नेपाली चलचित्रका कुरा

 नेपाली चलचित्रका कुरा


हल्कारा


रामकृष्ण पोखरेल, विक्रम सापकोटाद्वारा लगानी गरिएको विक्रम सापकोटा चलचित्र कम्पनीद्वारा निर्मित, लेखक तथा निर्देशक पनि विक्रम सापकोटा नै भएको महेश त्रिपाठी र विनिता थापा मगर अभिनित “हल्कारा” चलचित्रले साढे ३ लाख मात्र उठाउन सकेको देखिन्छ । बौद्धिक जगतले प्रशंसा गरेको चलचित्र “हल्कारा”को सबै कुरा कलात्मक चलचित्रसरि भए पनि त्यसलाई मिहीन ढङ्गले प्रस्तुत गर्न चुकेको देखिन्छ । अनि मुख्य उत्कर्षको सुरुको दृश्यमा बिच्किएका नायकलाई प्रस्तुत गरिरहँदा नायकलाई पहाडमा उकालो लागेको देखाइएको छ भने त्यस्तै कथाको मजबुन देखाउने नायक सुध्रेका भूमिका प्रस्तुत गरिरहँदा सद्दे काम गर्नुपर्छ भन्नेजस्तो देखाइरहँदा सोही पहाडबाट ओरालो लागेको देखाइएको छ । यसले त समाज प्रगतीउन्मुख हुनुपर्छ भन्ने सन्देशको ठिक उल्टो मजबून हुन पुगेको छ ।


प्रसाद १, २


सुवास थापा प्रडक्समा निर्देशक दिनेश राउत लगानी सुवास थापाकै, विपिन कार्की, निश्चल बस्नेत तथा नम्रता कार्की अभिनित “प्रसाद” । फेरि सुवास थापा प्रडक्सनमै सुदर्शन थापाले निर्देशन गरेको सुदर्शन वस्नेतले लगानी गरेको विपिन कार्की, केकी अधिकारी अभिनित “प्रसाद २” सिरिजका चलचित्र दर्शकले अपार मन पराए पनि २ करोड लगानीको यस “प्रसाद २” चलचित्रले १ करोडमात्र लगानी भित्र्याउँदा आधि लगानी डुबेको देखिन्छ । आफ्नी श्रीमतीमाथि जति नै ज्यादती भए पनि यसको मूल सन्देश अर्काको बच्चा प्रसादका रूपमा स्वीकार्नुपर्छ भन्ने गलत अथ्र्याइ हुन जान्छ , चलचित्रमा यस्ता कुरा घुमाउरो पारामा उल्लेखित छन् । स्टारकास्टले गर्दा दर्शक झुम्मिए पनि स्टार कलाकारले मात्र चलचित्र सफल हुँदैन यसका लागि अन्य कुराहरू पनि गहिरोसँग अध्ययन गर्नुपर्छ भन्ने शिक्षा निर्माता, निर्देशकले ध्यान दिनुपर्ने देखिन्छ ।


जोनी आइएम 21


रेनशा राई रानाको निर्देशनमा बनेको रेनशा राई राना फिल्म्सको प्रभु एसजेबी राना, प्रज्ज्वल एसजेबी रानाले लगानी गरेको धिरज मगर र जसिता गुरुङको प्रमुख भूमिका रहेको चलचित्र “जोनी आइएम 21” का नायक नायिका दुबैका नृत्यप्रतिको जोश प्रशंसनीय एवम् सह्राहनीय छ । मुख्य पात्रहरूले सशक्तरूपमा अभिनय गरेको डेढ करोडको लगानीको यो चलचित्रले यसरी सफल भएरै पनि ६० लाखमात्र लगानी उठाएर लगानी उठाउन हम्मेहम्मे परेको देखिन्छ । नृत्य विषयवस्तुमा आधारित यो चलचित्र पनि नृत्यलाई ट्र्याकमा अनि नवरसको अभिनयमा सानासाना अभिव्यक्तिका रेसालाई पनि नृत्यको अभिन्न अङ्गसरि मेहनत गरेका भए यसले अपार सफलता पाउनेमा दुईमत छैन । निर्देशनको जोश अरू नेपाली चलचित्रमा भन्दा बढी नै देखिन्छ त्यसैले पनि यस्ता चलचित्रले थुप्रै सम्भावनाहरू देखिन्छन् । पहिलो प्रयासमै यस चलचित्रका यी टिमले यति गहिरो छाप छोड्ने गरी चलचित्र बनाउनु भनेको निकै सह्राहनीय काम हो । हरेक यस चलचित्र हेरेकाले सबैले यस चलचित्र अति नै राम्रो भएको बताउनु यस चलचित्रको सफलता हो ।


जारी


आजका नम्बर १ सुपर स्टार अभिनेत्री मिरुना मगर, दया हाङ राईको प्रमुख भूमिकाको बाँसुरी फिल्म्सको ब्यानरमा कप्पडी चलचित्र बनाएका टिम रामबाबु गुरुङको लगानीमा, उपेन्द्र सुब्बाको निर्देशनमा बनेको २०८०को पहिलोब्लक बुस्टर चलचित्र “जारी” हो । निर्माताले यस चलचित्रले अहिलेसम्म १७ करोड उठाइसकेको दाबी गर्दछन् । जुन नेपाली चलचित्रको इतिहासमा चौँथो बढी चल्ने चलचित्रमा कीर्तिमानी दर्ज भइसकेको छ । यसले अझै कीर्तिमान बनाउँदै जाने देखिन्छ । यस चलचित्रलाई पनि लिम्बु संस्कृतिको सुन्दर पक्ष भनिए पनि आफुलाई छोडी गएकी श्रीमतीले श्रीमान्ले जारी लिएर गइसक्दा पनि आफ्ना पूर्व श्रीमान्प्रति माया उर्लेर आउँदा फेरि नयाँ ढङ्गबाट सुरुकै श्रीमान् श्रीमतीले जीवन डो¥याएको उत्कर्ष यस चलचित्रमा देख्न सकिन्छ । यसले पनि समाज पश्चिमाहरूको पारपाचुके, पुनर्विवाह संस्कृतिको पक्षपोषण गरेको जस्तो देखिन आउँछ ।


ग्रेड छुट्ट्याउनु जरूरी छ


त्यसैले दर्शकको ओइरोले मात्र चलचित्र सफल मान्न सकिन्न । सस्तो लोकप्रियताले यस्तो लोकप्रिय हुँदैमा चलचित्रको मानक ठिक भनेर मान्न सकिन्न । हाम्रा दर्शक, सुन्दर, सभ्य अनि सुशील बनाउन भारतमा जस्तो अब नेपाली चलचित्र “बी ग्रेड” बाट उक्लेर “ए ग्रेड” मा आउन जरूरी छ । यसरी चलचित्रलाई अझ सभ्यतामा ल्याउन सकेमा मात्र त्यसले समाजमा सुगन्ध छर्न सक्दछ । सुधार गर्न सकिन्छ । प्रयासै नगर्ने हो भने समाज स्खलित भएर भास्सिएर जान पनि सक्दछ । यसलाई उकास्ने हामी सबैको सामूहिक दायित्त्व हो । समाजले यस्ता सस्ता मनोरञ्जनका कुराहरू किन स्वीकारे ? के यो मजबुरीमा स्वीकारेका होइनन् ? समाजलाई मनोरञ्जन अनि मात्र मनोरञ्जनको बानी परेको छ । के हामीले उहाँहरूको सेन्टीमेन्टबाट फाइदा उठाउने हो ? पक्कै पनि चलचित्र बनाउने दिग्गजहरूले यसरी देशलाई अधोगतितर्फ लैजानका लागि समय र श्रम खेर फाल्नु कदापि उचित छैन । उहाँहरू यसमा एकदमै कम अङ्कको नतिजा प्राप्त गरेर अनुत्तीर्ण हुनु भएको कुरो पक्का हो । अनि यसबाट हाम्रो समाज स्तरिय हुन सक्छ र ? कदापि सक्दैन ।


यो लेख तयार पार्दासम्म आजसम्मको युट्युबको आँकडा हेरी यो चलचित्र सम्बन्धी सर्वेक्षण गरेको हुँ । वास्तबमा यी ४ चलचित्रले भन्न खोजेका कुरा, अनि कथा मैले सोचेकाभन्दा पनि भिन्न भएमा क्षमा चाहन्छु तर अधिकांश सम्पूर्ण हाम्रा नेपाली चलचित्रहरू यस्तै नै छन् । प्रतिनिधी चलचित्र मानी यी ४ चलचित्रलाई हेरेका अनुभवमा अरू पनि यस्तै त चलचित्र हुन्छन् नि ! भन्ने जो कोहीलाई पनि लाग्ने हुन्छ । वास्तबमा हाम्रा चलचित्रहरू यस्तै छन् । सारांशमा भन्नुपर्दा यसरी त चलचित्र हेर्यौँ भने हामी बिग्रन्छौँ भन्ने मान्यताको पुष्टि हुन्छ । समाजलाई बिच्क्याउनु कदापि जिम्मेबारीबट पन्छिनुसरि हो । 


काँडेतार चलचित्रलाई नलट्काइदिन अनुरोध छ


सामाना फिल्म्स प्रडक्सनको ब्यानरमा, कथा–निर्देशन–निर्माण नवल खड्का तथा निर्माण सत्य कला राईले गरेको यस चलचित्रमा नवल खड्का र गौरव पहाडीको सशक्त भूमिका भएको देशभक्तिपुर्ण चलचित्र काँडेतार हाम्रो देशको स्वाधीनताका पक्षधर, माटोको सुगन्ध आउने, भारत र नेपालको खुला सिमानामा चेलिबेटी बेचविखन, यताका अपराधी उता लुक्ने उताका अपराधी यता लुक्ने, गैरकानुनी अन्य काम खुल्लमखुल्ला हुने भइरहेको सर्वविदितै कुरालाई सशक्त ढङ्गमा उतारेका छन् । यसले ठुल्दाइ मानिएको भारतलाई पनि हामीलाई भन्दा धेरै फाइदा हुन्छ । उनले यस काँडेतार चलचित्रको यथार्थ मनन गरेमा नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्ने दाबी गर्छन् । उनले यो पनि दाबी गर्दछन् कि यस चलचित्रमा उनले वाल्मिकी रामायणका आधारमा ३०सर्गदेखि ३५ सर्गसम्ममा विश्व इतिहासमा मानव सभ्यताको विकास नेपालबाट फैलिएर विश्वभरी फैलिएको सत्यतथ्यपूर्ण प्रमाण उजागर गरेका छन् । उनको दाबी छ सत्य तथ्य जस्तो छ उनले यस चलचित्रमा कुनै कुरा नबङ्ग्याइकन प्रस्तुत गरेका छन् ।


यो चलचित्रले जङ्गे पिल्लर मात्र होइन अब काँडेतार मात्रै भए पनि नेपालले मात्रै भए पनि राख्ने पहल गर्नुपर्ने मुद्दा उठाएका छन् । यस्ता चलचित्र कहाँ हो कहाँ धेरै राम्रो चलचित्र हो ! तर यो चलचित्रलाई धेरै काँटछाँट गरेर पनि सेन्सर बोर्डले अड्काएर राखेको कुराले यी सब गल्ती नेपाल सरकार र चलचित्र विकास बोर्डको टाउकामा परेको छ । उनका अनुसार सेन्सर बोर्डकाहरूले आङै सिरिङ्ग पारेर शरीरमा काँडा उमारेको देशप्रति यति धेरै अगाढ स्नेह उर्लेको महसुस गरे पनि किन उनीहरूले नै लट्कायो ? त्यो थाहा नभएको उनी बताउँछन् । यस मामिलामा ज्यानै दिएर भए पनि कुनै पनि काँटछाँट नगरीकन यो चलचित्र सेन्सर गराएरै छोड्ने दृढता प्रकट गर्ने कुरा जङ्गे पिल्लर, भीम दत्त आदिजस्ता देशप्रेमले ओतप्रोत सफल चलचित्र हामी नेपाली दर्शकका लागि दिइसकेका निर्माता निर्देशक नवल खड्का व्यक्त गरेका कुरा एकदमै सह्रहनीय छ । भ्रष्ट परम्पराहरू हटाउनु जरुरी छ । बरु यस्ता स्तरिय चलचित्रलाई बढावा दिने र समाजलाई सुन्दर, सभ्य, सुशील, भद्र बनाउन चलचित्रबाट यथेष्ट मद्दत पु¥याउनुपर्ने देखिन्छ । कर छुट गरेर, सम्मान-पुरस्कार दिएर यस्ता राम्रा चलचित्रलाई थप टेवा दिनुपर्ने कुरा अवश्यै हो । यही कुरा सम्पुर्ण सम्बन्धित पक्षतर्फ ध्यानाकर्षित गर्दछु । 


चलचित्र उद्योगका लागि नेपाल प्रशस्तै सम्भावना भएको राष्ट्र हो । अब यस्ता चलचित्रहरू बन्नु पर्छ ।


त्यसैले अब चलचित्र यस्तो बन्नुपर्छ जुन चलचित्र हेरेपछि समाज सप्रन्छ भन्ने सिद्ध हुनुपर्छ । यसमा हाम्रा चलचित्र चुक्नु हुँदैन । जनतालाई सस्तो मनोरञ्जनमा भुलाउनु हुँदैन । उहाँहरूलाई त जिन्दगीमा नवगोरेटाबाट राम्रो दिशातर्फ अग्रसर गराउन सक्नुपर्दछ । चलचित्रले चलचित्र हेरेर बिग्रन्छन् होइन कि सप्रन्छन् भन्ने मान्यता सबैमा ल्याउन एकदमै कोसिस गर्नुपर्ने देखिन्छ । दर्शकहरु कतातिर गइरहेका छन् ? के यतातिर ल्याउनु जरूरी होइन ? हो ! अवश्य नै दर्शकलाई असल मार्गतिर ल्याउन चलचित्रले पहल गर्नैपर्छ र यसलाई बढावा दिने अनि टेवा दिने काम नेपाल सरकारका सम्बन्धित निकायकै हो ।


विदेशी चलचित्र जस्तो बाइग्राउण्ड दृश्यका लागि हामीले धेरै खर्च गर्नु पर्दैन । हाम्रा अमूल्य प्रकृतिका खानी नै पर्याप्त छन् । यस्ता प्राकृतिक सुन्दरता चलचित्रका मार्फत प्रस्तुत गर्न सके पर्यटन उद्योग थप फस्टाउन सक्दछ । हावापानी पनि न त धेरै गर्मी न नै धेरै जाडो ! यस्तो स्वर्गजस्तो नेपालमा प्रचारप्रसार गरेमा होटल व्यवसायलाई पनि राम्रो बनाउन थप टेवा पु¥याउन सकिन्छ । नेपालका हिमशृङ्खला, तालतलैया, पहाड, वनजङ्गल, धार्मिक देवीदेवताका मन्दिर, मस्जिद, गुम्बाजस्ता मनै लोभ्याउने विश्व सम्पदाहरू चलचित्रमार्फत प्रवर्द्धन गर्न सकिन्छ ।


नानीदेखि लागेको बानी हटाउन जसलाई पनि गाह्रै हुन्छ । बिगार्ने काम जे पनि सजिलो हुन्छ । यसको फल सधैँ नराम्रो हुन्छ । राम्रो काम गर्न गाह्रो जरूर हुन्छ तर यसको दूरगामी असर सधैँ सकारात्मक नै हुन्छ अनि हामी आफ्नो खुट्टामा उभिन सक्षम हुन्छौँ, यसमा शङ्कै छैन । यसलाई त गहिरो छाप पर्ने किसिमले बुझाइदिन सक्नुपर्छ । यसैको फलस्वरूप खालि युवा युवतीको प्रेम सम्बन्धिको मात्र चलचित्र बनाउनु पर्छ भन्ने मान्यता विस्तारै हट्दै पनि गइरहेको छ । यो अलि भए पनि सुधारात्मक सङ्केतको  उदाहरण हो तर माथिका यावत् समस्याहरू यहाँहरूका लागि ठूलै पहाड भए पनि यसलाई हटाउन दिनहुँ मेहनत गरेमा अवश्य नै सफलता सबैका हातमा आउनेछ । 


"वाच्छो जन्मने वितिकै हरेक दिन हामीले केही समय बोक्न थाल्यौँ भने गाईको रूपमा आउँदा पनि हामीले बोक्न सक्छौँ ।" यो हाम्रा पुर्खाका मननीय भनाइलाई मनन गर्दैै त्यो कठिन पहाड उछिन्न कुनै गाह्रो होइन बरु लक्ष्यको बटोतर्फ लम्किनै रहनु पर्दछ । यही कुरा सम्पुर्णलाई ध्यानाकर्षित गर्न चाहन्छु । 


२०८० जेठ १०

बिजु सुवेदी विजय


 


© Nepali Font to Unicode

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा