कथा :— नेपालआमाले ३ बाकस कमाइन्

 कथा ः— नेपालआमाले ३ बाकस कमाइन्

बिजु सुवेदी विजय


गडगडाहटका साथ गाउँमा पहिलो पल्ट हेलिकप्टर मडारिरहेको थियो । “छालिवान गाउँ भनेको यही हो ?” हेलिकप्टरबाट चिच्याईचिच्याई सोधिरहेको थियो । चिलगाडी नजिक आयो भन्दै गाउँलेहरु बाक्लिँदै थिए अनि तत्कालै गाउँलेहरु सबै चिच्याएर हो ! हो !!  भन्दै थिए । गाउँनै थर्काउने गरी हेलिकप्टर गजधम्म रोकियो । हेलिकप्टरको पंखा घुमिरहेको थियो ।

म त्यही चिलगाडी भित्र थिएँ । मैले जनयुद्धको सपना बोकेको, तर अब घोषणापत्र नै राखेर झिलिमिली बाकसमा पठाइएको थियो — “देश बनाउने टेन्डरमा भाग नपाएको हर्के म नै हुँ !”

गाउँ फर्केको हुँ म— काठको बाकसमा, पहिले बन्दुक बोकेको हात, अब शलले बेरिएको छ,

सपनाको गोली थियो– जनयुद्ध, तर टुक्रिएको छ– जनगणनामा हराएको नाम ।

म मरेको थिएँ झन्डा समाएर, तर फर्केर आएँ बाकस समाएर,“शहीद” भनियो, तर परिवारले खायो— ‘सहिद ग्यारेन्टी छैन’ को सुक्खा चिठ्ठा ।

गाउँले करायो — “यो त हाम्रो छोरो हो !”

नेताले कराए — “यो त पार्टीको इतिहास हो !”

तर इतिहासमा फोटो नै छैन मेरो, केवल बाँकी छ त केवल एउटा कुहिएको कफिन– र केही अधुरा नारा ।

“नयाँ नेपाल” का लागि लडेको थिएँ,तर आएँ पुरानै घाउ लिएर,

शरीर छैन– कंकाल पनि होइन, केवल घोषणापत्रको खरानी बोकेको माटो !

सत्य बोल्दा मैले पाएँ— देशद्रोहीको गाली, झुट बोलेका नेताहरूले थुपारे अकुत सम्पत्ति ।


मैले देखेको सपना – समानता, अहिले देखिन्छ – समान हैन, ‘सहन’ मात्र बाँकी ।

शहीदको सूचीमा ‘म’ छुँइन, तर शहीदको सालिक बनाउने टेन्डरमा ‘कमिसन’ छ ।

गोल्डस्टार जुत्तामा लडेको थिएँ, आज पार्टीका छोराहरू प्राडोमा चढेर शोषणको फोटोशुट गर्दै छन् ।


मेरो टाउकोमा गोली लाग्दा, काठमाण्डूमा बत्ती गइसकेको थियो, र आज जब म बाकसमा आएँ,

फेरि घाम लागिरहेको थियो– तर गरिवकोे घरमा कहिल्यै उज्यालो परेन ।


छोरीले सोधी — “बाबा के ल्याउनु भयो ?”

आमाले भनिन् — “क्रान्ति, बाकसमा पो आएको छ !”

“पढाइ बनाउने भनेर बिद्रोह गरेथ्यौं”,

अहिले स्कुल त बने, तर शिक्षा चाहिँ नेताको छोराले मात्र पढे ।


हो हर्केँ हुँ म माओवादी थिएँ म ,

तर आज मैले आफ्नो मृत्युलाई “राम्रो युद्ध” भन्न नमिल्ने महसुस गरँे,

किनभने देश त फेरिएन,

फेरियो त केवल म जस्तालाई सम्झिने भाषणको स्क्रिप्ट ।


यहाँ त अर्को बाकस पनि रहेछ , शरीर थन्किएको थियो, तर सपना त Payoneer मा अझै Process मा थियो, पासपोर्ट सकिएको थियो — जीवन पनि


यो काठको बाकस खोलेर हेर्न चाह्यौ भने, त्यहाँ ऊ छैन — छ त केवल सरकारी ‘डेटा’,

नाम, उमेर, देश — “राष्ट्रिय गौरव” को ट्याग टाँसिएको, बाँकी ? खालि छ, बिलकुल खालि —

जस्तै राज्यको जवाफदेहिता !


गएको थियो बाँच्न, तर फर्कियो मरेर पनि कर तिर्दै, हवाई चेकइनमा उडेको थियो शरीर,

तर आत्मा चाहिँ म्यानपावर एजेन्सीको रजिस्ट्रेशन मै गाडिएको थियो ।


युद्धको बन्दुक त युक्रेनीले चलायो, रसियनले चलायो तर ट्रिगर चाहिँ विदेशिने बाध्यताले थिचेको थियो,

गोली रुस र युक्रेनकोे थियो, तर लाश चाहिँ फगत ऊ नेपालीको थियो ।


ऊसँग मिसिएको थियो – पिएसओ मेनुमा टुँडिखेलको भाषण, “हाम्रो श्रमिक शक्ति संसारभरि छ” भन्ने गर्व, तर न Embassy ले चिन्यो, न सरकारको आँखा रसायो ।


कसैले सोध्यो – “के मरेको यही हो ?” अनि उत्तर आयो – “छैन है, ऊ त कमाएर मरेको हो !”


गाउँमा बाकस ओर्लँदा जिल्ला अधिकारी आउनेछन् — माइक बोकेर,

“श्रमवीरको सम्मान गरौं” भन्दै फोटो खिच्नेछन्, र तुरुन्तै Facebookमा Salute our Heroes लेख्नेछन् ।


हाँसो लाग्छ, जब गोजी रित्तो भएर ऊ विदेश गएको दिन

“तपाईंका लागि केही गर्न सकिएन” भनेको राष्ट्र, आज उसकोे लाशको लागि शल ओढाउनेछन् ।


सोध्न मन लाग्छ— देश बनाउने बलिदान चाहिन्छ भने, जिउँदो ज्यानले हो कि लाशले ? र यदि लाश नै काफी हो भने— कति बाकसहरू चाहिन्छ, पूर्ण विकासका लागि ?


अझै चिलगाडीको पंखा घुमिरहेको छ 

घामले पोलिएको होइन, शोषणले खाकिएको श्रमिक,

बिचरा ! फर्किएको त केवल उसका छालामा जलाइएका QR कोडहरू ।


काठको बाकस ओर्लिन्छ एयरपोर्टमा, अनि प्रेस विज्ञप्ति आउनेछ— “श्रमवीर स्वदेश फिर्ता !”

एउटा बाकस जुन देशको अर्थतन्त्रको unsung Hero, तर जिन्दगीभर एक चोटी पनि “थ्यांक यु” आएन ।


गएको थियो ऊ पसिना बेच्न, तर फर्कियो हाड मासु गुमाएर,

स्यान्ड स्टोर्ममा हराएको थियो, र शवको बिल आयो– “कम्पनीले बुझाउँदैन ।”


पेट्रोलको रेट घट्यो भन्दै खुसी हुनेहरूलाई थाहा छैन, त्यो तेल उसकोे रगतसँग मिसिएको छ ।

बढी तातोले ऊ मर्यो, तर देशको सिस्टमलाई त कहिल्यै पोल्दैन ।


घरमा थियो १० लाख ऋण, खाडीमा थियो ५० डिग्री घाम, तर दुबै ठाउँमा उसको भविष्य सुकिरहेको थियो, बाँकी चाहिँ एजेन्टले खाइहाल्यो – “काम मिल्दैन तर  भिजिट VISA त लागिहाल्छ नि !”


म्युजिक सिस्टममा कानमा गुञ्जिरहेको थियो— र उसले भन्थ्यो

प्राणप्यारी “माई गर्लफ्रेन्ड इज इन नेपाल...”, र ऊ भने साढे १२ घण्टा काम गरेर ’लोण्च’ को खुट्टा चाट्दै थियो ।


न ओभरटाइम मिल्यो, न पानी सितल, तर देशले उसलाई ‘विदेश नायक’ को स्टिकर टाँस्यो ।

सरकार बोल्छ – “गएर कमाऊ, रेमिटान्स पठाऊ”, तर ऊ मर्यो – अनि रकम तिर्नु पर्ने लाश बन्यो ।


घरले सोध्यो – “कहिले आउँछस् ?”

उसले जवाफ दिएको थियो – ‘DRI’ सर्टिफिकेटसँगै बाकसमा आएको छु, हेर्नू न ।

बुबाले रुनु त थियो, तर ऋणको किस्ताले पहिलो पल्ट सिस्का फुटायो ।


फ्रिज जस्तो बाकस, भित्र उसले पसिना मात्र होइन, कहिल्यै नफर्कने बाचेका सपना राखेको थियो ।


बाहिर टाँसिएको छ– “Handle With Care“,

तर उसको जिन्दगीलाई न देशले ह्यान्डल ग¥यो, न म्यानपावर कम्पनीले क्यर ग¥यो ।


ऊ मर्यो कि मरेन–थाहा छैन देशलाई,

थाहा छ त केवल यो– “म फर्केकाले गर्दा रेमिटान्स घटेको छ !”


जब पंखा रोकियो चिलगाडीको झ्याल खोलियो

म एउटा बाकसमा थिएँ ती दुई अरु बाकसमा

यी हाम्रा मौन संवादहरु हुन् तर अब गड्याङगुडुङ सुरु भयो


सुकिला मुकिलाहरु आए, ३ बाकस बोकेर माटोमा विसाए, चिलगाडी तुफान फर्काए

उनीहरु कुलेलम ठोके, देशलाई पनि बनझरमा पु¥याए ।


तीनै बाकस भित्र थिए — देशका तीन युगका सपना, तर बाहिर — Only Cargo, No Return Policy लेखिएको ।


नेपालआमाले आँखा चिम्लिइन् — “यी त मेरो छोराहरू हो, म गर्व गर्छु ।”

तर गर्वको रेट बराबर थियो तीन गाडी किराया र एउटा माला ।


३ बाकस = ३ सस्तो मेडल, तर राज्यको बजेटमा ३० करोडको क्रान्ति कथा ।

बाँच्दाखेरी ‘बोक्नै नमिल्ने’ नेपाली, मरेपछि ‘बाहुल्य श्रमिक आपूर्तिकर्ता राष्ट्र’ को गौरव ।


तीन बाकस = तीन परिवार उधारोमा बाँचेका,

तीन थुनिएको सपना = एउटा निर्लज्ज राष्ट्रगान !

शहीद लिस्टमा छैनन् ती नामहरू, तर आफ्नै घरको पर्खालमा चिसो बाकस टाँसिएको छ ।


नेपालआमाले त कमाइन्— फोटो, प्रेस विज्ञप्ति,

र ट्विटरमा ३ स्ट्याटसः “#GoneButNotForgotten !”

तर साँचोमा— Gone=Forgotten=Forged !


ती बाकसहरू अब कथा,कविता, पुस्तक, सिनेमा बन्छन्, किनकि योजनामा ती मान्छे थिएनन्,

दातृ निकायहरूका प्रपोजलमा, बाकसहरू ’संभावना’ हुन्— तर आमाका आँगनमा, ती ‘अन्त्य’ हुन् ।


यो के ? शवसँगै आयो, प्लास्टिकको माला, र अगाडिको बोर्डमा लेखिएको–

“नेपाल आमाले गर्व गर्छ !”

यो के ? शवसँगै आयो, बिजुलीबिनाको सहरमा चम्किने ३ थान LED मैनबत्ती,


तीन लाश, 

तीन क्रान्ति, 

तीन विस्थापन 

नेपालआमाले ३ बाकस कमाइन्


२०८२ जेठ १६

बिजु सुवेदी विजय





Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

पुस्तागत अध्ययन : एक अध्ययन

विज्ञान कथाः अनन्त यात्रा