाट बाहिरियो, अब यो हाम्रो नियन्त्रणमा रहने छैन ।”
यो एउटा अपराधी मानसिकताले सामान्य नागरिकलाई हेर्ने चिरपरिचित दृष्टिकोण थियो—
जो उनीहरूको पक्षमा टिकेन , त्यो शत्रु ।
शत्रुलाई हराउन नसक्भछन् भने,
झूटै बोकेर बदनाम गरिदिन्छन् ।
तर त्यस दिन, त्यो क्षण, मलाई मेरो खाली हातमा एकदमै ठूलो शक्ति महसुस भयो—
सत्य ।
सत्यसँग घर छैन,
सत्यसँग गाडी छैन,
सत्यसँग पद छैन,
सत्यसँग जमिन छैन ।
तर सत्यसँग एउटा कुरा छ—
साहस ।
र उनीहरूले अझै बुझिरहेका छैनन्—
जोसँग केही गुमाउनै छैन
उही मान्छे
सबैभन्दा खतरनाक हुन्छ
अन्यायको राज्यका लागि ।
–––
“भरिएको तिजोरी, रित्तिएको भान्सा”
तीन दिनदेखि मेरो घरको भान्सामा त्यही पुरानै आवाज गुञ्जिरहेथ्यो— भात पक्दै गर्दा बाफले छानामा ठोक्किने आवाज, अनि भाँडाको माथिल्लो भागमा दाल पग्लिँदै गर्दा उठ्ने मन्द सुगन्ध ।
आज मसँग बचेको सबै चामल भान्साको एउटै भगोलीमा हालें । “भरिएका थाल त हामीले कहिल्यै देखेनौँ”, मनले फुसफुसायो । त्यो चामल आजले मात्रै हैन— धेरै पल्ट एकै दिनमा सकिन लागेको जीवन थियो ।
२०० ग्राम दाल किनेको थिएँ । दुई छाक चल्यो, तेस्रोमा त भाँडाको भित्तामा टाँसिएको पातलो पानी मात्र बाँकी ।
तर त्यही क्षण मेरो दिमागमा यति चर्को विसंगति बजिरहेको थियो कि— कोरोनाको महामारीले सारा देश रोकियो, ०७२ को भूइँचालोले हजारौँ परिवारको छानामुनि आकाश ल्याइदियो...
तर ती भ्रष्ट–आत्माहरू—
स्वीस बैंकमा आफ्नो पैसा
झन् बढाउन सफल भए ।
जसका घर भत्किए,
तिनका सपनासमेत च्यातिए ।
जसका परिवार हराए,
तिनले अभीक्षा माग्ने ठाउँ पनि पाएनन् ।
तर अर्कातिर—
मधेसी आंदोलनका बजेट,
भूकम्प पुनर्निर्माणका राहत,
कोरोना उपचारका अक्षरहरू—
सबै
कागजमै बाँडीयो;
जीवनमा होइन ।
र ती कागजमा बाँडिएका रकम
स्वदेशका लेखापालको मेजबाट
कुनै अदृश्य नालामार्फत
विदेशका बैंकतिर गइसके ।
स्वीस बैङ्कले रिपार्ट देखायो
यो अवधिमा नेपालको पैसा बढ्यो
त्यो पनि अचाकली ।
यसैले अझ पीडा लाग्थ्यो—
म जस्तै श्रमिक,
जसको रातमा पसिना
र बिहानमा संघर्षमात्र बाँकी छ,
ऊ भोलि चामल किन्नुसम्म
गर्छ–नगर्छको हिसाब मिलाइरहेको छ ।
तर उनीहरू—
जसले राष्ट्रको विपद्
अवसरमा बदलिदिए—
उनीहरूको खाता
महामारीसँगै
भूकम्पसँगै
झन् मोटाउँदै गइरहेका छन् ।
आज मैले भान्सामा
चामलको अन्तिम थैली खाली गर्दा,
मात्र पेटको भोक हैन—
मनको आक्रोश पनि जाग्यो ।
त्यो थलो,
जहाँ सारै ओजिलो मात्र बाँकी छ ,
त्यहीँबाट
विद्रोह जन्मिन्छ ।
अनि त्यही बेला
मैले एक कड्किएको सत्य सम्झेँ—
“भ्रष्टाचारले राष्ट्र होइन,
सामान्य नागरिकको भान्सा भत्काउँछ ।”
त्यो भान्सा—
आज मेरो थियो,
भोलि अरू कसैको बन्छ ।
तर भ्रष्टाचारको तिजोरी
हजारौँ यस्तो भान्सा तुहाएर
मात्र भरिन्छ ।
आज,
भात पकाउँदै गर्दा
भान्सामा उठेको बाफ
मलाई एकै थप्का आँसुझैं लाग्यो—
तर त्यही बाफमा
एक अनौठो कसम पनि उठ्यो—
अब यो कथा
म मौन भएर सकिँदैन ।
म सिधा उभिन्छु—
किनकि सत्यसँग जति भान्सा खाली भए पनि
साहस कहिल्यै खाली हुँदैन ।
— “मुठ्ठी बटारिएको समय, र पुरानो सत्ताको छाया”
आज मेरो दिन फेरि उस्तै धम्कीले सुरु भयो । म सडकमा घाम र धुलो चिर्दै अघि बढ्दै थिएँ— अचानक, उनीहरू फेरि देखा परे । एकै दिनमा ४–५ ठाउँ, उनीहरू माझैबाट गुडेर, मुट्ठी आकाशतिर उठाइ जानी–जानी मेरो अगाडि घुमाएर देखाइदिन्छन्— खुला धम्की, नाङ्गो घमण्ड, र वर्षौंको आजको दशकौँको पहिलेकोे दम्भ ।
तैपनि—
ती माओवादी थिएनन् ।
किनकि माओवादीको मुठ्ठी
संघर्षको प्रतीक थियो ।
यी मुठ्ठी—
प्रतिगमनको प्रतीक थिए ।
अँध्यारो युग फर्काउने
छायाहरू ।
उनीहरूको आँखामा
भविष्य होइन,
अतीतको जमात देखिन्थ्यो ।
त्यो अतीत—
जसले देशलाई
नागरिक होइन,
प्रजा बनाएको थियो ।
उनीहरूको मन अझै पनि
सत्ताको दरबारमा बाँधिएको छ—
जहाँ हरेक आलोचना
“गद्दारी” लेखिन्थ्यो ।
जहाँ हरेक प्रश्न
“राजद्रोह” भनिन्थ्यो ।
जहाँ सरकारी स्टाफलाई
एकै वाक्यले हटाइन्थ्यो—
“शाही सत्ता गएको छैन,
भ्रष्टाचारी सावित !”
आज यी उही विचारधारा
नयाँ पोसाकमा
पुरानै शैलीमा बाँचिरहेका छन् ।
हिजो पञ्चायतका हाकिमहरू
जसरी आन्दोलनकारीको फाइलमा
कागजको एक लाइन लेखेर
करिअर काटिदिन्थे—
उनीहरुकै मानसिकता
आज पनि चलिरहेको छ ।
सरकारी कार्यालयमा
जुनसुकै बेला
हामी जस्ता सामान्य मान्छे
कसैको नाम लिन नचाहेर मौन बस्छौँ ।
किनकि त्यही मौनता
आफैँलाई बचाउने एउटा उपायजस्तै हुन्छ ।
तर जनताको गुनासो भने
आज पनि उही छ—
“पुरानो सत्ताको गुणगान नगरे भ्रष्टाचारी बनाइन्छ ,
नत ‘हाँ’प्रश्न भन्यौ भने स्टाफ निकालिन्छ ।”
के विचित्र विडम्बना !
जसले घोटाला गरे—
हैसियत बढ्छ ।
जसले भ्रष्टाचारविरोधी बोले—
“प्रतिगामीविरुद्ध” होइन,
बरु “प्रतिकूल व्यक्ति” ठहरिन्छ ।
मुट्ठी बटारेर हिँड्ने उनीहरू
माथिबाट हेर्दा
शक्ति जस्तै देखिन्थे,
तर भित्रबाट
दरवार र तरवारको
पुरानो डरको बन्धन मात्र थिए ।
किनकि सत्य बोल्ने मान्छे
उनीहरूको लागि
सबैभन्दा खतरनाक शत्रु हुन्छ ।
आज ४–५ पटक
मुट्ठी देखाइदिँदा
म डराइन ।
किनकि मैले बुझिसकेको छु—
सत्ताको पुनरागमन
पहिले मुट्ठीबाटै शुरू हुन्छ,
र विद्रोह पनि
यहीँबाट जन्मिन्छ ।
–––
“२२ वर्षको दिवस, ५० रुपैयाँको अवमूल्यन”
साँझपख सडकमा हिडँदै गर्दा, चिया पसलदेखि पेट्रोलपम्प, बसस्ट्यान्डदेखि गल्लीका चोकसम्मआज एउटै कुरा गुञ्जिरहेको थियो— “आज भ्रष्टाचार विरोधको २२ औँ अन्तर्राष्ट्रिय दिवस रे !”
तर त्यो वाक्य हासो होइन, व्यंग्य थियो । दुःखले जन्माएको व्यंग्य । एक वृद्धा आमाले हातको ब्याग मिलाउँदै छेउमै बसेका पुरुषलाई भनिन्— “हैन बाबु, २२ वर्ष भयो भनिन्छ, तर हाम्रो जीवनचाहिँ उही ५० रुपियाँ... त्यतिमात्र दिए पुग्छ भन्ने सोचबाट कहिल्यै माथि उठेन ।”
त्यो वाक्य
यति कड्चिएको थियो कि
मलाई लागेको—
सारा राष्ट्रको पीडा
एकै वाक्यमा थिचिएको छ ।
मैले भेटेँ,
दुई जना पुराना मजदुर ।
भन्न थाले—
“हामीलाई सबैभन्दा ठूलो पीडा
पार्टीको झण्डा होइन,
जीवनको हिसाब किताब हो ।
२२ वर्षमा हाम्रो भान्सा उस्तै छ,
तर भ्रष्टाचार फ्रान्स, स्वीस, अमेरिकासम्म चढिसकेको छ ।”
त्यही बेला अर्को जनाले भन्यो—
“नेता आउँछन्,
५० रुपियाँ, १०० रुपियाँ,
कहिले त ५०० रुपियाँ पनि फालिदिन्छन्...
त्यति पाउँदा
हामी आफैँलाई मूल्यहीन महसुस हुन्छ ।”
कतैबाट आवाज आयो—
“चुनाव आउँदा काँग्रेसले रङ लगाउँछ,
एमालेले झण्डा गाड्छ,
माओवादीले आदर्श सुनाउँछ,
रासपाले परिवर्तन बेच्दै हिँड्छ...
तर हामी सधैँ दर्जनौँ रंगले रङ्गिन्छौँ
तर जीवन ?
उही—खै रङ ?”
यो सुन्दा
मलाई लाग्यो—
जनताको मनमा एउटा ठूलो क्रान्ति
शान्त तर गहिरो चलिरहेको छ ।
अनि उनीहरूले जतासुकै
एउटै कुरा दोहोर्याइरहे—
“हामी कुनै पार्टीको रंग लगाउन चाहन्नौँ ।
हामीलाई ‘दल–अनुयायी’ होइन,
हामीलाई आजको दिन त
‘भ्रष्टाचार विरोधी नागरिक’ भनिदिऊ ।”
त्यहाँ एक किसिमको
सामूहिक चेत जागेको थियो ।
त्यो चेत
नाराबाट होइन,
जीवनबाट जन्मिएको थियो ।
हामी जस्ता
इमानदार,
जर्जर आर्थिक अवस्थाले थिचिएका
सामान्य नागरिकहरूको गुनासो
एकै स्वरमा मिसिन्थ्यो—
“हामी राजनीति होइन,
पारदर्शिता खोज्दैछौँ ।”
आज,
भ्रष्टाचार विरोध दिवसमा
मलाई अनेकौँ मानिसले
एकै कुरा भने—
“हामीलाई नेता होइन,
सत्य बोल्न सक्ने नागरिक चाहिएको छ ।
हामीलाई पार्टीको झण्डा होइन,
इमानको आवाज चाहिएको छ ।”
र म भित्रैभित्र
अचम्मको शक्ति जाग्यो ।
कति सरल,
तर कति गहिरो सत्य—
आम जनताको हित
कुनै दलको झण्डामा होइन,
भ्रष्टाचारविरोधी निडर नागरिकमा रहेको छ ।
आज २२ औँ वर्ष,
प्यालामा चिया चिसो हुँदै गएकै बेला
मले मनमनै एउटा प्रतिज्ञा गरेँ—
“म कुनै दलको रङ्ग बन्ने छैन ।
म केवल एक—
भ्रष्टाचार सिभ्रोधी व्यक्ति ।”
त्यही हो
जनताको आवाज,
त्यही हो
कथाको नयाँ मोड ।
–––
“धुलो, उज्यालो र एक नागरिकको बगैर जागरण”८८
सहरको साँझ आज
अलि फरक थियो ।
हावामा धुलो उडिरहेकै थियो,
तर त्यो धुलो
आज भ्रष्टाचारको धुलो मात्र थिएन—
यहाँ एक नयाँ आन्दोलनको
सूक्ष्म कम्पन थियो ।
आज म सडकमा उभिएको थिएँ,
एक्लै ।
तर अचम्म—
आज म एक्लै भएर पनि
एक्लो थिएन ।
किनकि मसँग थिए—
सडकका तिनै आमाहरू,
५० रुपैयाँको अवमूल्यनले थाकेका जवानहरू,
र उज्यालाले धोका दिएको
इमानदार श्रमिकहरूको मौन पीडा ।
पहिलेको जस्तै
उनीहरू फेरि मुठ्ठी बटार्दै आए ।
साइरनजस्तै आवाज
फेरि नजिकिँदै गइरहेको थियो ।
तर आज—
म डरेको थिइनँ ।
म ती मोटरसाइकलहरूबीच
सडकको बीचमा उभिएँ ।
एक जनाले बोले—
“हट्नेलाई हटिन्छ,
लड्नेलाई गाइने बनाइन्छ !”
आज मैले पहिलोपटक
शब्दको निस्फोट बोकेर भनेँ—
“जुन देशमा
मुट्ठीले नागरिकलाई थिच्छ ,
त्यहाँ शब्दले सत्तालाई हराउँछ ।”
उनीहरू अचम्मिए ।
त्यो क्षण—
शक्ति र सत्य
पहिलोपटक आमनेसामने उभिए ।
सडकका छेउमा
थाकेका मजदुर,
दाल–चामलका हिसाब मिलाउँदै हिँड्ने आमाहरू,
पार्टीको रङ्गले थकित युवाहरू—
सबै अघि सरे ।
कसैले चिच्यायो—
“हामी ५० रुपैयाँको भीड होइन !”
अर्कोले भन्यो—
“हामी दलका अनुयायी होइन,
सत्यका नागरिक हौँ !”
र ती भ्रष्ट शक्तिहरू—
पहिलोपटक
पछिपछि फर्किए ।
साइरनजस्तै चल्ने ध्वनि
आज बिस्तारै चुपचुप हुँदै गयो ।
पहिलोचोटि
म ती भीडको आवाज सुन्दै थिएँ—
तर त्यो भीड
‘पार्टी’ हो भने जस्तो आवाज थिएन ।
त्यो आवाज
मानिस होइन,
चरित्रको आवाज थियो ।
–––
मुक्तिको हावा र बदलिएको क्षितिज त्यही बेला सूर्य मलिन भएर अस्ताइरहेको थियो । आकाश पूरा रातो— जस्तै कि २२ वर्षको असमानता, अन्याय र पीडाले क्षितिजलाई रङ्ग्याइदिएको होस् । हावामा चिसो थियो, तर त्यो चिसोमा कुनै डर थिएन— कुनै पुरानो शासनको छायाँ थिएन— कुनै अफवाहको बन्धन थिएन । साँझको हावा पहिलो पटक स्वतन्त्र बगिरहेको थियो ।
त्यो हावा
स्थिर,
गम्भीर,
अनि निर्णायक थियो ।
स्वयम्भूको डाँडाबाट
फैलिएको प्रकाश
सहरका धुला कणहरूसँग मिसिँदै
एक विचित्र उज्यालो बनाइरहेको थियो—
जस्तै कि
एक नागरिकको निडर आवाज
धुलो भएर हराउँछ भन्ने भ्रमलाई
प्रकृतिले नै अस्वीकार गरिरहे जस्तो ।
त्यो उज्यालो
केवल आकाशको रङ्ग मात्र थिएन—
त्यो
सत्यको पुनर्जन्म थियो
त्यो आजको आवाज थियो
–––
“तराजु जोत्नेहरू, र देश उठाउनेहरू”
देश कहिले उठ्छ ?
जब
नेता बदलिन्छन् ।
जब
सरकार बदलिन्छ ।
जब
नयाँ झण्डा फहरिन्छ ।
देश उठ्छ—
जब
नागरिकलाई ५० रुपैयाँले चुप बनाउन खोज्दा
उसले भन्छ—
“म सस्तो छैन ।
देश उठ्छ—
जब
अहंकारले मुठ्ठी उठाउँछ
र नागरिकले प्रश्न उठाउँछ ।
देश उठ्छ—
जब
युद्धको होइन,
इमानको झण्डा उठ्छ ।
देश उठ्छ—
जब
जनता पार्टी नभई,
सत्यका पक्षधर बन्छन् ।
आजको कथा
देशको बहानामा होइन—
देशलाई उठाउने
साना–साना नागरिकहरूको आवाजमा लेखिएको थियो ।
भ्रष्टाचारविरोध
कुनै दिवस होइन,
एक दैनिक अभ्यास हो ।
देश स्वस्थ्य राख्ने कसरत हो
एक नागरिकको साहस हो ।
एक शब्दको सत्यता हो ।
आजको आवाज हो ।
–––
२०८२ मङ्सिर २३
२०२५ डिसेम्बर ९
बिजु सुवेदी विजय
Comments
Post a Comment