विश्वको छानोबाट उठेको चेतावनी — जलवायु न्यायका लागि नेपालको ऐतिहासिक आवाज
विश्वको छानोबाट
उठेको चेतावनी — जलवायु न्यायका लागि नेपालको ऐतिहासिक आवाज
यो भाषण नेपालले संयुक्त राष्ट्रसंघको
महासभाबाट विश्व समुदायलाई दिएको एउटा गम्भीर,
संवेदनशील र दूरदर्शी सन्देश हो ।
विनाशकारी हिमाली बाढीको पीडाबाट उठेको यो सम्बोधन केवल नेपालका घाउहरूको बयान
होइन, जलवायु
परिवर्तनले सीमा नचिन्ने यथार्थ, विकास र मानव सुरक्षामाथि परेको संकट तथा विश्वव्यापी
जिम्मेवारीको प्रश्नलाई अन्तर्राष्ट्रिय मञ्चमा राख्ने ऐतिहासिक प्रयास पनि हो ।
हिमालयलाई मानव सभ्यताको साझा जीवन–प्रणालीका रूपमा प्रस्तुत गर्दै यस भाषणले राहत
र पुनर्निर्माणभन्दा पर गएर जलवायु न्याय,
साझा तर फरक जिम्मेवारी, क्षेत्रीय सहकार्य र
भविष्यप्रति उत्तरदायित्वको स्पष्ट आह्वान गर्दछ । अब सुनौँ—विश्वको छानोबाट उठेको
त्यो चेतावनी, जसले
आजको संकट मात्र होइन, भोलिको
निर्णय पनि चुनौती दिन्छ ।
श्रीमान् अध्यक्षज्यू, महासचिवज्यू, महामहिमज्यूहरू,
प्रतिनिधिज्यूहरू,
महिला तथा सज्जनवृन्द,
म यहाँ तपाईंहरू सामु हिमालयमा रहेको एउटा टाढाको देश नेपालका
तर्फबाट मानवतालाई नजिकैदेखि दिइरहेको चेतावनी लिएर आएको छु । आज म यहाँ विकास,
लोकतन्त्र,
शान्ति
र एउटा राष्ट्रको आशाबारे मात्रै बोल्न चाहन्थे ।
तर, त्यसको सट्टा, म मृत्यु र अकल्पनीय विनाशबारे बोल्छु ।
ती परिवारबारे जो कहिल्यै घर नफर्कने आफ्ना प्रिजयनलाई पर्खिरहेका छन् । ती
समुदायबारे जसले लेदो, ढुंगामाटो, पानीभित्र आफ्ना मानिसहरूको खोजी
गरिरहेका छन्, जसको शरीर अब कहिल्यै नभेटिन सक्छ । ती पुलहरू, सडकहरू,
विद्यालयहरू,
घरहरू
र जीविकोपार्जनका माध्यमहरू निमेषभरमै बगेर गए । एउटा देशबारे जसले दिगो विकासको
लक्ष्य हासिल गर्ने दिशामा निरन्तर प्रगति गरिरहेको थियो त्यसमा अवरोध पुगेको छ ।
चार साताअघि विश्वले नेपालको हिमाली समुदायहरूमा तीव्रताका साथ आएको
विनाशकारी बाढीको भयावह दृश्य देख्यो, जसलाई धेरैले 'हिमालयन 'सुनामी'
भनेका
छन् । भोटेकोशी- त्रिशूली विपद् स्थानीय त्रासदीमात्र थिएन, यो विश्वका लागि
एउटा चेतावनी पनि थियो । र, म आज तपाईंहरूसँग सोध्छु- के हामीले
साँच्चै त्यो चेतावनी सुनेका छौ ?
करिब तीन वर्षअघि, संयुक्त राष्ट्रसंघका महासचिवले हाम्रो
सगरमाथा क्षेत्रमा उभिएर नजिकिँदै गरेको जलवायु विपत्तिको भयावह अवस्थाबारे
मानवतालाई चेतावनी दिनुभएको थियो । विश्वको छानोबाट आएको त्यो चित्कार बुलन्द
रूपमा सुनिएन । हामीले नेपालमा सुन्यौं, हाम्रो समुदायले सुन्यो । विश्वभरका
वैज्ञानिकहरूले सुने । उनीहरूले प्रमाणसहित त्यसलाई दोहोऱ्याइरहे ।
तर हामी, विश्वका राजनीतिक नेतृत्वहरूले त्यो चेतावनीलाई जोखिममा रहेका
मानिसहरूको आवश्यकताअनुसार तीव्र गतिमा कार्यान्वयनमा बदल्न बेवास्ता गर्यो ।
त्यसको दुःखद् परिणाम हामीले गत महिना भोग्यौं ।
तानिँदै गरेको जलवायुले नाजुक हिमालयको पारिस्थितिक प्रणालीलाई
अस्थिर बनाएको छ । हिउँले जमेको माटो पग्लिँदा हिमालको भिरालो भूभागमा चिरा परेका
छन् । हिमचट्टानसहितको पहिरो, बाढीलगायत शृंखलाबद्ध जोखिमहरू
बढिरहेका छन् ।
परिणामस्वरूप यस विनाशले नेपाल-चीन सीमाका दुवै भूभागमा ठूलो क्षति
पुर्यायो । बाढी निरन्तर भारततिर बग्दै गयो । यसले हामीलाई एउटा आधारभूत कुरा
बताउँछ । जलवायु परिवर्तनले सीमा चिन्दैन । हिमनदी र बाढी पासपोर्टमा भिसा लगाएर
यात्रा गर्दैनन् ।
महामहिमज्यूहरू,
म यहाँ गुनासो गर्न होइन, केही सुझाव साझा गर्न आएको हूँ ।
सर्वप्रथम, विपत्तिपछि नेपाललाई सहयोग गर्न आउने
सबैप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु । हाम्रा छिमेकी मुलुकहरू भारत र चीनले
तत्कालै र खुला हृदयका साथ सहयोग गरे । अन्य मित्रराष्ट्रहरू, संयुक्त
राष्ट्रसंघीय प्रणाली, मानवीय सहायता प्रदायक संस्थाहरू, परोपकारी
संस्थाहरू तथा विश्वभरका मानिस नेपालसँगै उभिनुभयो । म उहाँहरू सबैलाई नेपालका
कृतज्ञ जनताका तर्फबाट धन्यवाद भन्न चाहन्छु ।
नेपाल अहिले पुनर्स्थापना र पुनर्निर्माणको विशाल कार्यको सामना
गरेको छ । कम्तीमा १ हजार ४ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ६
हजारभन्दा बढी मानिस अझै बेपत्ता हुनुहुन्छ । हाम्रो द्रुत क्षति आकलनअनुसार अब
भौतिक पुनर्स्थापनाका लागि नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १० प्रतिशत
आवश्यक छ ।
सन् २०१५ मा नेपालमा गएको गोरखा भूकम्पपछिको पुनर्निर्माणमा जस्तै
यसपटक पनि हामी तपाईंहरूको ऐक्यबद्धता र सहयोगको अपेक्षा गछौं ।
तर, यो विपद् नेपाल बाहेकका लागि पनि किन अर्थपूर्ण छ भन्ने हामीले
बुझ्नुपर्छ । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१
प्रतिशतभन्दा कम छ । यो संकट हामीले सिर्जना गरेका होइनौं । तर यसको ठूलो मूल्य
हामीले चुकाइरहेका छौं । हाम्रा हिमनदी खुम्चिँदै गएका छन् । हाम्रा हिमालका
भिराला भूभागहरू अस्थिर बन्दै गएका छन् । हाम्रा नदीहरू पूर्वानुमान गर्न नसकिने
अवस्थामा पुगेका छन् । प्रत्येक ठूला विपद्ले हामीले वर्षों लगाएर निर्माण गरेका
विकासका पूर्वाधारहरूलाई ध्वस्त बनाउने चेतावनी दिइरहेका छन् । नेपालका लागि
जलवायु विपद् मानवीय घटनामात्रै होइन, विकासको संकट पनि हो । यसले सडकहरू,
पुलहरू,
विद्यालयहरू,
घरहरू,
खेतीयोग्य
जमिन र जीविकोपार्जनका माध्यमलाई क्षति पुयाउँछ । यसले गरिब देशले गरेको नगन्य
गल्तीबाट भएको क्षतिको भरपाइका लागि ठूलो ऋण लिन बाध्य बनाउँछ ।
हामी कुनै देश वा महादेशलाई दोष दिन यहाँ आएका होइनौं । हामी जलवायु
परिवर्तनलाई अर्को भूराजनीतिक युद्धभूमिमा परिणत गर्न पनि यहाँ आएका होइनौं । हामी
यहाँ सबैलाई आफ्नो जिम्मेवारी र ऐक्यबद्धतामा पुनः प्रतिबद्ध हुन आग्रह गर्न आएका
हौँ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारूप, महासन्धिमार्फत
अन्तर्राष्ट्रिय समुदायले साझा तर फरक-फरक जिम्मेवारी तथा आ-आफ्नो क्षमताको
सिद्धान्तमा पहिले नै सहमति जनाइसकेको छ । जसले ऐतिहासिक रूपमा समस्यामा बढी
योगदान गरेका छन् र जोसँग प्रतिक्रिया जनाउने बढी क्षमता छ, उनीहरूले बढी
गर्नुपर्छ । 'जलवायु न्याय' संयुक्त राष्ट्रसंघको दस्तावेजमा
सुन्दर वाक्यमा मात्र सीमित हुनुहुँदैन । हाम्रो देशका मानिसहरूलाई बारम्बार
विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिनुपर्छ ।
महामहिमज्यूहरू
हिन्दुकुश हिमालय करिब दुई अर्ब मानिसको घर हो । यी पर्वतहरूले
नेपालभन्दा धेरै परसम्म रहेका जनसंख्यालाई पानी, पारिस्थितिक
प्रणाली, कृषि र जीविकोपार्जन प्रदान गर्छन् । हिमालय पृथ्वीको छेउमा रहेको
भूभाग मात्रै होइन, यो पृथ्वीको जीवन सहयोग प्रणालीको महत्त्वपूर्ण हिस्सा पनि हो ।
त्यसैले पहिलो आकस्मिक कदमका रूपमा नेपाल, भारत र चीनको
नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न हामी प्रस्ताव गछौ यस
संयन्त्रमार्फत हामी भू-उपग्रहसम्बन्धी तथ्यांक र विशेषज्ञता साझा गरौं ।
जोखिमयुक्त हिमतालहरूको अनुगमन गरौं । संयुक्त पूर्वसूचना प्रणालीलाई सुदृढ बनाओ ।
र, जब विपद् आउँछ, सीमापार सहयोगलाई समन्वय गरौं ।
हिमालयलाई छरिएका सूचनाभन्दा अन्तर्राष्ट्रिय सहयोगको एउटा
प्रयोगशाला बनाओ। नेपाल एउटा अतिकम विकसित देश भएर पनि आफ्नो पारिस्थितिक
हिस्साभन्दा धेरै ठूलो वैश्विक भूमिका निर्वाह गरिरहेको छ । हामीले आफ्नो भूभागको
करिब आधा हिस्सा ढाक्ने गरी वन क्षेत्र विस्तार गरेका छौं । आफ्ना स्वच्छ ऊर्जाको आवश्यकता
पूरा गर्न र बाहिरबाट आएको प्रदूषणको स्रोतलाई विस्थापित गर्न तीव्रगतिमा
जलविद्युत्उडत आयोजनाहरू विकास गरिरहेका छौं । युरोपका केही भूभागसँग तुलना गर्न
मिल्ने दरमा विद्युतीय सवारीसाधनहरूको प्रयोगलाई प्रवर्द्धन गरिरहेका छौं ।
स्थानीय तहमा जलवायु अनुकूलनलाई सुदृढ बनाइरहेका छौं । दोहोरिरहने जलवायु विपद्को
सामना गर्न अझ बढी कदम चाल्नेछौं । तर नेपाल एक्लैले विश्वव्यापी शासन व्यवस्थाको
असफलताबाट सिर्जित संकटविरुद्ध उत्थानशीलता निर्माण गर्न सक्दैन ।
त्यसैले यस महासभाले यी ६ शब्दलाई ध्यान दिनुपर्छः राहत पुनर्स्थापना
। पुनर्निर्माण । र, त्यसैगरी : जिम्मेवारी क्षतिपूर्ति उत्थानशीलता । पहिला तीनवटा
विपद्पछि हामीलाई आवश्यक पर्छन् । पछिल्ला तीनवटा विपद्लाई स्थायी अवस्थाका रूपमा
परिणत हुन नदिन हामीलाई आवश्यक पर्छन् । जब जलवायुजन्य विपद्ले गरिब देशको
पूर्वाधार नष्ट गर्छ, त्यसको उत्तर अर्को ठूलो ऋण वा टुक्रे अनुदान मात्र हुन सक्दैन ।
हामीलाई विश्वबाट अनुदानमा आधारित पर्याप्त सहयोग आवश्यक छ । क्षति
तथा नोक्सानी कोष, विश्वव्यापी वातावरणीय सुविधा र अन्य सम्बन्धित वित्तीय संयन्त्रहरू
अझै अपर्याप्त छन् । जलवायु वित्त यस्तो कर्मचारीतन्त्रको जाल बन्नु हुँदैन,
जसबाट
कमजोर देशहरूले आफूलाई आवश्यक सहयोगका लागि वर्षौंसम्म प्रमाणित गर्नुपरोस् । जब
घरमा आगो लाग्छ, तब हामी परिवारलाई ५० वटा फाराम भर्न लगाउँदैनौं । हामी काम गर्छौं ।
जलवायु न्यायको अर्थ पनि यही हुनुपर्छ ।
महामहिमज्यूहरू
यसले मलाई एउटा ठूलो प्रश्नतर्फ जोड्छ । हामी कस्तो अन्तर्राष्ट्रिय
व्यवस्था चाहन्छौ ? संयुक्त राष्ट्रसंघ मानवताले भोगेको भयावह विश्वयुद्धको अनुभवबाट
जन्मिएको हो । यसको वाचा सार्वभौमिकता महत्त्वपूर्ण हुन्छ भन्ने थियो ।
अन्तर्राष्ट्रिय कानुन महत्त्वपूर्ण हुनेछ । हरेक मानवको गरिमा महत्त्वपूर्ण हुनेछ
। कमजोरहरूले शक्तिशालीहरूले जे निर्णय गर्छन्, त्यो मात्र
स्वीकार गर्नुपर्ने छैन । आज त्यो अन्तर्राष्ट्रिय प्रणाली दबाबमा छ । धेरै पटक
सैन्य र आर्थिक शक्तिले कसको आवाज सुनिन्छ भन्ने निर्धारण गर्छ। नेपाल निष्पक्ष
विश्वव्यापी आर्थिक व्यवस्थामा विश्वास गर्छ ।
सन् १९९४ मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको मानव विकास
प्रतिवेदनले 'मानवीय असुरक्षा' को अवधारणा अघि सारेको थियो । यसले
सुरक्षालाई भूभागभन्दा मानिससँग र हतियारभन्दा विकाससँग जोडेको थियो । यसले डर र
अभावबाट स्वतन्त्रता सुनिश्चित गर्न शान्तिको लाभांश प्रयोग गर्न आह्वान गरेको
थियो ।
गत मार्चमा नेपालमा इतिहासके सबैभन्दा निष्पक्ष र शान्तिपूर्ण
निर्वाचन भयो । त्यसबाट निर्वाचित बहुमतको सरकारले त्यसयता धेरै अन्तर्राष्ट्रिय
प्रतिकूलताको सामना गर्नुपरेको छ । जब नेपालका एक गरिब किसानले यस मनसुनमा आफ्नो
खेतमा बिउ छर्न खोज्नुभयो, समयमै मल पाउनु भएन । जब राजमार्गमा
कालोपत्र गर्न खोज्यौं, बिटुमिन पाएनौं । जब परिवारले साँझको खाना पकाउन खोज्यो, त्यसबेला
खाना पकाउने इन्धन भएन ।
एकातिर हिमनदीहरू पग्लिरहेका छन् र बाली उत्पादन घटिरहेको छ, बिनाचेतावनी
बाढी आइरहेको छ । अर्कोतिर, विश्वव्यापी आपूर्ति शृंखलाले गरिब
मानिसलाई उनीहरूको आफ्नो नियन्त्रणभन्दा बाहिरका कारणका लागि सजाय दिइरहेको छ ।
अन्तरमहादेशीय क्षेप्यास्त्रहरू समयमै पुग्छन् । राइफल र गोलीगठ्ठा
सबै अवरोधहरू तोड्दै समयमै सीमा पार गर्छन् । तर नेपालका एक किसानले आवश्यकता
परेको समयमा बजार मूल्यमा मल वा इन्धन खरिद गर्न सक्नुहुन्न । हामीले
यस्तो संसार बनाएका छौं, जहाँ युद्धका लागि आवश्यक सामान
आपूर्ति गर्न सजिलो छ तर खाद्यान्नका लागि निकै कठिन छ । यो नेपालको मात्रै
दुर्भाग्य होइन । बंगलादेशलाई सोध्नुहोस् । भुटानलाई सोध्नुहोस् । भारतलाई
सोध्नुहोस् । माल्दिभ्सलाई सोध्नुहोस् । पाकिस्तानलाई सोध्नुहोस् । श्रीलंकालाई
सोध्नुहोस् । हाम्रो क्षेत्रका अन्य कुनै पनि देशलाई सोध्नुहोस् । तपाईंले उस्तै
जवाफ पाउनुहुनेछः हामीले नतताएको जलवायुबाट प्रभावित र सुरु नगरेका युद्धबाट फेरि
प्रभावित । यसले हामीलाई वर्तमान विश्वव्यापी सहकार्यको व्यवस्थामा देखिएको भन्दा
धेरै कुरा बिग्रिएको छ भन्ने स्पष्ट पार्छ ।
महामहिमज्यूहरू,
मलाई भनिएको छ, म यो वर्ष यस महासभालाई सम्बोधन गर्ने
सबैभन्दा कान्छो सरकार प्रमुख हुँ । तर, मैले यहाँ यसलाई मुख्य कथा बनाउन आएको
होइन । यहाँ यस मञ्चबाट जे-जति कुरा भनिए पनि म एउटा कुरा स्पष्ट रूपमा भनियोस्
भन्ने सुनिश्चित गर्न आएको हुँ: भुक्तानी गर्न तयार रहेको देशले खरिद गर्न सक्षम
हुनुपर्छ र ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुऱ्याउन सक्ने विश्वसँग एउटा
किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैन ।
हामी बहुपक्षीयतामा विश्वास गरिरहन्छौं । यसैले हामीलाई यस्तो संयुक्त राष्ट्रसंघ
आवश्यक छ, जहाँ साना र गरिब देशहरूको उपस्थिति महसुस होस् र हामी न्यायपूर्ण
परिणामका लागि सँगै काम गर्न सकौं । त्यसैले जलवायु न्याय पैसाको विषयमात्रै होइन ।
यो खर्च कसले बेहोर्छ भन्ने वितरणात्मक न्यायको विषय हो । यो कसको आवाज सुनिन्छ
भन्ने प्रक्रियागत न्यायको विषय हो । साथै पर्वतीय समुदायहरू, साना
टापु राष्ट्रहरू, भूपरिवेष्ठित तथा कम विकसित देशहरू र जन्मिन बाँकी पुस्ताहरूको
भविष्यलाई समान रूपमा महत्व दिइन्छ कि दिइँदैन भन्ने विषय पनि हो । संयुक्त
राष्ट्रसंघमा भोलिदेखि आयोजना हुने 'सगरमाथादेखि समुद्रसम्म' साइड
इभेन्टबाट नेपाल यो संवादको नेतृत्व गर्न सहयोग गर्न तयार छ ।
श्रीमान् अध्यक्षज्यू तथा महामहिमज्यूहरू,
हामी अहिले गहिरो विश्वव्यापी अनिश्चितताको मोडमा उभिएका छौं । नयाँ
पुस्ताको चाहना प्रतिबिम्बित गर्ने ताजा लोकतान्त्रिक जनमतका साथ यस महासभामा
उपस्थित भएका छौं । हाम्रा युवाहरूले इमानदारी र जवाफदेहिताको राजनीति माग गरेका
छन् । यो पुस्तान्तरण राष्ट्रिय विषय मात्रै होइन । यो द्वन्द्व, असमानता
र न्यून अवसरविरुद्ध विश्वव्यापी जागरणको हिस्सा पनि हो । म नेतृत्वको सरकार एउटा
यस्तो राज्य निर्माणमा प्रतिबद्ध छ । जहाँ मर्यादित रोजगारी, सामाजिक
सुरक्षा र प्रत्येक नेपालीलाई आफ्नै घरमा बस्ने चाहना पूरा गर्ने अवसर प्राप्त हुनेछ
।
नेपालमा आएको बाढीले बढ्दो चरम मौसमी घटनाहरूबाट आकार लिने भविष्यको
संकेत गर्छ । त्यसैले हामी तत्कालको उपाय छाडेर दीर्घकालीन पूर्वतयारीको दिशातर्फ
अघि बढ्ने संस्कृतिको विकास गर्नुपर्छ । हामी उत्थानशीलताका लागि वित्तीय व्यवस्था
र बीमा तथा नवप्रवर्तनमा लगानी गरौं । अझ बलियो पूर्वाधार र संस्थाहरू निर्माण
गरौं । जीवाश्म इन्धनको निर्भरता घटाऔं । चेतावनी दिने, सचेत गराउने र
जीवन बचाउने प्रणाली निर्माण गरौं । कमजोरलाई सबैभन्दा कम शक्ति दिने व्यवस्थामा
सुधार गरौं । जब विश्वको छानोबाट अर्को चेतावनी आउँछः त्यो सुन्न तयार रहौं,
र त्यसैअनुसार काम गर्न पनि तयार रहौं ।
भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् !
यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् ! धन्यवाद ! नमस्ते
।
(न्युयोर्कमा १० असोज, शुक्रबार
संघको ८१ औँ महासभामा नेपालका प्रधानमंन्त्री वालेन्द्र शाहबाट
पाठ)
Comments
Post a Comment