’नोर’लाई नियाल्दा
’नोर’लाई नियाल्दा
’नोर’ उपन्यासमा पात्रहरूको नाममा नोर, मिई, शेह(नोरका बुबा), नोरकी आमा, मान्का, लोह, नोह, नोरका बाजे, बोह, नोरकी बहिनी, श्याह, आक्रमण गर्ने राता आँखेहरू, नोरका छाउराहरू, मेलान, स्यो, बुरुकीआदि छन् । तीमध्ये यहाँ नोर र लोहको चर्चा गर्ने प्रयास गरेको छु ।
नोर
’नोर’ रोशन पाेखरेलद्वारा रचित ’नोर’ उपन्यासको प्रमुख पात्र हो । उपन्यासको घटनाक्रममा हामी नोर पात्रको जीवन भोगाइमा जोडिन पुग्छौँ । वाल्यकालको समयदेखि तन्नेरी हुँदासम्म नोरमा निकै रूपान्तरणहरु देखापर्छन् । प्रागऐतिहासिक कालमा बाँचेकोले पनि नोरले आफ्नो जीवनमा निकै सङ्घर्ष भोग्नुपर्छ । उपन्यासको सुरुमा नोरका बाजे नोरका निकै मिल्ने हुन्छन् । विस्तारै पाठक पनि बाजेसँग जोडिन्छन् । त्यसैले पनि बाजे स्वर्गीय हुँदा नोर भक्कानिएर रुन पुग्छन् । विस्तारै बालकबाट किशोरावस्थामा पुग्दा नोरको मिईप्रतिको आकर्षण पनि बढ्दै जान्छ । नोर मिईका लागि भए पनि आफुलाई थप सुन्दर बनाउन खोज्छ । समय बढेसँगै हामी नोरको स्वभावमा पनि परिवर्तन देख्दै जान्छौँ र उपन्यासको अन्त्यसम्म एक वाल्यावस्थाका व्यक्तिबाट अत्यन्तै बुद्धिमान युवामा विकसित भएको पाउँछौँ । नोरले आफुलाई आफ्ना बा शेहजस्तै आफुलाई प्रभावशाली नेता बन्ने सपना पुरा गर्न खोज्छ । नोरको सबभन्दा राम्रो सत्गुण भने दया हो ।
लोह
लोह रोशन पोखरेलद्वारा रचित ’नोर’ उपन्यासको नोरपछि सबभन्दा बढी चर्चा गरिएको पात्र हो । हामीले सुरुमा लोहलाई भेट्दा ऊ अत्यन्तै बलियो र कठोर हृदयभएको दया एक थोपो पनि नभएको निर्मम शिकारी हुन्छ । ऊ नोर र शेहको एकदम विपरीत निर्दयी र निर्मम हुन्छ । ऊ आफैँ आफ्नो झून्डमा सबभन्दा बलियो हुन्छ । बोहोलाई गरिएको हत्याले पनि उसको कठोरता प्रतिविम्बित गर्छ । ऊ नोरको एकदम विपरीत छ । शेहको मृत्युपछि ऊ मेङ बन्न पुग्छ । ऊ राते आँखेहरूसँग घुलमिल हुन्छ । आफै विजुली पानीको लतमा झुम्मिन पुग्छ र आफ्नो समुदायलाई दासतामा धकेलाउँछ । उसका यी गलत कार्यले ऊ आफैँ आफ्ना गलत कार्यको भारले थिच्चिन पुग्छ । आफ्नो जीवनको उत्तरार्धमा आउँदा ऊ पहिलेभन्दा निकै कमजोर हुन्छ र नोरसँग आफ्नो गल्तिको सुधारका लागि भिख माग्दछ ।
उपन्यासमा प्रयुक्त परिवेश वातावरण
’नोर’ लोह रोशन पोखरेलद्वारा रचित एक काल्पनिक आख्यान हो । फरक समयको कथालाई उपन्यासकारले अत्यन्तै मिहीन ढङ्गले चित्रण गरेका छन् । आदिम कालका मानिसको निकै फरक सङ्घर्षकोे कथालाई उपन्यासकारले इतिवृत्त गर्ने सफल प्रयत्न गरेका छन् । उपन्यासकार आफै आदिम समाजको पीडामा सुखमा र झून्डको कथाव्यथामा आतेप्रोत भएको पाइन्छ । उपन्यासकारले बाजे पात्रदेखि अन्यत्र थुप्रै पात्रहरूसँगका क्षणलाई निकै लोमहर्षक बनाउन सफल भएका छन् । कथाको सँगालो जसरी लेखिएको यस उपन्यासमा पात्रहरुको दुःखसँग पीडासँग र विछोडसँग पात्रहरूसँगै पाठकहरूमा सहानुभूतिका तरङ्गहरू जागृत हुन्छन् भने खुसीका क्षणहरुमा पाठकहरू पनि आफुमा खुसी उन्मेषित भएका पाउँछन् । उपन्यासले कहिले रुवाउँछ कहिले हँसाउँछ भने उत्कर्षसम्म पुग्दा त मनलाई अत्यन्तै विह्वल बनाउँछ । उपन्यासको इतिवृत्तान्तको क्रममा प्रत्येक पाठक प्रमुख पात्र ’नोर’को सङ्घर्षमय जीवन भोगाइमा जोडिन र सँगसँगै इन्देनानो लयमा रमाएर गुनगुनाउन बाध्य बन्दछन् ।
उपन्यासमा प्रागऐतिहासिक कालमा पाइने प्राकृतिक भिन्न सुन्दरताको समेत चर्चा भेटिन्छ । नोरको वाल्यकालदेखि तन्नेरी हुँदासम्म झून्डको परिधिमा निकै परिवर्तनहरू आउँछन् । झून्ड सुरुमा घुमन्ते स्वभावका हुन्छन् । आदिम घुमन्ते समुदायका प्राचीन समुदायहरूको सङ्घर्ष यस उपन्यासले अत्यन्तै राम्रोसँग चित्रण गरेको छ तर विस्तारै झून्ड घुमन्ते रहँदैन र स्थिर समुदायमा रूपान्तरित हुन्छ । यस क्रममा हामी यस समुदायमा विस्तारै कृषि र पशुपालनले पनि प्रवेश गरेका पाउँछौँ । घुमन्ते हुँदाका कतिपय सङ्घर्ष पनि सकिएको पाउँछौँ । रातो आँखा भएका मानिसको प्रवेशपछि झून्डमा निकै ज्ञान भित्रिन्छ तर विजुली पानीजस्तो विकृति पनि भित्रिन्छ , यस क्रममा हामी रातो आँखे व्यक्तिहरूले आफु राम्रो ओतमा बस्ने र झून्डका अन्य व्यक्तिलाई भने दाससरि कृषिमा खटाएको पाउँछौँ ।
नोर उपन्यासको घटनाक्रम लेखकको बगैँचामा सुरु भएकोले पनि हामी हालको आधुनिक युग र पहिलेको प्राचीन आदिम युगबीच भिन्नता भेट्टाउँछौँ । जङ्गलमा बस्दा र अहिले आधुकि बस्तीहरूमा बस्दा हामी मानवले निकै रुपान्तरण भोगेका पाउँछौँ तर हामीमा अहिले पनि माया र मानवताको भावना भने परिवर्तित भएको छैन, जसको वर्णन यस उपन्यासमा समेत भेटिन्छ । समग्रमा भन्दा ’नोर’ उपन्यासले प्राचीन युगको कथा समेटेको छ । जसको परिवेश घुमन्तेबाट विस्तारै स्थिरमा रुपान्तरित भएको छ ।
२०८१ कात्तिक २४
प्रभात सुवेदी, कक्षा ९,
नाइटिङ्गेल इन्टरनेशनल स्कूल
कुपण्डोल, ललितपुर
आज मैले मेरो छोरा प्रभात सुवेदीले उसको दशैँतिहार छुट्टी विताएका बेला उसले पढेको रोशन पोखरेलद्वारा लिखित ’नोर’ उपन्यासमा उसलाई भन्न मनलागेका कुरा, ’नोर’लाई नियाल्दा शीर्षकमा उसले आफ्ना नेपाली शिक्षकसँग शेयर गरेका कुरा मैले यहाँ मेरा ब्लगका पाठकसँग बाँड्न आतूर भएको छु ।
“विजु सुवेदी विजय—
२०८१ कात्तिक २५

Comments
Post a Comment