सनैया पढिसकेपछि भन्न मनलागेका कुराहरू

 

सनैया  पढिसकेपछि भन्न मनलागेका कुराहरू

— बिजु सुवेदी विजय


चैत्र २०७७ मा प्रकाशित पहिलो संस्करणको “सनैया : मरुभूमिमा जीवन खोज्नेहरूलाई पछ्याउँदै” पुस्तक मेरो हातमा छ । यस पुस्तकका लेखक हुन् दुई दशकदेखि पत्रकारितामा संलग्न होम कार्की । उहाँले कान्तिपुर पब्लिकेशन्स् लि.को कतार विभाग सम्हालेका थिए । यस पुस्तकलाई किताब पब्लिकेशन प्रा.लि. काठमाडौँले प्रकाशन गरेको छ । यो पुस्तक सौगात प्रिन्टर्स प्रा.लि. ललितपुरको प्रेसले छपाइ गरेको हो । सनैयाको आकर्षक कभर फोटो डिजाइन सचिन यगोल श्रेष्ठले गरेका छन् । ३८० पृष्ठको यस पुस्तकको मूल्य रु. ५४०/– उल्लेख छ । यो सनैयासम्बन्धी भूमिकापरक लेखमा मैले लेखक होम कार्कीजी र सनैयाको लेखाजोखा गरेको छु । साथै पाठकले उच्च मुल्याङ्कन गरिदिनुहुने नै छ भन्ने आशा एवम् विश्वास लिएको छु ।


यो सनैया ५०डिग्रीको रापिलो ठाउँ अनि समुन्द्री बाफको चर्को तापको ठाउँको कथा हो । काम गर्ने कामदारलाई ओसार्ने गाडीका चालकमार्फत पत्रिकाहरू कतारका आप्रवासी कामदारहरूकहाँ पुग्थ्यो । लेखक होम कार्की इमानदार भएकाले गर्दा पछि उनीसँग नेपालका आफन्तलाई तलब, औषधिलगायत अपर्झट आइपर्ने अत्यावश्यक कुराहरू पु¥याउने विश्वासिलो जिम्मेवारी पनि पाए । त्यहाँका कथाव्यथाको अन्तरकुन्तरसम्मका भावनाहरू केलाएर लेखिसकेपछि शान्ति पाए , छटपटी शान्त पारे तर त्यही लेखका थुप्रोबाट एउटा समग्र कथा सनैयाको जन्म भएको रहेछ । यस्ता दैनिक संकलनबाहेक पनि उनले यी र यस्ता ५४० भुक्तभोगीहरूका अन्तर्वार्ता लिइसकेका थिए । यस शोधबाट खारिएर आएको विचारबाटै सनैयाको जन्म भएको मान्न सकिन्छ । यी कुरा उनले यस पुस्तकमा लेखेको भूमिका र अन्त्यको टिप्पणीमा उल्लेख गरेका छन् साथै ती जीवन्त भुक्तभोगी पात्रहरूका तस्विरहरू पनि सम्पुर्ण सनैयाको आख्यानपछि उनले यस पुस्तकमा उल्लेख गरेका छन् ।


श्रमिकको कमाइले थोपा थोपा पारेर कमाएको पैसा धारामा पानी खोलेजस्तो स्वदेशका परिवारमा खर्च हुने पीडा उनी पोख्छन् । कतारको सुरुदेखिको नेपाली श्रमिकको इतिहासबाट सुरु भएको छ , यो सनैया कथा । कतार जुन ३ दशकभित्र कहाँबाट कहाँ चुलिए, खण्डहर चम्किला महानगर बने । उनले यसलाई यस पुस्तकमा विस्तृत रूपमा उल्लेख गरेका छन् ।


उनले यो पुस्तकबाट सुदूर पश्चिमका राजेन्द्रले दुुःखका अनेकौँ घुम्ती मोडहरू पार गरेका कुराहरू संलग्न गरी यो सत्यतथ्यमूलक आख्यान सुरु गरेका छन् । राजेन्द्र काठमाडौँ आउनुभन्दा भारतमा गएर काम गर्न सहज मान्छन्, नजिक ठान्छन् । सुदूरपश्चिमका युवाहरू जति सबै त्यहीँ गएर काम गर्न विवस छन् । त्यहाँ कठिन काम गर्नुपर्ने भएकाले उनीहरू “काला पहाड” जाने भन्दै आएका छन् नत्र त जीवन धान्न नसकिने रहेछ । धेरै पैसा जम्मा गर्न अति नै गाह्रो । पैसा चोरी हुने डर । नाकामा पुलिसले खोस्ने डर । आफैले बोके मात्र सुरक्षित हुने तर त्यो पनि सुत्ने ठाउँमा चोरी हुने डर । यति जोखिममा पनि पाइपाइ गरेर त्यो पैसाले हजार ठक्कर र टकराउका बीच कतार जानका लागि पैसा जम्मा गरे । यस्तोमा दुई पटक काठमाडौँको महङ्गो लजमा बसेर दलालको हजारौँ ढाँटका बीच, टकराउ गरेर आखिर ऊ कतार जाने पक्का हुन्छ ।


भिसा लगाउने, कतारमा श्रम दिलाउने कम्पनीले श्रमिकका भाडा, टिकट व्यहोर्ने भए पनि दलाल अनि म्यान पावरले यीबापत बेग्लै पैसा लिनेले गर्दा पनि प्रशासन मौन भएको अनि सम्झौता एउटा हुने र कामदारलाई म्यान पावरले सजिलो काम भनी धेरै पैसा असुलेर “जे परे हामी व्यहोर्छौँ ।” भनी पठाउँदा रहेछन् तर “भन्नचाहिँ कतै नभन्नूस्, आफैँ फस्लाऊ ।” भनी फसाउँदा रहेछन् । कामदारहरू ऋण गरी गइसकेका हुन्छन् । उताको कागज अनुसारको कठिन काम गर्न बाध्य हुन्छन् । फेरि सेवा शुल्क भनी पठाउन चाहिने पैसाबाहेक पनि रकम असुल्दा रहेछन् । अनेकौँ उतारचढावका पीडा झेलाइसकेपछि मेनपावर कम्पनीकाहरूले कामदारहरूलाई आफ्ना कम्पनीतर्फ लैजान्छन् अनि एकैचोटि उताको कम्पनीको क्याम्पमा पुग्छन् । ऊ गएको ठाउँमा ३०० कामदारको लिस्ट थियो । यसरी यति सङ्ख्यामा कतारसँग सम्झौता गरेको भएता पनि “त्यो सम्झौता नेपालको एयरपोर्टसम्मका लागि मात्र हो । यहाँ कतारी नियमले जे भन्छ त्यही हुन्छ ।” उनीहरूको रटान त्यही भइरहन्छ । बास्तबमा नेपालमा अनेकौँ रस्साकस्सीका बीच कामदार र कम्पनीका बीच जति पनि करार सम्झौता हुन्छन्, ती फर्जी हुँदारहेछन् । वास्तबिक सम्झौता त उतै कतारमै अर्कै किसिमले हुँदारहेछन् । एकपटकमा दुई वर्षको करार हुँदारहेछन् । त्यहाँ करार भएको कम्पनीबाहेक कतै जान नपाइने रहेछ । यताबाट हुने जति पनि करारहरू, ती सब नाटक रहेछन् । अनेकौँ ल्याव, फिजिकल आदि परीक्षणपछि पास भएमा मात्र वास्तविक करार हुने रहेछ र त्यसको सक्कल र फोटोकपी पनि नदिने रहेछ । उनीहरूलाई यदि मन लागेन भने एउटा सानो कोठी देख्दा पनि रोगी मान्छे साबित गरी स्वदेशै फर्काइदिँदा रहेछन् ।



कतारको एक कामदारको व्यथा छ यहाँ । उनी काम सुरु भएपछि एउटा थोत्रो घरमा बसे । त्यहाँ कतार एडभान्स भएपछि ठूला महल अनि मलहरूमा कतारीहरू सरे र उनीहरूका थोत्रा घर छोडे । त्यहीँको एउटा थोत्रो घरमा ९ जनाजति यहाँबाट गएका कामदारहरू किचेन साझा, ट्वाइलेट साझा गरी बसे तर त्यहाँ उनीहरू बस्ने ठाउँमा १५ दिनपछि पनि कतारी मालिक काफिर बेपत्ता भएपछि उनीहरू भोकै परे । गोरुभन्दा कष्ट, गोठभन्दा पनि सडेका ठाउँमा दिन विताउन बाध्य हुँदा पनि भोको भएर बस्नुपर्यो । साउदी सरकारभन्दा मालिक भनाउँदाको नै पावर चल्ने भएकोले उसलाई केही गर्न नसकिने भयो । नेपाली दुतावासमा सम्पर्क गरेपछि अत्यन्तै न्यून राशनको व्यवस्था भयो तर फर्कनलाई त्यहाँ ६ महिना बसिसकेपछि मात्र फर्कन पाउने नियम थियो । अनेकौँ कष्ट र अत्यन्तै न्यून खाना कहिल्यै त तात्तिएको पानी मात्रै खाएर ६ महिना हन्डर खाएर विताएपछि , अनेकौँ कष्टका बीच नेपालका आफन्तहरूसँग तारन्तार हारगुहार गरेपछि मात्र सरसापटबाट टिकट बन्ने भयो र त्यहाँबाट उसले नेपाल आउन पाउने भयो ।


अर्का कामदार जियाउल प्लम्बिङ गर्दागर्दै माथिल्लोतल्लाबाट झरेर प्राण त्याग्नुपर्यो । “सेफ्टी इज फस्ट ।” भनेर त्यहाँ कसैलाई पनि त्यस्तो विभत्स फोटो खिच्न निषेध छ । जुन कम्पनीका लागि इज्जतको सवाल हुन्छ । कसैले यस्तो निषेध बेगर गरेमा कामबाट निक्लिनुपर्ने हुन्छ । यस्तोमा “मलाई काम चाहिएको छ , तँ मरोस् यसको मतलब छैन ।” भनी सुपरभाइजर थर्काउन आउँछ । “यहाँ कि ढले वा बेहोस भएपछि आराम गर्न पाइन्छ या खाना खाने समयमा मात्र ।” कामदारहरू पीडा पोख्छन् । दिनहुँ काम गर्न नसकेकाहरू र काठका बाकसहरूमा फर्किरहेका भए पनि अझ त्योभन्दा बढी काम गर्ने र कम तलबमा काम गर्ने भनी अरू कामदारहरू आइरहन्छन् । “मुख्यतः अलिकति भए पनि विश्वको गरीबी समाधान गर्ने गरेको ।” भनी उनीहरूले फलाके पनि कामदारहरूको पराकाष्ठासम्मको कष्ट सहने क्रम बढ्दो ग्राफमा छ । गर्मी यस्तो हुन्थ्यो कि चिसो पानी कतै पाइँदैन । तात्तिएको पानी खाने वित्तिकै उत्निखेरै शरीरका छिद्रबाट निस्किन्छ । त्यतिले शरीरलाई केही राहत हुन्छ । थाकेर तातो भुइँमा ढल्दा पनि आरामै हुन्थ्यो भने फेरि उठ्ने बित्तिकै नौ नाडी गल्ने काम सुरु गरिहाल्नु पर्थ्यो । फेरि आराम गरेकोे पत्ता लागेपछि १ दिनको मेहनाताना पनि गुम्थ्यो । यस्ता काम पनि नेपालीहरू बढी विश्वासिला हुने भन्ने साख भएकाले भारतीय, बङ्गाली, पाकीस्तानी, फिलिपिनोभन्दा बढी नेपाली कार्यरत हुने अवसर पाएका छन् ।


लेखकहरूको पीडा झन् बेग्लै छ । जस्तै कहर खपेर पनि अरूको समस्या उजागर गर्नेहरूको पनि आज यस्तै कुराहरू लेखेर पुस्तक निकाल्न पनि पैसा खर्च गरेर आफ्नो नाममा छपाउने होडबाजी चल्छ । विचराहरू ! उत्कर्ष सम्मका पीडा कसैले नसुनिदिएपछि जसरी भएपनि पुस्तकमा नपोख्ने त कुरै भएन । यसका लागि उसले आफैँ खर्च गरेर प्रकाशन गर्छ । नियमानुसार लेखकले रोयल्टी पाउनुपर्ने हो र कतिपय लेखकले छापिइँदा मात्र पनि चित्त बुझाउँछन् । अरू केही लिँदैनन् । मैले थाहा पाए अनुसारको खाडीका डायस्पोरिक लेखक अनि साहित्यकारको पीडा हो यो । यस्तै श्रमिकभन्दा कम ज्याला अनि बढी समय श्रम गर्न तम्सने नागरिकको यस्तो होडबाजी जबसम्म चलिरहन्छ तब श्रमिकले आजभन्दा भोलि कष्ट एवम् कहर सहँदै जानुपरिरहेको छ । यसले गर्दा श्रमिकले दुर्दान्त भएर अधकल्चो जीवन घिटीघिटीरूपमा धानिरहनुपरेको छ । यसका लागि श्रमिकलाई पनि उचित शिक्षा अनि श्रमिक संगठनले यस्ता समस्या आउन नदिन अनि मेहनत अनुसारको पारिश्रमिकका लागि सबैले आआफ्ना ठाउँबाट उचित आवाज उठाई उचित पारिश्रमिक दिलाउन पहल गर्नु अत्यावश्यक छ ।


मेसमा खाना बिहान जाँदा बेलुकीका लागि प्रायःले टिफिन बक्समा भरी ल्याउँथे । जबकि खानालाई छोपेको १ घण्टामै हपहपी हुनाका कारण गनाउँछ । पानी धेरै बगेपछि लवणको कमीले शरीरमा ऊर्जा नआउने भएकाले पानी नपाए पनि (किनकि तेलभन्दा त पानी धेरै महङ्गो छ त्यहाँ ।) नुनको ढिक्का खाली नगरी बोकिराख्नु पर्थ्यो  र नुन चाटेपछि मात्र शरीरलाई ऊर्जा आउँथ्यो । पानी पनि यति तातो हुन्थ्यो कि पोलेर छाला खुइलिएला झैँ हुन्थ्यो ।


प्रायः खाडीमा काम गर्नेहरू विहानैदेखि ५०डिग्रीबाट काम गरी आउँछन् र आफ्नो कोठामा एसीलाई फुल कुल राखी सुत्छन् र थुप्रै कामदार यसरी तापक्रमको ठूलो उतार चढावका बीच शरीरले सन्तुलन गर्न नसक्दा मर्छन् । कोही कोही त धेरै थाकेर “उत्पात गर्मी भो आराम गर्छु ।” भनी ढल्दा नै मर्छन् । त्यस्ता मृत्यु धेरै नजिकबाट देखेपछि धेरैलाई “अब हामी पनि कहिले मर्ने हो टुङ्गो नहुने ।” भनी चिन्तित हुन्छन् र “म मरेँ भने यसो गर्नू, उसो गर्नू ।” भनी साथीभाइहरूलाई भन्दारहेछन् । कोही भने नमरे पनि कोमामा जाँदारहेछन् । त्यहाँ २०० जना त कोमामै उपचाररत छन् । यस्ता नेपालीहरू १२–१५ जना छन् । कोमामा परेको समाचार पठाउँदा मन नमानेर जीवनसाथीहरूले हेर्न आउँदा उनीहरूलाई पनि “अन्य पनि यस्ता बिरामीहरू थुप्रै छन् ।” भन्दै देखाउने बाहेक अरू कुनै उपाय थिएन । कोमामा लागेकाहरू अलि विसेक भएकाहरूमा पलक झपकाउने र अति ठूला घटनाहरू स्मरण गराउँदा आँसु चुहाउनेहरू थिए । यस्ता कोमामा लागेकाहरूलाई दुतावासले उपचार गराउँदा रहेछन् । कतारी कम्पनीले नेपाल सरकारलाई “यस्ता कोमामा रहेकाका लागि उपचार गर्न नसक्ने ।” भनी जिम्मामा लिन आउन सम्बन्धित परिवारजनलाई अन्तिम चेतावनी दिँदा पनि हाम्रा सम्बन्धित नेपाली निकायहरू निरीह भइरहे । नेपाल सरकार यसरी गैरजिम्मेबार बनिदिँदा कतारस्थित नेपाली दुतावास काम नलाग्ने साबित भयो । दोष सबै दुतावासलाई लाग्यो । हाम्रो देशको हविगत यस्तो छ कि यस्तोमा कसैको सहयोग नपाउँदा परिवारका सदस्य आफैले स्वदेश लग्दा कोही बीचैमा मरे भने कोही उपचारमा आवश्यक सेवाशुश्रूषा गर्न नसकेर मरे । जसको पनि आर्थिक अवस्था राम्रो नभएर काम गर्न जाने र परिवारलाई आर्थिक टेवा दिने व्यक्ति नै यसरी कोमामा पुगेपछि उसलाई कसले हेरचाह गर्न सक्षम हुन्छ र ? जुन बिचल्ली परिवारको ऋण अनि त्यसमाथि घरपरिवार चलाउने व्यक्ति विल्लिबाँठमा परेपछि अझ रनाहामा पर्ने नै भयो ।


कोमाका यस्ता विरामीका थुप्रै कटु यथार्थ व्यथाहरू यस सनैयामा सङ्ग्रहित छन् । यस्ता कोमाकाहरूलाई नेपालमा ल्याउने पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा अनि केपी वलीजस्ता तीनैजना प्रधानमन्त्रीहरूले आआफ्ना पालामा उहाँहरूका अनुसार व्यवस्थितरूपमा ती  संवेदनशील घटना समाधानतर्फ पार्टी तथा नेपाल सरकारका नीति तथा कार्यक्रमका एजेण्डामा सामेल गरे तर भुक्तभोगीहरूका समस्या ज्युँका त्युँ भइरहे । 


कतारी कम्पनीले ४ महिनाको तलब लिन बाँकी भए अर्जेन्ट हुँदा मात्र लिन पाउँथे त्यो पनि दुई महिनाको । यस्तोमा काम नगरी पैसा नउठाई फर्किए , त्यो रकम कम्पनीले नै खाइदिन्थ्यो ।


कतारी सरकारले श्रमको ज्यालाको विवादमा मेहनाताना उचित नपाएकाहरूका निःशुल्क न्याय दिलाउने करार गरेका भए पनि कामदारहरू आफै मुद्दा लडिरहका थिए । मुद्दा लड्नेलाई ऊसँग बोलेमा मात्रै पनि कामबाट निकालिदेला कि भनेर अन्य कामदारहरूले छुट्टै आफ्नो कोठामा राख्छन् अनि घरकाहरूले पनि “विदेशीको सरकारसँग मुख नलाग्नू । पैसा पनि पठाएको होइन ।” भनी झन् पेलीरहे । त्यसरी “आफ्ना साथी बचाउने” भनी उसको घरपरिवारमा मेसेज पठाएर “मुद्दा नलड्न” परिवारलाई दबाव दिन लगाउने पनि ऊसँगै काम गर्ने कामदारहरू नै हुन्थे । त्यसो भए पनि ऊ एउटाको मुद्दा जितेमा पेन्डिङमा ऊजस्ता श्रममा ज्याला नपाएकाहरूले पनि मेहनाताना पाउँछन् किनकि “उसले न्याय पाएपछि त्यो फैसला नजिर बन्छ ।” भनी कामदारहरू अप्रत्यक्षरूपमा उसकै मुख ताकिरहेका हुन्थे चाहे उनीहरूले उसलाई प्रत्यक्षरूपमा सहयोग नगरेकै किन होस् । त्यो नजिर बन्ला भनी ऊजस्ता मुद्दा लड्नेहरूलाई त्यहाँका पुलिस प्रशासनले “अरू आश नगर् ।” भनी सित्तैमा घर पठाइदिन्थे । यस्तो प्रलोभनले आधी जति कामदार मुद्दा नलडी स्वदेश फिरे । फेरि बाँकी मुद्दा लड्नेहरू पनि काम गरेर बचेको बाँकी पैसा स्टक नभएर मुद्दा लड्न नै छोडे । अब त्यहाँ थोरै मात्र मुद्दा लड्नेहरू बचे । त्यसमा बचेकाहरूलाई पनि कसैलाई थोरै पैसा दिएर बिदावारि गरे । नेत्रबहादुर त्यस्ता थिए जसले कम्पनीमा काम गर्न आउँदादेखि घरमा पैसै पठाएका थिएनन् । उनले १ वर्ष लागेता पनि जति खर्च भएता पनि मुद्दा जितेरै आफ्नो गुमेको उपदान, भत्ता आदि सबै पुरै पारिश्रमिक लिएरै छाड्ने दृढता गरिरहेका थिए । उनले प्रत्येक चोटिको तारिखमा नथाकिकन आफुले पाउनुपर्ने पारिश्रमिकको पुरै खाता बनाई पेस गर्यागर्यै गर्थे । यसमा कतारका मानवअधिकार आयोगले पनि “सम्बन्धित निकायमा अनुरोध गर्ने मात्रै हो ।” भनी पन्छिए । आखिर एकएक महिना अवधिपछिका फेरि ६–७ वटा तारिखपछि उनले मुद्दा जिती छाडे । उनको यो काम एकदम सह्राहनीय सावित भयो । न्यायका लागि सबैकोभन्दा एक कदम अघि थियो । उनले मुद्दा जितेपछि आफ्नो गुमेको पारिश्रमिक रु ४ लाख ७० हजार प्राप्त गरे अनि स्वदेश फिरे । साथै यस्तै अरू ११६ जनाले पनि न्याय पाए तर उनलाई कतारको कहरका कारण लागेको सुगर रोगले भने अहिले पनि पिछा छोडेको छैन । 


खाडीको कामदारको यस्तो भित्रि तहसम्मको अन्तकुन्तरका व्यथा यिनले जुन केलायर सनैयामार्फत ल्याए , यो एकदम सह्राहनीय कार्य हो । यस्तो श्रमिकको पीडाले मनमुटु चिरिदिन्छ , विक्षिप्त पारिदिन्छ । अत्यन्त मार्मिक यी कथाहरूले सायद लेखकले पत्रिकामा आर्टिकल मात्र लेखेर सुसूचीत गरेर मात्र सम्बन्धित निकाय घच्घच्याउन गाह्रो भएको महसुस भएर नै “सनैयामार्फत यो श्रमिकका लागि बुलन्द आवाज निकालेको ।” जति बखान गरे पनि कम हुन्छ । मलाई लाग्यो यो समग्र खाडीका मजदुरहरूको व्यथाको शोध हो । गहीरो अनुसन्धान हो । भित्री मन उद्वेलित पार्ने अति नै खोजमूलक किसिमले सिर्जना गरिएको सत्यतथ्यमूलक यो पुस्तकले समाधान गराउन खोजेको कामदारहरूको मर्काहरू सम्बन्धित निकायले यथाशीघ्र मनन गरोस्, बोलोस् र समाधान गरोस् । यो समाधानले समग्र वैदेशिक, विशेष गरी खाडी जाने मजदुरका लागि नजिर बनी समाधानको उज्यालो बाटो पहिलिउन् ।


गनिरामको तालु घामले पोल्थ्यो भने पैताला बालुवाले । खान नपाउँदा उँटको दाना र उँटले खाएको भाँडोको पानी मात्र पाउँथ्यो । मरुभूमिमा जोडले हावा चल्दा बालुवाको पहाड बन्थ्यो । कतारमा एउटा काम लगाउँछु भन्ने तर साउदीमा उँट गोठालो काममा लगाउनु । सात वर्षसम्मको पैसा नदिनु । मोबाइल पनि खोसेर नदिनु । सानो गल्तीमा नीलडाम पर्ने गरी कोर्रा बर्साउनु । गनिरामको कहिल्यै मतलब नगर्नु, उँटको जहिल्यै ख्याल गर्नु । एक पटक फुत्कन खोज्दा उसलाई मद्दत गर्ने पाकिस्तानी नागरिक र उसलाई साहुले कडा सजायँ दिनु । उसकै दासजस्तो गर्नु । कसो कसो फुत्किएर दासताबाट मुक्त हुन नेपाली दुतावासमा शरण लिँदा पनि त्यही कतारी साहुले “भाग्छस् !” भनी घोक्राएर पिट्न आउनु । ७ वर्षको तलब बाँकी लिन हार गुहार गर्दा पनि बल्ल मुद्दा चलाएपछि दुतावासले अनुरोध गरेपछि अझ “मुद्दा लडेपछि बाँकी सबै रकम पाउने ।” भनिए पनि झन्झटबाट वाक्क भएर, ३ वर्षको मात्र तलब लिएर उनी नेपाल फर्किए ।


श्रमिकहरूमा राजेश हमालको “सिमाना” फिलिममा शोषकसँग लिएको बदलाका बारे कुरा हुन्थ्यो । काम गर्ने ठाउँबाट सहर जान बन्देज थियो । त्यही नयाँ वर्षको कार्यक्रममा आएका नायक राजेश हमाल त्यहीँ टुप्लुक्क आइपुगे । उनले “मरुभूमिमा कसरी कृषि गरिन्छ ?” भनी जिज्ञासाका साथ उनीहरूसँग सोधखोज गरे । सबै जनाले घर फर्कन भनी राखेका नयाँ लुगाहरू लगाए अनि राजेश हमालसँग अत्यन्तै ऊर्जाशील हुँदै फोटाहरू खिचे । फेरि गर्मी चढ्दै गएपछि राजेश हमाललाई पनि उनीहरूले उनी आएका जिपमा बिदा गरे । उनी यस्तै श्रमिकहरूलाई ऊर्जा दिन आएका थिए । यो प्रसङ्ग कहरका कथाहरूबीच रोचक अनि उर्जाशील छ । यसले कामदारमा केही समय भए पनि रौनक ल्याएको थियो साथै यस कुराले पाठकलाई मार्मिकताबाट पन्छाउँछ ।


धेरैजसो कामदारले साहुलाई रिझाउन ज्याला चाहियो भन्नै सक्दैनथे । जब आफ्ना घरमा कसैको मृत्यु हुन्छ वा अति विपद पर्दछ अनि मात्र भन्थे तर धेरै समयको अदालती प्रकृयापछि मात्र आधी जति पैसा मात्र प्रायःले पाउँथे ।


हामीले कतारमा १० वर्ष कमाउने पैसा यिनीहरूले एकै दिनमा सकाउँदा रहेछन् । त्यस्ता नारी पात्र मालिक मरियमले एक कामदारलाई सुरु सुरुमा गाडीमा लगेर राम्राराम्रा लुगाहरू किनिदिइन् । त्यसपछि मरियमले पछ्याएर पागलसरि बिहे गर्न खोज्दा उनी आतङ्कित भई पन्छिन कोसिस गरिरहे । इमर्जेन्सी भएको बहाना बनाएर उक्त श्रमिक आफ्नो घर स्याङ्जा फर्कने निधो गरे । उनलाई झुक्याएर फर्केपछि पनि तारन्तार फोन आउन छोडेन । कतारका साथीहरूले अनि घरकाहरूले पनि बिहे नगर्न सुझाए । मरियमले सबै सम्पत्ति बेचेर पेरिसमा गएर दुईजना मात्रै बस्नेसम्म दबाबयुक्त प्रस्ताब गरिन् । आमाले मोबाइल फुटाइदिइन् भने बहिनीले सिम लुकाइदिइन् । बल्ल उनले लामो सास फेर्न पाए ।


श्रमिकका व्यथाबाहेक पनि मनोरञ्जक कुराहरू पनि छन् । जस्तो कतारीले भाग लिएको फाइनल खेल त्यहाँ उत्सवका रूपमा लिन्थे । त्यसमा लागि कतारीहरूले मात्र स्टेडियम भरिँदैन्थ्यो । त्यसका लागि आप्रवासी कामदारहरूलाई निःशुल्क टिकट र खानाको व्यवस्था हुन्थ्यो । नेपाली फुटबलका क्रेजी र अनुशासित अनि इमानदार हुन्छन् भनी उनीहरूलाई थाहा थियो । नेपालीको साख भनेकै त्यही थियो । ६ हजारभन्दा बढी त्यहाँका नेपालीहरूले आफ्ना लोकभाकाहरूमा मादलुको तालमा नाचेर सहभागिता जनाए । यो नेपालीका लागि कम गौरवान्वित पार्ने कुरो थिएन ।


श्रमिकले न्याय नपाएको कथाबाहेक पनि उच्च सफलता पाएको कथा पनि छ तर त्यो ज्यादै न्यून छ । उदाहरणका लागि सञ्जिवले हजारभन्दा बढी कामदारहरूको एक्सेलमा डाटा राख्ने काम पाए । सुरुमा ४० जनाको इन्ट्री गलत भयो । त्यो पहिलेको कामदारकोभन्दा धेरै राम्रो स्कोर थियो । बिहान ६ देखि राति २ सम्म काम गरी ४ घण्टा मात्र सुत्न पाउँथ्यो । त्यसपछि तलबशिट बनाउने र चेक बनाउने पनि जिम्मा पाए । समयसमयमा सबै श्रमिकका रिपोर्टहरू पनि बुझाउँदै गए । माथिका पोष्टकाले ओराकल सफ्टवेयर चलाएको देखेर मौका पाएपछि त्यसको तुल हेर्दै उनले कापीमा सार्दै कण्ठ पार्न थाले । नभन्दै हाकिमले उक्त स्टाफको अनुपस्थितिमा ओराकलको परीक्षा लिए । उनी पास पनि भए । अब उनले महिनाको २००० कमाउने भए । एकाउन्ट सफ्टवेयर चलाउने अरू स्टाफलाई हाकिमले सिकाउँदा उसले मौकामा टिपेर राख्थे फेरि त्यहाँ पनि एकाउन्टेन्टको अनुपस्थितिमा असिस्टेन्ट एकाउन्टेन्टको २२०० को काम पाए । यसरी माथिल्लो काम प्रतिको दृढ इच्छाशक्ति र लगन, मेहनत अनि इमानदारीले एकाउन्ट इन्चार्जको ८००० रियालसम्मको काम पाए । साथै परिवारसित बस्ने र अरू ३ गुना बोनस पनि पाए । अङ्ग्रेजी पनि अरू जति हाँसे पनि जति गल्ती भए पनि बोल्न छोडेनन् । अङ्ग्रेजी भिडियोहरू हेरेर थप सिक्दै गए । अङ्ग्रेजीमा पनि पोख्त भए । वेसिक तलब लगभग ५ लाख नेपाली भयो । ऊ त्यस्तो ठाउँमा पुग्यो जहाँ एक गल्तीमा कामबाट निक्लिनुपर्ने हुन्थ्यो तर उनले गल्ती गर्दै गरेनन् । उनको खिरिलो पलाउ जीवनमा बहार आयो । ‘प्रविधिप्रति अपडेट भइरहने र लगन र मेहनत छ भने जस्तो ठाउँमा पनि उच्च सफलता हासिल गर्न सकिन्छ अनि राम्रो दखल हुन्छ ।’ भन्ने सञ्जिव सबैका लागि नमूना साबित भए ।


घरेलु कामदारमा गएकी सिन्धुपाल्चोककी कानीलाई मालिकका छोराले धकेलेर हातखुट्टा भाँचिकन अस्पतालबाट फेरि त्यहीँ काममा जानुपर्ने भयो । उनलाई सो कामबाट फर्काउन उनै मालिकको स्वीकृति बेगर त्यहाँ कुनै पनि शक्तिले केही गर्न नसक्ने भयो । उनले यो थाहा पाएर आत्महत्या गरिन् । यसले घरेलु कामदारप्रतिको कतारी नियममा फेरबदल हुनुपर्ने नेपाली अनि कतारी नियम परिवर्तन भयो । ती महिलाले मानसिक, शारीरिक, भौतीक, यौनिक यातना भोग्नुपरेको थियो । उफ् ! त्यो उनीहरूले सामान्य रूपमा लिन्थे । धेरैजसो अवैधरूपमा गएकाहरू कागज बलियो नभएर यातना भोगेरै अति कष्टमा फस्न पुगेका थिए ।


दासप्रथा नहटेको आभास भयो । जति पनि नेपालबाट एजेन्टले भनेर पठाउँछन्, त्योभन्दा कैयौँ गुना गाह्रो काम पर्थ्यो  तर ऋणले गर्दा त्यही काम गर्न बाध्य हुन्थे । त्यहाँको एजेन्ट जहाँ सुरुमा घरेलु कामदारहरू राख्दथे, त्यहाँ सिधै नेपाली कामदारहरूको मोलमोलाइ गर्न आउँदा रहेछन् ।


“८ वर्षदेखि नेपाली भाषा बोल्न र सुन्न पाइएन । मान्छेलाई मार्नु पर्दो रहेनछ । उसलाई उसको भाषा र संस्कृति समाप्त पारिदिए पुग्दोरहेछ ।” “यो कष्टबाट पार पाउन भुर्र उडेर जान शरीर चरी थिएन ।” यस्ता घरेलु कामदारका चरम मार्मिक अत्यन्त कष्टकर आवाजले हरेक ठाउँमा निकै भावविह्वल बनाउँछ । कतिले त फेरि नेपाली सिक्नुपर्ने भयो । नीलडामै नीलडाम बोकी नबस्ने कोही थिएनन् । बोली पिच्छे कुटाइ अनि कुकुर्नी !, डङ्किनी ! मात्र भनी बोलाउने ! अनि पढाइ नगरेका कारण त्यहाँका नियम अनि मानवअधिकारबारे थाहा नपाएर “यस्तै त  होला नि ?” भनी प्रायःले कहरमै जिन्दगी नर्क बनाइरहेका छन् । त्यसैले पढाइ नगरी गएमा तलबै लिन सक्दैनन् ।


कम्पनी छोडी काम गर्न नसकी जाँदा कति जेलमा पर्दा रहेछन् भने कतिलाई “जेलमा राख्न मिल्दैन ।” भनी त्यही साहुले घोक्र्याएर लैजान्थे, जरीवाना पनि गर्थे । धादिङका रमेशले आफैलाई जेलमा पक्राउ गरी लान २५०० रियाल घुस दिए । “जेल गएपछि घर फिर्न पाइन्छ कि !” भन्ने आश थियो उनको । यस्तोका लागि कसैले २०००, कसैले २५०० कसैले ३००० रियाल गुमाए । भागेका कामदार त्यहाँबाट स्वदेश फिर्न पाउने भएकाले उनीहरूले त्यो जेललाई “सफर जेल” भन्दारहेछन् । बाहिर खुल्ला आकाशमा कोठा नलिई बस्नेहरूले “जुनतारा गेष्टहाउस”मा बस्ने भन्दारहेछन् । सफर जेलमा पनि २०० जना अट्ने ठाउँमा ६०० जना कोचिएका थिए । आधा सुतेका थिए, आधा उभिएका थिए । खुट्टा तन्काउने ठाउँ थिएन । खुट्टामाथि खुट्टा नचढाई बस्न सक्दैनथे । कैदीहरूको श्वासको अमिलो गन्ध बाफ बनी हरेक समय गिजोल्न आइरहन्थ्यो । त्यहाँ ९ महिना बसेकाहरू पनि थिए । जुम्रा, उडुसले सबैलाई अचाक्ली सताउँथ्यो ।


आवश्यक कागजी प्रकृया गर्दा पनि ७ महिनामा पनि शव नआउँदा रहेछ । धनकुटाकी देवीमायाले आफ्ना श्रीमानको शव ल्याउन ७ महिना अनेकौँ गुहार अनि अनेकौँ प्रकृया गरेपछि काठमाडौँको एअरपोर्टमा शव आइपुगेको कथा उनलाई ठुलो लडाइँजस्तो लाग्यो । 


आफ्ना श्रीमानलाई उकास्ने एकमात्र लक्ष लिएर गाउँबाट तस्विरा बिहान झिसमिसेमै काठमाडौको सहरी क्षेत्रमा पुगिसकेकी थिइन् । पाँच बर्षकी छोरी च्यापी आएकी तस्विरा काठमाडौँको वैदेशिक रोजगार विभागमा पुग्न नै धेरै ठाउँमा सोधखोज गरेर, आधी दिन वितिसकेपछि मात्र सफल भइन् । उनका श्रीमान कम्पनी बन्द भयो भनेपछि उतै बिचल्लीमा थिए । म्यानपावरलाई उनले दबाब दिइन् । काठमाडौँमा भारी बोकेर बसेर भए पनि श्रीमानलाई निकाल्ने अठोट लिइन् । तस्विराले जीविकोपार्जन र मुद्दा मामिलामा खर्च जुटाउन काठमाडौँमै ज्यामी काम गर्न थालिन् । म्यानपावर र विभागको साँठगाँठले कामदारहरू ठगिइरहेका थिए । “उजुरी फिर्ता लिएँ , मुद्दा गर्दिन ।” भनी ल्याप्चे गराएर पनि “काम गरेको पैसा दिन्छु ।” भने तर दिएनन् । फेरि उनले सो कागज अत्यन्त सङ्घर्षपछि फिर्ता लिई च्यात्न सफल भइन् । उनका श्रीमान फर्कने प्रकृयामा आउँदा “केही गर्दिन ।” भनी उनीहरूको कागजमा साइन गर्दा मात्र फर्किन पाए । त्यही कागजका आडमा म्यान पावरले उनको “गुमेको मेहनाताना दिन नसक्ने ।” बतायो । उनी फर्केको शब्ददृष्यले त जो कोहीलाई अत्यन्तै स्तब्धित तुल्याउँछ । फर्कँदा काठमाडौँको एअरपोर्टमा आउँदा, उनले साउदी जाँदा नै लिएर गएको त्यही कराइलगायत भाँडाहरू अनि त्यही एकसरो कपडा लगाएर फर्केका थिए जुन पुरानो भएर खुइलिसकेको थियो । म्यानपावरले यहाँबाट जाँदा भएको “सम्झौताअनुसार कुनै पनि कुरा गडबड भए बुझाएको रकम फिर्ता पाउँछ ।” भनिए पनि त्यो “सम्झौता रद्द गरेको कागजमा साइन गरेका कारण केही गर्न सकिँदैन ।” भन्दारहेछन् ।


सनैया पढिसकेपछि पराकाष्ठासम्मका कहर जुन आज पनि श्रमिकले खाडीमा भोगिरहेका छन्, त्यसले जो कोही नेपालीलाई पनि अनि मानवतावादी सबैलाई अति स्तब्धित अनि दुःखित तुल्याउँछ । आख्यानकारले सत्यतथ्यलाई नै यसको आधार बनाएका छन् । आख्यानबाहेक पनि ती घटनाहरूलाई सघाउ पु¥याउन ती घटनाहरू घटेका स्थान र ती विषयसँग सम्बन्धित इतिहासका बग्रेल्ती वर्णनहरू विकिपिडियाले दिएसरि प्रासङ्गिक कुराहरूका तिथि मितिलगायतका फेहरिस्तहरू पाठकका लागि पेस गरेका छन् । यी कुरा भने पाठकले भावनामा बगेर एकोहोरो मार्मिक रूपमा कथाका रूपमा पढिरहँदा आख्यानलाई अलि अर्कैतिर मोडेजस्तो भान हुन्छ , भलै यो त्यस घटनासँग सम्बन्धित नै भए पनि । यसलाई फेरि लेखकका रूपमा हेर्दा यी लेखहरूको सङ्ग्रह जुन सिलसिलेवाररूपमा एउटै सिङ्गो समग्र कथाका रूपमा पढ्ने उद्देश्यभन्दा यहाँनिर पनि बेग्लै देखिन्छ । आफ्नो लेखकीय धर्मअनुसार लेखकको कमीकमजोरी औँल्याइदिन खोजेको छु ।


जे भए पनि सनैयामा श्रमिकले भोग्नुपरेको पराकाष्ठासम्मको दलन मार्मिकरूपमा चित्रण भएको छ । श्रमिकका पराकाष्ठासम्मका कहर सुनेको थिएँ , सामाजिक सञ्जालबाट थाहा पाएको थिएँ र त्यस्तोमा तत्कालै सम्बन्धित पात्रसँग सोधखोज गरी खोतलखातल पनि गरेको थिएँ । अहिले लाग्यो ती त अधुरा पो रहेछन् । उहाँहरूबाट “त्यस्तो छैन !” भन्ने जवाफ पाएको थिएँ , अनि चित्त बुझाएर फेक समाचार नै हो भन्ने लागेको थियो । श्रमिकले यसरी कुरा लुकाइदिँदा उहाँहरूले पाएको पीडा उजागर नभएपछि समाधानको पहल हुन नसक्ने देखिन्छ तर यहाँ त लेखक होमजीले यस्ता पराकाष्ठासम्मका कहर वास्तविक नै हुन् भन्ने सावित गरिदिए । यो आँट गर्नु नै ठूलो कुरो हो । मैले खाडीका मजदुर बारे सोधखोज इन्कवायरी गरेको अपुरो रहेछ । उहाँहरू विवस भएको कुरा मैले यो सनैया पढिसकेपछि मात्र थाहा पाएँ । वास्तविक कथा त जुन मैले पहिले थाहा पाएको थिएँ, त्योभन्दा पनि कहालीलाग्दो यथार्थ रहेछ  । यी दुःखका विकट पहाडहरू तर्न अति नै गाह्रो रहेछ ।


वास्तबमा पत्रकारिता गर्दागर्दै जति सत्यसँग नजिकिन सकियो त्यति सफल अनि त्यति सुसूचीत गर्न सकिन्छ , हुँदै जान्छ बरु यो यात्रामा भने लेखक होम कार्कीजी अत्यन्तै सफल भएका छन् । मैले खाडीका मजदुरका पीडाहरूका बारे थुप्रै कथा पढेको छु अनि सुनेको पनि छु । मलाई तीभन्दा सनैया सत्यतथ्य नजिक लाग्यो । यस लेख सङ्ग्रहमा खाडीका श्रमिकको अति नै कारुणिक कथाले हरेक ठाउँमा विह्वल बनाउँछ । भित्री मनसम्म उद्वेलित पार्छ । यसमा श्रमिकको समग्र कथाव्यथा सरल रेखामा सलललल बगिरहेको समयमा अलि अर्कैतिर मोडिएसरि श्रमिकका व्यथाबाहेक एउटा अध्यायमा मरियमका खाडीका कामदारसँगका प्रेम प्रसङ्गका कुराहरू अनि राजेश हमालसँगका मनोरञ्जनात्मक प्रसङ्गहरू, केही एकदुई श्रमिकको प्रेमका अति स्वच्छन्द अभिव्यक्तिहरूले कथालाई अकैतिर मोडिएको हो कि ? जस्तो देखिन्छ । यस्ता अर्कै रेखामा गएका अर्कै प्रसङ्ग पनि ती श्रमिकका व्यथासँगै सम्बन्धित भए पनि लेखकले ती कथामा श्रमिकका व्यथाका भावनाहरूलाई मिलाई केलाएर बरु मनोरञ्जनात्मक अनि प्रेमिल प्रसङ्गहरू अप्रत्यक्षरूपमा व्यक्त गर्नुपर्थ्यो, त्यसकारण भने  विषयबस्तुभन्दा भट्किएको हो कि ? भन्ने मलाई लागेको हो । यसमा लेखक स्वतन्त्र छन् । मलाईचाहिँ यसो गर्दा राम्रो मानकको भएर उत्कृष्ट हुन्छ कि ? भनी सुझाव दिन मनलागेको मात्रै हो । यस्ता तथ्यहरूको सही व्यवस्थापनले यो पुस्तक अझ उत्कृष्ट अनि बढीभन्दा बढी पाठकको मन छुने अनि बढी सुसूचीत हुनेछन्, भन्न मनलागेको मात्र हो ।


हाम्रा नीति निर्माताहरू अनि उच्च तह र तप्काकाहरू सबै रेमिट्यान्स ! रेमिट्यान्स !! भन्दै आफ्ना सुनजस्ता माटोमा हिरा फलाउन बिर्सिसके । कृषि पेसा हाम्रा लागि हेय भयो । युवा जति विदेशिए । कति पलायन भए । जति कष्ट सहनु परे पनि, जति बर्बाद भए पनि, पहिलेपहिले लाहुरे भएर विदेशमा मर्न तयार हुन्थे । अहिले बैदेशिक श्रममा यसरी दास भई बन्धकी जीवन गुजार्नुपरिरहेको छ । मरेर जति नै बाकसमा आए पनि, जति नै पाइने भए पनि त्योभन्दा सस्तोमा, त्योभन्दा बढी समय काम गर्न तँछाडमछाड हुनुले उताका मालिकहरू पुल्पुलिनुको मुख्य कारण हो । इराकमा काटिए पनि, कोरोनाले थिलथिलो पारेको विश्व महामारीमा लकडाउनै भए पनि खाडीमा जाने रोकिएन । कोरोना कालमा हामी आफ्नो उत्पादन नभएर बिचल्लीमा प¥यौँ । कस्तो बिडम्बना ! खाडीमा मरुभूमिमा कृषि गर्न जान तयार हुने हामी तर हाम्रो ३ बाली गर्न सकिने अति नै राम्रो माटो भएको, न जाडो न गर्मीका अति नै राम्रो वातावरणको हाम्रो स्वर्गजस्तो स्वदेशमा पुर्ख्यौली  पेसा कृषिलाई उन्नत पार्नेहरू अत्यन्त न्यून अनि सीमित सङ्ख्यामा मात्रै छौँ । यसमा हामी सचेत हुनैपर्छ । हामी ब्युँझनैपर्छ ।


चीनको ओलम्पिक सहर चीनीयाँहरूले कति छिटो बनाए ! त्यस्तै कतार पनि ३० वर्षमा विशाल अति सुविधासम्पन्न महानगर भयो । अझ यसमा नेपाली श्रमिकहरूको ठूलो योगदान छ । यो कसैबाट लुकेको छैन । सनैयामा पनि यो सत्य तथ्य चित्रण भएको छ अनि उजागर भएको छ तर हाम्रो देश भने बर्बाद हुने क्रममा छ । सहरका युवाहरू डिभीका पछि छन् । उत्कृष्टहरू यसले देशबाट पलायन गरायो अनि गाउँका युवाहरू खाडीमा छन् । सनैयाले के सावित गर्छ भने हामी अब सकेसम्म खाडी जानुहुन्न । जानै परे पनि गैर कानुनीरूपमा जाँदै नजाऔँ । नत्र उता यो थाहा पाएपछि अरू पेलानमा परिन्छ । जनावरभन्दा तलको दर्जामा राख्दछन् । यो सनैयाले प्रमाणित गरिसकेको कुरो हो अनि प्राविधिक दक्षतामा, मानवअधिकारको शिक्षा लिने, रोजगारीमा सम्बन्धित विषयमा दखल हुने, दुतावाससम्बन्धी नियम थाहा पाउने, श्रमिकको हक अधिकारसम्वन्धी अन्तर्राष्ट्रिय कानुनको शिक्षा लिने, नयाँ एवम् उच्च प्रविधिसँग सङ्गति भै अपडेट भइरहने अनि यी र यस्तै आफुलाई आइपर्ने सम्बन्धित समस्या भए कहाँ के गर्ने ? सबै जानकारी लिएर जानुपर्ने देखिन्छ । यसका लागि म्यानपावर अनि श्रमिकको नीति नियम बनाउने सरकारी निकायले कडा कदम चाल्नुपर्ने देखिन्छ । उहाँहरू भ्रष्ट हुनु भएन । विक्नु भएन । सत्ता सञ्चालकहरू यसमा मौन बस्नु भएन । ज्यान फ्याँकेर श्रम गरेर देशका लागि कसरी रेमिट्यान्स पु¥याउँछन् ? यो नेपाली श्रमिकका सबै सरकारी एवम् गैरसरकारी निकायले पढेर मनन गर्ने मात्र होइन, कमीकमजोरीहरू तत्कालै सुधार्नु अत्यावश्यक छ ।


यदि हामी आफ्नो खुट्टामा उभिन सकेका भए हामीलाई कसैको सहयोग चाहिँदैनथ्यो । त्यसैले हामीले चेतेर निर्यातमुखी उत्पादनमा जोड दिने बेला आयो । आयात पनि सकेजति घटाउँदै लैजानुपर्ने बेला आयो । देशका हरेक सम्भावनाहरूलाई नगदी बनाउने बेला आयो । प्रयास बढाउँदै लगे के हुन्न र ? नत्र पछुताउनु पर्ने हुन्छ । बेलैमा आँखा खोलौँ । आउनुहोस् ! अब छोडौँ अनि तोडौँ यी दासताका जञ्जिरहरू ! यसरी पराकाष्ठासम्मका कहरहरू सहेर के पाइयो ? नाफाभन्दा घाटा बढी छन् । हाम्रो देशलाई खण्डहर नबनाऔँ । नेपाललाई जीवित तुल्याउन सबैले हातेमालो गर्नुपर्यो । नेपालमा सुन, हिरामोती फलाउनुपर्यो । हाम्रो देशमा हरेक कुरामा प्रचुर सम्भावनाहरू छन् । नीति निर्माता सरकार यसरी यस्तरी निरीह बनेको सुहाएन । अब हामीले आफ्नै देश विकास गर्नुपर्छ । सबैजना इमानदार अनि भ्रष्टाचारी भएन भने कतारजस्तै ३० वर्षभन्दा छिटो हाम्रै कार्यकालमा देश कायापलट भएको हेर्न पाउँछौँ, यसमा दुईमत छैन किनकि हामी अति मेहनती छौँ, भन्ने यो सनैयाले पनि प्रमाणित गरिसकेको छ । यसलाई नेपालमै सदुपयोग गरौँ । यस्ता समस्या उजागर गरिदिनुभएर लेखक होम कार्कीजीले सनैयामार्फत सबै आम नेपालीहरूलाई सचेत गराउन सफल हुनु भएको छ । यहाँको यो सनैया पुस्तक अनमोल छ । 


मित्र अनि कर्मठ लेखक होम कार्कीजी ! यहाँको लेखन यात्रामा बाधा अड्चनहरू कहिल्यै नआओस् । अझै सत्यतथ्य खोतल्दै जानुहोला, सफलता तपाईंकै हातमा छ । थप अन्य विषयहरूमा पनि पुस्तकहरू प्रकाशन गर्दै जानुहोला । लेखन यात्रा यत्ति मै टुङ्गिनु हुँदैन । कुनै पनि विषयवस्तुको पुस्तक लेख्दा उक्त विषयको गहिराइसम्म खोतल्नुहोस् । हामीले लेखेको पुस्तकले समाज राम्रो दिशातर्फ अघि बढोस् । यहाँको लेखन पाइलामा कतै पनि बाधा अवरोध नआओस् । हामी लेखक, साहित्यकारहरूको उद्देश्य लेखनलाई झन्–झन् अनुशासित तथा गुणस्तरिय बनाउँदै लैजाने हुनैपर्छ अनि मात्र हाम्रा लेखरचनाहरू कालजयी बन्न सफल हुन्छ । यो पुस्तकको अपार सफलताको कामना गर्दै भित्री दिलदेखि नै यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । शुभकामना !!! 


अन्त्यमा नेपाललाई माया गरौँ भन्दै स्व. कवि प्रेम प्रकाश मल्लको देशभक्ति कवितात्मक शब्द सापटी लिएर यहाँ पाठकलाई छोड्दै बिदा हुँदैछु ।

आफुलाई नित्य निरन्तर अनुशासनमा राखेर,

इच्छा आकाङ्क्षा पौरखलाई सही दिशातिर हाँकेर,

लगनशील रही समर्पित भई उन्नतिपथमा अघि सरे,

सबैले आफ्नो जिम्मेबारी इमानदारीसँग पुरा गरे,

यो देश निश्चय पनि स्वर्गै बन्नेछ  !!!



यो देश निश्चय पनि स्वर्गै बन्नेछ  !!!



२०७९ बैशाख ३१

बिजु सुवेदी विजय

भक्तजनमार्ग — ८३

कुलेश्वर आवास, काठमाडौँ ।

Reply to me At bijusubedi@gmail.com


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा