नेपाल कायापलट गर्ने मार्गचित्र
नेपाल कायापलट गर्ने मार्गचित्र
नेपाल ! शब्दैमा सबैलाई पाल्ने देशको सुगन्ध छ । अनि प्रकृतिका खानीहरू व्याप्त छन्, त्यसैले त नाम अनुसारकै नेपाल छ । यस्तो भएरै पनि हामीले तेस्रो विश्व भएर अनि विकासोन्मुख, अविकसित देश भनी सहेर बस्नु परिरहेको छ । हाम्रो प्रतिव्यक्ति आय अत्यन्त कम छ । नेपालको विकासमा कुन नेपाली खुसी नहोला । यसका लागि सबैले आआफ्नो तर्फबाट योगदान दिन तँछाडमछाड गर्नसक्नुपर्छ । नेपालले सानो एउटा पदक पायो भनेपछि पनि हामी कति खुसी हुन्छौँ तर नेपाल देश पुरै भारतमा निर्भर भई बस्नुपरेको अवस्था छ । भारतलाई यस मानेमा यसैमा फाइदा छ , त्यसैले हामीलाई परेको असुविधा हामीले नै उजागर गर्नुपर्छ । आज यहाँ भारत, सार्कलाई हेरेर हामी हाम्रो नेपाललाई कसरी समुन्नत गर्न सक्छौँ यही केन्द्रविन्दुमा यो लेख सुरु गरिरहेको छु ।
हाम्रो देशका जलका खानी जुन विश्वकै दोस्रो ! यसबाट धेरै लाभ लिन सकिन्छ । उत्तरका पुरै हिमालयका शृङ्खला विश्वलाई ट्रेकिङका लागि आकर्षण गर्ने ! अनि पहाड पुरै जडिबुटीका भण्डार नै हुन् । हावापानी त्यत्तिकै राम्रो ! प्रकृतिका तालतलैया, पहाड, गरा, थुम्काथुम्की, उपत्यका, हिमालआदि मनोरम दृश्यका खानी नै नेपाल हो । पुर्खाले छोडेका पुरातात्त्विक कुराहरू, सम्पदाहरू संरक्षण गरी त्यसलाई विश्वलाई आकर्षण गर्ने खुला सङ्ग्रहालय बनाउन सकिन्छ । तराई हेर्यो वर्षकै तीन बाली गर्न सकिने ! खानी त के के छन् के के, हामीले उत्खनन पनि गर्न पाएका छैनौँ । विश्वको आँखा यस्ता हाम्रा खानीहरूतर्फ छ । एमसीसी आदिजस्ता सम्झौता गराएर उनीहरूमात्र फाइदा लिन लालायित भइरहेको कुरा हामीले छर्लङ्गै बुझेको कुरो हो । यो कसैबाट लुकेको छैन । त्यसैले हामीले जताबाट हेरे पनि हामी निर्यातमुखी देश हौँ । सर्बोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्ध हाम्रै हुन् । हामी कतैबाट गरिब अनि परनिर्भर देखिदैँनौँ बरु हाम्रा शासकहरूको पनि परनिर्भर प्रवृत्ति हट्नु आवश्यक छ । यसरी त्यसैले नेपालमा पर्याप्त सम्भावनाहरूका थुप्रै खानीहरू छन् । बेलैमा हाम्रो चेत खुल्नु जरूरी छ । यसमा हामी चुक्नुहुन्न ।
बाटोका लागि भारतसँग मात्र हामी निर्भर छौँ । बरु असल छिमेकी बनी बङ्गलादेशले पटकपटक नेपाललाई आग्रह गर्न आएका कुरा स्वागतयोग्य अनि स्मरणयोग्य छ त्यो यो कि “नेपाललाई फूलबारी नाकादेखि समुन्द्रसम्म जाने बाटो सहजरूपमा प्रयोग गर्न दिने ।” सँग सम्बद्ध छ । त्यसैले भारतसँग बंगलादेशसँग जोड्न दक्षिणपुर्वको बाटो फूलबारी नाका प्रयोग गर्न पहल गर्न सक्नुपर्छ । अनि हाम्रो पनि पानीजहाज हुन्छ । समुन्द्रबाट आउने कतिपय सामानहरू धेरै सस्तोमा पाउन सम्भव हुन्छ । त्यस्तै लिपुलेक, लिम्पियाधुरा, कालापानीमा भारतले बाटो बनाए पनि त्यो गौण कुरो हो मुख्य चुरो कुरो नेपालको पश्चिमउत्तरको त्यो बाटोबाट बरु पाकिस्तान भएर युरोप अनि रसियाजाने बृहत् राजमार्ग हामीले उपयोग गर्न पाउनुपर्छ । यसका लागि अन्य कुनै कुरासँग सम्झौता गर्नुहु्न्न । यता पनि बढी बाधा भारतकै कुरो छ । धेरै ढिलो भइसक्यो हामी भूपरिवेष्ठित देशले पाउने सुविधाका लागि अन्तर्राष्ट्रिय कानुनका विज्ञको सहायतामा हामीले आफैँले भारतभन्दा बाहिरका देशबाट खुला रूपमा सामान आयात तथा निर्यात गर्न सक्नुपर्छ । यत्ति दुईटा बाटाहरू पाउन सके मात्रै पनि हामीले आफ्ना उपभोग्य बस्तुहरू धेरैधेरै सस्तोमा पाउन सक्छौँ । सामान सस्तो पाएपछि बचत बढी हुन्छ र बढी बचतका पैसाले जीननस्तर बढोत्तरी हुन्छ अनि अन्तर्राष्ट्रिय अन्य थुप्रै देशहरूका लागि उत्पादनमूलक काम गरी स्थलमार्गबाटै निर्यातका मार्गहरू पनि खुल्दै जान्छन् । हाम्रो जीवनस्तर बृद्धि हुँदै जान्छ । त्यसैले किनकि हवाइमार्गभन्दा स्थलमार्ग सबभन्दा सस्तो मार्ग हो । यसबाट फलिफाप हुने कुरा मेरो मात्र ढिपी होइन विज्ञहरूले भनिरहेका छन् । यसतर्फ आजसम्म त्यति कुनै पनि शासकको ध्यान गएको देखिँदैन । त्यसैले यसतर्फ ध्यानआकर्षित गर्न चाहन्छु ।
भारतीयहरूसँग दुश्मनी गरेको त होइन तर उनीहरूका सर्वसाधारण नागरिकसमेत प्रायः हामीलाई के भन्छन् भने “भारतले दुईदिन नाका बन्द गर्यो भने तिमीहरू भोकभोकै पर्छौ ।” मैले त्यहाँ त्यो भारतीयलाई यी माथिका हाम्रो हकका बाटाका कुरा त गर्न सक्थेँ तर बिचरा ! उसलाई यस्ता कुराको ज्ञान पनि हुँदैन । उसले जे बोल्यो भारत नै बोल्यो तर कुरो गहिरो छ । धेरै वर्ष भयो पाकिस्तान एउटा पञ्छाउन बिमस्टेक सम्मेलन हुन थाल्यो । सार्क सम्मेलन नभएको धेरै भइसक्यो । यस्ता सम्मेलनहरूमा भारतको कुरा ठुल्दाइ भनेर सबैले सहेर टेर्नु नै गल्ती भएको जस्तो लाग्छ मलाई । अन्य सार्क देशका पनि हाम्रो देशका जस्तै समस्या छन् भने सबैले सही मार्ग पाउन सम्भव हुन्छ । यस्ता सम्मेलनहरूमा सहीरूपमा कुरा उठाउन सक्नुपर्छ अनि वाध्य भई कार्यान्वयन हुनेछ । परिआएमा सँयुक्त राष्ट्र संघमा पनि आवाज उठाउन सक्नुपर्छ । यसका लागि सम्बन्धित विज्ञहरू प्रयोग गर्न सकिन्छ ।
भारतले त ऊ आफुअनुकूल सार्क राष्ट्रहरूलाई भारत निर्भर बनाउन खोज्ने नै भयो । त्यसैले धेरै भइसक्यो शासकहरूको भारतनिर्भर प्रवृत्तिबाट हामी जसरी पनि बाहिर आउन सक्नुपर्छ । सधैँ राजनीतिक दलहरू कुर्सीको खिचातानीमै व्यस्त देखिन्छन् । देशको साझा मुद्दालाई पहिलो प्राथमिकता दिऔँ । मैले आम नेपालीहरूलाई हाम्रो देशको हकहितको कुरा भनिरहेको छु कि नेपालीको हित हुनु भनेको, नेपाल देशको उन्नति हुनु भनेको तपाईंहरूको पनि उन्नति हुनु हो । त्यसैले विगतमा हामीले भूपरिवेष्ठिट भएर धेरै झेल्यौँ । यसका लागि पाउनुपर्ने न्यूनतम आधारभूत अधिकारका कुराहरू के हामीले पायौँ त ? त्यसबारे हामीले अहिलेसम्म किन सोचेनौँ ? जे छ हामी जस्तो छौँ त्यो त्यसैमा चित्त बुझाएर हामी धेरै पछि पर्यौँ । आफ्ना लागि सम्भव नभए पनि आउने पिँढीले मनन गरुन् कि हामीले तिमीहरूका लागि यो राम्रो काम गरेर गएका थियौँ भनेर । सूचनाप्रविधिमा भएको द्रुत्ततर विकाससँगै अब हामी अन्तराष्ट्रियस्तरमा सुपरिचित भइसकेका छौँ । देशलाई परेको मर्का उजागर गर्दा सुनिदिनेहरू पनि निक्लनेछन् र समाधानका बाटाहरू पनि आउनेछन् अनि गन्तव्यमा पनि पुग्नेछौँ । एकपटक कुरा उठाएपछि त्यो जायज रहेछ भन्ने सबैलाई महसुस हुनेछ र आवाज बुलन्द भएपछि समाधान पनि निक्लनेछ भन्ने मलाई आशा छ ।
प्रमुख कुरा नेपाल देश र नेपाली जनताको हितका लागि सबैले सोच्नु आवश्यक छ । यसैबाट नेपालको विकासको मार्गचित्र देखापर्दछ । नत्र हाम्रो ध्यान बैदेशिक रोजगार, वैदेशिक सहायता, अनि जुन कुरा पनि आयात गर्नुमा मात्रै रुमलिरहनेछ । पहिले हामी गोर्खे, बहादुर भनेर गनिन्थ्यौँ । अहिले बैदेशिक रोजगारमा निर्भर छौँ । हामीले यस्ता कुरामा मात्रै गर्व गरिरह्यौँ । यो बेठिक त छैन ? अब हामीले नयाँ सिराबाट हेर्नुपर्यो : हाम्रो स्तरोन्नतिमा लागि, हाम्रो ख्याती अनि गर्वका लागि ! हाम्रा अनमोल खानीहरू हामी आफैले उपभोग गर्नुमा छ । हामीसँग यस्ता प्रचूर सम्भावनाहरू छन् । अब हामीले आफ्नै खुट्टामा उभिने बेला आएको छ । यो मौकाको सदुपयोग गर्ने हामी सबैको कर्तव्य हो ।
हामी गरिब होइनौँ । गरिब होइनौँ । कदापि गरिब होइनौँ । विगतमा हामीले केही जानेनौँ । अहिले विश्वका भूराजनीतिबाट अनि विश्वमा भएका भूपरिवेष्ठिट देशका द्रुत्ततर प्रगतीलाई मध्यनजर गर्दै हेर्ने र समाधान निकाल्ने बेला आएको छ । अहिले कति देशले मरुभूमिमा आफ्रिकाबाट माटो ल्याएर उन्नति गरिसके अनि हाम्रो मलिलो भूमिमा प्रचूर सम्भावना भएको कुरा कसले नकार्न सक्छ र ? वास्तबमा मैले नेपालको कायापलट गर्ने यही मार्गचित्र देखेको छु ।
२०७८ माघ ८ गते
बिजु सुवेदी विजय
प्रतिक्रियाका लागि bijusubedi@gmail.com
Comments
Post a Comment