“म”
“म”
“म” भन्ने पनि अचम्म हुँदो रहेछ । मैले “म” को खोजी गर्नुपर्छ भन्ने आध्यात्मिक गुरुको उपदेश बाँड्दा हामीले खोजी गर्ने हो “म” को, तिमीलेचाहिँ बिर्सेर पनि “म” को खोजी नगर्नू भन्ने धम्की पाएँ । “म” पनि यस्तो रहेछु मायोपियाको चश्मा लगाइराख्दा पनि कत्तिलाई टाउको दुखाइ हुँदो रहेछ कि तेरो यसले परिचय खुल्छ त्यसैले तैँले इण्डियामा गएर अप्रेशन गर् भन्ने धम्की पाएँ । मुख धोएर लेन्स लाए लेन्स लाएर मुख धुनुपर्ने रे अनि लेन्स लाएर मुख धोए, मुख धोएर लेन्स लाउनुपर्ने रे । “म” को परिचय त्यस्तो रहेछ आँखाको लेन्स नै मेरो परिचय रहेछ ओहो ! त्यो कसरी बदल्ने ? एउटाले म थाहा पाएर मेरो नाम प्रभात भूजेल भने । उफ् ! उसले हुनुसम्मनको यातना बेहोनुपर्ने रे, बल्ल उसलाई “म” को परिचय नदिने बाचा गर्न बाध्य पारियो । अनि मात्रै धर पाउने भयो । प्रतिगामीलाई प्रतिगमण गर्न “म” बाधा भएँ रे, अनि अग्रगमणकारीहरुलाई पनि “म” बाधा भएँ रे कसैलाई मैले गर्दा देश पछि धकेलियो रे भने कसैलाई तैँले देश धेरै अगाडि लान खोजेर विद्रूपिकरण गर्यौ रे । बूढा, बच्चा अनि तन्नेरीगधा सँगै कस्तै किसिमले जनताका अगाडि लग्दा पनि सबैलाई “म” नै बाधा हुँदोरहेछ जहिले पनि । त्यसैले मैले पछि हट्नु पर्ने रे । “म”सँग किन सबैको यस्तो साह्रो दुश्मनी ? तँ यस्तै भयौ भने चाबी तेरै हातमा हुन्छ , तँ यस्तै भयौ भने साँचो तेरै हातमा हुन्छ , हामी पछाडिबाट मिल्छौँ तैँले ताला चाबी छोडि दे, साँचो छोडि दे ।
ए बाबा ! मैले के छोड्ने ? मैले यत्ति छोडेको छु कि मेरो अहिलेसम्मको ४०औँ वर्षको पारिश्रमिक पाएको छैन । बूढा भइसकेँ, लठ्ठी युवालाई टेकाइसकेँ । पुख्र्यौली सम्पत्ति सबै परिवारले हेर्नु हुने तर मेरो हक नलाग्ने । मलाई निगरानी गर्नेहरुको महल हुनु, मेरो भने इल्लीबिल्ली हुनु । हरे ! कस्तो अनि मेरो व्यक्तिगत वासलातमा सम्पत्तिभन्दा दायित्व कैयौँ गुणा बढी भइसक्यो । यसमा कोरोना महामारी बढी दोषि छ । खएर ! यही समय मेडिकल माफिया मोटाए । उनीहरुलाई “म” लाई थिचोमिचो गर्न सहज भयो । एडभान्स, ऋण, पेश्की सबै फछ्र्यौट गर्दा टाउकामा १०वर्ष कमाएर तिर्न नसक्ने ऋणको भार भइसक्यो । तैपनि अझै भेटे जतिले मसँग पछाडिबाट मिल्ने अफर आइरहेको छ ती फेददेखि टुप्पोसम्मकाहरुको । बदलामा मैले “म” छोड्नु पर्ने रे ।
एकचोट “म” भएर हेर्नुहोस् । मैले यो चाबि भनुँ कि, साँचो भनुँ कि, अनि गद्दी भनुँ कि त्यो मैसँग खोसिएर तपाईंहरुले उपभोग गर्न पाउनुपर्ने रहेछ भन्ने मैले जानेँ । तर कसलाई विश्वास गर्ने म अझै असमञ्जस्यमा छु । इमान जमानको जमाना रहेन । देश विकास गर्नुहोस् । इमानदार बन्नुहोस् । जनताले विश्वास गर्नेछन् । भोट दिएर तपाईंहरुलाई “म” को चाबिसाँचो दिनेछन् । यो हो नि नियमन तरिका । संबैधानिक तरिका । सिधै मसँग खोस्न आउनु के यो बैधानिक हो ? यो त पक्षको पनि प्रतिपक्षको पनि अनि अग्रगामीहरुको पनि प्रतिगामीहरुको पनि गुण्डागर्दी भयो । म पनि कस्तो भाग्यमानी ! कि हजुरबुबाले त मलाई जन्मँदा “भाग्यवान्” नै नाम दिएका थिए तर कसैलाई पाचन भएन । मलाई ३ करोड जनसँख्यामा १ करोडले छोडि दे पछाडिबाट मिल्छौँ भनेर हाउभाउ कटाक्षका छाडा, नरम गेश्चर गरिसके । एकचोटि मेरो छाप्रोमा हेर्न आउनुहोस् अब मसँग छोड्ने कुनै कुरा बाँकी छैन । ठण्डाराम भइसकेँ । संन्यासीको बरु आफन्त होला मेरा कोही छैनन् । मलाई मेरो देश सुध्रेको हेर्नु मन छ । जनता सुखी भएको हेर्नु मन छ । नाटक मञ्चन भएजस्तो अझै ममाथि खेलबाड भइरहेका छन् कि मैले छोड्नुपर्ने रे । साँचो खोस्ने भए पहिलेका संकटकाल लाउनेहरुलाई भन् ! तन्नम् हुन्छस् तिमीहरु । तन्नम् ! शक्ति छ भने । नत्र मजस्तो संन्यासीलाई किन चलाउन आउने ?
यस्तो लाग्यो कि साँच्चै मसँग त “म” को स्यालसिंह नै रहेछ । कोही मनकारीले त भन्थे कि तँ बाख्रा होइनस्, घाँस नखा, तैँले तेरो “म” लाई हेर् र तैँले बुझ्नेछस् कि तँ त शेर नै होस्, तैँले राज गर्नेछस् ।
न त हुकुमबासी माने मलाई
न त रुकुमबासी माने मलाई
हरे ! के सारो लुटिएँ म यत्ति
न नै सुकुमवासी माने मलाई
तर आफूलाई सायरी या वास्तविकताको शेर मेकर वा शेर ठाने पनि अरु सबैले “म” को उपभोग गर्न पाउने ! तर मैले “म” को उपभोग गर्न नपाउने । यो कस्तो न्याय हो । यो कस्तो जनताप्रतिको न्याय हो । मैले मलाई “म” भन्नै नपाउने ?
पहेँलो लुगा लगाए मैले सात्विक खाना खान नपाउने । जसले पनि थाहा नहुने गरी मिसाएर ख्वाइदिने । तैले पहेँलो म बन्न नपाउने रे । अनि पहेँलो डोरा हातमा बाँधे, रातो डोरा बाँधेर म तँभन्दा क्रान्तिकारी भन्न आउने । किनकि हामीले सधैँ शाकाहारी मात्रै पनि खान पर्न सक्छ रे । अनि मैले रातो टोपी लगाउँदा मैले क्रान्तिकारी खाना खान नपाउने । अनि रातो डोरा हातमा बाँधे पहेँलो डोरा हातमा बाँधेर देखाउनेको ताँती लाग्ने ! डिँग हाँक्ने । र उनीहरु म भन्दा धर्मात्मा भनी फेरि फुकिएर फुस्स भनी डिँग हाँक्ने । तैँले रातो “म” बन्न नपाउने रे । किनकि हामीले कहिल्यै पहेँलो बन्न पाउन्नौँ रे । हरे ! देशमा क्रान्ति गर्न क्रान्तिकारी बन्न नपाइने ।
हजामले पनि भन्ने कि बढी ऐना नहेर् तैँले तेरो “म” लाई चिन्लास् होशियार ! अनि बिब्लाँटो होला । श्रम गरी मेहनाताना लिन जाँदा मेहनताना नपाउने किनकि मैले पाएँ भने ३ करोड नेपालीलाई उनीहरुको श्रम अनुसारको ज्याला त्यसैगरी दिनुपर्ला रे ! अनि स्वतः देश घाटामा जान्छ रे । अनि नयाँ पत्रिका त ल्याऊ भन्न नै नहुने किनकि हकरले नयाँ क्रान्तिकारी पत्रिका ल्याइदिएर देशमा विद्रोहीको चपेटामा हुनसक्छ रे । यसो गर्दा तेरो म जिउँदो हुन्छ रे । “म” प्रति मिस्मेरिजम् यस्तो रहेछ नाटकलाई वास्तविकता भन्नु पर्ने । अनि वास्तविकता प्रतिगमन त भयो नि बबुरो भनी ऐना देखाउन नहुने । “म” त ऐना रहेछु । त्यो मृत सत्यलाई हेर्न नहुने परम्परा रहेछ । १३ दिने क्यारेन्टाइन, मातम, किरियापछि “म” नहेर्ने बानी बसाल्दा रहेछन् । ऐना हेरे पनि “म” नदेखिने भएकाले बल्ल उनीहरू ढुक्क भए । उनीहरुले पो नदेखे त ! तर मैले त कुनै सँस्कृतिको लेप नलगाई हेरेँ । मैले त मृत देखेँ, यही त रहेछ प्रतिगमनको वास्तविकता अति सत्य क्रान्तिकारी त सडक नाटक असरल्ल मञ्चन भएरहेको रहेछ । त्यसै पुर्खाले भनेका होइनन् रहेछन् कि जीन्दगी एक नाटक हो तर यही कुरा गर्दा उनीहरुको अम्लरस फाटक भयो रे । वास्तबमा जे देखिन्छ त्यो वास्तविक जीवन होइन रहेछ , त्यो उनीहरुले हाइलाइट गरेका मात्र रहेछन् , जब मैले “म” बुझेँ त्यो त हामीले जे पनि देख्छौँ ती सब मञ्चभन्दा बाहिर अनि मञ्चभन्दा कडा अभिनयका पात्रहरुका हरेक ठाउँमा झिलिमिलीलाई देख्न आँखा एकत्रित पार्ने मनसायका बाह्य बिनामञ्चका मञ्चन हुँदा रहेछन् । त्यतिकै भनेका होइनन् कि नेता अभिनेताभन्दा माहिर अनि खप्पिस, अब्बल ! वास्तवमा जे देखिँदैन त्यसमा हेर्ने हाम्रो बाइनोकुलरीय क्षमता भएपछि मात्र “म” देखिँदो रहेछ ।
फेरि “म” देखेपछि कसै न कसैलाई नभनी बस्न नसकिने रहेछ । यस्तो राज पर्दाफास गर्न लालायित हुने रहेछ । त्यसैले यस्तो गूढ रहस्यको कुरा मैले लुकाउने पाप गर्न सकिन । कसैलाई केही आक्षेप लाग्न गएको भए माफी चाहन्छु । हेर्नुहोस् त माफीमा पनि “म” अक्षर रहेछ । मैले माफी मागेपछि सबैले “म” हेर्न पाउँछन् भने कृपया मेरो सबै प्रतिगामीहरुलाई आग्रह एवम् अनुरोध छ कि मबाट जान अनजान केही त्यस्तो “म” हेर्ने दुस्साहस गर्न पुगेको रहेछु । कृपया ! मेरो अधिकार खोसेर भए पनि जनतालाई सर्वाधिकारी बनाइदिनुहोस् यो सर्वोच्चको पनि सर्वोच्चज्यूलाई मेरो शादर अनुरोध छ ।
२०७९ असार २६
बिजु सुवेदी विजय
Reply to me At bijusubedi@gmail.com
Comments
Post a Comment