कथा ः— दासताभन्दा धेरै पर

 कथा ः— दासताभन्दा धेरै पर

एक साँझको कुरा हो एउटा गाउँमा पुराना नेताले सभा आयोजना गरेका थिए । सभामा ठूला–ठूला कुरा गर्दै गाउँलेलाई आफ्नो पक्षमा बोल्न र साथ दिन अनुरोध गरिरहेका थिए । मञ्चका चारै कुनामा कार्यकर्ताहरु नेताको गुणगान गाउन व्यस्त थिए । ती कार्यकर्ताले गाउँलेलाई “हाम्रो नेता महान छन्” भन्दै आफ्ना कुरा जबर्जस्ती सुनाउँदै थिए ।

यो सबै हेर्दै एक युवक, रमेश, मञ्चभन्दा पर उभिएर हेरिरहेका थिए । रमेश शिक्षित थिए र परिवर्तनको पक्षमा लाग्न चाहन्थे तर उनी कार्यकर्ताको अन्धभक्तिले आक्रान्त थिए । रमेशले एक वृद्धलाई सोधे, “बाबा, यी नेताले तपाईका लागि के गरेका छन् ?” वृद्धले मुस्कुराउँदै जवाफ दिए, “छोरा, नेताको पछि लाग्नु हाम्रो बानी भइसक्यो । जे गर्छन्, ठीकै गर्छन् । हामी त समर्थन गर्ने हो ।”

रमेशले हाँस्दै भने, “तर बाबा, नेताले तपाईलाई कसरी उपयोग गरिरहेका छन्, कहिल्यै सोच्नुभएको छ ?” वृद्धले अनुत्तरित झैं गर्दै आँखा झुकाए ।

थोरै पर अर्को कार्यकर्ता, सुरेश, रमेशको कुरा सुन्दै थियो । ऊ रमेशतिर लुरुलुरु आएर भन्यो, “के भनिराखेको ? हाम्रो नेताको आलोचना गर्दैछस् ?” रमेश शान्त स्वरमा बोल्यो, “सुरेश दाइ, मलाई एउटा कथा सुनाउन देऊ अनि आफैं विचार गर ।”

सुरेश झस्कियो तर रमेशको अनुहार हेरेर भन्यो, “हस्, भन त ।”

रमेशले कथा सुरु गरे...

“एक पटक हिटलरले संसदमा एउटा जिउँदो भाले लिएर आएछन् । भालेलाई थिचेर हरेक प्वाँख उखेल्न थालेछन् । भाले पीडाले चिच्याइरहेको थियो तर हिटलर रोकिएनन् ।” रमेशले हावामा हात नचाउँदै भने, “प्वाँख उखेलिसकेपछि, उनले त्यो भालेलाई मकैका केही दाना दिएछन् । भालेले ती दाना खायो र चुपचाप बस्यो । हिटलर जता जान्थे, भाले पनि दानाको आशामा उनको पछि लाग्न थाल्यो ।”

सुरेशले आँखा ठूलो बनाएर भन्यो, “त्यो भाले कस्तो मूर्ख रहेछ !” रमेशले गम्भीर हुँदै उत्तर दियो, “तर सुरेश दाइ, के हामी पनि त्यस्तै मूर्ख भालेजस्तै बनेका त छैनौँ ?”

सुरेश चुपचाप रह्यो । रमेशले थप्दै भन्यो, “हाम्रो नेता हामीलाई नाङ्गो पार्छन्, श्रम र पसिना लुट्छन्, अनि सस्तो आश्वासनको चारो देखाएर हामीलाई पछि लगाउँछन् । अहिलेसम्म यस्तै भइरहेको छ । यसरी हामी जनता देशका लागि होइन, नेताका दास बन्दै गएका छौं ।”

सुरेशको अनुहारमा अपराधबोध देखिन थाल्यो । उसले भन्यो, “तर रमेश, हामीले के गर्ने त ?”

रमेशले दह्रो स्वरमा भन्यो, “हामीले नेता होइन, देश र जनताको सेवा गर्नुपर्ने हो । परिवर्तन ल्याउन, पहिले आफ्नो सोच बदल्नुपर्छ । गुण र दोषका आधारमा निर्णय गर्ने साहस गर्नुपर्छ । अनि मात्र देश सच्चिनेछ । जनताले सुखको सास फेर्न पाउनेछन् ।”

त्यस दिनदेखि सुरेशको जीवनमा ठूलो परिवर्तन आयो ।

सुरेशले आफ्नो पुरानो जीवनशैलीलाई पूर्णतः परिवर्तन गर्ने निर्णय ग¥यो । भोलिपल्टै उसले गाउँका केहि मानिसहरुलाई भेटेर रमेशले सुनाएको कथा सुनायो । एका बिहानै सुरेश र रमेशले छलफल गरे ।

“रमेश भाइ,” सुरेशले गम्भीर स्वरमा भन्यो, “म कुनै दिन यो नेता–पछुवा समूहको हिस्सा थिएँ । मैले आँखा खोलेर हेरिनँ तर अब मलाई थाहा भयो, मेरो शक्ति कहाँ प्रयोग भइरहेको रहेछ भनेर । अब म केही नयाँ गर्न चाहन्छु तर, कहाँबाट सुरु गर्ने ?”

रमेश मुस्कुराउँदै भन्यो, “पहिलो कदम आत्मनिर्भर बन्नु हो । गाउँमा शिक्षा र चेतना फैलाउन काम गर । नेताले दिने आश्वासनले होइन, आफ्नै श्रमले भविष्य बदल्न सकिन्छ भन्ने विश्वास दिलाउनुपर्छ ।”

सुरेशले सोचेको भन्दा सजिलो लागेन । ऊ पहिला गाउँका युवाहरूसँग मिलेर एउटा सानो पाठशाला चलाउन थाल्यो । गाउँलेहरु सुरुमा शङ्कालु थिए । “यो कामले के बदलिन्छ ?” धेरैले सोध्थे ।

तर, पाठशालामा राम्ररी सिकाइ हुन थालेपछि गाउँलेले बुझ्न थाले कि शिक्षाले मात्र उनीहरूलाई सशक्त बनाउँछ । केही महिनामै सुरेशले कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्ने पहल पनि सुरु ग¥यो । गाउँलेहरु नेता–मुखी मानसिकताबाट बिस्तारै छुटकारा पाउँदै थिए ।

एक दिन सुरेशले रमेशलाई भने, “भाइ, तिमीले दिएको चेतनाले मेरो जीवन मात्र होइन, हाम्रो गाउँ पनि बदलिएको छ । अब म चाहन्छु कि अरू गाउँले पनि यसरी नै जागरुक बनून् ।”

रमेशले उसको पिठ्युँ थप्थपाउँदै भन्यो, “सुरेश दाइ, यही नै परिवर्तनको सुरुवात हो । हरेक व्यक्तिले आफ्नो जिम्मेवारी बुझे भने हाम्रो देश परिवर्तन हुन धेरै समय लाग्दैन ।”

सुरेशले अन्धभक्ति त्यागेपछि समाजमा सुधार ल्याउन थुप्रै कदम चाल्यो । पहिलो काम, उसले गाउँको सार्वजनिक पाटीमा हरेक हप्ता बैठक आयोजना गर्न थाल्यो । बैठकमा शिक्षा, स्वास्थ्य, र स्थानीय विकासका मुद्दामा छलफल गरिन्थ्यो ।

“हाम्रो गाउँको किसानले अझै परम्परागत विधि अपनाइरहेका छन् । हामीले उनीहरुलाई नयाँ प्रविधि सिकाउनुपर्छ,” सुरेशले एक बैठकमा प्रस्ताव राख्यो । रमेशको सहयोगमा उसले कृषि कार्यालयसँग समन्वय ग¥यो र गाउँमा तालिमको व्यवस्था ग¥यो ।

तालिमपछि, गाउँका किसानहरूले आधुनिक खेतीबाली प्रविधि अपनाए । पहिलेभन्दा उत्पादन येथेष्ट हुन थाल्यो । उनीहरूको आर्थिक अवस्था सुध्रिँदै गयो । सुरेशले युवालाई स्वरोजगारमुखी तालिममा जोड दिए ।

“दाइ, म टेलरिङ सिक्न चाहन्छु । गाउँमा आफ्नै सानो व्यवसाय खोल्न मन छ,” एक युवकले सुरेशलाई भन्यो । सुरेशले तत्काल स्थानीय स्तरमा सीप तालिमको कार्यक्रम सुरु ग¥यो ।

यति मात्र होइन, सुरेशले नेताको अनियमितता उजागर गर्दै गाउँको विकास बजेटको पारदर्शिता सुनिश्चित गर्न जनसरोकार समूह गठन ग¥यो ।

“अब हाम्रो गाउँमा बजेट हिनामिना हुने छैन । हामी आफैं योजनामा संलग्न हुनेछौं,” सुरेशले उद्घोष गरे । “लेखा समिति पनि गाउँकै अनि इमानदार त्यो पनि सर्वसम्मत व्यक्ति राख्नेछौँ ।” यसरी गाउँमा कुनै पनि आर्थिक तथा जिन्सि किसिमको भ्रष्टाचार अनियमितता हुन छोड्यो ।

यस्ता थुप्रै प्रयासले गाउँको अवस्था परिवर्तन ग¥यो । सुरेश अब गाउँमा मात्र होइन, वरपरका क्षेत्रका लागि पनि प्रेरणाको स्रोत बन्यो ।

सुरेशले अन्य दास, पिछलग्गु कार्यकर्ताहरूसँग एक गहिरो संवाद गर्दै, उनीहरूको सोच र चेतना जागरूक गरिरहेको धेरै भइसकेको थियो । एक दिन, एक स्थानमा सबै दास कार्यकर्ताहरूको समूह जम्मा भएर, उनीहरूलाई देश र जनताको पक्षमा उभिनको महत्त्व बताउन सुरेले कार्यक्रम गर्यो ।

“तिमीहरूलाई थाहा छ ?” सुरेशले उनीहरूको आँखामा हेर्दै भन्यो, “हाम्रो कर्म मात्र हाम्रो जीवन होइन, यो देशको भविष्यको लागि हो । हामी सबैलाई हाम्रो अधिकार र स्वतन्त्रता पाउनको लागि एकजुट हुनु पर्नेछ ।”

“तर हामी के गर्न सक्छौं ?” एक दास कार्यकर्ता गम्भीर मुद्रामा भन्यो, “हामी त केवल आदेश पालना गर्ने मात्र छौं ।”

सुरेश मुस्कुरायो र उत्तर दियो, “हामी केवल आदेश पालक मात्र छैनौं । हामी आफैँका विचार र भावना भएका मान्छे हौं । आज हामीले यी विचारहरूलाई अन्यत्र फैलाउन सक्छौं । हाम्रो संघर्ष केवल स्वतन्त्रता मात्र होइन, सत्य र न्यायको लागि पनि हो ।”

त्यसपछि, उनले सबैलाई एकजुट हुन र एक अर्कामा विश्वास राख्न प्रोत्साहित गर्न थाल्यो । “सपना देख्नु पर्छ । यो देश हाम्रो लागि बनाइएको हो, र हामी त्यसको भविष्यको निर्माता हौं । एकजुट भएर, हामी नेतृत्त्व परिवर्तन गर्न सक्छौं ।”

समूहका सदस्यहरूको अनुहारमा सन्देशको गहिरो असर देखिन थाल्यो । एकजुटता र संघर्षको नयाँ उमंग उनका दिलमा जागिरहेको थियो । उनीहरू सुरेशको नेतृत्त्वमा एक नयाँ यात्रामा निस्कने तयारीमा थिए, जहाँ उनीहरूले देश र जनताको हितमा काम गर्न थालेका थिए ।

सुरेशको संदेश केवल शब्द मात्र होइन, एक आन्दोलन बन्न थाल्यो जसले भविष्यलाई परिवर्तन गर्ने क्षमता राखेको थियो ।

सुरेशले जब दास कार्यकर्ताहरूसँग संवाद गर्दा, उनीहरूले अनुभव गरेको दासत्त्व र देशको स्थिति वास्तविकतामा भयावह थियो । त्यो समय देशको समाज र अर्थतन्त्र दुबै खराब स्थितिमा थिए । दास कार्यकर्ताहरू, जसको श्रमलाई शोषण गरेर देशको माथिल्लो वर्गले समृद्धि हासिल गरेका थिए, उनीहरूले साँचो स्वतन्त्रता र अधिकारका बारेमा सोच्न पनि सकेका थिएनन् । हर दिनको कठोर परिश्रम र दुःखदायी जीवनले उनीहरूलाई आफ्नो मूल अस्तित्त्वबाट विमुख बनाएको थियो । राष्ट्रको समग्र स्थिति भनेको अराजकता, असमानता र अपहेलना थियो, जहाँ साधारण नागरिकको आवाज सुनिने कुनै स्थान थिएन ।

दास कार्यकर्ताहरूको दिमागमा कुनै आशा र लक्ष्य थिएन । उनीहरू सधैं चिन्तित र डराएका थिए—वर्तमानको बोझले भविष्यको कुनै चारा छैन भन्ने विश्वासमा । त्यस्तो अवस्थामा, सुरेशको आगमन र उसको प्रबोधनले उनीहरूको मनोवृत्तिमा अभूतपूर्व परिवर्तन ल्यायो । सुरेशले यसरी उनीहरूको मानसिकता परिवर्तन गर्यो कि, उनीहरूले अब आफ्नो स्थिति बदल्न सक्ने सामथ्र्य पहिचान गरे । जब उनले भन्न थाले, “तपाईहरूले आफ्नो जीवनलाई आफू अनुकूल बनाउन सक्ने शक्ति राख्नुहुनेछ ।“ यसले उनीहरूको सोचमा पहिलो पटक चाँदीको किरण देखायो ।

देशको अवस्था पनि यस्तै दास मानसिकतासँग लिप्त थियो । कृषि, उद्योग, र व्यापार क्षेत्रमा शोषण र भ्रष्टाचारको जाल फैलिएको थियो । अधिकांश जनता भोक र अभावमा अड्किएका थिए । प्रशासनिक तन्त्र भ्रष्ट थियो, र शासन गर्ने वर्गले केवल आफ्ना स्वार्थ र लाभका लागि काम गरिरहेका थिए । नागरिकका अधिकारको उल्लंघन सधैं चलिरहेको थियो र जनताको विश्वास सरकारप्रति शून्य थियो ।

तर जब दास कार्यकर्ताहरूले सुरेशको प्रेरणाले चेतना प्राप्त गरे र मनोवृत्तिमा परिवर्तन ल्याए, तब देशको स्थिति नै बदलिन थाल्यो । सुरेशले आफ्नो आन्दोलनका माध्यमबाट जनतालाई जागरुक बनायो कि असली शक्ति जनतामा रहेको छ, र यदि उनीहरू एकजुट भए भने, कुनै शक्ति तिनीहरूलाई हराउन सक्दैन । उनीहरूले महसुस गरे कि उनीहरूको श्रम र संघर्षको मूल्य छ, र तिनीहरूले अधिकारको लागि संघर्ष गर्नुपर्छ ।

यो परिवर्तन देशको आर्थिक, सामाजिक र राजनीतिक संरचनामा स्पष्ट देखिन थाल्यो । दास कार्यकर्ताहरूका आवाज अब दबाउन नसकिने गरी मुखरित भए । उनीहरूले अनगिन्ती सत्य र न्यायका लागि आवाज उठाए, र असमानताको विरुद्ध कडा कदम चाले । सरकारले दबाव र हिंसात्मक विधिहरू प्रयोग गरेको भए तापनि, जनताको एकता र बलले उसलाई झुकाउन सफल भयो । शोषणको बिरुद्धमा जनचेतना फैलियो र नयाँ नेतृत्त्वको आगमनले पुरानो व्यवस्था तुहिसकेको थियो ।

देशको आर्थिक स्थिति पनि सुध्रिसकेको थियो । उद्योग र कृषि क्षेत्रमा सुधार कार्यहरू लागू गरिएका थिए । भ्रष्टाचारलाई समाप्त गर्न ठोस कदम चालियो, र शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याइयो । जब जनतालाई आफ्नो हक र अधिकार प्राप्त भयो, उनीहरूको जीवनस्तरमा देखिने परिवर्तनले सम्पूर्ण देशलाई उन्नति र समृद्धिको नयाँ मार्गमा पुर्यायो ।

महात्मा गांधीको नेतृत्वमा भारतको स्वतन्त्रता संग्राम र दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाको संघर्षले पनि जनताको मानसिकता र सोचमा परिवर्तन ल्यायो । उनीहरूको संघर्षले राष्ट्रको भविष्य बदल्न महत्वपूर्ण भूमिका खेलेको थियो । यस्तै परिवर्तन सुरेशको नेतृत्वमा भएको थियो । यसले एक गहिरो असर पुर्यायो, र देशको अवस्था बदल्ने गरी जनताको एकजुटता र संघर्षको महत्व बुझ्नमा मद्दत पुर्यायो ।

सुरेशको संघर्ष र प्रेरणा पूर्ण रूपमा दास कार्यकर्ताहरूको जीवन र देशको भविष्यलाई बदल्नमा सफल भएको थियो । जब जनतालाई चेतना प्राप्त हुन्छ र उनीहरू आफ्नो अधिकारका लागि उभिन्छन्, तब कुनै पनि शक्ति तिनीहरूलाई पराजित गर्न सक्दैन । यही परिवर्तनले एउटा नयाँ युगको शुरुवात गर्यो, जहाँ समानता, स्वतन्त्रता र न्यायले समाजलाई एक नयाँ दिशा दिन थाल्यो ।

मूलतः सम्पुर्ण जनता नेतामुखी नभई देश र जनताका निम्ति खट्न थाले । समृद्धिको थालनी भयो ।

निष्कर्ष

यो कथा हामी सबैका लागि पाठ हो । यदि हामी नेताको अन्धभक्तिका दास बनिरह्यौं भने, देशको विकास असम्भव छ । दास कार्यकर्ता नेता होइन, देश र स्वदेशी जनताको पछिपछि लाग्नुपर्छ। जबसम्म यो सोच नबदलिन्छ, तबसम्म सच्चा प्रगति हुन सक्दैन ।


२०८१ माघ १०

बिजु सुवेदी विजय





Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा