कथा ः कृतिम वर्षा

 कथा ः कृतिम वर्षा


धुलो उडेको सडकमा एउटा बालक हिँड्दै थियो — मुखमा मास्क, काँधमा झोला । नाम थियो उज्ज्वल । सहर अब उसलाई रमाइलो लाग्दैनथ्यो । सडकका छेउछेउमा सुख्खा बोटहरू उभिएका थिए, पातहरूसँगै मानौँ जीवन पनि हराइसकेको ।

उज्ज्वलले बाबालाई सोध्यो, “बाबा, किन हावा यति दुर्गन्धित छ ?”

बाबा हल्का हाँसे, “धेरै मोटर गाडी, धुवाँ र धुलो, अनि हाम्रो असावधानी छोरा ।”

“तर स्कुलमा त हावा हाम्रो जीवन हो भन्छन् नि !”

“ठिकै भनेका छन्, तर हामीले त्यही जीवनलाई रोग बनाएका छौँ ।”

सहरको बीचमा रहेका बगैचामा अहिले चराचुरुङ्गी पनि कमै देखिन्थे । हिजोआज बिहानको चिरबिराहट हराइसकेको थियो ।

एक दिन उज्ज्वल र उसकै साथी ओजश्वीले देखे — एउटा बथान चराहरू माथिबाट उड्दै थिए, तर अलिक तल पुगेपछि एक्कासी तल झर्दै गएका ।

“हे ओजश्वी, हेर् न ! ती चराहरू मरेका जस्ता छन्,” उज्ज्वल चिच्यायो ।

ओजश्वी आँखा झिम्क्याउँदै भनिन्, “तिनीहरूलाई हावाको विषले मार्दैछ होला ।”

उज्ज्वलको मन भक्कानियो ।

त्यस रात ऊ घरको छतमा गएर ताराहरू हेर्दै सोच्न थाल्यो — “पहिले आमा भन्थिन्, आकाशमा ताराहरू धेरै चम्कन्थे रे । अहिले त धुवाँले तारा पनि देखिँदैन ।”

अचानक आकाशमा बिजुली चम्कियो, अनि मुसलधारे वर्षा सुरु भयो ।

बाबा बाहिरको झ्याल बन्द गर्दै बोल्नुभयो, “यो पनि प्रकृतिको रिस हो छोरा — कहिले अनावृष्टि, कहिले अतिवृष्टि ।”

उज्ज्वलले गहिरो सास फे¥यो, “हामीले प्रकृतिलाई दुखायौँ नि, बाबा ।”

अर्को बिहान स्कुलमा शिक्षकले सोधे, “बच्चा हो, सहर किन बस्न नालायक बन्दैछ ?”

उज्ज्वल उठ्यो, “किनकि हामीले जंगल काट्यौँ, गाडी बढायौँ, नदी फोहर पार्यौँ र आकाशको नीलोपन हरायो सर ।”

सारा कक्षा चुप भयो । शिक्षकको आँखामा गर्व र पीडा दुबै थियो ।

त्यो दिनपछि उज्ज्वल र ओजश्वी सहरका बचेका हरिया स्थानहरूमा बोट रोप्न थाले ।

तिनीहरूले हरेक शनिबार स्कुलका साथीहरूलाई पनि बोलाए, र बोटसँगै एउटा सानो बोर्ड टाँसे — “यो बोटको सास तपाईंको सास हो ।”

धेरै वर्षपछि सहरमा हरियाली बढ्न थाल्यो । चरा फर्किए, आकाश नीलो भयो, र मानिसहरू फेरि मुस्कुराउन थाले । उज्ज्वल अब ठूला भए — उनी वातावरण अभियन्ता बनेका थिए ।

एक अन्तर्वार्तामा उनले भने, “सहर बस्न लायक बनाउन पहिले हामीले प्रकृतिको सास फिर्ता दिन सिक्नुपर्छ ।”

........................................................................

