जहाँ नदी बोल्छ , जून हेर्छ

 जहाँ नदी बोल्छ , जून हेर्छ


जूनले देखेको कर्णाली


कर्णाली बगिरहेकी थिई— न कुनै हतार, न कुनै गुनासो मानौँ उसलाई थाहा थियो, आफ्नो भाग्य आफैँ बोकेर बग्नुको अर्थ के हो । म नदी किनारमै उभिएको थिएँ । दिन ढल्दै थियो, आकाशमा जून बिस्तारै उक्लँदै । त्यही जून— जसले कर्णालीलाई पनि देखेको थियो, र मलाई पनि ।


“तिमी किन यति गहिरो बग्छ्यौ ?” मैले कर्णालीलाई सोधें ।

कर्णाली मुस्कुराइन्— तर त्यो मुस्कान पानीमा होइन, मान्छेको नियतिमा झुल्किएको थियो । “गहिराइ पीडाबाट आउँछ,” उनले भनिन्, “र निरन्तरता त्यागबाट ।”


हावाले पात हल्लायो, चट्टानहरूले आफ्ना चिराहरू देखाए, र जूनले माथिबाट यो सबै शान्तसँग हेरिरही । जून कुनै प्रेमकविताको सौन्दर्य मात्र थिएन यहाँ । ऊ कर्णालीको रात्रीकालीन साक्षी थिइ बालबालिकाको खाली पेट, बुढाबुढीको चाउरिएको सपना, र युवाको टुटेको यात्रा ।


“म धेरै रात यहाँ उदाएँ,” जूनले फुसफुसाई, “कर्णालीका आँसु मैले गनेको छु ।”

मैले चुपचाप सुनेँ । किनकि कर्णाली बुझ्न बोल्नु होइन, सुन्नु पथ्र्यो ।


डाँडाहरू उभिएका थिए— थाकेका तर अडिग । जंगलहरू मौन थिए— तर इतिहासले भरिएका । यहाँ प्रकृति बोल्दैन, तर सिकाउँछ । ढुङ्गा भन्छ— “म पनि कहिले माटो थिएँ ।”


नदी भन्छ— “म रोकिएँ भने, म मर्छु ।”

र जून भन्छ— “अँध्यारो नभए, मेरो अस्तित्व कसले देख्थ्यो ?”


“यहाँका मान्छे किन यति चूप छन् ?” मैले कर्णालीलाई फेरि सोधें ।

“चूप होइनन्,” उनले भनिन्, “थाकेका छन् । बोल्नुअघि पेट भरिनु पर्छ , सपना देख्नुअघि बाँच्नुपर्छ ।”


त्यो वाक्य कविता थिएन, नीति–वाक्य पनि होइन— त्यो त भोगाइको निचोड थियो । कर्णाली अभावको कथा होइन मात्र, यो अस्तित्वको दर्शन हो । यहाँ मानिसले सुखभन्दा पहिले सहन सिक्छ ,  आशाभन्दा पहिले धैर्य ।

जून अझै माथि चढिसकेको थियो । उसको उज्यालो कर्णालीको छालमा टुक्रिन्थ्यो, फेरि जोडिन्थ्यो— जस्तै कर्णालीको जीवन ।

म फर्कंदै थिएँ, तर कर्णाली त्यही थिई— बगिरहेकी । जून पनि भोलि फेरि उदाउने थिई— सबै देखेर पनि न्याय नगर्ने साक्षी बनेर ।

र मैले बुझें— कर्णाली कुनै ठाउँ होइन, यो एउटा चेतना हो । जहाँ जीवन कठिन छ तर आत्मसमर्पण छैन । जहाँ जूनले उज्यालो दिन्छ , र नदीले निरन्तरता ।


–––

जूनको उज्यालोमा कर्णालीको सपना


जून त्यो रात असाध्यै शान्त थिई । उसको शीतलता केवल प्रकाश थिएन, त्यो त कर्णालीमाथि झरेको मौन सान्त्वना थियो । कर्णाली तल बगिरहेकी थिई तर उसको बगाइमा हतार थिएन । मानौँ उसले पनि जूनको गति नापिरहेकी हो । “तिमी किन यति टाढा लाग्छ्यौ ?”कर्णालीले एकदिन जूनलाई सोधिन् ।

जून हाँसिन्— त्यो हाँसो उज्यालो बनेर नदीको छालमा फुट्यो ।

“टाढा देखिनु मेरो नियति हो,” उनले भनिन्, “तर नजिक भएर सबै कुरा देख्नु मेरो कर्म ।”


क्षितिजतिर हेर्दा एक किसिमको सपना टल्किरहेको थियो— न स्पष्ट, न धुम्म । चाँदीको घेराभित्र लुकाइएको आकाङ्क्क्षाजस्तै । कर्णालीले त्यो सपना धेरैपटक बोकेकी थिई— कहिले बाढीमा, कहिले खडेरीमा ।


“सपना किन यति भारी हुन्छ ?” उनले फुसफुसाइन् ।

“किनकि सपना पूरा हुनुअघि  भोगाइ बन्नुपर्छ,” जूनले जवाफ दिइन् ।


आकाश त्यस रात नभनेको कुरा बोलिरहेको थियो । ताराहरू झलमल मात्र थिएनन् — ती त समयका साना दियो थिए, जसले अँध्यारो चिर्दै मान्छेको धैर्य गन्दै थिए ।


शीतका साना थोपा धरतीमाथि झर्दै थिए— आशीर्वादजस्तै । त्यो स्पर्शले डाँडाहरू पनि क्षणभर न्यानो भए । कर्णालीले त्यो महसुस गरिन् । उनको पानी अलिकति झन् गहिरो भयो ।


जूनले तल हेर्दै धरतीका रूपहरू देखिरहेकी थिई— कहिले शान्त, कहिले आँधीले च्यातिएको तर कर्णाली हरेक रूप स्वीकार्थिन् । “म सबै बगाउँदिन,” उनले भनिन्, “केही घाउ म आफैँसँग राख्छु ।”


त्यो वाक्य कविता थिएन— त्यो त कर्णालीको आत्मकथा थियो । जून सधैं हेर्छिन्, कर्णाली सधैं बग्छिन् । हेर्नु र बग्नु— दुवै सजिलो छैन । हेर्नेलाई न्याय नगर्ने धैर्य चाहिन्छ , बग्नेलाई नरोकिने साहस र यहीँ कर्णाली र जून एकअर्कासँग मिल्छन् ।


रात अझै गहिरिँदै थियो ।जून अझै माथि उक्लँदै । कर्णाली अझै बग्दै । सपना अझै टाढै थियो— तर हराएको थिएन किनकि जूनको उज्यालोमा देखिएको सपना कर्णालीको बगाइसँगै कुनै दिन अवश्य किनार छुनु थियो ।


–––

डोरीमाथिको जीवन


जून त्यो रात असाध्यै सावधान थिई । उसको उज्यालो कर्णालीमाथि मात्र होइन, धरतीको छातीमाथि तन्किएको एउटा अदृश्य यात्रामार्गमाथि पनि झरेको थियो । त्यो मार्ग कुनै सडक थिएन । न त पुल नै । त्यो त जीवन र मृत्युबीच तन्किएको मौन भरोसा थियो । कर्णाली तल बगिरहेकी थिई— गहिरो, अविचल । माथि, हावासँग हल्का हल्लिँदै एउटा थोत्रो बोझ झुन्डिएको थियो । बोझ होइन— भोलिको संकेत ।


जूनले सबै देख्थिन् । डोरीमाथि अघि बढ्ने साना पाइला, डरले काँपिरहेका हात, र टाढाबाट टोलाइरहेका घामले पोलिएका अनुहारहरू । “यी मान्छे किन यति चूप छन् ?” जूनले कर्णालीलाई सोधिन् ।


“किनकि चूप्पै रहेर आशा सम्हाल्नुपर्छ,” कर्णालीले बग्दै उत्तर दिइन् ।


कर्णाली र प्रतीक्षा किनारमा उभिएका थिए समयले झुकेको काध भएका आमा–बुबा । उनीहरूको आँखामा घाम अस्ताएको थिएन— उनीहरू नै अस्ताइरहेका थिए । उनीहरू पर्खन्थे— फर्कने पदचाप, आवाज, वा कहिल्यै नआउने मौन । कर्णालीलाई थाहा थियो— कुन सपना किनार फर्किन्छ , कुन सपना उसैसँग बग्छ । “म सबैलाई बचाउन सक्दिन,” उनले मनमनै भनिन्, “तर सबैलाई सम्झिरहन्छु ।”


हावाले त्यो डोरी हल्लाउँथ्यो— मानौँ परीक्षा लिँदै होस् । तारा टाढाबाट हेर्थे— उत्तर नभएको प्रश्नझैँ र जून— जून सधैंझैँ न्याय नगर्ने साक्षी बनेर माथि उभिएकी थिई ।


उसको उज्यालो झोलामाथि प¥यो— त्यस झोलाभित्र अझै नकोरिएका दिनहरू थिए । अझै नलेखिएका भविष्य ।


कहिलेकाहीँ डोरीले धान्थेन । हावा बलियो हुन्थ्यो र कर्णालीले एउटा कथा थप पाउँथिन् । जो फर्किए— उनीहरूले आँखा भरि सपना बोकेर ल्याए । जो फर्किएनन्— उनीहरूले मायालाई पानीमा घोलिदिए ।


“हानि सधैं हराउनु मात्र होइन,” जूनले भनिन्,  “कहिलेकाहीँ बाँकी बस्नु पनि पीडा हुन्छ ।”


कर्णाली बगिरहिन् । जून घुमिरहिन् । डोरी तन्किरह्यो । जीवन यही थियो । कसैका लागि यात्रा, कसैका लागि प्रतीक्षा, र कसैका लागि स्मृति । र त्यहीँ, कर्णाली र जूनले एउटै कुरा बुझे— जीवन सधैं पारि पुग्दैन, तर अर्थ त्यही बीचको यात्रामा बस्छ ।

रात अझै बाँकी थियो । कर्णाली अझै बग्दै थिई । जून अझै हेर्दै ।


कथाको अन्त्य अझै आएको थिएन— किनकि कर्णालीका कथा कहिल्यै एक भागमै सकिँदैनन् ।


–––

उज्यालोले नछोएको दूरी


त्यो दिन पनि माथिबाट आवाज आयो । आवाज थियो—ठूलो, भारी, तर कर्णाली किनारमा उसको छायाँ मात्र खस्यो । कर्णालीले धेरै यस्ता दिन देखेकी थिई । आउनेहरू छिट्टै आइरहन्थे, छिट्टै हराउँथे । उनका पाइला जमिनमा होइन, हावामा टेक्थे ।


“यी मान्छे किन यति हल्का हुन्छन् ?” जूनले तल हेर्दै सोधिन्।


“किनकि उनीहरू भार बोक्दैनन्,” कर्णालीले उत्तर दिइन्, “बोझ त यहाँको जीवनले बोक्छ ।”


नदीमाथि तन्किएको यात्रा मार्ग अझै त्यहीँ थियो— न पूरा, न हटाइएको । हावाले हल्लाउँथ्यो, तर कसैले छोएन । त्यहाँ कसैको पदचाप अड्किएको थियो । कसैको हतार, कसैको सपना, कसैको अन्तिम निर्णय ।


कर्णालीलाई थाहा थियो— त्यो मार्ग केवल तर्नका लागि होइन, देशको अवस्थाको चित्र पनि हो ।


जून त्यो रात अलि टाढा लागिन् । उनी सधैंझैँ चम्किरहेकी थिई, तर त्यो चमक स्पर्श गर्न मिल्ने थिएन । धरतीले त्यो उज्यालो देख्थी, तर समात्न सक्दिनथी । प्रेम पनि कहिलेकाहीँ यस्तै हुन्छ— नजिक भएर पनि टाढाको ।


“म किन यति टाढा छु ?” जूनले आफैँसँग सोधिन् र उत्तर उसको मौनमै थियो ।


कर्णालीमाथि झरेको उज्यालो विश्वासजस्तै थियो— नदेखिने, तर महसुस हुने तर किनारका घाउहरू उज्यालोले मात्र भरिँदैनथे । त्यहाँ हात चाहिन्थ्यो, समय चाहिन्थ्यो, उत्तरदायित्व चाहिन्थ्यो ।


“उज्यालो देखाउनु पुग्दैन,” कर्णालीले भनिन्, “बाटो बनाउनु पर्छ ।”


तर किनारका घाउहरु उज्यालोले मात्र भरिँदैनथे । त्यहाँ हात चाहिन्थ्यो, समय चाहिन्थ्यो, उत्तरदायित्व चाहिन्थ्यो ।


जून सधैं साक्षी बनिरहिन् । कर्णाली सधैं बोझ बोकिरहिन् । साक्षी हुनु आफैँमा दोष होइन— तर साक्षी भएर चुप रहिरहनु अपराधजस्तै हुन्छ र यहीँ कथाको तिक्त सत्य थियो ।


जून अझै घुमिरहिन्, आफ्नै उज्यालो लेख्दै । कर्णाली अझै बगिरहिन्, आफ्नै कथा बोकेर ।


यो प्रेमकथा भेटको होइन— दूरीको थियो तर दूरीमै पनि केही प्रेम कहिल्यै मर्दैन र कर्णालीको कथामा, जून सधैंझैँ हेर्दै रहने थिई— उज्यालो भएर, तर उत्तर खोज्दै ।


–––

बगाइको अन्तिम उज्यालो


कर्णाली त्यो बिहान असाध्यै गहिरो थिई । न कुनै कोलाहल, न कुनै हतार । मानौँ उसले सबै कथा एकैचोटि बोकेर बग्न सिकेकी हो । धरतीको छातीमाथि अझै पनि एउटा जीवन–मार्ग तन्किएको थियो— न पूर्ण, न विस्मृत । त्यसको अस्तित्वले नै मानिसको साहस नापिन्थ्यो ।


कर्णालीले धेरै सपना देखेकी थिई— पानीमा परेका अनुहारहरू, अधुरा हाँसो, र कहिल्यै पूरा नहुने योजना तर उनले कसैलाई अस्वीकार गरिनन् ।


“म न्यायाधीश होइन,” उनले बग्दै भनिन्, “म त केवल सबै कथाको अन्तिम पाना हुँ ।”


जो उससम्म आए, उनीहरू खाली आएनन्— कसैले आशा बोके, कसैले प्रेम, कसैले भविष्य ।


जून त्यो रात अलि ढिलो उदाइन् । उसको उज्यालो पहिलाजस्तो तेज थिएन— तर अझ गहिरो थियो । उसले तल हेर्दा केही देखिन् — खाली मार्ग, हावामा हल्लिएको सम्झना, र मौनले भरिएको प्रतीक्षा ।


“सबै सपना किन फर्किँदैनन् ?” जूनले अन्तिमपटक सोधिन् ।


कर्णालीले जवाफ दिइनन् । केही प्रश्नहरू उत्तरका लागि होइन, साक्षीका लागि हुन्छन् ।


हावाले बिस्तारै किनार छोयो । डाँडाहरू उभिएर सबै हेरे । ताराहरू एक–एक गर्दै निभ्दै गए र कर्णाली— कर्णाली भने बगिरहिन् ।


उनी बग्नुको अर्थ अब स्पष्ट थियो— रोकिएर बाँच्नु होइन, बोकेर अगाडि बढ्नु ।


जो फर्किए— उनीहरूले भोलिको कथा लेखे । जो फर्किन सकेनन्— उनीहरूले अर्थ छोडे । “हानि सधैं अन्त्य होइन,” जूनले मौनमै स्वीकार गरिन्, “कहिलेकाहीँ हानिले नै समाजलाई ऐना देखाउँछ ।”

कर्णाली कुनै नदी मात्र रहेनन् । उनी चेतना बनिन् । जून कुनै उज्यालो मात्र रहेनन् । उनी साक्षी बनिन् र यो कथा कसैको मृत्युमा सकिएन, न कसैको सफलतामा ।


यो कथा त्यही बीचमा अड्कियो— जहाँ सपना यात्रा गर्छ, आमा–बुबा प्रतीक्षा गर्छन्, र समाज आफ्नो उत्तर खोजिरहन्छ । कर्णाली बगिरहेकी छ । जून घुमिरहेकी छ र जबसम्म यो दूरी कायम छ , यो कथा कहिल्यै समाप्त हुँदैन ।


–––

उत्तर नखोजिएको उज्यालो


कर्णालीले धेरै आउजाउ देखेकी थिई । कतिपय मान्छे आँखाभरि योजना बोकेर आइपुग्थे— हातमा भविष्यको नक्सा, मनमा भोलिको भरोसा र कतिपय फर्किन पाएनन् । उनीहरू बगाइमै मिसिए— पछाडि छोडेर गए अधुरा संवाद, र किनारमा थन्किएको अन्तहीन प्रतीक्षा ।


“जो बाँच्छन्, उनीहरू सपना बोकेर बाँच्न सिक्छन्,” कर्णालीले भनिन्, “जो हराउँछन्, उनीहरू अरूका लागि अर्थ छोडेर जान्छन् ।”


जून त्यो रात असहज थिई र उसको उज्यालो पहिलाभन्दा चिसो थिएन— तर गह्रौँ थियो । उसले तल देखिन् — मार्ग अझै अधुरो, किनार अझै असुरक्षित, र प्रश्नहरू जसलाई कसैले आफ्नो बनाएन ।


“यी प्रश्न कसका हुन् ?” जूनले सोधिन् । कर्णालीले लामो सास फेरेर उत्तर दिइन्— “यी प्रश्न देशका हुन्, तर उत्तर कसैले बोक्न चाहँदैन ।”


माथिबाट कहिलेकाहीँ ठूला आवाज आउँथे । ती आवाजहरू नदीसम्म झर्दैनथे— फेरि हावामै हराउँथे । आउनेहरू हेरेर होइन, हेरेझैँ गरेर फर्किन्थे । उनीहरूका नजर पानीको गहिराइमा होइन, आफ्नै प्रतिबिम्बमा अड्किन्थे ।


कर्णालीलाई थाहा थियो— साँचो हेर्न झुक्नुपर्छ ।


किनारमा अझै केही चिन्ह बाँकी थिए— च्यातिएको कपडाको रेखा, थकित पाइलाको सम्झना, र एउटा बोझ जसले पूरै देशको अवस्था एक्लै झुन्ड्याइरहेको थियो ।


“यो कसको हो ?” जूनले फेरि सोधिन् ।


कर्णालीले जवाफ दिइनन् । किनकि कतिपय प्रश्नको उत्तर नाम होइन, जिम्मेवारी हो ।


कर्णाली बगिरहिन् — कसैलाई दोष नदिँदै तर बगाइमै एउटा सत्य बोलिरहिन्— “दुर्घटना केवल भाग्य हुँदैन, लापरवाहीको दीर्घकालीन रूप हो ।”


जूनले त्यो सत्य आफ्नो उज्यालोमा लेखिन्— कागजमा होइन, समयको निधारमा ।


रात विस्तारै फिक्का हुँदै थियो । जून पश्चिमतिर ढल्दै । कर्णाली पूर्वतिर बग्दै । सपना अझै यात्रा गर्दै थिए— कसैले बोकेर, कसैले सम्झेर । र यो कथा यहीँ समाप्त भएजस्तो लागे पनि, वास्तवमा यहीँबाट सुरु हुन्थ्यो— जहाँ प्रश्न अझै खुला छन्, जहाँ उज्यालो छ तर उत्तर छैन ।


कर्णाली सधैंझैँ बगिरहेकी छ । जून सधैंझैँ हेर्दै छ।

र देश—

देश अझै आफ्नो झोलाको वजन आफैँसँग तौलिरहेछ ।


–––

अन्त्यमा कथा कुनै निष्कर्षमा पुगेन , कुनै घोषणामा टुंगिएन । कुनै निर्णयमा बन्द भएन । कथा कर्णाली जस्तै भयो— बग्दै गयो । कथा कता गयो ? कथा त्यो अधुरो मार्गबाट पारि पुगेन । न त बीचमै अड्कियो । 

कथा किनार–किनार हिँड्दै मानिसका आँखामा पस्यो, प्रतीक्षामा बस्यो, र केहीको स्मृतिमा ढुङ्गाजस्तै थन्कियो । जो बाँचेर फर्किए, उनीहरूको छातीमा कथा धड्कन बन्यो ।


जो फर्किन सकेनन्, उनीहरूको नाम कर्णालीको पानीले मौनसँग उच्चारण ग¥यो ।


कथा अब कुनै पात्रको होइन— यो चेतनाको भयो।


जूनले त्यो रात धेरै बेर तल हेरिरहिन् । उनको उज्यालो अब केवल प्रकाश थिएन— त्यो प्रश्न थियो । “मैले देखेँ,” जूनले मौनमै भनिन्, “तर देखिनु नै पुग्दोरहेनछ ।”


उनले बुझिन्— साक्षी हुनु दूरी हो, र जिम्मेवारी स्पर्श तर प्रेमजस्तै उनको उज्यालो पनि सधैं टाढाकै रह्यो— नछुने, तर कहिल्यै नछोड्ने ।


अब प्रकृतिले कुरा गर्न थाल्यो । डाँडाहरू उभिए— पीडाले झुकेका काँधजस्तै । तिनीहरूले केही भनेनन्, तर धेरै सहेरै अझै अडिएका थिए । हावा बग्यो— कहिल्यै नसोधिएको प्रश्न बोकेर । उसले पात हल्लायो, मानौँ समयका पन्ना पल्टाइरहेछ ।


ताराहरू निभे— एक–एक गर्दै। तर अँध्यारो डर लाग्दो भएन, किनकि अँध्यारो पनि कहिलेकाहीँ विश्राम हो र कर्णाली— कर्णाली भने सबैभन्दा गहिरो थिई । उसको पानीमा आकाश पनि थियो, धरती पनि । भूतका छायाँ, वर्तमानका आँसु, र भविष्यका अस्पष्ट रेखाहरू सबै मिसिएका थिए ।


“म कुनैको अन्त्य होइन,” कर्णालीले बग्दै भनिन्, “म त निरन्तरताको नाम हुँ ।”


प्रकृतिले अन्त्य गरेन । उसले सम्झाइदियो कि जीवन सधैं पारि पुग्दैन, तर बगिरहनु नै अर्थ हो । कि सपना सधैं पूरा हुँदैन, तर सपना देख्न पाउनु अधिकार हो । कि जून सधैं टाढै रहन्छ तर अँध्यारोमा उज्यालो देखिनु नै आशा हो ।


–––

यो कथा कुनै एक घटना वा पात्रको वृत्तान्त होइन । यो त कर्णालीको बगाइमा मिसिएको मानिसको भोगाइ, सपना र मौन पीडाको आख्यान हो । कर्णाली यहाँ नदी मात्र होइन— उहाँ जीवनको निरन्तरता हुनुहुन्छ । जून कुनै खगोलीय वस्तु मात्र होइन— ऊ साक्षी हो, टाढैबाट सबै देख्ने चेतना हो ।


यो कथामा पात्रहरू हराउँछन्, तर प्रश्नहरू बाँकी रहन्छन् । घटनाहरू सकिन्छन्, तर जिम्मेवारी सकिँदैन । यदि यस कथाले कुनै पाठ दिन्छ भने, त्यो उपदेश होइन— ऐनाजस्तै मौन सम्झना हो । कर्णाली आज पनि बगिरहेकी छ । जून आज पनि उदाइरहेकी छ र जबसम्म सपना जोखिममा हिँड्छ , यो कथा पनि सकिँदैन ।


–––

कर्णाली आज पनि बगिरहेकी छ ।

जून आज पनि घुमिरहेकी छ ।


र कथा—

कथा आज पनि सकिएको छैन ।


किनकि

जहाँसम्म कर्णाली बग्छ ,

जहाँसम्म जून उदाउँछ ,

र जहाँसम्म सपना बोकेर मान्छे जोखिममा हिँड्छ—


त्यहीँसम्म यो कथा बाँचिरहन्छ ।


२०८२ पुस ७

बिजु सुवेदी विजय


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा