पौराणिक लघुकथा :—सरस्वती माते

 पौराणिक लघुकथा :—सरस्वती माते


प्राचीन समयमा, कौशाम्बी नगरीमा धनिकसेठ नाम गरेका एक धनाढ्य व्यापारी बस्दथे । उनको विशाल महल, सुनौलो रथ, असंख्य सेवक–सन्तान थिए, तर उनले कहिल्यै विद्या, साधना, धर्मकर्ममा चासो राखेनन् । उनी जहिले पनि लक्ष्मीको आराधना गर्थे, धन प्राप्तिका लागि अनेक व्रत–पूजा गर्थे ।


एक दिन उनले लक्ष्मी देवीको कठोर उपासना गरे । प्रसन्न भएर लक्ष्मी देवी प्रकट भइन् र सोधिन्, “के चाहिन्छ, सेठ ?” सेठले भने, “हे महालक्ष्मी ! मलाई अझ धेरै धन चाहिन्छ, मेरो भण्डार कहिल्यै खाली नहोस् !”


लक्ष्मी देवी मन्द मुस्काइन् र भनिन्, “सेठ ! तिमीले सरस्वती माताको पूजा गर्छौ कि गर्दैनौ ?”


सेठले हाँस्दै भने, “हे देवी ! धनको लागि विद्या किन चाहियो ? म त तपाईंको भक्ति गर्छु, सरस्वतीको होइन ।”


लक्ष्मी देवी गम्भीर हुँदै भनिन्, “विद्याबिना धनको कुनै अस्तित्त्व हुँदैन । विद्या भनेको दीप हो, जसले जीवनको अन्धकार हटाउँछ । तिमीले विद्याबिना कमाएको धन दीर्घकाल टिक्दैन ।”


त्यसपछि लक्ष्मी देवी अदृश्य भइन् । सेठ अलमलमा परे । केही दिनपछि, उनको व्यवसायमा अपार नोक्सानी भयो । ठगहरू आएर उनको सम्पत्ति हडप्न थाले । बिस्तारै गरिब बन्दै गए, उनका निकटतम सेवकहरू पनि छोडेर गए ।


हतोत्साहित भएर सेठ एक दिन भटक्दै जाँदा उनले एक विद्वान ब्राह्मणलाई देखे । ब्राह्मण शुद्ध चित्तले सरस्वती माताको भक्ति गरिरहेका थिए । सेठले ब्राह्मणको चरणमा लम्पसार परे र आफ्नो सबै कथा सुनाए ।


ब्राह्मण मुस्कुराउँदै भने, “हे सेठ ! तिमीले लक्ष्मीलाई मात्र पुज्यौ, तर सरस्वतीलाई बिर्सियौ । विद्याबिना धन टिक्दैन, तर विद्या भए धन आफैं आउँछ । अब यदि तिमी साँच्चै जीवन सुधार्न चाहन्छौ भने, पहिले सरस्वती माताको आराधना गर ।”


सेठले आफ्नो गल्ती बुझे । तत्कालै सरस्वतीमातेले दर्शन दिइन् जुन दिन श्रीपञ्चमीको अघिल्लो दिन थियो । उनले त्यो रात सरस्वतीमातेको गोडाको थकाइ मेटाएपछि श्रीपञ्चमीको दिन सरस्वती माताको विधिपूर्वक पूजा गरे, अक्षरारम्भ गरे, र पुनः शिक्षामा ध्यान दिए । विस्तारै उनको व्यवसाय सदाका लागि फस्टायो, विद्यासहितको बुद्धिको सहायताले ।


२०८१ माघ २० (सरस्वती पूजाको अघिल्लो सन्ध्या ११ः००)

बिजु सुवेदी विजय

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा