कथा :– १९ दिने जनआन्दोलन नजिकबाट हेर्दा

 पहिलेका आन्दोलन जस्तो कि प्रतिनिधि आन्दोलनका रुपमा यो आन्दोलनलाई एकपटक र्धैर्यशील भई अध्ययन गरी जेँन्जी भाइबहिनीहरुलाई म विशेष अनि एकदम विषेश आह्वानका साथ अनुरोध गर्दछु । आज २०८२ भदौ २५ जेन्जी आन्दोलनको तेस्रो दिन म विजु सुवेदी विजय ।

कथा :– १९ दिने जनआन्दोलन नजिकबाट हेर्दा

कथाकार :– बिजु सुवेदी “विजय”

२०५२साल फागुण १ गतेदेखि राजतन्त्र अन्त्यको लागि नेकपा माओवादीले एक्लैले १० वर्षसम्म जनयुद्धबाट आन्दोलन गरेको थियो । त्यसै दौरानमा २०६३ मंसीर ७ गते दिल्लीमा नेकपा माओवादीसँग ७ दलले शान्तिपूर्ण आन्दोलन गर्ने तय गरेको थियो । सातदलले १२ बुँदे सम्झौता जुन नेकपा माओवादीसँग दिल्लीमा गरेका थिए जसमा तात्कालीन नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला र तात्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । यसरी शान्तिपूर्ण आन्दोलनको सुरुवात भएको थियो तर त्यसैका विरुद्धमा शाहीसत्ताले कफ्र्यु लगाउने सिलसिला सुरु गरेका थिए । आठदल मिलेर कफ्र्युको प्रतिकार गरेका हुनाले जनताले पनि विभाजित नभई कफ्र्युको अवज्ञा गरेका थिए । शाही सत्ताले आन्दोलनकारीहरुको भित्रभित्रै भिजिलान्ते प्रयोग गरी धरपकड गरी चर्को दमन गरेका थिए । प्रहरी अधिकृतको घर, सेनाहरु बस्ने घर, सरकारी अधिकृत कर्मचारीहरुको घरबाट समेत जनताहरुलाई आतङ्ककारी सफाया गर्ने निहुमा सर्बसाधारण जनताहरुलाई  छानीछानी लाठी, बुटदेखि गोलीसम्म बर्साएका थिए ।

बास्तबमा पहिले सातदल नेकपा माओवादीसँग मिलेका थिएनन् तर जब शाहीसत्ताले एकलौटी रुपमा कुनै पनि पार्टीका गतिविधिमाथि नै निषेध गरी दमन गर्न थालेपछि त्यसैले पनि सातदलहरु पनि शरणागत भएर नेकपा माओवादीसँग मिल्न बाध्य भएका थिए । सञ्चार माध्यमका पत्रकार, सञ्चारकर्मी, मानवअधिकारकर्मी, वकील, प्राध्यापक, चिकित्सक लगायत सबै बुद्धिजीवीहरु पेशागत सञ्जाल ‘पापड’ गठन गरी स्वतन्त्रता, लोकतन्त्र बहाली र नागरिक अधिकारका लागि यस दमनका विरुद्ध खुलेर उत्रेका थिए किनकी उक्त समय सबै पेशागत व्यवसायीहरुको पेशा संकटमा परेको अवस्था थियो । त्यस्तै अर्कातिर नागरिक समाजका  देवेन्द्रराज पाण्डे तथा कृष्ण पहाडीजस्ता अगुवाहरु नागरिक पुनर्वहालीका लागि यस आन्दोलनमा नागरिक समाजलाई डोर्याई सरीक भइरहेका थिए । सुरुमा आन्दोलनकारी र शाहीसेना बीच गोङ्गबुँमा ठूलो भिडन्त भएको थियो । वास्तबमा ०६१ माघ १९ गतेदेखि ज्ञानेन्द्रशाहीले आफै मन्त्रीमण्डलको अध्यक्ष भई एकलौटी रुपमा शासन चलाउन थालेपछि जनताहरु निरन्तर आक्रोशित भइरहेका थिए । अनि जनताहरुले आन्दोलन बढाउँदै लग्दै गरेका थिए भने सातदलबाट नेकपा माओवादीसँग मिलेर ८ दलको आन्दोलनको कार्यक्रम तय भइसकेपछि जनताहरुलाई दमन गर्न शाहीसत्ताले कफ्र्युको अस्त्र प्रयोग गरेका थिए । तर जनता कत्ति पनि डगेका थिएनन् , विचलित भएका थिएनन् । त्यसैले जनताहरु कुनै पनि गूट र उपगूटमा विभाजित नभई आठदलको साझा आन्दोलन भनी एकै ढिक्का भई खरोसँग उत्रिरहेका थिए । यसरी यस आन्दोलनले गूट–उपगूटमा विभाजित नभई जनताहरु शाही सत्तालाई परास्त गर्नका खातिर एकताबद्ध भइरहेका थिए ।

यसैबीच नेकपा माओवादीले २०६२ चैत्र १ गतेदेखि चैत्र २० गतेसम्म  तीन हप्ते राजधानी लगायत जिल्ला सदरमुकामहरुमाथि नाकाबन्दी बढाउँदै लगेर त्यसपछि चैत्र २१ गते चैत्रको तेस्रो सातादेखि अनिश्चितकालीन आम हडताल गरिरहेका थिए तर सातदलको शान्तिपूर्ण आन्दोलन गर्ने आग्रहसँगै नेकपा माओवादीले चैत्र २४ गतेदेखि भने मिलेर बिनाशस्त्र शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए । यसो भएता पनि शाही सत्ताले चर्को दमनस्वरुप धरपकड, गिरफ्तार, अश्रु ग्याँस, पानीका फोहरा, गोली प्रहार गरिरहेका थिए । लाठी बर्साए, बुट बजारे, तर जनताहरु कत्ति पनि डगेका थिएनन् । सधैंजसो कफ्र्युकै दिनचर्या थियो । यसरी शाही सत्ताले जनतालाई आलो रगतमा होली खेलाए ।

यसरी चर्कोरुपमा दमन गरे पनि नेकपा माओवादीले देशमा अमन चयन कायम होस् , सत्ता पक्षसँग वार्ता होस् भनेर सातदलसँग मिलेर आन्दोलन गर्न एकतर्फ रुपमा केही दिनका लागि युद्ध विराम गरी शसस्त्रबाट शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरे । देशको ८० प्रतिशत भूभागमा माओवादी जनसरकार चलिरहको अवस्थामा नेकपा माओवादीले सैन्य कार्वाही देशैभर सबै ठाउँमा स्थगन भएको घोषणा गरेका थिए । तर शाही सत्ता भने अझै त्यसको वेवास्ता गरी उनीहरु कति पनि पछि नहटी टसमस नभई हिँसामा नै उत्रिरहे । यसरी जनतालाई शाहीसत्ताले चर्को दमन गरिरहेका थिए । जो पायो त्यसलाई आतङ्ककारी भनी पकडेर अमानवीय यातना दिइरहेका थिए । यसको प्रतिकारस्वरुप जनताहरु आफूसँग भएभएका हाते हतियार लिई झुण्ड–झुण्ड भई पहरा दिई आन्दोलित भइरहेका थिए ।

 एकजना बुद्धिजीवी जस्तो व्यक्ति त पूरै पागल जस्तो भई “तिमीहरु जनताहरु किन इसारा इसारै मात्र गरेर कहिल्यै कोहीले हात पछाडि राख्ने, कहिल्यै कोहीले हात अगाडि राख्ने ,  कहिल्यै कसैले  दाहिने मुड्की उठाउने, कहिल्यै कसैले बाँयाँ मुड्की उठाउने , कहिल्यै कसैले अगाडि ज्ञानी हात गर्ने , कहिल्यै कसैले पछाडि ज्ञानी हात गर्ने के हो यो तिमीहरुको चाला ? बोल न हो बोल । आफ्नो हकका लागि त इशाराले हुन्न नि बोल्नु पर्यो नि बोल्नु पर्यो” भन्दै पूरै चक्रपथ एक्लै ठूलो–ठूलो समवेत स्वरले कराई–कराई आन्दोलित पार्न सम्झाइरहेका थिए । त्यसपछि त झन् पूरै चक्रपथ भरी जनताहरु दन्किएर आन्दोलित हुन थाले । अनि टोलटोल, गल्लीगल्ली, बस्तीबस्ती, गाउँगाउँ, सडकसडकमा जनताहरु आफ्ना सूरक्षाका लागि एकत्रित भइरहेका थिए । कलम चलाउनेहरुले पत्रिकामा लेखेर, बोल्ने बक्ताहरुले भाषण गरेर, कविहरुले कविता वाचन गरेर, कलाकार गायकहरु मञ्चमा उभिएर शाही सत्ताको विरोध गरिरहेका थिए । यसैबीच शाहीसत्ताले ककनी ब्यारेकमा नजरबन्दमा राखेका माधवकुमार नेपाल, झलनाथ खनाल आदि नेताहरुलाई अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीहरुको चर्को दबाबपछि  छोड्न बाध्य भएका थिए । त्यसपछि सातदल र नेकपा माओवादीका नेताहरु पनि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा शान्तिपूर्ण आन्दोलनमा सडकमै उत्रिसकेका थिए ।

 त्यसपछि गिरिजाप्रसाद कोइरालालाई भेट्न भारतबाट नेताहरु आएका थिए । यद्यपी नेकपा माओवादीसँग भारतीय नेताहरुले भेट नगरेता पनि गिरिजा प्रसाद कोइरालासँग भेटेर “नेकपा माओवादीसँग एकजूट नभै आन्दोलन सफल नहुने र त्यसैले माओवादीसँग साथ नछोड्न” दबाब दिएका थिए । किनभने यो समयमा एमाले तथा कांग्रेसका केन्द्रीयस्तरका नेताहरुले “माओवादीसँग नमिलिकनै हामीले आन्दोलन सफल पार्नुपर्छ” भनेर वक्तव्यबाजी दिएर जोड दिइरहेका थिए । त्यसैले पनि भारतीय नेताहरु आई यस्तो धारणा राखेका थिए । त्यसपछि गिरिजा प्रसाद कोइरालाले आन्दोलनलाई आठदल मिलेर गन्तब्यमा पुर्याएपछि मात्रै रोक्ने बताएका थिए । यसरी जनताहरु फुट्नै लागिसकेका थिए तर फेरि एकजूट भएका थिए । अनि यसरी नयाँ उत्साहका साथ जनताहरु आन्दोलनका लागि गोलबद्ध भई जुटेका थिए ।

तैपनि सातदलले बीचबीचमा संसदीय व्यवस्था पुनस्र्थापनापछि आन्दोलन रोक्ने बताइरहेका थिए तर यति धेरै चर्को दमन गरिसकेको हुनाले नेकपा माओवादी, युरोपियन युनियन, चीन, भारत लगायतका देशहरुले दबाब दिएपछि अन्तिम लक्ष्य संबिधानसभा पुनस्र्थापना गरी गणतन्त्र घोषणा नगरेसम्म आन्दोलन नरोक्ने कुरामा आठदल सहमत भएका थिए । यसले गर्दा सातदलले “यो जनआन्दोलन माओवादीको नभएको सातदलको मात्र भएको” भनिरहेको कुरालाई पञ्छाई जनताहरु एकजुट भई गोलबद्ध भइरहेका थिए । तर जतिसुकै पार्टीहरुले योजना बनाए पनि उनीहरुको पकडभन्दा बाहिर पुगेर एक कदम अगाडि बढ्दै स्वतस्फूर्तरुपमा आफ्ना हकका लागि आन्दोलित जनताहरुले बुलन्द आवाज उठाउँदै आइरहेका थिए । ज्ञानेन्द्र शाहीले आफ्ना नेतृत्वमा पूर्व प्रधानमन्त्रीहरु कृष्ण प्रसाद भट्टराई, मरीचमान सिँह,लोकेन्द्र बहादुर चन्द, सूर्य बहादुर थापा आदिलाई प्रधानमन्त्री बनाउन खोजे तर सफल भएनन् ।

आन्दोलनको अर्को दिन आठदलको योजना अनुरुप आन्दोलित जनताहरुले चक्रपथ घेर्ने चाँजोपाँजो मिलाइसकेका थिए । शाहीसत्ताको कफ्र्यु राति २ बजेदेखि ८ बजेसम्म त छँदै थियो तर मृत्युको परवाह नगरी जनताहरु जुझारु बनी आन्दोलनमा सहभागी भइरहेका थिए । कफ्र्यु हुँदा–हुँदा सिमा नाघिसकेको थियो । जनताहरु बन्द जेलमा आफ्नै घरमा बस्नु परेका थिए । त्यसैले कफ्र्युको पन्ध्रौं दिनमा जनताहरु पहिलोपटक कफ्र्यु तोडेर करिब ५ लाखको सँख्यामा शान्तिपूर्ण अवज्ञा आन्दोलनमा उत्रे । शाही सेनाले भने उत्तेजित भएर नारा लगाउनेहरुलाई छानी–छानी गोली दागे । हेलिकप्टरबाट समेत चर्को नारा लगाउनेहरुलाई छानीछानी गोली बर्साए ।

को बच्चा, को बूढा, को आइमाइ सबैले आन्दोलनमा स्वतस्फूर्तरुपमा सहभागी जनाइरहेका थिए । जताततै रगतको आहाल देखिन्थ्यो । कसैको शरीर ढलिरहेको थियो, कसैको टाउको छियाछिया भएको थियो, कसैको हातमा गोली लागेको थियो, कसैको छाती चिरापर्ने गरी गोली लागेको थियो । तैपनि जनताहरु केही कुराको पर्वाह नगरी त्यही रगतको टीका लगाउँदै आन्दोलनमा झन् जोशिलो भई सहभागी भइरहेका थिए । जनताहरु झन्झन् तातिरहेका थिए । घाइतेहरु त झन् उत्तेजित भई आक्रोशित हुँदै आगो भइरहेका थिए । राजतन्त्र अन्त्य हुनुपर्ने माग राख्दै “ राजतन्त्र मूर्दाबाद !” भन्दै आक्रोशित हुँदै नारा लगाउँदै जनताहरु अघि बढिरहेका थिए । यसरी साहसी जनताको अदम्य आँट र गर्बिलो जोशले न अश्रु ग्याँस, न पानीका फोहरा, न लाठी, न बुट, त्यस्ता बाधाहरु केही को पनि परवाह नगरी कत्ति पनि बिचलित नभई आन्दोलित भएर अघि बढिरहेका थिए ।

उनीहरुको यो आन्दोलनको दिनचर्या दैनिक क्रियाकलाप जस्तो गरी भइरहेको थियो । घाइते योद्धाहरुलाई “वीर शहीद तिम्रो प्रतिज्ञा पूरा गरी छाड्नेछौं ।” भन्दै अस्पतालमा कुदाइरहेका थिए । सबै अस्पतालहरु घाइते बिरामीहरुले खचाखच भरिएका थिए । ढलेका घाइतेहरुले शुद्धा “शाही सत्ता नढलेसम्म राजतन्त्र अन्त्य नभएसम्म यो आन्दोलन रोक्न नहुने कुरा” निकै उत्तेजित भई बताइरहेका थिए । जनताहरुलाई जति–जति दमन गर्दै लगे, जति–जति दबाउँदै लगे जनताहरुले पनि आन्दोलनको उचाइ त्यो भन्दा बढाउँदै लगिरहेका थिए । चैत्र २८ गतेदेखि नै आन्दोलित जनताहरुले सरकारी साइनबोर्डमा “श्री ५ को सरकार” लेखेको ठाउँमा “नेपाल सरकार” लेख्न सुरु गरिसकेका थिए । अनि साथसाथै शाहीसत्ता मुक्तक्षेत्र अनि गणतन्त्र चोक भनेर ठाउँ–ठाउँमा घोषणा गरिरहेका थिए । यस्तो अभियान चलेको खबर पाउने वित्तिक्कै नेपाल भरी सबै ठाउँमा आन्दोलनकारीहरुले यसरी नै ‘नेपाल सरकार’ लेखेर ‘शाही सत्ता मुक्तक्षेत्र’ अनि ‘गणतन्त्र चोक’ भनेर घोषणा गरिरहेका थिए ।

कवि, कलाकार, पत्रकार, वकील, ईञ्जिनीयर, चिकित्सक, प्राध्यापक आदि सबै बुद्धिजीवीहरु आन्दोलनमा सहभागी भइरहेका थिए । दायाँबायाँ क्रान्तिकारी कविता वाचन गर्दै कविहरु ढलिरहेका थिए भने त्यस्तैमा पनि कविहरु अझ उद्वेलित भएर क्रान्तिकारी र परिवर्तनका कविता वाचन गर्दै आन्दोलनकारीहरुलाई अझ उर्जा प्रदान गरिरहेका थिए । अश्रु ग्याँस प्रहार गरेर ल्याउँदा पोलाइको पर्वाह नगरी बच्च्चाहरुले शुद्धा अश्रु ग्याँसको पोकालाई पकडेर शाही सेनातिरै हुत्याइदिन्थे । घाइते भएर लड्ने त कत्ति थिए कत्ति त्यसको लेखाजोखै थिएन ।

एम्बुलेन्स सञ्चार माध्यम आदिलाई शुद्धा शाही सत्ताले पास दिन छोडे । पास दिएका एम्बुलेन्स , सञ्चार माध्यमलाईसमेत दमन गर्न सुरु गर्न थाले । कीर्तिपुर लगायत चक्रपथका सबैजसो चोकहरु ‘गणतन्त्र चोक’ घोषणा गरिए साथै ‘शाही सत्ता मुक्त क्षेत्र’ पनि घोषणा गरिए । जसरी मेघ गर्जिएको, आँधि बेहरी उर्लेको हुन्थ्यो त्यसरी नै जनताहरु आन्दोलनमा उर्लिरहेका थिए । जनताको अदम्य शाहसलाई कुनै पनि शक्तिले रोक्न सक्छ जस्तो लाग्दैनथ्यो । जनताहरुले शाही सत्ताका सेनाहरुको फुली खोसेर त कत्ति फ्याँके कत्ति । कति शाही सेनालाई कालो मोसो दले कत्ति । तैपनि जनताहरुले सैन्य कार्वाही नगरी शान्तिपूर्ण रुपमा आन्दोलन गरिनै रहे । तर यसको बदलामा शाही सेनाले गोलीले जवाफ दिन्थे, बुटले जवाफ दिन्थे, लाठीले जवाफ दिन्थे, अश्रुग्याँसले जवाफ दिन्थे । तर जनताहरुले  एक कदम अगाडि बढेर कलङ्की चोकमा ठूलो हँसिया हथौडाले पोतेर गोलाकारमा ‘लोकतन्त्र चोक’ भनेर रातो अक्षरले लेखेर नामाकरण गरे । यसरी नै बालाजु, बल्खु, सितापाइला, महाराजगञ्ज, चाबहिल, ग्वार्काे, कोटेश्वर, सातदोबाटो, मैतिदेवी, बौद्ध, कालीमाटी सबैठाउँमा शाहीसेना मुक्तक्षेत्र तथा ‘गणतन्त्र चोक’ घोषणा गरिसकेका थिए । यस आन्दोलनमा गोङ्गबुँ चोकमा सबैभन्दा ठूलो भीडन्त भएको थियो र सबैभन्दा धेरै व्यक्तिहरु शहीद भएका थिए ।

 यसपछि शाही सेनाहरु आत्तिन थाले । उनीहरु बहुलाइसकेका थिए । त्यसैले उनीहरुले मानवअधिकारको पनि ख्याल नगरी डाक्टरहरुले घाइते उपचार गरिरहेको ठाउँहरुमा गई औषधि सलाइनहरु लुट्न , खोस्न थाले । एम्बुलेन्स, सञ्चारमाध्यमका गाडीहरु प्नि तोडफोड गर्न थाले । जनताहरु झन्–झन् आक्रोशित हुन थाले । जनताहरुले “शाही सत्ताका कसैलाई पनि नछोड्ने , कार्वाही गरी छोड्ने, देशबाट भाग्न पाइँदैनौं तिमीहरु !” भनी औंला ठड्याई आक्रोशित हुँदै खबरदारी गरिरहेका थिए । जनताहरुले अझै आक्रोशित हुँदै “उनीहरुलाई यही आन्दोलनमा आफ्नै आँखा अगाडि कार्वाही गर्ने” प्रतिज्ञा पनि गरिरहेका थिए । तर यसको बदलामा शाही सत्ताले कफ्र्युको घोषणा गरिरहे । कफ्र्युको कसैले पनि परवाह गर्न छोडिसकेका थिए । जनताहरुले जताततै आन्दोलन पढिरहेका थिए र कफ्र्यु पचाइसकेका थिए ।

यसैबीच कफ्र्युकै समयमा पनि जनताहरु बहिर जोडिएका जिल्लाहरुबाट पनि हुलका हुल मानव सागरका रुपमा जुलुशका रुपमा आउन सुरु गरिसकेका थिए । चाबहिलमा आएको जुलुश, गोङ्गबुँमा आएको जुलुश, महाराजगञ्जमा आएको जुलुश, सामाखुसीमा आएको जुलुश, बालाजुबाट आएको जुलुश सबै स्वयम्भूनिर जम्मा साढे तीनलाख जति सामेल भए । त्यस्तै कीर्तिपुरमा जम्मा भएको जुलुश, थानकोटमा जम्मा भएको जुलुश पनि कलङ्की हुँदै करीब २ लाख ५० हजारको संख्यामा स्वयम्भूकै जुलुशमा मिसिन पुगे । उता बल्खु, ग्वार्को, सातदोबाटो, लगनखेल, पाटनमा जम्मा भएको जुलुश पनि करीब ७ लाख जतिको संख्यामा तीनकुनेतिर पुगे । अनि त आन्दोलन दबाउन बख्तरबन्द ट्याङ्कर, बङ्कर यत्रतत्र खासगरी तीनकुने आदिजस्ता ठूला–ठूला चोकहरुमा ल्याएर राखेका थिए । यो वातावरण विश्व युद्ध, इरान–इराक युद्ध, अमेरिका भियतनाम युद्धहरु जस्तै भयावह, भयङ्कर, विभत्स दृश्य जस्तै देखिन्थ्यो । तैपनि जुलुशका डफ्फाहरु आउने क्रम जारी नै थिए । सलहको हुल, माहुरीको गोला झैं आन्दोलित भई जनताहरु जनसागरका रुपमा आँधिबेहरी भेल भई उर्लिरहेका थिए । यसैक्रममा फेरि गोङ्गबुँमा एकलाख जुलुश पुगिसकेका थिए । सितापाइलामा पनि चक्रपथ बाहिरबाट यसरी नै एकलाख जति जुलुश पुगिसकेका थिए । यसरी बल्खु, सातदोबाटो, कलङ्की, सिनामङ्गल गौशाला, जोरपाटी, ग्वार्को, बौद्ध, कोटेश्वर, महाराजगञ्ज, गोङ्गबुँ, सामाखुशी, स्वयम्भूआदि ठाउँमा चक्रपथ बाहिरबाट अति उद्वेलित भई चर्का नारा सहित आएका आन्दोलित जनताहरुले चक्रपथ पूरै घेरिसकेका थिए । दिउँसोको समयमा यसरी ३० लाख जति जनताहरु चक्रपथ भरी नै नाराबाजी गरिरहेका थिए ।

यसरी जनताहरुले आफ्ना इलमका कुनै पनि पेशा नगरी यही आन्दोलनकै पेशा स्वतस्फूर्तरुपमा गरिरहेका थिए । जनताहरु सबै त्यत्तिबेला जनसागरद्वारा नै राजदरबार मिल्किने कुरामा विश्वस्त थिए । “फेरि पनि ००७ साल , ०४६ सालको जस्तो धोखा होला हामीलाई पहिलेको जस्तो कागजी मुक्ति होइन बास्तविक मुक्ति चाहिन्छ । यो आन्दोलन त्यसै सेलाउन दिनु हुँदैन । गन्तव्यमा पुर्याउनै पर्छ ” भन्दै जनताहरु आन्दोलित भइरहेका थिए । जनताहरु यत्ति उत्तेजित थिए कि त्यो आठदलको नियन्त्रणभन्दा बाहिर थियो । पेशागत सञ्जाल पापड तथा नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीहरुले पचास प्रतिशत जनताहरुलाई मात्र निर्देशन गर्न सकिरहेका थिए भने नेताहरु नागरिक अगुवा र ‘पापड’का पछि लागिरहेका थिए । अरु जम्मै आन्दोलन स्वतस्फूर्त रुपमा एकदम उत्तेजनाका साथ भइरहेको थियो । जनताहरु सबै कि वार कि पार भन्दै आन्दोलन लक्ष्यमै पुर्याएर विजयी जुलुशले उत्सव मनाउने उन्मादमा थिए । यसरी राजधानी केन्द्रित आन्दोलन सफल हुँदै गइरहेको थियो भने मोफसलका हुम्ला, जुम्ला , मुगु , डोल्पा आदि बिकट ठाउँमा समेत जनताहरु यसरी नै शहर केन्द्रीत आन्दोलनमा सरीक भई आन्दोलित भइरहेका थिए । हुँदा–हुँदा पूरै नेपाल आन्दोलनले डोलायमान भइसेको थियो ।

विश्वभरीका सञ्चारमाध्यमहरुले नेपालको खबर प्रमुखताका साथ प्रसारण गरिरहेका थिए । कसैले “अब ज्ञानेशाही भागिसकेको” भनेर हल्ला पनि फैलाउन थालिसकेका थिए भने “अब बक्तव्य आउनेवाला छ” भन्ने पनि हल्ला फैलिरहेको थियो । जनताहरु सबैको मुखमा “००७ साल तथा ०४६ सालको जस्तो धोखा हुनु हुँदैन , हामीलाई कागजी मुक्ति होइन वास्तविक मुक्ति चाहिन्छ , राजतन्त्र फाल्नैपर्छ ” भन्ने अडानमा नै केन्द्रीत थिए । अनि यसैका लागि जनताहरुमा ‘कोभन्दा को कम’ भएर शहीद हुनमा एक किसिमको होडबाजी नै चलिरहेको थियो । यसैबीच ज्ञानेन्द्र शाहीले टेलिभिजनबाट कालो, नीलो, अमिलो अनुहारका साथ सात राजनीतिक दललाई प्रधानमन्त्रीको सिफरिसका लागि आव्हान गरेका थिए तर संसद पुनस्र्थापना बारे त्यस्तो कुनै कुरा उल्लेख गरिएको थिएन । गिरिजा प्रसाद कोइरालाको अडान संसद पुनस्र्थापना मै थियो । त्यसैले सातदल टसमस भएनन् । जनताले आठदलका बारेमा नबोली सातदलका बारेमा मात्र बोलेको र त्यो पनि अधिकार कुण्ठिट पारी वक्तव्यवाजी आएकोले यो शाही सत्ताको “फुटाऊ र राज गर” नीति हो भन्ने बुझिसकेका थिए । त्यसैले जनताहरु झनै उत्तेजित भए । जताततै  “ज्ञाने चोर देश छोड” भन्ने नारा लाग्न थाले ।

जनताले “आन्दोलित जनताहरुको बारेमा सम्बोधन नगरेको । आन्दोलनको कुनै पनि भावना व्यक्त नभएको र जनतासँग नझुकेकोले जनताहरु सबै “०४६ साल ००७ सालको जस्तो भीख चाहिँदैन, यो हाम्रो हक हो, अधिकार हो” भन्दै अझै आन्दोलित हुँदै उत्तेजित हुँदै अघि बढिरहेका थिए । त्यसपछि त झन् चर्को दमन सुरु हुन थाल्यो । घाइतेहरुलाई पनि लुटेर गायब पार्न थाले । बजार पूरै सुनसान थियो । गाडी , मोटरसाइकल त के साइकल , ठेलागाडाहरु  शुद्धा पनि कहीँ कतै देखिँदैनथ्यो । चक्रपथ भरी ५०–६० लाख जनताहरु “शाही घोषणा धोखा हो” भन्दै उत्तेजित भइरहेका थिए । निरङ्कुश, फाशिष्ट, तानासाही सत्ताले फेरि पनि कफ्र्युको घोषणा गरिरहे ।

जनताहरुले  दिनरात, भोकतीर्खा, निन्द्रा नभनी सडकमै पहरा दिई उत्तेजित भई आक्रोशित भई नारा लगाइरहे, अघि बढिरहे । सत्ताधारीहरुले भने गोलीले जवाफ दिइरहेका थिए । मकै भुटेको आवाज जस्तो जनताहरु पटटट गोली लागेर ढलिरहेका थिए तैपनि जनताहरु कत्ति पनि विचलित नभई अघि बढिरहेका थिए । जनताहरु उपत्यका बाहिरबाट आउनेक्रम जारी नै थिए । जनताहरु झन्झन् अघि बढिरहेका थिए । घाइतेहरुलाई खोसेर शाही सेनाले बेपत्ता पारेको हुनाले जनताहरुले स्वतस्फूर्तरुपमा आफ्ना आन्दोलनकारी घाइते दाजुभाइदिदीबहिनीहरुलाई सेनाको पञ्जाबाट खोसेर उपचारका लागि अस्पतालमा पुर्याइरेहका थिए । यसरी जनताको आन्दोलनको ‘अ’ पनि सम्बोधन नगरिएको यो शाही घोषणा धोखा हो भन्दै जुलुश अघि बढिरहेका थिए । यसरी जनताको अरिङ्गालको गोलाले शाही घोषणालाई अवज्ञा गरेपछि पहिले शाही घोषणा मानिसकेका युरोपियन युनियन, चीन, भारत लगायतका शक्ति राष्ट्रहरुले ‘यो जनताको परिवर्तनगामी आवाजलाई मनन गर्नु पर्दछ ।’ भन्दै शाहीसत्तालाई र त्यसका मतियार शाही सेनालाई दबाब दिन थालिसकेका थिए ।

यसरी नेपाली कांग्रेश (प्रजातान्त्रिक तथा संस्थापन), नेकपा एमाले, नेकपा माओवादी, नेपाल मजदूर किसान पार्टी, सद्भावना पार्टी , बाम मोर्चा पार्टी आदि आठ दलले गरेको आन्दोलनमा जनताहरु एकजुट भई एक कदम अघि बढी शाही सत्ता विरुद्ध जुझारु बनी आफ्ना हकका लागि, स्वतन्त्रताका लागि लडिरहेका थिए । विदेशी शक्तिलाई भने कतै यस आन्दोलनमा माओवादीको पोल्टा भारी होला कि भन्नेमा डर थियो । त्यसैले उनीहरुले यस्तो हुन नदिन तानाबाना बुनिरहेका थिए । अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, रेडक्रस, एम्नेष्टी इन्टरनेशनल आदि संस्थाहरुले आन्दोलनमा घाइते भएकाहरुको लेखाजोखा राखिरहेका थिए । तर उनीहरुको तथ्याङ्कभन्दा कैयौं गुणा बढी आन्दोलनकारीहरुले धेरै सास्ती बेहोरिरहेका थिए र कैैयौं गुणा बढी आन्दोलनकारीहरु गायब भइरहेका थिए । यसरी शाही सेनाको दमन बढ्दै गएपछि भारत तथा युरोपियन युनियनले “शाहीसेनाले आन्दोलनलाई पनि सम्बोधन गरेर ‘नेपाली जनतासँग माफी माग्न’ अपील सहित दबाब दिएका थिए । अमेरिकी राजदूत मोरियार्टीले त जो यस आन्दोलनका विरुद्धमा शसक्त रुपमा लागेका थिए उनले पनि “यदि शाहीसत्ताले अब पनि  नेपाली जनताको भावना नबुझ्ने हो भने हेलिकप्टरको पुच्छरमा लुकेर निर्वासन हुनुपर्ने ” भनेर ज्ञानेन्द्र शाहीलाई तीखो टिप्पणी गरेर भनिसकेका थिए । त्यत्तिबेला यो कुरा बिश्वका प्रमुख सञ्चार माध्यमहरुमा प्रमुख समाचारका रुपमा प्रसारण भएको थियो । नेपालका सबैजसो एफ.एम रेडियोहरु प्नि शाही सत्ताका विरुद्ध खुलेरै लागेका थिए । त्यस्तै सबै टेलिभिजन च्यानलहरु प्नि शाही सत्ताका विरुद्ध खुलेरै लागेका थिए । देशको प्रमुख न्यायालय सर्बोच्च अदालतले पनि नागरिक पुनर्वहाली, मानवअधिकार तथा पे्रस स्वतन्त्रताका पक्षमा वकालत गरी न्यायालयभन्दा पनि माथि रहेर सर्वेसर्वा भएका ज्ञानेन्द्र शाहीलाई बेजोडसँग दबाब दिइरहेका थिए । अर्कातिर नेपालको माओवादी आन्दोलनमा सहयोग गरेका कारण भारतीय जेलमा परेका मोहन वैद्य ‘किरण’ , सि.पी. गजुरेल तथा मातृका यादबहरुले भारतकै जेलबाट बुलन्द आवाज उठाउँदै आइरहेका थिए ।

यसो हुँदाहुँदा शान्तिपूर्ण आन्दोलनको अठारौं दिन अर्थात बैशाख १० गते भइसकेको थियो । मानव सागर उर्लेको उल्र्यै थियो । जनताका छोराछोरीहरुको क्षतविक्षत भएका शरीरको फोटोहरु देशैभरी तथा विदेशभरी निक्लेका पत्रपत्रिकाहरुमा अनि सबै जसो सञ्चार माध्यमहरुमा प्रसारित भइरहेका थिए । बिबिसी, सिएनएन लगायत विश्वका सबै सञ्चार माध्यमहरुले पनि नेपालकै समाचारलाई प्रमुखताका साथ प्रसारण गरिरहेका थिए । फाशिष्ट शाहीसत्ता हुनसम्म बदनाम भइसकेको थियो । गायक, कलाकार, प्राध्यापक, इञ्जिनीयर, चिकित्सक, वकील, पत्रकार, बिद्यार्थी, शिक्षकआदि सबै ‘पापड सञ्जाल’का बुद्धिजीवीहरुले तथा मानवअधिकारकर्मी, नागरिक समाजहरुले “‘लोकतान्त्रिक गणतन्त्र’ नआएसम्म आन्दोलन नरोकिने” अडान लिइरहेका थिए । अखिल क्रान्तिकारीले “संबिधान सभाको लक्ष्यभन्दा नझुक्न बरु हामी बलीदानी गर्छौ” भनी जनता तथा दलहरुलाई माइकिङ्ग गरी आग्रह गरिरहेका थिए ।

तीनचारदिन यसरी निरन्तर दिनरात नभनी जनताहरु आन्दोलनमा स्वतस्फूर्तरुपमा निन्द्रा भङ्ग गरी जुझिरहेका थिए । सबैजनाले आन्दोलनलाई शहर केन्द्रीत गर्दै–गर्दै उपत्यका केन्द्रीत गरिसकेका थिए । जनताहरु आफूसँग भएका सामलको जोहो गरी आन्दोलनमा अघि बढिरहेका थिए । जनताहरु भोक, तीर्खा, दिन, रात केही नभनी झन्–झन् शसक्तरुपमा आन्दोलनमा आजभन्दा भोलि झन् जोश निकाली अघि बढिरहेका थिए । जनतामा एक किसिमको अलग्गै उच्च सौर्य थियो । अदम्य साहस र आँट थियो । जनताहरु एकजुट भएकाले जनताहरुको मनोबल पनि अत्यन्तै उच्च थियो । जनताहरु सबै एकै परिवार सरह आन्दोलनमा सहभागी भई अघि बढिरहेका थिए ।

बैशाख ११ गते भइसकेको थियो । शान्तिपूर्ण आन्दोलनको १९ औं दिन थियो । १९ दिनसम्म लगातार कफ्र्यु गरेको विश्वकीर्तिमान कायम भइसकेको थियो । यहाँसम्म शाहीसत्ता बदनाम हुने ठावैं थिएन । शाही सत्ताको बदनामको पराकाष्ठा नाघिसकेको थियो । ठूला–ठूला विश्वयुद्धहरुमा पनि यसरी १९ दिनसम्म कफ्र्यु भएको थिएन । नेपाली साहसी वीर जनताहरुको अदम्य आँटले यसलाई पनि सहजसँग पचाइदिए । कायर सत्ताले बिहानदेखि बेलुकीसम्म कफ्र्यु भनेर सम्बोधन गर्ने बाहेक केही गर्न सकेको थिएन । यो १९ दिनसम्म शाही सत्ताका मतियार श्रीश शमसेर तथा गृहमन्त्री कमलथापाले शाही सत्तालाई टिकाउन हुनसम्मको दमन गरेका थिए, यत्तिसम्म कि हेलिकप्टरबाट इशारा गर्दै आन्दोलनकारीलाई शाहीसेनाको गोलीको निशानी बनाएका थिए । जनताहरु भने भोक, तीर्खा, घाउ, चोट, अश्रु ग्याँस, गोली, बुट, लाठी, आदि केही नभनी आफ्ना दाजुभाइदिदीबहिनीहरुको रगत देखेर, छटपटी देखेर, पीडा देखेर भकभक तातेर राताराता भएर उम्लिरहेका थिए । जनताहरुले रगत र मासुहरुमा पनि आन्दोलनका, विद्रोहका फूलहरु फुलाई पाइलाहरु चालिरहेका थिए, रक्तिम पाइलाहरु चालिरहेका थिए, अन्याय विरुद्ध सामना गरिरहेका थिए, परिवर्तनका आवाजहरु फुकिरहेका थिए । यस रक्तरञ्जित आन्दोलनमा अनि त पूरै जनताहरुले ‘कफ्र्यु निषेधाज्ञा’को अवज्ञा गरिसकेका थिए । जनताहरुले सबै किसिमका बाधाहरु पचाइसकेका थिए । जताततै जनताहरुले आन्दोलन पढिरहेका थिए, आन्दोलन सिकिरहेका थिए, आन्दोलन गाइरहेका थिए । यस रक्तक्रान्तिको आन्दोलनमा जनताहरुमा एउटा निकै अदम्य साहसको उच्च मनोबल थियो ।

करीब ३०–३५ लाख जनताहरुको अति ठूलो विशाल जत्थाले राजदरबार धुलोपीठो पार्ने भनी निक्कै उत्तेजित भई मानवसागर भएर गोलबद्ध भई बढिरहेका थिए तर ज्ञानेन्द्रशाही भने राजदरबारमा नबसी नारायण गोपाल चोक र लाजिम्पाटको बीचको निर्मल निवासमा लुकेर बसेका थिए । त्यहाँ उनले ट्याङ्कर जस्तो खालको ‘फेरेट कार’ बैशाख ८ गतेदेखि नै आफ्नो सुरक्षाका लागि तैनाथ गरेका थिए । यस्तो ‘फेरेट कार’ राखेकाले गर्दा आफ्ना जनमिलिसियाहरुले सैन्य कारवाहीका लागि ठूलो दबाब दिएता पनि तैपनि नेकपा माओवादीहरु शान्तिपूर्ण आन्दोलनमा नै रहे किनकी उनीहरुले सातदलसँग मिलेर शान्तिपूर्ण आन्दोलन गर्ने सम्झौता गरिसकेका थिए । अर्कोतिर जनताहरुले नेपालभरिका सबै आन्दोलित ठाउँ–ठाउँमा नमूना जनमत सङ्ग्रह गरी राजतन्त्र हारेको र गणतन्त्रले जितेको भनेर नतिजा निकालेर रमाइरहेका थिए, उफ्री–उफ्री, हाँसी–हाँसी नाचेर रमाइरहेका थिए ।

आन्दोलनकारी घाइतेहरुलाई अत्याचार गरेर पराकाष्ठा नाघेको विदेशका सबै ठाउँमा फैलिसकेको थियो । किनकी त्यत्तिबेला सबैजसो विदेशी पत्रकारहरु नेपालका आन्दोलनको खबर सङ्कलन गर्न राजधानी आइसकेका थिए । विदेशी पत्रकारहरुले स्याटेलाइटमा प्रत्यक्ष प्रशारण गरिरहेका थिए । अनि सबैजसो विदेशी पत्रकारहरुले पनि आन्दोलनको जस्ताको तस्तै आँखाले हेर्दै रिपोर्टिङ्ग गर्दै सप्रमाण प्रसारण गरिरहेका थिए । यसरी शाही सत्ता हुनसम्म बदनाम भइसकको थियो ।  यसैको फलस्वरुप रेडक्रस, अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुबाट सहयोग प्राप्त भइसकेका थिए । घाइतेहरुलाई सबैजना मिलेर जोडतोडका साथ उद्धारकार्य गरिरहेका थिए । घाइतेहरुले भने आफ्नो आँखा भ्वाङ परे पनि , छाति चर्केर चिरा परे पनि, खुट्टा छियाछिया भई गुमे पनि अझै उत्तेजित भई “देश र जनताका परिवर्तनका खातिर आफूहरु अझै उत्सर्ग तथा बलिदानी दिन तयार भएको” कुरा निकै उत्तेजित भई, आक्रोशित भई बताइरहेका थिए । उनीहरुले आफ्नो ज्यानको परवाह नगरी झन्झन् आक्रोश पोखिरहेका थिए र ती सच्चा नेपाल आमाका सन्तानहरुले भनिरहेका थिए “अबको अन्तिम लक्ष राजतन्त्रको अन्त्य है !” ।

त्यसपछि भने सरकारी सञ्चारमाध्यमहरुले आन्दोलनकारी विद्रोही जनताहरुलाई आतङ्ककारी भन्ने दुस्साहस गर्न सकेका थिएनन् । अनि शाही सेनाको दमन पनि मत्थर हुँदै गएका थिए । उनीहरु जनताका अगाडि पूरै झुकिसकेका थिए । जनताहरु झन्–झन् गर्बिलो भइरहेका थिए । सिङ्गो नेपालभरी “गणतन्त्र जिन्दाबाद !” “शहीदका सपना पूरा गरी छाड्नेछौ ।” भन्ने नाराहरु घन्किरहेका थिए । नेपालभरिका सबैजसो स्थानमा जनताहरुले ‘शाहीसेना मुक्तक्षेत्र’ तथा ‘गणतन्त्र इलाका’ घोषणा गरिसकेका थिए । यस्तरी पराजित भए पनि जुलुश नभएको कुनाकाप्चामा गएर आतङ्ककारी सफाया गरेको भन्दै घरघरमा घुसी छापामार्ने अनि निर्मम यातना दिने आफ्नो कुस्वभाव देखाइरहेका थिए, बर्बर काम गरिरहेका थिए । रेडक्रशलाई पनि बाधा पुर्याउने, आफूहरु बदनाम भएकोले विदेशी सञ्चार माध्यमलाई पनि पटक्कै नसही समाचार सङ्कलनमा बाधा पुर्याई शाही सत्ता बहुलाइरहेका थिए । कत्ति विदेशी सञ्चार साधनहरु तोडफोड गरे त्यसको लेखाजोखै थिएन । कति विश्वस्तरका पत्रकारहरुलाई पिट्ने, चुट्ने काम गरे । हुँदाहुँदा प्रेस एम्बुलेन्स र रेडक्रसलाई शुद्धा पास दिन छोडे बरु उल्टै गोली, बुट लाठीले जवाब दिइरहेका थिए ।

एक्कासी बेलुकी १० बजे ज्ञानेन्द्र शाहीले शाही घोषणा गर्ने हल्ला फैलियो । आफ्नै सहोदर बंश नाशपारी सत्ता हत्याउने, मुलुकको ढुकुटी सबै नृशंस दमनमा खर्चिने जस्ता कुकार्यहरुले गर्दा शाहीसत्ताबाट जनताहरु सबै एकदमै शसंकित थिए, भयभित थिए । काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, ललितपुर, भक्तपुरबाट काठमाडौंमा जनताहरु मानवमहासागर भई ओर्लिइसकका थिए । नेपालको आन्दोलनले विश्व सारा डोलायमान भइसकेको थियोे । ऊ बेला ०४६–०४७को आन्दोलन दमन गरेर पोख्तता कमाइसकेका तथा यस आन्दोलनमा दमनकारी नीति अपनाउने गृहमन्त्री कमल थापाको साथ भए पनि प्रधान सेनापति प्यारजङ्ग थापा पनि ज्ञानेन्द्र शाहीसँग सती जान चाहेनन् र सैनिक हस्तक्षेप गर्न साथ छोडे । अनि रक्षात्मक मात्र भएर बसे । भारतका राजदूत शिवशङ्कर मुखर्जी तथा ज्ञानेन्द्र शाहीको ३–४ पटकको  रातारात छलफल पछि सातदलसँग छलफल गरेर यो यो कुराहरुको बक्तव्य निकाल्ने  भनेर निक्र्याैल गरियोे । अनि फेरि रातारात राजदरबारका सचिव पशुपति भक्त महर्जनले वक्तव्यमा सातदलकै सम्पादन बमोजिम गर्न आन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइराला कहाँ पटक–पटक आएर सच्याएपछि अनि मात्रै रातको ११ बजे उही कालो, नीलो, अमिलो अनुहारका साथ ज्ञानेन्द्र शाहीले ०५९ जेठ ८मा निलम्बित भएको प्रतिनिधि सभा संसद नेपाल अधिराज्यको संबिधान २०४७ बमोजिम पुनस्र्थापना भएको घोषणा गरे र संसदको बैठक बैशाख १५ गते हुने घोषणा गरे । जनताको अधिकार जनतामै निहित भएको स्वीकारेर सारा नेपाली जनता सामु अहङ्कारी ज्ञानेन्द्र शाहीले यसरी शाही घोषणा मार्फत घुँडा टेक्न वाध्य भए ।

जनताहरु भोक, तीर्खा, निन्द्रा नभनी दिनरात खटेर बैशाख १२ गते ४०–५० लाखको अति ठूलो विशाल जत्थाले राजदरबारको नामोनिशान मेटाई धुलोपीठो पार्ने भनेर योजना बनाएर अन्तिम लक्ष्य भन्दै जनताहरु जनमहासागर भई अघि बढिरहेका थिए । जनमहासागर राजदरबारको करीब १४० मीटरसम्म पुगिसकेका थिए । यसैबीच प्रतिनिधिसभा संसद पुनस्र्थापनाको घोषणाले सातदलले “अर्को आन्दोलनको कार्यक्रम घोषणा गरेपछि मात्र आन्दोलन गरिने र यही जुलुश लोकतन्त्रको विजयी जुलुशको रुपमा निक्लने” भनी बताए भने नेकपा माओवादीका तर्फबाट  तुरुन्तै त्यस्तो कुनैपनि वक्तव्यवाजी आएन । फेरि जनताहरु नेकपा माओवादी र सातदलमा विभाजित भए । आन्दोलन अलि मत्थर हुँदै गयो ।

दलहरु बीच आन्तरिक, बाह्य, स्वदेशी, विदेशी, उच्च नेताहरुसँग रातारात वार्ता भेटघाट चलिरहेका थिए । उनीहरुको बैठकले जनताहरुको ४०–५० लाखको महासागरले कतै “लोकतन्त्र जिन्दावाद !” भन्दै नारा लगाउँदै थिए भने कतै “गणतन्त्र नेपाल जिन्दावाद !” भन्दै थिए । तर धेरैजसो बुद्धिजीवीहरुले यस आन्दोलनलाई “फेरि पनि एकजुट भएनौं भने नेताहरुले जनताहरुलाई धोका दिनेछन् भन्दै ‘लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद !’” भन्दै एकत्रित भई खबरदारी जुलुश निकालिरहे । आन्दोलन मत्थर हुँदै गए । यद्यपी दलहरुले यस जुलुशलाई विजयी जुलुश मनाउने भनी निर्देशन दिएका थिए तथापि जनताहरुले “फेरि पनि षडयन्त्रको गन्ध आउँदैछ है , लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद ! लोकतन्त्र जिन्दावाद ! गणतन्त्र जिन्दावाद !” भन्दै नारा लगाइरहेका थिए । नेकपा माओवादीले भने केही छलफलपछि बैशाख १२ गते आन्दोलन जारी राख्ने र आलोचनात्मक समर्थन गर्ने बताए । अनि केही छिनमा  चैत्रको तेस्रो सातादेखि गरेको अनिश्चितकालीन बन्द फिर्ता लिएको जानकारी दिए भने केही छिनपछि सँयुक्त जनआन्दोलन परिषदद्वारा बाबुराम भट्टराईद्वारा हस्ताक्षरित पर्चा तथा नेकपा माओवादीको पत्रद्वारा एकतर्फी तीनमहिने युद्ध विरामको घोषणा गरे ।

त्यसपछि बैशाख १३ गतेदेखि जनताहरु फेरि आ–आफ्ना दैनिक क्रियाकलाप गर्न फर्किए । एउटा लक्ष्यमा पुग्न लागेको, एउटा ठूलो परिवर्तन केही छोटो समयमै टुङ्गो लाग्ने कुरो लोकतान्त्रिक प्रकृयाद्वारा अलि समय लगाएरै भए पनि शान्तिपूर्ण रुपमा गर्ने तय गरियो ।

यसरी २०६२ चैत्र २४ गतेदेखि २०६३ बैशाख ११ गतेसम्म भएको यो १९ दिने जनआन्दोलन जनताको रक्त–रञ्जित इतिहासको शिलालेखमा शहीदको रगतले कहिल्यै नमेटिने डोब बनी ‘दोस्रो जनआन्दोलन’ तथा ‘१९ दिने जनआन्दोलन’ भनी ऐतिहासिकरुपमा लेखिए ।

अझै पनि जनताले गरेको उक्त मागको पूरा लक्ष्य भेट्टाउन सकेको छैन ।

१९ दिने दोस्रो जनआन्दोलन जिन्दावाद ! बीर शहीद अमर रहुन् । शहीदको सपना पूरा होस् ।


२०७१—०४—११
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com


नोट :– भूलचूक हुन गएको भए क्षमाप्रार्थी छु । यस   १९ दिने सत्य आन्दोलनका कथाका बारे आफ्नो मनमा लागेका कुराहरु छन् भने टिका–टिप्पणी गरिदिनुहुन विशेष–विशेष अनुरोध गर्दछु किनकी यहाँहरुकै सल्लाह सुझावबाटै यस कथाकार अघि बढ्ने हो ।





Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा