श्रमको विजय


प्रिय नेताहरु अभिवादन !
श्रम गरेर मृत्युलाई जितेको छु मैले ।
यो श्रमीकको तर्फबाट तपाइँहरुलाई एक मुठ्ठी पसिना ।
ठगी खाएर मलाई पच्दैन ।
ठग्नु पर्ने काम चाहिँदैन मलाई ।
यस्तो काम कसैले गर्न नपरोस् ।
सबैले ठग्न नै सिकाउन खोज्छन् ।
तर म श्रम गर्न चाहन्छु ।
हो म श्रम गर्न चाहन्छु ।
त्यसैले श्रम गरिरहेछु ।
तर्सथ ठगहरुले मलाई पीडा दिइरहेछन्
सुन्दर भविष्यको आश्वासन दिँदै ।
तर मेरो श्रम विना उसको सुन्दर भविष्य छैन
उसले यो बुझे हुन्छ ।
र सबैलाई श्रमै गर्न आव्हान गर्दछु ।
म श्रम गर्छु ।
त्यसैले बसीखानेहरुका शत्रु हुँ म ।
म यिनीहरुका लागि सधैँ काँडा भएको छु ।
यिनीहरुले मलाई साह्रै पीडा दिए
हो ! अहिलेसम्म पनि ।
जहाँ जाँदा पनि जेलैमा राखे ।
साह्रै यातना दिए ।
मैले श्रम गर्ने हातका नशामा फोका उठाए ।
तैपनि मैले श्रम गर्न छोडिन ।
अनि मैले झन धेरै श्रम गर्न थालेँ
उनीहरुले दिएको हातको नशाको फोका शान्त पार्न ।
धेरै-धेरै हातैले श्रम गरेँ ।
मुठ्ठी कस्सेर मुठ्ठीले श्रम गरेँ ।
अनि हातका नशाहरुमा पसीनाको ठेला निकालेँ ।
त्यस ठेलाले हातका नशाका फोका हटाएँ ।
श्रमलाई जिताएँ ।
हो यो यथार्थ हो ।
तिमीहरुले मेरो इतिहास हेरे हुन्छ ।
सहानुभूति दिनेहरु भन्ने गर्छन्
यो त हाम्रो जिउँदो शहिद हो ।
बसी-बसी खानेहरुले मलाई अत्ती नै सताए ।
तर म पनि विजय हुँ ।
मैले हार्न जानेको छैन ।।
तर म पनि विजय हुँ ।
मैले हार्न जानेको छैन ।।
तैपनि अझै सताइरहेका छन् ।
खै के गरे नेताहरुले ।
तर मैले श्रमले जितिरहेछु ।
प्रत्येक दिन ठगहरु
मेरो मृत्युको कामना गर्छन् ।
जालिझेलि तिकडम बुन्छन् ।
तर मेरो श्रम भएन भने उनीहरुको
कामकाजको हिसाबै गर्न सकिँदैन ।
त्यसैले हिसाब बचाउन पनि
म नै चाहिन्छ उनीहरुलाई ।
किनकी उनीहरुलाई हिसाबको श्रम गर्न आउँदैन ।
म २१औंशताब्दीको श्रमिक हुँ ।
त्यसैले कम्प्युटरमा दिमागको श्रम गर्छु म ।
हिसाब गर्नेमा वरिष्ठता हासिल गरेको छु मैले ।
मेरो श्रम गर्ने आफ्नै तरिका छ ।
उनीहरुले धेरै शूल्कको शिक्षा पढेर सिके ।
मैले श्रमीय शिक्षा लिएँ ।
त्यसैले उनीहरु मेरा अगाडि श्रममा फिक्का छन् ।
श्रम के हो - उनीहरुलाई थाहै छैन ।
किताबले सबै दिन्छ भन्छन् ।
तर मैले किताबले दिन नसकेको !
मैले धेरै प्राक्टिकल कुराहरु दिएँ ।
सबै श्रमले दिलाएँ ।
त्यसैले कम्प्युटरमा दिमागको श्रम गर्छु म ।
ठगी खानेहरुलाई यस्तो श्रम आउँदैन ।
त्यसैले उनीहरुको कामकाज टिकाउन म नै चाहिन्छ ।
जसको हिसाब राख्न पनि म नै चाहिन्छ ।
तर उनीहरुलाई श्रम चाहिँदैन ।
विना श्रम फाइदा चाहिन्छ ।
तर , तर , तर , तर ,
मलाई उनीहरु चाहिँदैन ।
मलाई कहिल्यै पनि उनीहरु चाहिँदैन ।
मलाई सिर्फ श्रम चाहिन्छ ।
श्रम अनुसारको फल चाहिन्छ ।
यसैमा मलाई शान्ति मिल्छ ।
यो नै मेरो सिद्धान्त हो ।
उनीहरुलाई शान्ति छैन ।
त्यसैले उनीहरुको सुताई ढुङ्गामाथिको सुताइ हो ।
त्यसैले उनीहरु छट्पटिन्छन् ।
उनीहरुलाई म भन्न चाहन्छु
तिमीहरु पनि श्रम गर ।
बसी खान छोड ।
गरी खाऊ ।
अनि थकाइ पछिको आरामको मज्जा लिन सिक ।
कुनै कुरा बनाउन सिक ।
जुन सुकै कुरा बनाउन सक्छौ ।
हो त्यही नै श्रम हो ।
मलाई जिउँदो शहिदको पेन्शन पनि चाहिँदैन ।
श्रम अनुसारको फल नै पर्याप्त छ ।
श्रम धेरै गरेकोले
श्रम गर्ने बरिष्ठता हासिल गरेको छु मैले ।
मलाई स्थायि सरकारी जागिरको आश्वासन पनि चाहिँदैन ।
सहानुभूति पनि चाहिन्दैन ।
श्रम राम्रो गरेको हुनाले
रोजगारी मेरो दैलोमै छ ।
सधैं छ ।
अझ धेरै हुँदैछ ।
त्यसैले , त्यसैले , त्यसैले
गणतन्त्र दिवसको विभूषण दिए जस्तो
मैले मेरो मुख बन्दगरी लाटो हुन
मलाई जिउँदो शहिदको पेन्शन चाहिँदैन ।
मात्र , मात्र मलाई मेरो श्रमको मूल्य चाहिन्छ ।
त्यसैले झुल्किएर श्रम गरिरहेको छु मैले ।
त्यसैले १० वर्ष१९ दिनमा झुल्किएँ म ।
रातो घाम , प्रभात बनिरहेछु म ।
प्रभात बनिरहेछु म । 
 ( यो कविता मेरो भोगाईको हो र यो २०६७ श्रावण १८ गते मङ्गलवार जनादेश साप्ताहिकमा साताको कविता शीर्षकमा प्रकाशित भएको कृति हो )

बिजु सुवेदी " विजय "
कुलेश्वर  , नयाँवस्ती  काठमाण्डौं ।
bijusubedi@gmail.com



Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा