कथा ः— मुस्कानको आभा

 कथा ः— मुस्कानको आभा


धौलागिरि काखमा रहेको सानो गाउँ ‘शान्तिपुर’ । यही गाउँको एक सामान्य किसान परिवारमा जन्मेका सौरभले बाल्यकालदेखि नै ठूलो सपना देख्थे । उनका आँखा सधैं टाढा क्षितिजतिर लाग्थे ।

“बुबा, म ठूलो भएपछि हाम्रो गाउँमा राम्रो बाटो बनाउँछु । स्कुल बनाउँछु । कसैलाई दुःख हुनेछैन,” बालक सौरभले कुद्दै भनेका थिए ।

उनका बुबा मुस्कुराउँदै भन्थे, “हाम्रो सौरभले त गाउँको नाम चम्काउने भयो ।”

गाउँका मानिसहरू सौरभलाई गर्वका साथ हेर्थे । उनले आफ्नो मेहनत र लगनशीलताले पढाइमा मात्र होइन, समाजसेवामा पनि नाम कमाए ।

समय बित्यो । सौरभ राजनीतिमा होमिए । उनी नेतृत्त्वमा आए । गाउँभरि खुसीको लहर दौडियो ।

“अब हाम्रो सौरभले हाम्रा सबै समस्या समाधान गर्छ । उहाँ त हाम्रो आशा हो,” गाउँका वृद्ध मानन्धरले भने ।

चुनाव जितेर सत्तामा पुगेपछि सौरभको पहिरोझैं व्यस्तता सुरु भयो । ठूलो शहर, सभाहरू, पत्रकारहरू, ठूला भनिएका व्यक्तिहरूबीच सौरभ हराए ।

दश वर्षपछि सौरभ गाउँ फर्किए तर गाउँ अब पहिलेको जस्तो थिएन । बाटाहरू उस्तै खाल्टाखुल्टी थिए, स्कुलको भवन झर्दै थियो, र मान्छेहरूको अनुहारमा गुनासो मात्र थियो ।

“सौरभजी, तपाईंले त वाचा गर्नुभएको थियो हाम्रो गाउँलाई स्वर्ग बनाउनुहुन्छ भनेर । आज हाम्रो हालत झन् खराब छ,” एउटी वृद्ध महिलाले आँसु झार्दै भनिन् ।

“मलाई थाहा छ, दिदी । कामको चापले...,” सौरभले नतमस्तक हुँदै उत्तर दिए ।

तर उनका शब्दहरूले गाउँलेहरूको पीडा मेटाउन सकेनन् ।

त्यही रात सौरभ पुरानो चौतारीमा बसे । बाल्यकालमा भनेका आफ्ना ती वाचाहरू सम्झेर उनले आँसु पिए ।

“म साँच्चै ठूलो मान्छे भएँ, तर आफ्नो आत्मालाई हराएँ । मैले जुन सिँढी चढेर माथि पुगेँ, त्यो सिँढीमै धूलो छोडिदिएँ,” उनी आफैंसँग गुनासो गर्न लागे ।

भोलिपल्ट बिहान गाउँलेहरूलाई ठूलो अचम्म भयो । सौरभले आफ्ना सबै सम्पत्ति गाउँको विकासका लागि लगाउने घोषणा गरे ।

“अबदेखि म यो गाउँको सेवकमात्र हुँ । म तपाईंहरूका सपना पूरा नगरी जान्नँ,” सौरभले दृढ स्वरमा भने ।

त्यही दिनबाट सौरभले गाउँका लागि दिनरात एक गरे । स्कुल बन्यो, बाटाहरू सुधारिए र, सबैभन्दा ठूलो कुरा—गाउँका मानिसहरूले फेरि सपना देख्न सिके ।

जब गाउँ फेरि आफ्नो पुरानो गौरवमा फर्कियो, सौरभले आफ्नो मनमा भने,

“ठूलो बन्ने यात्रामा आफैंलाई हराउनु भनेको समाजलाई हराउनु हो । मलाई यो थाहा पाउन धेरै समय लाग्यो तर अब म मेरो सपना फेरि पूरा गर्नेछु, सँगै सबैका सपनाहरू पनि ।”

गाउँभरि खुसी फैलियो । सौरभ अब केवल नेता थिएनन्, उनी गाउँकै प्रेरणा बनिसकेका थिए ।

सौरभ अब देशकै प्रधानमन्त्री थिए । बाल्यकालका सपना, गाउँलेहरूका आँशु, र आफ्नै गरिबी सम्झेर गरेको वाचा अब तुहिइसकेको थियो । उसको जीवन विलासी महल, महँगो गाडी, विदेशी भ्रमण, र ठूल्ठूला सभाहरूको चमकदमकमा हराइसकेको थियो ।

