अब त म अडिट गर्दै गर्दिन

 “भो अब त म अडिट गर्दै गर्दिन” कथाको दोस्रो भाग “अब त म अडिट गर्दै गर्दिन” शीर्षकको कथा


 यहाँ प्रस्तुत छ :—


अब त म अडिट गर्दै गर्दिन


विश्वासले राम्रोसँग नियमानुसार विद्यालयको कार्य गर्छु भन्दाभन्दै उसलाई सबैले लप्पनछप्पनका कुराहरू सिकाइरहे र भने “तिमीले काम गर्न जानेका छैनौ । यो ट्रेनिङ पिरियडमा तिमीले राम्रो गरेमा मात्र तिम्रो तरक्की हुन्छ , नत्र तिमीले ठूलो दुःख पाउनेछौ ।” तर विश्वासले टेरपुछर लाएन । हुन पनि विश्वासले आफुले जानेजतिका हिसाबका प्रविधिका सूत्रहरू पढाएर थुप्रै सि.ए. जन्माइसकेको थियो तर यहाँ उसले कार्य गरेको ठाउँमा गर्नुपर्ने तिकडम उसले उसको शिक्षामा पाएको थिएन र ऊ यसमा अनभिज्ञ नै थियो । उसले कहिल्यै कसैलाई पनि यस्ता कुत्सित भ्रष्टाचारी कुराहरू सिकाएको थिएन । उसले जतिसुकै सफा, स्पष्ट, सरल तथा एकदम ठिकसँग जति नै हिसाबको पर्फमेन्स देखाए पनि साहुलाई खुसी पार्न सकेन । यसका कारण उसको पारिश्रमिक धेरै कटौती भइसकेको थियो । यही कारण उसले जीवन धान्न धौधौ भइसकेको थियो । साहुको यस्तो छलछाम प्रपञ्च उसले बुझ्नै सकेन । उसले जति नै विद्यालयका कार्य गरेर इमेलबाट पठाइदिए पनि उसले घिटिघिटीरूपमा जीवन डो¥याइरहनुपर्ने विवशता भयो । यसरी धेरै नै विवशतामा डुबेर सकस झेल्नुपरेपछि उसले आफुले पौडने आँट गरेर मिति २८० कात्तिक १२मा यसरी इमेल गर्यो आफ्नो साहु अर्थात् विद्यालयका अध्यक्ष चटुयाङ तुलाधरलाई ।


नमस्कार चटुयाङ तुलाधर सर !


हाल मेरो स्वास्थ्य स्थिति ठिक छैन । मैले अहिलेसम्म यस स्कूलमा कार्य गर्न थालेको ७ वर्षभन्दा बढी भइसक्यो । मैले हालसम्म यस स्कूलमा कार्य गर्दा आफुले पाउनुपर्ने पारिश्रमिक नपाएको गुनासो गर्दा पछि मिलाउने, पछि मिलाउने भन्दाभन्दै अब नपाउनेमा पुगेजस्तो लाग्यो । हाल मलाई आर्थिकरूपले धेरै समस्या गरिसकेकोले यहाँभन्दा अघि बढ्न सकिने देखिँदैन । भरखरै एक घण्टाअगाडि यहाँसँग कुरा गरेबमोजिम म सबै डकुमेन्टहरू बुझाउन तयार छु र राम्रैसँग हजुरका मात्रै पुरै डकुमेन्टहरू हस्तान्तरण पनि गर्नेछु तर मैले पाउनुपर्ने पारिश्रमिक पाएपछि मात्रै । मेरो समस्या बुझेर मलाई आर्थिकरूपमा सहयोग गरिदिनुहुन सादर अनुरोध गर्दछु ।


मैले पाउनुपर्ने रहकमको पिडिएफ फाइल, यहाँ यो पत्र यस स्कूलकी नयाँ स्टाफ सन्ध्या उर्फ इन्दुमार्फत पठाएको छु , सहयोगको आशासहित ।


२०८० कात्तिक १२

उही विश्वास नि:स्वार्थी


यो इमेलबाट पनि कहीँ कतैबाट केही पनि प्रतिक्रिया नआएपछि उसले अर्को इमेल २०८० कात्तिक १३मा यसरी पठायो ।


नमस्कार चटुयाङ तुलाधर सर !

मेरो मोबाइल र सिम पानीमा डुबेर बिग्रेको छ । मलाई के कति रकम सहयोग गर्न सक्नुहुन्छ ? यो इमेलमा जवाफ पाऊँ । मेरो स्वास्थ्य स्थिति खराब छ । कम्प्लिट बेड रेस्ट गर्नु परिरहेको छ । म अर्को इमेलमा मेरो खाता नम्बर पठाउनेछु । रकम प्राप्त भइसकेपछि म अर्को इमेलमा मेरो खाता नम्बर पठाउने छु । रकम प्राप्त भइसकेपछि मेरो तर्फबाट गर्नसक्ने सम्मन्को सहयोग गर्ने वाचा गर्दछु । यहाँले मेरो ठाउँमा नियुक्ति गर्नुभएकी सन्ध्या उर्फ इन्दुमार्फत इमेलमा खबर पठाइरहनुहोला ।


२०८० कात्तिक १३

उही विश्वास नि:स्वार्थी


उसलाई वडा कार्यालयमा न्यायिक समिति हुन्छ भन्ने थाहा पायो । यी माथिका ती दुई इमेलबाट पनि उसले केही आफुले पाउने सुविधा त के कुनै प्रतिक्रिया सुद्ध नपाएपछि न्यायिक समितिमा गुहार माग्न पुग्ने निश्चय गर्यो । जब वडा कार्यालयमा न्यायिक समिति बारे बुझ्न गयो, त्यहाँ वडाका कर्मचारीहरूले न्यायिक समिति भङ्ग भइसकेकोले भोलिदेखि मात्र नयाँ न्यायिक समित आउने कुराको स्पष्टिकरण दिए । बरु वडा अध्यक्षलाई आफुलाई परेको मर्का बारे निवेदन दिएर निवारण गर्नसक्ने उसले सुझाव पायो ।


उसले आफ्नो हिसाबले पहिलो नालेश मिति २०८० मङ्सिर १०मा यसरी निवेदनकारूपमा वडा अध्यक्षलाई दियो ।


पहिलो नालेश (न्यायिक समितिलाई)


मिति २०८०/०८/१०, श्रीमान् वडा अध्यक्षज्यु, का.म.पा.वडा कार्यालय, काठमाडौँ । विषय :– पारिश्रमिक नपाएको सम्बन्धमा । महोदय, उपरोक्त सम्बन्धमा मैले राजधानीजस्तो ठाउँको अति सुविधासम्पन्न यस विद्यालयमा ०७४ बैशखदेखि ०८०/०७/२० गतेसम्म लेखाको काम गर्दै आएको थिएँ । सुरुको समयको १ वर्षे अवधिदेखि नै धेरै कटौती गरी पारिश्रमिक दिँदै आएकोमा पटकपटक अनुरोध गर्दा आस्वासनमात्र पाइरहेकोमा पछि आएर लक डाउनको २ वर्षे अवधिको पारिश्रमिक पनि दिइएन जबकि सो अवधिको लेखाको सबै हिसाब अनलाइन तथा आफ्नै निवासस्थानमा बसेर पनि गरी वार्षिक लेखाको फाइनल हिसाब गरेको थिएँ । दसैँको पेश्की बापतको वर्षको १ महिनाको अतिरिक्त तलब दिने तथा रोजगारी समाप्त भएपछि संचयकोष रकम दोब्बर पारी फिर्ता दिने सम्झौताअनुसार पनि दिइएन । १० प्रतिशत वार्षिक तलब वृद्धि गर्ने सम्झौता भए पनि दुई वर्षसम्म १० प्रतिशत बढाएको र त्यसपछि नबढाएको, पछि त झन् स्थायि गर्ने सम्झौता नगरेको भनी ०८० सालदेखि तपाईं त कन्ट्याक्टमा मात्र हो भनी पछि ०८०/०७/२०मा स्टाफ कर्मचारीहरू पठाएर मेरो अफिसको साँचो र सम्पुर्ण कागजातहरू लिएर गई मेरो रोजगारी समाप्त पारेको यस अवधिसम्ममा मैले उहाँहरूले भनेअनुसार नै जम्मा रु. ३०,३९,२४७/१९ पाउनुपर्ने भयो र मेरो घरमा ऋणै ऋणले आर्थिक अवस्था जर्जर हुन पुग्यो । यस ६ वर्ष ७ महिना २० दिनको अवधिमा जम्मा पाउनुपर्ने रकम रु. ४२,७७,३१९/१९ मा मैले रु. १२,३८,०७२/–मात्र पाएको हुँ । 


तसर्थ मलाई यसरी धेरै अन्याय परेको हुनाले तोकिएको पारिश्रमिक दिलाई पाऊँ भनी श्रीमान् समक्ष अनुरोध गर्दछु ।


संलग्न कागजातहरू :

– मेरो स्कूलको परिचयपत्र र नागरिकताको फोटोकपी थान –  १

– मेरो पाउनुपर्ने हिसाबको खाता थान – १

– मैले निवेदन लेखेर निम्नानुसार वादी/प्रतिवादी उल्लेख गरेको कागज थान – १


वादी प्रतिवादीको विवरण

श्री काठमाडौँ महानगरपालिका न्यायिक समितिमा दर्ता गरेको उजुरी पत्र

आस्था कुमार शर्माको नाति, समर्पण कुमार शर्माको छोरा, माया शर्माको पति भक्तपुर जिल्ला कञ्चन गाछी बस्ने वर्ष ५३को विश्वास निःस्वार्थी शर्मा ।

(एकभन्दा बढी व्यक्ति भएमा यसै बमोजिम सबैको नाम उल्लेख गर्ने)


विरुद्ध

पर्वत तुलाधरको नाति, धर्म तुलाधरको छोरा, स्व क्रान्तिदेवीको पति, कामपा ऐ बस्ने वर्ष ६१को ऐ ना.प्र. नं. चटुयाङ तुलाधर ।

(एकभन्दा बढी व्यक्ति भएमा यसै बमोजिम सबैको नाम उल्लेख गर्ने)

प्रतिवादीको सम्पर्क नम्बर ९८५६७८९०


विवादको विषय : मजदुरी बापतको तलब नपाएको ।


म/हामी वादीहरूलाई माथि उल्लेख भए बमोजिमका विपक्षीहरूले अन्याय गर्नु भएको हुनाले उक्त विवादको विषय उपर मुद्दा हेर्न मिल्ने यस कामपाको न्यायिक समिति समक्ष कानुन बमोजिमको हद म्यादभित्र प्रस्तुत नालेश लिई आएको छु/आएका छौँ । कानुनबमोजिम लाग्नो दस्तूर रु. १००/– यसै साथ संलग्न गरेको छु/ गरेका छौँ ।


न्याय चाहियो प्रभू


उसले यसरी नालेश राखिसकेपछि सबैले उसैलाई खराब साबित गरे । उसको वकिल ल्याउने पनि त क्षमता थिएन । सबै जनाले उसको सुविधा सकेसम्म कटौती गर्न अनेकौँ कसरत गरे कारण उनीहरूले विद्यालयका अध्यक्षसँग भित्रभित्रै खामबन्दी घुस टेबुल मुनिबाट लिइसकेका थिए । उसले प्रतिकार स्वरूप केही पनि गर्न सकेनन् । विचरा उसको मनमा न्याय चाहियो प्रभु ! न्याय चाहियो प्रभु ! भन्दै मथिङ्गल खलबलिने गरी उसले आफ्नो अगाडिको मूर्ति सामु एकोहोरो राखिरह्यो ।


कस्तो जमाना आयो । आज ऊ न्यायिक समितिमा पुग्यो न्याय माग्न ! उसलाई त्यो दिन १ बजेको समय दिइएको थियो । पीडाकर्ताहरू त्यहाँ १२ बजे आएर न्यायिक समितिका चम्चेहरूलाई चिया नास्ता खुवाउन भ्याइसकेका थिए । उनीहरूले विश्वासलाई भने “तपाईं पनि केही लिने कि ?”


उसले भन्यो “अहँ म लिन्न ।”


“किन र विश्वासजी ?”


विश्वासले भन्यो “आज शुक्रवार ! मेरो व्रत छ”


त्यो पीडकहरूलाई पहिल्यै थाहा थियो । त्यसैले त उनीहरूले उसमाथि यसरी खाजा खुवाउनेमा पनि प्रपञ्च रचेको थियो । किन शुक्रवारै उनीहरूले विश्वासलाई न्यायिक समितिमा बोलायो त्यो उनीहरूको मिलिभगत थियो । विश्वासलाई फेरि सोधे उनीहरूले खिसी गरेर हाँस्दै “पानी भए पनि लिने कि ?” विश्वासले त्यो पनि लिएन ।


जाने बेला विश्वासले उसको एकमात्र विश्वासिलो सिएमलाई भेटेको थियो । सिएमले उसलाई पाका पारेर सूचना पठाएका थिए कि विश्वासजी विश्वास डगमगाउन नदिनुहोस् । पैसा नपाए नपाओस् तर हामीले झुक्नु हुन्न । यसले विश्वासलाई ठूलो विश्वासको जग मिलेको थियो । दरिलो आत्मविश्वास पलाएको थियो ।


उसले त्यस न्यायिक समितिमा सिएमकामार्फत उनका आफन्तीहरूबाट उसले के पनि थाहा पाएको थियो भने ती पिडाकर्ताहरूले एक हप्ता अगाडि पनि त्यसरी नै चिया चमेना खुवाएका थिए । यसैको नुनको सोझो गरेर उनीहरूले सकेसम्म पीडित विश्वासलाई सकेसम्म हर्जाना कम तिर्नका लागि खासखुसखासखुस सल्लाह गरिरहेका थिए ।


समयसमयमा विश्वासले सुन्ने गरी “यसैमा विश्वासले सहमती गर्दा हुने । यति रकम पाउँदा त विश्वासले मानेमा नै राम्रो हुने । नत्र केश लम्बिएर दुबैपक्षलाई घाटा हुने । विश्वासले क्षतिपूर्ति पाउन धेरै समय लाग्ने र पाउन पनि धेरै गाह्रो हुने ।” दोहो¥याई, तेह¥याई सुनाइरहे ।


त्यहाँ कार्यालयमा विश्वासले काम गर्दा के के गरेको हो ? अनि साहूले पनि विश्वासका बारेमा के के सोचेको हो ? त्यो खुलस्त राख्न लगाए । दुबै पक्षले आआफ्ना विचार राखे । विश्वासले कार्यालयमा साहूले गरेका पेलानका फेहरिस्त बताए । साहूले उसलाई त्यस्तरी पेलान नगरेको न्यायिक समितिमा बताए । विश्वासले आफुले साहूसँग मौखिक मात्र सम्झौता गरेका थिए । विचरा ! विश्वासलाई साहूले हरेकपटक मेहनाताना दिँदा नयाँनयाँ सम्झौताका कागजमा हस्ताक्षर गराउँथे अनि मात्र पैसा दिन्थ्यो । यसरी ऊ जाली साहूबाट धेरै ठूलो षडयन्त्रको फन्दामा परिसकेको थियो, यो उसले अहिलेमात्रै थाहा पायो ।


भयो त्यस्तै नै कि न्यायिक समितिकाहरूले उसलाई उसको क्षतिपूर्ति रकमको १० प्रतिशत रकममात्र लिएर मुद्दा छिनोफानो गर्न अह्राए । सुरुमा त उनीहरू न्यायिक समितिमा जानै मानेनन् । विश्वासले विवश भएर न्यायिक अदालतमा माग गरे पनि ती सब साहूका गुलाम भएर निस्के ।


न्यायिक समितिकाहरूले “हेर्नुस् विश्वासजी ! यो न्यायिक समितिमा चित्त नबुझे तपाईं योभन्दा माथिको अदालतमा पनि जान सक्नुहुन्छ । हामीले त कागजले जे बोल्यो त्यही बोल्ने हो । यो फैसला तपाईंले मान्नै पर्छ यति क्षतिपूर्तिमै चित्त बुझ्यो भन्नैपर्छ भन्ने पनि छैन । यसको जिम्मा तपाईंलाई भयो । तपाईंले आफ्नो विवेक प्रयोग गर्न सक्नुहुन्छ । हामीलाई त के लाग्छ भने तपाईंले यो सानो रकमको क्षतिपूर्तिमै चित्त बुझाउनु पर्छ । यसमा तपाईंले आनाकानी नगर्दा नै बेस हुन्छ । किनकि हामी तपाईंकै हिसाबमा जाँदैछौँ । यो हिसाब साहूले गरेमा फेरि तपाईंले यति पनि नपाउन पनि सक्छ ।”


फेरि साहूका अन्य मान्छे पनि त्यहाँ नास्ता खान आएका थिए । उनीहरूले विश्वासलाई देखाउँदै भने “हो नि सर ! तपाईंले हिसाब गर्नु भएपछि त उहाँले त त्यसको आधि पनि पाउन सक्दैन । विचरा ! उहाँलाई पनि धेरै आपत परेका जस्तो देखिन्छ । उहाँको हालतले त्यही बताउँछ ।”


फेरि विश्वासले भन्यो “हेर्नुस् ! अब जे हिसाबमा निस्कन्छ त्यही गर्दा बेश होला । हिसाबले मैले पाउनुपर्ने रकम पाएमा म चित्त बुझाउँछु । पछि फेरि तपाईंको हिसाबमा नभए पनि मैले तपाईंलाई हेरेर दिएको भनेर भन्न पाइन्न । यो निगाह बक्स मलाई चाहिँदैन । मलाई मेरो हिसाब मात्र भए पुग्छ ।”


न्यायिक समितिले भन्यो “यो आपसी मेलमिलापमै सकाउनु राम्रो भनेर हामीले कानूनी प्रक्रियामा गएका छैनौँ । सकेसम्म दुबै पक्षलाई मर्का नपर्ने गरी हामीले यो हिसाब गर्नु पर्छ । साहू त भगवानै हो, उसको यो उदार दिलको प्रशंसा गर्नै पर्छ । पीडित विश्वासजीलाई मर्का परेको कुरा भगवानले जसरी उहाले समाधान गरेकै छ । यसलाई विश्वासजीले पनि अन्यथा लिनु हुँदैन ।”


यो न्यायिक समितिको बहस कस्तो भयो भने पीडितलाई परेको व्यथा सबै उनीहरूले कपोकल्पित बनाए । वास्तबमा विश्वास पीडित नै होइन जस्तो !!! विश्वासले उसले नपाएका सुविधाको माग राख्दा उनीहरूले कुनै पनि सम्झौता नभएको प्रमाणित गरे । यसरी पटकपटक विश्वास डगमगाएकाले नै त विश्वास न्यायिक समितिमा आएका थिए ।


न्यायिक समित आउनु अगाडि उसले न्यायिक समितिमा नआइकन एक एक बुँदाहरू साहूलाई लिखित निवेदन दिन कति पटक खोजेका थिए । साहूले मौखिकै सुन्ने भनी मौखिक मात्र सुनेको थियो । यसरी उसका व्यथा उसले साहूलाई दश पटक सुनाएर पनि, परिवारको मुखमा माड नलागेपछि ऊ वाध्य भएर न्यायिक समितिमा आएको थियो ।


तर न्यायिक समिति त्यति चित्त बुझ्दो नभएको उसले पायो । न्यायिक समिति भनेको न्यायको पक्षमा रहेनछ । जहाँ पैसा छ , न्यायिक समितिकाहरू त्यतै लम्किने रहेछ । उसको मनोविज्ञानमा न्यायिक समिति जस्तो हुनुपर्ने थियो त्यो हुन सकेन । न्यायिक समिति न्यायिक समिति होइन बरु विछट्टै अन्यायिक समिति भइदियो ।


सानालाई मात्र ऐन रहेछ । ठूलाले जति पनि जाली काम गरे पनि न्यायिक समितिकाहरू अनि साहूका आसेपासेहरू मिलेर चिया नास्ता खाएका भरमा गरिवलाई पेल्ने रहेछ । जिन्दगीको यस मोडमा न्यायिक समितिले पनि उसको जीवन गाडीको यात्रा उबडखाबड बनाइदियो ।


सबै भ्रष्टहरूका अगाडि विश्वास कहाँ जिउँदो हुन्छ र ? न्यायिक समतिमा साहूका दुस्चक्रका फेहरिस्तहरूका अगाडि ऊ उबडखमाबड भइरह्यो । मन उथलपुथल भयो । मूख्यतः विश्वास डगमगायो । धाँधली गरेर जित्ने न्यायिक समिति कहाँ सत्यनिष्ठ अनि कहाँ न्यायिक हुन्छ र ? वास्तबमा यो न्यायिक समिति भनेको पीडितलाई झन् अन्याय गर्ने र आपसी मेलमिलाप गराउन सफल भएको भनेर पैसावालको पछि लुरे भएर लाग्ने पहिलेजस्तै अर्थात् निरंकुश कालमा जस्तै दास पो रहेछ । पीडितले कुनै न्याय नपाउने पो रहेछ । व्यवथा परिवर्तन भएकै रहेनछ । अवस्था त झन् दूरावस्था रहेछ । “फेरि पनि हिसाब गरे पनि, जसरी जे गरी हिसाब गरे पनि त्यति त उहाँले पाउने निस्किँदै निस्किन्नँ ।” विश्वास बाहेक सबैको खासखुस यस्तै निरन्तर चलिरह्यो ।


टिभीमा देखाएको न्यायिक समितिको फैसलाको मेलमिलाप गराएको अवस्था त्यो नाटक रहेछ । त्यो हात्तीको देखाउने दाँत रहेछ । जिन्दगीमा यस्ता धोकै धोका दिने धोकेबाजकै चम्चेहरूले गर्दा न्यायिक समिति पनि दास भइसकेछ । गरिबले के न्याय पाउन सक्छ ? अहँ सक्ला जस्तो लागेन । 


 त्यसै डनको आविष्कार भएको होइन रहेछ । बरु डनले गर्ला जस्तो छ । वास्तबमा किन मान्छेहरूले डनको हातबाट पैसा उठाउँछन् भनेर विश्वासलाई पहिले अचम्म लाग्थ्यो कि किन न्यायिक समतिमा जाँदैनन् ? वास्तबमा टिभीमा न्यायिक समितिले कति राम्रो फैसला गर्दा रहेछन् हैन र ? वास्तबमा त्यो न्यायिक समितिको स्थलगत भ्रमणबाट सत्यको गहिराइसम्म आफैले चोट पाएर न्यायको ढोका ढकढकाउन पुग्दा न्यायिक अदालतै थोपो पनि न्याय नभएको निश्चय भयो । विश्वास ठूलो स्वरले चिच्याइरह्यो “अन्याय भयो प्रभू !!! अन्याय भयो प्रभू !!!”


यसरी पहिलो नालेशबाट उसको सुनुवाइ नभएपछि उसले निश्चय गर्यो कि अब यसरी दबिएर बस्नु हुँदैन । यसका लागि उसले वडा प्रतिनिधिहरूलाई आफ्नो मर्का निवारण गर्न वडाको शरणमा आएका थुप्रै गुनासा सुनाउन आएका आम जनताका सामु ती छलफल गरेका कुरामा “उनीहरूले गरेका कुरा केही पनि नमिलेको, साहुले त पाएमा एकै दिनमै अडिट सकाउने खालको हो । त्यहाँ मेरो काम वर्षमा १ महिना पनि हुँदैन भन्नु एकदमै भ्रष्टाचारको लिप्साले लिप्त लज्जाजनक कुरा हो, त्यहाँ मैले बताउँदा सबै जना उसकै ठाउँमा बोलिरहेकाले मैले बोल्ने आँटै गर्न सकिन र यदि मैले बोलेमा पनि मै झूटजस्तो देखिने भएकाले मैले नबोलेको हो । मलाई करका सरकारी कर्मचारीले घुस खान पाएन भनेर र विद्यालयका सम्पुर्ण कर्मचारीलगायत अडिटरसमेत किनकि म त विद्यालयको इन्टरनल अडिटको जिम्मा लिएको मान्छे हुँ । विद्यालयको लेखा शाखाको सम्पूर्ण काम कार्वाही अडिटर तथा करले भनेबमोजिम मैले तयार पार्ने हो । अनि विद्यालयका सम्पुर्ण कर्मचारीहरूले साहुको हिसाब मिलाएन भनेर मलाई पेलेका हुन् । अब यहाँबाट न्याय नपाए म यसभन्दा माथिल्लो अदालतमा वाध्य भएर जानेछु । किनकि योभन्दा अरू उपाय मसँग छैन । मेरो त के हुन्छ र जे भोग्नु भोगियो । अब तपाईंहरू बेइज्जती अनि कार्वाहीबाट बच्ने हो भने मलाई मेरो यो दोस्रो अर्थात् पुनरावेदन नालेश राख्न अनुमति दिनुहोस् । कृपया सङ्लो मनले न्यायका लागि अपिलका साथै अनुरोध गरेको छु ।” भन्दै यो पुनरावेदन नालेश वडाअध्यक्षलाई मिति २०८० मङ्सिर २४मा यसरी दियो ।


बाटोमा उसले जिल्ला अदालतका वकिलहरू पनि भेट्यो । ती वकिलहरूले “नालेश राखेर यहाँ केही हुनेवाला छैन । इमानदार गर्ने, सत्य गर्ने श्रमिकले सधैँ हारिरहेको फैसला हामीले सधैँ सुन्दा सुन्दा हामी दिक्क भइसका छौँ । आखिर जित्ने बेला उही साहू असतीले मात्रै जितिरहेको छ । यो मुद्दा मामिलामा लाग्दा भुक्तभोगीको पैसा सकिएर झनै बिलखवन्दमा परिरहेको छ ।”


यस्तो तिकडमका बीच पनि उसले अन्ततः पुनरावेदन नालेश दिएरै छोड्यो ।


पुनरावेदन नालेश


मिति २०८०/०८/२४, श्रीमान् वडा अध्यक्षज्यु, कामपा कार्यालय, काठमाडौँ, नेपाल । विषय :– पारिश्रमिक तुरन्त दिलाई पाऊँ । महोदय, उपरोक्त सम्बन्धमा मैले यस स्कूलमा लेखाको कार्य गरेबापत धेरै नै अन्याय पर्ने गरी सम्झौता गरेबमोजिम समेत पारिश्रमिक प्राप्त गर्न नसकेको हुँदा यहाँ समक्ष मिति २०८०/०८/१०मा निवेदन दिएकामा न्यायिक समितिका प्रतिनिधि, यस वडाका सदस्यज्युहरू तथा उक्त विद्यालयका प्रधानाध्यापकलगायत विद्यालयका अध्यक्षसमेतको उपस्थितिमा समाधानको बाटो खोज्यौँ तर उहाँहरू सबैको निर्णयअनुसार सालाखाला हिसाब गरेर यो मामिला सल्टाउने निर्णय भएकोमा आफुले विवेक प्रयोग गरी हिसाब गरेमा अझ राम्रो हुने भन्ने पनि निचोड आएको हुँदा मैले सम्पुर्ण सत्यतथ्यको आधारमा आफ्नो नोकरीको सुरुदेखि अन्त्य कालसम्मको हिसाब नियमानुसार गरेको छु ।


प्रस्तुत बुँदाहरू :–

१) प्रत्येक वर्ष १० प्रतिशत हिसाबले तलब वृद्धि हुने ।

२) प्रत्येक महिनाको तलबको १० प्रतिशत संचयकोष सुविधा सेवा समाप्त भएको समयमा दोब्बर पारेर दिइने ।

३) प्रत्येक वर्ष अतिरिक्त १ महिनाको दसैँको खर्च दिइने ।

४) लकडाउनको २ वर्षे अवधिमा आफुले पाई आएको पारिश्रमिकको आधि रकम दिइने ।


माथिका यी सबै हिसाब महिनाको रु ३५,०००/– दिइने भनिएकोमा नियुक्ति भएको समयदेखि रु.१६,०००/– प्रति महिना हिसाबले उल्लेखित हिसाब गरी माथिका यी ४ बुँदाहरू अनुसार गरिदिनुभई मेरो यो ठूलो मर्का निवारण गराई पाऊँ भनी निवेदन गर्दछु ।


सो हिसाब अनुसार मेरो २०७४ बैशाखदेखि २०८०/०७/२०सम्मको सेवा अवधिमा जम्मा पाउनुपर्ने पारिश्रमिक जम्मा रु. १६,०५,७२८/– हुन आउँछ । मेरो हिसाबमा मैले यस विद्यालयबाट रु. ११,८८,०७२/–मात्र प्राप्त गरेको हुँदा बाँकी व्यालेन्सको रु. ४,१७,६५७/– अक्षरेपि चार लाख सत्र हजार छ सय सन्ताउन्न रुपियाँ मात्र यथाशीघ्र पाऊँ भनी श्रीमान् समक्ष विनम्र निवेदन गर्दछु ।



संलग्न कागजात :–

१) प्रति महिना रु.१६,०००/–देखि नियुक्ति भए बमोजिम माथिका ४ बुँदाहरू अनुसार आफुले पाएको र पाउनुपर्ने हिसाबको वार्षिक आधारमा खाताको सम्पुर्ण विवरण भएको प्रति – १


निवेदक

विश्वास निःस्वार्थी शर्मा

भक्तपुर जिल्ला, कञ्चन गाछी


यसरी धेरै दबाबपछि वकिल पक्ष, न्यायिक समितिका प्रतिनिधी, विद्यालयका प्रतिनिधी, भुक्तभोगी निवेदक विश्वास निःस्वार्थी आदिको धेरै चर्काचर्की बहस, रस्साकस्सी अनि शेयर बजारको उतारचढाव तथा लिलाम बढाबढ घटाघट किसिमको जस्तो २–३ दिनको मनमुटावको कोही समयमा आउने कोही समयमा नआउने भएपनि विश्वासले भने पुरै दुईदिन कार्यालय समयमा एकछिन पनि नछोडी धर्नादिएसरि नियमानुसारका एक एक कार्वाही अघि बढाएपछि काम कार्वाहीमा अघि बढ्न थाल्यो र अन्त्यमा यसरी मिलापत्र भयो । यो मिलापत्रका बुँदाहरूमा साहुलाई मर्का पर्ने अनि विश्वासलाई अलि सुविधा हुने कुरा विश्वासले कुनै कुरा राख्दा अझै पनि राख्न दिइएन । उल्टो साहुसँग उनीहरूले विद्यालयमा नोकरीका लागि आफ्ना आफन्तलाई राख्न अनुरोध गरे । साहूले विश्वासलाई कम पैसा दिलाउन भित्रभित्रै खुवाएका रकम यदि विश्वासले पाउने हो भने उसलाई केही भए पनि राहत हुने थियो । यस्तो श्रम नगर्नेहरूको चाप्लुसीले गर्दा विश्वासजस्ता श्रम गर्ने वास्तविक श्रमिकले मेहनत अनि श्रम अनुसारका मेहनाताना पाइरहेको छैन । 


भित्रभित्रै खाने कमिशनको अनि दलालीको चक्करले गर्दा नेपालका हरेक ठाउँमा पुँजीवाद असफल भइसकेको छ । किसानले उमार्दा जति पैसा पाउने हो उपभोक्ताको हातमा १० दोब्बर मूल्यमा पुग्छ । बीचको दलालले श्रम नगरी बढी पैसा खाई मोज गरिरहेको छन् । अधिकांश यस्ता व्यक्तिले श्रम नगरी यसरी पैसा कुम्ल्याइरहेक। छन् । यो त एउटा उदाहरण मात्रै हो, यो कमिशन र दलालीतन्त्र जुनसुकै क्षेत्रमा व्याप्त पाइन्छन् । यस्तो भ्रष्टाचारको कमिशनखोर तन्त्रको अन्त्य हुनैपर्छ । पैसाका लागि ¥याल चुहाउने सबैजनाले गर्दा विश्वासले धेरै नै कम उसको ७ वर्षे अत्यन्तै सङ्घर्षको रोजगारीबाट यसप्रकारको मेलमिलापको मिलापत्रबाट धेरै सानै अंशकै भए पनि राहत पायो ।


मिलापत्र


(क) निवेदक/उजुरीकर्ता वादीको नाम, थर, वतन

१. भक्तपुर जिल्ला, भनपा कञ्चन गाछी घर भई हाल कामपा बस्दै आएका श्री विश्वास निःस्वार्थी शर्मा ।

(ख) प्रतिवादी प्रत्यर्थीको नाम, थर, वतन

१. काजि कामपा ऐ स्थित ऐ विद्यालयका तर्फबट सञ्चालक वर्ष ६१को ऐ ना.प्र. नं. चटुयाङ तुलाधर

(ग) विवादको दर्ता नं. ३


(घ) विवादको विषय : श्रम गरे बापतको पारिश्रमिक नपाएको ।


(ङ) विवादको सङ्क्षिप्त व्यहोरा वि.सं. २०७४ बैशखदेखि ऐ विद्यालयमा लेखापालको रूपमा कार्य गर्दै रहेको सन्दर्भमा दसैँ पेश्की, संचय कोष, कोरोना कालको पारिश्रमिकआदि श्रम गरेभन्दा धेरै थोरै मात्र पाएको र हिसाब गर्दा जे जति बाँकी रहेको छ  , सम्पुर्ण रकम दिलाई भराइ पाऊँ भन्ने विश्वास निस्वार्थी शर्माको नाममा निवेदनमा प्रत्यर्थीको तर्फबाट सञ्चालक ऐ विद्यालयका सञ्चालक चटुयाङ तुलाधरद्वारा सो कुरा इन्कार गरी निवेदकले उल्टै सम्झौता विरुद्ध २०८०देखि बाँकी रहेको विद्यालयको सम्पुर्ण हिसाब नियन्त्रणमा लिई राखेको व्यहोरा जवाफ दिएको ।


(च) मेलमिलापका मुख्यमुख्य बुँदाहरू

मिति २०८०/०८/२२ र २०८०/०८/२६ गरी दुई चरणमा मेलमिलापको प्रयास भएकोमा दुबै पक्ष कसैको करकाप, धाकधम्कीवाना राजीखुसी निम्नलिखित बुँदाहरूमा सहमत भएका छन् ।


(क) निवेदकले माग गरे बमोजिमको २०७५साल बैशाखदेखि २०८० साल कार्तिकसम्म  हिसाब गरेर दिनुपर्ने बाँकी रकम रु १,७६,०००/– (अक्षरूपी एक लाख छयत्तर हजार) प्रत्यर्थीले आजैका मितिमा दिन तयार भएको र सो रकम चेकमार्फत आजैका मिति २०८०/०८/२७मा हस्तान्तरण गरिने । साथै, निवेदक र स्कूल बीच स्थापना भएको श्रम सम्बन्ध यसै मिलापत्र साथ समापन गर्न दुबै पक्ष सहमत भएको र यस पश्चात विद्यालयको निवेदकप्रतिको कानुनी र आर्थिक दायित्त्व समापन भएको । आजका मितिबाट एक अर्काप्रति कुनै पनि लेनदेनसमेत नरहेको कुरामा दुबै पक्ष सहमत भएको ।


(२) निवेदकले आफ्नो नियन्त्रणमा राखेको विद्यालयको हिसाबकिताब प्रत्यर्थीलाई आजैका मितिमा हस्तान्तरण गर्न सहमत भएको ।


(३) दुबै पक्ष पुनः यसै विषयलाई लिएर कहिँकतै उजुरबाजुर नगर्न सहमत भएको ।


वादीको तथा प्रतिवादीको यस मेलमिलाप उपर २०८०/०८/२८मा राजी खुसीसाथ सही छाप भएको ।


वादीको तर्फबाट साक्षी भनपा कञ्चन गाक्षी घर भई हाल कामपा ऐ स्थित वसोवसा गर्ने माया शर्मा निवेदककी श्रीमतीको पनि साक्षीमा सही छाप भएको ।


यस ऐन तथा मेलमिलापसम्बन्धी प्रचलित सङ्घीय कानुनबमोजिम माथि उल्लेखित सर्तमा यो विवाद मेलमिलापको माध्यमबाट समाधान भएको यस वडाका वडा संयोजक श्री हिरिण मकर डंगोल, वडा महिला सञ्जाल, वडा सचिव यस वडा कार्यालयश्री दोरसना चोख्याल, न्यायिक सहजकर्ता यस वडाको कार्यालयश्री अवसर चितालहरूद्वारा सहिछाप तथा श्री ५को सरकारको छापसहितको सही गरी समाधान भएको प्रमाणित गरिएको ।


मिलापत्र समाप्त भयो ।


यस मिलापत्रमा सही हुन केही समय अगाडि साहूले बाइकमा राखेर विश्वासलाई विद्यालयमा लग्यो । उसले पासवर्डले साहूको कम्प्युटर खोलेर सबै डकुमेन्ट कम्प्युटरमा देखाइदियो । साहुले सबै कम्प्युटरको लोकेसन टिप्यो । उसले प्रिन्ट गरेर लगेका सबै हिसाब पनि साहुलाई आफ्नो झोलाबाट निकालेर सुम्पिदियो, त्यसबापतको विलअनुसारको प्रिन्ट गरेको हिसाबको भुक्तानि पनि माग्यो । त्यो पनि साहूले चेकमै जोडेर दिन मञ्जुर भयो, वकिलकै अगाडि । तर साहूले उसले यसरी एकदिन अगाडि नसकेको विद्यालयको काम रातभरि नसुतिकन गरेको देखेर वकिलमा सहानुभूति पलायो र विश्वासलाई “कुनै काम गर्ने भए के कतिमा गर्ने वायोडाटा हेरेर गराइदिने” विश्वास पनि दिलायो । विश्वासले भने “मैले यो कार्य गरेको अहिले ४१ वर्ष भइसकेकोले तथा आर्थिकरूपमा जर्जर हुँदा पनि तलब बढाउनुपर्यो भन्ने सानो गुनासो सुनाउनेले पनि जागिरबाट हात धुनुपर्ने विवशता अझै भएकामा धेरै हतास हुँदै तलब अबको २ वर्ष जति आराम गरेर दिमाग स्वच्छ भइसकेपछि मात्र अँध्यारोको वादल हटाउने गरी मात्र स्पष्टसँग हिसाब विवशता नभइकन गर्ने” बतायो । सायद यो वकिलको उसको मन चोर्ने चाल हो वा साँच्चिकैको सहयोगी सहानुभूति हो त्यो गर्भमै रह्यो । तर साहुले भने फेरि उसले गरेको सम्झौताअनुसार मेहनताना नदिने विचारले ती काम उसका १० जना स्टाफहरूले रातभरि रातभरि काम गरी सकाइसकेकोले तिम्रो यो कामको भ्यालु नहुने बतायो । विश्वासले पनि “यदि साहुले हिजै मेरो वार्षिक हिसाबका अर्जेन्ट डकुमेन्ट भोलि नै सही सलामत दिने भए म पेमेन्ट तपाईंलाई दिन्छु ।” भनेको मान्नुपर्छ भन्यो । उसले “ऊजस्तो अनुभवी, हरेक कुरामा जस्तो कि प्राविधिक अनि करेन्ट अफेयर्समा अद्यावधिक भइरहेने अनि छिटो पनि र ठीक पनि हिसाब गर्ने मान्छे पाउन गाह्रो हुने ।”  छर्लङ्गै बतायो र दाबी गर्यो कि “यदि तपाईंको १० जना स्टाफको भन्दा मेरो काम छिटो पनि अनि एकदम ठीक पनि हुन्छ । यही त हो अनुभव भनेको र अनुभव अनुसार पारिश्रमिक मैले ठूलो पद सरह नभएको यसैले पनि सावित भएको हो, म लेबोरजस्तो मात्र होइन उच्च पदको पनि हुँ ।” भनी दाबाका साथ ठोकेरै भन्यो । यहाँ अझै दुई पक्ष बीच वादविवाद चलिरह्यो । साहूका कुरा सब बनावटी थिए तर उनीहरूसँग झुटो प्रमाण थियो । त्यसैले उनीहरू पूर्व तयारीका साथ आएका थिए । विश्वाससँग थियो त सत्य थियो भलै उसँग कोही थिएन । साहुले सहि गराउने तलबको भर्पाइसुद्ध अनि लेजरसुद्ध उसलाई राख्न बञ्चित बनाइएको थियो । विश्वासको कुरो सत्य थियो, उसको कुराले साहुलाई गिराउनुसम्म गिराइसकेर पनि साहुसँग झुटका अनेकौँ प्रमाणहरू थिए तर उसले सत्य नै बोलिरहेको थियो त्यसैले त ऊ जुनसुकै बेला पनि जुनसुकै प्रश्न पनि गर्न सक्थ्यो भने जुनुसुकै उत्तर पनि तत्कालै स्पष्टसँग दिन सकिरहेको थियो । यसरी अन्तिम उत्कर्षको भयङ्कर चलखेलपछि सबै साक्षी, वादी/प्रतिवादी तथा वकिल लगायत वडाप्रतिनिधिले हस्ताक्षर गरी वादीले एक प्रति प्रतिवादीले एक प्रति अनि वडामा एक प्रति सो दुरुस्त मिलापत्र हस्तान्तरण गरी नियमानुसार तोकिएको दस्तूर विद्यालयका प्रतिनिधीले तिरेर यो मिलापत्र भयो । साहूले उसलाई चेक हस्तान्तरण गर्यो ।


२०८० पुस २४

बिजु सुवेदी विजय






Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा