कथा ः विषम
कथा ः विषम
कथाकार —बिजु सुवेदी विजय
“साँच्चिकै यता मिलाए उता नमिल्ने ! उता मिलाए यता नमिल्ने ! नाम जस्तै विषम परिस्थिति । खजमज बादलले जीवनको सुरङ्गीन उडानमा पखेटा काटेजस्तो ! कस्तो कस्तो ! जोल्टिनै जोल्टिनजस्तो जिन्दगीका यात्राका गोरेटाहरू ! यता टाले उत भ्वाङ पर्ने अनि उता टाले यता ! मेहनत परिश्रमले श्रम गरी जीवन यापन गरुँ भन्दा हरेकलाई यस्तै सङ्घर्षको सामना गनु पर्दोरहेछ । आकाश पनि गजधम्म बादल फाटेर शीत्तलता पनि प्रदान गर्न नसकेको एकदम विष्मय एवम् सकसमय अवस्थामा ! साँच्चै यो मौसम कस्तो अपूरो, अधुरो ! विरक्तिएर बदली नै हुन सकेन, न नै मेरो जिन्दगीमा कुनै परिवर्तनरूपी बदलाव आयो ।” यस्तै बिचारका तरङ्गहरू आउँदै थियो विषम सरको मनमस्तिष्कमा ।
एका बिहानै यसरी मनोवैज्ञानिकरूपमा सकसमय वातावरण अनि परिस्थितिलाई झेल्दै, डट्दै स्कूलतर्फ जाँदै गर्दा विषम सरसँगै ड्युटीमा जाने साथी सुमित सरलाई एकदमै नैराश्यताका साथ सोधे “किन हामी सभ्य, शालीन बनिरहुँ भन्दा बाधा अड्चन आइपर्छन् ? किन आजका मानिसहरू यस्तरी स्खलित भएका ? किन मैमाथि दुव्र्यवहारको दुस्चक्र ?”
सुमित सरले भनिहाले, “कुरो यस्तो नि ! कि कसैलाई पनि हुन्छ भन्नु हुँदैन, तिमी यस्ता नौटङ्कीलाई पनि पछि हेरुँला भनी वाचा दिन्छौ ? कुनै पनि नखरमाउलीलाई म हेर्छु, म पछि भेटुँला ! भन्नु हुँदैन । उसले पछ्याएर हैरान पार्छे । हो ! तिमीलाई पनि यस्तै भएको हो । गतिछाडाहरूलाई इन्कार गर्नु नै श्रेयस्कर हुन्छ । यस्तोमा बोल्ड डिसिजन लिनैपर्छ ।”
पहिलो हाफको कक्षा सकिसकेको थियो । सुमित सर उनकोे अर्को क्लास लिन लागे भने विषम सर स्कूलको कयान्टिन तिर लागे । त्यहाँ फेरि कचकच सुरु भयो ।
“विद्यार्थी पनि कस्ता कस्ता ! घरको जस्तो, पार्टीको जस्तो अनि होटेलको जस्तो खाना खोजेर पनि हुन्छ ? अलिअलि कम्प्रोमाइज त गर्नै पर्छ नि ।” विद्यालय व्वस्थापन समितिका आफन्त प्रशासनिक कर्मचारी विद्यार्थीमाथि साउतीका साथ तात्तिइरहेका थिए ।
लेखाशाखाका कर्मचारी इल्लीविल्लीमा परे र मनमनै आफैलाई धिक्कारीरहे ‘के गर्ने ? आफ्नै हातले एक जना विद्यार्थीको प्रतिमहिना ७५पटकसम्म कटकट आवाज आउने गरी हात्ती भएको नोट गनेर लिएकै हुँ । फिस पनि केके केके ! ट्युसन, खाना, बस, बाँसुरी, कराँते, डान्स, डे बोडर्स, एक्स्ट्रा क्लास यानत्यान अग्रमबग्रम केके हो केके । हरे ! तलब भने सबैलाई १०–२०हजारकै वरिपरि मात्रै ! कस्तो ! कसैले पनि यस्तो श्रम शोषण विरुद्ध आवाज उठाई समाधानको पहल नगरेका !’
साँच्चै नै विषम सरले ‘आफुलाई हुने दुव्र्यवहारको नौटङ्की बारे कथा लेखेर पोष्ट गरेको उनले पढेर पनि अझ कति कठोर भएकी ! ती पनि त शिक्षिका नै हुन् नि ! तर ढुङ्गालाई सुनाएजस्तो भयो । ढुङ्गा बरु पग्लेला........ ’ यस्तै यस्तै तर्कना गर्दैगर्दैै विषम सरको समय व्यतित भइरहेको थियो । “सुमित सरलाई सुनाउन पाए सुन्थे कि ?” यस्तै असमञ्जस्य परिस्थितिमा उनले आफ्नो व्यथा कतै पोख्न पाएनन् । त्यसैले पनि विषम सरलाई आज खानामा त्यति रुची जागेन ।
तैपनि विषम सर भने शरीरका लागि जतिसुकै घटिया भए पनि केही गाँस बलजफ्ती खाने कोसिस गरीगरी पेटलाई थोरै भारी बनाए । नेपालीको बानी भातले पेट अलिकति भए पनि भारी नबनाई चित्तै नबुझ्ने । दोस्रो हाफको कक्षा लिन जाने समय हुन लागिसकेको थियो । विषम सर यही तर्कना गर्दै आफ्नो नियमित कक्षा लिन हतार हतार कक्षातिर प्रस्थान गरे ।
२
स्कूलमा पढाउने कार्य सकाएर आफ्नो वासस्थान फर्कन बस पर्खिरहँदा बस स्टपको पुलमुनि विषम सरले राम्रो देवालय बनेको देखे । यसो अवलोकन गर्न गए । भित्र बाटो यति घुमाउरो बनाइएका थिए कि त्यो ठाउँ देखेर रोमाञ्चित भएरै पनि उनी त्यहाँबाट बाहिरको सडकमा आउन सकेनन् । त्यहाँ एक हुल युवाहरू चुरोट तानिरहेका थिए । मशानघाटको धुवाँ फैलिएजस्तो देखिन्थ्यो र त्यस्तै अटमटस भएको थियो विषम सरलाई । त्यसमा आफ्नै स्कूलकै विद्यार्थी पनि थियो तर सरको कुनै डेग चलेन ।
सरले आफुसँग भएको पत्रिकाले आफुलाई हम्किँदै उनीहरूलाई “यहाँबाट बाटो छ ?” भनी सोधे ।
उनीहरूले “यताबाट फाल हानेर खोलाबाट कच्ची बाटोबाट गए मात्र अघि बढ्न सकिन्छ । अनि पुलमुनिबाट बाहिर निक्लन्छ । भइहाल्यो सर ! फर्केर जताबाट आएको हो त्यतै जाँदा हुन्छ ।” भने ।
कति आनन्दित ती विद्यार्थीहरू ! सरलाई चिन्दा पनि अलिकति पनि हीन भावना थिएन बरु लठ्ठिइँदा उनीहरू गर्वित भइरहेका थिए ।
सर पनि फर्किए । फर्किएर छोराका लागि दालमोठ एक प्याकेट किन्न के लागेका थिए , सरलाई त्यो पसलेले वास्तै गर्न छोडे । ती हुल मध्येका एक केटा त्यो पसलमा किचकिच गर्न आइसकेको थियो ।
त्यो केटाले हस्याङफस्याङ हुँदै सोध्यो — “साहुजी यहाँ पिसाब फेर्ने ठाउँ छैन ?”
“छ ! ऊ वहाँ पुलमुनि जानुहोस् ।” उसले कड्किँदै ठूलो स्वरले भन्यो ।
“त्यसरी झर्केर भन्नु पर्छ बुबा ?” ती जिङ्ग्रिङ परेका कपाल भएका केटा झर्किहाले ।
“पुल मुनि जाऊ भनेकै थिएँ । ठाउँ बताइदिएकै थिएँ ।”
साहुजीले विषम सरलाई हाँस्दै भन्दै थियो “यो पुल भएको ठाउँमा दोकान राख्नु त एकदमै सकसिलो भयो बाबु ।”
आधी घण्टा जति पछि फेरि त्यो केटा ट्याक्सीबाट ओर्लेर पानी एक बोतल किन्न त्यही साहुजी कहाँ आयो तर पैसा नपुगिकन दिन खोज्दै थियो ।
साहुजी झर्कियो “पैसा पुरा दिन्छस् कि ? बोलाऊँ ठिक पार्ने मान्छे ।”
विषम सरले पैसा त पुरै दिएको देख्दै थियो तर पैसा कसरी पुगेन उनले बुझ्नै सकेनन् ।
त्यो केटाले एक हजार दियो ।
सानो त्यो किराना पसलमा विषम सरले सहानुभूतिले केही न केही सामान किनी नै रहन्थे । अक्सर सर त्यो साधारण पसलमा भएको केही न केही सामान किन्न लालायित भइरहन्थे । सहानुभूतिको वर्षा गरिरहन्थे । किनकि उनको सानो मद्दतले पनि धेरै मद्दत हुन्छ भन्ने विषम सरमा विश्वास थियो । आज गाडी पर्खने क्रममा उनले त्यहाँ आधा घण्टा कुर्नुपरेको थियो ।
त्यहीँ बसेका सार्कीदाइसँग विषम सरले सोधे, “आजकालका केटाहरू कस्ताकस्ता ! राम्रो सोमतमा रहनुपर्छ भन्ने थाहा पाएरै पनि बुझ पचाएका । अघि तपाईंसँग कुरा गर्दा .......”
“हो ! हो ! विषम सर ! यिनीहरू कहिल्यै सुध्रन्दैनन् । यी आवारा, लुच्चा, लफँगाहरू हुन् । सरले भलाद्मी बन्नुपर्छ भनेको उनीहरूले सुनेरै त आफ्नो तुजुक देखाएका ।”
“त्यही त दाइ ! उनीहरूले हामीलाई यसरी सिकाउन आउँदा ‘के चिलाएजस्तो हुन्छ के । भरमार मुख छाद्न मनलागिहाल्छ’ भनेर तथानाम कोलाहल गर्न थाल्छन् ।”
“यिनीहरू यस्तै हुन् सर ! तोपेर मुख छाद्न पाएपछि आफु ठुलो भएको ठान्छन् ।”
फेरि त्यो साहुजी कहाँ त्यो केटा आइपुग्यो ।
साहुजीले कडा स्वरमा भन्यो “के तैँले मलाई ग्राहक भिडाउन ल्याएको ?”
“के ! उहाँ सरलाई मैले ल्याउने ?” — एकछिन बसेर अट्टहाँसले हाँसिसकेपछि ऊ फेरि बम्कियो — “मैले राम्रो कुरा गर्दा पनि त्यसरी झर्किनुपर्छ बुबा ?”
साहुजीको पसल सामानहरू नभई खालिखालि रित्तो भएअनुसार ब्यापार नभएको देखिए पनि उसले हरिया हरिया नोटका विटाका मुठा निकाल्दा विषम सर चकित भए ।
साहुजीले “ला ! तँलाईं पैसा ।” भनी तुरुन्तै गनेर पैसा फित्र्याए ।
यो कुरा नबुझेकाले अघि कुराकानी गरेको सँगै सडकको सार्कीदाइलाई वेलिविस्तार लाएर सरले जिज्ञासा प्रकट गरे ।
सार्कीदाइले साउतीमा भन्यो — “हो सर ! यहाँ पुलमुनि त ट्याक्सीमा आएर गाँजा तान्न आउँछन् । अनि ट्याक्सी मै फर्कन्छन् । जब पहरा भएको नभएको हेर्नलाई पिसाब फेर्ने ठाउँ सोध्न आउँछन् । “छैन ।” भनेमा अन्तै तान्न जान्छन् । र “पुलमुनि जा !” भनेपछि सेफ छ भनेर ढुक्क भई तान्न जान्छन् र फर्कँदा त्यो सुराकी दिएको बदलामा साहुजीलाई अलि बढी पैसा दिएर सामान पनि किनेर जान्छन् । सरकै स्कूलका केटाहरू पनि आउँछन् । आज सरको अगाडि परेकोले उनीहरूले सरले थाहा नपाउने तरिकाले यही भाषाले आफ्नो काम तमाम गरेको हो । कसैलाई नभन्नुस् है ? मैले भनेको भनेर ! नत्र मलाई पनि यी दुबैले तारो लगाउँछन् ।”
त्यो बेलादेखि विषम सरको त्यो पसलेप्रतिको हेराइमा आकाश जमिनको फरक भयो भने सहानुभूति र सद्भाव पनि टुङ्गियो ।
३
.......दशैँको विदा थियो त्यो बेला । साढुभाइ समेतको जोडी र आफ्नी बुढीसँगै विषम सर पनि पोखरा घुम्न गएका थिए । मनै हर्ने कति राम्रो प्राकृतिक छटाले भरिपूर्ण रमणीय शान्त वातावरण थियो । माछापुच्छ«े हिमालको काखमा ताल तलैयाले भरिपूर्ण भएको ठाउँमा वसन्त बहारको महकता छाइरहेको थियो । रमाइलो उनीहरूका लागि मात्र भएको थियो भने विषम सरका लागि क्षणिक । त्यहाँको राम्रो लजमा ती दुई जोडी छुट्टाछुट्टै बस्ने मेसो मिलाए । विषम सरले चिया खान वेटरलाई अर्डर गर्दा उनीहरू तीनै जनाले उनलाई छोडी घुम्न गए । विषम सरको सानो कुरा नसुन्दा उनी विरक्तिए । विषम सर आरामले एक्लै चिया पिउँदै थिए । उनको निन्याउरो मुहारकी वेटर केटीको फाटेको टिसर्टमा आँखा पुग्यो । विषम सरले तत्कालैे झोलाबाट टिसर्ट निकालेर चिया पिउँदै सो नफाटेको नयाँ टिसर्ट लगाउनै पर्ने आग्रह गरे । उनले लगाई र खुसी भइन् ।
त्यो खुसी क्षणभरको मात्र भयो । उनीहरू फेरि फर्किसकेका थिए । लुगाहरू खानतलास गर्न थाले । टिसर्ट हराएको पत्ता लगाए । सरकी बुढी रिसले आगो भइन् । तीनै जनाले लजमा केलफेल सुरु गरे । आखिर टिसर्ट पत्ता लगाएरै छोडे । तत्कालै अन्त लजमा बस्ने निधो गरे । विषम सरले केही भन्न सकेनन् ।
पोखराको भ्रमणपछि पनि विषम सरले त्यो टिसर्ट अफिसको ब्यागमा लुकाएर सधैँ आफ्नै साथ राख्ने गर्थे । किन राखेका थिए कसैसँग उत्तर थिएन । एकदिन विषम सर अफिसको बाटोबाट स्वयम्भू गइरहेका बेला एउटी आइमाई बच्चीलाई स्तनपान गराउँदै याचना गर्दै थिइन् । विषम सरले त्यो टिसर्ट हराएको मान्छेलाई फेला पारेर फर्काए जसरी खुसीमनले सुम्पिदिए र एउटा जुस पनि “खानैपर्छ है, खाऊ है नत्र म अचाक्ली रिसाउँछु ।” भन्दै दिए । बल्ल विषम सरले पोखरादेखिको सधैँको असन्तुष्ट मन समाधानै गर्न नसक्ने समस्या हल भएको जस्तो मनन गरी लामो सास तानी एकदमै हुलुङ्गित भए..........
बसको हुँइकाइ सँगसँगै, बाहिरका दृश्य देखेर पनि भित्रभित्र अनि भित्रको पनि भित्र हेर्दै विषम सर पोखराका ती प्रसङ्गका फ्ल्यास ब्याकमा डुबिरहेका थिए । बसको बडीमा बेस्कन ढकढक गर्दै खलासीको “लौ आयो नयाँ वस्ती स्टप !” भनेको कर्कस स्वर सुनेपछि आफु बसेको टोलको स्टप आइपुगेको झल्याँस्स थाहा पाए । अनि सररर बाहिरि दृश्यसँगै वास्तविक संसारसँग साक्षात्कारबाट उनको सोपान भयो । बसबाट ओर्लेर सरासर वासस्थान पुग्न लाग्दा बल्ल विषम सर आरामको सास फेर्न पाइने भो भनी ढुक्क भएका थिए, दैलोमा पुग्न पाएको थिएन श्रीमतीजीको सधैँको कर्कस स्वरको क्लास सुरु भइसकेको थियो ।
“मेरो सपना सपनामै सीमित हुने भयो । बेकारमा तिमीसँग बिहे गर्न पुगेछु ।
क्यनाडा जाऊँ भनेको मान्दैनौ । अंशबन्डा पछि हेरुँला भन्छौ । अब अंशमा दुई आना जग्गाका लागि यो सारा जीवन कसरी खेर फालुँ म ! मेरो जीवन बरवाद हुने भयो । को को कहाँ कहाँ पुगिसके मुसा भने सधैँ दरेवान । क्यानाडामा ६–७ वर्ष जेसुकै काम गरेर भए पनि बुढेसकालमा सुतीसुती खाने सपना पनि चकनाचुर हुने भयो । तिम्रो बुद्धी बिग्रेपछि के लाग्छ ! नेपालमा केही गरे पनि सकिन्न ! तिमी किन बुझ्दैनौ ?
बासँग भन न ! छुट्टिएर कति भाग पाउने हो ? आजै निक्र्यौल गर न, म त सक्दिन है ! पछि त जे भए पनि छुट्टिनै पर्छ । त्यसैले अहिले छुट्टिएमा आफ्नै जीवनकालमा केही न केही जे भए पनि गर्न त पाइन्छ ।
जीवन यसै बित्ने भो, केही गर्न नपाई । कहाँ आएर फस्न पुगेछु नि म ।
हेर न ! त्यहाँ भोज गएकाहरूको चुरीफुरी ! हामीले कहिले त्यसरी बेस्कन रवाफ देखाउने ?
हेर त ! बुबासँग कुरा गर्दा त्यो तिम्रो के के जनयुद्धको कुरा भुलेर पनि नराख्नू नि ! त्यसमा तिमी आफै तल पर्छौ ।”
‘सधैँभरि दाँत टोकेर, हातले छारो हालेर, मुर्मुरिएकी बुढीको यस्ता किसिमकिसिमका आदेश कहिले खप्नु नपर्ने होला ? कहिले शान्तिसँग बस्न पाउने होला ?’ उनले सधैँको चिन्तनको आँख्ला समाधान गर्न खोजे ।
विषम सरले बुबा खुसी भएको बेला कतिबेला माग राखौँ भनी बल्ल त्यो दिन मेसो पायो । भोलुम राख्न जति उनकी बुढीले राखिसकेकी थिई तर “तिम्रो जनयुद्धको उकुसमुकुसको कुरा नराख्नू नि !” भनेको बुढीका कुरा कहाँ मान्नु र विषम सर । विषम सरको मुख्य मथिङ्गल खल्बल्याई नै त्यही त थियो ।
“बुबा ! हजुरले काकाहरूसँग पुख्र्यौली सम्पत्ति छ्ट्ट्याएर लिनुभो । खुसी लाग्यो । हजुरले मलाई माओवादी जनयुद्ध भएको समयमा पागल बनाएर धेरै यातना दिनुभो । शिक्षक मान्छे जानु हुँदैन भनी मलाई बाहिरै जान दिनु भएन । मैले केही बोल्न सकिन । सहँदै गएँ । मैले जिद्दी गर्दा थाहा नपाउने गरी डाक्टरसँग मिलेर ब्लड प्रेसरको भनी खानामा पागलको औषधी खुवाउनु भयो । मैले सहँदै गएँ । अहिले त्यसको साइडइफेक्ट झेलिरहेको छु । अहिले मलाई निन्द्राको औषधीविना निन्दै्र लाग्दैन । अब मलाई मेरो पुख्र्यौली सम्पत्ति चाहियो बुबा ! त्यसबाट ऋणको मेसो मिलाएर त्यसकै लगानीमा मैले केही भए पनि काम गर्न सक्छु । म आफ्नो खुट्टामा उभिन त सक्छु । यदि हजुरले १०वर्ष मलाई घरमा बन्धकी नराखेका भए मैले केही गर्ने थिएँ । मेरो सक्रिय हुने समय त्यसै खेर गयो । अब मलाई मेरो यातनाको क्षतिपूर्ति स्वरूप मेरो हकको मात्र पुख्र्याैली सम्पत्ति चाहियो र त्योभन्दा बढी पनि चाहिन्न अनि त्योभन्दा घटी पनि चाहिन्न । मलाई मेरो हकको बराबर सम्पत्ति चाहियो ।”
उफ् ! विषम सर त अर्ध चेतमा बर्बराइरहेको पो थियो ।
यति भन्ने कुरा मनमा खेलाइसकेपछि विषम सरले बुबालाई “भोलि घरसल्लाह गर्न ६ बजे आमाबुबा दुबैसँग र मेरी बुढी र म पनि चार जना भएर कुरा गरुँ न हुन्न बुबा ?” भनी अक्क न बक्क भई बडो सकसले बलजफ्ती मात्र भन्न सके ।
“तँलाई कति पैसा चाहिन्छ भन् ! म दिन्छु तर मेरो नामको सम्पत्तिमा मेरो मात्र हक लाग्छ । तेरो लाग्दैन ।”
“हैन बुबा पुख्र्यौली सम्पत्तिमा हजुरको जति हक लाग्छ त्यति मेरो पनि लाग्छ होइन र ?”
“तँलाई माया गरेर सधैँ केही न केही दिइराखेकै छु । तँलाई केही कुराको कमी हुन दिएको पनि त छैन ।”
“बुबाले अरू सन्तानलाई जसरी मलाई बिहे गरिदिनु भएन । ३७ वर्षको उमेरमा मैले विहे गरेँ तर जात नमिल्ने भनेर छुट्टै व्यवहार गरेकाले हामी आफ्नै कमाइमा जीवन धानिरहेको ७ वर्ष भइसक्यो । जे भए पनि अरू दाजुभाइहरू सबै पुख्र्यौली सम्पत्ति समान उपभोग गरिरहेका छन् । मलाई अन्याय भएको त छर्लङ्ग छ नि बुबा ! मलाई त्योबेला त्यसरी पागल बनाउन चाहिँ नहुने नि ?”
“त्यो पहिलेको कुरा नगर् । नयाँ कुरा गर् । तँ शहीद भइसक्थिस् । धन्न तँ सशरीर छस् । यही ठूलो कुरो हो बुझिस् !”
“बुबा ! जे भए पनि हजुर एक्लै भएका बेला भनेको हो, मलाई कसैसँग छली गर्नु छैन । सबैसँगै बसेर भोलि सल्लाह गरुँ न है बुबा !”
“म सल्लाहसिल्लाहमा बस्दिन । बुझिस् ! यो मेरै निजी सम्पत्ति हो । भाग पनि दिँदिन । तेरो बुढीले तँलाई नाङ्गै पार्नेछे । बरु तेरो बुढीलाई मलाई आज राति भेटाइदे । तँसँग मेरो कुरा मिल्दैन । बुहारीलाई म मजाले सम्झाउँछु ।”
४
यसरी विषम सरले पढाउने विद्यालयमा उहाँ जस्ता श्रम शोषणमा परेका भुक्तभोगी कर्मचारी एवम् शिक्षकहरू थुप्रै थिए । पैसाको कमीले अत्यन्तै कष्टकर जीवन धानिरहेका थिए । तैपनि कसैले आवाज उठाउनै सकेनन् । विषम सरले यसबारे विद्यालय व्यवस्थापन समितिमा माग राख्न सबै जनालाई गोप्य रूपमा कुरा चलाए तर जीन धान्न धौधौ भए पनि अत्यन्त कष्टकर जीवन धानिरहे । कसैले पनि अगाडि आउन हिम्मतै गरेनन् बरु नबुझेझैँ गरिरहे । विजय सर र शकुन्तला दिदी (जो आयाको काम गर्थिन्) उहाँहरूले विद्यालयमा आवाज बुलन्द पारे । एक एक प्रश्नको जायज जवाफ दिएर जिते । विद्यालय व्यवस्थापन समक्ष डटेर माग राखेका पनि थिए । तैपनि कुनै पनि कर्मचारी एवम् शिक्षक उनीहरूको आवाजलाई टेका दिन अनि आवाजमाथि आवाज थप्न कोही अघि सरेनन् । व्यवस्थापन समितिले प्रत्येक कक्षामा आएर विद्यार्थीलाई सुविधा बढाउने निहुँमा एक वर्षसम्म कुनै पनि शिक्षक एवम् कर्मचारीलाई एक वर्षसम्म सुविधा नबढाउने धम्की दिए । माग अनुसारको आपूर्ति गरेनन् । उनीहरूले विषम सरलाई “अब हाम्रो पछि नआउनुहोस् । आउनुभएएमा हामीले जस्तै जागिर छोड्नु पर्ला ।” भनी गए । बास्तबमा विद्यालय व्यवस्थापन समितिले विजय सर र शकुन्तला दिदीलाई जागिर छोड्न बाध्य बनाइसकेको थियो ।
विषम सर अत्यन्तै दुःखी भएर विजय सर र शकुन्तला दिदीसँग माफी मागे र भने कि “मलाई माफ गरिदिनुहोस् । मैले गर्दा यहाँहरूले जागिर छोड्नुपर्ने भयो । म के मद्दत गर्न सक्छु तपाईंहरूलाई ?”
विजय सर ! शकुन्तलादिदीले विजय सरलाई सम्झाए कि “हामीलाई यस्तो हुनेछ भन्ने पहिल्यै थाहा थियो ।” फेरि विजय सरले सम्झाए कि “त्यसैले हाम्रो कामको चाँजो मिलाएर नै विकल्प भएपछि मात्रै यस्तो कदम चालेका हौँ । तपाईं धन्दा नमान्नुस् । हामीलाई कुनै मद्दत गर्नुपर्दैन सर । शकुन्तला दिदीले ठेला किनेर साग बेचेर यहाँ भन्दा बढी कमाउन सक्छिन् भने मैले कम्प्युटर इन्स्टिच्युटमा भुक्तभोगी विद्यार्थीहरूलाई सरल मूल्यमा सहज तरिकाले कम्प्युटर सिकाउने सबै चाँजो मिलाई सकेको छु । विद्यार्थीहरू पनि थुप्रै सिक्न आइरहेका छन् ।”
विद्यालयकोे काम पछि लखतरान भएर फर्कने क्रममा बसको सिटमा बसिसकेपछि फेरि उनी समस्याको महासागरको कल्पनामा डुबे ।
.........यस्ता समस्या मैले धेरै सामना गरिसकेँ । अस्ति त हो मैले टिभीमा देखेको कि नेपालभरिका कथाकारलाई आह्वान गरिएको थियो कथाको ! एक लाख रकम थियो पुरस्कारको । मैले पनि वास्तवीक मेरै कथा त्यो बताइएको ठेगानामा कथा इमेल गरेको । ‘आहा ! म पनि नामुद कथाकार भएर बाहिर आउने थिएँ ।’ भनी गजक्क परेको थिएँ । उनीहरूले पनि “कथा दिनुभएकोमा धन्यवाद !” भनी रिप्लाइ पनि गरेका थिए । कथाको नतिजाका लागि आइतबार कात्तिक ६ गते समय पनि भयो । म पनि धेरै अपेक्षा गरी इन्टरनेटमा पनि लाइभ भएको कार्यक्रम हेरिरहेको थिएँ । उनीहरूले भनेजस्तो मलाई पटक्कै लागेन कि “कथा एउटा कुचीले पेन्ट बनाउनेसरि हो त्यसैले जो कोहीले कथ्न सक्दैन । बरु मलाई त लाग्यो कथेको कथा त्यो बेजोड हुन्छ बरु कुचीले लेखेको भाष्य नबुझ्नेले पनि कथा बुझ्दछन् र भित्रैसम्म एकदमै उद्वेलित हुन्छन् । कुचीको भाष्य त कसैले के कसैले के गरी बेग्लाबेग्लै पनि बुझ्दछन् बरु कथाले अर्जुनको तीर सरि लक्षलाई उत्कर्षमा छर्लङ्ग देखाइदिन्छ अनि कदापि अमूर्त पनि हुँदैन । किनकि यस्ता प्रगतिशील कुराहरू मेरो कथामा खारिएको अनुभव जो थियो नै ।” कथाका जुरीले “प्रतियोगितामा परिवर्तनका आवाज थुप्रै आए त्यसैले हामी त्यसलाई समेट्न सक्दैनौ । यो पनि हाम्रो क्राइटेरिया हो ।” भनी “हामी सदैव विशिष्ट अतिथि व्यक्ति ज्ञानेन्द्र सर्वेश्वर अनि पारस प्रधानका मार्गदर्शनमा रहन सधैँ तल्लिन छौँ ।” भन्दा म छाँगाबाट खसेँ कि “अब कसरी र कहिले परिवर्तन हुन्छ ?” भन्ने यहाँ पनि मलाई ओभर एक्स्पेक्टेशनले धुरुधुरु रुवायो । साँच्चै अनुमान गरे जस्तै भयो, त्यत्रा कथाका बीच २८ कथा जुरीले पुरस्कृत भनी प्रकाशन गर्दा म सामेल भइन, मैले यो कुरा धेरैपछि मात्र थाहा पाएँ, त्यसैले त मैले सो कार्यक्रम हेरिनँ । म अब झन् जुझारु हुनैपर्छ । अटल अठोट लिनैपर्छ । अब कसैले पनि डगमगाउने गरी दिगमिग पार्न सक्दैन । तैपनि मलाई त यस्तै लाग्यो कि देश र जनताका न्याय र अधिकारका लागि ओभर एक्स्पेक्टेशन गर्नैपर्छ । ................
विषम सर “ओभर एक्स्पेक्टेशन गर्नैपर्छ ।” भनी बर्रबराइरहँदा खलासीले “ए ओभर एक्सपेक्टेशन जी ! तपाईंको स्टप आइपुग्यो ।” भनी बसको बडी ढकढक गर्दा उनी झल्याँस्स भए ।
जुरुक्क उठेर बसबाट ओर्लिएपछि त्यो नशाखोरीको अड्डा चिया पसल देखेर उनी विरक्तिए । सँगैको महानगरीय प्रहरी वृत्तमा यसबारे आफुले भोगेका कुरा उनले कथा बनाएर पत्रिकामा प्रकाशित गर्ने भनेर राखेका थिए । त्यसैलाई प्रहरी वृत्तमा पढेर गुनासो सुनाए । प्रहरीले “अहिले तपाईं त्यहाँ चिया पिउन जानुहोस् हामी त्यहाँ आउँला” भने । विषम सर त्यहाँ के चिया पिउन गएका थिए चिया बनाउने नानीले चिया बनाउँदै थिइन् । विषम सरकै अगाडि लाइटर झुण्ड्याइएको थियो । त्यहाँ एक हुल केटाहरू आए विषम सरको मुहारमा सोही लाइडर बाल्दै “ग्याङ भनेको त ग्याङ हो । चाहे चुरोट तानून् कि एकदमै तानून् चाहे गाँजा !” भन्दै हाँस्दै लठ्ठिँदै चुरोट सल्काउँदै धुवाँको मुस्लो फाल्न थाले । विषम सर धुवाँ पञ्छाउँदै हैरान भइरहे । एकजना चुरोट पिउनेले आफुसँग भएको हजारको नोट दिँदै उक्त प्रहरीलाई “तपाईं के के खाने हो यो पसलबाट खानुहोस् ।” भन्दै फ्रुटी खुवाउँदै थियो । पसलको साहुजीले “यहाँ वियर एउटा पाइँदैन अरू जे चाहिन्छ भन्नुस् ?” भने । उनले सो प्रहरी जवानको मुहार देख्दा इल्लीविल्ली भए किनकि त्यो प्रहरी उही थियो जसलाई उनले आफुले त्यस्तरी नशाखोरीबाट कष्ट सहनुपरेको बारे तथ्यगत रूपमा आफुले लेखेको कथा पढेर सुनाएका थिए । त्यसपछि हस्याङफस्याङ हुँदै उनी सो पसलबाट चिया छोडी अत्यन्तै निराश भएर सरासर लर्खरिँदै बाहिरिए ।
घरमा पुगेपछि श्रीमतीजीले सधैँको विदेश जाने कचकच सुरु गरे कि “हेर बुढा ! आजदेखि डिभी खोलेको छ । हामी भरुँ न हुन्न ?”
“तिम्रो भर तर मेरो चाहिँ नभर ।”
“तिमी किन बुझ्दैनौ । जति सम्झाए पनि सम्झाउन नसकिने भयो । म र छोराको भरुँला । बरु तिमीले नै भरिदिने हो कि । तिमी त इन्टरनेटमा एक्स्पर्ट छौ ।”
“सक्दिन म भर्न ।”
“चाँडै गरेपछि पर्छ के । अनि हाम्रो जीवन पनि रङ्गिन हुन्छ । अरुका अगाडि हाम्रो पनि केही हुन्छ । तिम्रो भर पर्दा धेरै बिग्रिसक्यो । के गर्ने अब ?”
विषम सरलाई जस्तो खारिएको अनुभवको निचोड हुन्थ्यो, लाग्थ्यो त्यही निक्र्यौलको सुझाव दिन्थ्यो सबैलाई “ओभर एक्स्पेक्टेशन कसैसँग नगर तिमीहरू दुःखीत हुन्छौ ।” भनी हरेक कार्यक्रममा सबैलाई सम्झाउँथे अनि “धेरै कुराको कसैबाट पनि अपेक्षा गर्नु हुँदैन ।” भनी जुन कार्यक्रममा पनि भन्न छुटाउँदैनथे तर उनी पनि यसै मामिलामा चिप्लिए । एक पटक ससुरालीबाट धेरै मानसम्मान पाउने अपेक्षा गरेर सो अनुसार एक थोपो पनि नपाउँदा धेरै मन पोलाउन पर्यो ।
बाहिरबाट बुद्धजस्तो जति नै संयम देखिए पनि बुद्ध त थिएन विषम सर पनि । अनि बुढीबाट पनि पहिले बिहे गरेको बेला जस्तो देश भक्तिको पनि अपेक्षा नगरेकै भए यसरी बुढीसँगको हरेक भेटमा आत्मग्लानी हुनु पर्दैनथ्यो, आत्मालाई भत्भती पोलाएर मानसिक स्थिति खराब पार्नु पर्दैनथ्यो । उनको जय देशको नारा, जनताका न्यायिक मागको आपूर्तिबाट हुनुपर्ने समाधान खतरामा पार्नु पर्दैनथ्यो । कस्तो ! कस्तो !! जितेकाले हार सामना गरिरहनुपर्ने, हारेकाले जितको उन्मादको गर्जन गरिरहने अनि फाइदा पनि लिइरहने । सप्रेकाले आफूलाई बिग्रको स्वीकार्नु पर्ने अनि मन्दीको सामना गर्नु पर्ने, विग्रेकाले सप्रेकालाई बाटो विराएको बनाइरहने ।
कथामा पनि त्यस्तै विषम भयो ।
सम्पर्क ठेगाना
बिजु सुवेदी ‘विजय’
कुलेश्वर, काठमाडौं भकतजन मार्ग —८३
bijusubedi!gmail.com
Comments
Post a Comment