“मुफासा, मेरो कथा”
लघु कथाः “मुफासा, मेरो कथा”
“हजुर, टिकटको पैसा तिर्नुपर्ने छैन, यो दुईवटा टिकट त सित्तैमा हो ।”
टिकट दिने काउन्टरको दिदीले यसरी भनेपछि म झस्किएँ । “सित्तैमा ?“ मनमा उत्सुकता त जाग्यो तर साथमा संशय पनि । अँग्रेजी फिल्म, त्यो पनि हलिउडको । सिनेमाको नाम ‘मुफासा’। साहसिक कथा होला भन्ने अनुमान गरेँ । तर चिन्ता एकै ठाउँमा अड्कियो— “लेखेको छोरालेभन्दा बढी बुझेपनि मलाई कुइरेले अँग्रेजी बोलेको बुझ्न त्यति आउँदैन । के समय कटाउन गाह्रो पो हुने हो कि?”
सिनेमाको कथा अजब लाग्यो । पर्दामा सारा पृथ्वी सिँहको संसारजस्तो बनेको थियो । पात्रहरु तीनवटा मात्र प्रष्ट देखेँ— एउटा बाउ सिँह, अर्की आमा सिँहिनी, अनि एउटा सानो शावक, बाँकी सबै चीज मलाई अँग्रेजी भाषाको कच्याककुचुक जस्तो लाग्यो ।
“यसो गरौँ,” मनमनै ठानेँ । “आफैँले कथा बनाउन थाल्छु।”
त्यसपछि फिल्मको अर्थ आफ्नै तरिकाले निकाल्न थालेँ। ती बाउ सिँह आफ्नो सन्तानलाई जङ्गलको राजा बन्न सिकाउँदै थिए। ती गर्जनहरु जीवनको सङ्घर्षका पाठजस्ता लाग्न थाले। “कसरी आफुजस्तै शक्तिशाली शासक बनाउने भनेर ती बाउले शावकलाई युद्धनीति सिकाउँदै होलान्,” मैले कल्पना गरेँ ।
तर, समय बिताउन साह्रै गाह्रो। दर्शकहरु हाँस्दा, ताली बजाउँदा, म आफैँलाई अँध्यारोमा पाएको जस्तो लाग्यो। “के गरौँ?” फेरि अर्को कल्पनामा जुटेँ। नेपाली फिल्म ‘१२ गाउँ’ सम्झें। बाउ सिँहको भूमिकामा विराज भट्टलाई राखेँ, अनि सानो शावकलाई समिर भट्ट बनाएँ। यसरी मेरो मनमा एउटा नयाँ सिनेमा चलिरहेको थियो।
तर, पेटको घडीले साथ दिएन। ‘हलभित्र नखाने त कुरै भएन,’ भनेर मकैका साना दाना, लाम्चा पापड, अनि ब्ल्याक टीको एउटा सेट अर्डर गरेँ। “धत्, ४०० रुपियाँ त खर्च भइसक्यो!“ मन कुँडियो। एक हप्ताको तरकारी खर्चको जति रकम त हलमै सकियो।
बिचरा हलका स्टाफहरु चुपचाप थिए। मकै बेच्नेले सुनायो, “यहाँ हलको व्यापार सकिएको छ। दर्शकहरु अब आउँदैनन्। सटरको भाडा तिर्न पनि गाह्रो छ। त्यहामाथि साहुले हामीजस्ता केही स्टाफ पनि पाल्नुपर्छ।”
यत्तिकैमा छोरो मेरो अनुहारतिर हेर्दै मुस्कुरायो। ऊ रमाइरहेको थियो। उसको खुशीले मेरो चित्त ढुक्क भयो। “हेर, तेरो बाबुलाई अँग्रेजी नआउँदा के भो? मुफासाको यो जंगल मैले आफ्नै तरिकाले बुझें।“
तर, यो कथा यहाँ नै सकिँदैन।
पाठ
“सिनेमा बुझ्न भाषा चाहिँदैन, मात्र कल्पना र समयलाई बाँच्ने कला चाहिन्छ।“
२०८१ माघ २
बिजु सुवेदी विजय
Comments
Post a Comment