“प्रधानमन्त्रीज्यू, तपाईंको भाषण उत्कृष्ट थियो । योजना उद्घाटनले देशलाई धेरै फाइदा पु¥याउनेछ,” एउटा सचिवले चाकरी गर्दै भन्यो ।

सौरभ मुस्कुराउँदै बोेले, “धेरै कुरा भन्नुपर्दैन । जनतालाई सपना देखाउनुपर्छ । उनीहरूलाई आश्वासन नै काफी छ । बजेट हामीलाई थाहा छ कसरी व्यवस्थापन गर्ने ।”

कसैले देखेन, तर सौरभको आँखा गम्भीर थिए । उसको मनभित्र केही कुरा चलिरहेको थियो ।

एकदिन सौरभले आफ्नो पुरानो गाउँ जाने निर्णय गरे ।

“प्रधानमन्त्रीज्यू, यस्तो सानो ठाउँमा जाने समय छ र तपाईंलाई ?” निजी सचिवले सोध्यो ।

“गाउँका मानिसहरूलाई देखाउनैपर्छ कि म उनीहरूको सपना बिर्सिएको छैन,” सौरभले हाँस्दैै उत्तर दिए ।

गाउँलेहरूले थाहा पाए कि सौरभ आउँदैछन् । चौतर्फी सरसफाइ गरियो । केही अस्थायी संरचनाहरू बनाउन लगाइयो । सौरभ गाउँ पुगे ।

“हाम्रो सौरभले त देशको कुना–कुनामा विकासको ज्योति जलाइरहेका छन् । गाउँमा उहाँ आउनुभएकोमा धन्य छौं,” गाउँका एक व्यक्तिले भने ।

सौरभ मुस्कुराउँदै हात हल्लाउँदै बोेले, “यो मेरो जन्मभूमि हो । म यहाँको ऋण कहिल्यै भुल्दिनँ ।”

तर गाउँको एउटा कुनामा, एक वृद्ध किसान चुपचाप हेरिरहेका थिए । उनी सौरभको बाल्यकालका साथी धर्म थिए ।

धर्म, जो अब बुढेसकालमा आफ्ना गोडा धानेर मुस्किलले बाँचिरहेका थिए, सौरभसँग खुलेआम बोले ।

“सौरभ, तिमीले वाचा गर्यौ कि गाउँलाई स्वर्ग बनाउँछु तर अहिले पनि हामी गरिबी, अभाव र भोकसँग लड्दैछौं । तिमीले किन बिर्सियौ ती सबै प्रतिज्ञा ?”

सौरभ एकछिन मौन भयो । गाउँलेहरू पनि चुपचाप भए ।

“म देशका लागि ठूलो सपना देख्छु, धर्म ! तर केही बाध्यता छन् । सबै कुरा एकैचोटि सम्भव छैन,” सौरभले उत्तर दिए ।

धर्म हाँसे । त्यो हाँसोमा व्यंग्य थियो ।

“ठूलो सपना त देख्यौ तर त्यो सपना तिमीभित्र मात्र सीमित रह्यो । हामीलाई देखाउन तिमीले केवल झूटो सिँढी बनायौ । जबसम्म तिमीले आफ्नो विवेकलाई कुर्सीको तल दबाउँछौ, यो देश कहिल्यै अगाडि बढ्दैन ।”

त्यही रात, धर्मको शब्दले सौरभलाई केही क्षण अस्थिर बनायो तर भोलिपल्ट, उसको रुटिन फेरि उस्तै रह्यो । लाइभ टेलिकास्टमा फेरि एउटा ठूलो पुलको उद्घाटन भयो तर पुल निर्माणको बजेटमा आधाभन्दा बढी दुरुपयोग भइसकेको थियो ।

सौरभ आफ्नो कुर्सीमा बस्दै मुस्कुरायो ।

“देश विकास भनेको केवल भाषण हो । जनताले धेरै प्रश्न गर्दैनन् । उनीहरूलाई केवल सपना बाँड्नुपर्छ,” उसले सोच्यो । तर पर्दा पछाडिबाट धर्मले बिस्तारै गाउँलेहरूलाई जागरुक बनाउँदै थियो । गाउँलेहरूले थाहा पाए, विकासको नाममा ऋणको भारी उनीहरूको टाउकोमा थपिँदै थियो ।

केही वर्षपछि, गाउँका मानिसहरू, धर्मको नेतृत्त्वमा, एकजुट भएर उठे । उनीहरूले सौरभलाई सोधे,

“हामीलाई झूठो सपना देखाएर तिमीले हामीलाई पछि पारेका छौ । यो देशको साँचो विकास अब हामी आफैं गर्नेछौं । तिमी जस्तो नेतृत्त्व अब हाम्रा लागि उपयुक्त छैन ।”

सौरभको अनुहार मलिन भयो । उसले महसुस ग¥यो—सपना बेच्ने दिन सकिएको थियो ।

अन्ततः, सत्य यो होः जबसम्म नेतृत्व स्वार्थी रहन्छ, देशको विकास जनता आफैंले सुनिश्चित गर्नुपर्छ ।

प्रधानमन्त्री निवासमा रातको समय थियो । सौरभ आफ्नो कार्यालयमा एक्लै बसेर पुराना कागजातहरू जाँच गर्दै थिए । उनको अनुहारमा तनावको छायाँ देखिन्थ्यो ।

“अब धेरै समय छैन । सबै प्रमाणहरू हटाउनु पर्छ,” उनले आफैंसँग गुनगुनाए ।

उनले पक्का गरेका थिए—विदेशमा आफ्नो खातामा जम्मा भएको अकुत सम्पत्तिले उनलाई सुरक्षित भविष्य दिनेछ ।

“स्विट्जरल्यान्डमा सबै तयारी भइसक्यो । अब केही दिनमै म त्यहाँ पुग्छु । यहाँका झमेला कहिल्यै फर्केर हेर्नु पर्दैन,” उनले गहिरो सुस्केरा हाले ।

गाउँमा धर्मका समूह सौरभको गतिविधिबारे गहिरो अध्ययन गरिरहेका थिए । सौरभको अकूत सम्पत्तिका खबरहरू विभिन्न माध्यमबाट गोप्य तवरले उनीहरूले पत्ता लगाए । 

“हामीले अरूभन्दा पहिले यसलाई रोक्नुपर्छ । सौरभ भाग्यो भने हाम्रो संघर्षको कुनै अर्थ रहँदैन,” धर्मले समूहलाई भने ।

“तर, ऊ प्रधानमन्त्री हो । यस्तो शक्तिशाली व्यक्तिलाई कसरी नियन्त्रण गर्ने ?” समूहका एक युवाले शंका प्रकट गरे ।

धर्मले दृढताका साथ उत्तर दिए, “शक्ति केवल डराउने हतियार हो । जब जनता एकजुट हुन्छन्, कुनै पनि शक्ति उनीहरूको अगाडि टिक्न सक्दैन ।”

सौरभले आफ्नो भाग्ने योजनालाई गुपचूप राख्न राज्यको स्रोतको प्रयोग गरिरहेको थियो । राति अबेर, उसले केही विश्वस्त व्यक्तिहरूसँग बैठक राख्यो ।

“तिमीहरूलाई थाहा छ, यो मेरो अन्तिम मौका हो । मेरो विमान यही साता स्विट्जरल्यान्ड उड्छ ।  सबै तयारी पूरा गर,” उनले आदेश दिए ।

उता धर्म र उनका साथीहरूले राजधानीका केही सचेत नागरिक र पत्रकारहरूसँग मिलेर सौरभको योजनालाई सार्वजनिक गर्ने रणनीति बनाइसकेका थिए ।

त्यस रात, प्रधानमन्त्री निवासबाट निस्कने गुप्त गाडीलाई धर्मको समूहले राजधानीको मुख्य सडकमा रोकेको थियो ।

“यो गाडी कहाँ जाँदैछ ?” धर्मले एकदमै चिच्याएर सोधे ।

गाडीभित्र लुकेका सौरभको अनुहारमा हलचल देखियो । उनले गाडीभित्रैबाट प्रहरीलाई कल गरे ।

“तिमीलाई सोध्ने अधिकार छैन । हट !” सुरक्षाकर्मीले धर्मलाई धम्की दिए ।

तर धर्मका समूहका मानिसहरूले मोबाइलमा लाइभ सुरु गरिसकेका थिए । सामाजिक सञ्जालमा भिडियोलाई हजारौंले हेरिरहेका थिए ।

“प्रधानमन्त्री भाग्न खोज्दैछन् । यो देशको सम्पत्ति लुटेर उनले विदेश जान खोजेका छन् !” धर्मको कडा स्वर गुञ्जियो ।

केही मिनेटभित्र, प्रहरीको थप गाडी आयो । सञ्चारमाध्यमका पत्रकारहरूले घटनालाई कभर गर्न थाले । सौरभले गाडीबाट निस्कँदै भने,

“यो षड्यन्त्र हो । मलाई बदनाम गर्न खोजिएको हो ।”

तर धर्मले प्रमाणका कागजातहरू सार्वजनिक गरिदिए ।

“तपाईंले स्विट्जरल्यान्डको बैंकमा जम्मा गरेको रकमको हिसाब दिनुस् । यो सम्पत्ति कहाँबाट आयो ?” धर्मको प्रश्नमा सौरभ मौन भए ।

त्यही रात सौरभ पक्राउ परे । उनको भ्रष्टाचार र देशको सम्पत्ति दुरुपयोगको पर्दाफास भयो ।

जब उनलाई अदालतमा पु¥याइयो, धर्मले अन्तिमपटक भने,

“तिमीले देशलाई सपना देखाएर धोका दिन सक्यौ तर जनता अब सचेत छन् । तिमीजस्ता नेताहरूलाई अब जनताले काखमा होइन, कठघरामा राख्नेछन् ।”

सौरभको पतनले देशभरि एउटा चेतनाको लहर फैलायो । जनता जान्न थाले—देश बनाउने जिम्मेवारी नेताको मात्र होइन, प्रत्येक सचेत नागरिकको हो ।

अन्ततः, नेतृत्त्वको भ्रम भत्कियो, र जनताको शक्ति जाग्यो ।

राजधानीको मुख्य चोकमा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो । सौरभलाई भ्रष्टाचार र धोखाको आरोपमा पक्राउ गरिएको खबर जताततै फैलिइसकेको थियो तर अदालतमा उपस्थित हुनु अगाडि नै जनताको क्रोधले सीमा नाघिसकेको थियो ।

“हामीलाई झूटो सपना देखाउनेहरूको यही हालत हुन्छ !” भीडबाट कसैले चिच्यायो ।

“देशलाई लुट्नेहरूलाई जनताले अब माफ गर्दैनन्,” अर्को चर्को आवाज आयो ।

सौरभलाई प्रहरीले सुरक्षा घेरामा राखेर अदालत लैजाँदै थियो तर भीडले सुरक्षाकर्मीहरूलाई घेरा हाल्न थाल्यो ।

“छोड, हामी आफैं न्याय गर्छौं !” भीडले थप चिच्यायो ।

प्रहरी प्रमुख विक्रमले सौरभलाई बचाउन हरसम्भव प्रयास गर्दै थिए ।

“जनतालाई समााल्नुपर्ने यो कुनै अदालतको जिम्मेवारी होइन, हामीले कानुनअनुसार न्याय गर्नुपर्छ,” विक्रमले आफ्नो मातहतका प्रहरीलाई आदेश दिए तर जनताको आवेगले प्रहरी प्रशासनलाई पनि निरीह बनाइसकेको थियो ।

जनताको आवाज अब प्रतिशोधमा बदलिइसकेको थियो ।

“सौरभले हाम्रो रगत पसिनाको पैसा चोरेर विदेश पठायो । हामी भोकभोकै मर्छौं, ऊ विलासिताको जीवन बाँच्छ । यस्तो व्यक्तिलाई कानुनले होइन, हामीले न्याय दिनुपर्छ !” धर्मको समूहबाट आएका एक युवकले चर्को स्वरमा भने ।

सौरभको अनुहारमा डर छायो । उसले प्रहरीलाई विन्ती गर्दै भन्यो,

“मलाई बचाउनुहोस् । यी सबै मेरो विरुद्ध गरिएको षड्यन्त्र हो ।”

तर उसको आवाज भीडको चर्को नाराबीच बिलायो ।

सौरभलाई सुरक्षाकर्मीहरूको घेराबाट तानेर भीडले आफ्नो कब्जामा लियो ।

“तिमीलाई कसरी थाहा भएन कि हामी कति पीडित छौं ? आज तिमीलाई यो महसुस गराउँछौं,” एक वृद्ध महिलाले चिच्याउँदै भनिन् ।

सौरभलाई मञ्चमा उभ्याएर भीडले उसलाई घोक्रेठ्याक गर्न थाल्यो । प्रत्येक प्रहारमा जनताको पीडा पोखिन्थ्यो । कोही आफ्नो बालबच्चाको भोक सम्झेर रिसले थर्कमान थिए, कोही आफ्नो उजाडिएको भविष्य सम्झेर उफ्रिरहेका थिए ।


आखिरमा, सौरभ जमीनमा लड्यो । एकै पलमा उसको हड्डी सुद्ध बाँकी रहेन । भीडको ज्वारभाटाको सुनामीका अनगिन्ती खुट्टाहरुले घोडाको टापले झैँ उसलाई कुल्चिँदै धुलोपिठो बनाइसकेको थियो । त्यो ज्याद्रो धुलो उडेर गएपछि सबैले चैनको सास फेरे । तब देशको धमिलो तुँवाँलो सबै हटेर मिर्मिरेमा सर्वत्र रौनकता छाइसकेको थियो । धर्मको मुहारमा पहिलो पटक प्रभातको लालीमाले मुस्कानका आभा चहकिरहेको थियो ।



२०८१ माघ १४

बिजु सुवेदी विजय


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा