नेपालमा यस्तो कहिले हुने ?

 नेपालमा यस्तो कहिले हुने ?


काभ्रेका एउटा बूढो बाजे केही उपाय नभएर यसरी सामाजिक सञ्जालमा यसरी स्टाटस लेख्दै थिए । “नेपालको काभ्रेमा काउली ८० पैसा केजीमा बेच्न नसकेर लाखौँ केजी काउली कुहिन लागेको हिजोको नेपाल टेलिभिजनको समाचारले मन कुँडिएको छ , स्तब्ध भएको छु । जबकि त्योभन्दा महङ्गो दाममा भारतीय काउली किनेर राजधानीका बजारमा महङ्गोमा बेचिरहेका रहेछन् । उपभोक्तासम्म आइपुग्दा काउली एकदमै महङ्गो प्रति केजी अहिले पनि ५० रुपियाँ पर्छ , दलाल, बिचौलियाहरुको ६—७ तह पार गरेर आउँदामात्र उपभोक्ताको हातमा काउली पर्छ । किसानकहाँ दलालले मनोमानी ढङ्गले मूल्य तोकी उठाउने गरेको रहेछ ।”


काभ्रेको त्यही गाउँ, जहाँको किसान रमेशकुमार बारीभरि हरियाली काउली हेर्दै सोचिरहेथ्यो— “यत्रो मेहनत गरेर उब्जाएको काउलीको मूल्य त साधारण नुन–भन्दा पनि सस्तो !”


छेउमै उभिएको उसका छोराले सोध्यो, “बाबा, यसपालि त राम्रो काउली फलेको छ नि ! राम्रो पैसा आउँछ, हैन ?”


रमेशले निःश्वास फाल्दै भन्यो, “बजारमा लगेको त ८० पैसा किलो भन्दे, कसरी राम्रो पैसा आउँछ र बाबु ?”


छोराले अचम्म मान्दै भन्यो, “तर हिजो हाटबजारमा त एउटै काउली ५० रुपैयाँमा बेच्दै थिए !”


“त्यही त पीर छ बाबु ! किसानको पसिना सुक्न नपाउँदै दलालहरूको पोल्टामा भरिन्छ,“ रमेशले गम्भीर हुँदै भन्यो ।


हिजोमात्र उसले सय किलो काउली बिचौलियालाई बेचेको थियो, जम्मा ८० रुपैयाँ हात प¥यो । उता बजारमा त्यही काउली हजारौं रुपैयाँमा बिक्रि हुँदैथियो ।


त्यसैबेला गाउँमा एउटा नयाँ जीप पस्यो । सेतो कमिज, कालो कोट लगाएको एक जना मानिस झ¥यो । गाउँलेहरू भेला भए ।


“किसान दाजुभाइ, तपाईँहरूको उत्पादन सिधै बजारमा गइरहेको छ । धन्दा नमान्न्होस् । कुनै बिचौलिया आवश्यक छैन ! नेपालको राजधानीसम्म हाम्रा काउली जाँदैछन् ।” उसले जोशिला शब्दमा भन्यो ।


रमेश नजिक गएर सोध्यो, “तर कसरी ?”


“हाम्रो सहकरी छ । तपाईंहरूकै उत्पादन तपाईंहरूकै मूल्यमा उपभोक्तासम्म पु¥याउनेछौँ । दलालको खेल अब सकियो !”


गाउँभरि खुसीयाली छायो । गुकेशको अनुहार उज्यालो भयो । उसका छोराले मुस्कुराउँदै भन्यो, “अब हाम्रो काउली कुहिँदैन, बाबा !”


रमेशले आँखा चिम्लियो । पहिलेजस्तै निराश भएर होइन, भविष्यप्रति उज्यालो सपना देख्दै तर सपनामात्र देखेर के नै हुने रहेछ ?


तर त्यो सहकारीको सेवा भारतको थियो । भारतको गाउँमा त उद्धार भयो तर ! तर !! तर !!! नेपालमा यस्तो कहिले हुने ?


२०८१ माघ २३

बिजु सुवेदी विजय


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा