छापे अडिटर

 छापे अडिटर


“हजुर ! आज त इमर्जेन्सी प¥यो । मेरो हिसाब चाहियो अडिटर महाशय !”


“किन नि ! आज महाशयको मान् ?”


“यो मलाई आपत परेर केही सहयोग पाइन्छ कि भनेर नि ।”


“कति निस्कियो मेरो हिसाब खै हेरुँ ?”


“ल हेर्नुस् । यही हो हजुरको हिसाब ।”


“जम्मा कति भयो हेर्नुुुस् त ?”


“जम्मा १३ हजार ९ सय नब्बे रुपियाँ निस्कियो ।”


“कसरी नि ?”


“यहाँ हजुरले नै लेख्नुभएको थियो । हेर्नुस् त । जम्मा १०९० पेजको छ यो हिसाब । यसमा स्यालरी सिट बनाएको १३० पेज । १२ महिनाको २ पेज एनुअल २ पेज । अनि यो रिसिप्ट २००० वटा टाइप अनि प्रिन्टको ४० पेजको २ सेट । फेरि रिसिप्टको आम्दानी लेजरहरु सम्पुर्णको १५० पेजको २ सेट ३०० पेज जम्मा । खर्चको पनि यी हेर्नुस् १०० पेजको २ सेट गरी २०० पेज । खर्चको लेजरको पनि १०० पेजको २ सेट गरी २०० पेज । अडिट रिपोर्टको ३६ पेजको ५ सेट जम्मा १८० पेज गरी भएको हो । अनि ।”


“अनि के नि ?”


“अनि ! त्यसको भ्यालुयसन गर्नुस् त जम्माजम्मी ४५२ पेज भइसक्यो । जुन स्यालरी सिट २६ पेज, रिसिप्ट ४० पेज, रिसिप्ट लेजर १५० पेज, खर्चको डे बुक १०० पेज, खर्चका लेजरहरु १०० पेज, अनि अडिट रिपोर्ट ३६ पेजको हो । जम्मा प्रति पेज २५को दरले टाइप गर्दा ११,३०० भयो । बाकी ५३८ पेजको प्रति पेज रु ५को दरले २६९० जोड्दा यसरी १३,९९० भयो ।”


“हेर्नुस् त ! यसमा हजुरले मलाई रु ५००मात्र दिनुभएको थियो । यस हिसाबले हजुरले मलाई १३ हजार ४सय नब्बे मात्र भयो ।”



“तर मैले त दिनुपर्ने कति पनि देख्दिन त ? कसरी यस्तो हुन गयो ? मैले त कति पनि दिन बाँकी छैन । मैले त बाँकी हिसाब तिरेको कागज फ्याँकिसकेको हुन्छु । नभए त मसँग बाँकी हिसाबको कागज बाँकी हुनुपर्ने नि ?”


विश्वास यसरी अडिटरसँग हिसाब माग्न गएको थियो जुन उसले ती हिसाबहरु अडिटरले भनेअनुसार एक्सेलमा गरेर अडिटरलाई बुझाएको थियो । जब उसले ती हिसाब बुझाएको थियो अडिटरले ती सबै डकुमेन्टलगायत ३६ पृष्ठको अडिट रिपोर्टमा पाँच मिनेट पनि नलगाई साइन ठोकी स्टाम्प पनि हान्न भ्याएको थियो ।


अडिटर यति पोख्त थियो कि उसले ठीक ठाउँमा साइन गरेर र ठीक ठाउँमा अडिट कम्पनीको छाप, कुनै पनि मिस्टेक नगरी लगाएर “यो छुटेको छ ।” भनी लेखा व्यावसायीको प्रमाणपत्र र उसको अडिट कम्पनीको हालसालैको आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रको फोटोकपीमा पनि “सक्कल बमोजिम नक्कल ठीक छ ।” भनी सहीछाप गरिसकेको थियो ।


विश्वासलाई लागेको थियो कि विश्वासले यसरी वर्षौ लगाएर हिसाब गर्दा पनि महिनाको १० हजार पाउन गाह्रो हुन्थ्यो तर अडिटरले वर्षको १ घण्टा पनि नआई विश्वासको साहुमार्फत ८५हजार टकटक आउने नोट गनेर लान्थ्यो । अडिटरले विश्वासलाई भन्दा विश्वासको साहुलाई “साइन गरे हुन्छ ?” भनी सोधेको थियो । साहुले हुन्छ भन्ने वित्तिकै तुफानसँग साइन गरेको थियो त्यो छापे अडिटरले ।


विस्वासले अडिटरलाई सोधेको थियो कि “किन चेक गर्नु नभएको ?”


जवाफमा अडिटरले उसलाई “म अस्पतालबाट आएको, ल ५०० रुपियाँ लिनुस् । चूप लाग्नुस् ।” भनी दिएको थियो ।


“को अस्पतालमा छ हजुरको ?”


“मेरी जहान नि ।”


“के भयो उहाँलाई ?”


“इमर्जेन्सीमा छ , म अस्पतालबाटै आएको हो । त्यसैले छिटै जानु परेर यस्तो भयो । मैले विश्वासजी ! तपाईंलाई दिन बाँकी तपाईले यी डकुमेन्ट बनाउँदाका हिसाब मेरो यो समस्या समाधान हुनेबेला ल्याइदिनुस् ।”


अडिटरले फेरि पैसा गन्यो र “ल गएँ ।” भन्दै गइ पनि हाल्यो ।


उसको मन मानेन, एकछिनमा अडिटरलाई फोन ग¥यो “हजुर सर ! फेरि पनि नमस्कार ! छ । हजुरले फेरि पैसा लिनलाई फोन गर्या भन्नुहोला । मैले हजुरको जहानको सुस्वास्थ्यको कामना गर्नलाई फोन गरेको हो । टेन्सन नलिनुहोला सर ! हजुरलाई जति बेला सुदृढ हुन्छ , आर्थिक अवस्था अनि एकदम आराम महसुस गर्नुहुन्छ त्यही बेला दिनुहोला । के भएको हो भाउजुलाई ?”


“प्यारालाइसिस भएको हो ।”


“ल सर टेन्सन नलिनुहोस् । डक्टरको सल्लाह बमोजिम गर्नुहोला ।”


“ल ल विश्वासजी ! धेरै धेरै धन्यवाद । यो तपाईंको हिसाब मैले खातामा पनि लेख्न भ्याउन्न किनकि म अस्पतालबाट कतिबेला आउने हो ठेगानै हुँदैन । मेरी बुढीलाई दिनरात मै कुरुवा बसिरहेको छु ।”


“त्यस्तै क्यै इमर्जेन्सी परे भने मलाई सम्झनुस् है ?”


यसरी उसले उक्त अडिटरलाई धेरै ठूलो ढाडस दिएको थियो । अडिटरकी जहान इमर्जेन्सी पर्दाका यी फ्ल्यास ब्याक सम्झँदै गर्दा ऊ फेरि वर्तमानमा आयो र अडिटरलाई फेरि भन्यो “अब त हजुरलाई एकदम आराम छ । त्यसैले मैले यी हिसाब लिएर आएको हो । मलाई १३ हजार ४ सय नब्बे मात्र भए  पुग्छ सर !”


“के रे के रे ? १३ हजार रे ? यो त हुनै सक्दैन ।”


यो कुराकानी हजुरबाट तपाईंमा आइसकेको थियो ।


“हेर्नुस् ! तपाईं्रले मलाई ज्यादती गर्दै हुनुहुन्छ ।”


“मेरो सम्झनामा आएसम्म मैले तपाईंलाई केही पनि दिन बाँकी छैन, मसँग लेजरमा पनि हिसाब त छैन ।”


“हेर्नुस् यस्तो मन्दी छ , तपाईंलाई इमर्जेन्सी पर्दा मैले हेरेपछि मलाई पनि हेर्नुप¥यो नि तपाईंले । झन् तपाईंले कम्प्युटर गर्न आउँदैन भनेकाले सबै मैले गरिदिएँ, कमसेकम प्रिन्ट र टाइपको पैसा त दिनुहोस् ।”


“मलाई जहाँसम्म लाग्छ त्यस्तो पैसा बाँकी गरी मैले कसैलाई पनि मारेको छैन । मलाई कसैलाई पनि मार्नु मन पर्दैन । यस्तो मारेर मैले खानुपरेको पनि छैन । मेरो त्यस्तो बानी पनि छैन ।”


“मलाई मारिहाल्नुभयो नि तपाईंले, पहिलेको काम पनि कन्टिन्यु दिएर काम मात्रै नरोक्नुभएको भए हुने नि ! बुढीको कारण देखाएर केही वास्ता पनि गर्नु भएन । त्यसबेला तपाईंको मानसिक स्थिति एकदम खराब थियो । मानवीय नाताले मैले तपाईंलाई त्यतिबेला दुःख दिन उचित ठानिन ।”


“हेर्नुस् विश्वासजी ! मलाई कुनै पनि सम्झनामा आएन ।”


“फेरि सम्झिनुस् त । आफ्नी बुढी इमर्जेन्सीमा लगेको पनि बिर्सिनुभयो ?”


“खै मलाई केही सम्झनामा आएन । यदि हो रहेछ भने म दिन तयार छु । तर मलाई कुनै सम्झनामा आएन ।”


“तपाईं त्यो बेला केके केके बर्बराएर गाइरहनु पनि भएको थियो । तपाईंले अडिट रिपोर्ट साइन गर्दा बुद्ध सरलाई पनि थाहा थियो कि तपाईंले ५ मिनेट पनि नलगाई ३६ पृष्ठको अडिट रिपोर्टको ५ सेटमा साइन गरेर बुढी इमर्जेन्सीमा छ भनेर ८५ हजार रुपियाँ लानुभएको थियो र ‘पछि मलाई सम्झाउनु है ? म यो ठूलो गुण कहिल्यै बिर्सन्न ।’ भनी जानुभएको थियो ।”


“तपाईंलाई चाहिने भए त्यही बेला लिनु भएको भए भइहाल्थ्यो नि । त्यति अगाडिको पैसा पनि बाँकी भैरहन्छ र । मलाई त विश्वासै भएन ।”


“ल ल कस्तो कुरा गर्नुहुन्छ सर । सम्झिनुसु त ? त्यो बेला तपाई बीर अस्पतालको इमर्जेन्सीबाट डाइरेक्ट आउनु भएको थियो र साइन गर्न सकाएर, ८५ हजार गनेर । पछि सम्झाउनुहोला भनी कांग्रेस पार्टीको गाना गाएको भनेर बर्बराउँदै जानुभएको थियो । केही सम्झिनु भएन ? मलाई आपत नपरेको भए अनि इमर्जेनसी नपरेको भए म आउँदिन नै भनेर बसेकोले पनि ढिलो भएको हो । अनि पैसा लिनु नपर्ने ठाउँमा लिन जानु पनि भएन नि ?”


“मैले सम्झँदा पनि सम्झिँदिन । तपाईंलाई पैसा दिन पनि बाँकी छैन । मेरो त रेटै त्यै हो । मेरो कामै यस्तो हो कि मैले साइन गरेकै पैसा आउँछ चाहे वर्षको एकचोटी ४ मिनेट साइन गर्नु परेता पनि ।”


“पहिले नै केही पनि नदिने भनी अडिट रिपोर्टमा साइन गरेको भए भइहाल्थ्यो नि । मलाई किन पछि मलाई सम्झाउनुस् भनेको नि ? अब आइन्दा मसँग टाइप गर्नुपर्यो, प्रिन्ट गर्नुपर्यो भनी नआउनुहोला । तपाईं्रको काम कुनै नबिगार्दा पनि किन मलाई यति साह्रो शोषण गर्नुहुन्छ ? म जस्तो मेहनती मजदूर मारेको पाप तपाइंलाई लाग्नेछ । त्यतिबेला तपाईंलाई बचाउन कोही पनि आउनेवाला छैन । पहिले नै दिन्न भनेको भए यति लामो महाभारत गरिरहनु नपर्ने नि । यो पापको फल तपाईंले भोग्नुपर्ने हुन्छ । मलाई कसैलाई मार्नु छैन भन्ने तपाईंले मलाई मार्नु भयो । तपाईंले दिन मन नभएपछि कसरी सम्झनामा आओस् ?”


“मैले भनीहालेँ नि । मेरो हिसाबमा नभएको म दिन सक्दिन ।”


२०८० फागुन २९

बिजु सुवेदी विजय






Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा