कुर्सी बचाऊ अभियान

 कुर्सी बचाऊ अभियान

हाम्रो देशमा चुनावको चहलपहल व्याप्त छ , कसैलाई एक पल पनि फुर्सद छैन, चुनावमा खर्चको खोला बगाएको बगायै छ । सबैजना पार्टीका लागि दगुरादगुर गरिरहेका जताततै देखिन्छन् । कोरोनाको महामारीको कालमा, २०७२को भूकम्पमा सर्वसाधारण जनताले पराकाष्ठासम्मको कहर खपे । ऋणमा चुर्लुम्म डुबे । अहिलेसम्म त्यो ऋणबाट छुटकारा पाउन सकेका छैनन् । चुनाव प्रचार प्रसारमा आउने यी नेताहरुलाई उसको हेक्का नभएको देखिन्छ ।

वर्षेनी देश बाढी पहिरोको चपेटाले डुबानमा हुन्छ । थुप्रै नेपालीको घरवार विहीन भएर अकालमा ज्यान जान्छ । यस बारे कसैले पनि अहिलेसम्म नीति नियमसम्म ल्याउन सकिरहेको छैन । सडक, पुल बनाउने आयोजनाहरु अलिअलि बनाएजस्तो गरेर अधुरो छोडेर अझै पुरा गरिरहेका छैनन् । त्यसैलाई नेताहरुले मागीखाने भाँडो बनाइरहेका छन् ।

कृषिले देश सम्मुन्नत हुने कुरा गर्छन् सबैजना । लकडाउनमा कृषिमा ध्यान नदिएकाले दुःख पायौँ भनी सबैजना फलाक्छन् तर कृषि पेशालाई हेला गर्छन् । सबैजना कृषि बाहेकका अरु अरु काम गर्छन् । सबैजनाले उत्पादनमूलक काम नगरी व्यापार र जागिरमात्र गरेर पनि देश समुन्नत हुँदैन । यसका लागि जग्गा जमिन बाँझो राख्न नदिने एउटा छुट्टै विधेयक ल्याएर सर्वत्र कडाइका साथ लागू गर्न सक्नुपर्छ । अहिले जितेर आउने नेता महोदयले यस कुराको पनि जिम्मा लिनु जरुरी छ ।

जो नागरिक पनि विदेशको बखान गरी थुक निल्नमा व्यस्त छन् । सबैजना विदेशमा रोजगार गर्न तयारी गरेजस्ता मात्र देखिन्छन् । “नेपालमै केही गरौँ न त !” भनी बसेकाहरुलाई व्यङ्ग्य गरी हाँस्छन् । बहुलाएको संज्ञा दिने समाज छ । देशमा बस्ने बुढाबुढीमात्र होइन नि ? यस्तै पाराले देश झन् झन् भास्सिँदै जानेछ । विदेशमा त्यस्ता मान्छे लिन्छन् जसमा योग्यता बढी हुन्छ । जब योग्य नागरिक विदेशिएपछि देशलाई मार्गदर्शन गर्ने मान्छेको कमी हुने नै भयो । यही हाम्रो विडम्बना हो । यसबाट पार पाउन पनि एकजना राम्रो उम्मेदवारलाई आफ्नो ठाउँबाट चुन्नु आवश्यक छ । यस्तो संस्कारमा ठूलो परिवर्तन गरी देशप्रति जिम्मेवारी बनाउने नेताको हामी सबैलाई खाँचो छ ।

पार्टी र उम्मेदवारको प्रचारमा गाडीका गाडी बाइकका बाइकमा होहलात्मक रुपमा तडकभडकरुपमा प्रचार गरिनु, राष्ट्रिय दैनिक पत्रिकामा ठूला ठूला फोटोले प्रचार गरिनु, सामाजिक सञ्जालहरु फेसबुकआदिमा अत्यधिक मात्रामा शेयर गरी पैसा उडाएको देख्दा उनीहरुलाई पटक्कै लाज लाग्दैन भन्ने सावित हुन्छ । उनीहरुमा यस्ता कार्यप्रति अलिकति पनि हीन भावना नआउनु भनेको यो उनीहरुको नैतिक पतनको द्योतक हो । यो चुनावको बेपर्वाह खर्चलाई देख्दा के लाग्छ भने नेताहरुले त्यो कहर बेलाको कष्टबाट पार लाउन सक्थे तर झिनो प्रयास पनि गरेको देखिएन । उनीहरुको घोषणापत्रत्रहरु हेर्दा पुरै ढोँग हो भन्ने कुरा छर्लङ्गिन्छ । हामीले यस्तो मान्छे चुनौँ कि जसले आर्थिक अभावले आफुलाई प्रचार गर्न सकिरहेका छैनन् तर उसमा धेरै क्षमता छ । यस्ता मान्छेलाई प्रचारमा ल्याउन मिडियाका सबै साथीहरुलाई यहीँबाट आह्वान गर्दछु । मलाई लाग्छ पहिले नानी मैँया दाहाल, त्यसपछि माओवादी अनि त्यसपछि हर्क साङ्पाङ् अनि वालेनजस्तालाई चुन्ने जनताले अझ सशक्त रुपमा देशका लागि मरिमेट्ने उम्मेदवारलाई खडा गर्न सक्छन् ।

यति हास्यास्पद कुरा पनि प्रचार गरेको सुनियो कि सबै नै नराम्रै छन् र त्यसैले हामीले कम नराम्रालाई चुन्ने ! अनि पैसा बढी कमाएकालाई चुनेमा उनीहरु इमनदार हुन्छन् किनकि उनीहरुले पैसा खाँदैनन् ! कम्निस्टलाई भोट हाल्नु हुँदैन नत्र  फेरि कुनै देशले सहयोग गर्दैनन् !

अहिले यस्ता भ्रष्टाचारी नेताहरुलाई सबक सिकाउने दिन आएको छ , अवश्यै यो अहिलेको २०७९ मङ्सिर ४ को चुनाव हामी आम जनताका लागि अवसर हो । चुनाव एक लोकतान्त्रिक पद्धति हो । अहिलेसम्म त्यस्तो लक्षण नदेखिए पनि जनताले यदि राम्रालाई अनि इमनदारलाई चुन्न सकेमा देशले विकासको गतिलो गति लिनसक्छ ।

हाम्रो देशमा बेरोजगारको समस्या विकराल छ । हाम्रो विजोग यस्तो छ कि दिनमा १०–१५ जना काठको बाकसमा आउँछन् भने दैनिक १५–२० हजार वैदेशिक रोजगारीमा दास हुन जान्छन् । हामी पुरै विदेशमुखी भइरहेका छौँ । विदेशबाट कमाएर पठाएको पैसा र  रेमिट्यान्सको भरमा देश चलिरहेको छ । यसलाई तोड्न सक्ने उम्मेदवारको हामीलाई एकदमै खाँचो छ । अनि मात्र हामी विदेशमुखी हुँदैनौँ । त्यसैले हामीलाई यी कष्ट मेटाउन देशभक्त तथा जनभक्त व्यक्तिको खाँचो छ ।

आफ्नै देशमा जुनसुकै कुरा गर्दा पनि विदेशीको स्वीकृति लिनु परिरहेको छ । यसकारण हामीले आफ्नो देशका लागि केही गर्न सकिरहेका छैनौँ यद्यपि हाम्रा अमूल्य खानी भएका थुप्रै पहाडहरु उत्खनन गर्न बाँकी छन् । महङ्गी व्याप्त छ तर उत्पादकको हातमा त्यो पैसा पुग्दैन बरु विचौलियाले यसैबाट अकूत कमाउँछन् । विदेशबाट बैदेशिक सहायता विकासका लागि प्रचूर मात्रामा आएको समाचार सुन्न पाइन्छ तर हाम्रो देशमा पुग्दा त्यो माथिल्लोदेखि तल्लोतहसम्म भागवण्डामा मात्र गएर विकास रोकिएको प्रष्ट देखिन्छ । यसका लागि इमानदार उम्मेदवारलाई छान्नु आवश्यक छ ।

आज हामीले आफ्नै अन्नबाट, आफ्नै उत्पादनको, आफ्नै फ्याक्ट्रीको, आफ्नै मजदूरको श्रमबाट हर्लिक्सको कारखाना खोलेर विदेशी हर्लिक्स, बृटानीया, बाृनभिटा, सेरलेक्सलाई विस्थापित गर्न सक्नुपर्छ । अनि बल्ल हामी परनिर्भरताबाट बाहिर आउन सक्छौँ । विदेशी उत्पादन भन्यो कि नाक फुलाउने होइन कि नेपाली उत्पादन प्रोत्साहित गर्न जतिसुकै ठूलो चुनौतीको पनि सामना गर्न सक्नुपर्छ । यहाँ मैले यस्ता योग्य व्यक्तिहरु पनि भेटेँ कि उहाँहरुलाई विदेशमा पलायन हुनुभन्दा नेपालमा टिक्न अति नै कठिन भइरहेको छ । यदि तपाईलाई पनि त्यस अनुरुप पाउनुभयो भने तपाईंलाईं मेरो ठूलो अभिवादन छ कि तपाई वफादार देशभक्त हुनुभयो, सबै आम नेपाली जनताले दर्बिलो भई तपाईंप्रति गर्व गर्नेंछन् । हो ! तपाईं पनि यस्तै उम्मेदवार खोज्नुहोस् र नेपाल र नेपालीका हितका लागि प्रचार गर्नुहोस् ।

स्वतन्त्र आज राम्रा भए पनि पछि फेरि भ्रष्टाचारीको ग्याङमा नजाला भन्न सकिन्न । वागी उम्मेदवार भने पनि फेरि पुरानै भ्रष्टसँग नमिल्ला भन्न सकिँदैन त्यो उनीहरको कुत्सित चाल पनि हुनसक्छ ।  यसमा अहिले जनताले एकदमै गहिरिएर राम्रा मान्छे छान्नसक्नुपर्छ । अहिले हामी सबै जनतालाई पैसाका बलले उनीहरुले किन्न खोजिरहेका छन् । हुम्ला, जुम्ला जस्ता विकट हिमाली भेकमा विकास पुग्न सकेको छैन तर अहिले चुनावको लागि सबै नेताहरुको त्यहाँका पनि कुनाकाप्चामा समेत दौडधुप सुरु भइसकेको छ ।

हाम्रो देश ऋणमा चुर्लुम्म डुबेको छ तर देशमा उत्पादनमूलक, स्वदेशी उद्योगलाई टेवा पु¥याउने अनि देशको बेरोजगार समस्या समाधान गर्ने खालको काम कसैबाट भएको देखिँदैन । आजसम्म यसबारे यही चुनावको बेलाबाहेक अरु बेला कुनै नेताको पनि ध्यान गएको देखिँदैन । “मैले यो गरेँ ! मैले ऊ गरेँ ! मेरो पार्टीले यो गर्यो, ऊ गर्यो ।” भनेर फलाकेर फेहरिस्त देखाइरहेका छन् तर त्यो जनताको दैलोसम्म आएर राहतको रुप नलिएको कुरा कटु यथार्थ हो ।

देशमा ००७साल देखि संघीय लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनसम्म थुप्रै जनआन्दोलनहरु भए तर परिवर्तन जनताको दैलोसम्म अझै पुग्न सकिरहेको छैन । आज पनि आम जनता दिनहुँ काम गरेर आधापेट खाई गुजारा चलाइरहेका छन् । एक दिन काम गएन भने उनीहरुले दिनको एक छाक खान पनि नपाउने अवस्था छ । एउटा कुरा याद राखौँ कि गरिव दुःखीको जनाताको पक्षमा बोल्नु, लेख्नु राजनीति होइन बरु यस्ता कुरालाई साथ नदिन अनेकौँ तिकडम गर्नु भनेको जस्तो निकृष्ट राजनीति सिवाय अरु कुनै हुँदैन । यस्ता गतिहीन नेतागिरीलाई परास्त गर्न एउटा योग्य उम्मेदवार हामीले छान्ने यो आम चुनाव एउटा अवसरका रुपमा आएको छ ।

चाहे माफी मागोस कि, चाहे अब हामी चेतियौँ भनोस कि, चाहे कर्मचारीको पुरानो सञ्जालले गर्नै दिएनन् भनोस् कि, चाहे विपक्षीले साथ दिएनन् भनोस् कि, चाहे कागजी प्रकृया सुरु गरेकाले अब कार्यान्वयन हुन्छ भनोस् कि अब जनताले पत्याउनेवाला छैनन् । नेताज्युहरु ! हो यी कुरा तपाईंले उहिल्यै भनेर सत्ता छोडी आउनुपर्थ्याे । देशमा आमूल परिवर्तन गर्न अब बौद्धिक जगतले पुरै निश्पक्ष भएर राम्रा उम्मेदवार यी हुन् भनेर हरेक नागरिकलाई सम्झाउने बुझाउने बेला आएको छ ।

अहिले हामीले यस्ता दुष्ट नेतालाई दनक दिने बेला आएको छ । उनीहरुले हामीलाई यस्ता जाली, फटाहा पाराले मुख देखाउन आएको बेला उनीहरुको हालत कालो मोसो दलिएको बेला झैँ गतिहीन अनि हीनतावोध गराइदिन यो चुनावले हाम्रा अगाडि यिनीहरुलाई हाम्रा अगाडि छर्लङ्गसँग अगाडि ल्याइदिएको छ । नचुकौँ ! उनीहरुलाई गतिलो मुक्का हानौँ ।

यो चुनावको लहर कुर्सी बचाऊ अभियानजस्तो प्रष्टै देखिन्छ । यही भएर जनताका कुरा अलिअलि सुन्ने भएका छन् । पछि कुर्सीमा पुगेपछि जति धाउँदा पनि सुन्दैनन्  । त्यो कुकुरको पुछर झैँ नै हो । हाम्रा लागि यो अवसर हो । नीजि स्वार्थीहरुलाई चुन्नु भएन । 

राम्रा त्यस्ता मान्छे चुन्नुपर्यो जो असलले इमानदार छन् । हाम्रा त्यस्तालाई चुन्नुपर्यो जसमा पुरै नेपाली अनि हाम्रो देश भन्ने हाम्रो भन्ने भाव होस् ।

२०७९ कात्तिक २५ गते शुक्रवार
विजु सुवेदी विजय
bijusubedi@gmail.com


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा