धन्यवादविना बाँच्ने मानिस
धन्यवादविना बाँच्ने मानिस
कामको आवाज, मौनको घर
उस बिहान सबेरै उठ्थ्यो। घडीले पाँच बजाएको हुन्थ्यो, तर उसले घडी हेर्दैनथ्यो । घडी हेर्ने फुर्सद उससँग कहिल्यै थिएन ।
“दाइ, आज पनि चाँडै जानुहुन्छ ?” सानो भाइले निद्राको बोलीमा सोध्यो ।
उसले जुत्ता बाँध्दै उत्तर दियो, “काम छ ।”
यही दुई शब्दले घर चलिरहेको थियो ।
ऊ दुई भाइ र दुई बहिनीको बुबा जस्तै थियो, अनि आमाबुबाको सहारा पनि । कलेज पढिरहेका चारै जना उसकै कमाइमा बाँचेका थिए । उसको जीवन भने—कलेजभन्दा बाहिर, सपना भन्दा बाहिर—कामको सिधा रेखामा दौडिरहेको थियो ।
आमाले भान्साबाट कराइन्, “खाना त खाएर जानु नि ।”
उस हाँस्यो—तर त्यो हाँसो पेटको होइन, दायित्वको थियो । “बेलुका खान्छु आमा ।”
बेलुका कहिल्यै छिटो आउँदैनथ्यो । घर राम्रैसँग चलिरहेको थियो ।
भान्सामा अन्न सकिएको थिएन, कलेजको फीस समयमै बुझ्थ्यो,
छिमेकीहरू भन्थे— “छोरा त भाग्यमानी हुनुहुन्छ ।”
उसले त्यो वाक्य सुन्दा भित्र कताकता चिसो लाग्थ्यो । बुबा कहिलेकाहीँ चुपचाप हेर्थे ।
“थाक्दैनस् ?” उनले एक दिन सोधे ।
उसले उत्तर दिएन ।
थकान प्रश्न होइन, अवस्था थियो । बाहिर आकाश सफा थियो । घाम न्यानो, बाटो सिधा तर उसलाई थाहा थियो— नदी धेरै शान्त हुँदा गहिरो हुन्छ ।
ऊ आफैँसँग कहिल्यै नसोधिएको प्रश्न बोकेर हिँडिरहेको थियो— ‘म कहिले बाँच्छु ?’ तर उसले जवाफ खोजेन । किनकि जवाफ खोज्ने फुर्सद पनि कामजत्तिकै महँगो थियो ।
“सबैको भविष्य उसले बोकेको थियो— तर आफ्नै वर्तमान उसले कहिल्यै उठाएर हेरेन ।”
–––
हाँसोको अपराध
दिनभर ऊ मेसिनजस्तै चल्थ्यो । काम—काम—फेरि काम तर साँझ परेपछि, कहिलेकाहीँ ऊ आफूजस्तै मानिसहरूसँग बस्थ्यो । “आज त दाइ हाँस्नु भयो है !” एक जना साथीले जिस्क्यायो ।
उसले लामो सास फे¥यो, “दिनभर नहाँसेपछि साँझ हाँस्नै पर्छ नि ।”
त्यो हाँसो नशा थिएन, त्यो थेरापी थियो । साथीहरूसँग ऊ नाम मात्रको जिम्मेवारी बोकेर आउँथ्यो— न बुबाको चिन्ता, न दाइको कर्तव्य, न कमाउने मेसिनको परिचय ।
केवल ऊ तर घरले त्यो बुझेन ।
आमाले छिमेकीसँग फुसफुसाइन्, “साथीहरूसँग गयो कि एकछिनमा फ्रेस भएर फर्किन्छ ।”
बुबाले गम्भीर स्वरमा भने, “कामले थाकेको मान्छे त अझै झन् ढल्नुपर्ने हो ।”
एक दिन भाइले सीधै सोध्यो, “दाइ, साथीहरूले तपाईंलाई बिथोल्छन् है ?”
उसले टाउको उठाएर हे¥यो । प्रश्न होइन, आरोप थियो ।
“बिथोल्छन् होइन,” उसले शान्तसँग भन्यो, “मलाई बचाउँछन् ।”
कोही बोलेन । मौनले झन् ठूलो आवाज निकाल्यो ।
परिवारलाई लाग्थ्यो— यदि ऊ साथीहरूसँग फ्रेस हुन्छ भने, घर नै उसको थकानको कारण हुनुपर्छ तर सत्य अर्कै थियो । घर उसको जिम्मेवारी थियो, साथीहरू उसको सास ।
बाहिर रात परेको थियो । जून उज्यालो थियो, तर बादलबीच–बीचमा लुक्थ्यो— जस्तै ऊ घरभित्र ।
उसले मनमनै भन्यो, ‘मानिसलाई सबैभन्दा धेरै शङ्का तब गरिन्छ, जब ऊ बाँच्न खोज्छ ।’
“उनीहरूलाई लाग्यो, साथीहरूले उसलाई बिगार्दैछन्— तर कसैले सोचेन्, घरले उसलाई कति चुप बनाइरहेको थियो ।”
–––
औषधि, जसले नाम बदल्यो पीडा
उसलाई थाहा नै भएन— उपचार सुरु भइसकेको थियो । एक बिहान आमाले सहज स्वरमा भनिन्, “आज डाक्टरकहाँ जानुपर्छ, चेकअप मात्र हो ।”
उसले प्रश्न गरेन । प्रश्न गर्ने बानी उसले कहिल्यै सिकेन । डाक्टरले प्रेसर नापे । थोरै चढेको देखियो । कागजमा केही लेखियो—उसले पढेन ।
“ब्लडप्रेसरको औषधि हो,” आमाले घर फर्कँदा भनिन् ।
उसले टाउको हल्लायो । औषधि खायो । जिम्मेवारीजस्तै ।
दिन बित्दै गए । औषधि नियमित भयो, तर मन अनियमित ।
काम उस्तै, तनाव उस्तै, तर भित्र कताकता भारीपन बढ्दै गयो— जसको नाम उसले थाहा पाएको थिएन ।
साथीले सोध्यो, “आजकल अलि सुस्त देखिन्छस् ।”
उसले सहजै भन्यो, “ब्लडप्रेसर छ रे, औषधि चलिराछ ।”
त्यो झुट थिएन तर सत्य पनि पूरा थिएन । घरभित्र भने अर्को कथा चलिरहेको थियो ।
“साथीहरू भेट्दा झन् बिग्रिन्छ,” आमाले भनिन् ।
“डाक्टरले पनि भनेको,” बुबाले थपे ।
कुन डाक्टरले ? कहिले भनेको ? उसले सोधेन । एक दिन सिधै आदेश आयो— “अब साथीहरू भेट्न बन्द गर ।”
ऊ अचम्मित भयो । “किन ?”
“उपचार चलिराछ,” त्यो नै अन्तिम जवाफ थियो ।
त्यस दिन उसले पहिलो पटक औषधि हातमा लिएर धेरै बेर हे¥यो । ‘यदि यो ब्लडप्रेसरको हो,’
उसले सोच्यो, मन किन यति थाकिरहेको छु ?
बाहिर झरी परिरहेको थियो । न भारी, न हलुका— निरन्तर ।
जस्तै औषधि । जस्तै शङ्का । जस्तै उसको जीवन ।
उस बुझ्न थालेको थियो— उपचार उसकै लागि थियो, तर निर्णय उसले गरेको थिएन ।
“उनीहरूले रोग लुकाए, नाम बदले— तर पीडाले त्यसलाई मान्न मानेन ।”
–––
सहराभित्रको फन्दा
साथीहरू हराएपछि, घर ठूलो देखिन थाल्यो— तर खाली ।
ऊ कामबाट फर्कन्थ्यो, कोठामा बस्थ्यो, रित्तो । न हाँसो, न गुनासो— केवल समय । एकान्त अब विश्राम थिएन, एकान्त डर बन्दै गइरहेको थियो ।
एक रात, इन्टरनेट खोल्दा कसैले सोध्यो— “आज कस्तो छ ?”
साधारण प्रश्न तर उसलाई त्यो प्रश्नले छोयो ।
“ठीक छैन,” उसले टाइप ग¥यो ।
त्यो पहिलो इमानदार वाक्य थियो— धेरै महिनापछि ।
ऊ बोल्थ्यो, उसले सुनिन्थ्यो , बीचमा कसैले रोक्दैनथ्यो, औषधि सम्झाउँदैनथ्यो ।
“तिमी धेरै बलिया छौ,” उसले लेख्थी ।
बलिया— त्यो शब्द उसले आफूलाई कहिल्यै दिएको थिएन ।
समय बित्दै गयो । सन्देश आदत बन्यो, आदत भरोसा, र भरोसा प्रेम । उसले विवाह ग¥यो । लभ म्यारिज । परिवारले त्यो दिन पनि चिन्ता नै देखायो— मायाको नाममा ।
तर विवाहपछि ऊ बुझ्न थाल्यो— त्यो मायाको छायाँभित्र अर्कै सत्य लुकेको रहेछ ।
“औषधि खान छोड्नु हुँदैन,” घरले जोड दियो ।
“डाक्टरले भनेको,” सबैले एउटै वाक्य दोहो¥याए ।
कुन डाक्टर ? कहिले ? फेरि पनि— उसले सोध्न सकेन ।
एक रात, उसले औषधि खान बिर्सियो । निन्द्रा आएन ।
घडीले दुई बजायो, तीन बजायो, चार बजायो— आँखा खुलै । ऊ डरायो ।
त्यस रात उसले बुझ्यो— ऊ अब थाकेको मात्र होइन, निर्भर भइसकेको थियो ।
बाहिर आधा जून थियो— न पूरा उज्यालो, न पूरा अँध्यारो जस्तै उसको जीवन ।
उसले मनमनै भन्यो— ‘म सहारा खोज्दै थिएँ,’ ‘तर म फन्दामा परेछु ।’
“पहिले औषधि उपचार थियो, अब त्यही औषधि उसको पहिचान बनिसकेको थियो ।”
–––
जिम्मेवारीको भार, भावनाको मृत्युपछि
अचम्मको कुरा के थियो भने— अब उसलाई जिम्मेवारी भारी लाग्न छोडेको थियो । पहिले परिवारको नाम सुन्नासाथ उसको छाती कडा हुन्थ्यो, सास गह्रौँ हुन्थ्यो । अहिले भने— नाम मात्र सुन्ने, भाव नउठ्ने ।
ऊ बिहान उठ्थ्यो, काममा जान्थ्यो, कमाइरहन्थ्यो— तर त्यो ८कर्तव्य थिएन, त्यो आदत थियो ।
आमाले फोन गरिन्, “आज ढिलो आउँछस् ?”
“थाहा छैन,” उसले सहजै भन्यो ।
फोन राखेपछि ऊ आफैँ अचम्ममा प¥यो— पहिले यस्तो उत्तर उसले कहिल्यै दिएको थिएन ।
परिवार अब उसलाई परिवारजस्तो लाग्दैनथ्यो । घर थियो— तर घरपन थिएन । ऊ सोच्थ्यो—
‘म त यतिका वर्ष परिवार बनेर बसेँ,’
‘तर कसैले मलाई मानिस भएर बस्न दिएन ।’
श्रीमतीसँग ऊ एउटै कोठामा हुन्थ्यो, तर दूरी बढ्दै गइरहेको थियो— न झगडा, न गुनासो— केवल भावनाको अनुपस्थिति ।
“के सोचिरहनु भएको ?” एक दिन उनले सोधिन् ।
“केही होइन,” उसले भन्यो । तर त्यो झुट थियो । ऊ सबै कुरा सोचिरहेथ्यो — तर अब भन्न मन लाग्दैनथ्यो । औषधि खाँदा उसलाई राहत होइन, रिक्तता आउँथ्यो । दुख हराउँदैनथ्यो— भाव हराउँथ्यो ।
बाहिर मौसम बद्लिँदै थियो । रुखका पातहरू हरिया नै थिए— तर झर्न तयार । जस्तै ऊ ।
ऊ अब न परिवारका लागि ज्यान दिन तयार थियो, न आफूलाई बचाउन । ऊ केवल बाँचिरहेको थियो— न आशामा, न विद्रोहमा । यही नै सबैभन्दा खतरनाक अवस्था थियो ।
किनकि जब मानिस रिसाउँछ, ऊ अझै बाँचेको हुन्छ तर जब ऊ महसुस गर्न छोड्छ— त्यहीँबाट मानिस हराउन थाल्छ ।
उसले मनमनै भन्यो— ‘अब म जिम्मेवार छैन, म थाकेको पनि छैन, केवल... खाली छु ।’
बाहिर हावा चल्यो । रुखबाट एउटा पात झ¥यो— न हतार, न आवाज ।
“जिम्मेवारी हटेको थिएन, भावनै मरेको थियो— र त्यो मृत्यु कसैले देखेन ।”
–––
श्रीमतीको दृष्टिकोण
श्रीमतीले उसको अनुहार लामो समयदेखि नियाल्दै आएकी थिइन् । पहिले ऊ घर फर्कँथ्यो—काम, परिवार, जिम्मेवारी । ऊ हाँस्दैनथ्यो, मुस्कुराउँदैनथ्यो तर साथीहरूसँग कुरा गर्दा, हाँस्दा, केही हल्का देखिन्थ्यो— त्यो हल्कोपनले श्रीमतीको मनमा पहिलो पटक शङ्का जगायो ।
“कसरी उसले साथीहरूसँग यस्तो फ्रेस देखिन्छ ?” उनले मनमनै सोधिन् ।
घरमा उनलाई जस्तो देखियो, त्यसरी ऊ फ्रेस हुनु—सही लागेन । “साथीहरूले उसलाई बिगारेका त होइनन् ?” उहाँको मनमा डर जन्मियो तर सत्य थाहा पाउँदा, त्यो डर डर होइन, पछुतोमा परिणत भयो । एक दिन, घरमा खुसुक्क उनले खानामा औषधि हालिदिई । उसले देखिनन्—तत्काल उसलाई शान्त देखाउने उद्देश्यले ।
तर उनले सम्झिइन्, “के मैले यो गर्नु उचित थियो ?”
श्रीमतीलाई थाहा थियो— उनी सजिलै विश्वास गर्ने मानिस होइन । त्यसैले, जब उनले औषधि राखिन्, आफैँलाई ठुलो अपराधी जस्तो महसुस गरिन् ।
उनले चुपचाप उसको अनुहार नियालिन् । आँखा भरिएका आँसु, हावा चिसो पार्ने झरी जस्तो । “ऊ दुखिरहेको छ,” उनले मनमनै फुसफुसाइन् ।
“मैले किन उसलाई यो अवस्था बनाउने औषधि खुवाएँ ?”
घरभित्रको नियम, डाक्टरको सल्लाह, परिवारको दबाब— सबैले उनलाई त्यो कदम चाल्न बाध्य पारेको थियो तर अब उनले बुझिन्— उनीसँग छोडिएको विश्वास, र प्रेमको वास्तविक अर्थ औषधिमा थिएन ।
साथीहरूले उनलाई पहिले नै देखाइसकेका थिए— “तिमीले उसको पीडा देख्नुपर्छ, न कि नियन्त्रण गर्न ।”न्
श्रीमतीले आफ्नो गल्ती स्वीकारिन् तर बुझ्न थालिन्— ऊ साथीहरूसँग जब फ्रेस देखिन्थ्यो, त्यो शान्ति केवल बाहिरी नशा थिएन । ऊ अन्तर्मनको राहत खोज्दै थियो ।
उनी चुपचाप उसलाई नियाल्दै बसिन् । आँसु झारेकी पनि थिइनन्,
तर अब प्रश्न थिए— “मैले उसलाई बुझेँ कि गलत सम्झें ? प्रेम भनेको के केवल देखिने व्यवहार हो कि, भित्रको पीडालाई सम्मान गर्नु पनि हो ?”
श्रीमतीको मनोबल सुस्तरी भए पनि बढ्दै गइरहेको थियो । त्यो क्षणले उनलाई सिकायो— कसैको पीडा बुझ्नका लागि औषधि आवश्यक छैन । कसैलाई बाँच्न, विश्वास गर्न, साथ दिन मात्र पर्याप्त छ ।
“मैले उसको पीडा कम गर्न खोजें, तर बुझ्न सकेकी छैनँ कि वास्तविक राहत उनी आफैंले खोजेको थियो ।”
–––
पूजाघरभित्रको विद्रोह
अब परिवार उसलाई पहिलेझैँ भारी लाग्दैनथ्यो— किनकि उसभित्र केही चर्किसकेको थियो ।
दशैँ आयो । घरभरि टीकाको तयारी, धूप, जमरा, आशीर्वादका शब्दहरू ।
“आउनु न, टीका लगाइदिनु,” आमाले बोलाइन् ।
उसले टाउको हल्लायो। “म बस्दिन ।”
घर अचम्ममा प¥यो । “किन यस्तो बोल्दैछस् ?” बुबाको स्वर कडा भयो ।
“किनभने,” उसले शान्त तर काँपेको स्वरमा भन्यो, “मलाई पूजा होइन, सच्चाइ चाहिएको छ ।”
तिहारमा पनि ऊ पर बस्यो । दियो बल्यो, तर ऊ अँध्यारोमै उभियो । उसको विद्रोह धर्मविरुद्ध थिएन— न परिवारविरुद्ध , त्यो नियन्त्रणविरुद्ध थियो ।
श्रीमती चुप थिइन् । असहज चुप्पी ।
एक रात, ऊ निदाउन सकेन। औषधि खायो— तर मन शान्त भएन । त्यसपछि त्यो स्वीकारोक्ति आयो— धेरै ढिलो । “म भन्न चाहन्थेँ...”
श्रीमतीको स्वर थरथरायो । “तपाईं यस्तो हुनुहुन्छ भनेर... म... म... खानामा औषधि हालिदिन्थेँ ।”
ऊ केही बेर बोल्न सकेन । “डिप्रेसनको औषधि,” उसले शब्द समातेर सोध्यो । श्रीमतीको टाउको झुक्यो ।
त्यो क्षण उसको शरीरभन्दा पहिला आत्मा ढल्यो ।
परिवारले औषधि दिएको थियो— उसलाई थाहा नदिई । अब प्रेमले पनि त्यही गरिरहेको थियो ।
ऊ चिच्याएन । न त आँसु नै आयो । केवल एक वाक्य फुसफुसायो— “म त कहिल्यै बिरामी थिइनँ...”
बाहिर दियो निभ्दै थियो । तेल सकिएको थिएन— हावा लागेको थियो । जस्तै ऊ । ऊ कमजोर भएर होइन, धकेलिएर निभ्दै गएको थियो ।
“जब औषधि माया बन्यो, र माया नियन्त्रण— त्यहीँबाट ऊ पूर्ण रूपमा एक्लियो ।”
–––
साथी ः नशा होइन, ऐना
धेरै समयपछि ऊ फेरि साथीहरूको दुनियाँमा फर्कियो । त्यो दुनियाँ धुवाँले भरिएको थियो— चुरोटको, रक्सीको तर ऊ त्यसको बीचमा उस्तै सफा थियो ।
“तँ पनि खा न,” कसैले भन्यो ।
उसले टाउको हल्लायो । “मलाई चाहिँदैन ।”
उसको नशा कहिल्यै चुरोट वा रक्सी थिएन— उसको नशा जिम्मेवारी थियो ।
श्रीमती टाढै उभिएर हेर्दै थिइन् । उनले सधैँ सोचेकी थिइन्— ‘यी साथीहरूले उसलाई बिगारे ।’ तर आज ऊ बोलिरहेको थियो, हाँसिरहेको थियो— औषधिबिनै ।
एक जना साथी उसको अनुहार नजिक आयो । आवाज नरम, तर सीधा ।
“हेर,” उसले भन्यो, “तेरो अनुहारले नै बताउँछ— तँलाई पीर परेको छ ।”
ऊ चुप रह्यो । “बाहिरको होइन,” साथीले थप्यो, “भित्रैदेखि पीर परेको छ ।”
श्रीमतीको आँखामा अचानक चिसो आयो । साथी बोलिरह्यो— “तँले परिवारका लागि ज्यानै दिइस् । यतिसम्म कि परिवारको कोही बिरामी पर्दा ब्लड दिन पनि छोडिनस् ।”
ऊ झुक्यो । “हामीले देखेका छौँ तेरो स्नेह,”
साथीको स्वर काँप्यो, “तेरो अपार परिवारप्रतिको प्रेममा हामी नतमस्तक छौँ ।”
त्यो वाक्यपछि उसले लामो सास फे¥यो । कुनै औषधि थिएन, तर छाती हलुका भयो । श्रीमतीले त्यो सबै आँसु झारेर हेरिरहिन् ।
आज उनले बुझिन्— यी साथीहरू उसलाई बिथोल्ने होइन रहेछन्, उसलाई बाँच्छु भनी अनुमति दिने मान्छे रहेछन् ।
उसको अनुहार धेरै समयपछि साँचो अर्थमा फ्रेस देखिन्थ्यो ।
बाहिर हावा चलिरहेको थियो। धुवाँ उडाइरहेको थियो— तर उसलाई छोएन । किनकि अब उसको सास आफ्नै थियो ।
“साथीहरूले उसलाई नशा सिकाएनन् उसलाई आफू हुन सिकाए ।”
–––
यदि धन्यवाद मात्रै भनेको भए...
वास्तवमा जीवनमा कसैलाई केही नहुँदा पनि गरिरहेको मानिसलाई यदि कसैले यत्ति मात्र भनिदिएको भए— “तँले हाम्रो लागि यत्ति गरेको छस्, हामी आभारी छौँ ।”
कति जना मान्छे डाक्टरको ढोकासम्म पुग्दैनथे होला । उसले आज यही सोच्दै थियो । ऊ बिरामी थिएन । ऊ थाकेको थियो । थकानको उपचार औषधिले होइन, स्वीकृतिले हुन्छ । तर यहाँ डाक्टरको पनि डाक्टर हुन करोडौँको लगानी असुल्नुपर्ने बाध्यता रहेछ— उपचारभन्दा अगाडि ।
कागजमा रोग लेखियो, नाम बदलियो, औषधि थमाइयो । मानिसको कथा सुन्ने फुर्सद कसैसँग रहेन । आज त्यो कुरा श्रीमतीको आँखाबाट आँसु बनेर झरिरहेको थियो ।
“म... म गलत थिएँ,” उनले काँपेको स्वरमा भनिन् । “खुसुक्क औषधि खुवाउनु माया ठानेकी थिएँ ।”
ऊ मौन रह्यो । दोष लगायो भने आफू नै फेरि भारी हुने थियो तर सत्य यही थियो— श्रीमती पछुताइन्, परिवारले बुझ्न ढिलो ग¥यो, र ऊ... पहिले नै परिवनसँग छुट्टिसकेको थियो ।
घरबाट होइन, आत्माबाट ।
बाहिर साँझ पर्न लागेको थियो । नदी उस्तै बगिरहेको थियो— न कसैलाई दोष, न कसैलाई माफी ।
ऊ नदी किनारमा उभियो । पानीले सोधेन—
“किन थाकिस् ?”
“किन चिच्याइनस् ?”
पानी बग्यो । त्यही नै उत्तर थियो । जीवन पनि त्यस्तै रहेछ । आभारि शब्द नपाउँदा मानिस भित्रैदेखि सुक्दै जान्छ र संसार उसलाई औषधिको नाम दिन्छ ।
ऊ अब जान्दथ्यो— ऊ कमजोर थिएन, उसलाई कमजोर बनाइयो तर पनि ऊ बाँचिरहेको थियो । किनकि उसले अन्ततः आफूलाई दोष दिन छोडेको थियो ।
“कहिलेकाहीँ मानिसलाई औषधि चाहिँदैन—
“साँचो अर्थमा बाँच्न,”
“उसलाई केवल ‘धन्यवाद’ चाहिन्छ ।”
–––
२०८२ पुस ९
विजु सुवेदी विजय
Comments
Post a Comment