विज्ञान कथा :– शूण्य
विज्ञान कथा :– शूण्य बिजु सुवेदी विजय इथरका बुबा ठूलो अन्तरिक्ष वैज्ञानिक थिए । उनी धेरै मेहनती भएकाले अन्तरिक्ष विज्ञानमा बाहिरी ग्रहसँग कनेक्सन गरेर एकमात्र सुपर वैज्ञानिक बनेर तहल्का मच्चाइरहेका थिए । उनी अन्तरिक्षका अति विकसित जीवलाई यस पृथ्वीमा पदार्पण गराउन चाहन्थे । यस पृथ्वीमा इथर जब ६ महिनाको भएको थियो अकस्मात् इथरका बुबा “मिराकल ! मिराकल !!” भन्दै दङ्ग परे, उफ्रिन थाले, चुलबुल हुन थाले । वास्तबमा उसका बुबाले जुन सूचना पठाएका थिए, त्यसको सहायतामा एकापट्टि उसका बुबालाई बाहिरी ग्रहका सुपर अन्तरिक्षयात्रीहरूले यानबाट लिन आएका थिए भने अर्कोपट्टि सोही बेला इथरका बुबा आफ्नो अन्वेषनात्मक यात्रामा घोत्लिएर कल्पँदै थिए । ‘शून्यमा आकाश, आकाशमा शून्य । आकाशमा सम्पूर्ण, सम्पूर्णमा आकाश । शून्यमा पनि त्यै, कोही विलिँदैन क्यै । भित्रको भित्र बाहिर, बाहिरको बाहिर भित्र । बृहत् हुन्छ सूक्ष्ममा, सूक्ष्म हुन्छ बृहत्मा । दृश्यमा यो अदृश्य, अदृश्यमा यो दृश्य । विचित्रमा छ चित्र, चित्रमा छ विचित्र । मनको विचार अदृश्य, पुग्छ तत्कालै अनन्तको पारि, त्यसैले त्यसकै छ राज, त्यस्तै छ शून्यको काज ...