लेख :– कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू

लेख :– कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू
लेखक :– बिजु सुवेदी “विजय”

 आख्यान विधाका कथा–लघुकथा लेख्ने लेखकहरु धेरै छन् । तर तिनका कथा, कथा भइरहेका छैनन् । जान्नेले आफू माथि पुग्नका लागि पनि यो भेद खोलेका छैनन् । धेरैजसोले कथा लेख्ने भनेरै लेखिरहेका हुन्छन् । तर त्यो कुनै निबन्ध बन्न पुग्छ भने कतै त्यो संस्मरण बन्न पुग्छ । कथा जान्नका लागि निबन्ध भनेको के हो, संस्मरण भनेको के हो भनेर जान्नु आवश्यक छ । यी सम्बन्धी बजारमा पुस्तकहरु पाइन्छन् । सो को एकचोटी अध्ययन गरेर मात्रै कथामा हात हाले बेश होेला । अझ कथा लेख्नु अगाडि लघुकथाहरु लेख्नु आवश्यक छ । जसले गर्दा सानासाना कुराहरुमा मेहेनत गर्ने बानीको विकास हन्छ । कथा लेख्दा मौलिक पनि हुनु जरुरी  छ । लघुकथा लेखनले कसरी सानोभन्दा सानो शब्द एवं वाक्यले कसरी चोटिलो एवं बृहद सन्देश दिन सक्षम हुन्छ भनेर जान्न सकिन्छ । त्यस्तै लघुकथा लेख्दा त्यसलाई सानाकथा तथा चुट्किला, छोटो निबन्ध, छोटो संस्मरण पनि बन्न दिनु हुँदैन । अनि मात्र खाँट्टी लघुकथा बन्दछ । त्यस्तै कथा, लघुकथा लेख्दा त्यसको निचोड अर्थात कथाले भन्न खोजेको कुरा भन्नुहुँदैन किनकी यसो गर्दा कथाको स्वाद आउँदैन र यसरी कथा लेख्ने प्रक्रिया पनि होइन । कथा एवं लघुकथा लेख्ने लेखकले आफूलाई प्रयोगवादी भनाउन पनि यी नियमहरु मिच्ने गरेको पाइन्छ तर यो ठीक होइन । यो सरासर गलत प्रक्रिया हो । यसरी नियम मिचेर हामीले हाम्रो साहित्यलाई कहिल्यै पनि माथि उठाउन सक्षम हुँदैनौं । यसै त  हाम्रो साहित्यले अहिले विश्व साहित्यमा स्थान बनाउन नसकेको अवस्था छ । त्यसैले कथा लेख्ने, लघुकथा लेख्ने आम लेखकहरुले यी माथिका कुराहरुलाई ध्यान पुर्याउनु नित्तान्त आवश्यक छ । मैले पनि सुरुसुरुमा जानी नजानी यी नियमहरुको बेवास्ता गरेको थिएँ । पत्रपत्रिका, पुस्तक, वेभसाइटमा कथा प्रकाशन गर्नेहरुले पनि यी कुराहरु  जान्नु नित्तान्त आवश्यक छ । त्यसैले सम्पूर्ण साहित्यमा लागिरहनुभएकाहरुले आफूले जानेका ज्ञानहरुलाई बाँड्नु्हुन पनि यहीँबाट अनुरोध गर्दछु । अन्त्यमा लघुकथा लेखिसकेर हात बसाइसकेपछि कथामा हात बसाउनुहोस् अनि उपन्यासतिर हात बढाउनुहोस् । यसबाट कलमजीवीहरुको भविष्य सुनिश्चित हुने अवश्यम्भावि छ ।

२०७१ असोज २०
bijusubedi@gmail.com
कुलेश्वर, काठमाडौं


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा