परमात्मा
१
भगवान ! तिमी र म मात्र रहेछौँ यो संसारमा
अरू कोही रहेनछ
असत्यले जति पीडा छ मलाई
त्यत्ति नै पीडा छ तिमीलाई
भगवानको कुरा सुन्नु ध्यान हो भन्छ
ध्यानबाट सबै आत्माको कुरा सुन्छु म
ध्यानबाट सबै आत्माको कुरा सुन्छौ तिमी
यहाँ म र केवल तिमी मात्रै छु
यहाँ तिम्रो कुरा म मात्र बुझ्छु
मेरो कुरा तिमी मात्र बुझ्छौ
न तिमीलाई ठूलो हुनु छ
न मलाई ठूलो हुनु छ
केवल धर्म–परायण हुनु छ
सायद यी आत्म–ज्ञानका कुरा हुन्
आत्म सबैमा छ
सबैमा आत्म छ
केवल खोल फरक छ
खोल यानेकी लुगा
कसैको लुगा दुषित छ
कसैको लुगा लुगै छ
त्यो खोललाई पनि शुद्ध पार्नु छ
आत्मा आफैमा शुद्ध हो
आत्मा कहिल्यै दुषित हुँदैन
दुषित त केवल खोल हुन्छ
आचरणको खोल हुन्छ
भौतीक खोल पनि हुन्छ
आचरण पनि धर्म परायण हुनु पर्छ
केवल केही छैन यो संसारमा
एउटा पढाइ छ
अनुभवले शिक्ष लिँदै जानु छ
भोगाइले खारिँदै जानु छ
बुजुर्ग बन्दै जानु छ
तर घमण्ड कहिल्यै गर्नु नपरोस्
त्यो जस्तै संसारमा पनि कायम रहिरहन्छ
धेरै के बोलुँ
सबै भगवानलाई थाहा छ
प्रत्येक शब्दको बोलाइ
प्रत्येक चिन्तनको घुमाइ
प्रत्येक ब्यक्तिको लेखाइ
प्रत्येक व्यक्तिको भावना
कि त जसले ब्यक्त ग¥यो उसले जान्दछ
कि त ईश्वरले जान्दछ
उसले जान्दछ को मतलब उसको आत्मा ईश्वरले जान्दछ
आत्मा यानेकी ईश्वर
एकै शब्दमा भन्नु पर्दा
हामी सबैका प्राण
आत्मारूपी ईश्वरले जान्दछ
ईश्वररूपी आत्माले जान्दछ
भगवान ! धेरै शिक्षा दिनु होला ।
२
तेरो दास म
मेरो दास तँ
तेरो पैतालाको धुलो म
मेरो पैतालाको धुलो तँ
तेरो बाबु म
मेरो बाबु तँ
तेरो गुरु म
मेरो गुरु तँ
तेरो शरणमा म
मेरो शरणमा तँ
यति अगाढ मित्रता
केवल तिम्रो र मेरो छ
कस्तो आत्मज्ञान
कस्तो अपार स्नेह
कस्तो अचाक्ली ममत्त्व
दुईको एकको
शरीर होइन यो आत्मा हो
आत्मा होइन यो परमात्मा हो
हो यो दीव्यज्योति
हो ! यो परमात्मा र स्वयम्को घनिष्ठता
३
शिक्षा प्राप्त भएपछि न्याय अन्याय, सत्य असत्य, थिति बेथिति छुट्याउन सक्ने हुन्छ । नराम्रो काम नगर्ने विवेक पलाउँछ । यसले गर्दा कसैले पनि जिन्दगीका हरेक मोड अनि कुइनेटामा कहिल्यै पनि छकाउन सक्दैन । हरेक मानिसले फाइदा लिएर धोका दिन खोजेको सहजै थाहा हुन्छ तर यही शिक्षाले गर्दा हरेक व्यक्तिको कुत्सित चाल थाहा हुन्छ । आज यहाँ कुनै पनि मानिस विवेकी देखिँदैन । जब शिक्षा थिएन सबै व्यक्ति राम्रा लाग्छन् र त सबै जना साथी हुन्छन् तर त यही कारणले साथी भएर सत्रुको रूप हुनुभन्दा साथी कोही पनि नभएर परमात्मा मात्रआफ्नो हुने संन्तसरिको यो मेधावी जीवन रहेछ । हे भगवन ! कसैलाई नराम्रो नजरले हेर्न नपरोस् ।
जतिसुकै बिर्सन खोजे पनि त्यो सम्झना हो । जतिसुकै लुकाउन खोजे पनि त्यो खजाना हो । जतिसुकै सुस्ताउन खोजे पनि त्यो विष्फोट हो । जतिसुकै अन्याय अत्याचार विरुद्धको त्यो न्यायीक हो । जतिसुकै पतझड उजाड, उराठमा त्यो वसन्त वहार हो । जतिसुकै कठोर बन्दीगृह विरुद्धको त्यो स्वतन्त्रता हो । जतिसुकै टाढिएको दूरीमा पनि त्यो समीप हो । जतिसुकै अधर्मको ताण्डवमा पनि त्यो आस्था हो । जतिसुकै बेइमानी विरुद्ध त्यो विश्वास हो । जतिसुकै कठिन प्रश्नको पनि त्यो सहज उत्तर हो । जतिसुकै डामाडोलको पनि त्यो समाधान हो । जतिसुकै कहरजहरको पनि त्यो अमृत हो । जतिसुकै ब्ल्याकहोलको अन्धकारले निलोस् त्यो जाज्वल्यमान दीपक हो । जतिसुकै शून्य भनिए पनि त्यो अनन्त आकाश हो । हो ! हो !! हो !!!जतिसुकै मारिए पनि त्यो आत्मा हो । यावत् यी माथिका नकारात्मक असहज प्रश्नको इगो अभिमान जब आत्माले छोड्छ तब अस्तित्त्वका संरक्षक परमात्मासँग लीन हुन्छौ हामी ।
हिँडिरहेछु म । तिम्रो अस्तित्त्वमा नै मेरो अस्तित्त्व छ । अब कसैले पनि अस्तित्त्व संकटमा पार्न नपरोस् । मलाई जति सहारा दियौ त्यति नै सबैले सहारा पाउन् । मैले त्यही सहारामा तिमीलाई पुकारिरहेको छु । तिमी आधार हौ । तिमी माया र स्नेहले भरिपुर्ण छौ । सँगै मर्ने सँगै बाँच्ने कसम खाएकाहरू कति आए कति गए , हजारौँ लाखौँ पुस्ता विति गए तर तिमी आत्माको आधार परमात्मा हौ । अमरताको अस्तित्त्वमा पनि सबमा अमरताकै लालसा छ त्यो तुच्छ शरीरको । मलाई यस्ता मोह, मायाजालबाट छुटकारा दिलाऊ प्रभु ! म तिम्रो असीम प्रेममा लिप्त हुन चाहन्छु ।
दायित्त्व मैले विर्सेको छैन । भूल मैले गरेजस्तो लाग्छ । भूल गरेका भए माफी चाहन्छु । असल कामको बोध गराइदेऊ । प्रत्येक कुराहरू खुराफाती छन्, बुझ्न समय लाग्न सक्छ । बुझ्ने बोध मलाई गराइदेऊ । असल बनेर तपाईं भगवानलाई मद्दत गर्न सकुँ । हरेक समस्या समाधान गर्न सकुँ । यो देह सबैको चम्किलो, चहकिलो, आत्मीय प्रेमवोधक बनाइदेऊ । अन्यमनस्कमा नलैजाऊ । साँचो कुरा के हो ? असल कुरा के हो ? समाजलाई हित हुने कुरा के हो ? यो निकै गहिरो छ । यो मलाई बोध गराइदेऊ । कसैलाई अहित नहुने गरी सबैलाई हित गर्न पाऊँ । यही नै मेरा पूजा, उपासना, भावना, वन्दना, अर्चना हुन् जसले सबैलाई मुग्ध पारुन् । सायद मैले केही पनि जानेको छैन । कहिँ पनि हिँड्न पाएको छैन । म अवोधलाई वोध गराइदेऊ ।
मलाई एकान्त धेरै प्यारो लाग्छ , जुन बेला मैले चिन्तन अनि मनन गर्न सक्छु । एक चित्त भएर ध्यान लगाएर कुनै पनि विषयमा एकाग्र हुन सक्छु । यो एकाग्रतामा धेरै शक्ति हुन्छ । परमेश्वरसँग यसै समयमा साक्षात्कार हुन्छु । असीम आनन्द प्राप्त गर्छु । सबैको भलाइको कामना गर्छु । संसारमा सत्य सदाचार कायम रहोस् अनि न्याय, सबैतिर कायम होस् । यही कामना सर्वशक्तिमानसमक्ष गरिरहेको छु । धेरै अगाढ विश्वास पनि गरिरहेको छु । मेरो भलाइभन्दा पहिले मभन्दा कठिनाइ झेलिरहेकाहरूको पहिले पालो आओस् । मलाई सुवोल गर्ने शक्ति दिनुहोस् । यही आत्मीय मायाप्रेम सद्भाव सबैमा पलाओस् । हे भगवान ! हे पुन्यदेव ! मलाई यस्तै कार्य गर्ने हौसला अनि शक्ति दिनुहोस् ।
प्रेमिकासँगको विछोड, प्रेमीसँगको विछोड, नितान्त एक्लोपन जहाँ बैरागको सुरुवात । सबका सब नियास्रो ! खल्लो ! सबै व्यर्थ भएको चाल पाएँ । संसारिकहरूको कटु हेराइ ! मनलाई समाल्न धेरै गाह्रो हुँदोरहेछ । सांसारिकहरूको कटाक्षले झन् मन विथोलिदिन्छ । यही बेला कतै कसैको साथ नपाउँदा एकमात्र तपाईं सर्वशक्तिमान पुकार्न पुग्छु । तपाईंसँग जोडिन पुग्छु । आहा ! यो जति पवित्र पुकार अरू के होला !!! जब मैले यो महसुस गरेँ साँसारिकलाई केही रेसा पनि भेउ नै भएन मेरो त शर्वशक्तिमानसँग साक्षात्कार भइसकेछ । जति बेला पहिले मैले धेरै जानेको छु भनेर घोर अन्जान थिएँ अहिले उनीहरूलाई त्यस्तै पाएँ , विचरा ! उनीहरूले मलाई भट्किएको आत्मा भन्न भ्याएछ । परमात्मा सर्वशक्तिमान प्रभु ! उहाँहरूको पनि बाटो नभट्काइदिनुहोस् । ममा पनि कहिल्यै घमण्डीपन नआओस् ।
परमात्मासँगको साक्षात्कारको मीठो पल अति नै अविस्मरणीय भए । यसलाई साँच्न पाए कति हुन्थ्यो । यो असीम आनन्द अझै खट्किएको छ । सायदै योभन्दा राम्रो पल, खुसीको पल, असल पल सायदै अरू छैन । यो पल साँच्ने अरू उपाय पनि छ , त्यो हो हामीभन्दा धेरै दुःख पाएकाहरूलाई सुखतिर मोड्ने कार्य । यो कार्य जब सफल हुन्छ अनि परमात्मा भेटेसरि नै हुन्छ । त्यसैले दीनको सुख नै परमात्मासँगको मीलन हो ।
कोही पनि नराम्रा हुँदैनन् । सबै नराम्रो आफुमात्रै राम्रो ! यो हेराइ नै नकारात्मक छ । यसले त संसारदेखि विरक्त गराइदिन्छ । उहाँहरूका पनि विवसता होलान् । केही कारणले उहाँहरू खराब बन्नु भयो होला । उहाँहरूलाई पनि असल बन्न मन त होला । असल बन्न नजानेको पनि हुन सक्छ । उहाँहरूमा शिक्षाको ज्योतिले अन्धकार मेटाउने प्रगत्योन्मुख विचारको प्रवाहले उहाँहरूका सत्य र न्यायप्रति निष्ठा जगाइदिनुहोला । कसैलाई पनि दुर्व्यवहार गर्न नपरोस् । कसैलाई पनि नराम्रो नजरले हेर्ने आँखा हटाइदिनुहोला । यो नराम्रो अनि नकारात्मक कुरा सबै मनमा पनि कसैको नआओस् । सबैतिर यति प्रेम भाव फैलियोस् कि म पनि मेहनत गर्नेछु , परमात्मा परमेश्वर ! उहाँहरूलाई पनि अनि मलाई पनि सत्य र न्यायप्रति सधैँ आस्था जगाइदिनुहोस् ।
परमात्माको झलकको आत्मसन्तुष्टि यो वर्णन गर्न सकिने कुरो होइन । जब संसारको भलाइ गर्ने भित्री मनदेखि इच्छा जाग्यो । जस्तोसुकै परिस्थितिमा पनि दीनको अन्त्य गर्ने कफन बाँधेर कसम खाएँ । त्यहाँबाट कदापि डेगै चालिन । पराइको हितसिवाय अरू केही मागिन । त्यहीँदेखि उहाँको साक्षात्कार भयो । परम् यी सर्वशक्तिमानको असल छालहरू सुनामीसरि फैलिएर मरुभूमिमा पनि सिँचित भइरहोस् ! यही कामना गर्दछु । सुगन्धले दुषित वातावरण सबै शुद्ध पारिदिनुहोस् । सबैतिर बहार फैलियोस् ।
सोह्र वर्षे जोवन आएको थियो । फूल टनक्क फुलेको थियो । यौवनको उन्माद थियो । ऐनामा जति हेरे पनि राम्रो अनि अति राम्रो लाग्थ्यो । ऐना हेरिरहुँ लाग्थ्यो । फोटो खिचिरहुँ लाग्थ्यो । नाचेर भिडियो खिचिरहुँ लाग्थ्यो । यो उन्मादको नोस्टाल्जिक रमणीय सम्झनामा पनि म परमात्मा नै सम्झन्छु कि मैले मभन्दा राम्रो असल परमात्मालाई विर्सिएको रहेछु । किन म मात्रै राम्रोमा भुलेँ ? अरूलाई पनि यस्तै राम्रो नजरले हेर्ने शक्ति एवम् सत्कर्म देऊ, हे शर्वशक्तिमान !
परमात्माविना उज्यालोमा अन्धो हुन्छु म । साथ नपाउँदा दुःखको बाढी आउँछ , ठोक्किएर लडेको भान हुन्छ । दुःख नै दुःख जीवनको यात्राभरी आइरहन्छन् । अनेकौँ समस्याले ग्रस्त छु । फूल ओइलाएसरि छ जीवन । मनको प्यास मेटिँदैन । यस्तोमा एउटै आश मात्र शर्वशक्तिमानसँग साक्षत्कार हुनु लक्ष लिएको छु । हे परमात्मा ! मलाई सद्बु्द्धि दिनुहोस्, मैले कसैसँग झगडा गर्न नपरोस् । यो दुःखको सुनामीबाट हजुरको नौकाले पार लगाइदिनुहोस् । प्रेमभावको सुगन्ध सबैतिर छाइरहोस् ।
ईंश्वरलाई बुझेँ भनेर ईश्वरलाई नाना परिभाषित गरेर ईश्वरलाई नै हामीले ह्रास कट्टी गरिरहेका छौँ । हे ईश्वर ! तिमी त सर्वशक्तिमान कानुनमा बाँधिएका छौ जति हामी पनि त्यसरी नै बाँधिएका त छौँ । यो ब्रह्माण्डीय कानुनको समताले नै सबैलाई समान बनाएको छ । ईश्वरलाई कसले के भन्ने ? कसले कुन रूपमा मान्ने ? आदि कारणले सयभन्दा बढी धर्म अनि विज्ञानका दर्शनहरू छन् । तैपनि कसैले पत्तै लगाउन सकेनन् । हामी त बस् ईंश्वरका रोबोट हौँ, उसको इच्छा विपरीत डेग चाल्ने त के हामी केही सोच्न पनि सक्दैनौँ । हे ईश्वर ! हामी सबै जीवलगायत मानवलाई पनि सुख, शान्ति, अमन, चैन अनि समता ल्याइदेऊ । खललता कतै पनि नहोस् ।
आफन्त तिमीले बनाऊ ईश्वरलाई अनि कहिल्यै तिमीलाई धोका हुँदैन । आफन्त कहिल्यै नबनाऊ, कुनै व्यक्तिलाई किनकि तिमीले उसबाट धेरै अपेक्षा गर्न थाल्नेछौ । जब अपेक्षाअनुसार परिणाम आउँदैन तिमीलाई आफन्त पनि पराइ लाग्न थाल्नेछ । त्यसैले ईश्वरलाई हेर ! ईश्वरको सृष्टि प्रकृतिलाई हेर ! निजि विचार छोडिदेऊ । व्यक्तिलाई छोड । जलेर आगोले उज्यालो दिन छोड्दैन । शित्तलता पानीले प्यास मेटाउन छोड्दैन । हामीलाई पनि यस्तै राम्रा जिम्मेबारी दिनुहोस् । हे परम प्रभु !
तिमी एकले जति कुराए पनि म कुरिदिन्छु । तिमीले समय दिएकै समयमा, भनेकै ठीक ठाउँमा आइरहेको छु । के मेरो माया काफी छैन यो । तिमीले भनेकै पहिरनमा आइदिन्छु । तिमीलाई मन परेका कुराहरू नै उपभोग गराइदिन्छु । के यो माया तिमीले बुझिनौ ? के हामी ईश्वरलाई यति मात्र समर्पण गर्न किन सक्दैनौँ ? ईश्वर त घटघटमा हुनुहुन्छ । ईश्वरलाई तिम्रो पलपल थाहा हुन्छ तर त्यही ईश्वरलाई तिमी प्रलोभन दिएर नराम्रो काममा लाग्छौ । अनि ईश्वर पुकारेर काम गरेको पनि सफल भएन भन्छौ । त्यसैले छलले होइन, साम, दाम, दण्ड, भेदको तिकडमले होइन ! सत्यले पूज । तिम्रो न्याय तिम्रो दैलो मै छ ।
आफु मरेर मलामी गएको पनि म देख्दैछु । के यो कल्पना हो ? के यो सपना हो ? के मेरो आकृति म होइन ? अवश्य नै तपाईंले म भनेर जसलाई देख्नुभएको छ त्यो तपाईं हुँदै होइन । तपाईंको उद्देश्य के हो ? तपाईंलाई थाहा छैन । त्यसैले त तपाईं मरेको तपाईंलाई नै थाहा छैन । तपाईंको शरीर त तपाईंको लुगा हो । तपाईं त आत्मा हो । परमात्मामा जान त अरू यस्तै अभिमानको इगो छोड्नु आवश्यक छ बल्ल तपाईंले तपाईंको परमात्मा जान्नुहुन्छ । अनि बल्ल समताको परिभाषा र महत्त्व तपाईंलाई थाहा हुन्छ । यही नै त हो आत्मज्ञान । हे परमात्मा ! यस्ता थुप्रै भलाइ हुने कुराहरूको बोध गराइदेऊ ।
उनी आउँदा मन रम्छ अति । उनी नहुँदा सधैँ मनमा हुन्छ खती । मेरो भयो यो प्रेमिल गति । तिम्रा लागि म जान सक्छु सती । चाहे आकाशको उचाइ अनि पातालको गहिराइसम्म जान परोस् तिमीलाई नै चाहन्छु । योभन्दा बढी भगवानले हामीलाई ईश्वरीय देन दिएका छन् । यी जाज्वल्यमान पुन्यदेवलाई सदाचारयुक्त नमन ! सत्कार्यको प्रभातको सुभेच्छा सबैलाई प्राप्त भइरहोस् । यसरी सदा आत्मीय साथ पाऊँ ।
बालापन एउटा निश्छल समय हो । कुनै पनि कुरामा अवगुण देखिन्न । कसैलाई पनि नराम्रो देखिन्न । यही असल गुण, सकारात्मक दृष्टिले युक्त यो जीवन हो तर हामीलाई समयको गतिसँगै दुनियाँदारीको रीतिले खप्लक्कै निलिसकेको छ । सबैजना स्वार्थी भइसकेका छन् । यदि सबैमा बालापन भए अझै सबै देवता बन्न सक्छन् । निश्छल मनको माध्यमबाट संसारै स्वर्ग बन्न सक्छ । हे प्रभु ! दुनियँका यावत् सृष्टि सबैमा बालापन फर्काइदेऊ ।
सपना बनी गए ती पहिलेका कुरा । ती कुरा सब अहिले स्मृतिमा मात्रै छन् । ती कुराको लेखाजोखाले वर्तमानको प्रत्येक पल एउटा स्वर्णीम हीरीलो यात्रालाई मनोरम बनाउने प्रकृयामा अघि बढाइरहेको छु । इतिहासका पानाहरूका सकारात्मक कुराहरू लिएरै मानव सभ्यता अनि प्रकृतिमा पनि विकास भएर यो चरमचुलीमा पुगेको हो । यही कुरालाई मनन गर्ने शिक्षा दिएर ए भगवन ! तपाईंले हामीजस्ता तुच्छ प्राणीलाई जीवनोपयोगी बनाइदिनुभयो । हामी सबैलाई यसरी नै जिम्मेबार बनाइदिनुहोस् ।
आहा ! त्यो पल कति रमाइलो हुने थियो कि जब मैले आफ्ना बालापनका अभिन्न साथीलाई कल्पिरहेको थिएँ । कल्पनैमा पनि रमाइलो हुने कति अभिन्न साथी थिए उनी । त्यस्तै कल्पीकल्पी बाटोमा हिँडिरहँदा अचानक उनलाई भेट्दा दैवलाई धेरै ठूलो धन्यवाद दिएँ । पहिलेका हामीले चुलबुल भै खेलेका खेलका फेहरिस्तहरू अगाडि झलमल नाच्न थाले । उनले पनि त त्यही सोचेका होलान् । हामी दुबै मुस्कानमै ती कुरा गर्यौँ । त्यो अविष्मरणीय पल कहिल्यै भुल्दिन । परमेश्वर प्रभु ! ईश्वर ! तपाईं पनि त्यतिकै आत्मीय साथी हुनुहुन्छ । हजुर पनि घटघटमा हुनुहुन्छ । हजुरलाई पो मेरा कृयाकलाप पुरै थाहा छ । हजुरका पनि नजरले हामीलाई बालापनसरि स्वच्छ पारिदिनुहोला । हामी सबै यावत् प्राणी स्वच्छतामा रम्न पाऊँ ।
मेरा सबै भावनाहरू मेरा गीतहरू हुन् । भावना हाँस्दा मेरो गीतमा रुमानी प्रेमील भाव आउँछ । भावना रुँदा कारुणिक व्यथा उर्लिन्छ , मुटु छियाछिया हुन्छ । भावना छमछमी नाचिदिँदा म पनि पागलसरि नाचिदिन्छु । शरीरैभरि ऊर्जा आउँछ । चाहे सकारात्मक होस् या नकारात्मक, जताजता भावना त्यतात्यता म । भावनाविना म विचार शून्य हुन्छु । भावनाले नै मलाई संवेदनशील बनाइदिएको छ । सबैप्रति सद्भाव उर्ल्याइदिएको छ । मलाई मनपर्ने भावना भनेको आफुभन्दा पीडितले पहिले राहतको प्राथमिकता पाउनु नै हो । यस्तोमा पालो कुरिरहँदा मेरो भावना अचाक्लि खुसी हुन्छ । कहिल्यै भावनाविपरीत विमुख हुन नपरोस् । सबैमा भावना पलाओस् । सबैलाई सकारात्मकताले भरिदिनुहोला । हे भगवान ! हे दयावान ! सबैलाई संवेदनशील भावनारूपी अमृत रस बर्साइदिनुहोस् ।
यो लौकिक संसारमा अनेकौँ ग्रह मण्डलका बीच उज्यालो र अँध्यारोको पारि पवित्र बन्ने कसरी ? हो यो प्रश्नले खल्बल्याउँछ । यसो हेर्दा सीमितता जस्तो तर असीमित स्थानमा तरङ्गित भएर रहस्यमय सृष्टिमा कसैको छैन दूर दृष्टि अनि संवेदनशील बुद्धका आँखाले अझै न्याय अन्याय छुट्याउन सकेका छैनन् जस्तो लाग्छ ? तर भेउ मैले पाएको छैन । संसार चक्र अनन्त चुम्बकिय अक्षमा घुमिरहेको छ । कस्तो ब्रह्माण्डीय कानुनको माध्यमबाट ? यो तुच्छ जीवलाई के थाहा ? न छेउ न टुप्पो ! एकमा अनेक अनि अनेकमा एक, सादादेखि रङ्गीन हुँदै बहुआयामिकसम्म, विछट्टै विचारका सिलसिलाहरू आइरहेछन् । को कता छ ? को कहाँ छ ? कसैलाई सियोको टुप्पोजति पनि भेउ छैन । हे ईंश्वर ! सबैलाई बोध गराई न्यायीक मार्गमा डो¥याइदिनुहोला । यस वृहद् संसारका अगाडि म पनि अन्जान नै छु ।
ईश्वर कस्तो छ ? यो हामीभन्दा विशाल छ ? वा सूक्ष्म छ ? निरन्जन वा निराकार छ ? हामी जस्तो छौँ, जस्तो सोच्छौँ त्यस्तै ईश्वर बनाउँछौँ । ईश्वरको अस्तित्त्व छ ? अथवा ईश्वरलाई बनाउने को होला ? ईश्वरलाई प्रत्येक फरकफरक दर्शनले बनाए पनि, यसलाई फरकफरक परिभाषित गर्ने धृष्टतासिवाय अरू के भन्ने ? बरु व्रह्माण्डीय सूत्रमा सारा ब्रह्माण्ड चलायमान छन् । सिवाय व्रह्माण्डीय सूत्र सबै परिवर्तनशील छन् । अनि ईश्वर कता गए त ? सृष्टिका सर्वशक्तिमान ईश्वरलाई सयभन्दा बढी धर्मले फरकफरक रूपले परिभाषित गरिरहे पनि ईश्वरको भेउ पाउन सकिएन । के ईश्वर खोतल्ने कुरा हो ? घटघटमा ईश्वर छन् । हामीले चाल्ने प्रत्येक चालको भेउ ईश्वरले पाएका छन् तर ईश्वरसँग यस्तो अनभिज्ञता ! त्यसैले त हामी अज्ञानी छौँ । हामी धेरै सूक्ष्म जीव हौँ यस वृहद् ब्रह्माण्डका अगाडि । ईश्वरलाई सकारात्मकरूपमा हेरौँ । सर्वत्र समानता त्यो नै ईश्वर हो, अरू सबै नश्वर हो ।
तिमी आयौ सुवास आयो । तिमी कहाँ थियो मलाई थाहा थिएन तिमी अन्धकारमा चिराग बनी आयौ । अन्धकार मशालले हटायौ । तिम्रो आशीर्वाद सानालाई छ , तिमीप्रति आदर सानाको छ तर तिमीले सबैलाई साथीत्त्वमा हेर्छौ । दिन पनि डुबेको हुन्न, रात पनि डुबेको हुन्न तर हाम्रो संसारको रीतमा मात्र यो हुन्छ । यस्ता अनेकौँ लोक हुन्छन् । त्यस्तो जिन्दगीको भेउ पाउन तिम्रो शरणमा आएको छु । व्रह्माण्डीय संसारमा यस्ता अनेकौँ लोक होलान्, हाम्रो संसारलाई राम्रो अनि असलपनले भरिदिनुहोस् । सम्पुर्ण ब्रह्माण्ड नै हामी एक परिवार हौँ । सर्वत्र कल्याण गरिदिनुहोला ।
खेल्दाखेल्दै दिन विते । खेल्दा खेल्दै रात विते । तैपनि रमाइलो सकिँदैन । त्यो हो बालापन । धेरै रमाइलो अनि सम्झीसम्झी पनि अहिले पनि निकै रमाइलो हुने नोस्टाल्जिक बालापन । त्यो वालापन अब यो जुनीमा फर्कंदैन । त्यो वालापनमा भगवानको वास थियो । अहिले हामी अझै सम्झीसम्झी आनन्दित हुन सक्छौँ । यही हो भगवानसँगको समीप पनि । भगवान ! हे ईश्वर ! हामी यावत् प्राणीहरूलाई सधैँका लागि यो बालापन फर्काइदिनुहोस् । भावविभोर भइकन यस्ता हजुर परमात्मासँग आस्था जगाएर प्रेम गराइदिनुहोस् ।
यो मनोरम हरियाली, यो नीलो नभको छतमा, यो सेतो चाँदी झैँ टल्कने बादलको घुम्टोमा, प्रकाश चियाइरहेको छ इन्द्रेणी रङ्ग प्रिज्मले दिएसरि, यी फूलहरूका महकले स्वर्गतुल्य छन् यस हाम्रो टेकाको धर्ती पृथ्वी ! यी सबै हाम्रै लागि बनेका हुन् । चराको चिरविर, कोइलीको कुहुकुहु, मृगको फुत्रुकफुत्रुक, पुतलीको फर्लकफर्लक आहा ! कति राम्रो स्वर्ग । सुनौलो विहानीको किरण हिमशृङ्खलामा हीरीलो छटा जति बर्णन गरे पनि साध्यै छैन । यो स्वर्ग हाम्रै धर्तीमा छ । देख्ने आँखा त्यो सुन्दर हुनुपर्छ । सबै कुरा भगवानले हाम्रै लागि बनाएका हुन् । धन्य ईश्वर ! धन्य भगवान ! धन्य प्राणदाता ! धन्य परमात्मा शर्वशक्तिमान व्रह्माण्डीय सूत्र ! सकारात्मक सोचले सबैलाई राम्रो बनाइदेऊ ।
कसैसँग पनि चाहिनेभन्दा बढी अपेक्षा गर्नु हुँदैन, यसले त दलदलमा फसाउँछ तर ईश्वरप्रति भने चाहिनेभन्दा बढी अपेक्षा राख्नुपर्छ किनकि हामीलाई चाहिनेभन्दा अत्यन्तै बढी पनि ईश्वरका लागि तृण बराबर पनि हुँदैन । यदि मैले हजुर ईश्वरलाई आत्मीय अगाढ स्नेह गर्दा कसैलाई नोक्सान पर्न गएको छ भने त्यस्तो कार्यले कसैलाई पनि व्यथाबाधा नहोस् । हजुर कृपालु ईश्वरका तर्फबाट सबैतिर लाभैलाभ, जितैजित अनि खुसीयाली नै खुसीयालीको सदा उमङ्ग छाइरहोस् । अविरल झरी परिरहेको छ । सधैँ हिँड्ने कमिलालाई के भयो होला ? कमिलाका ताँती देखिँदैन । चिरविरचिरविर, चिहाँचिहाँ, कुकूकुकू गर्ने चराहरू कता गए होलान् ? उनीहरूको गुँड पनि भिजेर झर्न खोजिरहेको छ । वादल गड्याङगुडुङ गरिरहेको छ । यो दैविप्रकोपले कसैलाई बाँच्न दिएन । म भावविह्वल भइरहेको छु । म मानिस भएर बाँचेको व्यर्थ लागिरहेछ । त्यसमाथि बेगले छाता उल्टो पार्ने गरी आएको हुरीले सबै विरुवा छताछुल्ल पारिरहेको छ । रूखको जग ढाडिएर रूख पनि ढल्न लागिसक्यो । कठै ! ती गुँडहरू जुन रूखमा थिए ती सबैमा भुइँचालो लाग्यो । हरे दैव ! के गल्ती थियो ती निश्छल सोझा प्राणीहरूको ! समाचार आयो कि झुपडीमा बस्ने सुकुम्बासी बस्तीको पनि झनै विस्मयकारी अवस्था छ । त्यहाँ पनि रूखविरुवाहरू ढलेका छन् । अस्तीत्त्व संकटमा छ । हे परमात्मा ! हे ईश्वर ! हे व्रह्माण्डीय कानून हजुरका मार्फत केही आभास पाएर अलिकति खुसी भएर उहाँहरूको शुभकामनाका लागि हजुरलाई पुकारेको छु । हे दैव ! मलाई दुःख दिएरै भए पनि निर्दोष प्राणीहरूलाई रक्षा गरिदिनुहोला ।
प्रेम यत्ति पवित्र छ ! कि जब कसैको कसैसित प्रेम पर्छ उसको खुसीका लागि आफ्नो सर्वस्व गुमाउन तयार भइदिन्छ , आफुले जस्तोसुकै कष्ट सहन तयार भइदिन्छ । त्यो प्रेमीबाट कुनै आशा पनि गरिन्न तर उसको भलाइका लागि आतुरताका साथ जे सुकै गर्न तयार भइदिन्छ । उसलाई भलो गर्ने एकमात्र उद्देश्य पलाइदिन्छ चाहे ऊ जतिसुकै टाढाको नाता किन नहोस् । अझ उसलाई आफुले गरेको सहयोगको भेउ पनि पाउन दिँदैन । त्यसैले यो निजि स्वार्थ नभएको परोपकारी प्रेम जति पवित्र अरू कुनै पनि छैन । जब प्रेम जान्यो उसले धर्मको पनि धर्म जान्यो अनि कर्मको पनि कर्म जान्यो । त्यसर्थ प्रेम नै भगवान हो । प्रेमिल भगवानलाई चिनौँ, केही आशा नगरौँ तर सबै कुरा यसैको आडमा अबश्यै परिपुर्ण भइदिन्छ । यो सच्चा कर्मको माध्यमबाट । प्रेमिका हाँसिदिँदा खुसी हुने, उनी दुःखी हुँदा घोर निराशा हुने, सब कुरा प्रेमिकाकै लागि गर्न मनपर्ने । एकोहोरो सोचाइ प्रेमिकाप्रति मात्रै । अलिकति छेउ नपर्दा घोर निरास हुने, समीप आउँदा अचाक्ली रमाइलो हुने । साथीभन्दा धेरै माथि, विश्वासभन्दा धेरै विश्वास यही त हो फक्रेको मायाको फूल । यही स्नेहलाई अझ प्रगाढ पार्दै परमात्मामा लीन गरेर म दीनहरूप्रति समर्पण गर्न चाहन्छु एउटा सुफी फकिरसरि ।
सबैजना आपतमा तिमीलाई सम्झन्छन् । सफल भएँ भने यो गर्ने ऊ गर्ने भनी घुस दिन्छन् । तिमी भने हाँसिरहन्छौ । तिम्रै सृष्टिले तिमीसँग खेलबाड गर्न खोजेको जानेर पनि तिमी लीला देखाइरहन्छौ । म त के हुँ र ! फगत तुच्छ प्राणी ! तिमीलाई देखेर आँखा पनि त्यहीँ छोड्ने मान्छे । तिमीलाई सुनेर कान पनि त्यही छोड्ने मान्छे । तिमीलाई भेटेर शरीरै तिमी कहाँ छोड्ने मान्छे । तिमी कस्तो छ मलाई थाहा छैन । तिम्रो पनि आकार खोजिरहेको थिएँ तर लाग्यो कि अनि बोध भयो तिम्रो आकृति बनाउने धृष्टता म गर्न सक्दिन । तिमी साकार, निराकार, तरङ्ग, सर्वव्यापक, बहुआयामिक जे भए पनि मैले केही पनि भेउ पाउन सकिन । हे विधाता ! तिमी जे भए पनि कल्याण गरिदेऊ सबैलाई ।
मैले मेरो हिसाबले तिमीलाई हेर्ने धृष्टता गरेको छु । मैले भूल गरेका भए क्षमाप्रार्थी छु । यदि म लडेको छु भने मलाई थाहा नभएको होला । म अझै पनि बामे सर्ने बालकको अवस्थामा छु । म हिँडेर सारा संसारको भलाइ गर्न चाहन्छु । तिमी जस्तोसुकै भए पनि मैले मेरो हिसाबले तिम्रो सहारामा दुनियँलाई राम्रो गर्ने ध्येय लिएको छु । यी कुराहरू हजुरको सहारामा अभिभावकत्त्वमा सधैँ पुरा गर्न पाऊँ । सबैलाई अनि मलाई पनि शिक्षाको दीव्यज्योतिले मङ्गल गरिदिनुहोस् । मजस्तो अवोधलाई यी राम्रा वोधहरु आभास दिलाई अभिव्यक्त गराइदिनुभएकामा धेरैधेरै आभारी छु । सर्वत्र लाभै लाभ कायम होस् ।
आदिदेव, निर्गुण, साकार, निराकार, अनन्त
सत्य, अपार, विराट्, आशुतोष, महामाया
महाकल्याणकारी, अनुष्ठाता, महाध्यानी, महाशक्ति
सम्पुर्ण रचनाका स्रष्टा, नीतिकार, व्याख्याता, मर्यादापालक
मानव, देव, दानव, सम्पुर्ण जीवात्मा चराचरमा भेद नगरी कर्म गर्ने
दीव्यता, एकता, समताका पनि समता, मुक्तिदाता
उद्धारक, ब्रह्माण्ड नायक, सर्वोच्च परमेश्वर, परम पवित्र प्रभु
यस्ता परमका परमलार्ई दीनलाई अत्यधिक खुसी तुल्याई
त्यसैले परोपकारी बनी मद्दत गरौँ ।
आकाशको गहिराइ अनि विशालतासम्मका ईश्वरलाई पुकारिरहेको छु । शून्यको विन्दुसम्मका निरन्जन निराकार परव्रह्मलाई पुकारिरहेको छु । यस सृष्टि, पुरै ब्रह्माण्डीय अभिभावक परम पिता ! तपाईंलाई पुकारिरहेको छु । व्रह्माण्डीय सर्व शक्तिमान कानून जुन सूत्रले सारा व्रह्माण्डको अस्तित्त्व छ , यस्ता परमलाई पुकारिरहेको छु । हे समानताका महा समानता ! हे ईश्वरका पनि ईश्वर ! महाईश्वर ! देवताका पनि देवता ! महादेव ! हे भोले बाबा । मेरो यो तपस्या पुर्ण गरिदिनुहोला । मलाई जति कष्ट भए पनि मभन्दा दुःखीहरूलाई पहिले कल्याण गरिदिनुहोला, कलीयुगको घोर अन्धकार हटाई सत्ययुगको चहकिलो प्रभातको कुन्ज ल्याइदिनुहोला ।
२०८० फागुन २५ आजको पावन महाशिवरात्रिको महाअवसरको शुभकामनासहित
बिजु सुवेदी विजय
bijusubedi@gmail.com
मेरो बारेमा छोटो जानकारी एक वाक्यमा :—
हालै २०८० जेठ ७ मा मेरो रत्न पुस्तक भण्डार, बागवजारबाट “शान्ति सम्झौता” पुस्तक प्रकाशित भएको छ ।

Comments
Post a Comment