नयाँ अडिटर
नयाँ अडिटर
विजयजीले आफुलाई स्वच्छ, निस्पक्ष अनि निस्कलङ्क कहिल्यै प्रमाणित गर्न सकेनन् पनि पाएनन् पनि । उनले जति राम्रो काम गर्न खोज्थे हजारौँ नराम्रा कामका घेराबन्दीले उनलाई विथोलेर हराइरहेको हुन्थ्यो ।
“हेर्नुुस् विजयजी ! तपाई मसँग सरासर झुट बोल्दै हुनुहुन्छ । तपाईंले यो बिल सबै नकली बनाउँदै हुनुहुन्छ र खर्चको सपोर्टिङ डकुमेन्ट पनि कुनै पनि म्याच खाँदैन ।”
“हैन नि गोएन्काजी ! यी सबै बिल सक्कली नै हुन् ।”
“तर यहाँ त मेरो केरकारमा त्यस्तो देखा परेन त बाबै ! वास्तबमा हामीले तपाईंले कहाँबाट विल ल्याउनुहुन्छ त्यै ठाउँबाट अनुसन्धान गरेका हौँ । विजयजी ! अब तपाईं फस्नुभो ।”
“ठिकै छ विलको तपाईंले कुरा गर्नु भो । त्यसमा हामी सम्बन्धित कम्पनीको हस्ताक्षर र छापसहितको स्टेटमेन्ट पनि उपलब्ध गराउँछौँ गोएन्काजी !”
“त्यसो भनेर कहाँ हुन्छ र ! ‘एक कदम आगे चोरी फिर सिनाजोरी’ भनेजस्तो भइहाल्यो नि ! अनि त्यो प्रमाण पनि डिफल्ट भयो भने, अर्को फेरि झूठ कति वटा ल्याउनुहुन्छ ?”
“गोएन्काजी ! तपाईं त कस्तो, मैले सद्दे कार्य गर्दा पनि तपाईं नक्कली देख्नुहुन्छ ।”
“ठिक छ नि विजयजी ! यो विलमा मात्र डिफेक्ट देखिएको हो । रिसिप्टमा त्यस्तो देखिएको छैन । एकएक आम्दानीअनुसार सबै रिसिप्ट टाएली भएको देखिन्छ । सयप्रतिशत नै आम्दानीअनुसार रिसिप्ट काटिएका छन् । अब मैले गर्न सक्ने भनेको यस हिसाबलाई अडिटरको जिम्मा लगाउने हो । उहाँले पनि मैले के तोक लगाएको हो त्यही गर्ने हो । आइन्दा अब यस्तो नकली काम गर्दै नगर्नुस् । अब तपाईं कारवाही भोग्न तयार हुनुहोस् । म फेरि भनिरहेको छु , तपाईले यस्तो बिल बनाएर भ्रष्टाचारलाई बढावा दिँदै हुनुहुन्छ । तपाईंको खर्चको हिसाब सरासर गलत छ ।”
एकैछिनमा अडिटर बरामजीलाई गोएन्काजीले सबै ब्रिफिङ्ग गरेर डिफल्ट देखाइसकेको थियो । तब गोएन्काजी “आफ्नो त सि.ए.को कोर्सको काममा जानु छ ।” भनी अडिटर बरामजीलाई पनि धम्क्याएर “अबदेखि मलाई यो हिसाबको काममा लगाउँदै नलगाउनुहोस् ।” भन्दै बम्केर गइसकेका थिए । किनकि त्यस खर्चको हिसाब सद्दे नै छ भनेर बरामजीले गोएन्काजीलाई सम्झाउन खोजेका थिए ।
केही दिनपछि बरामजीले भने अनुसार गोएन्काजीलाई यो अडिटमा इन्टरेस्ट छैन रे ! मान्छेलाई केरकार गरेर, ट्याली गरेर जति नै डिफेक्ट निकालिदिए पनि साहू रिझाउन त लप्पनछप्पन छक्का पञ्जा नै गर्नुपर्ने भएकोले उहाँलाई यो अडिट देखि नै एलर्जी भइसक्यो रे ! उहाँ अबको २ वर्षसम्म हिसाबको केही पनि काम गर्नुहुन्न रे । अडिट भनेको गर्ने काम नै होइन रे ! गोएन्काजीले थर्काएर के पनि भन्नुभएको थियो भने उहाँले सत्यतथ्यमूलक हिसाब भए मात्र गर्ने रे ! उहाँको बटम लाइन नै यही रे !
विजयजीलाई कस्तो लाग्यो भने उसले साँचो हिसाब गरिदिँदा साहूले उसको एकेडेमी कम्पनीलाई फाइदा हुने गरी खर्च छलाइदिएन भन्ने ! यति धेरै वर्ष साहुको छत्रछायाँमा कार्य गर्दा पनि साहू कहिल्यै खुसी भएन । सधैँ करलाई प्रफिट लुकाइदिएन भन्ने ! अझ साहुको छोरा लगाएर पेल्नुसम्म पेल्ने ! उता अडिटर बरामजीले सि.ए. पढेका अडिटर गोएन्काजी लगाएर कडिकडाउ गरेर उसलाई सधैँ पेल्नुसम्म पेल्ने । यी दुईटैको जाँतोको चक्करमा ऊ सधैँ पिस्नुसम्म पिसिइरह्यो । यद्यपि विजयजीलाई गोएन्काजी अचाक्ली मनपर्छ । विजयजीको पनि भनाइ यहि भइरहन्थ्यो कि विजयजीले गोएन्काजीले जस्तरी पेल्न नसकेर नै विद्यालयका अध्यक्ष साहुले लप्पन छप्पन छक्का पञ्जा गर्न विजयजीलाई ठाडै अह्राइरहेको हो ।
विजयजीले राखिरहेको सफ्टवेयरको हिसाब पनि सफ्ट्वेयरका मानिसहरूले चुहावट गरेर भ्रष्टाचारको पोल खोलिदेलान् भनेर यसपालीदेखि त झन् विजयजीलाई एक्सेलमा मात्र हिसाब राख्न लगाएका थिए ।
अझ “विजयजीलाई अडिटको काममात्र गराउने र साहुका मानिसले इन्टरनल हिसाब मात्र गर्ने ।” भनेको सुन्दा विजयजीलाई काम गर्ने जाँगर नै मर्यो । कति पटक विजयजीले सम्झाउन खोजेका थिए कि “चाहे इन्टरनल हिसाब होस् वा चाहे अडिटका हिसाब, ती दुबै हिसाब सत्यतथ्यमूलकरूपमा तयार पार्दा दुई थरी हिसाब गरिराख्नु नै पर्दैन यसले समय र श्रमको निकै वचत पनि हुन्छ र राजश्व पनि राम्ररी तिर्दामा कम्पनीको गुडविलमा पनि बढोत्तरी हुन्छ ।” यस्तो साहुको दुईजिब्रे नीति उसले बुझ्नै सकेन ।
विजयजीले थाहै नपाइकन उनीहरूले अर्कै सफ्टवेयरमा हिसाब गर्न थालिसकेका थिए । उनीहरूले यति गोप्य राखे कि त्यो कुन कम्पनीको सफ्टवेयर हो भन्ने विजयजीलाई कुनै भेउ नै दिएनन् । कति पटक अरूअरू व्यक्तिहरूलाई “सफ्टवेयरमा राखेका हिसाब थाहा पाएछन् कि पाएनछन् ?” भनी “यहाँको हिसाब साहुले चाहिँ कुन सफ्टवेयरमा राख्छन् ?” भनी धेरै पटक सोधखोजका नौटङ्की अनुसन्धान पनि गरिसकेका थिए , उनीहरू त्यति बेला बल्ल ढुक्क भएर हाँस्दै कुरा गर्दै थिए “यी विजय भन्ने इन्टरनल अडिटरले हामीले कुन सफ्टवेयरमा हिसाब राखेको छ भन्ने कुनै पनि सुइँको नै पाएनन् ।”
एउटा समय यस्तो पनि आयो कि विजयजीले अब न त अडिटरबाट पैसा पायो न त साहूबाट नै । उसको जागिर निल्नु न ओकल्नुमा परिसक्यो । घरमा तिउनको समेत उसले जोहो गर्न सकिरहेको थिएन ।
एक वर्ष वितिसकेको थियो उसले पारिश्रमिक नै पाउन सकेन ।
यस वर्ष साहुसँग विजयजीको भनाभन पर्यो कारण उसले काममा ध्यान दिएन रे ! सबै स्टाफहरू भित्रभित्रै ऊ विरुद्ध हुन्थे किनकि उसले केरकार, ट्याली गरी हरेक कर्मचारीहरूका भ्रष्टाचार, हिनामिना, बेरुजुको पर्दाफास गरी साहुका अगाडि यथार्थ हिसाब राखिदिन्थे । कति जना स्टाफले एउटै हिसाब दुई पटक बुझिलिएको उसको तलबबाट कटौती गराइदिएका थिए । कतिजनाले हजारौँ बक्सा विद्यालयको क्यान्टिनका लागि चाहिने स्टकका सामान बाँकी रहेको देखिए तापनि सामानको स्टक देखाउन सकिरहेका थिएनन् । यसले गर्दा हरेक स्टाफले विजयजीलाई साहुका अगाडि ससाना कुरालाई ठूलो इस्यु बनाएर खोट लाइरहन्थे । त्यसैले पनि विजयजीले आफ्नो हिसाब गर्ने कार्यमा जतिसुकै इमानदारी देखाए पनि साहू नै ऊदेखि धेरै नै असन्तुष्टि भइरहने क्रम छोडेन । अझ साहुले नै उसलाई “यसरी हरेक स्टाफलाई उसकै अगाडि गिराउने काम नगर्नुहोस् ।” भन्नसमेत छोडेनन् । पछि उसले स्टाफको अनुपस्थितिमा उनीहरूका भ्रष्टाचारका पोल साहुलाई विल भर्पाइ अनुसारको नभएको देखाइदिँदा पनि साहुले उसलाई “तपाईंको पफर्मेन्स पुगेन ।” भन्न छोडेन ।
विजयजीको एउटा सशक्त इमानदारीता नेपाल सरकारसँग थियो । त्यो भनेको यथार्थ करको राजश्व नेपाल सरकारको खातामा जम्मा गराइदिने र नेपाललाई आर्थिकरूपमा सवल बनाउने । यसपालीको लकडाउनमा उसले आफ्नो निवासमा रहेको नीजि कार्यालयबाट साहुको हिसाब लिएर एक्सेलमा हिसाब राखिरहेको थियो । उसको आर्थिक अवस्था जर्जर हुँदै गइरहेको थियो । उसले साहुसँग आफ्नो पारिश्रमिकका लागि साहुलाई तारन्तार गुहार गर्यो तर सुनुवाइ भएन । उसले साहुलाई इमेल गरेर मेसेज पठायो कि यदि मेरो यो यो नम्बरको खातामा मेरो यति पारिश्रमिक जम्मा गरिदिने भएमात्र म यहाँको वार्षिक हिसाब बुझाउनेछु ।
तर साहुले उल्टै “तपाईंले मलाई ब्ल्याक मेलिङ गर्ने ? तपाईंको हिसाब गर्ने ढङ्ग पनि छैन । म मान्छे पठाउँछु उसलाई हाम्रो विद्यालयको सबै कागजपत्र तथा तपाईंले गरेका हिसाबका डिजिटल डकुमेन्ट दिइदेऊ ।” भनी फोनैबट धम्कायो ।
उसकै घरमा आएर ती हिनामिनाधारी स्टाफहरू शानले आएर धम्क्याएर विजयसँग सबै डकुमेन्ट लगे । अन्तिम समयमा साहुले सबै डकुमेन्ट लैजाने तर पारिश्रमिक दिने कुनै पनि झिनो लक्षणसमेत नदेखेपछि विजयको प्रविधिक ज्ञानले नयाँ रङ्ग दिएको थियो । डकुमेन्ट लगेर पनि उनीहरूले धरै पाएनन् कारण विजयजीले सबै डिजिटल डकुमेन्टलाई त्यही अन्तिम समयमा उनीहरूले गरेका हिसाबका मागलाई एकोहोरो एक तमासले “हुन्छ ! हुन्छ ! हुन्छ ! हुन्छ !” मात्र भन्दै उसको कम्प्युटरबाट कपी गर्दै सेभ गर्नुपर्छ भन्दै पासवर्डले लक गरिसकेका थिए ।
यसपाली विजयजीले राम्ररी हिसाब गरेका थिए । हिसाबअनुसार उसले त्यो विद्यालयका हरेक डिपार्टमेन्टहरूबाट बनिआएका वार्षिक लेजर, डे बुक, रिसिप्ट, अनि विद्यालयका दुई प्रमुख शाखाबाटसमेत हिसाब गरी जम्मा ८ करोडको कलेक्सनसहितको हिसाब पनि उसको नीजि कार्यालयको प्रिन्टरबाट प्रिन्ट गरी साहुलाई बुझाइसकेका थिए । विजयलाई यो पनि यकिन थियो कि यो नै उक्त विद्यालयको वार्षिक कलेक्सनको आम्दानी हिसाब नै हो भनेर ।
तर साहुको भाषा सधैँ “हेर्नुस् विजयजी ! तपाईं अडिटको मात्र हिसाब गरे त पुग्ने नि, किन अरूअरू यता न उताको हिसाब मलाई केरकार गरेको भनी देखाउनुहुन्छ ? सुन्नुस् ! मलाई तपाईंबाट मात्र अडिटको काम चाहियो ?”
विजयजीको दशकौँको यो लेखा व्यवसायको अनुभवको हिसाब बुझ्ने त्यहाँ कोही निस्किएनन् । अडिटर बरामजी अलि बुढो भइसकेका थिए त्यसैले विजयजीले उनलाई नदिइकन, बरामजीसँगकै सल्लाहमा गोएन्काजी सिए पढिसकाएर त्यो समय अडिटर भइसकोले विजयजीले गोएन्काजीलाई नै राजीखुसी वार्षिक हिसाब बनाउन सबै डकुमेन्टहरू बरबुझारथ गरिदिए ।
यता वार्षिक कार्यक्रममा साहुको भाषण यस्तो थियो, “हेर्नुहोस् ! आजकल यहाँ हाम्रो विद्यालय देखी टाउको दुखाउनेहरू थुप्रै छन् । सामाजिक सञ्जालमा जसले जे पनि लेख्न सक्छन् । हामीले सरकारलाई वास्तविकरुपका हिसाबबाट धेरै कर बुझाइराख्दा पनि, एक दुई त्यस्ता कुत्सित व्यक्तिहरूले नसहेर हामीलाई बदनाम गर्न खोजिरहेछन् । उनीहरू हाम्रो यस्ता शिक्षाप्रतिको समाजसेवालाई उजागरै गर्दैनन् ।”
बरामजीले विजयजीलाई गोएन्काजीका विशेषताहरू बताउन कहिल्यै चुक्दैनथे । बरामजीका भनाइअनुसार गोएन्काजी अहिले त झनै कडा छन् रे ।
विजयजीलाई पनि पैसै नआए पनि ८ करोडको नगद संकलनको हिसाबको राजश्व त राम्रै सरकारमा दाखिला हुनेछ । गर्न चाहेर पनि विजयजीले काम गर्न सकेनन् किनकि उनलाई न त अडिटर पक्ष, न त आन्तरिक राजश्व कार्यालय पक्ष, न त साहूका पक्षबाट कुनै पनि किसिमको श्रमको मेहनाताना जुरेन । हार खाएर विजयजीले गोएन्काजीलाई सबै हिसाब सुम्पिएर ढुक्क भएका थिए कि उनले ८ करोड निकालेको हिसाब अवश्यै पनि डटेर गोएन्काजीले १० करोड जति निकाल्नेछन् । अनि आफुलाई फाइदा नभए पनि राजश्व चुहावट हुनेछैन भनी उनी ढुक्क भए ।
गोएन्काजीले अडिट गर्न सुरु गरिसकेपछि विजयजीले सो विद्यालयमा कहिल्यै पाइला नटेक्ने निधो गरिसकेका थिए । अब उनी अरू काम खोज्ने काममा धुइँपत्ताल लागिसकेका थिए ।
दुई वर्षपछि बरामजीको बूढो पास्नीमा विजयजीलाई निम्तो आएको थियो । शाकाहारी किसिमको भोज हुन्छ भनेर मात्रै कट्टर शाकाहारी विजयजी त्यस समारोहको भोज खान गएका थिए । बरामजीको हरेक वर्षको जन्मोत्सवमा पनि विजयजी शाकाहारी किसिमको भोज खुवाउँथे र उनी आनन्दित भइकन खान जान्थे । ती वार्षिकोत्सवका भोज पनि विजयजीलाई यति अचम्म लाग्थे कि ६ वर्ष अघि बरामजीले भनेअनुसार गोएन्काजीका सबै ग्याङ मांशाहारी थिए भने बरामजीका सबै ग्याङ शाकाहारी थिए । विजयजी त्यसरी नै शाकाहारी ग्याङमा मात्र सामेल भए । त्यसको २ वर्षपछि अर्कै भयो कि गोएन्काजीका सबै ग्याङ पो शाकाहारी भएर निस्के, आखिर “कुरा गरेर, व्यवहार गरेर हेर्नु पर्ने अनि यसरी एकोहोरो लहै लहैमा लाग्नु नहुने” निधोमा पुगेर बरामजीका ग्याङ छोडेर गोएन्काजीका ग्याङमा लागेका थिए । तर यसपालीको बूढो पास्नीको समारोहमा विजयजी अझ रणभुल्लमा परे कि ती दुई ग्याङमा पनि ६० र ४० प्रतिशत मात्रै शाकाहारी भएको पोल खुल्यो । यस्तोमा कट्टर विजय शाकाहारीले कसैको पनि शाकाहारी भनेर पछि नलाग्ने निधो गरिसकेका थिए । दुनियाँको अडिटमा अब्ब्ल विजयजी आफु कुल परम्परादेखी शाकाहारी नै भए पनि शाकाहारीको अडिटमा अनुत्तीर्ण भए ।
यस्ता भोजभतेरमा कहिल्यै कदापि सामेल नहुने कसम खाएर शितलहरआएको अलिअलि धमिलो सेतो हावा वाफिएको घोर जाडोको समयमा पनि एक गिलास चिसो पानीले आँत हलुको बनाइरहेका बेला बरामजीले गोएन्काजीको हात मिलाउँदै भनिरहेका थिए कि “हेर्नुस् गोएन्काजी ! त्यो विजय काम लाग्दैन, तपाईंले उसले ८ करोड देखाएकोलाई ५ करोड मात्र देखाएका र खर्च त्योभन्दा बढी देखाएर कर सबै छलाइदिएकोले साहु पनि खुसी, विजय पनि आउट, बा ! बा ! बा ! बा ! मान्नैपर्छ तपाईंलाई त बल्ल पिलो निचोरेकोजस्तै भयो ।”
फेरि त्यहाँ विद्यालयका साहु पनि कारमा आइपुग्यो, विजयजी अब आइन्दा कुनै पनि समारोहमा सरिक नहुने निधोमा पुगिसकेका थिए । विद्यालयका साहु, बरामजी अनि गोएन्काजी एकआपसमा हात मिलाउँदै थहाका लगाउँदै हाँसिरहेका थिए भने शाकाहारी भोज मांशाहारी पार्टीमा परिणत भइसकेको थियो भने निकै अबेर भइसककोले निस्पट्ट निखूर कालोले निल्न लागिसकेको समयमा विजय त्यहाबाट ओझेल भइसकेको थियो ।
विहानको समय भएको थियो, विजयजीले एउटा अडिटको कम्पनीमा दरखास्त दिएको ठाउँबाट नयाँ अडिटरको फोन आयो, “तपाईंले गर्नसक्ने काम भनेको के हो ? समय एकदम कम छ । मलाई तत्कालै छर्लङ्गै भन्नुस् त ?”
विजयजीले तुरुन्तै उत्तर दिए, “मैले दशकौँको अडिटको अनुभव गरेको छु । मैले अडिटरले गर्न नसक्ने कार्य गर्न सक्छु ।”
उताबाट ती नयाँ अडिटरले थर्काउँदै भन्यो, “के रे ! के रे !! तपाईंको मतलब के रे ! हामी अडिटरले गर्न नसक्ने काम तिमीले गर्ने ? अडिटरले गर्न नसक्ने हिसाब के छ बबुरो ? गर्न नसक्ने हिसाब भनेको के हो मूला ? तपाईं अन्तै काम खोज्नुस् ?”
उताबाट फोन काटिइसकेको थियो । विहानै भए पनि आज औँशीको दिन झिसमिसे हुनुपर्ने विहानको ४ बजेर १७ मिनेटको ठिक समयमा समेत सूर्यमा खग्रास ग्रहण लागेर उही निखूर निष्पट्ट कालरात्रि भएर विजयलाई घोर निराशा दिलाइरहेको थियो ।
२०८० माघ २
बिजु सुवेदी विजय
Comments
Post a Comment