शान्ति सम्झौताप्रति आकर्षण
शान्ति सम्झौताप्रति आकर्षण
शान्ति सम्झौता सेना समायोजनको एउटा आधार हो । त्यो समय माओवादीलाई ३५,००० जनसेनाले समालेर ब्याक फोर्समा लाखौँ जनमिलिसिया अनि त्यसको ब्याक फोर्समा वाइसिएल अनि अर्धसुरक्षा दस्ताले सुसज्जित भएर ८०% भूभागमा जनसरकार गठन गरिसकेका भएर पनि माओवादीले राजधानीमा हिंसात्मक आन्दोलन गरी सेनाबाट सत्ता कब्जा गर्न छोडेर शान्तिमार्गबाट सत्तामा जाने लक्ष्य बोक्नु पनि यो शान्ति सम्झौतासँग सम्बद्ध छ । आफू पछिल्तिर फर्किएर भए पनि शान्तिका निम्ति प्रतिबद्ध हुनु भनेको ठुलो त्याग हो । यो त्यागले सम्पूर्ण नेपालीलाई अर्थात् दुबै पक्षलाई नै जिताइदिएको छ । फेरि त्यसपछि २०६४मा सदनमा पनि बहुमतको माओवादी कै सत्ता थियो, त्योबेला पनि सर्वसम्मतिकै सत्ता चलाए । यत्तिबेला पनि एकलौटी सत्ता कब्जा गर्न सक्ने अवस्था थियो । यो शान्तितिरको यात्रा धेरै ठुलो उदाहरण हो । यो ठुलो अठोट, त्याग एवम् बलिदान अनि शान्तिमार्गतिरको लक्ष्यलाई म नमन गर्दछु कि जसले शान्ति सम्झौताका मापदण्डहरू अनि मूल्यमान्यताहरू शतत पालना गरे । शान्तिमार्गबाटै आज यी विद्रोही पक्षका सशक्त आवाजहरू समाधान भएमा देश द्रुततर विकासको गतिमा जाने कुरामा दुईमत नहोला ।
विद्रोहमा पेरुमा १ लाख, श्रीलङ्कामा १ लाख, टर्कीमा पनि १ लाखभन्दा बढी जनताले ज्यान गुमाउनुप¥यो । नेपालमा पनि गणतन्त्रको नयाँ युगमा नेपाललाई ल्याउन ००७ साल अगाडिदेखि हालसम्मको राजनीतिक सङ्घर्षमा ज्ञात अज्ञात गरी १ लाख जति शहीद भएको सत्यतथ्य कसैबाट लुकिएन । कैयौँ अङ्गभङ्ग भए । कैयौँ बेपत्ता भए, कैयौँ दोहोरो सत्ताका मारमा घुनझैँ पिल्सिए । कैयौँले अझै बाँचेरै पनि कहर खपिरहेका छन् । शहीदले त्योभन्दा कैयौँ गुणा कठोर यातना खपे । यही शहीदको रगतबाट बनेको संविधानबाट हामीले चैनको सास फेर्न पाएका छौँ । हाम्रो देशमा परिवर्तनका लागि यस्तै शहीदले झेलेका कहर शहीद कथामा उतार्ने प्रयास गरेको छु । यो शान्ति सम्झौताको समयपछि भने अझै यसरी निहत्था भई कत्तिले दुवै पक्षका भए पनि ज्यान गुमाउनुपर्ने बाध्यता आइपरेन । त्यसैले हामी सबैका लागि यो शान्ति सम्झौता धेरै महत्त्वपूर्ण छ । यसैबाट राजतन्त्र गणतन्त्रमा शान्तिपूर्ण रूपमा रूपान्तरित हुन सफल भयो । यसरी शान्ति सम्झौताले आम जनताको पक्ष लोकतन्त्रप्रति अभिमुख गराइदियो । पहिलेजस्तो कि त शाही सेना पक्ष कि त जनसेना पक्षको जस्तो दुई ध्रुवमा विभाजित हुन परेन । यसरी शान्ति सम्झौताले युद्धकालपछि सबैलाई फेरि एकाकार बनाइदियो । यो शान्ति सम्झौतासँगको नाता परिवारभन्दा गाढा बनाइदियो । अवश्य नै यसलाई माथिका पेरु, श्रीलङ्का, टर्की आदि ठाउँभन्दा नेपालमा शान्तिपूर्ण रूपमा अवतरण भयो ।
त्यो समय दुई ध्रुवकाजस्ता राजनीतिक पक्षहरूका बीच धेरै विवाद भएर चरम अवस्थामा पुगे । यसलाई शान्तिमार्गमा अवतरण शान्ति सम्झौताले लोकतान्त्रिक सिद्धान्तमार्फत गरिदियो । विश्वले नै सकारात्मक किसिमले हेरेको यो शान्ति सम्झौता हतियार र सेनाको उचित व्यवस्थापन गरेर नेपालले उदाहरणीय काम देखाउन सफल भयो । त्यसैले यो सबैको ठुलो विजय हो, जुन लोकतन्त्रको जगमा अडेको छ । शान्ति सम्झौताले संविधानको बाटो भएर संघीय लोकतान्त्रिक गणतन्त्रमा आउनु हामी सबैका लागि ठुलो खुसीको कुरा हो । दुवै पक्षले हदैसम्म लचकतामा गएपछि आफ्ना कुराहरू गुमाए तापनि सारा नेपालीलाई एकै ठाउँमा ल्याई शान्तिलाई जनताको घर दैलोमा ल्याएर सबैलाई जिताइदियो । त्यसैले पनि यो शान्ति सम्झौताले दुवै पक्षको अतिवाद तोड्दै शान्तिपूर्ण रूपमा अवतरण गराउन सफल भयो ।
नेल्सन मन्डेलाको जीवन यही शान्ति सम्झौता जान्नका लागि अति नै महत्त्वपूर्ण छ । यसको उदाहरण सबैले मनन गर्नुपर्ने देखिन्छ । किनकि उहाँले रङ्गभेदी आन्दोलनको नेतृत्व गर्दा उहाँलाई वर्षौँ धेरै कष्टमय यातना दिने व्यक्तिलाई नै उहाँले आफ्नो सरकारमा सामेल गराउनु भएर विश्वलाई अनुपम शान्तिको उदाहरण दिनुभएर चकित पार्नुभएको थियो । जब गोराहरूको अति भेदभावयुक्त सत्ता परिवर्तन भयो कुनै रिस, राग, द्वेष नराखी दक्षिण अफ्रिकाका लागि सबै पार्टीलाई हातेमालो गराउन सफल हुनुभयो । मलाई लाग्छ यो शान्तिको मार्गका लागि योभन्दा उत्तम उदाहरण कुनै पनि छैन होला सायद । कठोर दुव्र्यवहार गर्ने रङ्गभेदी गोरालाई पनि उनले रङ्गभेद हटिसकेपछि कुनै प्रतिशोध गरेका थिएनन् यसले गर्दा उनको छविको उचाइ विश्वमै चुलियो । यो लोकतन्त्र विश्वका सबैका लागि अतुलनीय उदाहरण भयो । अत्यन्तै मननीय कुरा के भने ? न गोरा रङ्गभेदी न काला रङ्गभेदी दुवैलाई उनले निषेध गरिदिए ।
यो शान्ति सम्झौता पश्चात देशले आन्तरिक द्वन्द्वको चपेटाबाट मुक्ति पायो । नेपालको यो शान्ति प्रकृया विश्वका लागि एउटा नमुना बन्यो भनियो । यही शान्ति सम्झौताको जगमा भएको संविधान सभाको संसदको अत्यधिक बहुमतबाट राजतन्त्रको अन्त्य भइसकेपछि उक्त संसदबाटै गणतन्त्रको थालनीको उद्घोष भयो । २०७२मा यसैको जगमा संविधान निर्माण भएपछि लिखित रूपमा राजनीतिक व्यवस्थापन भयो तर द्वन्द्व व्यवस्थापन यही रूपमा भएन । अधिकांश जनता द्वन्द्वको चपेटामा परेका थिए । उनीहरूका जायज मागहरूप्रति अझै मलमपट्टी लगाउने थालनीसम्म भएको छैन । दुवैपक्ष माथिको द्वन्द्वको गेस्चरको पेलानको अन्त्यका कुनै पनि कुराको व्याक हुने काम टसको मस भएको छैन । सबै पीडितका यस्ता आवाजहरूको सुनुवाइ राम्रोसँग भएको छैन । बिडम्बना त के भने अझै द्वन्द्वको घाउ बल्झने क्रममा छ । उहाँहरूलाई अन्तरिम रूपमै भए पनि राहतको टड्कारो आवश्यकता छ । सरकारी तथ्याङ्कका आधारमा जनसेना र माओवादी सेनाको भीडन्तमा १७,०००शहीद भएको भनिए पनि राज्यसँग मृतक, बेपत्ता र पीडितहरूका आधिकारिक तथ्याङ्कसमेत छैन । यस्ता गम्भीर मानव अधिकार उल्लङ्घन भएका ठाउँमा परिवारजनलाई न्याय दिलाउने सन्दर्भमा सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय कानुन तथा नेपाल सरकारको परराष्ट्र नीतिको सन्दर्भमा पीडित पक्षलाई न्याय दिन राजनीतिक समस्या समाधान भएजस्तो लिखित रूपमै भए पनि कानुनसम्म बन्न सकेको छैन । कार्यभार पूरा गरेको भनिए पनि यी कारणहरूले आयोगले राम्ररी काम गर्न सकेको छैन । पीडितका कुरा सुनिमात्रै दिनेसम्म भएको छैन । यो सङ्क्रमण अन्त्य हुनु आजको टड्कारो आवश्यकता हो, समयको माग हो अनि मात्र विश्वका लागि उत्कृष्ट नमूना साबित हुनेछ ।
देश समालेकाहरूका लागि पनि मेरो सुझाव यो छ कि अहिले प्राप्त उपलब्धिहरू नगुमाउन लोकतन्त्रको मूल्यमान्यता मनन गर्न तपाईंहरू चुक्नुभएको छ । अरूको त कुरै छोडौँ आज जनआन्दोलनको कहर पराकाष्ठासम्म व्यहोरेर आएका तथा शोषित परिवारबाट आएका भुक्तभोगीहरू पनि सत्तामा पुगिसकेका छन् । देशको बागडोर समालिरहेका छन् । जनताका दुःखपीडाहरू भोगिसकेका यी भुक्तभोगीहरू पनि आन्दोलनमा घाइते, अपाङ्ग भएकाहरूलाई सहानुभूति दिन चुकिरहेका छन् । त्यस्तै शहीद परिवारलाई पनि उचित सम्मान तथा राहत दिनमा चुकिरहेका छन् । यसरी जुन पार्टी पनि एकलौटी हालीमुहाली भएर जनताका अधिकार सङ्कुचित गर्न तम्सिरहँदा लोकतन्त्रको सुन्दर तथा सबल पक्ष झन् प्रस्टसँग देखिँदो रहेछ । उदाररूपमा नै जनताका यावत् समस्याहरूको निराकरण अनि समाधान गर्ने पद्धतिलाई नै लोकतान्त्रिक पद्धति मानिन्छ । लोकतन्त्रका तीन खम्बाहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुन् । लोकतन्त्र विधिको शासन हो । शान्ति सम्झौताको मजबुन लोकतन्त्रलाई मजबुत बनाउन अझै पनि निरन्तर खबरदारी गरिरहनु जरूरी छ । यसैका लागि कलमजीवीहरू एक कदम अगाडि बढ्नु आजको टड्कारो आवश्यकता हो । परिवर्तनलाई आत्मसात् गर्दै यो शान्ति सम्झौताको सबैभन्दा उत्तम नतिजा लोकतन्त्रको संरक्षण र संवद्र्धन गर्नु प्रत्येक नागरिकको कर्तव्य हो ।
जनताले आफ्नो सम्पूर्ण अधिकार उपभोग गर्न पाउनु र आफूले आफ्नो अधिकार उपभोग गर्दा कसैले पनि आफ्नो अधिकार गुमाउनु नपर्ने तन्त्र नै लोकतन्त्र हो । लोकतन्त्रको यो स्पष्ट र सुन्दर पक्ष हो । त्यसैले लोकतन्त्रलाई अग्रगामी शासन प्रणाली भन्न सकिन्छ । अवश्य नै सबैले यसको उपभोग गर्न पाउनुपर्छ । ००७ सालको आन्दोलनले गर्दा जनताका छोराछोरीहरूले पनि प्रधान मन्त्री हुने अवसर पाउँदै गए भने १०बर्षे जनयुद्धको जगमा भएको ०६२...०६३ को १९ दिने जनआन्दोलनबाट जनताका छोराछोरीहरूले पनि राष्ट्रप्रमुख हुने शासन प्रणाली पाए । लोकतन्त्रविनाको मानव अधिकार पूर्ण हुँदैन भने मानव अधिकारविनाको लोकतन्त्र पनि पूर्ण हुनै सक्दैन । त्यसै त यसमा अझ समावेशिताका अधिकारहरू अनि आत्मनिर्णयका अधिकारहरू पनि समेटिएमा यो अझ सशक्त र राम्रो हुने देखिन्छ । यसरी पूर्ण लोकतन्त्रको उपभोगतिरको यात्रामा छ नेपाल । २०६३ बैशाख ११ गते सम्पूर्ण नेपाली जनताको अभूतपूर्व जित भएको विजयको दिन हो । हरेक वर्षमा आउने यही वैशाख ११ को लोकतन्त्र दिवस सबैले मनन गरी मनाउनु आवश्यक छ ।
१९ दिने सँयुक्त जनआन्दोलनपछि पनि थुप्रै जनताका असन्तुष्टिहरू अन्य जनआन्दोलनबाट जायज मागहरू प्रकट हुन थाले । यिनै संविधान संशोधनका बाँकी काम पूरा गर्ने जिम्मेबारी हरेक न्यायप्रेमी जनताको काँधमा आएको छ । प्रमुखरूपमा दसवर्षे जनयुद्धका र आजसम्मका जायज आन्दोलनमा थुप्रै घाइते अपाङ्ग तथा व्यक्तिहरू अज्ञात भएका महत्त्वपूर्ण तथ्यमा थुप्रै जनतासँग सत्ताको अनभिज्ञता देखियो । त्यसैलाई समाधान गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग स्थापित भएको कुरा छर्लङ्गै छ । सत्यनिरूपण तथा मेलमिलाप आयोगमा यी थप काम पूरा नगरी बलिदानको मुल्याङ्कन अनि शहीदको यथोचित गणना हुन नसकिने भयो । यो थप जिम्मेबारी सत्यनिरूपण तथा मेलमिलाप आयोगको काँधमा आयो । यी कुराहरू पूरा गरेमा मात्रै शान्ति प्रकृयाका बाँकी काम पूरा हुने प्रस्ट भयो । एकातिर यस्ता जनताका बलिदानीबाट प्राप्त उपलब्धिलाई रक्षा पनि गर्नुपर्ने हुँदै गयो भने अर्कोतर्फ प्रतिगमण हुन नदिन लोकतन्त्रलाई समुन्नत पार्दै लानुपर्ने टड्कारो आवश्यकता भयो ।
त्यस्तै हामीकहाँ युद्धलाई शान्तिमा ल्याउने, १२ बुँदे सहमतिबाट देशलाई शान्तिपूर्ण रूपान्तरण गराउनमा विस्तृत शान्ति सम्झौताको महत्त्वपूर्ण भूमिका छ । अवश्य नै हामीले जुनसुकै सिद्धान्त अँगालेको भए पनि अनि जुनसुकै दलप्रति आस्था राखे तापनि आफूलाई लागेका कुराहरू बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रताको हक यही शान्ति सम्झौताको गोरेटोबाट आएको लोकतन्त्रले दिएको छ । अब त झन् सबैतिरबाट लोकतन्त्रको महत्त्व अपरिहार्य भइसकेको छ । त्यसैले यसलाई स्याहार गर्नु हामी सबै नेपालीहरूको कर्तव्य हो । यसैबाट सबै दलले जनमतअनुसार देशको विकासको बाटो खोल्नुपर्ने देखिन्छ ।
भगवान् बुद्धले पनि यस्तै सम्यक् मार्गलार्ई पहिल्याएर दुई अति सकारात्मक र नकारात्मक बीचको मार्ग भनेका छन् । यो शान्ति भनेको पनि यस्तै हो । उनले कठिन साधनाले पनि जीवनका शान्तिको मार्ग पत्ता लगाउन सकेनन् । त्यस्तै सुरुमा पूरै सुखसयलको दरबारी जीवनबाट पनि शान्तिका कुनै मार्ग पहिल्याउन सकेनन् । शरीरलाई धेरै सास्ती गरी नुहाएमा घाउ हुन्छ अनि सफा नै नगरे रोग लाग्छ , खटिरा पलाउँछ । हरेक कुराको दुईतिर दुई अति हुन्छन् । यो स्वयम् सिद्ध तथ्य हो । कुनै पनि कुराको मतलबै नगर्नु र धेरै मतलब गर्नु पनि आफैँलाई हानिकारक हुन्छ । त्यसैले हामी यस्ता दुई अतिबाट सदैब सजग हुनुपर्छ । त्यसरी बीचको मार्ग पहिल्याई जीवनमार्गमा जाँदा जीवन सहजसँग सुखसँग चलाउन सजिलो हुन्छ । युद्धमा जसले जिते पनि हार हुन्छ भने शान्तिका लागि हारे पनि जित हुन्छ । युद्धलाई बुद्धतर्फ लाने यो शान्ति सम्झौताको शान्ति मार्ग पनि यही सम्यक् मार्गअन्तर्गत नै पर्दछ ।
आफूभन्दा दुःख पाएकाहरू पनि छन्, आफूभन्दा सुखसयल गरेकाहरू पनि छन् । यो जीवन यस्तै हो । हामीले बीचको मार्गमा बसेर समाजलाई राम्रो दिशातर्फ लम्काउन सक्नुपर्छ । सुखसयलमा परेकाहरूलाई बढी दुःख पाएकाहरूप्रति अनुराग उत्पन्न गराउनु सक्नुपर्छ । कल्याण गराउने मार्गमा लाग्न उत्प्रेरित गर्न सक्नुपर्छ । यस्तो शिक्षा शान्तिमार्गबाट दिइरहनुपर्छ । त्यस्तै बढी दुःख पाएकाहरूलाई कसरी सुखी बनाएर उद्धार गर्ने ? देशमा अन्यायले पीडित अनि असमानता झेलिरहेकाहरूलाई न्याय र समानताको लक्ष्यमा लैजाने कुरा लेखनले मात्रै होइन त्यसलाई लागू गर्दै व्यवाहारिकताले पनि डो¥याइरहनुपर्दछ । कुनै पनि राष्ट्र त्यसै विकास भएको होइन । उसले हरेक पिल्सिएकाहरूप्रति सहानुभूति दर्साई उनीहरूको जीवनस्तर उकास्न हरदम तल्लीन भएर सोलाई लागू गरेपछि मात्र देश विकास हुन्छ । अग्रगमनतर्फ अग्रसर हुन पाउँछ ।
विणा अर्थात् सितारको तार होस्, सारङ्गीको तार होस् या गितारको तार होस् धेरै कसेर पनि स्वर निकाल्न सकिन्न, त्यस्तै कस्दै नकस्दा पनि त्यसले स्वर निकाल्न सक्दैन । जति कस्नुपर्ने हो त्यति कसेमा मात्रै सुन्दर, स्पष्ट, अनुरागी स्वर निकालेर जीवनरसलाई झङ्क्रित तुल्याइदिन्छ । अनुपम आनन्दित तुल्याइदिन्छ । तसर्थ लेखन असल र राम्रो सबैको दिलमा राज गर्ने बनाउन यस्ता दुई अतिबाट बच्नुपर्छ । यही सम्यक् मार्गले हरेकको जीवनलाई सफलतामा लैजान महत्त्वपूर्ण भूमिका निभाएको हुन्छ तर यो तटस्थ मार्ग भने होइन । तटस्थले त फेरि यथास्थितिवादी बनाइदिन्छ । शान्तिपूर्ण रूपमा न्याय र समानताका लागि लाग्ने मार्ग नै शान्ति मार्ग हो जुन दुइटै अतिअन्तर्गत पर्दैन । यस्तो मार्गबाट लोकतान्त्रिक मूल्य, मान्यताबाट लम्कने बाटो यही शान्ति सम्झौताले सफलतापूर्वक दिएको हो । अवश्य नै यो अतुलनीय छ ।
यो शान्ति सम्झौता पक्कै बिसौनी होइन । यो त शान्तिपूर्ण रूपले अनुशासनको जगमा हरदम परिवर्तनद्वारा रूपान्तरणप्रति यात्रा जारी राख्नुसँग सम्बद्ध छ । हाम्रो देशमा भएको ठुलो परिवर्तनलाई अवतरण अनि विचरन गरी हरेक व्यक्तिको दैलोमा पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकता हो । लियो टल्सटाय भन्दछन्, “समाजका सबै ठाउँमा एउटा परिवर्तन अनिवार्य र जरूरी हुन्छ जुन परिवर्तनविना हामी एक पाइला पनि अघि बढ्न सक्दैनौँ ।” यसरी अघि बढ्न सही नेता अर्थात् सही पाइलट हुनु आवश्यक छ । यसले चलाउने शासनव्यवस्था पनि जनभावना अनुकूल हुनुपर्ने देखिन्छ । लाखौँ जनताको रगतको बलको ठुलो उपलब्धिको हाम्रो जनसंविधान मूल मार्ग हुनु आवश्यक छ । यही संविधानअन्तर्गत सबै जनाको कार्यदिशा अघि बढ्नु अपरिहार्य छ । यस्तो सही मार्गदर्शकबाट सही राजनीतिक मार्गदर्शन हुनु आवश्यक छ । यस्ता व्यक्ति तथा पार्टीगत विचार छनोटका लागि शान्तिपूर्ण प्रतिस्पर्धा अवश्य नै आवश्यक हुन्छ । यसका लागि लेखक–साहित्यकार, बुद्धिजीवी, किसान, मजदुर, विद्यार्थी आदिलगायत श्रमसँग सम्बन्धित हरेक तह र तप्काका व्यक्तिहरू आआफ्ना ठाउँमा अग्रसर हुनु नितान्त जरूरी छ । यसका लागि मैले लेखनको सहारा लिएको छु । सबैसँग हातेमालोको आशा गरेको छु अनि शान्ति सम्झौता त यसका लागि नभई नहुने अभिन्न अङ्ग हुने त भइहाल्यो । त्यसैले त मैले प्रभावित भएर यस पुस्तकको शीर्षक पनि शान्ति सम्झौता नै रोजेको हुँ ।
Comments
Post a Comment