कथाः— चक्र
कथाः— चक्र
नदीको यात्रा
(एक सुनसान साँझ, नदी र हावाबीच संवाद भइरहेको छ । प्रकृति मौन छ, तर यी दुई पात्रका कुराकानीले चारैतिर गुञ्जायमान बनाएको छ ।)
नदीः (काँपिरहेको स्वरमा) हावा दाजु, मेरो यात्रा यहाँसम्म आइपुग्यो तर अगाडि महासागर छ । यो विशाल, अथाह र अज्ञात छ । मभित्र डरले ठूला छालहरू उर्लिएका छन् ।
हावाः (शान्त र गम्भीर स्वरमा) बहिनी, तिमीले यात्रा कहिले रोक्यौ र ? हिमालका काखबाट छुटेर तिमीले कति बाटो काट्यौ, कति चट्टान भाँच्यौ, कति जंगल पार गर्यौ, सम्झ त । किन अहिले डर मान्दैछौ ?
नदीः (आफ्नो भित्री मनको कुरा पोख्दै) मैले त्यतिबेला पनि डर मानें तर मेरो बाटो स्पष्ट थियो । हिमालका बगैँचाबाट बग्नु थियो तर यो महासागर...।
हावाः (मुस्काउँदै) महासागरले तिमीलाई भयभीत बनाएको हो कि तिमीलाई हराउनुको डरले सताएको हो ?
नदीः (चुप लाग्दै) हो, म डराउँछु । महासागरमा म मेटिन्छु, हराउँछु । मेरा कुनै चिह्न रहनेछैनन् । म अब नदी रहन्न ।
हावाः (गम्भीर हुँदै) बहिनी, तिम्रो डरको जरा गलत ठाउँमा छ । सोच त तिमीले आफूलाई सधैं नदी मात्र ठानेकी छौ तर के तिमीलाई थाहा छ ? तिमी नदीमात्र होइनौ । तिमी बाँच्ने क्रम हो ।
नदीः (अलमलिँदै) मेरो अस्तित्त्व नदीमा मात्र होइन भने कहाँ छ ?
हावाः (आफ्नो स्वरलाई शास्त्रीय बनाउँदै) महासागरलाई हेर्नू, उसको विशालता तिम्रो आफ्नै भविष्य हो । तिमी नदी बनेर हिमालबाट बग्यौ, तर तिम्रो अन्तिम उद्देश्य महासागर बन्नु थियो । तिमी सागरमा हराउँदिनौ, बरु महासागर आफैं बनौली । यो केवल रूपान्तरण हो, अस्तित्त्वको अन्त्य होइन ।
नदीः (धेरै बेर सोचेर) तर हावा दाजु, यो रूपान्तरण सजिलो छैन । यसले मलाई मेरो आफूको स्वरूप गुमाउने डर दिन्छ ।
हावाः (प्रेरणादायी स्वरमा) जसरी तिमीले हिमालका चट्टान तोड्यौ, तिमीले आफ्नो यात्राका सबै मोडहरू स्वीकार गर्यौ, त्यस्तै यो पनि तिम्रो यात्राको भाग हो । सम्झ, सूर्य पनि अस्ताउँदा रातसँग मिल्छ, तर उसले आफ्नो प्रकाश कहिल्यै गुमाउँदैन ।
नदीः (गहिरो सास लिँदै) अब म तयार छु । म महासागर बन्नेछु । मेरो डरलाई बगाएर लानेछु ।
(नदीले आफ्नो गहिरो डरलाई चिर्दै महासागरमा प्रवेश गर्छ । सागरले आफ्नो विशाल बाहुप्रसार गरेर नदीलाई स्वागत गर्छ । एक पलका लागि नदीको स्वरूप मेटिन्छ, तर त्यहाँको प्रत्येक छालमा नदीको आत्मा गुञ्जन्छ । अब नदी महासागर बनेको छ ।)
(महासागरबाट सानो हावा चलेर हावाको कानमा गुञ्जन्छ ।)
महासागरः (मुस्कानसहित) हावा दाजु, अब मैले बुझें । यो हराउने होइन, पूरै विश्वलाई अंगाल्ने कुरा हो ।
(आकाशमा सूर्य अस्ताउँदै छ । कालो बादलको बीचबाट सुनौलो किरणले महासागरमा झल्को दिन्छ । दृश्य यस्तो छ, मानौँ प्रकृतिले एउटा महाकाव्य लेखेको छ । नदीको यात्राले सबैलाई प्रेरणा दिएको छ ।)
हावाको अनन्त यात्रा
(एउटा बिहान, जब सूर्योदयको पहिलो किरणले पृथ्वीलाई स्पर्श गर्छ, हावा आफैंसँग संवाद गर्दैछ । उसको यात्राको बोध गर्न प्रकृति मौन साक्षी बनेको छ ।)
हावाः (स्वयंलाई प्रश्न गर्दै) म को हुँ ? मेरो अस्तित्त्व के हो ? म कहिल्यै देखिन्न, तर सबैले महसुस गर्छन् । म सधैं चलायमान छु, तर कहिल्यै स्थिर हुँदिन । मेरो यात्राको कुनै सीमा छ त ?
(त्यही बेला पहाडको काखमा बस्ने हिमपातले उसको कुरामा सुन्छ।)
हिमपातः (शीतल स्वरमा) हावा, तिमी सधैं बेचैन छौ । यो बेचैनीको अन्त्य कहिले हुने हो ?
हावाः (मुस्कुराउँदै) मेरो बेचैनी नै मेरो जीवन हो । म कहिले नदीलाई बगाउँछु, कहिले पन्छीलाई उडाउँछु । कहिले म वृष्टि बनेर झर्छु, कहिले आँधी बनेर गर्जिन्छु तर, म बुझ्न सक्दिन, यो यात्रा कहिलेसम्म चल्छ ।
हिमपातः (गम्भीर हुँदै) हावा, के तिमीलाई थाहा छ, तिमी परिवर्तनको प्रतीक हौ ? तिमी केवल बग्ने र उड्ने होइन, तिमी जीवनलाई चलायमान बनाउने स्रोत हौ ।
हावाः (अलमलिँदै) तर म परिवर्तन भएर के बन्छ ु? म त केवल हावा हुँ, जो न देखिन्छ, न रोकिन्छ ।
हिमपातः (गहिरो स्वरमा) तिमी बादलमा परिणत हुन्छौ । तिम्रै रूपमा पानीका थोपाहरू बनेर तिमी पृथ्वीलाई जीवन दिन्छौ । कहिलेकाहीँ तिमी झरी भएर कृषिलाई अन्न दिन्छौ ।
हावाः (सोचमग्न हुँदै) बादल र झरी त म परिवर्तन भए पनि मेरो स्वरूप हो तर म अझै के बन्छु ?
हिमपातः तिमी आँधी र शान्ति दुवै हौ । तिमीले परदेशहरूलाई जोड्ने पुल बनाउँछौ । तिम्रो उडानले बीऊलाई नयाँ भूगोलमा पु¥याउँछ । अनि तिमी कहिलेकाहीँ हिमालमा स्थिर भएर हिमपात पनि बनाउँछौ ।
हावाः (उत्साहित हुँदै) हो, मैले बुझेँ । म केवल हावा होइन । म रूपान्तरणको चक्र हुँ । म नयाँ सुरुवात हुँ ।
(त्यसैबेला सूर्यको किरणले हिमपातलाई पगाल्न थाल्छ, र पानीको रूपमा त्यो तल बग्न थाल्छ ।)
हिमपातः (पग्लिंदै) हावा, म अब पानीको धार हुँदै नदीमा जाँदैछु । मेरो यात्राको अर्को चरण सुरु भयो । तिमी पनि परिवर्तन भइरहनु, यही तिम्रो सौन्दर्य हो ।
हावाः (उत्कर्षमा पुगेर) म अब बुझेँ। म महासागरको लहर पनि बनुँला, हिमालको चिसो पनि बनुँला। कहिलेकाहीँ म हराउँछु, तर फेरि नयाँ स्वरूपमा आउँछु । यो यात्रा कहिल्यै रोकिने छैन ।
(हावा अब हिमपातलाई विदा गरेर अघि बढ्छ । ऊ बादल बन्छ, पानी बन्छ, झरी बन्छ । ऊ संसारलाई रूपान्तरण गर्न जारी राख्छ ।)
(आकाशमा सूर्य झुल्कँदै गर्दा हावाको यो चिरस्थायी यात्रा प्रकृतिको कथा बनिरहन्छ । यो कथा कुनै अन्त्य नभएको अनन्त यात्राको हो ।)
पानीको अनन्त चक्र
(प्रकृतिको एउटा उज्यालो बिहान, हावा, नदी, र महासागरबीच संवाद हुँदैछ । तीनैजना अब आफ्नो यात्राको अन्तिम बोधलाई महसुस गर्दै छन्।)
महासागरः (गहिरो स्वरमा) म विशाल हुँ, तर म पनि सधैं परिवर्तनमा छु । नदी बहिनीले मलाई पूरा गरिन्, र हावा दाजुले मलाई चलायमान बनाए तर मेरो कथा यहाँ रोकिन्न । म थाहा पाउँछु, मेरो रूपान्तरण सधैं चलिरहन्छ ।
हावाः (हँसिलो स्वरमा) हो, महासागर ! म तिमीलाई अँगालेर आकाशसम्म उचाल्छु । तिम्रै पानीका थोपा म बाफ बनाएर बादलमा बदल्छु ।
नदीः (मुस्कुराउँदै) अनि म त्यो बादलको प्रतीक्षा गर्छु । जब तिमी झरी भएर पृथ्वीमा झर्छौ, तिमी फेरि मलाई जीवन दिन्छौ । म फेरि बग्छु, फेरि तिमीतिर फर्किन्छु । यो यात्रा कहिल्यै अन्त्य हुँदैन ।
हावाः (प्रेरणादायी स्वरमा) हो, यो जीवनको चक्र हो । तिमी नदी बन्नु, महासागरमा मिल्नु, र फेरि बादल बन्नु, यो सबै एक सूत्रमा बाँधिएको छ । म त केवल यस चक्रको एक सहायक पात्र हुँ ।
महासागरः (गर्व गर्दै) तिमी दाजुभाइबहिनीहरू नै मेरो सम्पूर्णता हौ । तिमी नदीबिना म शान्त र निर्जीव हुँ । तिमी हावा बिना म स्थिर र अविकसित हुँ । हाम्रो यो चक्र नै पृथ्वीको जीवन हो ।
नदीः (गम्भीर हुँदै) म थाहा पाउँछु, मेरो बहावले केवल पृथ्वीको भूगोल बनाउँदैन, मानिस, जनावर, र वनस्पतिलाई पनि जीवन दिन्छ तर यो सबै तिम्रो सहयोगबिना सम्भव छैन, हावा ।
हावाः (मुस्काउँदै) र म तिमी दुबैबिना अर्थहीन हुँ । तिमीले मलाई बाटो देखाउँछौ । तिमीले मलाई उद्देश्य दिन्छौ ।
(त्यही बेला, एक सानो पानीको थोपा महासागरबाट वाफ बनेर बादलमा पुग्छ । त्यसपछि, त्यो थोपा झरी बनेर पृथ्वीमा झर्छ, जहाँ त्यो नदीलाई भेट्छ । नदी उसलाई बगाउँदै महासागरमा फर्काउँछ ।)
पानीको थोपाः (खुशीले भरिएको स्वरमा) अब म बुझ्छु । यो कुनै अन्त्य होइन, यो निरन्तरता हो । म नदी, महासागर, हावा, र बादल, सबैको भाग हुँ । यो नै मेरो जीवनको सार हो ।
(तीन पात्र मुस्कानसहित आकाशतिर हेर्छन् । सूर्य पश्चिमतिर ढल्दै छ, तर अर्कोतिरको प्रभात !!! उनीहरूको चक्र कहिल्यै रोकिने छैन ।)
महासागरः (अन्तिम शब्दमा) हामी सबै रूपान्तरणका प्रतीक हौं । हाम्रो चक्र नै प्रकृतिको सम्पूर्णता हो ।
हावा र नदीः (एकैसाथ) हो, यही चक्रले पृथ्वीलाई जिउँदो बनाएको छ ।
(सूर्य अस्ताउँछ । आकाश रातो–हरियो रंगले भरिन्छ तर पानीको चक्र भने अजर–अमर भएर चलिरहेको छ ।)
कथाकारले तल प्रस्तुत गरिएको इन्भर्टेड कमाभित्रको खलिल जिब्रानको
“उसले यति विशाल सागर देख्छे, कि प्रवेश गर्न सदाको लागि हराउनु बाहेक अरू केही देख्दिनन् तर अर्को उपाय पनि त छैन । खोला फर्किन सक्दैन । कोही पनि फर्किन सक्दैन । अस्तित्त्वमा फर्कन असम्भव छ । नदीले जोखिम मोल्नुपर्छ महासागरमा प्रवेश गर्दा किनभने तब मात्र डर हराउनेछ, किनकि नदीले थाहा पाउनेछ कि यो समुद्रमा हराउने बारे होइन, तर महासागर बन्ने ।”
भनाइ सम्झिरहन्छ । प्रकृतिलाई अति गहनसँग चकमन्नतामा नियाली अटूट नोस्टाल्जिक भई एक तमासले घोत्लिरहन्छ । घोत्लिरहन्छ ।
२०८१ माघ ९
बिजु सुवेदी विजय
Comments
Post a Comment