सन्दर्भ दिपावली बारे जान्नुपर्ने कुराहरू
दिपावलीको ज्योतिषीय आधार
जसरी तिहारको शुरुवातदेखि घरको फोहोर सफा गरी बाहिर निकालिन्छ ठीक त्यसै प्रकार यस पटकको तिहारमा पनि हामी यो प्रयास गरौं कि हाम्रो मन मस्तिष्कमा जति अशुद्धपन तथा दुर्गन्ध भएको हुन्छ त्यसलाई पनि त्यागौं । जस्तो कसैकोप्रति शत्रुताको भावना क्रोध, नराम्रो बिचार, नराम्रो व्यसन, पुरानो मनमुताव आदि । बास्तुशास्त्रको शब्दावलीमा ईशान कोणलाई वास्तु पुरुषको मस्तकको समान मानिन्छ । बास्तवमा सर्वाधिक वलि ईशान कोण – (उत्तर–पूर्व) अर्थात् वास्तुपुरुषको शीरमा खराबी भरिएको हुन्छ भने त वास्तुको लाभ कहाँबाट प्राप्त हुन्छ ? यस प्रकार यदि व्यक्तिको मन–मस्तिष्कमा खराब व्यसन एवम् कुनैपनि प्रकारको खराबी छ भने उसले कसरी उन्नति गर्न सक्छ ? अतः सबै सामाजिक खराबी एवम् व्यसनहरूलाई त्यागेर एउटा सफा–सुग्घर तिहार मनाऔं र परिवारसहित उज्वल भविष्यको कामना गरौं । यदि एउटै घरमा विभिन्न तल्लामा परिवारहरू बस्नुहुन्छ भने त भवनको आन्तरिक उर्जालाई जीवन्त र कल्याणकारी बनाइराख्नका लागि यो पनि अनिवार्य छ कि सबैले आफ्नो मनको विकारलाई यसै प्रकार मुक्त राखौं । आपसी सद्भाव बनाऔं । वैरभाव समाप्त गरौं । वातावरणलाई शुद्ध वनाऔं र सबैले यसपालीको तिहारलाई मिलिजुली झिलिमिलीसँग मनाऔं । यसै सन्दर्भमा तिहार मनाउने क्रममा औंशीको रातमा लक्ष्मीपूजाको दिन गरिने दिपावलीलाई ज्योतिषशास्त्र अनुसार यहाँ केलाएर हेर्ने प्रयास गरेको छु ।
हिन्दू सँस्कृतिमा पर्वहरूको पौराणिक महत्त्व हुनुको साथ–साथै ज्योतिषीय महत्व पनि हुन्छ । दिपावलीको पर्व पनि यसबाट अछुतो रहन सक्दैन । पौराणिक मान्यता अनुसार दीपावली भगवान राम अयोध्या फर्कनुहुँदाको उत्सव, समुन्द्र मन्थनबाट माता लक्ष्मीको प्रादुर्भावको उपलक्ष्य, नरकासुरको वधको खुशि, राजा वलिको राजमा दीपमालिका प्रज्वलित गर्ने नियम इत्यादिको कारण मनाइन्छ । यसको पौराणिक पक्षको साथ–साथ यो पर्वको ज्योतिषीय महत्त्व पनि छ । जहाँ सूर्यको कन्या सङ्क्रान्तिमा महालय पर्व हुन्छ , त्यस्तै तुला सङ्क्रान्तिको पर्वमा दीपावली पर्व हुन्छ ।
दीपावलीको अवसरमा सूर्य तुला राशि एवम् स्वाती नक्षत्रमा हुन्छ , त्यहीँ चन्द्रमा पनि रहेको हुन्छ । यद्यपी तुला राशि सूर्यको बीच राशि हो । फेरि यत्ति ठूलो पर्व बीच राशिमा किन मनाइन्छ ? यो एक विचारणीय प्रश्न हो । तुला राशिको स्वामी शुक्र ऐश्वर्यको कारक हो । दीपावली धन र ऐश्वर्यसँग गाँसिएको पर्व हो । त्यसैले सूर्यको तुला सङ्क्रान्तिमा धन र ऐश्वर्यसँग गाँसिएकोले दीपावली मनाइन्छ ।
कालपुरुषको कुण्डलीमा चन्द्रमा चतुर्थभावको तथा सूर्य पञ्चम भावको स्वामी हुन्छ । तुला राशी सप्तम्मा हुन्छ । यस प्रकार दीपावलीको अवसरमा विष्णुभावको स्वामी एवम् लक्ष्मीभावको स्वामीको मध्य तुला राशिमा युति सम्बन्ध स्थापित हुन्छ । पराशरीय ज्योतिषमा यसलाई राजयोगको संज्ञा दिइएको छ ।
यो त भयो लौकिक ज्योतिषको कुरा अब कुरा गरौं अध्यात्म ज्योतिषको आधारमा दीपावलीको महत्त्वको बारे । सूर्य आत्माको कारक हुन्छ र चन्द्रमा मनको कारक । अर्कोतिर सूर्य परव्रह्म स्वरूप हो भने चन्द्रमा माया स्वरूप । सूर्य सृष्टिका पिता हुन् भने चन्द्रमा सार्वभौमिक माता । आमावस्या मन र आत्मा, माया र परव्रह्म, माता र पिताको एकात्म स्थितिको वोधक हो । त्यसैले त भनिएको छ सूर्य एवम् चन्द्रमाको युति अर्थात् आमावास्या अद्वैतको निर्देशक हो त सूर्य र चन्द्रमाको प्रतियोग अर्थात पूर्णिमा द्वेत हो । हिन्दूधर्मको तिहार पर्वमा एकमात्र दीपावलीनै ठूलो तिहारको दिन हो जो अद्वेत स्थितिको वोधक हो । चन्द्रमाको अस्तावस्था एवम् सूर्यको साथ युति मनमा नियन्त्रण एवम् मायाको नाशको स्थितिलाई सङ्केतित गर्दछ र सन्देश दिन्छ कि ः—
ईशा वास्यमिद सर्व यत्किञ्च जगत्याँ जगत ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधःकस्य स्विद् धनम् ।।
अर्थात् यस सृष्टिमा जुनपनि कुनै जड–चेतन जगत विद्यमान छ , ऊ समस्त ईश्वरबाट व्याप्त छ । त्यसलाई त्यागपूर्वक भोगिरहू । यसमा आसक्त नबन । किनकि धनादि कसको हो ! अर्थात् कसैको होइन ।
यो वर्षको दीपावलीको प्रवेश मकर लगन एवम् श्रवण नक्षत्रमा हुनेछ । यसपाली दीपावलीमा शुक्र पनि स्वाती नक्षत्रमा रहेर अस्त हुनेछ । शुक्रको अस्तावस्था नै उपर्युक्त सन्देशको समर्थन गर्दछ । कुण्डलिनी विद्यामा मणिपुर चक्रको कारक सूर्य तथा विशुद्ध चक्रको कारक चन्द्रमा हो । राहु कुण्डलिनीको कारक हो । जब कुण्डलिनी विशुद्ध चक्रसम्म जागृत हुन्छ तब साधक मोक्षमार्ग तर्फ उन्मुख भएर काम–वासना नाश गरेर आत्म–साक्षात्कारको स्थितिमा पुगेर आशा र मायाको नाश गर्ने स्थितिमा आउँदछ । ग्रहयणयुक्त दीपावली सम्भवतः यही स्थितितर्फ उन्मुख गर्ने प्रेरणा दिन्छ । यसरी दीपावलीलाई ज्योतिष शास्त्र अनुसार केलाइएको छ ।
दीपावलीमा लक्ष्मीपूजा गर्नुपर्ने कारण
आजको युग तीब्र बिकास भइरहेको छ र यस विकासको एक मात्र कारण हो सम्पन्नता । आज हरेक व्यक्तिले धनी बन्ने ईच्छा व्याप्त राखेको हुन्छ र इच्छाले मात्र कोही धनी बन्न सक्दैन । नीतिशास्त्रमा लेखिएको छ “सर्वे गुणाः काञ्चन माश्रयन्ती” अर्थात् जहाँ धन छ त्यहाँ सबै गुण पनि बास गर्दछ । यसकारण संसारमा धननै त्यो प्रधान साधन हो जसद्वारा मानव भौतिक जगतको सारा सुख प्राप्त गर्न समर्थ हुन्छ । आजको युगमा धनको अभावमा धर्मको साधना पनि हुन सक्दैन । धनको अभावमा दरिद्रता आउँछ जो दुःखको जननी हुन्छ र यसको फलस्वरूप मानव कुमार्गमा गएर धन कमाउने नशाले व्यग्रताका साथ आफ्नो मानवीय गुणलाई नष्ट पार्दछ । भन्नाको तात्पर्य यो हो कि धन एक यस्तो माध्यम हो जसले व्यक्तिको कष्टलाई टाढा भगाउँछ ।
धन प्राप्त गर्न सहज छैन । पूर्वजन्मको कर्म, वर्तमान जन्मको सौभाग्य र पारिवारिक वातावरण तथा साधन यी सब व्यक्तिलाई धनी वा निर्धन बनाउनुको प्रमुख कारण हो । धनको प्राप्ती माता लक्ष्मीको कृपाविना सम्भव छैन । माता लक्ष्मी धनको उत्पत्ति, उपयोग, उपभोग बृद्धिको वरदान प्रदान गर्ने देवी हुनुहुन्छ । उहाँको कृपाबाट सुख–शान्ति, संमृद्धि , उन्नतिको प्राप्ती हुन्छ । सांसारिक सुखहरूको कुञ्जी लक्ष्मीनारायणको हातबाट मात्र प्राप्ती हुन सक्दछ । माता लक्ष्मीको स्वरूपनै व्यक्तिलाई धनवान बनाउन सहायक हुन्छ । उहाँको स्वरूपबाट धनी हुनुको रहस्य जान्दछौं ।
माता लक्ष्मी कमलमा विराजमान हुनुहुन्छ । कमलको नाल पृथ्वीतर्फ सङ्केत गरेर बताउँदछ कि यो सृष्टिको सम्पूर्ण सम्पदा पृथ्वीको गर्भमा लुकेका छन् । धनसम्पत्ती उसलाई मिल्दछ जो लगनबाट परिश्रम गरेर पृथ्वीबाट अर्थात् सम्पदा प्राप्तीको चेष्टा गर्दछ । कमल हिलोमा उत्पन्न हुन्छ तर त्यो फोहोरबाट बिलकूलै अलग हुन्छ । यानेकी धनी हुँदा अनैतीकताबाट टाढा रहनु पर्दछ । लक्ष्मीजीले मुक्तहस्तबाट धन प्रदान गर्नु यो कुराको सङ्केत गर्दछ कि संमृद्धिको बृद्धि चाहने व्यक्तिलाई मुक्तहस्तद्वारा सत्कार्यका लागि धन दिइनु पर्दछ ।
शास्त्रका अनुसार दानबाट सदा लक्ष्मी प्रशन्न र सन्तुष्टि हुनुहुन्छ र व्यक्तिको पूण्य र सम्मानमा बृद्धि गर्नुहुन्छ , यस्तो धन उपार्जन सार्थक हुन्छ । हामी देख्छौं कि अधिकांश तस्वीरमा लक्ष्मीजीले भगवान् श्रीहरिको चरण दबाइरहेको पाउँछौं । यसको अर्थ यो हो कि लक्ष्मीजीको कृपा प्राप्त गर्नका लागि श्री नारायणको चरणको आश्रय लिइनु जरूरी छ किनकि उहाँ नारायणको चरणमा निवास गर्नुहुन्छ ।
लक्ष्मीजीको बाहन उल्लु हो जो उदास र अशुभ मानिन्छ यानेकी समृद्धिको चाहना गर्ने जो कोही व्यक्ति यदि विष्णुजीलाई भुलेर केवल लक्ष्मीको उपासना गर्दछन् तब लक्ष्मीमाता उसकहाँ जरूर आउनुहुन्छ तर उल्लुमा सवार भएर एक्लै आउनुहुन्छ र आफ्नो साथमा नराम्रो प्रबृत्ति, व्यसन र कुविचार पनि ल्याउनुहुन्छ । यसको विपरीत लक्ष्मीजीको आराधना श्रीहरि विष्ण्ुाको साथ गरियो भने मातालक्ष्मी श्रीहरिसँग गरुडमा सवार भएर आउनुहुन्छ । गरुड मङ्गलकारी, सौभाग्यदायक र सबै शुभ गुणले युक्त प्राणी हो । माताको हातमा विल्वफल व्रह्मााण्डको प्रतीक हो । यसलाई हातमा राख्नुको कारण यो हो कि जो प्राणी उहाँको शरणमा जान्छ ऊ सुरक्षित बनिरहन्छ । तस्वीरहरूमा दुईटा हात्ती लक्ष्मीजीको दायाँ र बायाँ स्वर्णकलशले भरिएको जलले स्नान गराइरहेको पाउँछौं । यसको तात्पर्य यो हो कि बुद्धिमान् मानव धन तथा ऐश्वर्य प्राप्त गरेर त्यसलाई भगवतीको श्रीचरणमा समर्पित गर्दछ अर्थात् शुभ कार्यमा व्यय गर्दछ ।
लक्ष्मीजीसँग श्रीहरिको आराधना गर्नुसँग सम्बन्धित एउटा कथा छ — एक पटक लक्ष्मीजी र श्रीहरि बीच को ठूलो भन्ने ठूलो बहस भएछ । तर्क–वितर्क भइरह्यो तर निर्णय हुन सकेन । तब दुबैले आफ्नो कुरा सिद्ध गर्नका लागि पृथ्वीमा परिक्षण गर्ने निधो गरे । पृथ्वीमा केही मानिसहरूले लाश लिएर गइरहेको देखे । तब लक्ष्मीजीले त्यहाँ स्वर्णमुद्राको वर्षा गरिदिनुभएछ । सबै मानिसहरू शवलाई छोडेर स्वर्ण मुद्रा टिप्नपट्टि लागे । लक्ष्मीजीले यो चामत्कारिक जीतको निमित्त श्रीबिष्णुजीलाई हेर्नुभयो । विष्णुजी आफ्नो चिरपरिचित मुद्रामा उभिनुभएको थियो । लक्ष्मीजीले भन्नुभयो देख्नुभयो प्रभु ! भगवान् विष्णुले भन्नुभयो – “मैले त देखेँ तिमी पनि हेर । तिमीलाई त उसैले उठायो जसमा म पहिलेदेखि विद्यमान छु र जसमा म छैन, यदि त्यसले उठाएको भए म मान्थेँ कि तिमी ठूलो छौ ।” यो कथाबाट यो सिक्न सकिन्छ कि “जसलाई भगवान विष्णुले कृपा गर्नुहुन्छ लक्ष्मीजी उसैलाई प्राप्त हुन्छ ।”
एक प्रसङ्गमा भृगु ऋषिले सम्पूर्ण व्रह्माण्डमा को ठूला भनी परीक्षण गर्ने क्रममा एकाएक श्रीहरिलाई छातीमा लात्तीले हान्नु भएछन् । त्यही बेला तत्कालै लक्ष्मीमाताले “व्राह्मणहरू सबै निर्धन होउन् ।” भनी श्राप दिइन् । श्रीहरिले भने भृगु ऋषिको पाउमा मलम लगाइदिए र “श्री लक्ष्मीजीलाई व्राह्मणको चरणमा परिरहनुपर्ने” फैसला सुनाएर भृगु श्रषिजस्तालाई साम्य पारे । त्यतिबेलादेखि धनलाई पाउमा चढाउने सुरुवात भएको मानिन्छ ।
दीपावलीमा मातालक्ष्मीलाई पूजा गरिन्छ । दीपावलीको रात्रिलाई कालरात्रि मानिन्छ । कालरात्रिलाई जहाँ शत्रु विनाशिनी मानिएको छ त्यहीँ सुख, सौभाग्य, वैभव दिने भनी पनि मानिएको छ । मन्त्रहरूमा मातालक्ष्मीलाई गणेश्वरी भनिएको छ । जुन ऋद्धि–सिद्धि दिनेवाला छ ।
दीपावलीको रातको आधिरातपछि दुई मुहूर्तको समयलाई “महानिशा” भनिन्छ । यस वेलामा लक्ष्मीनारायणको साधनाको विशेष महत्त्व हुन्छ । ज्योतिषशास्त्र अनुसार दीपावलीको रात्रिमा सूर्य र चन्द्रमा दुबै तुला राशिमा हुन्छ । तुला राशिको स्वामी शुक्र हो जो धनधान्य र वैभव प्रदान गर्ने ग्रह हो । रुद्रमालय तन्त्रका अनुसार यस वेलामा आराधना गर्नाले अक्षय धनधान्य प्राप्त हुन्छ । यो लक्ष्मी वैभव इत्यादि प्राप्तीको दृष्टिले अतिनै महत्वपूर्ण समय हो ।
यस्तो मान्यता छ कि यो राशिकालमा मातालक्ष्मी विष्णु भगवानसँग भ्रमण गर्न निस्कनुहुन्छ र जहाँजहाँ उहाँको पूजा आराधना भइरहेको हुन्छ त्यहाँ त्यस घर र स्थानमा उहाँ आफ्नो निवास बनाउनुहुन्छ । तसर्थ यो वेलाको लक्ष्मीपूजाले विशेष महत्त्व राखेको हुन्छ ।
स्रोत ः भारतीय वैदिय विज्ञान सँस्थान, विभिन्न यस सम्बन्धि पत्रपत्रिका तथा पुस्तकहरूमार्फत आफुले गरेका अनुभव तथा प्रमाणका आधारमा सर्वेक्षण गरेका आधार ।
नोट ः यो माथिको “दिपावलीको ज्योतिषिय आधार” लेख नयाँ पत्रिका राष्ट्रिय दैनिकमा २०६७ कात्तिक १७ गतेमा प्रकाशित भइसकेको छ । यसका लागि नयाँ पत्रिका राष्ट्रिय दैनिकप्रति धेरै–धेरै आभारी छु । अनि यो माथिको “दीपावलीमा लक्ष्मीपूजा गर्नुपर्ने कारण” लेख २०७० कार्तिक १४ गते नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित भइसकेको छ । यसका लागि नागरिक राष्ट्रिय दैनिकप्रति पनि धेरै–धेरै आभारी छु ।
२०७९ कात्तिक ८को दिपावलीको शुभकामनासहित
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाडौं
bijusubedi@gmail.com
Comments
Post a Comment