सहरमा बिस्तारै परिवर्तन देखिन थालेको थियो । धुलो अलि कम, बाटोछेउमा नयाँ बोट, अनि विद्यालयहरूमा “हरियाली सप्ताह” नामको कार्यक्रम सुरु भयो तर यो सब उज्ज्वल र ओजश्वीले थालेको सानो अभियानको फल थियो — “सास फर्काऔँ” भन्ने नारा लिएर ।

एक दिन उनीहरू नगरपालिका अगाडि पुगे । त्यहाँ धेरै मानिसहरू जम्मा थिए — कोही व्यापारी, कोही विद्यार्थी, कोही बृद्ध ।

ओजश्वीले माइक समातिन् र भनिन्, “हामीले हरेक दिन धुवाँ फ्याँक्दै, बोट काट्दै, नदीनालामा फोहर हाल्दैछौँ तर यो सहर हाम्रो पनि हो, हामीले नै बचाउनुपर्छ ।”

भीड चुपचाप सुन्दै थियो ।

उज्ज्वलले थपे, “सचेतना भनेको केवल सुन्ने कुरा होइन, बानी बनाउने कुरा हो । बोट रोप्नु, सवारी साझा प्रयोग गर्नु, फोहर छुट्याएर हाल्नु — यी स–साना कामले सहर बदलिन्छ ।”

त्यसपछि विद्यालयदेखि टोलटोलसम्म चेतनामूलक अभियान फैलियो । केही युवाहरूले भित्तेचित्र बनाएका थिए —

“हावा तिम्रो अधिकार हो, फोहर नपार ।”

“प्रकृतिलाई माया गर, जीवन ताजा बनाऊँ ।”

छोराछोरीका कुरा सुनेर बुबाआमाहरू पनि हौसिए । घरको छतमा स–साना बगैचा बनाउन थाले । कोही बिहानै सडक सफा गर्न निस्कन्थे, कोही फोहर व्यवस्थापन सिकाउँथे ।


एक साँझ उज्ज्वल र ओजश्वी पुरानो पुलमा उभिएर नदीको किनार हेर्दै थिए । पहिले कालो देखिने पानी अहिले हरियो र निलो झल्किँदै थियो ।

उज्ज्वल मुस्कुरायो, “हेर त ओजश्वी, नदी फेरि बाँच्न थालेको छ ।”

ओजश्वीले हल्का हाँस्दै भनिन्, “जब मानिसमा चेतना पलाउँछ, तब प्रकृति पनि बोल्न थाल्छ ।”

त्यसैबेला वरिपरि चरा चिरबिराए, प्रकृतिमा छटा आयो । हावामा नयाँ महक आयो — माटोको, पानीको र आशाको ।

अर्को हप्ता नगरपालिकाले घोषणा ग¥यो — “हरित सहर वर्ष” सुरु हुँदैछ । उज्ज्वल र ओजश्वीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम भयो ।

त्यहाँ उज्ज्वलले सम्बोधन गरेः “हामीले सहरलाई मात्र होइन, सोचलाई पनि हरियो बनाउने समय आएको छ ।”

भीडले ताली बजायो । केही वृद्धहरूले आँसु पुछ्दै भने, “हामीले नदेखेको सपना यी बालकहरूले देखाए ।”

अब सहरको मुटु फेरि धड्किन थालेको छ — बोटको सास, चराको गीत, अनि मानिसको मुस्कानसँगै ।

उज्ज्वल र ओजश्वीको अभियान अझै रोकिएको छैन । किनकि उनीहरूलाई थाहा छ — सचेतना फैलाउने काम कहिल्यै सकिँदैन ।

.....................................................................

सहर हरियालो हुन थालेको थियो, तर उज्ज्वलको मनमा कुनै शान्ति थिएन ।

एक बिहान उनले सहरको टाढाबाट हेर्दा देखे — आकाश फेरि धमिलो, सूर्यको उज्यालो फिक्का, अनि गन्धको तीव्रता अझै उस्तै ।

ओजश्वी आइपुगिन्, हातमा रिपोर्ट बोकेर । “उज्ज्वल, हे ! यो डेटा — प्रदूषण स्तर त फेरि बढेको छ ।”

उज्ज्वल अचम्म मान्यो, “तर हामीले त सयौँ बोट रोप्यौँ, सहर सफा राख्यौँ नि !”

ओजश्वीले निसासिँदै भनिन्, “समस्या अब सहरको सडकमा होइन, सहरमुनि छ ।

कारखानाहरूले राति धुवाँ निकाल्दैछन्, नदी किनारमा रासायनिक फोहोर फालिँदैछ ।”

दुई मित्रले नगरपालिकासँग भेट गरे ।

उज्ज्वलले प्रश्न ग¥यो, “किन तपाईंहरू मौन बस्नुभयो ? हामीलाई त सुधार भइरहेको भनिरहनुहुन्छ !”


नगर प्रमुखले ओठ चाटे, “हामी प्रयास गर्दैछौँ, तर ठूला उद्योग र ठेकेदारहरूसँग दबाब पनि हुन्छ, छोरा ।”

ओजश्वीले कठोर स्वरमा भनिन्, “दबाबले जनताको सास रोकिनु हुँदैन ।”

त्यो दिन उनीहरू दुवै निडर भएर बाहिर निस्किए — पत्रकार, विद्यार्थी र स्थानीय बासिन्दालाई साथ लिएर । सहरमा पहिलोपटक “धुवाँविरुद्धको मार्च” सुरु भयो ।

मार्चमा युवाहरूले नारा लगाए —

“हामी सास फेर्न चाहन्छौँ !”

“हावा बेच्ने अधिकार कसैसँग छैन !”

तर केही उद्योगपतिहरू हाँसेर भने, “यो त नाटक हो, केही दिनमा सबै बिर्सन्छन् ।”

तर उनीहरू गलत थिए । उज्ज्वल र ओजश्वीको अभियानले मिडियामा व्यापक चर्चा पायो । सरकारले अनुसन्धान समिति बनायो । कतिपय उद्योग बन्द गराइए, केहीले नयाँ फिल्टर प्रणाली अपनाए तर त्यसको साइड इफेक्ट पनि भयो — केही मजदुर बेरोजगार भए, साना व्यापारीलाई घाटा पुग्यो ।

ओजश्वीले चिन्तित हुँदै भनिन्, “उज्ज्वल, हामीले प्रकृति बचायौँ, तर मानिसलाई दुःख पनि त प¥यो ।”

उज्ज्वलले गम्भीर स्वरमा उत्तर दियो, “हामीले अहिले घाउमा मलम होइन, विष निकाल्दैछौँ ओजश्वी ।

पहिले पीडा आउँछ, अनि मात्र निको हुन्छ ।”

केही महिनापछि वर्षा ढिलो भयो, खेत सुके । गाउँमा अनावृष्टि, सहरमा धुलो र तातो हावा — प्रकृतिले अझै माफी दिएको थिएन ।

उज्ज्वलले एउटा सम्मेलनमा भन्यो, “प्रदूषण अब स्थानीय समस्या रहेन । यो सारा पृथ्वीको सासमा असर गर्दैछ ।”

ओजश्वीले जोडिन्, “हामीले वृक्षारोपण मात्र होइन, विचारारोपण पनि गर्नुपर्छ —

सफा सोच, संयमित उपभोग र सह–अस्तित्व ।”

अब उज्ज्वल र ओजश्वी “पृथ्वीको आवाज” नामको राष्ट्रिय अभियान सञ्चालन गर्न थाले ।

विद्यालयदेखि गाउँसम्म पुगेर उनीहरूले भनिरहे —

“प्रकृति र प्रगति दुबै सम्भव छन्, तर स्वार्थ र अन्धो उद्योगबीच होइन ।”

......................................................................

सहर फेरि धुवाँले ढाकिएको थियो ।

नदीका किनारमा फोहरका डुँगा जस्ता थुप्रा, आकाशमा धुलोको पर्दा, अनि बोटहरू मुरझाएका । उज्ज्वल र ओजश्वी निराश हुँदै वातावरण मन्त्रालयको बैठकमा उपस्थित भए — जहाँ देशका शीर्ष वैज्ञानिकहरू भेला भएका थिए ।

कक्षको हावा पनि भारी थियो, मानौँ सहरकै पीडा त्यही कोठामा थुनिएको होस् । डॉ. शरण, वरिष्ठ वातावरण वैज्ञानिक, प्रोजेक्सन बोर्डतिर फर्किएर बोले,

“हामीले वायुमण्डलको नाइट्रोजन, कार्बन र सल्फरको स्तर मापन गरेका छौँ । तीन वर्षभित्र यो सहरमा श्वासप्रश्वाससम्बन्धी रोग ६०% बढ्ने अनुमान छ ।”

सबै जनामा सन्नाटा ।

ओजश्वीले हल्का स्वरमा भनिन्, “त्यसोभए हाम्रो बोट रोप्ने अभियान पनि पर्याप्त भएन ?”

डॉ. शरणले गम्भीर स्वरमा उत्तर दिए, “अभियानले चेतना बढायो, तर हामीलाई अब प्रणालीगत परिवर्तन चाहिएको छ —

ऊर्जा स्रोत, यातायात, उद्योग र उपभोगका सबै ढाँचामा ।”

त्यसपछि अर्को वैज्ञानिक, डॉ. समिरा, उठिन् । “हामीले अहिले प्रकृतिको होइन, पृथ्वीको सन्तुलन गुमाउँदैछौँ । जलवायुको तापमान बढ्दै छ, वर्षा अनियमित हुँदैछ, र हामी सोचिरहेका छौँ —

यो सहरको समस्या हो, तर होइन, यो विश्वको चेतावनी हो ।”

उज्ज्वलले सोध्यो, “हामी के गर्न सक्छौँ डाक्टर ? नागरिकले केबाट सुरु गर्न सक्छ ?”

डॉ. समिराले मुस्कुराउँदै भनिन्, “तिमीहरू जस्ता युवाले नै परिवर्तन ल्याउँछौ — तर यो पटक, हरेक विद्यालय, उद्योग, र सरकारसम्म विज्ञानको आवाज पु¥याउनुपर्छ ।”

बैठकपछि वैज्ञानिकहरूको टोलीले संयुक्त घोषणा ग¥यो —

“स्मार्ट सहर होइन, सचेत सहर बनाऔँ ।”

रिपोर्टका अन्त्यमा लेखिएको थियोः

“यदि आज सुधार गरिएन भने, १० वर्षभित्र हावा र पानी दुवैमा जीवनको अंश घट्नेछ ।”

त्यो घोषणा उज्ज्वल र ओजश्वीका लागि नयाँ मार्गदर्शन भयो । उनीहरूले “विज्ञान र नागरिक” नामक सार्वजनिक मञ्च गठन गरे । त्यहाँ विद्यार्थी, डाक्टर, इन्जिनियर, किसान र शिक्षक सबै सहभागी हुन थाले ।

ओजश्वीले उद्घाटन कार्यक्रममा भनिन्,

“हामीलाई अब केवल भावना होइन, प्रमाण चाहिन्छ ।

प्रेमले हामीलाई जोड्छ, तर विज्ञानले बचाउँछ ।”

तर प्रकृतिको चेतावनी अझै अन्त्य भएको थिएन । एक रात सहरमा असामान्य गर्मी फैलियो — हावा तातो, आकाश गडगड, र बिहानै अन्धकार । विद्युत् बन्द, सहर ठप्प ।

रेडियोमा समाचार आयो —

“जलवायु असन्तुलनका कारण भीषण आँधी आउने सम्भावना ।”

उज्ज्वलले झ्यालबाट बाहिर हेरे — बोटहरू हल्लिरहेका थिए, चराहरू फेरि आत्तिएका ।

उसले ओजश्वीतिर फर्केर भन्यो, “यो प्रकृतिको अन्तिम चेतावनी हुन सक्छ । जब हावाभित्र धेरै पानीको बाफ हुन्छ → हावा ओसिलो (नमीयुक्त) हुन्छ ।

जब हावा सुक्खा हुन्छ → हावामा नमीको अंश कम हुन्छ । ”

........................................................................................

आँधीको चेतावनीपछि सहर एक हप्तासम्म अन्धकार र धुलोको चपेटामा रह्यो । नदी सुकेर कालो रेखा बनेको थियो, हावामा नमीको अंश शून्य नजिक । चराहरू अझै आत्तिएका, मानिसहरू असह्य तातोमा निद्रा हराएका ।

सरकार र वैज्ञानिक परिषद्ले आकस्मिक बैठक बोलायो ।

त्यो बैठकको अध्यक्षता डॉ. शरणले गरे, र उपस्थित थिए उज्ज्वल, ओजश्वी, तथा देशभरका प्रमुख वैज्ञानिकहरू ।

डॉ. शरणले गम्भीर स्वरमा भने, “प्राकृतिक वर्षा अब सम्भव छैन । हामीसँग अन्तिम उपाय बाँकी छ — कृतिम वर्षा (Artificial Rain) ।”

ओजश्वी अचम्ममा परिन्, “तर त्यो त प्रयोगात्मक थियो, होइन र ?”

डॉ. समिराले उत्तर दिइन्, “हो, तर अब प्रयोगको समय छैन — अब अस्तित्त्वको समय हो ।”

कृतिम वर्षाको वैज्ञानिक प्रक्रिया

डॉ. शरणले होलोग्राम प्रोजेक्टरमा निलो बादलको #D चित्र देखाउँदै व्याख्या गरेः

“कृतिम वर्षा मूलतः Cloud Seeding  भनिने प्रक्रिया हो ।

यसमा हामी विमान वा ड्रोनमार्फत हावामा रहेका बादलमा विशेष रासायनिक कणहरू —

सिल्भर आयोडाइड (AgI), सोडियम क्लोराइड (NaCl) वा पोटासियम आयोडाइड (KI) — छर्कन्छौँ ।

यी कणहरूले सूक्ष्म जलवाष्पलाई आकर्षित गर्छन्, जलकणहरू ठूलो हुँदै वर्षाको रूप लिन्छन् तर प्रक्रिया सफल हुनको लागि हावाको तापक्रम, वायुदबाब र आद्र्रता सन्तुलित हुनुपर्छ ।”

सुनिँदा सबै चुप ।

डॉ. समिराले थपिन्, “हामीले ड्रोनमार्फत ‘नानोक्लाउड पार्टिकल्स’ पठाउनेछौँ — यी सूक्ष्म कृत्रिम नाभिक हुन्, जसले बादलभित्र जलकण जमाउने क्षमतालाई बढाउँछन् ।”

उज्ज्वलले सोध्यो, “तर यो सुरक्षित हुन्छ ? हाम्रा बोट, प्राणी वा पानीमा असर त पर्दैन ?”

डॉ. समिराले मुस्कुराइन्, “यदि मात्रा सन्तुलित भयो भने यो सुरक्षित छ तर गलत अनुपात भयो भने विषादी जस्तै असर गर्न सक्छ । त्यसैले हामीले ‘इको–सीडर प्रणाली’ प्रयोग गर्नेछौँ — जसले प्राकृतिक खनिज तत्त्वहरू प्रयोग गर्छ, र वातावरणमा छरिएपछि २४ घण्टामै नष्ट हुन्छ ।”

त्यो रात आकाशमा १२ वटा ड्रोन उडाइए । हरेक ड्रोनको टुप्पोमा हरियो बत्ती बलिरहेको थियो, मानौँ आकाशमा आशाका दीप प्रज्वलित भएका हुन् । सहरका बासिन्दाहरू छतमा उभिएर हेर्दै थिए — शान्त, मौन, प्रतीक्षारत ।

ओजश्वीले बिस्तारै भनिन्, “प्रकृतिलाई हामीले दुखायौँ, अब विज्ञानमार्फत त्यसलाई सम्झाइरहेका छौँ ।”

उज्ज्वलले उत्तर दियो, “तर यो सम्झाइ मात्र होइन, पछुतो पनि हो ।”

केही मिनेटपछि आकाशको गडगडाहट फेरि सुनियो ।

पहिले डरको आवाज लाग्थ्यो, आज आशाको ।

पहिलो थोपा उज्ज्वलको हातमा प¥यो — गरम माटोमा परेपछि बाफ उठ्यो, अनि त्यसपछि मुसलधारे पानी ।

सहरले सास फे¥यो, चराहरूले पंख फैलाए, मानिसहरूले आकाशतिर हेरेर चिच्याए — “वर्षा भयो ! वर्षा भयो !”

तर ओजश्वीको नजर अझै चुपचाप थियो । उनले भनिन्, “वर्षा त भयो, तर कृत्रिम । हामीले पानी त पायौँ, तर प्रकृतिले हाम्रो आँसु देखिन् ।”

उज्ज्वलले हातमा थोपा टिप्दै उत्तर दियो,

“सत्य यही हो ओजश्वी — जब प्राकृतिक प्रेम हराउँछ, तब कृत्रिम जीवनले ठाउँ लिन्छ ।”

.............................................................................

कृतिम वर्षा सफल भयो । तीन दिनसम्म सहरमा मुसलधारे पानी प¥यो । नदी पुनः बग्न थाल्यो, बोटहरू हरियालीमा नुहाए, मानिसहरू सडकमा नाचे ।

सबैले भनिरहेका थिए — “विज्ञानले जित्यो !”

तर चौथो दिन बिहान, आकाश फेरी फिक्का थियो । सूर्य उदाएन, चरा बोल्दैनथे ।

उज्ज्वलले हावा सुँघ्यो — पानीमा कुनै विचित्र धातुको गन्ध थियो ।

डॉ. समिरा तुरुन्तै सहरको जल नमुना परीक्षण गर्न गइन् । उनी फर्केर आइन् — अनुहार गम्भीर ।

“उज्ज्वल, हामीले प्रयोग गरेका केही कणहरू हावासँग मिसिएर रासायनिक प्रतिक्रिया गरेका छन् ।

पानीमा सूक्ष्म प्रदूषक अणु बाँकी छन् । यसले केही बोट र कीरालाई असर गर्न थालेको छ ।”

ओजश्वी अवाक भइन्, “अर्थात् हामीले वर्षा त गरायौँ, तर फेरि घाउ पनि बनायौँ ?”

डॉ. शरणले दीर्घ सास फे¥यो, “हामीले प्रकृतिलाई जीवन दिन खोज्यौँ, तर उसले फेरि हामीलाई सिकायो — उसको सन्तुलन खेल होइन ।”

त्यस रात उज्ज्वल छतमा बसेर ओस परेका पातहरू हेर्दै थियो । आकाशमा अझै केही बादल बाँकी थिए, तर तिनीहरू मन्दमन्द हराउँदै थिए ।

ओजश्वीले नजिकै बसेर सोधी, “अब हामी के गर्ने ?”

उज्ज्वलले थकित स्वरमा भन्यो, “अब हामी वर्षा होइन, चेतना फैलाउनेछौँ । हामीले आकाशलाई होइन, आफूभित्रको धुवाँ सफा गर्नुपर्छ ।”

केही महिना बिते ।

सहरका मानिसहरू फेरि सचेत भए — बिजुली बचाउने, नवीकरणीय ऊर्जा प्रयोग गर्ने, फोहर व्यवस्थापन गर्ने । विद्यालयमा “प्रकृति र विज्ञान” विषय पढाइन्थ्यो, जहाँ ओजश्वीको नाम ‘अभियान प्रेरक’का रूपमा उल्लेख हुन्थ्यो ।

डॉ. समिरा र डॉ. शरणले नयाँ परियोजना सुरु गरे — “प्राकृतिक पुनर्सन्तुलन” — जहाँ विज्ञान र पर्यावरणको सह–अस्तित्त्वमा आधारित जीवनशैली सिकाइन्थ्यो ।

एउटा साँझ, वर्षौंपछि उज्ज्वल पुरानो पुलमा उभिएर बगिरहेको नदी हेर्दै थियो । ओजश्वी पनि आइन्, हावामा हल्का गन्ध थियो — माटोको, पानीको र पुनर्जन्मको ।

उज्ज्वल मुस्कुरायो, “हामीले अन्ततः बुझ्यौँ, ओजश्वी — विज्ञान प्रकृतिको भाषा बुझ्नको माध्यम हो, प्रतिस्पर्धा होइन ।”

ओजश्वीले हल्का हाँस्दै भनिन्, “हो, जब मानिसले प्रकृतिसँग कुरा गर्न सिक्छ, त्यो क्षणमा नै पृथ्वी निको हुन थाल्छ ।”

मानवता र प्रकृतिको सम्बन्ध प्रतिस्पर्धा होइन — सह–जीवन हो । विज्ञानले हामीलाई साधन दिन्छ, तर सदाचारले दिशा दिन्छ । जब हामीले पृथ्वीलाई केवल स्रोत होइन, सास सम्झन्छौँ — तब हरेक वर्षा, चाहे प्राकृतिक होस् वा कृत्रिम, जीवनको गीत बन्छ  । 

वर्षौँ बितिसकेका थिए । सहर अब नयाँ रूपमा बाँचिरहेको थियो — बिजुली सौर्य ऊर्जाबाट, यातायात विद्युतीय, र नदी किनारमा बालबालिका खेल्दै । आकाश फेरि निलो, हावामा ओस, र बिहानको पहिलो किरणमा चराहरूको चिरबिराहट गुञ्जिन्थ्यो ।

उज्ज्वल र ओजश्वी फेरि पुरानो चौतारीमा उभिए, जहाँ कहिल्यै हावाले धुलो होइन, सुगन्ध बोथ्थ्यो ।

ओजश्वीले आँखा बन्द गरिन्, र भनिन्, “हेर न उज्ज्वल, प्रकृतिले फेरि हाम्रा आवाजहरू सुन्न थालेकी छ ।”

उज्ज्वल मुस्कुरायो, “हो, जब मानिसले प्रकृतिसँग कुरा गर्न सिक्छ, त्यो क्षणमा नै पृथ्वी निको हुन थाल्छ ।”

सहरका विद्यार्थीहरू बोटको छायाँमा पढिरहेका थिए । कुनै डाँडामा वैज्ञानिकहरू नयाँ ‘इको–लैब’ बनाइरहेका थिए, जहाँ हावा, माटो, र पानीको सन्तुलन मापन गरेर प्राकृतिक तालमेल कसरी टिकाइन्छ भन्ने सिकाइन्थ्यो ।

डॉ. समिरा त्यही लाबमा नजिकिँदै थिइन् । उनले उज्ज्वल र ओजश्वीलाई देखिन् र हाँस्दै भनिन्,

“तिमीहरू दुवैले प्रमाणित गर्यौ — विज्ञान प्रकृतिको भाषा बुझ्नको माध्यम हो, प्रतिस्पर्धा होइन ।”

ओजश्वीले उत्तर दिइन्, “हामीले विज्ञानलाई हतियार होइन, संवाद बनायौँ — त्यसैले प्रकृतिले फेरि हामीलाई अपनायो ।”

त्यसपछि आकाशको पश्चिमपट्टि सूर्य अस्ताउँदै थियो । पहाडका काखमा हरिया बोटहरू सुनौलो उज्यालोमा चम्किरहेका थिए, नदीको सतहमा रातो–सुन्तला आभा नाच्दै थियो, र बिस्तारै हावाले पातहरूमा संगीत बजाइरहेको थियो ।

त्यो क्षणमा उज्ज्वलले गहिरो सास फे¥यो — त्यो सास केवल उसको शरीरको होइन, पृथ्वीको पनि थियो ।

जब विज्ञानले प्रकृतिलाई सुन्न थाल्छ, र मानिसले आफूलाई पृथ्वीको अंश ठान्छ, त्यो क्षणमा सभ्यता साँचो अर्थमा विकसित हुन्छ । प्रकृति तब मात्र सुन्दर हुन्छ, जब हामी त्यसको सौन्दर्यमा आफ्नो अस्तित्व पाउँछौं ।

आकाश निलो र स्वच्छ छ, पानीमा ताराहरू चम्किँदै छन्, दूर टाढा डाँडामा बिद्युत् चम्किरहेको छ — तर त्यो अब विध्वंसको होइन, जीवनको उज्यालो हो । संसार फेरि बाँचिरहेको छ, र पृथ्वी, अब, शान्त सास फेर्दै मुस्कुराइरहेकी छ । 


२०८२ कात्तिक १०

बिजु सुवेदी विजय


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा